लोसपाको दावीः संघमा १५ सिट माथि, प्रदेशमा मुख्यमन्त्री

काठमाडौं । एमालेसँग वार्ता टोली बनाएर गठबन्धन गर्न लागिपरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूलाई अचानक बालुवाटार धाउनुपर्ने बाध्यता आइलाग्यो । आज शुक्रबार दिउँसो लोसपाका नेताहरु अनिल झा, जितेन्द्र सोनल र शरतसिंह भण्डारी कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको गठबन्धनसँग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास पुगे ।

यसअघि एमालेसँग छलफल गर्न गठित कार्यदलका संयोजक राजेन्द्र महतो भने बिसञ्चो दर्शाउँदै अनुपस्थित रहे । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरू भेट्दै लोसपाका नेताहरूले मधेसमा नयाँ परिस्थिति विकसित भएको भन्दै गठबन्धनमा सहभागी हुने आकांक्षा देखाएका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेस, माओवादीसहितको सत्ता गठबन्धनले उनीहरूलाई ‘ग्रीन सिग्नल’ दिएको छ ।

यही ‘टोन’मा बैठक अघि बढे गठबन्धनमा लोसपाको प्रवेश हुन सक्ने यसका नेताहरुले अनलाइनखबरलाई बताएका छन् ।

यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुस, रुस र युक्रेनका मानव अधिकारकर्मीलाई प्रदान

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारको घोषणा भएको छ । नोबेल पुरस्कार कमिटीका अनुसार बेलारुसका मानव अधिकारकर्मी एलेस बियालियात्स्की, रुसको मानव अधिकार सङ्गठन ‘मेमोरियल’ र युक्रेनको मानव अधिकार सङ्गठन ‘सिभिल लिबर्टिज’ लाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।

सम्मानको घोषणा गर्दै नोबेल पुरस्कार कमिटीले भनेको छ, ‘शान्ति पुरस्कारबाट सम्मानित व्यक्ति र संस्थाहरूले आआफ्नो देशमा नागरिक समाजको प्रतिनिधित्व गर्छ । उनीहरूले वर्षौँसम्म सत्ताको आलोचना गर्दै नागरिकको आधारभूत अधिकार संरक्षणका लागि काम गरेका छन् ।’

यस्तै बेलारुसी मानव अधिकारकर्मीका साथै रुस र युक्रेनका अधिकारवादी संस्थाले युद्ध अपराध र सत्ताको दुरुपयोगको मामिलामा प्रतिवेदनका लागि उत्कृष्ट काम गरेको पुरस्कार कमिटीले जनाएको छ ।

अहिले अधिकारवादी बियालियात्स्की मुद्दा सुनुवाइ गरिनुअघिको थुनामा छन् । आउँदो डिसेम्बर १० तारिखमा उनीहरूलाई यो पुरस्कार दिइनेछ ।

चार दलबीच मात्रै चुनावी तालमेल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का कारण पाँचदलीय सत्ता गठबन्धनको सिट बाँडफाँडमा ढिलाइ भएको छ । हिजो (बिहीबार) अबेरसम्म बसेको बैठकमा जसपाका नेता उपस्थित नभएपछि सिट बाँडफाँडमा ढिलाइ भएको हो ।

सिट धेरै सुनिश्चित हुने दलसँग तालमेल गर्ने जसपाको रणनीतिले गठबन्धन सिट बाँडफाँडको टुंगोमा पुग्न सकेको छैन ।

सत्ता गठबन्धनले जसपालाई प्रतिनिधिसभातर्फ १६ सिट दिने तयारी गरेको छ । तर एमालेले भने झण्डै २५ सिट दिने बताएपछि जसपाको दोहोरो बार्गेनिङ चलेको नेताहरू बताउँछन् ।

गठबठन्धनको बैठक शुक्रबार बिहान पुनः बालुवाटारमा बस्ने भएको छ । दिउँसोसम्म जसपालाई कुर्ने र जसपाले निर्णय नदिए चार दलबीच मात्रै सिट बाँडफाँड गर्ने बताइएको छ ।

नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशत र आर्थिक वर्ष २०२३/२४ मा ४.९ प्रतिशतको दरले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । विश्व बैंकको पछिल्लो म्याक्रो इकोनोमिक अपडेट अनुसार वस्तुको मूल्य, नेपालको सेवा क्षेत्रलाई टेवा पुर्याउने र जलविद्युत उत्पादनमा भएको वृद्धिका कारण औद्योगिक वृद्धि बलियो हुने अपेक्षा गरिएको छ ।

