उम्मेदवार राईलाई स्पष्टीकरण

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका बाँके क्षेत्र नं २ का जनता समाजावादी पार्टीका उम्मेदवार मोहम्मद इस्तियाक राईलाई स्पष्टीकरण सोधेको छ । आयोगले उम्मेदवार राइले अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा स्पष्टीकरण सोधेको हो ।

निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका परेको थियो । स्पष्टीकरण पत्रमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय बाँकेमा प्राप्त हुनेगरी जवाफ पेस गर्न निर्देशन दिइएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (ण) को प्रावधान ‘कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने व्यवस्था स्मरण गराइएको छ ।

कमला नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो

सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ ।

कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा भक्तजनको भीड नै लागेको छ । कार्तिक पूर्णिमामा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी–झाँक्रीले तान्त्रिक सिद्धिप्राप्त गर्ने जनविश्वास रहेको छ ।

बर्सेनि धामी–झाँक्रीले भूत र घरको कूलदेवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौँदेखि रहिआएको र त्यसैले यसलाई भूत मेला भन्ने गरिएको बताइएको छ । आजको दिन नयाँ–नयाँ धामी–झाँक्री कमला स्नान गरेपछि तन्त्र विद्यामा निपुर्ण हुने मान्यता पनि रहेको छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले नदीको शुद्धपानी आ–आफ्नो घर लैजाने गर्छन् ।

उक्त पानी पूजाअर्चना अथवा सुद्धि गर्न गङ्गाजलजस्तै पवित्र मानिन्छ । भूत मेला हेर्न सो नदी किनारमा हजारौँ सङ्ख्यामा श्रद्धालु भक्तजन सहभागी भएका छन् ।

संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना, कर्मचारीलाई दिइयो यस्तो कार्यादेश: निर्वाचन आयोग

काठमाडौँ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वय बढाउन निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग पुर्‍याउन  केन्द्र सञ्चालनमा ल्याएको आयोगले जनाएको छ ।

केन्द्रको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले केन्द्रमा खटिने कर्मचारीहरूले मुख्यतः पाँच महत्त्वपूर्ण काम गर्नुपर्ने बताए । उनले भने, ‘संयुक्त निर्वाचन सञ्चालन केन्द्रको क्रियाशीलताले स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गले निर्वाचन सम्पन्न हुने विश्वास छ ।’

आयोगले सोमबारदेखि नै विकट पहाडी जिल्लाका मतदान केन्द्रहरूमा कर्मचारी खटाउन सुरु गरेको जानकारी दिँदै केन्द्रले उनीहरूसँगको समन्वयमा काम गर्ने बताए । आवश्यक पर्दा केन्द्रले तत्काल निर्णय गर्नुपर्ने उल्लेख गर्दै उनले केन्द्रमा खटिने कर्मचारीहरू आयोगप्रति उत्तरदायी हुने उल्लेख गरे । आयोगले सोमबारदेखि वडास्तरमा मतदाता शिक्षा कार्यक्रम पनि सुरु गरेको जानकारी दिँदै प्रत्येक ठाउँमा सामाजिक परिचालक पुगे वा नपुगेको सूचना लिने तथा आवश्यक पर्दा निर्वाचन सुरक्षा र निर्वाचनसँग सम्बन्धित विषयमा तत्काल निर्णय लिनुपर्ने बताए ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको तयारीका क्रममा सामग्री र जनशक्ति व्यवस्थापन, सुरक्षा प्रबन्ध र अनुगमनको मिहिन विश्लेषण गरेर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा सम्बोधन गर्ने संयन्त्र विकास गरिएको पनि उल्लेख गरे । उनले केन्द्रले मतदानस्थलसम्म सिधै‌ र नियमित सम्पर्क राख्नुपर्ने, खटिएका कर्मचारी सम्बन्धित स्थलमा पुगे-नपुगेको जानकारी लिने, वडास्तरमा जारी मतदाता शिक्षा सञ्चालनको अवस्था बुझ्ने, आचारसंहिता कार्यान्वयन र परिपालनामा आवश्यक सघाउने, जिल्लास्थित निर्वाचन कमाण्ड सेलसँग समन्वय बढाउने तथा मतदानपछि मतपेटिका र गणनाको सुरक्षालगायतका विषयमा आवश्यक समन्वय र सहयोग गर्नुपर्ने कार्यादेशबारे जानकारी दिए ।

