शेयर बजारमा ९.०१ अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको कारोबारको दोस्रो दिन आज बुधबार सामान्य अंकले घटेकोे छ । आज नेप्से ९.०१ अंकले घटेर दुई हजार एक सय ७३ दशमलब १० विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ३२.७२ अंकले बढेर दुई हजार एक सय ८२ दशमलब ११ विन्दुमा बन्द भएको थियो ।   त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन करिब ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २४८ स्टकको ६९ हजार ६३७ पटकको कारोबारमा ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी र ग्रीन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन नेशनल हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य यस दिन सर्वाधिक ७.८९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन सिंगटी हाइड्रो र मिथिला लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन ३५ करोड ७८ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। कम्पनीले ४० प्रतिशत बोनस शेयर वितरणपश्चात ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु त्यसतर्फ आकर्षित भएका हुन्। यस दिन अपि पावरको करिब २० करोडको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको करिब १५ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.०९ प्रतिशत घटेको छ।

सीके राउतले मागे थप एक मन्त्रालय

काठमाडौं– सत्तारुढ दलबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय जनमत पार्टीलाई सुम्पिइने निर्णय भए पनि खानेपानी मन्त्रालय दिइएपछि रुष्ट बनेका अध्यक्ष सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग थप अर्को मन्त्रालय मागेका छन्। 

अध्यक्ष राउतले मंगलबारको मन्त्रिपरिषद् विस्तारमा बिनाविभागीयबाट खानेपानी मन्त्रालयको जिम्मा दिइएका पार्टी उपाध्यक्ष अब्दुल खानलाई बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर थप मन्त्रालयको माग गर्न भनेका हुन्।

जनमतले खानेपानी मन्त्रालय अस्वीकार गरेकै कारण मन्त्री खान दुई दिनदेखि सिंहदरबार पसेका छैनन्। मन्त्री खानले थप एउटा मन्त्रालय पाए खानेपानीसहित दुई मन्त्रालय लिएर पार्टी सरकारमा सहभागी हुने प्रस्ताव प्रधानमन्त्री प्रचण्डसमक्ष राखेको बताए।

प्रधानमन्त्री प्रचण्डले जनमतलाई खानेपानीको सट्टा वन मन्त्रालय दिन चाहे पनि उसले दुइटै मन्त्रालय मागेको छ। पार्टीले एउटा मात्र मन्त्रालय दिइए उद्योग, वाणिज्य प्रकृतिको कुनै अर्को मन्त्रालय दुइटा दिने भए खानेपानी र वन मन्त्रालय माग गर्दै आएको हो।

मन्त्री खानले मन्त्रालयको भागबन्डा मिले सरकारमा सहभागी हुने र नभए समर्थन फिर्ता लिने अवस्था रहेको प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको बताए। जनमत पार्टीले केन्द्रीय समिति बैठक आजै बस्दै छ।

विमान दुर्घटनामा ज्यान गुमाएकालाई योगी सरकारले दिए ८-८ लाख

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका उत्तर प्रदेशका ४ जनालाई त्यहाँको सरकारले ५ लाख भारू (८ लाख) राहत दिने भएको छ ।

समाचार एजेन्सी पिटिआईका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चार जनाका परिवारलाई राहतस्वरूप उक्त रकम दिने घोषणा गरेका हुन्।

उत्तर प्रदेशको गाजीपुर जिल्ला ती चार साथीहरू घुम्न नेपाल आएका बेला दुर्घटनामा परेका थिए। उक्त दुर्घटनामा गाजीपुरका अभिषेक कुशवाहा, विशाल शर्मा, अनिलकुमार राजभार र सोनु जैसवालको मृत्यु भएको थियो।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटना भएकाे थियाे  ।  अहिलेसम्म ७१ जनाको शव फेला परेको छ भने १ जनाको खोजी भइरहेको छ।

नागरिकता विधेयक प्रमाणीकरण प्रक्रिया अघि बढाउन दलहरुलाई आयोगद्वारा पत्राचार

काठमाडौँ । मधेसी आयोगले नागरिकता विहीनहरूका समस्या समाधानको लागि बनाइएको नागरिकता सम्बन्धी विधेयक २०७९ प्रमाणीकरणको लागि आवश्यक प्रक्रिया अगाडी बढाउन विभिन्न राजनीतिक दलहरुलाई पत्र पठाएको छ ।

