दुई लुघुवित्त वित्तीय संस्थाले गरे लाभांशको घोषणा

काठमाडौं । सोमबार (अाज) इन्फिनिटी लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाले शेयरधनीहलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेका हुन ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शनिबार बसेको सञ्चालक समितिको बैठकले शेयधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन आउने ८ करोड २९ लाख २ हजार ६५६ रुपैयाँ बराबरको बोनस शेयरदिने घोषणा गरेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको छ । आयकर ऐन २०५८ बमोजिम बोनस शेयर वितरण गर्दा लाग्ने कर छुटको सुविधा रहेको हुँदा कर प्रयोजनका लागि नगद लाभांश नछुट्याएको कम्पनीले जनाएको छ ।

त्यस्तै, सपोर्ट लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेका चुक्ता पुँजीको ११ प्रतिशतका दरले हुन आउने ९४ लाख ३८ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.५७८९४७३७ प्रतिशतका दरले हुने आउने ४ लाख ९६ हजार ७३६ रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
 

आज बैंक तथा वित्तीय संस्था साढे ३ घण्टामा मात्र खुल्ने

काठमाडौँ । विमान दुर्घटनाका कारण सरकारले सोमबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिएपनि बैंक तथा वित्तीय संस्थाहरू भने खुल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै सार्वजनिक विदा भएपनि बैंक तथा वित्तीय संस्थालाई कारोबार जारी राख्न निर्देशन दिएको हो ।

आज तीन घण्टा मात्र बैंकहरु खुल्ने छन् । केन्द्रीय बैंकको सूचना अनुसार बिहान १० बजेदेखि १:३० सम्म बैंक तथा वित्तीय संस्थाको कार्यालय, शाखा कार्यालय खुला रही नगद कारोबार, चेक क्लियरिंग, आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवाहरु प्रवाह हुनेछन् ।

२४ घन्टापछि विमानको ब्ल्याक बक्स भेटिए

काठमाडौँ । आइतबार पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार करिब २४ घन्टापछि ब्ल्याक बक्स भेटिएको छ ।

प्रवक्ता जगन्नाथ निरौलाले जहाजको ब्ल्याक बक्स भेटिएको पुष्टी गरे । उनले हिजोदेखि खोजी कार्य जारी रहेपनि २४ घन्टापछि मात्रै भेटिएको र उक्त ब्ल्याक बक्सलाई काठमाडौं ल्याउने तयारी भइरहेको बताए ।

ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले आपसमा गरेको कुराकानी रेकर्ड भएको हुन्छ । जसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ ।

सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि

मधेस प्रदेश सभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मंगलबारका लागि तय गरिएको छ । 

आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले आजका लागि तोकिएका कार्यक्रम स्थगित गरी भोलिका लागि तय गरिएको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । 

यसअघि आज दिउँसो १ बजेका लागि तय भएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नाम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । प्रदेश सभा सचिवालय सचिव यादवले प्रदेश सभा अध्यक्ष गोविन्दबहादुर न्यौपाने र मुख्यमन्त्री यादवको समन्वयपछि भोलि मंगलबार दिउँसो १ बजेका लागि बैठक सारिएको बताए ।  

गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए भने सभामुखमा सत्तागठबन्धनका तर्फबाट एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जंगीलाल रायको उम्मेदवारी दर्ता भएको छ । 

प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका ओली बिच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।  बालकोटस्थित ओली निवासमा भएको भेटमा मन्त्रिपरिषद विस्तार, राष्ट्रपति तथा सभामुख लगायत राज्यका प्रमुख निकायका बाँडफाँडका बारेमा सल्लाह भएको बुझिएको छ ।

प्रधानमन्त्री निर्वाचित भएको एक महिना वितिसक्दा पनि मन्त्रिपरिषद विस्तार तथा अन्य निकायको बाँडफाँड अझै टुंगो लाग्न सकेको छैन । राप्रपालगायतलाई सरकारमा सहभागी गराउने भन्ने बिषयमा पनि छलफल भएको छ । दुवै नेता मन्त्रिपरिषदलाई चाँडै पुर्णता दिनेमा सहमत भएका छन ।

