लोक सेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

काठमाडौँ । लोक सेवा आयोगले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सहरका पदहरूका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।

सूचना हेर्नुहोस्  :

सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पूँजीको १० प्रतिशत अथार्त २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न छुट्याएको थियो। सोमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुको बाँडफाँट गरिएको छ। त्यसका साथै ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी १७ लाख ४३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा लगानीकर्ताले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ २३ गतेसम्म लम्बिनेछ। सो शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सकिनेछ।

यस कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग हुने गरी ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यस आयोजनाको अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १८ करोड ९७ लाख ७२ हजार रुपैयाँ रहेको छ। कम्पनीले २०७८ जेठ २८ गतेदेखि व्यवसासिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको थियो।

नेपाल टेलिकमले ल्यायाे विन्टर अफर

नेपाल टेलिकमले भोलि (२०७९ पुस २८ गते) देखि लागु हुनेगरी विन्टर अफर २०७९ (Winter Offer 2079) उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफर (Autumn Offer) लाई ग्राहकहरुको रुची अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो ।

विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको छ । यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई रु. १९९ देखि रु. ६९९ सम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याकहरु उपलब्ध छन् । यस अफर अन्तर्गत जम्मा रु. ६९९ मा २८ दिनका लागि कुल २८ जिबी डाटा (दैनिक १ जिबी), दैनिक १ सय मिनेट कुराकानी गर्ने र दैनिक १ सयवटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ । यसैगरी रु. ४९९ मा २८ दिनका लागि कुल १९,६०० एमबी डाटा (दैनिक ७०० एमबी), दैनिक ७० मिनेटको भ्वाइस प्याक र ७० वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा रु. ३४९ मा उपलब्ध अर्को प्याक खरिद गर्दा २८ दिनका लागि कुल १४ जीबी डाटा (दैनिक ५०० एमबी), दैनिक ५० मिनेटको कुराकानी गर्ने र ५० वटै सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ । जम्मा रु. १९९ मा २८ दिनका लागि कुल ४२०० एमबी डाटा (दैनिक १५० एमबी), दैनिक १५ मिनेट कुराकानी गर्ने र १५ वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यस अफर अन्तर्गतका रु. १९९ देखि रु. ६९९ सम्मका कुराकानी गर्ने र सन्देश पठाउन सकिने प्याकहरु सबै नेटवर्कका लागि उपलब्ध छन् ।

स्टे कनेक्टेड अफर अन्तर्गत यसअघि उपलब्ध प्याकलाई ग्राहकको चाहना बमोजिम थप सुलभ दरमा ल्याइएको छ । जम्मा रु. १३० मा ५ दिनका लागि २ जिबी सबै नेटवर्कमा र ४ जिबी फोरजी नेटवर्कमा प्रयोग गर्न सक्नेगरी जम्मा ६ जिबी डाटा सुविधा र १ सय ५० मिनेट सबै नेटवर्कमा कुरा गर्न सकिने प्याक उपलब्ध गरिएको छ । रु. १०० र रु. २०० का स्टे कनेक्टेड अफरहरु निरन्तर प्रयोग गर्न सकिनेछ ।

यसैगरी एफटीटीएच सेवामा वार्षिक ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहित आइपिटिभी र भ्वाइस सेवाको ट्रिपल प्ले प्याक थप सुलभ दरमा उपलब्ध गराइएको छ । अब ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहितको ट्रिपल प्ले प्याक नवीकरण गर्दा क्रमशः जम्मा १६ हजार ६ सय ८२.६४ रुपैयामा र २१ हजार ५ सय ४१.५४ रुपैयाँ मात्र लाग्दछ । एफटीटीएच सेवामा उपलब्ध गराइएका यसअघिका अरु सबै प्याकलाई निरन्तरता दिइएको छ ।

तीन दिनभित्र विदेशी कामदारको एप्रुभल दिने मलेसियाको तयारी

क्वालालम्पुर : मलेसियाले तीन दिनभित्र विदेशी कामदारको एप्रुभल दिने तयारी गरेको छ । १५ देशका विदेशी कामदार लिँदै आएको मलेसियामा विदेशी कामदारको एप्रुभलमा भएको ढिलाइले अर्थतन्त्रमा समस्या सिर्जना गर्न सक्ने निजी क्षेत्रको चेतावनीपछि सरकारले सकेसम्म छिटो एप्रुभल दिने व्यवस्था गरेको हो । 

मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुशन इस्माइलले वैदेशिक कामदार भर्नाको छुट योजना सात क्षेत्रमा सीमित गरेर आवेदन दिने रोजगारदाताले तीन दिनभित्र आफ्नो आवेदन स्वीकृत गराउन सक्ने व्यवस्था गरिएको बताएका छन् ।

योजनाले रोजगारदाताहरुको आवश्यकता र क्षमताको आधारमा पूर्व–शर्त र कोटा प्रणालीमा नगई श्रोत मुलुकका विदेशी कामदारहरुको प्रवेश स्वीकृत गर्न सजिलो बनाएको र नयाँ व्यवस्था तुरुन्तै लागू हुने पनि गृहमन्त्री इस्माइलले बताए । 

मलेसियाले नेपालसहित बंगलादेश, कम्बोडिया, भारत, इन्डोनेसिया, काजाकिस्तान, लाओस, म्यानमार, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड, तुर्कमेनिस्तान, उज्वेकिस्तान र भियतनामलाई श्रोत मुलुकमा राखेको  छ । 

स्वीकृत सात क्षेत्रमा औद्योगिक, निर्माण, वृक्षरोपण, कृषि, सेवा, घरेलु कामदार, खानी र उत्खनन् क्षेत्र छन् । मलेसियाको पाम आयल उद्योगमा तत्काल २ लाख विदेशी कामदारको अभाव देखिएको छ ।  

दादुराको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ ।

नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो ।

खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि १५ महिनासम्मका आफ्ना बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गरे। दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विज्ञको भनाइ छ ।

मिजल्स भाइरसका कारणबाट सर्ने दादुराले नेपालगञ्ज उपमहानगरपालिकामा सङ्क्रमण फैलिएको छ । नेपालगञ्जमा ९० जनालाई दादुरा पुष्टि भइसकेको छ भने एक जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । सरकारले दादुरा देखिएको क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ । खोप अभियान सुरु भएको ठाउँमा अहिलेसम्म तीन हजार बालबालिकालाई खोप लगाइएको छ ।

घट्यो सुनको मूल्य

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला ९३ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

घरायसी विवादमा श्रीमतीको हत्या

 झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् ।

गएराति घरायसी विवादमा विश्वराजले श्रीमती प्रमिलालाई पेट र छातीमा लात्ती प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले विश्वराजलाई राति नै नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए ।

आज पृथ्वी जयन्ती, सार्वजनिक बिदा

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सत्ता साझेदार दल राप्रपाले पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो । पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई उसले प्रमुख सर्तका रूपमै अघि सारेको थियो । सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसको स्वागत गरेको छ ।

विगतमा उक्त दिनमा बिदा दिने गरिए पनि दोस्रो जनआन्दोलनपछिका सरकारले सो बिदा कटौती गरेको थियो ।

यातायात कार्यालय प्रमुखलाई आठ महिना कैदको फैसला

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल तथा राजस्व चुहावट मुद्दामा विशेष अदालतले यातायात कार्यालय, एकान्तकुनाका सवारीचालक अनुमतिपत्र कार्यालयका तत्कालीन प्रमुख आनन्दकेशरी पोखरेललाई आठ महिना कैद र नौ हजार जरिवानाको फैसला सुनाएको छ । उनले लाइसेन्सको ट्रायलमा फेल भएका तथा अनुपस्थित रहेकाहरूलाई पास गराएको, फेल भएको तीन महिना नपुग्दै पुनः ट्रायलमा समावेश गराएको तथा नयाँ लाइसेन्स बाँड्दा सरकारी राजस्व रकम नलिएको अभियोग लगाउँदै अख्तियारले तीन वर्षअघि मुद्दा चलाएको थियो । उनीसहित ३८ आरोपीमध्ये सातजनालाई दोषी ठहर गर्दै अदालतले ३१ जनालाई भने सफाइ दिएको छ ।

विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार राजस्व चुहावट मुद्दामा पोखरेललाई दोषी ठहर गरिएको हो । त्यस्तै, ट्राफिक प्रहरीका डिएसपी नवराज थापा र इन्स्पेक्टर मुरारी मिश्रलाई ६ महिना कैद र आठ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ । अवकाश पाइसकेका इन्जिनियर वासुदेव पोखरेललाई पनि सोही सजाय सुनाइएको विशेषले जनाएको छ । अर्का अवकाशप्राप्त शाखा अधिकृत राममणि पोखरेलका साथै शाखा अधिकृतहरू शम्भुप्रसाद थपलिया र ईश्वरराज रेग्मीलाई चार–चार महिना कैद र जनही ६ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । राजस्व चुहावट गरी राज्यलाई नोक्सान पु¥याएको तथा भ्रष्टाचार गरेको भन्दै सबैविरुद्ध विशेषमा ८ मंसिर ०७६ मा मुद्दा दायर भएको थियो । 

कार्यालय प्रमुख पोखरेलले आठ लाख ५९ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । ०६९ वैशाखदेखि असारसम्म ट्रायलमा फेल भएका एक हजार दुई सयजनाको नतिजामा फेरबदल गरिएको थियो । नयाँ लाइसेन्स लिनेहरूको अभिलेख नष्ट गरेको, परीक्षा समितिले फेल भनेर निर्णय गरेकालाई पनि पास देखाई लाइसेन्स वितरण गरेको, उपस्थित नै नभएकाको नाममा पनि लाइसेन्स जारी गरेकोजस्ता अभियोग अख्तियारको थियो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले यो मुद्दाका साथै परीक्षाको परिणाम फेरबदल गरेको मुद्दाको सुनुवाइ एकसाथ थालेका थिए । १८ पुसदेखि हेर्दाहेर्दैमा रहेका दुई मुद्दामध्ये एउटामा ठहर र अर्कोमा आंशिक ठहरको फैसला भएको हो । 

परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा पनि कार्यालय प्रमुख पोखरेल दोषी ठहर भएका छन् । उनलाई यस आरोपमा ६ महिना कैद र सात हजार रुपैयाँ जरिवाना तोकिएको छ । 

त्यस्तै, परीक्षाको परिणाममा फेरबदल गरेको कसुर ठहर गर्दै तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक रवीन्द्र श्रेष्ठलाई पाँच महिना कैद र ६ हजार रुपैयाँ जरिवानाको सजाय भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो मुद्दा ११ पुस ०७६ मा दर्ता गराएको थियो । यातायात व्यवस्था कार्यालय बुटवलमा परीक्षाको परिणाममा फेरबदल गरी पोखरेल र श्रेष्ठले मिलेमतोमा ७१ जनालाई उत्तीर्ण गराएको र लाइसेन्स दिएको आरोप थियो । 

लोक सेवा आयोग सुदूरपश्चिमले माग्यो कर्मचारी

काठमाडौँ । प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम लोक सेवा आयोगले निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौँ तहका विभिन्न सेवा समूहका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

सुदूरपश्चिम प्रदेश र अन्तर्गत निकाय र कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था बमोजिम सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।

योग्यता पुगेका उम्मेदवारहरूले माघ १७ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको प्राथमिकता क्रमानुसार नियुक्तिका लागि सम्बन्धित प्रदेश मन्त्रालय र स्थानीय तहमा सिफारिस गरिने आयोगले जनाएको छ ।

आज २१.३४ अंकले घट्यो शेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन बजारमा तिव्र उतार चढाव देखिएको छ । बजार २२७७.४२ अंकको माथिल्लो विन्दुसम्म पुगेको परिसूचक २१७९.६४ अंकसम्म ओर्लिए फेरि २१९०. ४२ अंकमा पुगेर बन्द भएको छ ।   

शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३४ अंकले घटेर दुई हजार एक सय ९० दशमलव ४३ विन्दुमा झरेको छ । त्यस्तै, आज सात अर्ब ६५ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 
 
नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । तारागाउ रेजेन्सी होटलको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी न्यग्द्री ग्रुपको  भएको छ । यसको आज २२ करोड २१ लाखभन्दा बढीको कारोबार भएको छ । 

 नियमविपरीत गए काठमाडौँ महानगरले कारबाही गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्रका सडक पेटी फुटपाथ तथा अन्य सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्नरगराउन निषेध गरिएको छ । आज एक सूचना जारी गर्दै महानगरभित्र फुटपाथ व्यापार निषेध गरिएको जनाएको हो । महानगरको सूचना विपरीत कसैले फुटपाथ अतिक्रमण गरी व्यापार गरे हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ ।

‘जोसुकैले काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सडक पेटी फुटपाथ वा अन्य सार्वजनिक स्थलमा जुनसुकै तरिकाले व्यापार व्यवसाय गरेमा वा फुटपाथलाई अनधिकृत रूपमा प्रयोग वा कब्जा गरेमा त्यस्तो मालसामान, अनुचित प्रयोग वा व्यापार प्रयोजनार्थ राखिएको अन्य संरचना, अन्य सामग्री वा मालसामान जफत गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ र ९७, फोहर मैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ र काठमाडौँ महानगरपालिकाको विषय सम्बद्ध कानुन बमोजिम हदैसम्मको सजाय गरिनेछ,’ महानगरद्वारा सूचनामा भनिएको छ ।

गृहको निर्देशनपछि ७३७ क्रसर उद्योग बन्द

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि अवैध रूपमा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार व्यावसायिक प्रयोजन राखेर सञ्चालित ७ सय ३७ वटा क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका हुन् ।

प्रक्रिया पुरा गरेर दर्ता भएको तर, नवीकरण नभएको क्रसर र बालुवा उद्योगको संख्या १४३ छन्  । व्यावसायिक प्रयोजनमा सञ्चालित त्यस्ता उद्योग नवीकरण प्रक्रियामा रहेको बताइएको छ ।

दर्ता र नवीकरणसहित व्यावसायिक प्रयोजनमा देशभर ७ सय ३४ वटा क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेको पाइएको छ । विकास आयोजनाहरूले दर्ता र नवीकरण गरेर १०८ वटा त्यस्ता उद्योग सञ्चालन गरेको भेटिएको छ ।

 गृह मन्त्रालयका अनुसार अहिले देशभर वैधानिक रूपमा ८४२ क्रसर र बालुवा उद्योग सञ्चालनमा छन् ।

 संविधान रक्षा गर्न समर्थन गर्छौँ: देउवा

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा धारणा राख्दै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रचण्डले राखेको विश्वासको मतको पक्षमा आफ्नो धारणा व्यक्त गरेका हुन् । 

संविधानको रक्षाका लागि प्रचण्डलाई विश्वासको मत दिनुपरेको देउवाको भनाइ छ । उनले भने, ‘संविधानको रक्षाका लागि खरो रूपमा उभिने चुनौती हाम्रोसामु आएको छ । वर्तमान प्रधानमन्त्रीका लागि यो पनि परीक्षाको घडी हो । प्रधानमन्त्री प्रचण्ड संविधानको पक्षमा उभिनुहुनेछ भन्ने विश्वासका साथ तत्कालका लागि प्रस्तावको पक्षमा नेपाली कांग्रेसले मतदान गर्नेछ ।’ 

देउवाले प्रतिनिधिसभाको हिजोको बैठकमा एमाले संसदीय दलका नेताको रूपमा केपी ओलीले सम्बोधन गर्दै आफूले हिजो गरेको प्रतिनिधिसभा भंग गरेको निर्णयको बचाउको विरोध गरे । सो धारणाभित्र संसद् पुनः विघटन गर्न सकिने कुरा लुकेको उनले तर्क गरे । 

चाहिएका वेला किसानले मल नपाउने समस्या समाधान गर्ने

काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाहिएका वेला किसानले मल नपाउने समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब चक्रीय प्रणालीअनुसार चाहिएका वेला मल आपूर्ति हुने गरी व्यवस्थापन गरिने बताए । 

उनले मल कारखाना स्थापना पनि वर्तमान सरकारको प्रमुख लक्ष्य हुने बताए ।