आयोगका सचिवको संयोजकत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका नेतृत्व तथा आयोगका आवश्यक कर्मचारीहरू रहने छन् । निर्वाचन सुरक्षा व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०७९ तथा निर्वाचन अनुगमन (पहिलो संशोधन) निर्देशिका, २०७९ अनुसार स्थापित केन्द्रले देशभर निर्वाचनबारे भइरहेका व्यवस्थापन, सुरक्षा र अनुगमनका कामलाई अझ प्रभावकारी बनाउन समन्वय बढाउने विश्वास गरिएको छ ।

गठबन्धन गर्नु लोसपाको बाध्यता: अध्यक्ष ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको भनेका छन् ।

महोत्तरी सदरमुकाम जलेश्वरमा आइतबार आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्रको सार्वजनिक गर्दै उहाँले मधेसी जनतालाई थप अधिकार सम्पन्न बनाउनका लागि विभिन्न ठूला दलसँग निर्वाचनमा सहकार्य गरेको बताउनुभयो ।

अध्यक्ष ठाकुरले मधेस आन्दोलनका क्रममा उठेमा आवाजलाई पूरा गर्न र मधेसलार्ई न्याय दिलाउनका लागि लोसपाले गठबन्धन गर्नुपरेको हो भन्नुभयो । उहाँले भन्नुभयो, “ जेलमा रहेका साथीहरुलाई निकाल्नुपर्ने छ, झुठा राजनीतिक मुद्दा खारेज गराउनुपर्ने छ, नागरिकता र संविधान संशोधनको मुद्दा सम्बोधन गराउनुपर्ने छ । साथै मधेस र मधेसीलाई अधिकार सम्पन्न बनाउनु पर्ने छ । त्यसैले गठबन्धन लोसपाको बाध्यता हो । ”

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा अध्यक्ष ठाकुरले मधेस र मधेसी जनतालाई थप हक अधिकार दिलाउन लोसपा सक्षम रहेको छ भन्नुभयो ।

घोषणापत्रमासमेत मधेस र मधेसीलाई नागरिकतादेखि संविधानसम्म हकअधिकारको प्रत्याभुति, शिक्षा, स्वास्थ्य, कृषि, लोकतन्त्रको रक्षा, पहिचानसहितको सङ्घीयता, संसदीय व्यवस्थाको निरन्तरता, राष्ट्र हितमा ठोस र व्यावहारिक विदेश नीतिको निर्माण, सुशासन, सदाचार भ्रष्टाचारमुक्त समाज निर्माण, महिला सशक्तीकरण, युवा सशक्तीकरणलगायतका विषयलाई समावेश गरिएको छ ।

सो कार्यक्रममा नेता शरतसिंह भण्डारी, अनिलकुमार झा र उमाकान्त झाले संयुक्तरुपमा घोषणापत्र सार्वजनिक गर्नुएको थियो ।

सुरक्षा योजनाबारे जानकारी लिदै: प्रधानसेनापतिसहित रक्षा सचिव शर्मा

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले आइतबार दुई पृतना हेडक्वार्टर र एक गणको निरीक्षण भ्रमण गरेको छ । शर्माले रुपन्देहीको बुटवलस्थित मध्य पश्चिम पृतना हेडक्वार्टर, कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतना हेडक्वार्टर तथा भरतपुरस्थित रणसिंहदल गणको निरीक्षण भ्रमण गरेका हुन् ।

निरीक्षण भ्रमणको क्रममा उनले पृतना हेडक्वार्टरहरु तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाका, प्रदेशहरूसँगको समन्वयसहित आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको एकीकृत सुरक्षा योजनाबारे जानकारी हासिल गरेका थिए । साथै गणको वस्तुस्थितिका बारेमा जानकारी लिँदै आवश्यक निर्देशन दिएका छन्। आजै, प्रधान सेनापति शर्माले निर्वाचनको सुरक्षार्थ कपिलवस्तुको चन्दौटा इलाकामा स्थापना भएको कम्पनी अपरेटिङ बेसको पनि निरीक्षण गरेका छन् ।

रक्षा सचिव किरणराज शर्माको सहभागिता रहेको उक्त निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति शर्माले लुम्बिनी प्रदेशका प्रदेश सचिव दीपक कुमार काफ्ले तथा रुपन्देहीका सुरक्षा निकायका प्रमुखहरूसँग अन्तरक्रिया समेत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति शर्माले सोमबार सुर्खेतको निमारेस्थित उत्तर पश्चिम पृतना हेडक्वार्टरलगायतको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेका छन् ।

