प्रतिपक्षविहीन बन्यो संसद

काठमाडौँ । प्रचण्ड सरकारको विपक्षमा अब संसदमा राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी मात्र उभिने भएका छन्।

एक-एक सांसद भएका यी दुई दलले प्रचण्डको विपक्षमा मतदान गर्ने भए पनि उनीहरूले संसदमा प्रतिपक्षीको हैसियत भने पाउने छैनन्।

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेसँगै संसद प्रतिपक्षविहीन हुने भएको छ।

संसदमा प्रतिपक्षी दल हुन कुल सदस्य संख्याको दश प्रतिशत सांसद हुनु पर्ने व्यवस्था संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा छ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने काँग्रेसको निर्णय छ। अर्थात् काँग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने छैन। राजनीतिक र नैतिक रूपमा भने काँग्रेस प्रतिपक्षी दल हुँदैन।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन नगरेका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीले पनि प्रचण्ड सरकारलाई समर्थन गर्ने बताइसकेका छन्।

राजनीतिक दलहरू मात्र होइन स्वतन्त्र रूपमा जितेका सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहले पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका छन्।

विश्वासको मत लिन संसद् बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आजै बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक नेपाली कांग्रेसको अनुरोधमा सारिएको हो । आज उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने एउटा मात्र कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी । इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मङ्गलबार ७.७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी)ले जनाएको छ ।

भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको पनि सो निकायले जनाएको छ । भूकम्पले पु–याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए । प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।

उनको पक्षमा १६९ मत छ । तर, विश्वासको मतका लागि न्यूनतम १३८ मत चाहिन्छ ।

प्रतिनिधिसभाको पहिलो बैठक

काठमाडौं । आज संघीय संसद् अधिवेशनअन्तर्गत सोमबार प्रतिनिधिसभाको बैठक बसेको हो । प्रधानमन्त्री प्रचण्डले भोलि मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् ।

आजैको बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न अध्यक्ष मण्डलको मनोयन गरेका छन् । पहिलो बैठकमा सभामुखको भूमिकामा रहेका संसदका ज्येष्ठ सदस्य पशुपति सम्शेर राणाले राष्ट्रपतिको अधिवेशन आह्वानको पत्र पढेर सुनाएपछि बैठक सुरु भएको थियो । त्यस्तै, उनले प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए ।

नेकपा एमाले र माओवादी केन्द्रलगायत सात दलीय गठबन्धन सरकार बनेपछि बसेको आज बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिन एक दिन अगाडि प्रतिनिधिसभा बैठक बसेको हो ।

गठबन्धन राष्ट्रहितको पक्षमा उभिने छ: ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन राष्ट्रहितको पक्षमा उभिने दाबी गरेका छन् ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताको निम्ति अहिलेको गठबन्धन र सरकार उभिने दाबी गरेका हुन् ।

जनताको दुःख कष्ट हेर्नका लागि प्रचण्ड नेतृत्वको सरकार बनेको भन्दै उनले शीतलहरबाट जनताको ज्यान गइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

नेप्सेले दियो वृद्धिलाई निरन्तरता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार ४६.७६ अंकले बढेर दुई हजार दुई सय ११ दशमलब ३८ विन्दुमा बन्द भएको छ । आज पाँच अर्ब ३१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंक बढेको छ।

नेप्सेका अनुसार आज कारोबार भएका आठ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । जसमा बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमालय उर्जा विकास कम्पनी, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, खप्तड लघुवित्त वित्तीय संस्था रहेका छन् । 

त्यस्तै, आठ कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशत भनदा बढीले बढेको छ । जसमा राधी विद्युत कम्पनी, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड, पिपुल्स हाइड्रोपावर,  हिमालयन पावर पार्टनर, पञ्चकन्यामाइ हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, कुमारी धनवृद्धि योजना र घलेम्दी हाइड्रोपावर रहेका छन् । 

जुनसुकै भ्रष्ट्राचारको घटनाविरुद्ध निर्मम भएर लाग्नेछौँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले कुनै पनि बेलामा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले भ्रष्ट्राचार छानबिनमा सरकार कटिबद्ध रहेको बताए ।

उपप्रधानमन्त्री लामिछानेले संसदले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्ने बताए ।

