सामाजिक सञ्जालमा पोष्ट भएका प्रचार सामाग्री हटाउन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोष्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामाग्रीहरू मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ ।

आयोगले सामाजिक सञ्जालमा पोष्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरू मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्देशन दिएको हो ।

आयोगका सहप्रवक्ता कमल भट्टराईले स्थिर समय सुरु हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचारप्रसारका सामग्रीहरू सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताए।

उनले उम्मेदवार तथा राजनीतिक दलहरूले आयोगको निर्देशन अटेर गरी सामाजिक सञ्जालबाट प्रचारप्रसार गरे वा प्रचारप्रसार सामग्री नहटाए निर्वाचन ऐन बमोजिम आवश्यक कारबाही हुनेपनि बताए।

आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन सम्बन्धी प्रचारप्रसारका सामग्री हटाए/नहटाएको अनुगमन गर्ने जनाएको छ ।

मतदानको दिन बिहान ४ बजेदेखि सवारी सञ्चालनमा प्रतिबन्ध

काठमाडौं उपत्यकका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन ४ मंसिर बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको कार्यालयमा बुधबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले ४ मंसिर आइतबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

यद्यपि, निर्वाचन आयोगबाट सवारीसाधन सञ्चालनसम्बन्धी जारी मापदण्डअनुसारका अनुमति प्राप्त सवारीसाधनलाई भने सञ्चालनमा नरोक्ने बैठकले निर्णय गरेको छ ।

निर्वाचन लक्षित सुरक्षा व्यवस्थाबारे छलफल गर्न बसेको उक्त बैठकले मदिरा विक्री वितरणमा पनि रोक लगाउने निर्णय गरेको छ । निर्णयअनुसार १ मंसिर बिहीबारदेखि मतदानको दिन ४ मंसिर मध्यराति १२ बजेसम्म काठमाडौं उपत्यकामा मदिरा विक्री वितरण, ओसारपसारमा रोक लगाइएको छ । साथै मतगणना आसपास मतगणना नसकिँदासम्म मदिरा बिक्री वितरण तथा ओसारपसार गर्न पाइने छैन ।

आज दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो कारोबारको दिन आज बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से १३.४० अंकले बढेर एक हजार ९ सय ११ दशमलब २६ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ६.५९ अंकले घटेर एक हजार ८ सय ९७ दशमलब ८६ विन्दुमा बन्द भएको थियो ।  

त्यस्तै, आज नेप्से बढे पनि कारोबार रकम भने बढेन । आज नेप्सेमा ८५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

कारोबारमा आएका कम्पनीहरु मध्ये १४१ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने ३८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिक्लेस हाइड्रोपावर कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३५३.१० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर भएको छ । यसको आज ६ करोड ३ लाख भन्दा बढीको कारोबार भएको छ ।  
 

भोजपुरको चुनावी सभामा विष्फोट

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सहभागी हुने लोकतान्त्रिक वामगठन्धनको भोजपुरको पौवादुम्मा गाउँ पालिकाको तिवारी भञ्ज्याङमा गठबंधनले आयोजना गरेको चुनावी सभामा बुधबार दिउँसो साढे २ बजेतिर विस्फोट भएको हो।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रबक्त्ता एसपी नविन राईका अनुसार बिस्फोटमा परेर भोजपुर चरंविका एक सुमन श्रेष्ठ घाइते भएका छन्।

प्रहरीले एक जना शंकास्पद व्यक्त्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छन्। एसपी राईका अनुसार एकजना शंकास्पद व्यक्त्तिले झोलामा बोकेको विस्फोटक पर्दाथ सभालाई सम्बोधन गर्न प्रमुख अतिथि प्रचण्ड आउने बेलामा आचानक विस्फोट भएको थियो।

हाल अवस्था समान्य भएको र अध्यक्ष प्रचण्ड केही बेरेमै चुनावी सभामा सहभागी हुनेछन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज बुधबार एकै दिन मोरंङ, सुनसरी, भोजपुर, खोटाङ र ताप्लेजुङमा गठबन्धन दलले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो।

मोरङको सुन्दरहरैंचा र सुनसरीको धरानमा भएको चुनावी सभालाई सम्बोधन गरिसकेपछि प्रचण्ड भोजपुर जान लागेका थिए।

मंसिर १ गते बिहीबार मध्यरातिदेखि भारतसँगका सबै नाका बन्द हुने

काठमाडौं । निर्वाचन सुरक्षालाई लक्षित गरी मंसिर १ गते बिहीबार राति १२ बजेदेखि ४ मंसिर आइतबार निर्वाचनको दिन बेलुकासम्म नाका बन्द गर्न सरकारले भारतीय अधिकारीसँग समेत समन्वय गरेको छ ।

