६६ बच्चाको मृत्युपछि प्रयोगमा रोक लगाइएको औषधि नेपालमा पाइन्छ ? 

काठमाडौं । भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुघाखोकीको औषधिको सेवनका कारण ६६ बालबालिकाको मृत्यु भएको हुन सक्ने भन्दै ती औषधि सेवन नगर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी चेतावनी दिएका छन्।

भारतीय कम्पनीले उत्पादन गरेको चार वटा ब्रान्डका कफ सिरपको सेवनपछि गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएको छ। बालबालिकाको मृत्युपछि डब्लुएचओले ती औषधि प्रयोग नगर्न सुझाएको हो। डब्लुएचओले ‘प्रोम्याथेजिन ओरल सलुसन’, ‘कोफ्याक्समेलिन बेबी सिरप’, ‘मेकअफ बेबी कफ सिरप’ र ‘मेगरिप एन्ड कोल्ड सिरप’ प्रयोग नगर्न भनेको हो।

भारतीय कम्पनीले उत्पादन गर्ने ती चारवटै ब्रान्डका कफ सिरप नेपालमा पाइन्छ? के ती औषधि नेपालमा दर्ता भएर बिक्री-वितरण भइरहेका छन् त?

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार ती कुनै पनि औषधि नेपालमा दर्ता भएका छैनन्। नेपालमा दर्ता नभएका औषधि बिक्री वितरण गर्न पाइँदैन।

ती औषधि नेपालमा दर्ता नभएको र नेपालमा पाइँदैनन्, सूचना अधिकारी सन्तोष केसीले भने ‘उक्त औषधि नेपालमा दर्ता छैन। सामाजिक संजाल र समाचारहरुमा देखेर धेरै अभिभावकहरू त्रसित हुनुभएको छ। सोहि कारण विभागले आधिकारिक रुपमा विज्ञप्ति निकाल्ने तयारी गरिरहेको छ।’

डब्लुएचओले अन्य देशमा पठाइएको औषधि समेत प्रयोग नगर्न र जाँच गर्न भनेको छ।

डेंगुबाट दुई जनाको मृत्यु

झापा । डेंगु सङ्क्रमणबाट जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृतसहित दुई जनाको मृत्यु भएका छन्। डेंगु सङ्क्रमणबाट मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ निवासी ५७ वर्षीय शशिकुमार भट्टराई र बिर्तामोड नगरपालिका–३ निवासी ५२ वर्षीया निशा छेत्री रहेका छन्। भट्टराई स्वास्थ्य कार्यालय भद्रपुरका सातौँ तहका परिवार नियोजन अधिकृत हुन्।

झापा ओहोरदोहोर गरिरहेकी उनकी छोरीलाई त्यही बेला डेंगु संक्रमण पुष्टि भएको थियो। काठमाडौंमा पढिरहेकी छोरीलाई डेंगु भएपछि उनी फेरि दसैंमा काठमाडौं गए। काठमाडौंमा नै उनलाई डेंगु संक्रमण भयो।

काठमाडौंको हेम्स हस्पिटलमा उपचार गराइरहेका उनको सोमबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका अधिकृत बालकृष्ण भण्डारीले जानकारी दिए।

सुगर र मुटुको समस्या भएका भट्टराईलाई डेंगुले संक्रमित बनाएको उनले बताए। उनी कुल वंश प्रतिष्ठान झापाका निवर्तमान उपाध्यक्ष रहेका थिए।

त्यस्तै बिर्तामोड–३ निवासी छेत्रीको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो। काठमाडौंको सरस्वती क्याम्पस लाइब्रेरी शाखामा कार्यरत छेत्रीलाई डेंगुको लक्षण देखिएको थियो। काठमाडौंमा डेंगुको लक्षण देखिएका उनलाई फूलपातीका दिन झापा ल्याई अस्पताल भर्ना गरियो।