नागरिकता विहीन सङ्घर्ष समितिका पदाधिकारीहरूले आयोगमा पुगेर आयोगका अध्यक्ष डा.विजयकुमार दत्त समक्ष नागरिकता नभएको कारण राज्यको हरेक सेवा सुविधा बाट वञ्चित हुनुपरेको भन्दै नयाँ राष्ट्रपतिको नियुक्ति पश्चात् नागरिकता विधेयक २०७९ प्रमाणीकरणमा विशेष भूमिका निर्वाह गरिदिन आग्रह सहितको ज्ञापन पत्र बुझाएका थिए ।

सो ज्ञापन पत्र बुझेपछि अध्यक्ष डा.दत्तले नागरिकता नहुनुको पीडा आयोगले पनि बुझेको र आयोगले यसमा गर्न सक्ने सबै किसिमको सहयोगबाट पछाडि नहट्ने प्रतिबत्तासमेत व्यक्त गरेका छन् ।

सो ज्ञापन पत्रलाई मध्यनजर गर्दै अध्यक्ष डा. दत्तको निर्देशनमा आयोगले सबै शीर्ष राजनीतिक दलहरुलाई विधेयक प्रमाणीकरणको लागि आवश्यक प्रक्रिया अगाडी बढाउन पत्र पठाएको हो ।

नागरिकता सम्बन्धी विधेयक २०७९ दुई पटक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपति समक्ष पुगे पनि राष्ट्रपतिबाट प्रमाणीकरण नभएकोले आफूहरूलाई राज्यको विभिन्न सेवा सुविधाबाट वञ्चित हुनुपरेको सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

यस्तो रह्यो नवनियुक्त मन्त्रीहरू

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्हरु शीतलनिवास कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनीहरूले शपथ लिएका हुन् । 

राष्ट्रपतिले सबैभन्दा पहिले उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीका रूपमा राजेन्द्र लिङ्देनलाई शपथग्रहण गराइन् । त्यसपछि मन्त्रीहरूलाई शपथ गराइएको थियो । 

एमालेबाट हरि उप्रेतीले रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीले स्वास्थ्य, भगवती चौधरीले महिला, बालबालिका, ज्वालाकुमारी साहले कृषि र राजेन्द्र राईले भूमि व्यवस्था सहकारी मन्त्रीको शपथग्रहण गरे । 

यस्तै, राप्रपाबाट ध्रुवबहादुर प्रधानले कानुन, विक्रम पाण्डेले सहरी विकासमन्त्रीको शपथ लिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रममन्त्रीमा डिपी अर्यालले शपथ लिए । 

माओवादीका रेखा शर्माले सूचना प्रविधि तथा सञ्चार, सुदन किराँतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  र अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको शपथ लिए । 

यस्तै, यसअघि विनाविभागीय मन्त्री रहेका जनमत पार्टीका अब्दुल खानले वन मन्त्रीको पनि शपथग्रहण गरे । 

आजै राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री प्रचण्डले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहलाई शपथग्रहण गराए । 

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायत उपस्थित थिए । 

शेयर बजारमा ३२.७२ अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको कारोबारको पहिलो दिन आज मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से ३२.७२ अंकले बढेर दुई हजार एक सय ८२ दशमलब ११ विन्दुमा बन्द भएको हो ।  त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४५ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। गत बिहीबार करिब साढे ५ अर्बको कारोबार भएको बजारमा यस दिन २५० स्टकको ६३ हजार ४३० पटकको कारोबारमा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ग्रीन भेन्चर्स, आदर्श लघुवित्त, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस बाहेक यस दिन हिमालयन हाइड्रोपावर, बलेफि हाइड्रोपावर र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको प्रभु सेलेक्ट फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ८.४५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक गरेसँगै कम्पनीको शेयर कारोबार बढेको हो। त्यसैगरी, यस दिन अपर तामाकोशीको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुपको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन बैंकिङ्ग उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.१२ प्रतिशत बढेको छ। त्यसैगरी, जलविद्युत उपसमूहको परिसूचक यस दिन ५.०४ प्रतिशत बढेको छ। वित्त उपसमूहको परिसूचक यस दिन साढे ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, लगानी र अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ। बैंक उपसमूहको परिसूचक भने यस दिन ०.३२ प्रतिशत घटेको छ।

मन्त्रिपरिषद् विस्तार, ११ मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई सामूहिक रुपमा शपथ गराएकी हुन् ।

