ट्विटर प्रमुखबाट राजीनामा दिने इलोन मस्कको घोषणा

इलोन मस्कले ट्विटरको कार्यकारी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उक्त पदका लागि ” योग्य मूर्ख” व्यक्ति फेला परेपछि आफूले पदत्याग गर्ने उनको भनाइ छ।

यी अर्बपतिले यसअघि ट्विटरमा एउटा सर्वेक्षण गर्दै आफूले राजीनामा दिने सङ्केत गरेका थिए त्यसमा सहभागी ५७.५ प्रतिशत प्रयोगकर्ताले उनलाई पद छाड्न भनेर मत दिएका थिए। तीन दिनअघिको उक्त ट्विटर सर्वेक्षणमा १ करोड ७० लाख प्रयोगकर्ता सहभागी भएका थिए ।

कांग्रेस संसदीय दलको निर्वाचन सकियो

काठमाडौँ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेबाट सुरू हुने भनिएको मतदान केहीबेर ढिला सुरू भएको थियो।

कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका छन्। ८९ सांसदमध्ये ८८ जनाले सिंहदरबारस्थित मतदान केन्द्रमै मत खसालेका थिए।

कांग्रेसका एक सांसद सुत्केरी भएकाले उनको मतपत्र शिलबन्दी गरेर ल्याइएको छ। सांसद माया राई सुत्केरी भएका कारण संसदीय दलको कार्यालय सिंहदरबारमा उपस्थित हुन नसकेपछि निर्वाचन समितिका प्रतिनिधिले ओम अस्पतालमा पुगेर मतदान गराएका थिए।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन्। देउवाका प्रस्तावक नेता रामचन्द्र पौडेल र थापाका प्रस्तावक अर्का नेता डा। शेखर कोइराला छन्।

देउवाका समर्थक उपसभापति पूर्णबहादुर खड्का र थापाका समर्थक उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन्। दलका नेता चुनिन ४५ मत ल्याउनुपर्ने हुन्छ।

एम्बाप्पेकोे किस्सा

आइतबार राति भएको विश्वकप २०२२ को फाइनल अर्जेन्टिनाले तेस्रोपटक उपाधि उचाल्यो । पूर्वविजेता फ्रान्स भने उपविजेतामै चित्त बुझाउन बाध्य बन्यो ।

निकै प्रतिस्पर्धात्मक बनेको फाइनलमा लियोनल मेसी र क्लियन एम्बाप्पेबीच सर्वाधिक गोल गर्ने जुहारी नै चलेको जस्तो देखिन्थ्यो । हुन पनि सेमीफाइनलमा दुवैले पाँच–पाँच गोल गरेका कारण यसपटक गोल्डेन बुट कसको पोल्टामा पर्ला भन्ने निर्णय फाइनल म्याचमा निर्भर थियो । जहाँ उपविजेता टोलीका खेलाडी एमबाप्पे सफल भए ।

उनले फाइनलमा ह्याट्रिक गोल गर्दै प्रतियोगिताभरि कुल आठ गोलसहित गोल्डन बुट हात पारे । एमबाप्पे विश्वकप फुटबलको फाइनल खेलमा ह्याट्रिक गोल गर्ने दोस्रो खेलाडीसमेत बने । यसअघि, सन् १९६६ मा इंल्यान्डका जफ हर्स्टले पश्चिम जर्मनी विरुद्धको फाइनल खेलमा तीन गोल गरेका थिए । उक्त गोलसँगै उनको टोली पहिलोपटक विश्व विजेता बनेको थियो । तर, एमबाप्पेले भने तीन गोल गरे पनि आफ्नो टोलीलाई जिताउन सकेनन् ।