कलेजो र मिर्गौलाले काम गर्न छाडेपछि उनको मङ्गलबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। छेत्रीको माइती भद्रपुर नगरपालिका–६ हो। उनी नारायण ढुङ्गानाकी छोरी हुन्। उनको माई नदीमा दाहसंस्कार भइरहेको जनाइएको छ।

फोटोसहितको मतदाता नामावली

काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली छपाइलाई तीव्रता दिएका छन् ।

आयोगले केन्द्रीय कार्यालयबाट मुलुकभरका प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रको छुट्टाछुट्टै मतदाता नामावली छपाइ कार्यलाई तीव्रता दिएको हो । जसमा मतदान केन्द्र नै तोकिएर नामावली छपाइ भइरहेको आयोगले जनाएको छ । उक्त फोटो सहितको नामावलीको प्रति निर्वाचन सामग्रीसँगै प्रत्येक निर्वाचन क्षेत्रमा पठाउने आयोगको तयारी छ ।

आगामी निर्वाचनका लागि प्रतिनिधिसभाअन्तर्गत २ हजार २९१ पुरुष र २३५ महिला गरी २ हजार ५२६ जनाको उम्मेदवारी परेको छ भने प्रदेशसभातर्फ ३ हजार १७९ पुरुष, २९७ महिला र अन्य १ गरी ३ हजार ४७७ जनाको उम्मेदवारी परेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिएको छ । त्यसपछि बुधबार दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यसूची छ ।

आयोगले ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ । योसँगै प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवारको अन्तिम संख्या टुङ्गो लाग्ने छ ।

नगदसहित १ सय ४३ तोला सुन बरामद

फुङ्लिङ । प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट ६ लाख १३ हजार ३ सय ४० रुपैयाँ र १ सय ४३ तोला सुन सोमबार बेलुका बरामद गरेका छन् । जिल्ला सदरमुकाम फुङ्लिङ स्थित सो ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १७ असोजमा नगद तथा सुन लुटेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले लुटपाटमा संलग्न चार आरोपीमध्ये तीन जनालाई सोमबार राति पक्राउ गरिएको र उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको जानकारी दिए । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका(१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेल छन् ।

फरार रहेका एक जनाको खोजी जारी रहेको प्रनाउ राईले जानकारी दिए । । उनीहरुको साथबाट नगद रु छ लाख १३ हजार तीन सय ४० सहित एक सय ४३ तोला सुन सार्वजनिक गरेको हो । बरामद गरेका नगद र सुनका गरगहनाबाहेक एक थान पेस्तोल, कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सामान (डोरी, कैचीलगायत सामग्री) सार्वजनिक गरेको छ ।

मनी ट्रान्सफरका सञ्चालक अम्बरकुमार श्रेष्ठले दिएको जाहेरीमा रु ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको उल्लेख गरिएको छ । यसैगरी हाल सुनको बजारभाउअनुसार रु ३ करोड ३९ लाख ९९ हजार छ सय बराबरको तीन सय ४८ तोला सुन लुटपाट भएको जनाएका छन् ।

पैसा पठाउने र दिने आइएमईसँग सुन कारोबारको इजाजत भएरनभएकोबारे कागजात अनुसन्धान गर्न तयारी रहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताए । उनले भने, ‘सुन कारोबार (जाकट) इजाजत छ वा छैन, कागजात मागेका छौँ, अनुसन्धान हुन्छ ।’

आरोपीले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई पेस्तोलसहित नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेका थिए । लुटपाटमा संलग्न लागुपदार्थ सेवनकर्ता भएको प्रहरीले जनाएको छ । उनीहरूले गरगहना लुटपाटको योजना काठमाडौँस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । आरोपितविरुद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर दुईजनाको मृत्यु

पर्सा । करेन्ट लागेर वीरगञ्ज महानगरपालिका-२६ राम किशोरप्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा पर्साको धोबिनी गाउँपालिका–३ हरिहरपुरका ३० वर्षीय सैफुल्ला अन्सारीको मृत्यु भएको छ।

