काठमाडौं महानगरपालिकाले आजदेखि अनधिकृत परिचय पाटी हटाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले भनेका छन् तोकिएको समयसीमाभित्र नियमित नगर्नेहरुको परिचय पाटी आजबाट हटाउँदैछौँ । राजस्व विभागका प्रमुख डा। शिवराज अधिकारी भन्छन्, ‘पाटी हटाउँदा ख्याल गर्नुपर्ने केही बुँदा हामीले टोलीलाई सम्झाएका छौँ । यो विषय सर्वसाधारणलाई पनि थाहा हुन आवश्यक छ ।’

पाटी हटाउँदा ख्याल गर्नुपर्ने विषयका बारेमा डा। अधिकारी थप्दै भन्छन्, ‘३० बर्गफुटभन्दा धेरै आकार भएका सबै बोर्ड हटाइनेछ । प्रायोजकको वोर्ड पनि यही आकारभित्र हुनुपर्नेछ । मापदण्डभित्रका बोर्ड वडामा गएर राजस्व तिरेपछि राख्न सकिन्छ । अहिलेसम्म पनि नियमित भएका छैनन् भने तुरुन्तै वडामा सम्पर्क राख्न सकिन्छ । व्यवसायिक स्थलमा ३० वर्गफुटभित्र जुनसुकै आकारको भए पनि एउटाभन्दा धेरै बोर्ड हटाइनेछ । यस्तै सार्वजनिक स्थलमा रहेका झ्याल, ढोका छोपिने गरी राखिएका, छतमा राखिएका सबै वोर्ड हटाइनेछ ।’

यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइनेछ । विभागले असोज ७ गते ३० दिने सूचना दिएर मापदण्डभित्र राख्न सकिने परिचय पाटीको आकार र त्यसमा वार्षिक रुपमा लाग्ने दरसमेत उल्लेख गरेर सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।

६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो । १५ बर्गफुटसम्मको १ हजार ५ सय रुपैयाँ र सार्वजनिक सूचनामार्फत भित्र एउटाभन्दा धेरै कुनै पनि साइजको परिचय पाटी राख्न नपाइने भएको छ ।

निर्वाचन आयोगले माग्यो सार्वजनिक भवन

काठमाडौँ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र बनाउन सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचना माग गरेको छ ।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै मतदान स्थल र केन्द्र तोकिएका र्साजनिक भवन २ मंसिरदेखि ४ मंसिरसम्मका लागि उपलब्ध गराउन भनेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि आइतबार मात्र सात सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै मतदान स्थल र केन्द्र तोकिएको सार्वजनिक भवन आयोगलाई उपलब्ध गराउन भनेको छ ।

वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको असरले अबको दुई/तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“पश्चिमी वायुका कारण भोलि सोमबार र मङ्गलबार वर्षा र हिमपातको सम्भावना छ, हिमपातका कारण तापक्रम घट्ने भएकाले चिसो बढ्नाका साथै जनजीवनमा सामान्य असर पर्ने देखिन्छ।” आज साँझदेखि मौसममा केही असर पर्ने तर बढी असर भने पश्चिमी क्षेत्रमा पर्ने छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको बढी सम्भावना रहेको छ । त्यस्तै प्रदेश नं १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हल्का वर्षा हुनाका साथै ती प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् भट्टराईले बताउनुभयो ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा पनि आज प्रदेश नं १ को पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । भोलि सोमबार पनि प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

सार्वजनिक यातायातको बुकिङ बढ्यो

काठमाडौं ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन एक हप्ता समय बाँकी हुँदा काठमाडौँबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरुको सङ्ख्या बढेपछि टिकट बुकिङ बढेको हो । निर्वाचनको मिति नजिकिएसँगै सार्वजनिक यातायातको माग बढेका छन् ।

नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले निर्वाचनमा मतदाता गाउँसम्म लैजान बस बुकिङका लागि राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकताएले धमाधम बुकिङ गरेको जानकारी दिए । “मतदातालाई गाउँमा भोट हाल्न लैजाने भन्दै विभिन्न पार्टीका नेता तथा उम्मेदवारले व्यवसायी र महासङ्घमा फोन गरेर बस बुकिङ गरिरहनुभएको छ”, उनले भने ।  

महासङ्घले गतहप्ता निर्वाचनमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि दुई सय ८५ बस उपलब्ध गराएको थियो ।

नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज साताको पहिलो दिनको कारोबारमा आज आइतबार दोहोरो अंकको गिरावट आएका छन् । आज नेप्से १०.५४ अंकले घटेर एक हजार ८ सय ८३ दशमलब १६ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से २३.५२ अंकले घटेर भएकोे थियो ।

त्यस्तै, आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा ७७ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब ११ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबारमा आएका कम्पनीहरु मध्ये ४४ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १३१ वटा कमपाीको शेयरमूल्य घटेको छ । १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । लक्ष्मी इक्विटी फण्डको शेयरमुल्य ७.५९ प्रतिशतले बढेर प्रतिकित्ता ८.०६ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज नबिल ब्यालेन्स फण्ड २ र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट भएको छ । यसको आज १० करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।

सुनको मूल्य छ सयले बढे

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय तोकिएको छ । गत शुक्रबार प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको सुन आज प्रतितोला रु छ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सय थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार तीन सय तोकिएको महासङ्घले जनाएको छ ।

एक सय ४१ कैदीबन्दीले मतदान गर्न पाउने

दाङ । दाङ जिल्लाका दुई कारागारमा रहेका कैदीबन्दीमध्ये जम्मा एक सय ४१ जनाले अस्थायी मतदाताका रूपमा मतदान गर्न पाउने घोराही कारागार कार्यालयका प्रमुख वासुदेव खनालले जानकारी दिनुभयो ।

तुलसीपुर कारागारबाट ९१ र घोराही कारागारबाट ५० जना मतदानमा सहभागी हुन पाउने भएका छन् । घोराही कारागारमा तीन सय ४९ कैदीबन्दी रहेको भए पनि मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेस गरेका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने उहाँले जानकारी दिनुभयो ।

कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरूलाई मतदानको व्यवस्था गरिएको र त्यसका लागि मतदान गराउन कारागारमै कर्मचारी पुग्ने उहाँको भनाइ छ । जिल्लामा दुई ठाउँमा अस्थायी मतदानस्थल राखिने भएका छन् । त्यसमा घोराही कारागार कार्यालय र तुलसीपुर कारागार कार्यालय रहेका छन् ।

यी दुई मतदानस्थलबाट कैदीबन्दी, कर्मचारी र शिक्षकले पनि मतदान गर्न पाउने छन् । कार्यालयका प्रमुख खनालका अनुसार नामावली सङ्कलनको अवधिमा कारागारमा रहेका सबै कैदीबन्दीले अवसर नपाएका कारण धेरै भोट हाल्नबाट छुुटेका छन् ।

“कारागार कार्यालयमै सबै कैदीबन्दीको नामावली सङ्कलनको व्यवस्था भएको भए सबै मतदानमा सहभागी हुने थिए”, उहाँले भन्नुभयो, “तर सबै कैदीबन्दीको नामावलीमा नाम नभएको हुँदा धेरै छुटेका छन् ।” तुलसीपुर कारागारमा हालसम्म पाँच सय ८४ कैदीबन्दी रहेका छन् । त्यसमध्ये ७७ पुरुष र १४ महिला मदतानमा सहभागी हुन पाउने तुलसीपुर कारागार कार्यालयका निमित्त जेलर रम्बा केसीले जानकारी दिनुभयो ।

दुर्घटना हुँदा एक जनाको मृत्यु

धादिङको ज्वालामुखी गाउँपालिका–४ खरीमा गए राति बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको गा१ज ५५८० नंको बुलेरो सडकबाट खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ज्वालामुखी–४का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभएको छ ।