विमान दुर्घटना : पहिचान भएका शव आज आफन्तको जिम्मा लगाइने

गण्डकी । पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।

दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ । तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको र छ जनाको शव अझै फेला नपरेको सहायक प्रजिअ शाहीले जानकारी दिए ।

सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ ।

लोकसेवामा थारू क्लस्टर माग्दै सर्वोच्चमा ४७ मुद्दा: पाँच लाख परीक्षार्थी अन्योलमा

निजामती सेवासँगै सुरक्षा निकाय र संगठित संस्थामा थारू समुदायलाई छुट्टै समावेशी कोटा कायम गरिनुपर्ने मागसहित सर्वाेच्च अदालतमा धमाधम मुद्दा पर्न थालेका छन् । जसकारण लोकसेवा आयोगका पाँच हजार आठ सय ४६ पदका परीक्षा अनिश्चित बनेका छन् । यी पदमा दरखास्त दिएका पाँच लाख परीक्षार्थी अन्योलमा परेका छन् । थारू कल्याणकारी सभा (थाकस)ले निजामती तथा संगठित संस्थामा थारू समुदायलाई ६.६ प्रतिशत क्लस्टरको माग गर्दै हालसम्म ४७ मुद्दा दायर गरिसकेको छ ।

के हो माग ?
थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीसहितले थारू क्लस्टरको मागसहित हालसम्म ४७ मुद्दा दायर गरिसकेका छन् । थारू क्लस्टरको मागसहित १२ साउन ०७८ मा पहिलो मुद्दा दायर भएकोमा त्यसयता लोकसेवाका हरेकजसो विज्ञापनविरुद्ध मुद्दा पर्ने गरेको छ । निर्वाचन आयोग ऐन, ०७४ मा थारू समुदायबाट उम्मेदवारको बन्दसूचीको समावेशी आधारमा ६.६% निर्धारण गरिएको छ । संघीय निजामती सेवा ऐनलगायत कानुनमा पनि सोही आधारमा थारूलाई छुट्टै क्लस्टर छुट्याउनुपर्ने थाकसको माग छ । तर, विद्यमान कानुनमा थारूलाई छुट्टै क्लस्टर नभएकाले कोटा छुट्याउन नसकिएको सरकार र लोकसेवाको दाबी छ । निजामती सेवा ऐन नआउँदा समस्या भएको दुवैको तर्क छ । तर, रिट दायरकर्तामध्येका एक अधिवक्ता बुद्धसेन चौधरी सरकार र लोकसेवाको तर्कलाई बहाना भन्छन् । उनी भन्छन्, ‘संविधानले नै थारूलाई क्लस्टर मानेको छ, ऐन नआउँदा समस्या भएको त हो । तर, सरकारले चाहेमा तत्काल नियमावली संशोधन गरेर क्लस्टरको व्यवस्था गर्न सक्छ ।’

यस्तो संविधानमा व्यवस्था
संविधानमा व्यवस्था रहेको सामाजिक न्यायको हकमा ‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी–जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित र पिछडिएका क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस–आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ’ भनिएको छ । हक कार्यान्वयनका लागि संविधान जारी भएको मितिले तीन वर्षभित्र कानुन बनाई लागू गरिने भनिए पनि थारू क्लस्टर नै नराखी स्थायी पदपूर्ति खोलिएको रिट दायरकर्ता अधिवक्ता बुद्धसेन चौधरीले बताए । सर्वाेच्चले ०७४ मा कानुन बनाएर संवैधानिक व्यवस्था कार्यान्वयन गर्न भनेको थियो । ‘संविधान बनेको ६ वर्षसम्म पनि हामीले अधिकार पाएका छैनौँ,’ चौधरीले भने ।