अन्सारीलाई विद्युतको पोलको तारमा अचानक करेन्ट लागि मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए।

यसैगरी, वीरगञ्ज महानगरपालिका–८ बसपार्कस्थित शत्रुधन सर्राफको घरको छाना सफा गर्ने क्रम्मा ज्यालादारीमा काम गर्ने पर्सा वीरगञ्ज महानगरपालिका–९ रानिघाट बस्ने ६० वर्षीय ध्रुवप्रसाद साहको मृत्यु भएको छ घाइते उनको आसाराम अस्पतालमा साहको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गिरीले बताए।

कोइलाको समस्या भएपछि हेटौँडा सिमेन्ट उद्योग बन्द

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ ।

कोइलाको अभावले विगत एक महिनादेखि सिमेन्ट उत्पादन बन्द भएको उद्योगका महाप्रबन्धक पाण्डेले पत्रकारहरूलाई बताएका छन् ।

कोइला खरिदका लागि टेण्डर भइसकेको भन्दै पाण्डेले छिटै समस्या समाधान हुने जनाएका छन् । पाण्डेले दशैंको बिदापछि उत्पादन सुरु हुने बताएका छन् ।

एक पटक टेण्डर गर्दा १३ हजार टन कोइला ट्रकमा ढुवानी भई आपूर्ति हुने गरेको छ । कोइलाको माध्यमबाट सिमेन्ट उत्पादनका लागि चाहिने कच्चा पदार्थ क्लिङ्कर बनाउने गरिन्छ । क्लिङ्कर अभावका कारण सिमेन्ट उत्पादन हुन सकेको छैन ।

दैनिक सात सय ५० मेट्रिकटन र वार्षिक दुई लाख ६० हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने उद्योगको भए पनि हाल उद्योग सञ्चालनको समयमा क्षमताभन्दा आधा अर्थात करिब चारदेखि पाँचसय मेट्रिकटन सिमेन्ट उत्पादन हुने गरेको महाप्रबन्धक पाण्डेले बताए बताएका छन् ।

असाेज २५ गते मंगलबार, यस्ताे छ तपाईकाे राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि भएका जातको लागि मंगलवारको दिन मनमा प्रसन्नता छाउनेछ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । शत्रुमाथिको विजयप्राप्ति हुने र आर्थिक व्याय हुने देखिन्छ । बजारमा सामान खरिद गर्दा विचार गर्नुहोला । विलासिताको सामान मंगलबारको दिन खरिद नगर्दा राम्रो हुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन तपाईको सोचअनुसार काम हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आजको दिन अध्ययन अध्यापनमा रुचि  र मनमा खुसी छाउने छ । यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । यात्रा गर्नुभन्दा पहिले दहीको सेवन गर्नुहोला । कुनै कुमारी कन्यालाई भोजन र बस्त्र दान गर्नुभयो भने तपाईको मनमा प्रसन्नता छाउने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले मिथुन राशि भएका जातकले आजको दिन मौन बस्नु ठीक होला । मित्रमण्डली र ब्यापार ब्यबसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईलाई फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

तपाईको लागि आजको दिन अनुकल देखिन्छ । धनप्राप्तिको योग छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । त्यसैले आजको दिन तपाईको सोचअनुसार काम हुनेछ । विहान उठेर सूर्यनारायणको दर्शन गर्नुहोला । आजको दिन तपाईले गरेका कामका सफलता मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । आफन्तजनसँग भैरभाव हुनसक्छ । त्यसैले आजको दिन मौन रहनु नैं शुभ हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ ।  मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईले केही कन्याहरुलाई फलफूल उपहार दिनुभयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

समय अनुकुल देखिएको छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । चन्द्रमाको साथ रहेकाले आजको दिन तपाईको सोचअनुसार काम गर्दा सफलता मिल्नेछ । आज विहान सूर्योदयको दर्शन गरेर काम गर्दा दिन सफल हुनेछ । आर्थिक लाभ र मानसम्मान समेत प्राप्त हुनेछ योग रहेको छ । आकस्मिक धनलाभ हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