त्यस्तै सार्वजनिक ऋणको स्तर स्थिर हुने र विदेशी मुद्रा सञ्चितिमा दबाब कम हुने प्रक्षेपण गरिएको छ। नेपालले कर प्रणालीको आधुनिकीकरण, विदेशी मुद्राका नयाँ स्रोतहरू (विशेष गरी एफडीआई) को आकर्षण र यसको पूर्ण कार्यान्वयन सम्बन्धी संरचनात्मक चुनौतिहरूको सामना गरिरहेको छ ।

दिगो र समावेशी वृद्धि सुनिश्चित गर्न वित्तीय संघीयतालाई सम्बोधन गर्न आवश्यक छ। आर्थिक मन्दीले सबै दक्षिण एसियाली देशहरुले अरूभन्दा राम्रोसँग सामना गरिरहेका छन्। यस क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र भारतको निर्यात र सेवा क्षेत्रले विश्वको औसतभन्दा धेरै बलियो रूपमा पुन: प्राप्ति गरेको छ ।जबकि यसको पर्याप्त विदेशी सञ्चितिले बाह्य झट्काको लागि बफरको रूपमा काम गरेको छ ।

पर्यटनको पुनरागमनले माल्दिभ्सको बृद्धिलाई अगाडि बढाउन मद्दत गरिरहेको छ, र नेपालमा पनि केही हदसम्म गतिशील सेवा क्षेत्रहरू छन् । कोभिड-१९ को संयुक्त प्रभाव र युक्रेनमा भएको युद्धको कारणले भएको रेकर्ड-उच्च वस्तुको मूल्यले श्रीलंकालाई ठूलो नोक्सान पुर्यायो, यसको ऋणको समस्यालाई बढाउँदै र विदेशी सञ्चिति घट्दै गयो। सबैभन्दा खराब आर्थिक संकटमा फसेको श्रीलंकाको वास्तविक जीडीपी यस वर्ष ९.२ प्रतिशत र २०२३ मा थप ४.२ प्रतिशतले घट्ने अपेक्षा गरिएको छ ।

उच्च वस्तुको मूल्यले पाकिस्तानको बाह्य असन्तुलनलाई पनि बिगारेको छ, जसले यसको भण्डारलाई घटाएको छ। विनाशकारी जलवायु-परिवर्तन-इन्धनको बाढीले यस वर्ष देशको एक तिहाइ डुबान पछि, यसको दृष्टिकोण महत्त्वपूर्ण अनिश्चितताको विषय बनेको छ । दक्षिण एसियाका आप्रवासी कामदारहरू, जसमध्ये धेरै अनौपचारिक क्षेत्रमा कार्यरत छन्, COVID-19 को समयमा आवागमनमा प्रतिबन्ध लगाउँदा असमान रूपमा प्रभावित भएका थिए ।

यद्यपि, महामारीको पछिल्लो चरणले रिकभरीलाई सहज बनाउन माइग्रेसनले खेल्न सक्ने महत्त्वपूर्ण भूमिकालाई हाइलाइट गरेको छ । साउथ एसिया इकोनोमिक फोकसको सर्वेक्षण तथ्याङ्कले सन् २०२१ को उत्तरार्ध र २०२२ को प्रारम्भमा, बसाइसराइको प्रवाहलाई महामारीले नराम्ररी प्रभावित क्षेत्रहरूबाट नभएका क्षेत्रहरूबाट आवागमनसँग सम्बन्धित रहेको बताउँछ, जसले गर्दा कोभिड पछि श्रमको माग र आपूर्तिलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।

चितवन मेडिकल कलेज तोडफोडमा संलग्न १० जना पक्राउ

चितवन- बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड भएको छ। आक्रोशित आफन्तहरूको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन्।

तोडफोडबाट लाखौँको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ। तोडफोडबाट मेडिकल आइसियु कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ। आक्रोशित भीडले आइसियु कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले  जानकारी दिए। 

‘धेरै बिरामी उपचार भइरहेको बेलामै संवेदनशील कक्षमा तोडफोड हुनु निन्दनीय छ, तोडफोडबाट लाखौँको क्षति भएको छ, चिकित्सक तथा नर्सहरूमाथि समेत हातपात भएको छ”, देवकोटाले भने, “संवेदनशील क्षेत्रमा यस्तो हर्कत हुनुमा सरकार गम्भीर हुनुपर्छ।” उहाँले अस्पतालले भर्खरको युवालाई बचाउन भनेर हरतवरले प्रयास गरेको बताउनुभयो। 