दुर्घटनामा चालक सहित पाँच जना घाइते भएका छन् । घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

२०२७ काे यु-१९ महिला विश्वकप नेपालमा

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सन् २०२७ मा हुने यु–१९ महिला विश्वकपमा नेपाललाई सह-आयोजक बनाएको छ ।

आइसिसीले २०२७ मा नेपाल र बङ्गलादेशलाई संयुक्त रूपमा यु-१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो ।

नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् ।

त्यसैगरी आइसीसीले आज सार्वजनिक गरेको अन्य निर्णयमा सन् २०२४ को यु–१९ पुरुष विश्वकप प्रतियोगिताको आयोजना श्रीलङ्काले गर्ने भएको छ । त्यसैगरी सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डमा संयुक्त रुपमा आयोजना गर्नेछन् । सन् २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएका छन् । नेपाल क्रिकेट सङ्घ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले आइसीसीको यस किसिमको निर्णयले नेपाली क्रिकेटको खेल पूर्वाधार र खेलकोस्तर माथि पुर्‍याउन मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले पहिलो पटक आयोजनाको मौका पाएको विश्वकप सफल बनाउन सके थप प्रतियोगिता आयोजनाको मौका पाउन सक्नेसमेत बताउँदै प्रतियोगिता सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने बताउनुभयो ।

नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन कोलागी भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुई पक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपोसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताउनुभयो । बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले र भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अरबिन्दकुमार बर्माले गर्नुभएको थियो ।

नमूना मतदानमा १० प्रतिशत मत बदर

आसन्न प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी जनकपुरधाम उपमहानगरपालिका–१४ मा गरिएको नमूना करिब १० प्रतिशत मत बदर भएको छ ।

मतदाता शिक्षा कार्यक्रमअन्तर्गत समग्र विकास सेवा केन्द्रले आयोजना गरेको नमूना मतदानमा खसेको ५५ मतमध्ये पाँचवटा मत बदर भएको समग्र विकास सेवा केन्द्रका सम्झनाकुमारी राउतले जानकारी दिनुभयो ।
मतदातालाई सही तरिकाले मतदान गर्ने विधिबारे जानकारी गराउँदै विगतमा हुने मत बदर सङ्ख्यामा न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सो वडाका मतदातालाई सही तरिकाले कसरी मतदान गर्ने, मतपत्रलाई कसरी पट्याउनेलगायतका विषयमा सहजीकरण गरिएको राउतले बताउनुभयो ।

मतदातालाई समग्र विकास केन्द्रका सहजकर्ता सम्झना राउत, आरती यादव र आर्थी पासवानले घर–घरमा पुगी मतदातालाई निर्वाचन आयोगले तयार पारेको सामग्री फिपकार्ड, ब्रोसरको प्रयोग गरी मतदान गर्ने, मतपत्र पट्याउनेलगायतका बिषयमा सहजीकरण गर्नुभएको थियो ।

निर्वाचन बिथोल्ने व्यक्तिहरुलाई कारबाही गर्न खुट्टा कमाउदैनाैंः प्रमुख निर्वाचन आयुक्त थपलिया

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने व्यक्तिहरुलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ । आयोगले कानुनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो ।

आयोगले कानुनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनै पनि व्यक्ति र तत्वहरुलाई कारबाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शुक्रवार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा निर्वाचन अधिकृतहरुले पूर्ण रुपमा पालना गर्न र गराउन निर्देशन दिए ।