ब्यापार ब्याबसायबाट लाभ हुने देखिन्छ । घरबाट बाहिर निस्कदा जेष्ठ  र श्रेष्ठ ब्यक्तिलाई जानकारी दिएर मात्र  काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनहरुले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

आज तपाईले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । कुमारी कन्यालाई भोजन र बस्त्र दिनु उत्तम हुनेछ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।  आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्याबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला  । आर्थिक हानी समेत हुनसक्छ । बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यहरुसँग सम्बन्ध विस्तार हुनेछ । आकस्मिक धनलाभ व्यापार ब्यबसायबाट नसोचेको  फाइदा मिल्नेछ । सामाजिक काममा समय खर्च हुनेछ । सिर्जनात्मक कार्यमा समय दिनुहोला । मीन राशिका जातकले मंगलबारको दिन कुनै नयाँ काम शुरु गर्दा सफलता मिल्नेछ । आजको दिन शैक्षिक कार्यको शुरुवात गर्न सकिन्छ । आजको दिन नियमित कार्यबाट नयाँ कामको शुरुवात नगर्नु उत्तम हुनेछ ।

उम्मेदवारले आफुविरुद्ध परेको उजुरीको जवाफ आज दिनु पर्ने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाका लागि २३ असोजमा उम्मेदवारी दिएका उम्मेदवार बिरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समयसिमा तोकिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छेदारसहितका उम्मेदवार बिरुद्ध परेको छ । देशैभरीका उम्मेदवार माथी परेको उजुरी पछि आयोगले सो उजुरीका बारेमा आजै जवाफ दिन सबन्धित उम्मेदवारलाई सुचना टाँस गरी सवन्धित निर्वाचन कार्यालयले जानकारी गराएका छन् ।

उता, निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि अपरान्ह १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनेका लागि समयसिमा तोकिएको छ  । सोही दिन अपरान्ह ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ।

अधिकांश सरकारी कार्यालय सुनसान

दसैँ को बिदापछि खुलेका कार्यालयमा कर्मचारी तोकिएको पोशाकमा समयमै आइपुगे/नपुगेको यकिन गरी सेवा प्रवाहमा रहेका समस्याका बारेमा जानकारी लिन सोमबार आकस्मिक निरीक्षण गरिएको प्रशासकीय अधिकृत प्रनिसा घिसिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार निरीक्षणका क्रममा दसैँ बिदा सकिए पनि कर्मचारी कार्यालयमा नआएको पाइएको छ । विभिन्न १० कार्यालयमा सात कार्यालय प्रमुखसहित ४९ कर्मचारी अनुपस्थित रहेको पाइएको उहाँले बताउनुभयो । त्यस्तै तीन जना ढिला आइपुगेको र १३ कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको उहाँले जानकारी दिनुभयो ।

सरकारी नियमविपरीत चलिरहेका कार्यालय प्रमुख तथा कर्मचारीलाई छलफल गरेर आवश्यकतानुसारको कारबाही गर्ने निर्णय भएको उहाँको भनाइ छ । बिहान १० बजेदेखि तीनवटा टोली बनाएर जिल्लाका विभिन्न कार्यालयमा पुगेको टोलीले दसैँ बिदापछि कार्यालय खुलेको दोस्रो दिन भए पनि केही कार्यालय सुनसान रहेको जनाइएको छ ।

सरकारले दसैँ बिदा यही असोज १६ फूलपातीका दिनदेखि २३ गतेसम्म मात्र दिएको थियो । कार्यालय खुलेको पहिलो दिन जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयबाहेकका अधिकांश सरकारी कार्यालय सुनसान थिए ।

आयोगमा उजुरी: गच्छदारको मनोनयन खारेजीको माग गर्दै

काठमाडैँ । नेपाली काँग्रेसबाट सुनसरी क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका विजयकुमार गच्छदारको मनोनयन खारेजी गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