अहिले अस्पतालमा बाक्लो मात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाइएको छ। भरतपुर–१३ का ३६ वर्षीय रमेश कुँवरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। उनलाई प्याङ्क्रियाटाइटिस र उच्च रक्तचापको समस्या भएर अस्पताल लगिएको थियो। अस्पतालले उपचार गर्न सेन्ट्रल भेन खोलेर औषधि दिएको बताएको छ। त्यसलाई आफन्तहरूले घाँटीको शल्यक्रिया भन्दै तोडफोडमा उत्रिएको बताइएको छ। घटनाबारे अस्पताल प्रशासनबीच छलफल चलिरहेको बेला केही समूहले अस्पतालमा तोडफोड गरेका हुन्। 

तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले बिरामीको मृत्युको सम्बन्धमा अस्पताल प्रशासनसँग वार्ता भइरहेको बेला अराजक समूहले तोडफोड गरेको जनाएको छ। तोडफोडमा संलग्नहरू गाडी रिजर्भ गरेर आएको प्रहरीले जनाएको छ।

सो क्रममा प्रहरीसँग समेत उनीहरूको घम्साघम्सी चलेको थियो। “सो क्रममा प्रहरी उपस्थित नभएको भए झनै ठूलो क्षति हुन सक्ने अवस्था थियो, समयमै प्रहरी पुगेर ठूलो क्षति हुनबाट रोकेको थियो”, प्रवक्ता विजयराज पण्डितले भने।

भारतीय औषधिबाट ६६ बच्चाको मृत्यु, औषधि प्रयोग नगर्न डब्लुएचओको चेतावनी

काठमाडौं- भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखाखोकीको औषधिले ६६ बालबालिकाको मृत्यु भएको छ। बच्चाहरूको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले उक्त औषधि प्रयोग नगर्न चेतावनी दिएको छ।

बुधबार मिडिया ब्रिफिङका क्रममा डब्लुएचओले गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ बच्चाको मृत्यु भएको घटनामा त्यही औषधि नै प्रमुख कारण हुनसक्ने भन्दै प्रयोग नगर्न चेतावनी दिएको हो। 

डब्लुएचओले अन्य देशमा पठाइएको औषधि समेत प्रयोग नगर्न र जाँच गर्न भनेको छ। डब्लुएचओका अनुसार उक्त कम्पनीले चार प्रकारका कफ र कोल्ड सिरप उत्पादन गरेको छ। डब्लुएचओ र भारतको नियामक निकायले यसबारे जाँच गरिरहेको बीबीसी हिन्दीले जनाएको छ।

मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको कफ र कोल्ड सिरपमा डाइथिलीन ग्लाइकोल र एथिलीन ग्लाइकोलको मात्रा नमिलेको डब्लुएचओले बताएको अंग्रेजी अखबार द हिन्दूले लेखेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारका अनुसार २९ सेम्टेम्बरमा डब्लुएचओले भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)लाई यसबारे जानकारी दिएको थियो।

उसले बच्चाहरुको मृत्युको प्रमुख कारण नै  औषधिमा भएको डायथिलीन ग्लाइकोल या एथिलीन ग्लाइकोलको अनुचित मात्रा नै भएको बताएको छ।

स्वास्थ्य मन्त्रालयका ती अधिकारीका अुनसार डब्लुएचओले जानकारी दिनेबित्तिकै डीसीजीआईले यस विषयमा जाँच सुरु गरेको छ। 

राप्रपाले टुंग्यायो उम्मेदवारको नाम

राप्रपा ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुंगो लगाएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला कार्य समितिले दुवै निर्वाचनका लागि पठाएका करिब सात सय उम्मेदवारमध्येबाट प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० उम्मेदवार केन्द्रले छनोट गरेको छ।

विभिन्न राजनीतिक दलबाट तालमेलका लागि प्रस्ताव आइरहेकाले जिल्लाको वस्तुस्थितिका आधारमा जुनसुकै राजनीतिक दलसँग पनि तालमेल गर्न पार्टीले जिल्ला समितिलाई सुझाव दिएको छ।

समान विचार भएका केही दल तथा समूहसँग एकताका लागि पार्टीले आग्रह गरेकाले पनि परिवर्तित अवस्थामा केही पार्टीसँग तालमेल हुनसक्ने छ। त्यसरी तालमेल भए केही निर्वाचन क्षेत्रका नाम परिवर्तन हुनसक्ने नेता सुन्दर पाण्डेले जानकारी दिए।