आगोमा जलेर पाँच महिने शिशुको मृत्यु

बाजुरा । बाजुराको बुढिन्नदा नगरपालिका–९ अगाउँपानीमा पाँच महिनाको शिशुको आगोलमा जलेर मृत्यु भएको छ । आज (आइतबार) बिहान ८ः३० बजे ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परि शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएका छन् ।

चुलोको नजिकै सुताइ राखेको शिशुको जलेर मृत्यु भएको हो । यस घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी प्रमुख सूर्य थापाले बताएका छन् ।

आज बिहान सदुमरकाम मार्तडीको एक घरमा आगलागी भएको छ । बडीमालिका नगरपालिका–८ स्थित वीर बहादुर थापाको घरमा आगलागी भएको हो । स्थानीय शुशीला थापाको अनुसार बिजुलीको तार सट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

बिहान ७ बजेर १८ मिनेटको समयमा घरमा आगोको मुस्लो बजारमा धपक्क छाएपछि स्थानीय, प्रहरी, शसस्त्र प्रहरी विद्यार्थी र नेपाली सेनाले आगो नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार जिल्लामा दमकलको सुविधा नहुँदा मान्छेबाट आगो नियन्त्रणमा लिन निकै नै समय लागेको थियो । करिब २ घण्टापछि मात्र आगो नियन्त्रणमा लिइएको बताइएको छ ।

तीन तले घरको तल्लो तल्लाबाट सल्केको आगोले पुरै घर जलेर नष्ट भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घर मालिक सो घरमा नबस्ने भएकेले घरमा विद्यार्थीहरु मात्र भाडामा लिएर बसेका थिए ।

७३% बाेनस वितरण गर्ने: जाल्पा सामुदायिक लघुवित्त

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि. ले गत आर्थिक वर्षसम्म सञ्चित रहेको मुनाफाबाट हाल कायम शेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७३ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ३.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको कात्तिक १९ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेका छन्।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी चौथो वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी १६ करोड रुपैयाँ रहेको छ। ७३ प्रतिशतका दरले ११ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गरेपश्चात लघुवित्तको चुक्ता पूँजी २७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ।

शेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौं । नेप्से साताको पहिलो कारोबारको दिन  आज आइतबार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज ४३.२० अंकले बढेर एक हजार ९ सय ६५ दशमलब ३६ विन्दुमा बन्द भएको हो ।   

त्यस्तै, आज नेप्सेमा एक अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १८५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने एक वटा कम्पनीको शेयरमूल्य घटेको छ ।  

आज सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मानुषी लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, स्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् । 

नेप्सेका अनुसार नबिल इक्विटी फण्ड र आरबीबी म्युचुअल फण्ड  शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको भएको छ । यसको आज १० करोड १४ लाख भन्दा बढीको कारोबार भएको छ ।        

जरैदेखि भ्रष्टाचार अन्त्य गर्छु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बताए । त्यसका लागि जनताले स्वतन्त्र पार्टीलाई सहयोग गर्नको लागी उनले भने ।

सुर्खेतमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बाचा गरे ।

उनले गुणस्तरीय शिक्षा, स्वास्थ्य, र रोजगारीका लागि अब कोही पनि व्यक्ति विदेश जानु नपर्ने बताए ।

साथै उनले आफ्नो पार्टी सरकारमा गए उपचार गरेर पैसा तिर्न नसक्ने नागरिकको सरकारले तिरिदिने बताए । यस्तै उनले नेपालमा उत्पादन भएका वस्तुहरूको ब्रान्ड एम्बेसडर बन्न तयार रहेको समेत बताए।

टी-२० विश्वकप : बंगलादेशलाई हराउँदै पाकिस्तान

काठमाडौँ । पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एडिलेटमा आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले अन्तिम चारको यात्रा तय गरेको हो ।

बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाएर १ सय २८ रन पूरा गर्यो।

पाकिस्तानको जितमा मोहमद रिजवानले ३२ रन जोड्दा मोहमद हरिसले ३१ रन बनाए ।

कप्तान बाबर आजमले २५ तथा शान मासुदले रन बनाए ।

बंगलादेशका शकिब अल हसन, मुस्ताफिजुर रहमान, एबाडोट होसेन र नसुम अहमेदले १र१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन जोडेको थियो ।

बंगलादेशका लागि नाजमुल होसेन शान्टोले ५४ रनको अर्धशतकीय इनिङ खेले ।

आफिफ होसेनले अविजित २४ रन जोड्दा सौम्य सरकारले २० रन बनाए । लिटोन दासले १० रन जोडे ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ विकेट लिए । शादब खानको नाममा २ विकेट रह्यो ।