गच्छदारविरुद्ध काठमाडौँ वडा नम्बर ७ का विवेक अधिकारीले उजुरी दिएका हुन्।

ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका गच्छदारलाई चुनाव लड्ने नैतिकता नभएको भन्दै उनले खारेजीको माग सहित निवेदन दिएका हुन्।

‘गच्छदारले २०४८ सालदेखि पटक-पटक त्यस क्षेत्रबाट निर्वाचित हुँदा राज्य शक्ति पद र पैसाको व्यापक दुरुपयोग गर्दै जनतालाई धम्क्याउँदै डर त्रास र प्रलोभन देखाएर निर्वाचन जितेको र मतगणनामा व्यापक धाँधली समेत गरेको भन्दै सर्वोच्चमा मुद्दा विचाराधीन छ,’ उजुरीमा भनिएको छ, ‘निजमाथि लागेको आरोप फैसला नहुन्जेल निर्वाचनमा भाग लिन रोक लगाइयोस्।’

त्यस उजुरी सुनसरीको निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको आयोगले जनाएको छ। ललिता निवास प्रकरणमा गच्छदार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

अन्तिम निर्वाचन हो–नेता केसी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले यो निर्वाचन आफ्नो लागि अन्तिम भएको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आगामी कुनै पनि निर्वाचनमा आफू उम्मेदवार नहुने बताउनुभएको हो ।

“यो मेरो अन्तिम निर्वाचन हो । फेरि म लड्न पनि सक्तिन होला । योभन्दा अघिल्लो निर्वाचनमा अन्तिम भनेको रहेछ भने त्यो होइन, यो चाहीँ अन्तिम हो” उम्मेदवार केसीले भन्नुभयो ।

उहाँले पार्टीलाई लोकतान्त्रिक विधि तथा प्रक्रियामा अघि बढाउन र युवाको नेतृत्व पार्टीभित्र र बाहिर सुरक्षित गराउनको लागि निर्वाचनमा होमिएको बताउनुभयो ।
संसद्मा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा बोल्न सक्ने, जनताको समस्यालाई संसद्मा प्रभावकारी रुपमा लैजान सक्ने आफूमात्र भएको नेता केसीले जिकिर गर्नुभयो ।

अवैध भारुसहित वीरगञ्जबाट तीन महिला पक्राउ

काठमाडौँ । भारतसँगका सीमानाकाहरुमा प्रतिबन्धित र जाली नोट बरामद हुन थालेको छ। सोही क्रममा पर्सा प्रहरीले २८ लाख ५६ हजार प्रतिबन्धित भारतीय नोटसहित तीन महिलालाई पक्राउ गरेको छ। अवैध रुपमा भारतीय प्रतिबन्धित मुद्रा नेपालको वीरगञ्ज नाकाबाट भित्र्याउँदै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी इनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट उक्त रकमसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोटको साविक शिखरवेसी गाविस–७ बस्ने ४५ वर्षीया अनिता तामाङ, धादिङकी ३० वर्षीया मन्जु तामाङ र नुवाकोट शिख्रावेसी–७ बस्ने ४४ वर्षीया सरिता अग्रवाल रहेका छन्। भारतको रक्सौलदेखि वीरगञ्जतर्फ पैदल आउँदै गरेकी अनिताको साथबाट प्रहरीले भारतीय दुई हजार दरका नोट ५५ थान, ५ सय दरका नोट ५ हजार ३८० थान गरी २८ लाख र मन्जुको साथबाट भारतीय ५ सय दरका नोट ११२ थान गरी ५६ हजार भारतीय रुपैयाँ बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।

अनुसन्धानका क्रममा अग्रवालको उक्त नोट तस्करीमा संलग्नता देखिएकोले पक्राउ गरिएको उनले बताए। प्रतिबन्धित भारुसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको गिरीले बताए। यसअघि गएको असोज २१ गते बाराबाट ८ लाख ९५ हजार नेपाली नक्कली नोटसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो।