पहिलो हाफमा २–० ले पछि परेको फ्रान्सलाई एमबाप्पेले अन्तिम समयमा दुई गोल गर्दै २–२ को बराबरीमा फर्काएका थिए । त्यसपछि थपिएको समय अर्जेन्टिनाका मेसीले अर्को गोल गर्दा एमबाप्पेले पनि पेनाल्टी मार्फत अर्को गोल गर्दै खेललाई टाइब्रेकरमा लम्ब्याउन भ्याए । टाइब्रेकरमा पनि एक गोल गरेका एमबाप्पेले फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी बने ।

एम्वाप्पेले फानल खेलको ८०औँ मिनेटसम्म २–० ले पछि परेको फ्रान्सलाई पेनाल्टीमार्फत गोल गर्दै गोल अन्तर मात्र घटाएनन् । त्यसको दुई मिनेट नबित्दै अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । यो गोलले विश्वकप फाइनलमा सबैभन्दा कम समयमा दुई गोल गर्ने कीर्तिमान पनि बनाए । यसअघि सन् २००२ मा रोनाल्डोले जर्मनीविद्धको खेलमा १२ मिनेटको अन्तरमा दुई गोल गरेका थिए ।

एमबाप्पे दुई विश्वकपका १४ खेलमा १२ गोल गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पाचौँ स्थानमा छन् । चारवटा विश्वकपका १४ म्याच खेलेका ब्राजिलका पेलेको पनि विश्वकपमा समान १२ गोल रहेको छ । उक्त सूचीमा सबैभन्दा माथि चार विश्वकपका २४ खेल खेलेका जर्मनीका मिरोस्लाभ क्लोज रहेका छन् ।

उनले १६ गोल गरेका छन् । त्यस्तै, ब्राजिलका रोनाल्डो १५ गोल सहित दोस्रो स्थानमा छन् । उनले पनि चारवटा विश्वकपका १९ म्याच खेलेका छन् । आफूले खेलेका पाँच विश्वकपका २६ खेलमा १३ गोल गरेका अर्जेन्टिनी खेलाडी मेसी चौँथो स्थानमा छन् । उनले फाइनलमा गरेको दुई गोलसहित सात गोल गरेका छन् ।

सन् १९७० को विश्वकपपछि एउटै विश्वकपमा सबैभन्दा बढी ८ गोल ब्राजिलका रोनाल्डोले गरेका थिए । अहिले एमबाप्पेले रोनाल्डोको गोलसँग बराबरी गरेका छन् । २०१७ देखि फ्रान्सको राष्ट्रिय टोलीबाट खेल्दै आएका २३ वर्षीय एमबाप्पेले फ्रान्सका लागि ६६ म्याचमा ३६ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्।

राप्रपा संसदीय दलको नेतामा अध्यक्ष लिङ्देन सर्वसम्मत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन भएका छन् ।  मंगलबार बसेको पार्टी संसदीय दलको बैठकबाट लिङ्देन सर्वसम्मत चयन भएका हुन् ।

गत ४ मंसिरमा सम्पन्न आम निर्वाचनमा राप्रपाले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी कूल १४ सिट जितेको छ ।

वैदेशिक रोजगार कार्यालय ताहाचलको प्रमुखमा: केशब प्रसाद

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय, ताहाचलको कार्यालयमा प्रमुखमा  केशब प्रसाद बिमली नियुक्त भएका छन् । व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहेका बिमलीलाई ताहाचलसमेत हेर्ने गरी जिम्मेवारी तोकिएको हो । 

कार्यालय प्रमुख सहसचिव सुशीला अर्यालले लामो समयदेखि जान नमानेपछि रिक्त कार्यालयमा अर्को व्यवस्था नभएसम्मका लागि बिमलीलाई पठाइएको हो । 

पछिल्लो समय निकै प्रभावकारी देखिएको अनलाइन प्रणालीलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउँदै लैजान पनि विमलीलाई जिम्मेवारी दिइएको मन्त्रालयको भनाई छ ।

नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात

काठमाडौं । प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म बिजुली निर्यात गरी रु ११ अर्ब १६ करोड ३० लाख आम्दानी गरेको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भारतलाई बिक्री गरेको हो । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आइएक्स०को डेअहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ । यसबाट मुलुकको वैदेशिक मुद्राको सञ्चिति बढाउनमा पनि योगदान पुगेको छ ।

सुरुमा दुईवटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि गत जेठ २७ बाट छ वटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरुपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा दरमा बिक्री गरिएको थियो ।

प्राधिकरणले गत कात्तिक १८ र ३० देखि थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै आठ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारततर्फ निर्यात हुने विद्युत्को स्वीकृति क्षमता चार सय आठ मेगावाट बराबर पुगेको थियो ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी रु दुई अर्ब ८३ करोड ८८ लाख आम्दानी गरेको थियो । चालु आवको पुस ३ सम्ममा एक अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत् निर्यात गरी रु आठ अर्ब ३२ करोड ४२ लाख ४० हजार आर्जन गरेको छ ।

चिसो बढ्दा काठमाडौँ उपत्यकालगायतमा विद्युत् माग बढेको तर खोलानालामा पानीको वहाब घट्दा नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट उत्पादन कम भएसँगै विद्युत् निर्यात बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले देशभित्रको उत्पादन घट्दा हिउँदयामका करिब चार महिनाको विद्युत् माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गरे । घिसिङले आगामी वैशाख अन्तिम वा जेठको पहिलो हप्ताबाबाट फेरि विद्युत् निर्यात सुरु हुने बताए ।

“देशभित्रको उत्पादन घट्दा आन्तरिक माग धान्न दैनिक रुपमा विद्युत् आयात सुरु भएको छ, विद्युत् आयात करिब चार महिनासम्म रहने हाम्रो प्रक्षेपण छ, तर विद्युत् आयात परिमाण निर्यातभन्दा कम हुनेछ”, उनले भने ।

विगतका वर्षमा विद्युत् निर्यात परिमाण आयातभन्दा कम हुने गरेकोमा यस वर्षबाट निर्यात बढी र आयात कम हुनेछ । प्राधिकरणले आइएक्सको प्रतिस्पर्धी बजारमा विद्युत् बिक्री र खरिद गर्दै आएको छ ।

“आइएक्सबाट मात्र खरिद गर्ने या उत्पादकसँग छोटो अवधिको विद्युत् खरिद सम्झौता गरी आयात गर्ने भन्ने बारेमा छलफल भइरहेको छ”, उनले उल्लेख गरे । त्यसका लागि प्राधिकरणले बजार अध्ययन गरिरहेको उनको भनाइ छ ।

आइएक्समा विद्युत खरिद बिक्रीका लागि २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक फरक हुने गरेको छ । प्राधिकरणले ३ पुससम्म निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ २२ पैसा छ ।

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण ११ गते हुने

काठमाडौँ । सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्यक्रम पुस ११ गते हुने भएको छ । प्रदेशसभा सचिवालय धनगढीका सूचना अधिकारी युवराज जैशीले नवनिर्वाचित प्रदेशसभा सदस्यलाई ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताए ।

जैसीका अनुसार प्रदेश सभाका जेष्ठ सदस्य ६८ वर्षीय अछाम क्षेत्र नम्बर २ को (२) बाट निर्वाचित मानबहादुर रावलले शपथ ग्रहण गराउने भएका छन् । रावलले सोही दिन प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरी बाँकी प्रदेश सभा सदस्यहरूलाई शपथ ग्रहण गराउने छन्।

यहाँ ५३ जना प्रदेशसभा सदस्यहरू छन् । यसैबीच सचिवालयले ११ गते नै नवनिर्वाचित प्रदेशसभा सदस्यको स्वागतमा चियापान कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।

बलात्कार आरोपमा एकजना युवक पक्राउ

काठमाडौं । बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–६ घर भएका २९ वर्षीय महमद आरिफ शेख छन् ।

सूर्यविनायक नगरपालिका–४ मोर्डन चोक बस्ने शेखले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । आरोपीलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