पछिल्लोपटक अन्तरिम आदेशविरुद्ध सरकार भ्याकेटमा जान थालेको छ । सहसचिव र उपसचिवको विज्ञापनमा थारू क्लस्टर नरहेको भन्दै दायर रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिएको थियो । तर, मन्त्रिपरिषद् कार्यालय अन्तरिम आदेशविरुद्ध भ्याकेटमा गएपछि सर्वाेच्चले ११ मंसिरमा अघिल्लो आदेश खारेज गरिदिएको थियो । योसँगै सहसचिव र उपसचिवको परीक्षा भएको छ । अदालतले ‘अन्तरिम आदेश कायम राख्दा मुलुकको सार्वजनिक सेवा प्रवाहमा गम्भीर असर पर्न सक्ने संवेदनशील अवस्था र परिस्थितिलाई विचार गर्दै अन्तरिम आदेश रद्द गरिएको’ आदेशमा उल्लेख छ । तर, अदालतले अहिलेसम्म यी मुद्दामा अन्तिम सुनुवाइ भएको छैन । लोकसेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदी सर्वाेच्चले कानुन बनाएर क्लस्टरको व्यवस्था गर्न भने पनि कानुन बनाउने जिम्मा संसद्को क्षेत्राधिकार रहेको बताउँछन् । 

२८३ शाखा अधिकृतको परीक्षा अनिश्चित
थारू क्लस्टरको माग गर्दै दायर रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि निजामतीतर्फ दुई सय ८३ शाखा अधिकृत पदको परीक्षा अनिश्चित बनेको छ । लोकसेवा आयोगले शाखा अधिकृत (अप्राविधिक)मा ६९ र शाखा अधिकृत (परराष्ट्र, प्रशासन, लेखापरीक्षण, संघीय संसद्, संयुक्त र एकीकृत) मा दुई सय १४ पदका लागि २९ मंसिरमा दरखास्त आह्वान गरेको थियो । तर, दरखास्त संकलन भइरहेका वेला मुद्दा परेपछि परीक्षा अनिश्चित बनेको हो । खुला र समावेशीमा थारूक्लस्टर नछुट्याइको भन्दै दायर रिटमा अन्तरिम आदेश जारी भएपछि एक सय १४ शाखा अधिकृतको बढुवा (ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन) पनि रोकिएको छ । 

प्राविधिक र स्वास्थ्यका ३९५ पदको पूर्ति एक वर्षदेखि अनिश्चित
राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक र स्वास्थ्य सेवाका पाँचौँ तह)को तीन सय ९५ पदपूर्ति एक वर्षदेखि रोकिएको छ । लोकसेवाले २६ माघ ०७८ मा विज्ञापन जारी गरेको थियो । तर,थारूक्लस्टरको मुद्दामा सर्वाेच्चले अन्तरिम आदेश जारी गरेपछि परीक्षा अनिश्चित बनेको हो । स्थायी पदपूर्ति अनिश्चित बनेपछि स्वास्थ्य तथा प्राविधिक कार्यालयले करार कर्मचारी भर्ना गरेर कामकाज चलाइरहेका छन् ।