अवैध मोबाइल नचल्ने साउन १ देखि

काठमाडौ । अवैघ’ रुपमा नेपाल भित्रिएका मोबाइल साउन १ गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रुपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरु त्रसित छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरुले डराउनु पर्दैन । आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई राजस्वसमेत बढाउन यस्तो नियम कडाइका साथ लागू गर्न लागिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले नेपाल समाचार पत्रलाई जानकारी दिनुभयो ।

पौडेलका अनुसार विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा रजिस्ट्रर गरेपछि मात्रै सञ्चालनमा आउनेछन् । हाल चलिरहेका मोबाइललाई यो नियम कडाइका साथ लागू नभएपनि साउन १ गतेपछि सञ्चालनमा आउने मोबाइलमा यो नियम कडाइका साथ लागू हुनेछ । नेपालमा खरिद गरिएका मोबाइलमा मोबाइल नेपाल भित्र्याउने कम्पनीले रजिस्ट्रार गर्ने हुँदा त्यसको सबै जानकारी प्राधिकरणसँंग हुने र बाहिर–बाहिर ल्याइएका मोबाइलको कुनै जानकारी नहुँदा त्यस्ता मोबाइलबाट आपराधिक क्रियाकलापसमेत हुने गरेको र त्यसको नियन्त्रणको लागि मोबाइल रजिस्ट्री अनिवार्य गरेको प्राधिकरणले जनाएको छ ।

अहिलेसम्म चलेका मोबाइल दर्ताभन्दा पनि अब नयाँ भित्रिने मोबाइलमा केन्द्रित भएर काम गरेको प्रवक्ता पौडेलको भनाइ छ । मोबाइल रजिस्ट्री गर्ने नियम पहिलेदेखि रहेको तर हाल आएर यसलाई कडाइका साथ लागू गर्न खोजिएको दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालको भनाइ छ । अहिले चलिरहेको मोबाइलको सेवा बन्द गर्ने विषयमा ठोस निर्णय नभएको भन्दै अब साउन १ गतेदेखि सञ्चालनमा आउने मोबाइल बिनारजिस्ट्री सञ्चालनमा नआउने हाँको भनाइ छ

नेपालमा राजस्व तिरेर खरिद भएका मोबाइलको अभिलेख प्राधिकरणसँंग हुनेहुँदा राजस्व छली भएर भित्रिएका मोबाइलको सेवा सञ्चालन बन्द गर्न यो नियम कडाइका साथ लागू गर्न लागिएको उहाँको भनाइ छ । साउन १ पछि गैरकानुनी ढंगबाट भित्रिएका मोबाइललाई प्राधिकरणको वेबसाइडमा गएर रजिस्ट्रार गरीर सञ्चालन गर्न सकिने अर्यालले बताउनुभयो । प्रत्येक मोबाइलमा आई एम इ आई नम्बर हुन्छ त्यो रजिस्ट्रर हुनुपर्छ । त्यसको आधारमा मोबाइलको सबै जानकारी पत्ता लाग्ने हुँदा उक्त रजिस्ट्रार अनिवार्य गरिएको उहाँको तर्क छ । त्यसको लागि मोबाइलमा *#06# डायल गरेर चेक गर्नसकिने छ ।

अब साउन १ गतेदेखि मोबाइल खरिद गर्दा खरिद गर्न लागेको मोबाइलको आई एम इ आई नम्बर चेक गर्न उहाँको सुझाव छ । यसरी आई एम इ आई नम्बर चेक गर्दा रजिस्ट्रर भएको मोबाइल रजिस्ट्ररे देखिने र रजिस्ट्रर नभएको मोबाइल रजिस्ट्रर नभएको देखिने हुन्छ । दूर सञ्चार प्राधिकरण यससम्बन्धी नियमनकारी निकाय हो भने, नियम कार्यान्वयन गर्ने टेलिकम वा नेपाल दूरसञ्चार कम्पनी, एनसेल, स्मार्ट सेलआदि हुन् । प्राधिकरणले नियम बनाए पनि कम्पनीहरुले कार्यान्वयनमा ल्याउन नसक्दा लागु हुन सक्तैन ।