जितसँगै पाकिस्तानले समूह २ बाट सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

पाकिस्तानले ५ खेलमा ६ अंक जोड्यो । बंगलादेश ४ अंक जोडेर बाहिरिएको छ ।

मतदाता शिक्षा दिँदै स्वयंसेविकाः

२० कात्तिक । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी स्वास्थ्य स्वयंसेविका खिमा थापा शनिबार बिहानै झोलाभरी मतपत्र, स्वस्तिक छाप र अन्य सन्देशमूलक सूचना बोकेर हिँडिरहेको अवस्थामा भेटिनुभयो । सधैँजसो जनस्वास्थ्यका अभियानको सन्देश बोकेर आफ्नो टोलका घर–घरमा पुग्नुहुने उहाँले यसपटक भने नौलो अभियान लिएर घरदैलो गरिरहनुभएको छ ।

थापा यस पटक मताधिकार कसरी प्रयोग गर्ने भनेर घरदैलोमा पुग्नुभएको हो । उहाँ जस्तै जिल्लाभरिका महिला स्वास्थ्य स्वयंसेविकाको दिनचर्या शुक्रबारदेखि भने मतपत्र, स्वस्तिक छाप, निर्वाचनका आयोगका प्रचार सामग्रीसँग गाँसिएको छ । स्वयंसेविकाहरु घर–घरमा पुग्छन्, भेटेकालाई बदर नहुनेगरी मतदान गर्न सिकाउँछन् । मताधिकारको विषयमा सचेत गराउँछन् र आफ्नो बाटो लाग्छन् ।

‘‘पहिलोपटक मतदाता शिक्षामा सहभागी भएँ, मलाई त रमाइलो लाग्यो, सबैलाई भेट्न पनि पाइने, उनीहरुले भनेको सुन्न पनि पाइने’’ स्वयंसेविका थापाले भन्नुभयो ‘‘मेरो त सिक्ने, सिकाउने र गाउँठाउँको वातावरण बुझ्ने सबै काम भइरहेको छ।’’ मतदातालाई मतदान प्रक्रियाबारे सचेत गराउने उद्देश्यले बागलुङका सबै वडामा मतदाता शिक्षा सञ्चालन गरिएको छ । निर्वाचन आयोगको निर्देशनअनुसार जिल्लाका दशवटै स्थानीय तहले आ–आफ्नो पालिकाका सबै वडामा कार्यरत स्वास्थ्य स्वंयमसेवीकालाई छनोट गरी मतदाता शिक्षाका लागि जनशक्ति तयार गरेका थिए ।

जिल्लाका ८५ वटै वडाका टोलटोलमा शुक्रबारदेखि एकसाथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको निर्वाचन कार्यालयका प्रमुख यज्ञ रिजालले जानकारी दिनुभयो । मतदाता शिक्षाका लागि छनोट भएका स्वयंसेविकालाई मतदाता शिक्षाका लागि तालिम प्रदान गरिएको र सिकाइ सामग्री सम्बन्धित वडासम्म पु¥याइएको उहाँको भनाइ थियो । उक्त कार्यालयले स्थानीय तहका सम्पर्क व्यक्तिमार्फत स्वयंसेवीकालाई मतदाता शिक्षासम्बन्धी तालिमका लागि सहजीकरण गरेका थिए ।

मतदाताको मतदान प्रक्रियामा सहभागिता बढाउने तथा मत बदर हुन नदिने उद्देश्यले निर्वाचन हुनअघि आयोगले मतदाता शिक्षा सञ्चालन गर्दै आएको छ ।
जनप्रतिनिधि छनोटको विषय देश र नागरिकको भविष्यसँग जोडिएकाले सदर मत बढाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नु आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताउनुभयो ।

यस कार्यक्रमलाई प्रभावकारी बनाउन आयोगको निर्देशिकाअनुसार जिल्लास्तरीय, पालिकास्तरीय र वडास्तरीय समिति गठन गरिएको छ । निर्वाचन कार्यालयका प्रमुख रिजालका अनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको र सो समितिको सदस्यमा जिल्ला समन्वय समितिका सदस्य, सदरमुकामस्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, पत्रकार महासङ्घका प्रतिनिधि तथा जिल्ला निर्वाचन अधिकारी सदस्य–सचिव रहने व्यवस्था छ ।

