१५ दिन भित्र व्यवस्थित नगरे तार काट्ने विद्युत प्राधिकरणको चेतावनी

काठमाडौं । अव्यवस्थित तथा प्रयोगमा नरहेका तारहरू हटाउने ४५ दिने सूचनालाई सम्बन्धित सरोकारवालाले बेवास्ता गरेको भन्दै विद्युत प्राधिकरणले ताकेता गरेको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै तार व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको उल्लेख गरेको छ। प्राधिकरणले सूचना जारी गरेको आज ३० दिन पुगेको छ। आजबाट थप १५ दिनमा तारहरू हटाइसक्न उसले ताकेता गरेको हो।

प्राधिकरणको पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर केबल र कोएक्सियल केबल तथा पोलमा जथाभाबी झुन्ड्याइएको उपकरणहरू निर्धारित मापदण्ड अनुसार ४५ दिन भित्रमा व्यवस्थित गर्ने सम्बन्धमा प्राधिकरणले गत कात्तिक १५ गते सूचना जारी गरेको थियो।

सूचना अनुरूप इन्टरनेट सेवाप्रदायकहरूले विभिन्न पोलमा प्रयोगमा नभएका तारहरू हटाउने काम पनि सुरु गरेका थिए। तर पार नलागेपछि उनीहरू पछि हटेका थिए ।

तोकिएको समयमा सुधार कार्य नगर्ने र नगराउने सेवा प्रदायकहरूको केबल लगायतका उपकरणहरू प्रचलित कानुन बमोजिम प्राधिकरण आफैले हटाउने चेतावनी दिएको छ।

नेपाल स्टक एक्सचेञ्ज झिनो अंकले वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार झिनो अंकको वृद्धि भएको छ । आज नेप्से २.१६ अंकले बढेर एक हजार ९ सय ६३ दशमलब २२ विन्दुमा बन्द भएकोे हो ।          

त्यस्तै, आज नेप्सेमा एक अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ९७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३२१.८० रुपैयाँ पुगेको छ ।   

आज सिटिजन्स नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज १९ करोड ८० लाख भन्दा बढीको कारोबार भएको छ ।               

मधेसको सिटिभिटी लथालिङ्ग
रकम लेनदेनमा कर्मचारीभर्ना

काठमाडौ ।शीप सिकाउने प्राबिधिक दक्ष नागरिक उत्पादन गराउने उद्देश्य बोकेको सिटिभिटी मधेस प्रदेश आफै अलमलमा परेको मात्रै छैन केन्द्रका घोषित कार्यक्रम बिरुद्ध नै लागिपरेकाे अराेप छ्न्।
प्रदेश भित्र आएका कार्यक्रममा रजाइँ गर्ने प्रदेश प्रमुख नागेन्द्र साहको नाङ्गो नाचले सेवाग्राहीहरु आजित भएका छ्न।
केन्द्रमाआधा दर्जनको संख्यामा सहसचिव स्तरका कर्मचारीलाई थन्क्याएर कनिष्ठलाई प्रदेश प्रमुख साह बनाइए पछि सस्थाको उदेश्य प्राप्ति गराउनु भन्दा उनको कमिसन मोहले मधेस प्रदेशको सिटिभिटीका कार्यक्रम उपयोग बिहिन बन्दै जानुको जिम्मा उनलाई त्यो स्थानमा जिम्मेवारी दिनेले लिने कि नलिने प्रश्न उठेको छ।
प्राप्त जानकारी अनुसार मापदण्ड बिपरित बनाइएका प्रदेश प्रमुख साहले आचारसंहिता बिपरित आपनो श्रीमती बबिता कुमारी साह सिरहाका उपमेयरको राजनीतिलाई सहयोग पुर्याउने काम गर्नु र कार्यक्रम दिएका बिधालय सग अग्रिम कमिसन दबाब दिएर माग्नु बाहेक केही गर्न नसकेको कार्यक्रम लागु भएको एक बिधालयका प्रमुखले सम्पत्ति न्युज लाई बताए। यसैगरी मधेश प्रदेशमा संचालित छोटो अवधिको निशुल्क तालिममा समेत आङ्गिक शिक्षालयको प्रमुख तथा करार सेवाको लेखापालहरु लाई १५% कमिसन विभिन्न दबाब दिएर लिएको बुझिएको छ ।
त्यस्तै सामुदायिक बिध्यालयमा प्राविधिक शिक्षाका लागि र साझेदारीमा संचालित प्राबिधिक शिक्षा कार्यक्रमको वृद्धि बिकास गर्न आएको अनुदान रकममा समेत १०% कमिसनका निम्ति गिद्दे नजर आउने साहले किस्ता बन्दी गरि दुई चरणमा भुक्तानी गर्ने गरे लिने गरेको जानकारी प्राप्त भएको छ । विभिन्न शैक्षिकसत्रहरुको स्वास्थ्य कार्यक्रमको छात्रवृत्ति भर्ना समेत व्यापक रूपमा आर्थिक चलखेल गरेर भर्ना गर्ने गराउने गरेको प्रमुखको मनपरितन्त्रले सिमा नागेपछी नेपाल बिद्यार्थी संघले बिज्ञपति नै निकालेर बिरोध गर्दै ध्यानाकर्षण गराउनु परेको थियो।
यो बिरोध अब नागरिक समाजको तहमा पुग्ने भएको छ। नागरिक समाजले मधेस प्रदेश स्थापना भएदेखि नै यहाँ भित्रका बेथितिको पुर्णतः अनुसन्धान गराउन माग गर्ने भएको समेत बुझिएको छ।
प्रदेश प्रमुख साह आफ्नो कुर्सी बलियो बनाउन कार्यालयमा समय दिनु भन्दा पनि विभिन्न शक्ति केन्द्रहरुमा मिठाइ बोकेर पुग्ने गरेको समाचार श्रोताले बताउछ।
कुर्सीलाई बलियो बनाउन उनी चुनाब प्रचारप्रसार लागेर आफनो कर्तुत ढाकछोपमा लागेको आरोप समेत उनलाई लागेको छ।