‘तर यस सन्दर्भमा नियमनकारी दूरसञ्चार प्राधिकरण नै कार्यान्वयन गर्ने निकाय पनि हो’ टेलिकमका प्रवक्ता राजेश जोशी भन्नुहुन्छ– यससम्बन्धी उपकरण हामीसँग छैन, प्राधिकरणसँगै छ, त्यसैले भोलि मोबाइल–सेट चलेन भनेर ग्राहक आउनुभयो भने हामी केही गर्नसक्तैनौं ।’

नेप्से परिसूचक आज पुनःओरालो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७१ दशमलव २२ मा सिमित भएको छ । आइतबार उच्च अङ्कले भएको वृद्धि आज भने टिक्न नसक्दा कारोबार रकम पनि अर्ब पनि पुगेको छैन ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अङ्कले ओरालो लागेर तीन सय ६६ दशमलव ८४ मा सिमित भएको छ । कूल दुई सय ३३ कम्पनीको ३१ करोड ५५ लाख छ सय ९६ कित्ता शेयर रु ९७ करोड १७ लाख ६७ हजार सात सय १४ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सामूहिक लगानी कोष भने शुन्य दशमलव १२ अङ्कले उकालो लागेको हो । निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा, विकास बैंक उपसमूहको शेयर मूल्यमा बढी अङ्कको गिरावट देखिएको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २६ खर्ब ८९ अर्ब ५१ करोड ९१ लाख ३३ हजार आठ सय दुई बराबर रहेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड ५८ लाख ७७ हजार चार सय १४ बराबरको कारोबार भयो । नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर रु छ करोड छ लाख १२ हजार ५००, नवील बैंक रु चार करोड ८२ लाख २० हजार दुई सय ६२, हिमालयन डिस्टिलरी रु तीन करोड ५८ लाख ९१ हजार र लुम्बिनी विकास बैंक रु दुई करोड नौ लाख ३९ हजार तीन सय ८३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

अभियान लघुवित्त नौ दशमलव ९९, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलव ६७, ग्लोबल आइएमई ब्लालेन्स फण्ड पहिलो तीन दशमलव ४९, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड तीन दशमलव २७ र उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले दुई दशमलव ६८ प्रतिशतले कमाएका छन् ।

त्यस्तै गरिमा बैंकको ऋणपत्र आठ दशमलव १३, सिभिल लघुवित्त छ दशमलव ३३, कृषि विकास बैंकको ऋणपत्र पाँच दशमलव ८६, कर्णाली डेभलपमेन्ट बैंक पाँच दशमलव ६० र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ३८ प्रतिशतले गुमाएका छन् ।

पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरियोः अर्थमन्त्री

अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित नेपाल ग्रिन हाइड्रोजन समिट २०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिएको बताएका हुन् ।

यसैगरी, उनले हाइड्रोजन उत्पादन गरी बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका छन् । अर्थमन्त्री शर्माले जलवायु परिवर्तनका कारण विभिन्न असरहरु पनि देखिन थालेको भन्दै कार्बन उत्सर्जनलाई कम गर्नुपर्ने बताए ।

उनले पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिरहेको र व्यापार घाटा भइरहेको बताए । मन्त्री शर्माले देशभित्र मात्रै हाइड्रोजनको प्रयोग गर्न सकेमा व्यापार सन्तुलनमा आउन सक्ने बताए ।

मन्त्री शर्माले हाइड्रोजन उत्पादन देशको विकास र जलवायु परिवर्तनलाई न्युनिकरण गर्ने दृष्टिकोणले निकै नै महत्वपूर्ण रहेको बताए । यसमार्फत नेपाललाई विश्वबजारमा पहुँच वृद्धि गर्न र लगानी भित्राउन पनि सकिने उनले उल्लेख गरे ।