राष्ट्रपतिले पहिले उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई शपथ खुवाएकी थिइन् । त्यसपछि अन्य मन्त्रीहरूले शपथ लिएका छन् । विस्तारसँगै मन्त्रिपरिषदको संख्या २२ पुगेको छ । जसमा प्रधानमन्त्री, चार उपप्रधानमन्त्री, १५ मन्त्री र दुई राज्यमन्त्री छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री बिष्णु प्रसाद पौडेल, अर्थ, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार, उपप्रधानमन्त्री रवि लामिछाने गृह र उपप्रधानमन्त्री राजेन्द्र लिङदेन ऊर्जा छन् ।

यस्तै, एमालेबाट पदम गिरी स्वास्थ्यमन्त्री, डा. विमला राई पौडेल परराष्ट्रमन्त्री, हरि उप्रेती रक्षामन्त्री, ज्वालाकुमारी साह कृषि तथा पशुपंक्षीमन्त्री, भगवती चौधरी महिला, बालबालिका मन्त्री, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, राजेन्द्र राई भूमिव्यवस्था तथा सहकारीमन्त्री, माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचनामन्त्री, सुदन किराती संस्कृति, पर्यटनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य मन्त्री, रास्वपाबाट शिशिर खनाल शिक्षा तथा विज्ञान मन्त्री, डोरप्रसाद अर्याल, श्रम तथा रोजगार, राप्रपाबाट विक्रम पाण्डे, सहरी विकास, ध्रुव प्रधान, कानुन, न्यायमन्त्री, जनमतबाट अब्दुल खान खानेपानी तथा सरसफा र राज्यमन्त्रीहरू डा. तोसिमा कार्की स्वास्थ्य र दिपकबहादुर सिंह ऊर्जा, जलस्रोत छन् ।

उपप्रधान एवं ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रीमा लिङ्देनले गरे पदभार ग्रहण

काठमाडौँ । आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि पशुपतिनाथ मन्दिरमा दर्शन गरी मन्त्री लिङदेनले पद बहाली गरेका हुन् । 

उपप्रधानमन्त्री लिङदेनले पदभार ग्रहण लगत्तै नेपालको ऊर्जा जलस्रोत तथा सिँचाई क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेका छन्। “आगामी पाँच वर्षका लागि ऊर्जा जलस्रोत र सिँचाइका क्षेत्रमा हामीले प्राथमिकतामा राखेर गर्नुपर्ने कामहरू के– के लागि तय गर्ने र हाम्रो आवश्यकता तथा प्राथमिकता निर्धारण गरी रणनीतिक योजना बनाउन  मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाइएको छ”, उनले भने, “योजनाबद्ध ढङ्गले काम गर्न सकियो भने ठोस नतिजा निकाल्न सकिन्छ ।”

ऊर्जा जलस्रोत तथा सिँचाई जस्तो महत्त्वपूर्ण मन्त्रालय सम्हाल्दा चुनौतीपूर्ण हुने भए पनि आफूले त्यसलाई अवसरमा बदल्ने उनको भनाइ छ । “मन्त्रालय कुनै पनि राम्रो÷नराम्रो वा सानो÷ठुलो भन्ने त हुँदैनन्, सबै मन्त्रालय बराबर छन्”, उनले भने, “नेपालको हकमा ऊर्जा जलस्रोत र सिँचाई मन्त्रालय महत्त्वपूर्ण मन्त्रालय हो । मन्त्रालय सम्हाल्नु चुनौतीपूर्ण भए पनि म यसलाई अवसरमा परिणत गर्छु ।”

“हामी सनातन धर्ममा विश्वास गर्ने भएकाले कुनै पनि शुभ कार्य गर्दा आराध्य देवको दर्शन गर्नुपर्छ भन्नेमा विश्वास राख्छौँ । त्यस कारण पशुपतिनाथको दर्शन गर्न गएको हुँ” उपप्रधानमन्त्री लिङदेनले पदभार ग्रहणपछि भने । 

जसपाले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा नजाने भएको छ । सरकारसँग सहमति भए मात्र सरकारमा जाने जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए । 

जसपाका केही मागहरू छन्, ती मागको सम्बोधन हुनुपर्‍यो, मन्त्रालय भागबन्डादेखि अन्य नियुक्तिमा पनि सम्मानजनक सहभागिता गराए मात्र सरकारमा जान्छौँ, उनले भने ।

सरकारलाई समर्थन तथा विश्वासको मत दिनका लागि मात्र सत्ता साझेदारी दलसँग सहमति भएको थियो, उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउने र उहाँलाई संसदमा विश्वासको मत दिने भनि सहमति भएको हो त्यसबाहेक अरु कुनै कुरामा सहमति भएको छैन ।