सशस्त्रको विज्ञापन रोकिँदा अस्पतालको सेवाप्रवाहमै समस्या
नयाँ जनशक्तिको भर्ना रोकिँदा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ । सशस्त्रले लोकसेवाको सहमतिमा सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) २२ र सशस्त्र प्रहरी नायब निरीक्षक (स्टाफ नर्स) ४६ का लागि ६८ पदमा दरखास्त आह्वान गरेको थियो ।ती पदका लागि विस्तृत स्वास्थ्य परीक्षण भए पनि परीक्षा हुन सकेको छैन । १३ साउनमा भएको विज्ञापनको दरखास्त संकलन गरेर विस्तृत स्वास्थ्य परीक्षण भए पनि परीक्षा रोकिएको छ । थारू क्लस्टरको मागसहित दायर भएको रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिएर यथास्थितिमा राख्न भनेपछि परीक्षा हुन नसकेको सशस्त्र प्रहरीका प्रवक्ता पुरुषोत्तम थापाले बताए । ‘सशस्त्र प्रहरीको जनशक्तिमा आश्रित परिवारसँगै सर्वसाधारणलाई एपिएफ अस्पतालबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको छौँ । बिरामीको चाप भए पनि नयाँ जनशक्ति भर्ना हुन नसक्दा समस्या भएको छ,’ उनले भने । कतिपय चिकित्सक र स्टाफ नर्स सेवानिवृत्त भए पनि नयाँ जनशक्ति भर्ना हुन नसक्दा अस्पतालको सेवाप्रवाहमा समस्या आएको हो । सशस्त्र प्रहरीमा साधारण र कानुनतर्फको विज्ञापन पनि रोकिएको छ । सशस्त्रमा ७१ निरीक्षक (साधारण), आठ निरीक्षक (कानुन) र ८३ सहायक निरीक्षक गरी एक सय ६२ पदका लागि ६ असोजमा विज्ञापन भएको थियो ।

सेनामा सवा चार हजार पदपूर्ति अनिश्चित
थारूक्लस्टरका कारण नेपाली सेनामा दुईवटा विज्ञापनको पदपूर्ति रोकिएको छ । सेनामा अधिकृत क्याडेट दुई सय २९ पद र सैन्यमा चार हजार पदको लिखित परीक्षा हुन सकेको छैन । २४ भदौमा दुई हजार ८८ खुला र बाँकी समावेशी गरी चार हजार सैन्य भर्नाका लागि विज्ञापन आह्वान भएको थियो। त्यस्तै, ३१ भदौमा दुई सय नौ क्याडेट अधिकृतका लागि विज्ञापन भएको थियो । तर, थारूक्लस्टरको माग गर्दै परेको रिटमा सर्वाेच्चले अन्तरिम आदेश जारी गरेसँगै पदपूर्ति रोकिएको हो । मुद्दा परेपछि सेनाले नयाँ भर्नाका लागि पनि विज्ञापन आह्वान गर्न सकेको छैन । ‘सैन्य तथा अधिकृत क्याडेट पदका परीक्षा सञ्चालन र सैन्य पदको नयाँ सम्पर्क मितिबारे कम्तीमा एक हप्ताअगावै अर्काे सूचना प्रकाशित गरी जानकारी गराइनेछ,’ सैनिक मुख्यालयले सूचना जारी गर्दै भनेको छ ।

विद्युत् प्राधिकरणमा ५२२ कर्मचारीको पदपूर्ति रोकियो
नेपाल विद्युत् प्राधिकरणमा पाँच सय २२ कर्मचारीको पदपूर्ति रोकिएको छ । प्राधिकरणले आयोगको सहमतिमा स्थायी पदपूर्तिका लागि ३१ भदौमा विज्ञापन आह्वान गरेको थियो । सर्वाेच्चको अन्तरिम आदेशका कारण तह तीनदेखि तह १० (निर्देशक)सम्मकोपरीक्षा अनिश्चित बनेको हो । प्राधिकरणका अनुसार आवेदन संकलन भए पनि परीक्षाको टुंगो छैन ।

खाद्य कम्पनीमा पनि मुद्दा
खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा एक सय ६ पदको पूर्ति रोकिएको छ । वाणिज्य मनत्रालयमातहतको कम्पनीले सहायक चौथोदेखि १०औँ तहसम्म एक सय ६ पदका लागि १४ असोजमा विज्ञापन गरेको थियो । तर, दरखास्त संकलन गरेर परीक्षा तालिका प्रकाशितको तयारी भइरहेका वेला अन्तरिम आदेश जारी भएपछि रोकिएको हो । खाद्यले सर्वाेच्चमा लिखित जवाफ पनि पेस गरिसकेको छ । 

