हँसिया प्रहारबाट एक जनाकाे मृत्यु

धनगढी । कैलालीमा जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हँसिया प्रहारबाट मृत्यु भएको हो।

प्रहरीका अनुसार हँसिया प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए।

यस्तै हँसिया प्रहारबाट एक जना अर्का पनि घाइते छन्। डिएसपी जोशीका अनुसार ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका हुन्।अहिले उनको टीकापुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ।

मृतकका भिनाजु नाता पर्ने सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले उनीहरुमाथि हँसिया प्रहार गरेको प्रहरीको दाबीको छ। उनको खोजी कार्य र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

समानुपातिक सिट बाँडफाँडका लागि कानुन परिवर्तन

काठमाडौं । निर्वाचन आयोगले सिट बाँडफाँडमा प्रतिनिधिसभा र प्रदेश सभाको कानुन बाझिएपछि आयोगले संशोधन गर्दै एकरूपता दिएको हो।

प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका, २०७९ मा दलहरूले समानुपातिक सिटमा बन्दसूचीबाट नाम पठाउन तीन दिनको समय पाउँछन्। दलहरूले बुझाएको नाम नामेसी नमिलेमा सच्याउन थप दुई दिनको समय छ।

तर, प्रदेश सभा समानुपातिक निर्वाचन निर्देशिकामा दलहरूलाई बन्दसूचीबाट समानुपातिक सिटमा नाम पठाउन सात दिनको समय दिइएको छ। प्रदेश सभाको सात दिनलाई संशोधन गरेर तीन दिन कायम गरिएको सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए।

आयोगले सिट बाँडफाँडका लागि आजै दलहरूलाई चिठी लेख्ने तयारी गरेको छ। ‘कुन दलले कति सिट पाउने निर्णय गरेर आजै दलहरूलाई चिठी लेख्छौँ,’ प्रमुख आयुक्त दिनेश थपलियाले भने । आयोगको बाँडफाँडअनुसार एमाले ३४, कांग्रेस ३२, माओवादी १४, स्वतन्त्र पार्टी १३, राप्रपा सात तथा जसपा र जनमतले पाँच–पाँच सिट पाएका छन्। यद्यपि, आयोगबाट औपचारिक निर्णय हुन भने बाँकी नै छ।

समानुपातिक सिट बाँडफाँडबारे जानकारी लिन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मंगलबार दिउँसो आयोग पुगेका थिए। बिहानैदेखि मुख्यमन्त्रीका आकांक्षीदेखि समानुपातिक सूचीमा नाम भएकाहरू समानुपातिक सिट बाँडफाँडबारे बुझ्न आयोग धाइरहेका छन्।

६ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. ६ सयले घटेको छ। अघिल्लो दिन प्रतितोला रु. ९९ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. ९९ हजार तीन सय तोकिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार आठ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९९ हजार चार सय थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २५ ले घटेर रु. एक हजार तीन सय ५० तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।

नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार ४.८७ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब ८८ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा कारबार रकम भने एक अर्ब पनि पुग्न सकेन । 

आज ९६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।   

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.१७ प्रतिशतले बढेर प्रतिकित्ता ३४८.१० रुपैयाँ पुगेको छ ।   

आज एनएमबि बैंकको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावरशिवम सिमेन्ट कम्पनीको भएको छ । यसको आज ८ करोड १२ लाख भन्दा बढीको कारोबार भएको छ । 

ओली र सुकीबीच भेटवार्ता

काठमाडौँ, १४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले आज यहाँ भेटवार्ता गर्नुभएको छ ।

सो अवसरमा उहाँहरूका बीचमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईको उपस्थिति रहेको थियो । आजै दुईदेशबीच आपसी सहकार्यका विषयमा सम्झौता हुने बुझिएको छ ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा स्टेट काउन्सिलर सु की बिहीबार काठमाडौँ आउनुभएको थियो । सो सम्मेलन शनिबार काठमाडौँमा आयोजना हुँदैछ ।

टिपरको ठक्करबाट  मोटरसाइकल चालकको मृत्यु

रुपन्देही । रुपन्देहीमा टिपरको ठक्करबाट  मोटरसाइकल चालकको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका-२ हिरापुरमा सोमबार बुटवल-१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको प्रहरीले जनाएको  छ ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । रा१ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु२०प १९ ५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरसहित चालकलाई नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ ।

