आजका सबै उडान स्थगित

काठमाडौं । आज यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने सम्पूर्ण उडान स्थगित भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए। विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए। विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए। 

प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए। जसमा ६२ जना वयष्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए।

पोखरामा भएको विमान दुर्घटनामा ७२ जना यात्रु नाम खुल्यो (नामसहित)

काठमाडौं,१ माघ । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो ।

सम्पति न्यूजकाे प्राप्त जानकारी अनुसार मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए । ‘जिवित उद्धार गर्न सकिन्छ कि भनेर हामीले प्रयास गर्यौँ । तर कसैलाई जिवित निकाल्न सकिएन ।’

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३६ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ ।

पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ। विमानमा सवार यात्रुहरुको नामावलीः

  • नेपाली यात्रु :
  • किसान आचार्य
  • निशान्त आचार्य
  • शालिगराम आचार्य
  • सडकात अलिमिया
  • पूर्ण बहादुर गुरुङ
  • जितेन्द्र बहादुर कुँवर
  • एलिना बन्ड्रो
  • अनिशा बानियाँ
  • स्लक भट्ट
  • निरा छन्त्याल
  • आशिमा गुरुङ
  • अनुशा गुरुङ
  • बेलमान गुरुङ
  • विजयकुमार गुरुङ
  • जीवनकला गुरुङ
  • माया गुरुङ
  • लक्कि गुरुङ
  • शिवकुमार गुरुङ
  • सिता गुरुङ
  • यमुना गुरुङ
  • यास्मिन गुरुङ
  • रविन हमाल
  • सन्जय जैसवाल
  • सोनु जैसवाल
  • रचना काफ्ले
  • सीता कुमारी खड्का
  • अनिल कुमार राजभार
  • भगवती कुँवर
  • अविशेक कुश्वाह
  • ओम माया गुरुङ
  • सुस्मा पाण्डे
  • हरि परियार
  • लक्ष्मी परियार
  • रिता परियार
  • अरुण पौडेल
  • लक्ष्मी पौडेल
  • प्रसिद्धि पौडेल
  • त्रिभुवन पौडेल
  • पोजन राना
  • सविना रायमाझी
  • राजन सापकोटा
  • अनिल शाही
  • संगिता शाही
  • जमुना शर्मा
  • विशाल शर्मा
  • युवराज शर्मा
  • मोहन श्रेष्ठ
  • डा। शोना दिवाकर
  • बन्दना सुनार
  • राजुसिंह ठकुरी
  • चुर्ण थापा
  • गणेश थापा
  • लवराज तिमिल्सिना

विदेशी यात्रु

  • मेरोल लभ
  • आयूरी ल्यागीन
  • भिक्टर ल्यागीन
  • जेनितसन्डरा पालाभेकिनो
  • भिक्टोरिया अतुनिना
  • इलिना बण्डुरो
  • रुअनकालुम क्रिघ्टोन
  • एलेक्जेण्डर आइरिडोरे

शिशुहरु:

  • कृष परियार
  • प्रसिद्धी पौडेल
  • आयुर्दि शर्मा
  • बेबी शर्मा
  • अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद्को बैठक आकस्मिक बोलाएका छन् । पोखरामा विमान दुर्घटना भएलगत्तै प्रधानमन्त्रीले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् ।

दुर्घटनाप्रति प्रचण्डले दु:ख व्यक्त गर्दै प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।

 देशभर आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं, १ माघ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ। माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ।

यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ। आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ।

तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ। यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा समेत प्रयोग गरिन्छ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ। महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए। आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ।

माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्त्व छ। स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ। यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ।

यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २२ गतेदेखि श्री स्वस्थानी व्रतकथा शुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन्। यसैले यसलाई माघस्नान पनि भनिन्छ।

माघे सङ्क्रान्तिका अवसरमा यस वर्षदेखि कृषि तथा पशु पंक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको जनाइएको छ।

नारायणी नदीमा चल्न थाल्यो पानी जहाज

चितवन । सञ्चालनको तयारीमा रहे पनि विभिन्न कारणले चल्न नसकेको क्रुज सीप (पानीजहाज) आजदेखि नारायणी नदीमा चल्ने भएको छ।

राइनो वाटर इन्टरटेनेमेन्ट प्रालिले एक विज्ञप्ति जारी गर्दै माघ १ गतेदेखि क्रुज सीप सञ्चालनमा आउन लागेको जानकारी दिएको हो ।