राप्रपा र नेकपा (एमाले) को शीर्ष नेतृत्वबीच तालमेलका लागि छलफल भइरहेकाले के कति सिट संख्यामा समझदारी कायम हुन्छ, त्यसका आधारमा सम्बन्धित जिल्ला कार्य समितिले केही उम्मेदवारका नाम परिवर्तन गर्नेछ। दुवै पार्टीका अध्यक्षबीच शुक्रबार भेट गरी तालमेलमा सिटको टुंगो लगाउने कार्यतालिका छ।

जिल्ला निर्वाचन कार्यालयमा यही असोज २३ गते जिल्ला कार्य समितिले केन्द्रसँग समन्वय गरी उम्मेदवारको नाम दर्ता गराउने छ।

आयोगले तोक्यो धरौटी रकम

काठमाडौँ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा लागि यही असोज २३ गते प्रत्यक्ष तर्फको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेको छ । 

राजनीतिक दलका तर्फबाट वा स्वतन्त्र उम्मेदवारी दिनका लागि आयोगले धरौटी रकम तोकेको छ । 

प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिन १० हजार रुपैयाँ धरौटी तोकिएको छ भने प्रदेश सभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी तोकिएको छ ।

तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने निर्वाचन आयोगले  जनाएको छ ।

राजेन्द्र लिङ्देनको क्षेत्रमा एमालेले उम्मेदवारी नदिने

काठमाडौँ । राप्रपासँगको तालमेलमा एक संघीय निर्वाचन क्षेत्र र दुई प्रदेश छाडेर एमालेले चार संघीय र आठ प्रदेश निर्वाचन क्षेत्र आफूले राखेको प्रदेश कमिटी सदस्य राधाकृष्ण खनालले जानकारी दिए। झापामा पाँच संघीय र १० वटा प्रदेश निर्वाचन क्षेत्र छन्।

झापा क्षेत्र नम्बर ५ मा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार बन्नेछन्।

क्षेत्र नम्बर १ मा पार्टी स्थायी कमिटी सदस्य अग्नि खरेललाई अघि सार्ने निर्णय भएको छ। उक्त क्षेत्रबाट संघीय सांसदका लागि सर्वसम्मत सिफारिसमा परेका केन्द्रीय सदस्य रविन कोइरालालाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाइने एमाले स्रोतले बताएको छ।

क्षेत्र नम्बर २ मा स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरे उम्मेदवार बन्नेछन्।

क्षेत्र नम्बर ३ भने एमालेले राप्रपालाई छाडेको छ। उक्त क्षेत्रबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार बन्ने छन्।

त्यस्तै क्षेत्र नम्बर ४ मा लालप्रसाद (एलपी) सावाँ लिम्बूले पुनः उम्मेदवारी पाएका छन्।

प्रदेशसभातर्फ क्षेत्र १ को ‘ख’ राप्रपाले पाएको छ। त्यस क्षेत्रमा सविना बजगाईँ वा कल्याण खड्कामध्ये एक जना उम्मेदवार बन्नेछन्।

क्षेत्र १ को ‘क’ मा एमाले केन्द्रीय सदस्य कोइरालालाई उम्मेदवार बनाउने तयारी छ।

क्षेत्र २ को ‘क’ बाट निवर्तमान सांसद एकराज कार्की नै उम्मेदवार बन्नेछन् भने ‘ख’ बाट पार्टीका प्रदेश सचिव चिन्तन पाठक उम्मेदवार बन्ने भएका छन्।

निर्वाचन क्षेत्र ३ ‘ख’ मा एमाले केन्द्रीय सदस्य हरि राजवंशी र ‘क’ मा प्रदेश सदस्य एवं निवर्तमान सांसद वसन्त बानियाँ उम्मेदवार हुनेछन्। क्षेत्र ४ ‘क’ बाट एमालेका राधाकृष्ण खनाल उम्मेदवार बन्नेछन् भने ‘ख’ बाट राप्रपाले खुस्वु ओलीलाई उम्मेदवार बनाउने छ।

निर्वाचन क्षेत्र ५ को ‘क’ बाट पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व प्रदेशमन्त्री हिक्मत कार्की र ‘ख’ बाट पार्टीका प्रदेश सदस्य होमबहादुर थापा उम्मेदवार बन्ने निश्चित भएको प्रदेश कमिटी सदस्य खनालले बताए।