किशोरीलाई शेखले सूर्यविनायक नगरपालिका–४ मोर्डन चोकमा लगेर आइतबार राति जबरजस्ती करणी गरेको सूचनापछि प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज १४.२२ अङ्कले बढेर एक हजार ८ सय ७३ दशमलव ११ विन्दुमा बन्द भएको हो । सोमबार नेप्सेमा सामान्य सुधार देखिएको थियो। 

त्यस्तै, आज नेप्सेमा सुधार भएपनि कारोबार रकम भने एक अर्ब रुपैयाँ पनि पुगेन । आज ९३ करोड ८ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १५२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।       

नेप्सेका अनुसार आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । आज मङ्गलवारको कारोबारबाट आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५०७ रुपैयाँ पुगेको छ भने सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता ९९६.६० रुपैयाँ पुगेको हो ।   

आजको कारोबारमा सनराइज ब्लुचिप्स फन्ड र गरिमा डिबेन्चरको मुल्यमा सर्वाधिक गिरावट आएको छ। त्यसै गरी, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।  यसको आज ६ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।      

कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ता

काठमाडौं, ५ पुष । नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिष्पर्धामा उत्रिएका छन् । देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल उभिएका छन् । थापाको प्रस्तावकमा डा. शेखर कोइराला र समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल उभिएका छन् । दलको नेताकाले निर्वाचनमा वुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।

काठमाडौं, ५ पुष । नेपाली कांग्रेसको संसदीय दलको नेताको चुनाव हुँदैछ । त्यसको लागि उम्मेदवारी दर्ता हुँदैछ । दलको नेताको लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिष्पर्धामा छन् । दलको नेताको चुनावमा देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल छन् । समर्थकमा भने पूर्णबहादुर खड्का छन् । दलको नेताको चुनाव भोलि विहान हुँदैछ ।

देउवाविरुद्ध गगन भिड्ने, शेखर भए ब्याक

काठमाडौं, ५ पुष । नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि आज अहिले दिउँसो २ बजे दलको नेताको लागि उम्मेदवारी दिने कार्यतालिका तय गरिएको छ । संस्थापन पक्षबाट सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नै उम्मेदवार बन्ने भएका छन् ।

उता, संस्थापनइतर समूहबाट भने महामन्त्री गगनकुमार थापा लड्ने भएका छन् । यसअघि बसेको सो समूहको शीर्ष नेताहरुको बैठकले थापालाई दलको नेताको रुपमा अघि बढाउने निर्णय गरेको हो ।

गगनले आफ्नो समूहबाट दलको नेताको लागि एकल उम्मेदवारी दिने भएपछि अहिले शेखर समूहका नेताहरु सांसदहरुसँग निर्णायक छलफलमा जुटेका छन् । थापाले भने अब नेतृत्वमा हस्तक्षेप गर्ने भन्दै दलको नेतामा उठ्ने यसअघि नै घोषणा गरिसकेका थिए ।

पुस ५ गते मंगलबार, यस्ताे छ तपाईंकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्ला । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । छोटो यात्रा पनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रहस्यात्मक विषय र अनुसन्धानात्मक कार्यमा जाग्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको साथ र सहयोग पनि मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मन मनमा अशान्ति र गलत आचरणतर्फ मनजान सक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । खर्चको मात्रामा पनि वृद्धि हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अकस्मात् सफलता पाइन सकिन्छ तर अपमानको सम्भावना रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भाग्यमा वृद्धि हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुनेछ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावश्यक खर्चबाट बच्न सकिन्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज भाग्यमा वृद्धि हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नसक्छ । शत्रुपक्ष हावी हुन सक्छन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्ने भएको छ । कांग्रेस संसदीय दलको नेताको चुनावमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ सांसद मतदाता छन् । आज (मंगलबार) कांग्रेसले संसदीय दलका लागि उम्मेदवारी दर्ता गर्ने निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्ब जानकारी दिए ।