नास्टमा ८१ पदको परीक्षा रोकियो
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा नयाँ जनशक्ति भर्नाका लागि आह्वान भएको विज्ञापन पनि रोकिएको छ । नास्टले विभिन्न ८१ पदका लागि चालू आवमा विज्ञापन आह्वान गरेको थियो । तर, मुद्दाका कारण परीक्षा हुन सकेको छैन ।

६८ जनाको शव फेला

काठमाडौँ। सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । 

सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

उनकाअनुसार पोखरास्थित गण्डकी अस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।

एकै दिन भेटिए २० जना दादुराकाे बिरामी 

काठमाडौं – बाँकेमा दादुरा रोगको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन। बाँकेमा गत २४ घण्टामा २० जना दादुराका बिरामी भेटिएका छन्। यो सँगै जिल्लामा दादुराको बिरामीको संख्या १८० पुगेको छ। 

गत २४ घण्टामा नेपालगञ्जमा मात्र २० जना दादुराको बिरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ३ मा १, वडा नं ११ मा २, वडा नं १५ मा १, वडा नं १६ मा १५, र वडा नं १८ मा १ जना गरी २० बिरामी भेटिएका हुन्। 

हाल कुनै पनि बिरामी अस्पतालमा भर्ना भएका छैनन्। ४६ जना घरमै आइसोलेसनमा, ४५ जना उपचाररत छन्। गत २४ घण्टामा २५ जना बालबालिका निको भएका छन्। दादुराको प्रकोप नेपालगञ्जको १५ वटा वडामा फैलिएको छ। 

शनिबार १ हजार ९२६ बालिका र १ हजार ९१७ बालक गरी ३ हजार ८४४ जनालाई दादुरा रुबेला विरुद्धको खोप लगाइएको कार्यालयले जनाएको छ। यो सँगै बाँकेमा हालसम्म खोप लगाउने बालबालिकाको संख्या १६ हजार ६८९ पुगेको छ। अब ३ हजार ९९८ जनालाई खोप लगाउन बाँकी छ। 

आइतबार नेपालगञ्ज उपमहानगर पालिकाका वडा नं ३ र १६ गरी २ वटा वडाहरुमा २ वटा खोप केन्द्रहरु मार्फत ६ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई खोप लगाईँदैछ। माघी पर्वका कारण माघ १ गते २ वटा मात्र खोप केन्द्र सञ्चालन भएपनि माघ २ गतेबाट प्रभावित सबै वडाहरुमा बालबालिकाहरुलाई खोज्ने र खोप लगाउने कार्यलाई तिव्रता दिइने कार्यालयले जनाएको छ। 

बाँकेमा ४६ हजार ५ सय डोज खोप रहेकोमा हालसम्म १६ हजार ८ सय खोप खपत भएकाले २९ हजार ७ सय खोप बाँकी रहेको कार्यालयले जनाएको छ। 

सरकारको निर्देशन “सबै हवाइजहाजको प्राविधिक परीक्षण अनिवार्य हुनुपर्ने”

काठमाडौँ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गर्दै त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेको छ ।

बैठकपछि सरकारका प्रवक्तासमेत रहेका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग बनाइएको जानकारी दिए । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठनसमेत गरिएकामा आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ।

बैठकले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। बैठकले माघ २ गते सोमबारलाई राष्ट्रिय शोकका रूपमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ।

बैठकले घटनाबारे मृतकका आफन्तहरूलाई सही सूचना दिन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ। पार्थीव शरीर बुझ्न र लैजान सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्ने निर्णय पनि गरेको छ। काठमाडौँबाट पोखरा उडेको यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरास्थित सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा ७२ जना सवार थिए ।