भर्खर कर्मचारी मागिएको कोटामा समेत रकम असुलेर परिक्षाको नतिजा निकालेको सन्दर्भले यतिबेला मधेस प्रदेश भित्र सिटिभिटीको बिरोध गर्ने स्वर भुसको आगो जस्तो बन्न पुगेको छ।प्राप्त जानकारी अनुसार प्रमुख साहले करार नियुक्तिमा आफन्त र लेनदेनमा मात्र दर्जनौं लाई परिक्षामा पास गराएपछि यस्तै गर्नु थियो भने परिक्षाको नाटक किन गरियो परिक्षामा सामेलहुनेहरुले आक्रोश व्यक्त गरेका मात्रै छैनन अब आफुले लेखेका कापि सार्वजनिक गराइदिन र न्याय दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारीमा रहेको बुझिएको छ।
केन्द्रमा सहसचिव स्तरीय कर्मचारी हुदाहुदै चरित्र हिन भ्रस्टाचारमा लिप्त साह लाइ जिम्मेवारी दिएर पठाउनु नै लुटन पठाए जस्तो उनले गरिरहदा सुशासनको प्रत्याभूत गराउने निकायले के गरिरहेको छ मधेसका बुद्धिजीवी सामु याे प्रश्नले खैलाबैला मच्चिएको छ । यस सन्दर्भमा प्रदेश प्रमुख साहले प्रतिक्रिया दिदै भन्नुभयो समाचारमा आए जस्तो सबैकुरामा सत्यता नभएको बताउनु भएको छ।

४ हजार शिक्षकको दरबन्दी थपिँदै

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी तयार गरेको छ ।

यो वर्ष देशभरमा रिक्त रहेको पदमा नयाँ शिक्षक नियुक्तिका लागि केन्द्रले नयाँ दरबन्दी तयार गरेको हो ।

केन्द्रले देशैभरका विद्यालयमा रिक्त रहेको शिक्षकको सङ्ख्याको आधारमा तयार गरेको रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको छ । केन्द्रले प्राथमिक तहका लागि ३ हजार १ सय ८६, निम्न माध्यमिकमा ४ सय २३ र माध्यमिक तहमा ३ सय ३२ पद रिक्त रहेको जनाएको छ ।

शिक्षक सेवा आयोगको नियमावली २०५७ को उपनियम ८ को ४ बमोजिम चालु शैक्षिक सत्रको असोज मसान्तसम्म विवरण पठाइसक्नुपर्ने व्यवस्था छ । सोही आधारमा केन्द्रले विवरण पठाएको हो ।