जनकपुरधाममा मोटरसाइकल चोरीको घटना बढ्यो

जनकपुर । जनकपुरधाममा मोटरसाइकल चोरीको घटना बढेपछि नगरबासी असुरक्षित महसुस गर्न थालेका छन। जनकपुरधामको पिडारी चोकमा रहेको परिवार होटल अगाडिबाटै लु. ७७ प. ०९२६ नम्वरको पल्सर मोटरसाइकल चोरी भएको छ । जनकपुरधाम १३ का मो. राजबुला साफीको उक्त मोटरसाइकल चोरी भएको चार दिन वितिसक्यो तर फेला पर्न सकेको छैन । ‘होटलमा जन्मदिन पार्टीमा सहभागी हुन गएको थिए’, पीडित साफीले भने, ‘ जन्मदिन मनाएर बाहिर निस्किदै बाइक नै गायब भइसकेको थियो । छेउछाउ सबैतिर खोजे तर भेटेको छैन ।’ उनले प्रहरीले समेत मोटरसाइकल खोज्न चासो नदेखाएको गुनासो गरे । अहिले चाडबाडको समयमा बजारमा अत्यधिक भीडभाड हुने गरेको छ । त्यसैले मोटरसाइकल चोरीको घटना झन बढ्न सक्ने जोखिम रहेपनि सुरक्षा निकायलाई मतलब नै नरहेको स्थानीय बताउँछन् ।

शनिबारसम्म साढे ६ लाखले छाडे उपत्यका

काठमाडौँ । दसैँका लागि शनिबारसम्म करिब साढे ६ लाखले उपत्यका छाडेका छन् । शनिबार मात्र उपत्यकाबाट करिब डेढ लाख बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

‘शनिबार उपत्यका छाड्नेको ठूलो भिड थियो,’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी अवदेश विष्टले भने, ‘आइतबारसम्म उपत्यका छाड्नेको भिड हुने र सोमबारदेखि उपत्यकाको ट्राफिक खुकुलो हुने हाम्रो अनुमान छ।’

शनिबार बिहानदैखि उपत्यकाका मुख्य ६ नाकामा सवारीसाधनको भिड थियो । खासगरी पृथ्वी राजमार्ग र बिपी राजमार्गमा सवारीसाधनको अत्यधिक चाप हुँदा ठाउँ–ठाउँमा लामो जाम परेको थियो । तर, विगतका वर्षमा जस्तो ठूलो जाम भने नभएको ट्राफिक प्रहरीको दाबी छ । जाम न्यूनीकरणका लागि बिपी राजमार्गमा टिपर चलाउन रोक लगाइएको छ । त्यस्तै, चितवनदेखि काठमाडौँ आउने ठूला मालवाहक गाडीलाई राति १२ बदेदेखि बिहान ४ बजेसम्मको समय तोकिएको छ।

उपत्यकामा ट्राफिक प्रहरीले पनि चाडपर्वलक्षित विशेष चेकजाँच सुरु गरिसकेको छ । यात्रुवाहक गाडीको अवस्था जाँचदेखि, यात्रुको संख्या तथा लामो दूरीमा दुई चालक राखे-नराखेको हेर्न थालिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीसँगको सहकार्यमा उपत्यकाका १६ स्थानमा यात्रु सहायक डेस्क स्थापना गरिसकेको छ । खासगरी चाडपर्वमा उपत्यकाबाहिर जाने यात्रु नठगिऊन् भन्ने उद्देश्यले यस्ता डेस्क स्थापना गरिएको ट्राफिक कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए।

चाडपर्वको समयमा उपत्यकामा सवारीसाधनको संख्या घट्ने गर्छ । सडक खाली हुँदा सवारीसाधनको गति तीव्र हुने र दुर्घटनासमेत हुने गरेका छन् । यस्तो दुर्घटना रोक्न शनिबारदेखि दिउँसै मापसे जाँच सुरु गरेको छ । मापसेका साथै लापसे (लागुपदार्थ सेवन) र गाडीको यान्त्रिक जाँच पनि सुरु गरिएको एसपी अवदेश विष्टले बताए।