चुनावको वेला नाका बन्द गर्न भारतीय पक्षलाई आग्रह भइसकेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । निर्वाचनको ७२ घन्टाअघि नाका बन्द हुने, तर अत्यावश्यक अवस्थामा भने आवातजावत गर्न पाइनेछ ।

त्यस्तै, निर्वाचनका लागि सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मतदानको दिन ४ मंसिर र भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय भएको हो । मतदानको दिन कर्मचारी अबेरसम्म खटिनुपर्ने र भोलिपल्टै कार्यालय गएर काम गर्न कठिन हुने भएकाले ५ गते पनि बिदा दिने निर्णय गरिएको उनले बताए ।

निर्वाचनको अघिल्लो दिन ३ मंसिरमा शनिबार परेकाले सार्वजनिक बिदा छ । मतदानस्थल रहेका विद्यालयमा भने २ देखि ५ मंसिरसम्म बिदा दिने निर्णय गरिएको छ । अधिकांश मतदानस्थल विद्यालयमा छन् । गत ३० वैशाखको स्थानीय निर्वाचनमा मतदानको दिन मात्र सार्वजनिक बिदा दिइएको थियो ।

लोक सेवाले स्वास्थ्य सेवा तर्फ ७ र ८औं तहमा पदपूर्तीका लागि विज्ञापन खुलाए

काठमाडौं- लोकसेवा आयोगले स्वास्थ्य सेवाका आठौँ र सातौँ तहमा स्थायी पदपूर्तीका लागि विज्ञापन खुलाएका छन्।

आयोगले ती पदमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न लिखित परीक्षाको लागि विज्ञापन गरेको हो।

आयोगले तोकिएको न्युनतम योग्यता पुगेका उम्मेद्धारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत आवेदन दिन सकिने बताएको छ।

विज्ञापन

लोक सेवा आयोगले माग गरे ठुलो संख्यामा कर्मचारी

काठमाडौँ । आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

आयोगले ज्येष्ठता र कासमुद्धारा पूर्ति गर्नुपर्ने राप तृतीय श्रेणीका विभिन्न पदहरूमा विज्ञापन खुलाएको हो । जस अनुसार तथ्याङ्क अधिकृत,इन्जिनियर,पशु सेवातर्फका कृषि इन्जिनियर,कम्प्युटर अधिकृत लगायत छन् ।

यस्तै संघीय संसद सेवाका प्राविधिक पद,स्वास्थ्य सेवा आठौँ तहका २० र सातौँ तहका १३ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले यी पदमा २८२ जना जनशक्तिका लागि विज्ञापन खुलाएको हो ।

हेर्नुहोस् विज्ञापन

घरमा आगलागी हुँदा एकको मृत्यु

मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आज बिहान आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक घाइते छन् ।

आज बिहान करिब ८ बजे भएको आगोलागीमा परेर आत्मारामकी प्यारालाइसिस र सुस्तमनस्थिति भएकी छोरी २५ वर्षीया अस्मिताको पौने ९ बजे घरमै मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

आगालागीमा परेर सोही घरको हरिशरणकी छोरी १४ वर्षीया नित्मा केसीलाई उद्धार गरी उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएको उहाँले जानकारी दिनुभयो ।

बिहान आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, जुद्ध बारुणयन्त्रका दुई दमकल र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे आगो नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको र क्षति विवरण सङ्कलन जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

आयोगले दुर्गम क्षेत्रका मतदान केन्द्रमा पठायो मेडिकल किट

काठमाडौं–आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले अति आवश्यक पर्ने क्षेत्रहरुमा स्वास्थ्य सामग्री पठाएको छ। आयोगका सूचना अधिकारी सुर्य प्रसाद अर्यालले दुर्गम क्षेत्रमा मेडिकल किट पठाएको बताएका छन्।

अर्यालका अनुसार स्वास्थ्य सामाग्रीको पहुँच सजिलोसँग नहुने जिल्लाका मतदान केन्द्रहरुमा सिटामोल, जीवनजल, पखालाको औषधि, ब्यान्डेज र एलर्जीका औषधिहरू पठाएको बताए। त्यस्तै आयोगले निर्वाचनलाई मात्रै भनेर स्वास्थ्यकर्मी छुट्याउदा निर्वाचन खर्च बढ्ने हुँदा सबै स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधि लगाएतका आवश्यक कुराहरू चुस्त र दुरुस्त राख्न अनुरोध गरेको छ।

साथै, आयोगले सबै मतदान केन्द्रहरुमा सामग्री पठाउँदा मास्क र सेनीटाईजर पनि अनिवार्य रुपमा पठाएको अर्यालले बताए। उनका अनुसार कोरोनाको संक्रमण पूर्णरुपमा बन्द भईनसकेको हुनाले भौतिक दुरी कायम गर्न, मास्क लगाउन, भिडभाड नगरी स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन सम्पन्न बनाउन समेत अनुरोध गरेको छ।