कोरोना संक्रमणबाट चीनमा डिसेम्बरयता करिब ६० हजार मानिसको मृत्यु

काठमाडौँ : चीनमा डिसेम्बरयता करिब ६० हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ। विश्वस्वास्थ संगठन र अमेरिका लगायतका पश्चिमा देशले कोरोनासम्बन्धी सही सूचना सार्वजनिक नगरेको भन्दै आलोचना गरेपछि चीनले नयाँ तथ्यांक सार्वजनिक गरेको समाचार संस्था एपीले जनाएको छ।

राष्ट्रिय स्वास्थ्य आयोगकी चिकित्सा मामिला प्रमुख जियाओ याहुयीले शनिबार आयोजित पत्रकार सम्मेलनमा डिसेम्बर ८ देखि जनवरी १२ सम्ममा ५९ हजार ९ सय ३८ जनाले कोभिडका कारण ज्यान गुमाएको जानकारी दिएकी हुन्। यसमध्ये साढे पाँच हजारले कोभिड संक्रमणका कारण श्वासप्रश्वासमा अवरोध सिर्जना भएपछि ज्यान गुमाएको र बाँकी ५४ हजारले कोभिड र अन्य गम्भीर रोगको सम्मिश्रणका कारण ज्यान गुमाएको जियाओले बताइन्।

यसअघि चीनले ८ तारिख यता डिसेम्बर महिनामा जम्मा ३७ जनाले कोभिडका कारण ज्यान गुमाएको बताएको थियो भने महामारी शुरु भएयता ५ हजारभन्दा बढीले मात्र कोरोनाका कारण ज्यान गुमाएको बताउँदै आएको थियो । अन्तर्राष्ट्रिय समाचारमाध्यमले अस्पताल र अन्त्येष्टिस्थलहरुमा अत्यधिक चाप बढेको जनाइरहँदा चीनले सार्वजनिक गरेको उक्त तथ्यांकले उसको विश्वसनियतामाथि आशंका उत्पन्न गरेको थियो।

जियाओले कोरोना संक्रमण उच्च विन्दुमा पुगेर अब ओरालो लागिरहेको जानकारी दिएकी थिइन्। गत डिसेम्बर २३ मा २८ लाख ६० हजारभन्दा बढी मानिस ज्वरो क्लिनिक पुगेकामा जनवरी १२ मा यो संख्या घटेर ४ लाख ७७ हजार पुगेका उनले बताएकी छन् । यसैबीच विश्व स्वास्थ्य संगठनले बेइजिङले नयाँ तथ्यांक सार्वजनिक गरेकोमा त्यसको स्वागत गरेको छ । साथै उसले थप विस्तृत तथ्यांक जारी गर्न उसलाई पुन: आग्रह गरेको छ ।

संगठनले चीनलाई अस्पताल भर्ना र मृत्युको बारेमा थप छिटो, नियमित, भरपर्दो तथ्याङ्कका लागि निरन्तर आग्रह गरिरहेको कोभिड–१९ का कारण हुने मृत्युको वर्गीकरणबारे डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले भने। शनिबार चीनका स्वास्थ्य अधिकारीहरूले मृत्यु हुनेको औसत आयु ८०.३ वर्ष रहेको र ९० प्रतिशतभन्दा बढी ६५ वर्षभन्दा माथिका रहेको बताएका थिए। तीमध्ये अधिकांश आधारभूत अवस्थाबाट पीडित रहेको उनीहरूले बताएका छन् । चीनमा ६० वर्षभन्दा माथिका लाखौं मानिसले खोप लगाएका छैनन् ।

अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरुले चीनमा यस वर्ष कम्तिमा १० लाख मानिसले कोभिडसम्बन्धी संक्रमणका कारण ज्यान गुमाउने प्रक्षेपण गरेका छन्।

काठमाडौँ महानगर “नगर प्रहरी ऐन बनाउँदै”

काठमाडौँ । काठमाडौँ महानगर प्रहरी अहिलेसम्म महानगरले २०७२ मा निर्माण भएको विनियमावलीअनुसार मात्रै चलिरहेको थियो । अब भने ऐन नै निर्माण गरेर नगर प्रहरीलाई ऐन मातहत राख्न खोजेको हो ।