करिब २ वर्ष पहिले नै क्रुज सीपको परीक्षण गरिएको थियो। कोभिड महामारीका र केही नीतिगत व्यवधानका कारण क्रुज सीप सञ्चालनमा आउन सकेको थिएन। अहिले सबै प्रक्रिया पुरा गरेर क्रुज सीप सञ्चालनमा ल्याउन लागिएको कार्यकारी निर्देशक दीपक ढुङ्गेलले बताए ।

आइतबार दिउँसो १ बजे विशेष क्रुजिङको समय रहेकाले यही समयलाई साइत मानेर सञ्चालन गर्ने बताए, तीन तलाको क्रुज सीपमा १८० जना अट्ने छन्। यसको कुल क्षमता भने २०० रहेको छ।

यसमा यात्रा गर्ने सबै यात्रुहरूको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको छ। क्रुज सीपको टिकट दर सात सय रहेको छ। ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लन्च क्रुजिङ दुई हजार, डिनर क्रुजिङ दुई हजार पाँच सय रहेको छ।

भरतपुर महानगरपालिका– १६ मङ्गलपुर काभ्रे घाटबाट देवघाटसम्म सञ्चालनमा आउने भने पनि अहिले पानीको सतह कम भएकाले तत्काल छोटो दुरीमा सञ्चालनमा आउने जनाएको छ।

नदीले पानीको धार परिवर्तन गरेकाले छोटो दुरीमा मात्र सञ्चालनमा आउने भएको हो। सिपमा विवाह, पार्टी, कुनै कार्यक्रम गर्न मिल्ने गरी स्थान निर्माण गरिएको छ। जल पर्यटनलाई यस सिपले नयाँ टेवा पुग्ने राइनो वाटर इन्टरटेनेमेन्ट प्रालिले जनाएको छ।

नारायणगढको पुलचोकबाट करिब ९ किलोमिटर दक्षिणमा रहेको काभ्रे घाटमा सिपको स्टेसन रहेको छ।

काठमाडौंका लागि उडान भरेको विमान पोखरामा दुर्घटना

काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । 

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोँचमा विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल र एम्बुलेन्सलाई उच्च तयारीमा रहन निर्देशन दिएको जानकारी दिए । 

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

आजदेखि नेपाल एयरलाइन्सले इलाम-काठमाडौँ उडान गर्दै

काठमाडौँ । नेपाल एयरलाइन्सले एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलम्बा विमानस्थलमा आज पुनः उडान सञ्चालन हुने भएको हो।

इलाम नगरपालिका–९ मा रहेको यस फल्गुनन्द सुकिलम्बा विमानस्थलबाट गत वर्ष इलाम नगरपालिकाले तारा एयरसँग सम्झौता गरेर केही उडान गरेको थियो। तर सम्झौता सकिएसँगै उडानसमेत बन्द भएको छ।

विमानबाट इलाम–काठमाडौँ करिब एक घण्टामा एकोहोरो उडान गर्न सकिन्छ। आज करिब ८ बजे काठमाडौँबाट उडान गर्ने तालिका छ।

इलाममा करिब ९ बजे आउने र साढे नौ बजे काठमाडौँका लागि उड्ने तालिका निर्धारण भएको इलाम नगर प्रमुख केदार थापाले बताए। उनले उडानसँगै इलाममा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिएको बताए।

इलामबाट १९ सिट क्षमताको ट्विनअटर जहाज सञ्चालन हुनेछ। इलामबाट काठमाडौँको एकतर्फी भाडा रु ६ हजार ३ सय तोकिएको छ। काठमाडौँबाट इलामका लागि भने एकतर्फी भाडा रु ६ हजार ५ सय तोकिएको छ। तर ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई विशेष छुटको सुविधा उपलब्ध गरिएको नगरपालिकाले जनाएको छ।

एक उडानमा दुई जना ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ।

यात्रुले इलाम बजारस्थित सिटीमार्टको पहिलो तलाबाट टिकट लिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ। यो विमानस्थलबाट इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने अपेक्षा गरिएको छ।

पर्यटकीय क्षेत्र इलाम भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिकाले जनाएको छ। यस विमानस्थल ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको छ।

भुसाल एकीकृत समाजवादीमा प्रवेश

काठमाण्डाै‌ ।  नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज (नेकपा) एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । 

नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन् । 

गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीले भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । भुसालले एकीकृत समाजवादी पार्टीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