त्यस्तै आयोगले मतदान केन्द्रलाई समावेशी र अपांगमैत्री बनाउन समेत निर्देशन दिएको आर्यालले बताए।
यस्तो छ आयोगले मतदान केन्द्र समावेशी र अपांगमैत्री बनाउन जारी गरेको निर्देशन :

(क) मतदान कक्ष बनाउँदा वा मतपेटिका राख्दा धेरै अग्लो ठाउमा नबनाई वा नराखी होचो कद वा अपाङ्गता भएका व्यक्ति वा ज्येष्ठ नागरिक मतदाताले पनि सजिलै मतसङ्केत गर्न सक्ने गरी बनाउने वा राख्ने।

(ख) गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाताको लागि विश्राम गर्ने ठाउँको व्यवस्था गर्ने।

(ग) मतदान केन्द्र निर्माण गर्दा सम्भव भएसम्म अपाङ्गता भएका, सुत्केरी, ज्येष्ठ नागरिक, विरामी तथा अशक्त मतदाताको लागि समेत सहज हुने गरी निर्माण गरी सबैको सहज पहुँच सुनिश्चित गर्ने।

(घ) मतदान अधिकृतले गर्भवती, सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक, ‘बिरामी, किरियापुत्री, आफ्नो काखे बालवालिका साथमा भएकी महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य लैगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई मतदान गर्ने काममा प्राथमिकता दिई मतदान गराउने व्यवस्था गर्ने।

(ङ) दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफ्नो मत सङ्केत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा लैजाने अनुमति मागेमा मतदान अधिकृतले प्रचलित कानून बमोजिम पूर्ण अशक्त वा अति अशक्त अपाङ्गताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले एक्लै मतदान कक्षमा गई आफै मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मतदान कक्षमा प्रवेश गर्ने अनुमति दिने र आफू समेत निजहरूसंग गई आफ्नो रोहवरमा मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मतसइकेत गर्न लगाउने।

(च) कुनै मतदाताले दुष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफै मतृसङ्केत गर्न नसक्ने भई मतसङ्केत गर्ने काममा सहयोग पुयाउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुर उपयुक्त लागेमा त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत सङ्केत गर्ने काममा सहयोग गर्ने।

(छ) निर्वाचन सूचना व्यवस्थापन प्रणालीलाई लैंगिकमैत्री तथा समावेशी हुने गरी प्रभावकारी बनाउने ।

निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

काठमाडौं– आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदानस्थल तोकिएका विद्यालय तथा संस्थाहरुका लागि चार दिन सार्वजिनक बिदा दिइएको छ। 

मंगलबार गृहमन्त्रालयले सूचना जारी गर्दै मतदानस्थल रहेका विद्यालय तथा संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्मका लागि सार्वजिनक बिदा दिइएको जनाएको छ। 

यस्तै सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरुमा भने दुई दिन मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिइएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।  

नबिल बैंकको कोहलपुर शाखामा आगलागी

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी भएको छ । घरको दोस्रो तलामा आगलागी भएको हो ।

आज (बुधवार) बिहान ५ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

साझा चोकमा रहेको बैंकको शाखामा रहेका इलेक्ट्रोनिक सामग्री र कागजात जलेका छन् । विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डीएसपी घर्तीमगरले जानकारी दिए ।

अमेरिकाको आकाशमा दुईवटा विमान एक आपसमा ठोक्किए

काठमाडौं, २७ कात्तिक । अमेरिकाको टेक्सस राज्यमा हवाई प्रदर्शनीका क्रममा दोस्रो विश्वयुद्धको समयमा बनेका पुराना दुई वटा विमानहरू एक आपसमा ठोक्किएर जमिनमा बजारिएका छन् ।

दुई वटै विमानहरू निकै कम उचाइमा उडिरहेका र एक अर्कालाई ठक्कर दिएको भिडिओहरूमा देख्न सकिन्छ। विमानहरू जुध्दा एउटा विमान दुई टुक्रा भएको र भुईँमा झर्ने बित्तिकै आगोको मुस्लो उठेको थियो ।

दुवै विमानहरू डलास नजिकै हवाई प्रदर्शनीमा भाग लिइरहेका थिए। दुर्घटनामा कति मानिसहरू परे भन्ने खुल्न सकेको छैन तर दुई जना मृतकको भने नाम सार्वजनिक भएको छ।अमेरिकी एअरलाइन्सहरूका पाइलटको संस्था द एलाइड पाइलट्स असोसिएसनले टेरी बेकर र लेन रुट नाम गरेका आफ्ना पूर्व सदस्यहरूले दुर्घटनामा ज्यान गुमाएको जनाएको छ।