आज राष्ट्रिय सभामा भएको १२औँ नगर सभामा विधायन समितिका संयोजक मचाकाजी महर्जनले नगर प्रहरी विधेयक २०७९ प्रस्तुत गरेका हुन् ।

महानगरका कानुन, न्याय तथा मानवअधिकार विभागका निर्देशक वसन्त आचार्यका अनुसार ऐनमा नगर प्रहरीको भर्ना, छनोट प्रक्रिया, पुरस्कार, दण्ड जरिवाना, सेवा-सुविधा, बढुवा लगायत विषयहरू समेटिएको छ ।

आचार्यका अनुसार नगर सभामा पेस भएको ऐन अब विधायन समितिमा दफावार छलफल भएर पेस हुनेछ । त्यसपछि नगर सभा सदस्यहरूले पास, फेलको निर्णय गर्छन् ।

शुक्रबार नगर सभामा सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक पेस भएको छ । यो विधेयक महानगरले पहिलो पटक ल्याएको हो ।

यस्तै नगर सभामा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, कर्मचारीको सेवा सर्त सम्बन्धी ऐन, २०७७ पेस भएको छ । आन्तरिक लेखा परीक्षण तथा सङ्गठन संरचनाको संक्षिप्त अध्ययन सम्बन्धी प्रस्ताव नीतिगत निर्णयका लागि पेस हुनेछन् । आजको नगर सभामा आर्थिक ऐन संशोधनका लागि पेस भएको छ ।

यस्तै महानगरपालिकाको राजस्व परामर्श समितिले आगामी ३ वर्षको आय पनि प्रक्षेपण गरेको छ ।

समितिको बैठकले नै आर्थिक वर्ष २०८०/०८१ का लागि सम्पत्ति करमा पुनरावलोकन गर्ने विषयमासमेत छलफल गरेको थियो ।

महानगरले गएको ७ वर्षदेखि सम्पत्ति करमा पुनरावलोकन गरेको छैन । काठमाडौँ महानगरपालिकाको राजस्व ऐन २०७५ को दफा ८ (१) मा हरेक २ वर्षमा कर पुनरावलोकन गर्न सकिने व्यवस्था छ ।

दुर्घटनास्थलको अवलोकन गर्न प्रधानमन्त्री र गृहमन्त्री पोखरा जादै

यति एयरको विमान दुर्घटना भएको दुर्घटनास्थलको अवलोकनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने पोखरा जान लागेका हुन्।

मन्त्रिपरिषद बैठक सकिए लगत्तै प्रधानमन्त्री र गृहमन्त्री पोखरा जान लागेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ। 

मन्त्रिपरिषदको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलस्थित कन्ट्रोल रुममा पुगेर विमान दुर्घटनापछिको उद्धारको अवस्थाको बारेमा जानकारी लिएका थिए।

काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज दुर्घटनामा दुर्घटनामा परेको छ। काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै दुर्घटनामा परेको हो।

विमान दुर्घटनाबारे उच्चस्तरीय छानबिन समिति गठन

काठमाडाै। सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

समितिका सदस्यहरूमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी एवं हवाईविज्ञ दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त क्याप्टेन एवं हवाईविज्ञ सुनील थापा र इन्जिनियर टेकराजजंग थापा तथा सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

समितिलाई दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा सुरक्षाका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन पेस गर्न ४५ दिनको समय  दिइएको बैठकपछि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

बैठकले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

माघ २ गते (शोक) सार्वजनिक बिदा

काठमडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले एक दिन शोक मनाउने निर्णय गरेको जानकारी दिए । दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

शोकपूर्ण घटनाका सन्दर्भमा माघ २ गते शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको हाे  । मन्त्रिपरिषद्को बैठकले उक्त घटनाको कारण जाँच गर्नका लागि पाँच सदस्यीय समिति पनि गठन गरेको छ ।