कार्यक्रम सञ्चालन गर्दा लाग्ने खर्च तथा आवश्यक साधन, स्रोत र जनशक्तिको व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने व्यवस्था रहेको छ । मतदाता शिक्षा कार्यक्रम निर्देशिकाअनुसार स्थानीय तहका वडामा १५ दिनसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि समन्वय गर्न मतदाता शिक्षा समन्वय समिति (स्थानीय तह स्तर) र मतदाता शिक्षा सञ्चालन समिति (वडास्तर) को व्यवस्था गरिएको छ । स्वयंसेवीकालाई आवश्यक तालिम र सामग्री उपलब्ध गराई कार्यक्षेत्रमा पठाइएको निसीखोला गाउँपालिका निर्वाचन सम्पर्क व्यक्ति पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।

स्थानीय तहमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको संयोजकमा चार सदस्यीय र वडा तहमा वडासचिवको संयोजकत्वमा तीन सदस्य समन्वय समिति गठन गरिएको छ । समितिले निर्वाचन शिक्षाका लागि आवश्यक समन्वय तथा अनुगमनको काम गर्नेछ । स्वयंसेवीकाले मतदान गर्ने, मतपत्र मतपेटीकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत निर्वाचन प्रक्रियाको बारेमा मतदातालाई जानकारी दिनेछन् ।

यस्तै जिल्लाका दशवटै स्थानीय तहले निर्वाचन सम्पर्क व्यक्ति पनि तोकेका छन् । काठेखोला गाउँपालिकाले मनोज कार्की, बागलुङ नगरपालिकाले ससबहादुर पुन, निसीखोला गाउँपालिकाले पुरुषोत्तम गौतम, तमानखोला गाउँपालिकाले मुना विश्वकर्मा, ढोरपाटन नगरपालिकाले चण्डरीराज पौडेललाई सम्पर्क व्यक्तिको रुपमा खटाएको हो । 

बडिगाड गाउँपालिकाले पूर्णबहादुर घर्ती, ताराखोला गाउँपालिकाले जीतबहादुर सुनार, गलकोट नगरपालिकाले रुद्रनारायण सापकोटा, बरेङ गाउँपालिकाले सूर्यप्रसाद शर्मा र जैमिनी नगरपालिकाले पृथ्वीबहादुर थापालाई निर्वाचन सम्पर्क व्यक्ति तोकेका छन् ।

चुनाबको सुरक्षा केन्द्रित प्रधान सेनापती,सचिब सहितको मधेस भ्रमण

काठमाडौँ। प्रधान सेनापति महारथी प्रभुराम शर्मालगायत सुरक्षा निकाय प्रमुखहरूले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन-२०७९ को सुरक्षा अवस्थाबारे निरीक्षण भ्रमण गरेका छन् ।

रक्षा सचिव किरणराज शर्मा, गृह सचिव विनोद प्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाको सहभागिता रहेको उक्त निरीक्षण भ्रमणको दौरान बर्दिबासस्थित मध्य पूर्वी पृतना हेड क्वाटर तथा बारा जिल्ला, जितपुरस्थित श्री नं. २८ बाहिनी अड्डा को निरीक्षण भ्रमण गरिएको छ ।

सो क्रममा प्रधान सेनापति शर्माले पृतना हेड क्वाटरको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाका, प्रदेशहरूसँगको समन्वय लगायत आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको एकीकृत सुरक्षा योजना तथा बाहिनी अड्डाको वस्तुस्थितिका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएका थिए ।

निर्वाचन-२०७९ को सुरक्षार्थ सर्लाही जिल्लास्थित धनकौल इलाकामा स्थापना गरेको कम्पनी अपरेटिङ बेस(सीओबी) को निरीक्षण गर्नुको साथै उक्त इलाकाको वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी लिइएको थियो ।
सोही क्रममा प्रधान सेनापति महारथी शर्माले उक्त सीओबीमा तैनाथ सकल दर्जालाई सम्बोधन गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका थिए ।

भ्रमण टोलीले बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा उक्त जिल्लाहरूका सुरक्षा निकायका प्रमुखहरूसँग अन्तरक्रिया समेत गरेका थिए ।

लोक सेवाद्वारा खरिदारको अन्तिम नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले खरिदारको अन्तिम नतिजा सार्वजनिक गरेको छ । 

आयोगले विज्ञापन नम्बर ११९१०-११९१६/०७६-०७७(खुल्ला, समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनङ्कित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदमा नियुक्तिको लागि सिफारिस भएका उम्मेदवारहरूले प्राप्त गरेको कुल अङ्कका आधारमा एकमुष्ट योग्यता क्रम सूची सार्वजनिक गरेको हो । 