उनले निर्वाचन बिथोल्ने गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिइ निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही प्रारम्भ गर्न निर्देशन दिए । उनले कतिपय ठाउँमा जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता भएका उम्मेदवारहरु हुने भएको भन्दै फर्जी मतदान हुने खतरा रहेकाले त्यसतर्फ बढी चनाखो हुन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिए । उनले धेरै मतदान हुनु राम्रो भएपनि हँदै नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी र निर्वाचनप्रतिको अवज्ञा भएकाले त्यसतर्फ शतर्कता अपनाउन आग्रह गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान गरिसकेको व्यक्ति पुनः मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुनसक्ने कुरालाई ध्यानमा राखि सुरक्षा निकायसँग समन्वय गरी त्यस्ता गतिविधि हुन नदिन पनि आग्रह गरे । उनले निर्वाचन मतदान कार्यमा उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरुको पनि उत्तिकै महत्वपूर्ण भुमिका हुने भएकाले निर्वाचन कार्यलाई निष्पक्ष र स्वतन्त्र बनाउने कुरामा सहयोग हुने अपेक्षा गरेको बताए । उनले निर्वाचन आयोगले निर्वाचनलाई भयरहीत र निष्पक्ष बनाउन स्थानीय तहबाट नै स्वयंसेवकहरु परिचालन गर्ने पनि बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोग प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले आयोगले अहिले सबै निर्वाचन अधिकृतको कार्यालयबाट मतदान कार्यमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरुको नियुक्ति भइ तालिम दिने प्रक्रिया प्रारम्भ भइसकेको बताए ।

उनले मतदानको निम्ति मतपेटिका, मतपत्र लगायत आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरुको समान महत्व भएकाले सामानहरु रुजु गर्दा ठिक भए/नभएको र पर्याप्त भए/नभएको यकीन गर्न आग्रह गरे । उनले आफूलाई तोकिएको मतदान केन्द्रमा समयमा नै पुगि तोकिएका निर्देशनका सूचनाहरु प्रकाशित गर्ने र ४८ घण्टा अघिदेखि कुनैपनि किसिमको प्रचारप्रसार गर्न निषेध गर्नुपर्ने व्यवस्था र मतदानको तीन दिनअघि सम्पूर्ण मतदान क्षेत्रभर, जिल्लाभर मदिरा निषेधित क्षेत्र घोषणा गर्नुपर्ने विषयलाई विशेष ध्यान दिन पनि निर्देशन दिए । मतदानको दिन मतदान केन्द्रको सम्पूर्ण निरीक्षण गरी मतदान कार्य प्रारम्भ गर्न पनि आग्रह गरे । उनले निर्वाचनमा सबैभन्दा महत्वपूर्ण काम मतपत्रमा दस्तखत भएकाले निर्वाचन अधिकृतले यो कुरामा लापरबाही नगर्न पनि अनुरोध गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले यो पटक ४ वटा छुट्टा छुट्टै मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था गरिएकाले मतदातालाई राम्रोसँग बुझाउन पनि निर्देशन दिए । उनले सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा बन्दोबस्त प्रभावकारी बनाउन पनि आग्रह गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा मतदाता आउने कुरामा रोकतोक हुनसक्ने कुरामा पनि सचेत रहन आग्रह गर्नुभयो । उनले आयोगले प्राकृतिक विपद् बाहेक अन्य कुनैपनि बहानामा मतदान कार्यलाई स्थगित गरी पुनः मतदान गर्ने कार्यलाई गम्भीर रुपमा लिएको बताए । उनले कतै असमझदारी भए त्यसलाई केही समयका लागि स्थगन गरी फेरि अवस्थालाई सामान्य बनाएर मतदान कार्य प्रारम्भ गर्न आग्रह गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाताहरुले स्वच्छ, स्वतन्त्रता पूर्वक मतदानमा सहभागी हुन नसक्ने अवस्था सिर्जना भए अवस्थाको यथार्थ वस्तुस्थितिबारे आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा तत्काल जानकारी गराइ आयोगको निर्देशन बमोजिम कार्य अघि बढाउन निर्देशन दिए । उनले कतिपय अवस्थामा स्वस्तिक छाप र स्ट्याम्प प्याडको कारणले पनि केही मतपत्रहरु बदर भएका उदाहरण सुनिएको भन्दै बेलाबखत त्यसको चेकजाँच गर्ने र कहीँ कतै समस्या देखिए तत्काल मतदानलाई केही समय स्थगित गरी सामग्रीको व्यवस्था गरेर मतदान कार्यलाई सुचारु गर्नतर्फ पनि ध्यानाकर्षण गराए ।