सन्दीप लामिछाने धरौटीमा रिहा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन्। उच्च अदालत पाटनले दिएको आदेशपछि २० लाख रुपैयाँ धरौटी बुझाएर उनी आज (शुक्रबार) काठमाडौँ जिल्ला अदालतबाट रिहा भएका छन्। 

उच्च अदालत पाटनले दिएको आदेश पालना गर्ने प्रतिबद्धतासहित उनलाई शुक्रबार दिउँसो थुनामुक्त गरिएको हो। उनले अबको कानुनी प्रक्रिया बाहिरबाटै लड्नेछन्।

सन्दीपलाई धरौटीमा छोड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टीका–टिप्पणी गर्न पनि निषेध गरेको छ। 

सन्दीप थुनामुक्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनका वकिल सरोजकृष्ण घिमिरेले सन्दीपको अनुपस्थितिमा नेपालको क्रिकेट धराशायी भएको अवस्थालाई मध्यनजर गरी क्यानले पुनः सन्दीपलाई कप्तानी दिनेमा विश्वस्त रहेको बताए।

बिहीबार न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौँको आदेश बदर गर्दै धरौटीमा छोड्न आदेश दिएको थियो।

सरकारले गरे १६ जना उपसचिवको सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका झनक कुमार खत्रीलाई रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगका कपिल प्रसाद उपाध्याय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भुवन पाण्डे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाएको छ भने सोही मन्त्रालयका पोषणराज भण्डारीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बुटवल पठाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उमाकान्त अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका थानेश्वर भूसालााई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौडा सरुवा गरिएको छ । 

यस्तै गुलरिया नगरपालिका बर्दियामा कार्यरत सुरेश सुनारलाई गृह मन्त्रालय, निजगढ नगरपालिका बारका सुमन धितालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका भिम प्रसाद भट्टराईलाई गृह मन्त्रालय, अर्थ मन्त्रालयका इन्द्रदेव पाण्डेलाई जिल्ला समन्वय समिति मुस्ताङ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का अनुप न्यौपानेलाई गृह मन्त्रालय पठाएको छ भने सामान्यकै हिरा गोपाल महर्जन र मनीश कुमार सिंहलाई क्रमशः अर्थ र राष्ट्रिय किताब खाना सरुवा गरेको छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जितेन्द्र प्रसाद शर्मालाई खानेपानी मन्त्रालय, चौरजहारी नगरपालिका रुकुम (पश्चिम)मा कार्यरत गोकुल ढुङ्गेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निरोज दाहाललाई सहरी विकाश मन्त्रालयमा सरुवा गरिएको छ । 

नेप्सेमा उच्च अंककाे गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहारो अंकले घटेको छ । निरन्तर रुपमा बढेको शेयर बजारमा मंगलबारदेखि गिरावट आएको हो । 

आज नेप्से ४१.०२ अंकले घटेर दुई हजार एक सय ४९ दशमलब ४१ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २१.३५ अंकले घटेर दुई हजार ९० दशमलब ४५ विन्दुमा बन्द भएको थियो  ।

त्यस्तै, आज शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट छ । आज ५ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा सात अर्ब ६५ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

बाणिज्य बैंक, होटल र उत्पादन मुलुक समूहका कारण पुँजी बजारमा सामान्य गिरावट आएको छ । यी तीन समूहमध्ये बाणिज्य बैंक समूहले बजारमा ठूलो हिस्सा ओगट्छ ।

आज कारोबार भएका कम्पनीमध्ये २१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्य उच्च अंकले बढेको छ । जसमा कुमारी धनवृद्धि योजना, सिंगटी हाइड्रो इनर्जी, बाराही हाइड्रोपावर र एनआइबीइल समृद्धि फण्ड–२ रहेका छन् 

आज गुँरास लघुवित्त व्त्तिीय संस्थाको शेयरमूल्यमा सामान्य गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यसको आज २२ करोड २० लाखभन्दा बढीको कारोबार भएको छ ।                                

आदेश होइन कानुनको पालना गर्नु: गृहमन्त्री लामिछाने

चितवन । आज भरतपुर विमानस्थलको पार्किङ स्थलमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पत्रकारहरूसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।

सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु’, उनले भने, ‘कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु ।’ उनले जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्नुहोस् भनी सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जानकारी दिए ।

उनले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्नु समेत निर्देशन दिएको स्पष्ट पारे । ‘अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पुर्‍याउने वा मेरो मान्छे छोडिदेउ जस्ता कुरा नसुन्नुहोस्, त्यसरी दबाब दिएको प्रमाण ल्याएमा त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छु’, उनले भने ।