निःशुल्क वितरणका लागि पाँच लाख पचास हजार पारासिटामोल प्रदान: स्वास्थ्य मन्त्रालय

काठमाडौं-  सरकारले डेंगी संक्रमणको विध्यमान अवस्थालाई मध्यनजर गर्दै निःशुल्क वितरणका लागि विभिन्न निकायलाई पारासिटामोल वितरण गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पारासिटामोल औषधि आपूर्ति व्यवस्था सहज  बनाउनको लगि विभिन्न निकायलाई  पारासिटामोले दिएको जानकारी दिएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमारी अधिकारीका अनुसार मन्त्रालयले विभिन्न निकायहरूलाई निशुल्क वितरणका लागि औषधि उपलब्ध गराएको छ। 

विभिन्न औषधि तथा भण्डारण केन्द्रहरूमा औषधि भण्डारण गरि राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको उनले बताए। त्यस्तै सम्पूर्ण निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई यसको उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण भइरहेको समेत उनको भनाई छ। 

‘डेंगु गराउने लामखुट्टे बिहान ७ देखि १० र  दिउँसो ३ देखि ५ बजेसम्म बढी सक्रिय हुन्छ’

नेपालमा डेंगुका बिरामी ७७ वटै जिल्लामा भेटिएका छन्। विगतमा तराई र केही पहाडी जिल्लामा देखिएको डेंगु गराउने लामखुट्टे अहिले हिमाली जिल्लामा समेत भेटिएको छ। डेंगु गराउने लामखुट्टे कस्तो हुन्छ? कत्रो हुन्छ? यसले किन दिउसो बढी टोक्छ? यो लामखुट्टे कति दिन बाँच्छ? लगायतका विषयमा त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी विभागका सहप्राध्यापक मेघराज बञ्जारासँग स्वास्थ्यखबरकी रिता लम्सालले गरेको

कुराकानी:

डेंगु गराउने लामखुट्टे कस्तो हुन्छ ? कति साइजको र कस्तो रंगको हुन्छ ?

डेंगु गराउने लामखुट्टे एडिस एजिप्टाइ र एडिस एल्वोपिटक्स गरी विशेष २ प्रकार छन्। यी दुवै किसिमका लामखुट्टेले डेंगु भाइरस सार्छ। घरभित्र खाटका कुनाहरुमा, झ्यालभित्र, अध्यारो ठाउँमा एडिस एजिप्टाइ जातको लामखुट्टे बस्छ।
एडिस एजिप्टाइ घर भित्र बस्छ। एडिस एल्बोपिटक्स घर बाहिर बस्छ। त्यसैले डेंगुको संक्रमण घर भित्र र घर बाहिर दुवै स्थानबाट सर्न सक्छ।

नेपालमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसालै गरेको अनुसन्धानमा एडिस एजिप्टाइ बढी देखिएको छ। नेपालमा पहिला भएका अध्ययनहरुले पनि नेपालमा एडिस एजिप्टाइ जातको लामखुट्टे बढी रहेको जनाएको छ।

यो लामखुट्टे ४ मिलिमिटर साइजको हुन्छ। यो कालोमा सेता छिरबिरे रंगको हुन्छ। कालोमा सेतो थोप्ला हुने भएकाले यसलाई एसियन टाइगर मस्क्यिुटो पनि भनिन्छ। यो सानो हुन्छ। यो लामखुट्टे बिहान दिउँसो अर्थात उज्यालोमा बढी सक्रिय हुन्छ।

बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म बढी सक्रिय हुन्छ। तर यसले जुनसुकै समयमा पनि टोक्नसक्छ। बढी सक्रिय हुने समयमा भने बढी टोक्ने सम्भावना हुन्छ।

लामखुट्टेले टोकेपछि मानव शरीरमा के हुन्छरु टोकेको स्थानमा फोका आउने, चिलाउने जस्ता तत्कालिन समस्याहरु र डेंगु संक्रमण कति दिनमा देखिन्छरु शरीर भित्र अन्य के–के असर गर्छरु
संक्रमित लामुट्टेले मानिसलाई टोकेमात्र डेंगु सर्छ। लामखुट्टेमा पनि डेंगुको भाइरस भएको अवस्थामा मात्र यो मानिसमा संक्रमण सर्ने हो। संक्रमित लामखुट्टे टोकेका तीन देखि ५ दिन भित्रमा मानिसमा डेंगुको लक्षण देखिन्छ। डेंगु भाइरस डेन १, डेन २, डेन ३ र डेन ४ गरी चार सरोटाइपका हुन्छन्।

यो सेरोटाइपले साधारण डेंगु ज्वरोदेखि अन्तरिक रक्तश्राब गराउने र सक सिन्ड्रोममा जानेसम्मको लक्षणहरु देखा पर्दछ। यसमा विशेषगरी हेमोरेज हुँदा प्लाज्मा तथा प्लेटलेस कम हुन्छ।