केन्द्रले पठाएको विवरणको आधारमा आयोगको नियमावली– २०५७ को नियम ११ ‘क’ बमोजिम कार्तिक महिनामा खुला तथा समावेशी समूहको प्रतिशत निर्धारण गरी विज्ञापन खुला गर्नुपर्नेछ । गत वर्ष करिब १७ हजार पद संख्यामा आवेदन माग गरिएको थियो । यो वर्ष उक्त संख्या ह्वात्तै घटेको छ ।

गत वर्ष माध्यमिक तहमा सिफारिस नभएका ३ सय ७० जना पनि यस पटकको विज्ञापनमा समेटिने व्यवस्था गरिएको छ । गत वर्ष आयोगले प्राथमिक तहमा १३ हजार ८५, निम्न माध्यमिक तहमा २ हजार ५ सय ९४ र माध्यमिक तहमा १ हजार ५ सय ५२ पद संख्यामा आवेदन खुलाएको थियो । त्यसमध्ये हालसम्म माध्यमिक तहमा शिक्षक छनोट गरी सिफारिस गरिसकिएको छ ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिस डाँडामा बस्ने र मंसिर ४ को निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल हुने नेताहरुले बताएका छन् ।

शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प खुला गरेको बताएको थियो । आजको बैठकले सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल हुनसक्ने बताइएको छ ।

मंसिर ४ को निर्वाचनबाट माओवादी केन्द्र तेस्रो शक्ति बनेको छ । उसले प्रत्यक्षतर्फ १७ सिट जितेको छ । अब बन्ने सरकारको नेतृत्व लिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड इच्छुक देखिएका छन् ।

गर्भवतीलाई सुत्केरी भत्ता

आमा र शिशुको स्वास्थ्य सुरक्षाका लागि छथर जोरपाटी गाउँपालिकाले उपाध्यक्षसँग गर्भवती पोषण तथा शिशु स्याहार कार्यक्रम सुरुआत गरेको छ ।

यसअघि सञ्चालित उपाध्यक्षसँग सुत्केरी स्याहार कार्यक्रमलाई परिमार्जन गरेर पुनः यो कार्यक्रम ल्याइएको हो । सुत्केरीलाई पोषणयुक्त खानेकुरा दिइँदै आइएकामा यस पटकदेखि नगद  नै दिइने भएको हो ।

गर्भवतीले आठ पटक स्वास्थ्य संस्थामा गर्भ जाँच गराएपछि पहिलो किस्ता तीन हजार र दोस्रो किस्ता छ हजार गरी जम्मा नौ हजार पाउनेछन् । पालिकामा स्थायी बसोबास रहेका दोस्रो सन्तानसम्मका लागि यो सेवा दिइने पालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि पालिकाले यस आवमा २२ लाख बजेट विनियोजन गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम समावेश गरी कार्यक्रमको सुरु गरेको पालिकाकी प्रमुख गीता गुरुङ (खेवा) ले जानकारी दिनुभयो ।

यस रकमले आर्थिक अवस्था कमजोर भएका महिलालाई आफ्नो र शिशुको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण सहयोग पुग्ने पालिकाकाले जनाएको छ । कार्यविधि तयार गरेर गत साउनदेखि  कार्यक्रम कार्यान्वयन  गरिएको अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । 

विवाहित छोरीले समेत अंश पाउने

अंश मुद्दामा नवलपुर जिल्ला अदालतले विवाहित भए पनि छोरीलाई समेत अंश दिनुपर्ने फैसला गरेको छ ।

नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अंश विवादमा विवाह भइसकेकी छोरीले समेत अंश पाउने फैसला सुनाएको छ । फैसलामा अंश पाउने हकदार वंशमात्रै रहने र वंश भनेको छोरा नै हुनुपर्ने भन्ने पितृसत्तात्मक सोचमात्रै रहेको ठहर गरिएको छ ।

आफ्ना बुबा र आमाको मृत्यु भएपछि भारतमै रहेका दुई छोरीलाई अंश नदिई आफ्नै बुबाको नाममा रहेको जग्गाजमिन समेत हजुरआमाले अंशियार नरहेको भनी झूठो दाबी लिइ आफ्नो नाममा बनाएको भन्दै नवलपुर जिल्ला अदालतमा परेको मुद्दामा अदालतले विवाह भए पनि वा नभए पनि छोरीहरूले समेत अंश पाउने गरी फैसला सुनाएको हो ।