उनले आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन् बढी निर्मम भएर काम गर्न निर्देशन दिएको उनको भनाइ छ । नेपाल प्रहरीलाई बलियो बनाउन र प्रहरी सङ्गठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्नका निमित्त काम आफूले गरिरहेको बताए । यसका लागि योजना बनाइरहेको उनले जानकारी दिए ।

उनले सरकारले छिट्टै पूर्णता पाउने भन्दै आफ्नो पार्टीले विज्ञताका आधारमा सरकारमा सहभागी हुने स्पष्ट पारे । सबै निकायसँग समन्वय गरेर मुलुकको विकासका काम गरिने उनको भनाइ छ ।

देशभर बन्द भएका अवैध क्रसर उद्योग सञ्चालनका विषयमा सचिव स्तरीय छलफल भइरहेको भन्दै उनले कानुनको पालना गर्ने विषयमा आफू कटिबद्ध रहेको स्पष्ट पारे ।

आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज अरु देशको डलरको मूल्य भने घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ २३ पैसा र बिक्री दर १३० रूपैयाँ ८३ पैसा तथा युरो एकको खरिद दर १३९ रूपैयाँ ९२ पैसा र बिक्री दर १४० रूपैयाँ ५६ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ० पैसा र बिक्री दर १५८ रूपैयाँ ७२ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४१ रुपैयाँ १७ पैसा र बिक्री दर १४१ रुपैयाँ ४२ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९० रुपैयाँ १ पैसा र बिक्री दर ९० रुपैयाँ ४२ पैसा रहेको छ ।

पुस २८ गते बिहीबार, यस्तो छ तपाईंकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । नयाँ तथा शुभ समाचार सुन्न पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मानसिक चिन्ता बढ्न सक्छ । गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ, तर साँझमा शुभ समाचार पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लगनशीलताले कामहरू सहजै अगाडि बढ्ने छन् । चिताएको कामले तीव्रता लिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन पनि लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने छ । विश्वास गरेकाले साथ दिनेछन् । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । चिताएको काम रोकिन सक्छ । हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा लिन सक्छन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चिताएको कामले तीव्रता लिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । शुभ समाचार पनि सुन्नमा आउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्नसक्छ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । अधुरा कार्यहरू पुरा हुन सक्छन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनमा चिन्ता र दुबिधा उत्पन्न पनि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज स्वादिष्ट भोजन पाइनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित रहने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

आज सत्ता गठबन्धनको बैठक बस्दै, को को वन्दै छन नयाँ मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् ।

तर, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागवण्डा टुंगिएको छैन । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुंगो लगाउने तयारी गरेको छ ।

प्रधानमन्त्री दाहालले सत्ता साझेदार ७ दलबाटै मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका छन्। उनले बालकोट पुगेर बुधबार साँझ सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै मन्त्रिपरिषद विस्तारलगायतका विषयमा कुराकानी गरेका थिए।

पुस १० मा प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस ११ गते शपथ लिएका थिए। त्यसबेला ८ जना मन्त्री बनाए पनि केही मन्त्रीको जिम्मेवारी तोकिएको छैन। माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, एमालेका विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र  पार्टीका रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उपप्रधानमन्त्री माग गरिरहेका छन्। राप्रपाले उपप्रधानसहित ४ मन्त्रालय दाबी गरेको छ।

अहिले विष्णु पौडेल अर्थमन्त्री, नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री र रवि लामिछाने गृहमन्त्री छन्। सरकारले न्यूनतम साझा कार्यक्रमसमेत ल्याइसकेको र प्रधानमन्त्रीले विश्वासको मतसमेत लिइसकेकोले अब छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने गरी प्रधानमन्त्रीले छलफललाई तीव्रता दिएका छन्।

‘मन्त्रिपरिषद विस्तारबारे उहाँले सत्ता साझेदार दलका नेताहरूसँग छलफल गर्नुहुन्छ’ प्रधानमन्त्रीनिकट स्रोत भन्छ–‘सत्ता साझेदार दलको बैठक पनि बस्छ। छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ।’

कुन दलबाट को को मन्त्री वन्दैछन् भन्ने अहिले टुङ्गो लागेको छैन। तर, सवै सत्ता साझेदार दलले मन्त्री वन्नेहरुको नामावली तयार गरिरहेको जनाईएको छ।