अमेरिकाको सङ्घीय उड्डयन प्रशासनले शनिवार भएको घटनाबारे अनुसन्धान गर्ने बताएको छ। यसलाई अमेरिकाको उत्कृष्ट मध्येको दोस्रो विश्वयुद्ध हवाई प्रदर्शनीको रूपमा व्याख्या गरिएको थियो। विश्वयुद्धका भेट्रानहरूको सम्मानमा आयोजना भएको तीन दिने कार्यक्रम शुक्रवार सुरु भएको थियो र ४००० देखि ६००० मानिसहरूले यसको अवलोकन गरिरहेका थिए।

डलासका मेयर इरिक जोनसनले यसलाई “डरलाग्दो दुर्घटना” भएको प्रतिक्रिया दिए। “भिडिओहरू हृदयविदारक छन्,” उनले ट्विट गरेका छन्। “हाम्रो परिवारलाई शिक्षा र मनोरञ्जनका लागि आकाशमा गएका आत्माहरूको निम्ति प्रार्थना गरिदिनुस्।”

उनका अनुसार दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या थाहा नभए पनि विमानहरू खसेको स्थानमा भने कोही पनि घाइते भएनन्। कार्यक्रम आयोजकको वेबसाइटका अनुसार शनिवार धेरै वटा विमानहरू प्रदर्शनका लागि उठाउने तय भएको थियो।

जर्मनी विरुद्ध जितमा सघाएको विमान

दुर्घटनामा परेको मध्येको एउटा बी–१७ बम्बरको दोस्रो विश्वयुद्धमा जर्मनी विरुद्ध जितका लागि मुख्य भूमिका थियो। अर्को विमान पी–६३ किङकोब्रा पनि त्यही युद्धमा प्रयोग भएको थियो। तर यसको प्रयोग सोभियत वायुसेनाले सैन्य प्रयोजनका लागि मात्रै गरेको थियो। बी-१७ मा प्रायजसो चार देखि पाँच जनासम्म चालक दलका सदस्य रहने गर्छन्। तर पी६३ मा एक जना मात्रै पाइलट रहने एक जना आयोजकले बताएका छन्। तर उनले घटनामा भएको मानवीय क्षतिबारे केही बताएनन्।

“यो दोस्रो विश्वयुद्धमा हुने उडान शैलीको हवाई प्रदर्शनी थियो जसमा विमान र तिनीहरूको क्षमता उजागर गरिन्थ्यो,” हान कोट्सले पत्रकारहरूसँग भनेका छन्। बीबीसीबाट

लुम्बिनी प्रदेशले विभिन्न पदका विज्ञापन खुलाए

काठमाडौँ । प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले विभिन्न पदमा ७७ जनाको लागि विज्ञापन खुलाएको छ ।

आयोगले सहायक स्तर चौथो तहका न्याय,कानुन, प्रशासन, लेखा, सामान्य प्रशासन समूहका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।

कर्मचारी समायोजन ऐन ०७५ को दफा १२ को व्यवस्था बमोजिम स्थानीय तहमा रिक्त रहेको पदहरूको पदपूर्तिका लागि स्थानीय सरकारी सेवा अन्तरगत रहेका विभिन्न सेवा समूहको आप्राविधिक पदहरूको पदपूर्ति गर्न लागिएको हुँदा इच्छुक आवेदकले आगामी मंसिर १५ सम्म (सामान्य दस्तुर) र २३ गतेसम्म (दोब्बर) दस्तुर तिरेर आवेदन दिन सकिने सूचनामा जनाइएको छ ।

सूचना :

नेप्से ६.५९ अंकले घट्दा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो कारोबारको दिन आज मंगलबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ६.५९ अंकले घटेर एक हजार ८ सय ९७ दशमलब ८६ विन्दुमा बन्द भएको हो ।         

त्यस्तै, आज नेप्सेमा एक अर्ब २ करोड ३६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १३३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार तारागाउँ रिजेन्सी र सिक्लेस हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । यसको आज ८ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।  

डेङ्गु सङ्क्रमणका कारण ६ जनाको मृत्यु

जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेङ्गु रोगको सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार नौ सय ७४ जनाको परीक्षण गरिएकामा दुई हजार नौ सय ४९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये २० हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन् । ठेगाना नखुलेका दुई सय ९१ र ठेगाना खुलेका ६ सय आठजना रहेको कार्यालयले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी डेङ्गु रोगको सङ्क्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । जहाँ एक हजार चार सय ५० जनामा डेङ्गु रोग देखिएको केसीले बताउनुभयो । उहाँका अनुसार खैरहनी नगरपालिकामा एक सय ६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा दुई सय ४३ जनामा डेङ्गु रोग देखिएको थियो । 

यस्तै राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । कार्यालयका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये एक हजार एक सय ३६ पुरुष र नौ सय १४ जना महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।