२०७५ साल फागुन १२ गते नवलपुर जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दामा ४ वर्षपछि २०७९ भदौ २७ गते न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले फैसला सुनाउँदै विवाह भए पनि छोरीहरूलाई समेत अंश दिनुपर्ने ठहर गरेको हो ।

को बन्छ ? मधेश प्रदेशमा मुख्यमन्त्री

मधेश प्रदेशमा प्रदेश सभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको शुरु भएको छ । प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ । यद्यपि, दलगत हिसाबमा नेकपा (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेका छन् भने समानुपातिकतर्फ कांग्रेस पहिलो र एमाले दोस्रो भएका छन्

मधेश प्रदेशमा सत्ता गठबन्धनका दलले प्रत्यक्ष र समानुपातिक गरी ४६ सिट जितेका छन् । जसमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १३ र समानुपातिकमा नौ गरी कूल २२ सिट जितेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रत्यक्षमा सात र समानुपातिकमा दुई गरी नौ सिट जितेको छ । त्यसैगरी नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा चार र समानुपातिकमा तीन गरी सात सिट जितेको छ भने नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा चार र समानुपातिकमा चार गरी कुल आठ सिट जितेको छ ।

त्यसैगरी एमाले र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनले प्रत्यक्ष र समानुपातिक गरी ३८ सिट जितेको छ । जसमा एमालेले प्रत्यक्षमा १५ र समानुपातिकमा आठ गरी २३ सिट र जसपाले प्रत्यक्षतर्फ नौ र समानुपातिकमा छ गरी १५ जितेको छ ।

प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी एक सय सात सिट संख्या छ । सरकार बनाउन सामान्य बहुमतका लागि कम्तीमा ५४ सिट आवश्यक पर्छ । यसका लागि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारलाई समावेश गराउनुपर्ने बाध्यता दुवै गठबन्धनलाई छ ।

पहिलो पटक निर्वाचनमा सहभागी भएको जनमत पार्टीसँग प्रत्यक्षमा छ र समानुपातिकमा सात गरी १३ सिट संख्या छ भने प्रदेशमा छ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

यस आधारमा सत्ता गठबन्धनलाई सरकार बनाउन आठ सांसद आवश्यक छ भने एमाले गठबन्धनलाई १६ सांसद आवश्यक पर्छ । तर हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच सत्ता गठबन्धनमा आउनका लागि सहमति भएसँगै सत्ता गठबन्धनकै सरकार बन्ने सम्भावना बढेको छ ।

यसैबीच राजनीतिक दलहरुबीच को मुख्यमन्त्री हुने भन्नेमा पनि चर्चा शुरु भएको छ । नेकपा (एमाले)का मधेश प्रदेश सहइञ्चार्ज सुमनराज प्याकुरेल पहिलो दलका हिसाबले आफ्नो पार्टीको सरकार बन्नुपर्ने बताउछन् । एमालेभित्र मुख्यमन्त्रीका लागि डा सरोज यादव, रामचन्द्र मण्डल, राजकुमार लेखीको नाम चर्चामा छ ।

त्यस्तै, नेपाली कांग्रेस मधेश प्रदेशका सूचना तथा सञ्चार विभाग प्रमुख नितेशकुमार गुप्ताले मुख्यमन्त्रीका प्रबल दाबेदार प्रदेश सभापति एवं प्रदेशसभा सदस्य कृष्णप्रसाद यादव रहेको बताए । यादवकै नेतृत्वमा सरकार बन्नुपर्ने गुप्ताको दाबी छ । यद्यपि, कांग्रेसभित्र पनि रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह मुख्यमन्त्रीका आकांक्षी छन् ।

यस्तै, जनता समाजवादी पार्टीबाट सरोजकुमार यादव, राजकुमार गुप्ता, रामअषिस यादवको नाम मुख्यमन्त्रीका रूपमा चर्चामा छ ।

मेयर साहको अर्को अत्यन्त जरुरी जरुरी सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंका बासिन्दालाई अर्को अत्यन्त जरुरी सूचना प्रकाशित गरेका छन् । शुक्रबार प्रकाशित सूचनामा सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्ने जो कोहिलाई पनि उसैलाई क्षतिपूर्ति तिराउने महानगर पालिकाले गरेको निर्णय सार्वजनिक भएको छ ।