पल शाहले दिए उच्च अदालत पोखरामा पुनरावेदन

काठमाडौँ । पलका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले शुक्रबार शाहको तर्फबाट उच्च अदालत पोखरामा पुनरावेदन दायर गरेको जानकारी दिए ।

पलविरुद्ध नाबालिगलाई जबरजस्तीकरणी गरेको मुद्दामा नवलपुर जिल्ला अदालतले भदौ २१ सफाइ दिएको थियो । जबरजस्ती करणीको अभियोजनमा सफाई दिए पनि पललाई बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै दुई वर्ष ६ महिनाको कैद सजाय र नाबालिकालाई १० लाख रुपैयाँ जरिबानाको फैसला सुनाइएको थियो । 

सोही फैसलामा चित्त नबुझेको भन्दै पलका तर्फबाट पुनरावेदन दर्ता गरिएको हो । 

जिल्ला अदालतको फैसलामा नाबालिगमाथि बलात्कार भएको पुष्टि हुन नसकेको भन्दै पलले जबरजस्ती करणीको अभियोजनबाट सफाई पाएका थिए । तर, प्रमाणमा प्राप्त भएका अडियो र मेसेजहरूको आधारमा बालयौन दुरुपयोगमा सजाय भएको हो ।

पलका वकिल खनालले जिल्ला अदालतबाट भएको सो फैसला त्रुटिपूर्ण रहेको बताएका छन् । सोही कारण उनीहरूले पुनरावेदन गरेका छन् । 

उनी वादीले आफूलाई जबरजस्ती करणी नभएको भन्दै अदालत सामु बयान दिइसकेपछि पछि सोही बयानलाई प्रमाणको रूपमा ग्रहण गर्नु पर्ने बताउँछन् । अदालत सामु बयान दिँदा नाबालिग बालिका र जाहेरवालाले भ्रमले गर्दा जाहेरी दिएको कुरा व्यक्त गरेकाले सो घटना नै नघटेको उनी बताउँछन् । 

फौजदारी मुद्दामा अभियोग पुष्टि गर्ने भार अभियोगकर्तामा हुने र सोको पुष्टि हुन नसके अभियुक्तले सफाइ पाउने आधारको बर्खिलाप गर्दै न्यायाधीशले माग गरिएको अभियोगभन्दा छुट्टै अभियोगमा सजाय गर्ने गरी भएको फैसला, सर्वोच्च अदालतबाट स्थापित सिद्धान्तहरू विपरीत भएको समेत बताएका छन् ।

राष्ट्रपति शनिबार स्वदेश फर्कंदै

राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कंदै हुनुहुन्छ ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपिएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड जानुभएको थियो । गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा उहाँले विशेष सम्बोधनसमेत गर्नुभएको थियो । साथै उहाँले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी आज आइसल्याण्डबाट प्रस्थान गरी नर्वेको राजधानी ओस्लो र कतारको राजधानी दोहा हुँदै भोलि शनिबार काठमाडौँ आइपुग्नुहुने कार्यक्रम छ । 

घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा मतदान गर्नुहोस् : थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्ने बताउनुभएको छ ।

गोरखापत्र संस्थानले आज यहाँ आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले सांसदको भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खालका आश्वासनका आधारमा मतदान गर्न नहुने बताउनुभएको हो ।

निर्वाचन प्रक्रियामा अझै रुपान्तरण हुन बाँकी रहेको उल्लेख गदैै उहाँले भन्नुभयो, “निर्वाचनलाई राष्ट्रिय एकताको सूत्रमा पाँच वर्ष मुलुकलाई कता लाने हो भन्ने सन्देश प्रवाह गर्ने काम पत्रकारको हो ।” थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार सङ्कलन र सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