भारत सरकारको तर्फबाट सवारी साधन उपहार स्वरुप प्रदान

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भारत सरकारको तर्फबाट ८० वटा सवारी साधन उपहार स्वरुप प्रदान गरेका छन् । यी सवारी साधनले निर्वाचन आयोगलाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउनेछ ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका २०० वटा सवारी साधनकै हिस्साको रुपमा यी ८० वटा सवारी साधन रहेका छन् ।

नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले निर्वाचन आयोगको प्रयोगका लागि सवारी साधन उपलब्ध गराउदै आएको छ । भारतले हालसम्म निर्वाचन आयोगलाई २१४ वटा सवारी साधन उपहार स्वरुप प्रदान गरिसकेको छ ।

सदियौं पुरानो र जनताजनताबीचको गहिरो सम्बन्ध रहेको भारत र नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक साझेदारी रहेको छ । यी सवारी साधनको हस्तान्तरणले भारत र नेपाल बीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।

दाहाललाई तत्काल गिरफ्तार गर्नुपर्ने माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई तत्काल गिरफ्तार गर्नुपर्ने माग सहित राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता भएको छ।

माओवादी द्वन्द्व पीडित ज्ञानेन्द्रराज आरण (रामेछाप) र पूर्णप्रसाद पौडेल (सुर्खेत)ले कात्तिक ९ गते मानव अधिकार आयोगमा निवेदन दिएका हुन्।

निवेदनमा दशक लामो माओवादी सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वरत पक्षबाट घाइते, अंगभंग, यातना पाएका, बेपत्ता पारिएका, यौनजन्य हिंसामा परेका, सम्पति कब्जामा परेका, चल सम्पत्ति लुटपाट भएका, विस्थापित लगायतका पीडितको जिम्मा दाहालले लिनुपर्ने उल्लेख छ।

पाँच हजार मान्छे मारेको हुँ भन्दा भन्दै दाहालमाथि कानूनी कारवाही नहुनु विडम्बना भएको निवेदकहरूको धारणा छ।

“२०७६ माग १ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा राजधानीको खुलामञ्चमा आयोजित थारूहरूको माघी पर्वको कायक्रममा द्वन्द्वकालमा हत्या गरिएका पाँच हजार व्यक्ति हत्या स्वीकार गरेकोले निजलाई तत्काल गिरफ्तार गराउन आवश्यक अनुसन्धान एवम कानून बमोजिम कारबाही गरी पाऊँनका लागि आवश्यक पहल गरी दिनु हुन” निवेदनमा भनिएको छ,

“साथै द्वन्द्व को नाममा द्वन्द्वरत पक्षबाट घाइते, अंगभंग, यातना पाएका, बेपत्ता पारिएका, यौनजन्य हिंसा मा परेका, सम्पति कब्जामा परेका, चल सम्पत्ति लुटपाट भएका,विस्थापित लगायतका पीडितको जिम्मा पनि प्रचण्डले नैं लिनु पर्छ यतातर्फ यस आयोगले आवश्यक पहल गरोस् भन्ने हाम्रो अनुरोध छ।”

तिहारका कारण सार्वजनिक बिदा भएकाले इमेलमार्फत निवेदन दर्ता गरिएको निवेदक मध्येका एक ज्ञानेन्द्रराज आरणले जानकारी दिए।

“आयोगका सरहरूले बिदाका बेला इमेलमार्फत पठाउन मिल्छ भन्नु भएपछि इमेलबाटै निवेदन दर्ता गरायौं।” आरणले भने, “आयोगले हाम्रो निवेदनमाथि आवश्यक कारवाही गर्छ भन्नेमा विश्वस्त छौं।”

आयोगका एक उच्च अधिकारीले निवेदन दर्ता भइसकेको जानकारी दिए।

२०७६ माघ १ गते काठमाडौंमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष दाहालले आफूले पाँच हजार मान्छे मारेको जिम्मा लिने बताएका थिए। उनको भनाइ थियो, ‘मलाई १७ हजार मान्छे मारेर आएको भन्ने गरिन्छ तर यो सत्य होइन। सत्य के हो भने हिजोको सामन्ती राजाहरूले १२ हजार मान्छे मारेका हुन, मलाई ५ हजार मान्छे मारेको जिम्मा दिनुहुन्छ भने म लिन्छु।’