यो लामखुट्टेले राती टोक्दैन ?
यो लामखुट्टेले जुनसुकै समयमा टोक्न सक्छ। दिउसोको समयमा बढी सक्रिय हुने भएकाले दिउँसो बढी टोक्छ।

सफा पानी जमेको ठाउँमा किन बस्छरु कति दिनमा लार्भा लामखुट्टे बन्छ ?
यो लामखुट्टे फोहोर पानीमा बस्दैन। सफा पानी भएको ठाउँमा बस्छ। फालेका टायर, ड्रम, गमला, साना–साना रंगका बट्टाहरु जथाभावी रुपमा फाल्दा त्यहाँ वर्षातको पानी भरिएर केही दिनमा सफा भएर जमेर बस्छ। यस्तो ठाउँमा यो लामुखट्टेले फूल पार्छ। लामखुट्टेले फूल पारेको ३ देखि ४ दिनमा लार्भा बन्छ। लार्भा बनेको २ देखि ३ दिनमा प्युपा बन्छ, प्युपा भएको २,३ दिनमा वयस्क लामखुट्टे बन्छ। यसको जन्म प्रक्रिया ७ देखि १० दिनको हुन्छ। यसमा तापक्रमले पनि फरक पार्छ।

डेंगु संक्रमित लामखुट्टेले पारेको फूलमा पनि डेंगुको भाइरस पाइन्छ र यो फूल वयस्क लामखुट्टे बन्दा उ डेंगु संक्रमित लामखुट्टे नै बन्छ। यसलाई हामी ट्रान्सोभाइरल ट्रान्मिसन भन्छौं। एउटा संक्रमित लामखुट्टेबाट जन्मिने नयाँ लामखुट्टेहरुमा डेंगुको भाइरस हुन्छ त्यसैले लामखुट्टे नियन्त्रण नभएमा संक्रमित लामखुट्टेको उत्पादन बढ्छ र डेंगुको संक्रमण पनि फैलिनसक्छ।

यो लामखुट्टेको आयु कति हुन्छ ?
डेंगु संक्रमण गराउने एडिस जातको लामखुट्टेको आयु तीन हप्ताको हुन्छ। डेंगु संक्रमित लामखुट्टेले कुनै व्यक्तिलाई टोकेपछि वा धेरै व्यक्तिलाई टोकेपछि मर्छ भन्ने गरिन्छ। यो कुरा सत्य हो। यो कुरा सत्य होइन। एउटा डेंगु संक्रमित लामखुट्टेले धेरै व्यक्तिलाई टोक्नसक्छ। यसको आयु तीन हप्ताको हो, त्यसैले डेंगु संक्रमित लामखुट्टेको पनि आयु त्यति नै हो। कुनै व्यक्तिलाई टोकेपछि मर्दैन।

यो लामखुट्टे घरको माथिल्लो तलासम्म उड्न सक्दैन भन्छन् निरु कतिसम्म उड्न सक्छ ?
छतमा राखेको ट्यांकीको पानीमा समेत लामखुट्टे पाइन्छ भनेपछि घरको माथिल्लो तलासम्म उड्न सक्दैन भन्ने कुरा गलत हो। कालाजार गराउने लामखुट्टे मात्र पहिलो तलाभन्दा माथि जान सक्दैन भन्ने हो। तर यो डेंगु गराउने लामखुट्टे उड्न सक्छन् र छतमा जमेको वा छतमा भएको पानी जम्ने भाँडामा पनि लामखुट्टे उत्पादन हुन्छ।

अन्तयमा,
अहिले नेपालमा डेंगुले प्रकोपको रुप लिएको अवस्था छ। त्यसैले डेंगु नियन्त्रणका लागि लामखुट्टे नियन्त्रण गर्न समुदायको सक्रियता आवश्यक पर्छ। घर वरपर खाली बट्टा वा भाडामा पानी जम्न दिन हुदैन। पानी जम्ने खाल्डाखुल्डी छ भने पुर्नुपर्छ। पानी जमेको छ भने फाल्नुपर्छ। अहिले धेरै मानिसहरु संक्रमित भएको अवस्थामा यसले प्रकोपको रुप लिइसकेको छ। त्यसैले लामखुट्टे नियन्त्रणका लागि घर, अफिस तथा बाहिर पनि लामखुट्टे नियन्त्रणका उपायहरु अपनाउनुपर्छ। सरकारले लामखुट्टे मार्नका लागि प्रयोग गर्न अनुमति दिएका विषादीहरुको प्रयोग पनि गर्नुपर्छ।