“हामी सबैले आफ्नो इमान्दारिता कायम गरौँ, निर्वाचन आचारसंहिताको कहीँकतै उल्लङ्घन नहोस्, उल्लङ्घनका समाचार बाहिर आउन्, नागरिकलाई शान्त दिमागले मतदानको वातावरण र कर्तव्यबोध गराउने खालका समाचार प्रवाह होस्”, प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “पत्रकारहरूले आचारसंहिताको कति पालना गरेका छन्, त्यसको लेखाजोखा होस्, सबै दल र उम्मेदवारलाई समान पहुँच र स्थान दिइएको छ कि छैन भन्ने विषयलाई पनि आत्मसाथ गर्नुहोला ।”

उहाँले मतदानका दिन र मतगणनाको समाचार प्रवाह गर्दा प्रवद्र्धनात्मक तथा मतदातालाई तथ्य जाँचसहित सही सूचना दिनुपर्नेमा जोड दिनुभयो । प्रमुख आयुक्त थपलियाले आयोगले दिएको निर्देशनबमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैङ्गिक तथा अपाङ्गतामैत्री मतदान केन्द्र बनाउन निर्देशन एवं सुरक्षा प्रबन्धका विषयमा सुक्ष्मरूपमा रिपोर्टिङ हुनुपर्ने बताउनुभयो ।

उहाँले निर्वाचन तयारीको लगभग अन्तिम चरणमा कर्मचारीको व्यवस्थापन गरेर मतपेटिकासहित मतदानस्थलतर्फ जाने प्रक्रिया भइरहेकाले मङ्सिर १ गते साँझसम्ममा सबै कर्मचारी र सामग्री मतदानस्थलमा पुगे÷नपुगेको विषयमा रिपोर्टिङ हुनुपर्ने तथा पत्रकारले चाहेको सूचना उपलब्ध गराउन आयोग तत्पर रहेको स्पष्ट गर्नुभयो ।

कार्यक्रममा गोरखापत्र संस्थाका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले सानो गलत सूचनाले निर्वाचन आयोगको संवेदनशील प्रक्रिया र मतदाताको मनोविज्ञान दिग्भ्रमित पार्न सक्ने भएकाले समाचार सम्प्रेषण गर्दा संवेदनशील हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जिल्लामा निर्वाचनका तयारी, आचारसंहिताको पालनालगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र राज्यको मिडिया भएकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सिर्जना गर्ने दायित्व आफ्नो पनि रहेको बताउनुभयो ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका गोरखापत्र संस्थानका समाचारदाता सहभागी एकदिने अनुशिक्षण कार्यक्रममा ६० जनाको सहभागिता रहेको छ । संस्थानले अन्य प्रदेशमा यही खालको अनुशिक्षण सम्पन्न गरिसकेको छ

चितुवाको आक्रमणबाट तीन घाइते

स्याङ्जा । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् । वालिङ– १४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते हुनुभएको हो ।

कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको र भित्र जाँदा तुलसा र लक्ष्मी घाइते हुनुभएको हो ।

घाइते हुनुभएकी तुलसाको अनुहारमा गहिरो चोट लागेको छ । न्यौपानेको छाती तथा पाखुरामा चोट छ भने लक्ष्मीको पाखुरामा चोट लागेको छ । घाइते तीनै जनालाई उपचारका लागि गह«ौं प्राथमिक अस्पताल वालिङमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको अस्पतालका वरिष्ठ ल्याब अधिकृत ईश्वर कोइरालाले जानकारी दिनुभयो ।

चितुवालाई घरभित्रै थुनेर नियन्त्रणमा राखिएको छ । अहिले उक्त ठाउँमा स्थानीयवासी, प्रहरी र इलाका वन कार्यालय वालिङबाट टोली पुगेको छ । चितुवालाई नियन्त्रणमा लिने तयारी गरिएको छ ।