एनएमबि बैंकले यस वर्ष नगद लाभांश मात्र वितरण गर्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेडकाे मंसिर १९ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वितरणयोग्य रकमबाट हाल कायम चुक्तापूँजी रू. १८ अर्ब ३६ करोड ६७ लाख ५ हजारको आधारमा ८ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कर समेत वितरण गर्ने प्रस्ताव गरेको यो नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्षभन्दा यस वर्ष बैंकको लाभांश घटेको हो । गत वर्ष १२ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि बैंकले ३ दशमलव ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सुकुमवासी वस्ती हटाउन माग गर्दै मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकमवासी बस्ती हटाउन माग गर्दै स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएका छन् । स्वतस्फुर्त भेला भएका सर्वसाधारणले हिजो सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले थापाथलीस्थित बागमती खोलाको किनारामा रहेको सार्वजनिक(सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अशोभाविक एवं अनियन्त्रित रुपमा बसिरहेका कथित सुकुमवासीका कारण खोला प्रदुपषत भएको, राजधानीको सौन्दर्यमा समेत प्रतिकूल असर परेको जनाएका छन् । अस्तव्यस्थ बसोबास र दिउँसै खुल्ला रुपमा घरेलु हतियारका कारण राजधनीवासी भयावह र असुरक्षित महशुस गरेको उल्लेख गरेका छन् ।

उक्त बस्तीमा रहेका वास्तविक सुकुमवासीको पहिचान गरी व्यवस्थापन गर्नु पर्ने र सुकुमवासीको नाममा सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

सुपर मादी हाइड्रोपावरले आईपीओ निष्काशन तथा बिक्री खुला

काठमाडौँ । सुपर मादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । यसको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ आयोजना प्रभावितका लागि छुट्याइएको छ । कास्कीको विभिन्न गाउँपालिका तथा नगरका बासिन्दाले शेयर पाउने छन् । यसबाहेक कम्पनीले सर्वसाधारणका लागि २१ लाख कित्ता शेयर जारी गर्नेछ ।

यसको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएकाहरूलाई छुट्याइएको छ ।

कम्पनीको शेयरमा कम्तिमा १० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने छ । कम्पनीले ८ अर्ब ३५ करोड अनुमानित लागतमा परियोजना विकास गरिरहेको छ । यसको प्रति मेगावाट लागत १८ करोड ९७ लाख रुपैयाँ छ ।

समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट

काठमाडौं । आमनिर्वाचन २०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र र सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सिट पाउने भएका छन् ।

सोमबार दिउँसोसम्म निर्वाचन आयोगको समानुपातिकतर्फको पछिल्लो तथ्यांकअनुसार उक्त दुई दलले समान सिट पाउने भएका हुन् ।

नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ६२ हजार २२९ मत पाएको छ । भने, रास्वपाले ११ लाख २४ हजार ५५४ मत पाएको छ । दुई पार्टीबीच केही हजार मतको अन्तर भएपनि मत परिणाम विभाजक सूत्रअनुसार दुवै पार्टीले समान १४र१४ सिट पाउने भएका हुन् ।

यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीबीच झण्डै २६ हजारको मत अन्तर छ। तर, मत परिणाम विभाजक सूत्रबाट हिसाब यी दुवै पार्टीले समान ५र५ सिट पाउने देखिन्छ । प्रतिनिधि सभातर्फ प्रत्यक्षमा माओवादी केन्द्रले १८ सिट ल्याउँदा रास्वपाले ७ सिटमा जित निकालेको छ ।

सत्ता गठबन्धनमा आवद्ध दलहरूको बैठक बालुवाटारमा सुरु

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सत्तागठबन्धनमा आवद्ध दलका नेतृत्वहरूको यो पहिलो बैठक हो ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्टिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसहित कांग्रेस नेताहरू रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का र कृष्ण सिटौला, एकीकृत समाजवादीका वेदुराम भुसाल, माओवादीका नेताहरू नाराणकाजी श्रेष्ठ, देव गुरुङको उपस्थिति छ ।