तापक्रम १८ डिग्री सेल्सियसमा नझरेसम्म डेंगु गराउने लामखुट्टेलाई उपयुक्त मौसम रहिरहने भएकाले डेंगु गराउने लामखुट्टेको उत्पादन नियन्त्रण गरिएन भने चिसो मौसन नआएसम्म डेंगुको प्रकोप नियन्त्रण हुदैन।

दशैंको मुखमा प्रदीप अधिकारीलाई दशा लाग्यो, पद फुत्किने सम्भावना

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका बारेमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग राय प्रक्रिया बुझाउन निर्देशन दिएको छ ।

प्राधिकरणका महानिर्देशक अधिकारीविरुद्ध अख्तियारमा लिखित उजुरी परेपछि मन्त्रालयमार्फत राय प्रतिक्रिया उपलब्ध गराउन भदौ १३ गतेको पत्रमा उल्लेख छ ।

अख्तियारको दर्ता चलानी नं. ८९९५ नम्बरको पत्रमा भनिएको छ, ‘यस आयोगमा दर्ता भएको उ.द.नं. सी–०१०६७२ मिति २०७९/०५/१२ को उजुरीका सम्बन्धमा छानबिन गरी ७ दिनभित्र राय प्रतिक्रिया उपलब्ध गराउन मिति २०७९/०५/१३ को निर्णयानुसार उजुरीको छायाँप्रति यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा अनुसारेध छ ।’

महानिर्देशक बन्न अधिकारीले करोडौं बुझाएर पदमा बहाल रहेको आरोप अख्तियारमा परेको उजुरीमा उल्लेख छ ।

रिपब्लिका दैनिकलाई प्राप्त अख्तियारले पर्यटन मन्त्रालयलाई काटेको पत्र र उजुरीमा अधिकारीका कर्तुतहरू उल्लेख छन् । अधिकारीका कर्तुतहरू ६ वटा बुँदामा रहेका छन् ।

अधिकारीले महानिर्देशक बन्दा खर्च भएको रकम उठाउन टर्मिनल भवन, रनवे, एयरपोर्ट निर्माण लगायतका कार्य गरेर कमिशनबाट असुल उपर गर्ने हर्कत गरिरहेको अख्तियारमा परेको पत्रमा उल्लेख छ ।

अख्तियारलाई अधिकारीका विषयमा राय प्रतिक्रिया मन्त्रालयले अख्तियारलाई बुझाएपछि अनुसन्धान हुनेछ ।

महानिर्देशक अधिकारका विषयमा अख्तियारले फाइलहरू झिकाएर अनुसन्धान गर्न सक्नेछ । अख्तियारले अधिकारीमाथि सुक्ष्म रुपमा अनुसन्धान अगाडि बढाउन प्राधिकरणका कर्मचारीहरूको माग छ ।

अधिकारीविरुद्ध प्रमाणहरू पाइएमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्न सक्छ । मुद्दा दायर भएमा अधिकारी महानिर्देशक पदबाट निलम्बनमा पर्न सक्छन् । त्यो अवस्थामा उनलाई ठूलो घाटा र नोक्सानी हुनेछ ।

अधिकारीको सम्पत्तिको छानविनको पनि माग उठ्दै आएको छ । पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख भएर काम गरेका अधिकारीले त्यो बेला पनि अकुत कमाइ गरेको आरोप छ ।

अख्तियारमा अधिकारीविरुद्ध परेको उजुरीका बुँदाहरू क्रमशः सार्वजनिक गरिनेछ ।

अधिकारीविरुद्ध अख्तियारले खुट्टा नकमाएर अनुसन्धान गर्नुपर्ने माग छ । अख्तियारका प्रमुख आयुक्त प्रेम राई छन् । राई लोभलालचमा नपरेर कार्यसम्पादन गर्ने सीमित उच्च तहका व्यक्तिमा नाम लिइन्छ ।

अधिकारी सामान्य व्यक्ति होइनन् । उनीसँग असीमित पावर छ । आफना विरोधी र उजुरीहरूलाई समयमा ठेगान लगाउन सक्ने हैसियत राख्छन् । अधिकारीलाई अख्तियारले यस पटक छाड्छ वा अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउँछ हुेर्न बाँकी छ ।

पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता-कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरे ।

इटहरी १७ घर भएका चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।