सरकारले  ल्याएको न्यूनतम साझा कार्यक्रममा केही कुराहरू समेटिएको थियो त्यही कारणले सरकारलाई समर्थन गरिएको हो, सरकारमा जाने विषयमा सरकारसँग थप छलफल भए मात्र सरकारमा जाने नजाने बारेमा निर्णय गर्ने अध्यक्ष यादवले बताए ।

जसपासँग १२ जना सांसद छन् । उसले ३ वटा मन्त्रालय तथा उपराष्ट्रमा दाबी गरेको छ । राष्ट्रपति, सभामुख, उपसभामुख, उपराष्ट्रपति लगायत अन्य राजनीतिक तथा संवैधानिक नियुक्तिको विषयमा प्याकेजमै सहमति हुनुपर्ने जसपाले भन्दै आएको छ ।

आज माघ ३ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारलाई समय दिन सकिनेछ र शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्र सामान्य नै रहनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिने र सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सानातिना बाधा अवरोध आइलागे पनि काम रोकिने छैन । वैदेशिक कार्य सम्पादनमा सहजता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ योजना, अवसर र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । शेयर बजारले पनि साथ दिनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा० प्राविधिक कार्य सफल हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम सम्बन्ध कसिलो होला । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । कुनै कुराले मनमा उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग पनि मिल्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकायबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधा पनि आउनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकाय र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कसैसँग कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने भएको छ । आज (मंगलबार) दिउँसो ४ बजे उक्त बैठक बस्ने बस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सर्वदलीय बैठक बस्नेछ ।

सत्ता गठबन्धनमा सभामुख र उपसभामुखको उम्मेदवारसँगै मन्त्रालय भागबन्डामा सहमति जुटाइएको छ भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएका दलहरूसँग छलफल गर्ने बैठकको एजेण्डा रहेको छ ।

मधेशमा आज सभामुखकोलागी निर्वाचन हुँदै

जनकपुरधाम । मधेश प्रदेशमा दिउँसो १ बजे बोलाइएको बैठकमा सभामुखको लागि मतदान र नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सोमबार नै सभामुखको निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यतालिका थियो तर पोखरामा भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय शोकको बिदा घोषणा गरिएपछि बैठक स्थगित भएको थियो । आज मंगलबार दिउँसो १ बजे बैठक बस्ने सूचना सांसदहरूलाई पठाइएको हो ।

सभामुखको लागि सत्ता गठबन्धन घटक नेकपा एमालेबाट रामचन्द्र मण्डल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट जंगीलाल राय उम्मेदवार छन् । दुवैजना पुस ३० गते उम्मेदवारी दर्ता गराएका थिए ।

प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकरएक जना सांसद छन् । ५ जना स्वतन्त्र सांसद छन् ।

विमान दुर्घटनामा मृत्यु हुनेमा एउटा अधिकृत पनि

काठमाडौँ । पोखरामा भएको विमान दुर्घटनामा मृत्यु हुनेमा कृषि प्रसार अधिकृत पनि रहेका छन्।

नवलपरासी (व सु पू) कावासोती–६ विष्णु नगरका मोहनप्रकाश श्रेष्ठको मृत्यु भएको हो। यो खबरसँगै पूरै गाउँ हिजोदेखि शोकमा डुबेको छ।

श्रेष्ठ विगत पाँच वर्षदेखि कृषि ज्ञान केन्द्र म्याग्दीमा कृषि प्रसार अधिकृतका रूपमा कार्यरत थिए।

श्रेष्ठको परिवारले हिजो नै पोखरा पुगेर शव पहिचान गरिसकेका छन्। श्रेष्ठको परिवारमा आमाबुवा, श्रीमती र एक छोरी छन्।

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं, २ माघ । दाङमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

घोराहीको-सर्रा-सौडियार सडक खण्डमा रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१६ निवासी २१ वर्षीय सुशील चौधरी र सोही ठाउँका १८ वर्षका विवेक चौधरी रहेका छन् ।

उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बढ्यो सुनको मूल्य

सुनको मूल्य निरन्तर चौथो दिन उकालो लागेको छ। गत साताको बिहीबारदेखि उकालो लागेको सुनको मूल्यले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ। अघिल्लो कारोबार दिन १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७०० रुपैयाँ रहेको छ।

सुनको मूल्यसँगै यस दिन चाँदीको मूल्य पनि बढेको छ। आइतबार १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन प्रतितोला १० रुपैयाँ बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।