भोलि (बुधबार) कांग्रेस संसदीय दलको निर्वाचन हुने भएको छ । निर्वाचनका लागि समितिले हिजो (सोमबार) नै मतदाता नामावली सार्वजनिक गरिसकेको छ ।

आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । संयोजक आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३ः३० बजे प्रकाशन हुनेछ ।

दिउँसो ३ः३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबीविरोध हुनेछ । दिउँसो साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने आज साँझ ५ः४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

संसदीय दलको नेताका मतदान भने भोलि बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, डा.शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

शेखर र गगनबीच छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षका शीर्ष नेता आज पनि छलफलमा जुटेका छन् । संसदीय दलको नेतामा इतर पक्षबाट साझा उम्मेदवार तय गर्न महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच वार्ता चलिरहेको छ ।

लैनचौरस्थित एक होटलमा इतर पक्षका शीर्ष नेता भेला भएर थापा र कोइराला मध्ये एक जना मात्र उम्मेदवार बनाउन छलफलमा जुटेका हुन् । सोमबार दिनभरको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बिहानै ९ बजेदेखि थापा र कोइराला मिलाउने प्रयास भइरहेको छ ।

इतर पक्षले थापा र कोइरालालाई मिलेर अगाडि बढ्न दबाब दिने उद्देश्यले विहान ११ बजे आफू पक्षीय सांसद र केन्द्रीय सदस्यको बैठक बोलाएको छ । अनामनगरको एक होटलमा ११ बजे बैठक बस्ने केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए ।

कांग्रेसमा संसदीय दलको नेताका लागि आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा एक मात्र उम्मेदवार छन् भने इत्तर पक्षबाट अहिलेसम्म थापा र कोइराला दुई जना दाबी छ ।

गुठीसम्बन्धी ऐन तर्जुमा गर्न समिति गठन, केके छन् समस्या ?

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठीसम्बन्धी ऐन तर्जुमा गर्न सरोकार भएकासहितको समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव एवं जग्गा व्यवस्थापन महाशाखा प्रमुख पद्मनिधि सोतीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएका छन् ।

मन्त्रीस्तरीय निर्णयअनुसार गठित समितिमा गुठीका जानकारद्वय चुन्दा बज्राचार्य र पवित्र बज्राचार्य, मन्त्रालय कानुन शाखा प्रमुख उपसचिव गुणराज श्रेष्ठ, जग्गा प्रशासन शाखा प्रमुख उपसचिव काजीबहादुर विष्ट र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल सदस्य रहेको संयोजक सोतीले जानकारी दिए ।

सर्वोच्च अदालतको विसं २०६४ माघ १० गतेको आदेशमा गुठी ऐन खारेज भएपछि नयाँ ऐन मस्यौदा गर्न समिति गठन गरिएको हो । समितिले मस्यौदा तयार पारिसकेको छ । त्यसलाई अन्तिम रुप दिएर यसै हप्ता प्रतिवेदन बनाएर मन्त्रीसमक्ष पेश गर्ने समितिको तयारी छ ।

प्राचीनकालदेखि चल्दै आएका कतिपय पर्व, पूजा सञ्चालनका लागि गुठी छैन । गुठी भएकालाई पनि थप व्यवस्थित गरिनुपर्ने अवस्था छ । त्यो विषयलाई पनि प्रस्तावित मस्यौदामा समावेश गरिएको जनाइएको छ ।

गुठी ऐन नआएकै कारण गुठी संस्थानले रिक्त भएका स्वीकृत दरबन्दी पनि पूर्ति गर्न सकेको छैन । संस्थान हाल स्वीकृत दरबन्दीको ५० प्रतिशतभन्दा कम जनशक्तिका भरमा सञ्चालन भइरहेको छ । जसका कारण काम गर्न असहज भएको संस्थानले गुनासो गर्दै आएको छ ।