‘सूचनामा भनिएको छ, ‘कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानि नोक्सानी गरेमा क्षति पु–याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानुन बमोजिम कारबाही एवं हानि नोक्सानी बापतको क्षतिपूर्ति समेत कानुन बमोजिम भराइने छ । ’

जारी सूचनमा उल्लेख भए अनुसार सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायित्व महानगरको भएको भन्दै कुनै पनि संघ, संगठन, निकाय, समूह, व्यक्ति वा अन्य जो कसैले जुनसुकै तरिका वा प्रक्रियाबाट त्यस्ता सम्पत्तिको नोक्सान गर्ने, क्षति गर्ने, नष्ट गर्ने वा अतिक्रमण गर्ने कार्य गर्न पूर्ण रुपमा निषेध गरिएको छ ।

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य १ हजार रुपैयाँले बढेका छन् । 

 आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर ९९ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको  महासङ्घले जनाएको छ ।

बाग्मती लोक सेवाले माग्यो १२९ जना कर्मचारी, कुन पदका लागि कति जना ?

काठमाडौँ । बाग्मती प्रदेश लोक सेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।

आयोगले प्रदेश निजामती (अप्राविधिक)सातौँ तहका लागि ४ जना र प्रदेश निजामती (प्राविधिक)२७ जना,स्थानीय सेवातर्फ १ र स्थानीय सेवातर्फ (प्राविधिक) ८ जना गरी कूल ४० जना ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवाका लागि विज्ञापन खुलाएको हो ।

आयोगले कार्यक्षमताका आधारमा हुने बढुवाका लागि २९ जना माग गरेको छ भने अन्तर तह र खुलातर्फ १ सय जना गरी कूल १६९ जनाका लागि विज्ञापन खुलाएको आयोगको सूचनामा उल्लेख छ ।

सुकुम्बासीलाई असुरक्षित हुने काम नगर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जनाएको छ ।आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरणको काम निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको भए पनि अब पुनः अगाडि बढ्ने क्रममा छ ।

लालपुर्जा वितरणसम्बन्धी काम सम्पन्न नभएसम्मका लागि काठमाडौँ महानगरपालिकासहित सम्पूर्ण स्थानीय तह र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानबाट सुकुम्बासी हटाउने र उनीहरुलाई असुरक्षित हुने गरी कुनै कार्य नगर्न नगराउन आयोगले आग्रह गरेको छ ।

यसअघि नै ३५ दिने सूचना प्रकाशित गरेका स्थानीय तहले सम्झौताअनुसार काम गर्न आयोगले आग्रह गरेको छ । आयोग र स्थानीय तहबीच सहमति पत्रमा हस्ताक्षर भई भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न लागिएको समेत जनाइएको छ ।

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) ले गत आर्थिक वर्षको मुनाफा र सञ्चितीबाटबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्।

कम्पनीलेले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१६प८९९ नंको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४० वर्षीय गोपाल राईको मृत्यु भएको हो । मृतक राईको ठेगाना भने खुलेको छैन । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट बालिकाको मृत्यु

यसैगरी बिहीबार टिपरको ठक्करबाट भद्रपुरमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ स्थित मेघाटोलकी ११ वर्षीया शिल्पा ऋषिदेव रहेकी जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

भद्रपुर–७ स्थित गार्मेटचोकबाट हल्दिबारीतर्फ गइरहेको प्र–१–००१–क–७७ नंको टिपरले सोही दिशातर्फ गइरहेको साइकलयात्री ऋषिदेवलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाजुरामा प्रतिनिधिसभा सदस्यमा कांग्रेसको अग्रता

बाजुरामा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेस उम्मेदवार बद्रीप्रसाद पाण्डेले पाँच हजार चार सय ९१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कर्णबहादुर थापाले चार हजार एक सय २९ मत प्राप्त गर्नुभएको छ । यहाँ कुल ६० हजार एक सय ५२ जनाले मतदान गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा ९१० मा नेकपा ९एकीकृत समाजवादी० का उम्मेदवार नरेश शाहीले दुई हजार ९७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका बलदेव रेग्मीले नौ सय ६२ मत प्राप्त गर्नुभएको छ । 

यस्तै प्रदेशसभा ९२० मा नेपाली कांग्रसका उम्मेदवार पदम शाहीले दुई हजार तीन सय ८१ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले दुई हजार चार सय ५५ मत प्राप्त गर्नुभएको छ ।