साढे २४ अंक घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेका छन् । आज नेप्से २४.४६ अंकले घटेर एक हजार ९ सय ३८ दशमलब ७६ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से २.१६ अंकले बढेर एक हजार ९ सय ६३ दशमलब २२ विन्दुमा बन्द भएको थियो ।         

त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । नेप्सेमा एक अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ३.१२ प्रतिशतले बढेर प्रतिकित्ता ३६४ रुपैयाँ पुगेको छ । 

आज अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज ३० करोड ८३ लाख भन्दा बढीको कारोबार भएको छ ।    

लामिछानेको साधारण सदस्यता खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको साधारण सदस्यता खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

वैध नेपाली नागरिकता नभएका व्यक्तिले राजनैतिक दल खोल्न, सो दलको साधारण सदस्य हुन् र अध्यक्ष वा सभापति हुन नमिल्ने दाबी सहित सोमबार निर्वाचन आयोगमा उजुरी परेको हो ।

उजुरीमा वैध नागरिकता नै नभएका लामिछानेको सभापतित्वमा दल दर्ता गरेर निर्वाचन आयोगले त्रुटि गरेको दाबी गर्दै सभापतिसँगै दलको साधारण सदस्यता समेत खारेज गर्न माग गरिएको छ।

निवेदनमा माग गरिएको छ, ‘नेपाली नागरिकता नै नभएका लामिछानेलाई उक्त दलको सभापतिको मान्यता दिन एवं सो दलको साधारण सदस्यता समेतको मान्यता दिन नमिल्ने भएको हुँदा निजको सभापतित्व र साधारण सदस्यता निर्वाचन आयोगले खारेज गर्न वा सो गर्न गराउन राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्देशन दिन ।’

प्रदेश १ लोक सेवा आयोगले माग्यो स्थानीय तहका लागि कर्मचारी (विज्ञापनसहित)

काठमाडौँ । प्रदेश लोक सेवा आयोग विराटनगरले स्थानीय तहका लागि कर्मचारी माग गरेका छन्।

आज सार्वजनिक सूचना जारी गर्दै प्राविधिक पदका लागि ३१५ जना कर्मचारीको माग गरेका छन्।

स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको छ।

योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म दरखास्त दिनसक्ने छन्। अनलाइनमार्फत दरखास्त दिन सकिने आयोगले जनाएको छ।

विज्ञापन:-

भारतमा बम प्रहारबाट तीनको मृत्यु

एजेन्सी  । भारतको पश्चिम बङ्गालमा शनिबार राति बम विस्फोट गराएर कम्तीमा पनि तीन जनाको ज्यान लिइएको समाचारमा जनाइएको छ ।यसरी ज्यान जानेमा यहाँको एक राजनीतिक पार्टी त्रिणमूल कंग्रेसका नेता पनि पर्नुभएको छ ।

उहाँको घरमा नै बम विस्फोट गराइएको थियो ।भारतीय राज्य पश्चिम बङ्गालको मणिपुर जिल्लास्थित भूपतिनगरमा रहेको त्रिणमूल कंग्रेसका नेता राजकुमार मन्नाको घरमा शनिबार राति बम विस्फोट भएको थियो । सो विस्फोटमा परेर उहाँको पनि निधन भएको छ । सो विस्फोटमा परेर उहाँबाहेक अरु दुई जनाको पनि ज्यान गएको बताइएको छ ।

मारिएका अरु दुई जनामध्ये एकजना मन्नाका भाई र अर्का एक सो पार्टीका कार्यकर्ता रहेको बताइएको छ । सो घटना भएपछि राति नै प्रहरी घटनास्थलमा पुगेको थियो । बम विस्फोटबाट सो घर जलेर पूर्ण रुपमा ध्वस्त भएको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीले उक्त घटनाको अनुसन्धान थालेको जनाएको छ ।

प्रहरीले यसको अनुसन्धान सुरु भइसकेको तर उक्त विस्फोट र हत्याको कारण अहिले नै स्पष्ट नभएको जनाएको छ । तर भारतीय जनता पार्टीको पश्चिम बंगालका नेताले भने मन्नाको घरमा नै बम बनाइएको र बम बनाउने क्रममा विस्फोट भएर सो दुर्घटना भएको जनाएका छन् । उनले उक्त घटनाको अनुसन्धान गर्न पनि माग गरेका छन् ।