यसअघि भएका भ्रष्ट्राचारका घटनाको छानबिनमा पनि संसद क्रियाशील हुनुपर्ने उनले बताए । उनले भ्रष्ट्राचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाब र प्रभाव पार्न नहुने बताए । ‘कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाब नदिनुहोला’ उनले भने ।

विधिको शासन पालना गराउन सबैले सहयोग गर्नुपर्ने भन्दै लामिछानेले आफ्नो दलका नेता र सांसद अनियमिततामा सहभागी नहुने र नागरिकलाई दुख नदिने बताए । ‘मुलुक र मुलुकवासीका लागि हिजो गरेका वाचा पूरा गर्न तयार भएका छौँ’ उनले भने, ‘हाम्रो सांसदहरूको सांसदका कारण शिर झुकाउनुपर्ने छैन ।

आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा दश रुपैयाँले बढेको हो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीकाे मूल्य प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित

काठमाडौं । नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक भएको हो ।

सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्ष अघि फुकुवा भएको थियो । त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ । पास भएकाहरुलाई ३५ दिनभित्र संस्थानको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा सम्पर्क राख्न भनिएको छ ।

इन्धनको मूल्य घटायो: ‘नेपाल आयल निगम’

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो। पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ कायम भएको छ।

यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर घटेको निगमले जनाएको छ ।

पुस २५ गते सोमबार, यस्ताे छ तपाईंकाे राशिफल

मेष : प्रशन्नता मिल्नेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्र अब्बल रहनेछन्। प्रेममा सफलता मिल्नेछ।

वृष : बोल्दा ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। पठनपाठनमा जोश जागर बढ्नेछ। प्रेममा धोका पाइनेछ।

मिथुन : विजय प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ। प्रेममा गढबढ हुनेछ।

कर्कट : हर्ष बढ्नेछ। आकस्मिक लाभ मिल्नेछ। रोगबाट मुक्ति पाउने योग छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। प्रेममा सफलता मिल्नेछ।

सिंह : स्वास्थ्यमा सुधार हुनेछ। खुसी मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। प्रेममा सफलता मिल्नेछ।

कन्या : आज सुरु गरेको काममा सफलता मिल्नेछ। अध्ययन अध्यापनमा राम्रो नतिजा प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ।

तुला : आयआर्जन बढ्नेछ। मनमा खुसी मिल्नेछ। आज सबै क्षेत्र यथास्थितीमा रहनेछ। सामाजिक क्षेत्रमा भने मानसम्मान मिल्ने योग रहेको छ।

वृश्चिक : कर्म क्षेत्र अब्बल रहनेछ। रोगबाट मुक्त हुने सम्भावना छ। हनुमानलाई स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ।

धनु : बोलीको प्रभावले साथीभाइ रिझाउन सक्नुहुनेछ। मानसम्मान बढ्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। प्रेममा सफलता प्राप्त हुनेछ।

मकर : सोचेर मात्र बोल्नुपर्नेछ। दैनिकी आनन्दमय चल्नेछ। भूमीसम्बन्धी काम गर्ने हो भने सोचेभन्दा राम्रो उन्नती हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

कुम्भ : इष्टमित्रसँगको भेटले मन प्रशन्न हुनेछ। आफन्तबाट ठूलो सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। प्रेममा बाह्य हस्तक्षेप बढ्नेछ।

मीन : आफन्तको सहयोग मिल्नेछ। अन्य क्षेत्र सामान्य रहेपनि व्यापार व्यवसायमा गरेको लगानीबाट उन्नती हुनेछ।

विश्वासको मत फकाउन पार्टी एकताको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत फकाउनका लागि नेकपा एकीकृत समजवादी र जसपासँग पार्टी एकताको प्रस्ताव अघि सार्नुभएको छ । संसद्को पहिलो दलबाहेकका सात दलसँगको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिनुअघि नै पार्टी एकताको प्रस्ताव अघि सार्नुभएको हो ।

प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग यस्तो प्रस्ताव राखेको नेताहरूले बताएका छन् । प्रचण्डको उक्त प्रस्तावपछि आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेपाल र यादव सिंहदरबार पुग्नुभएको थियो । प्रधानमन्त्रीले मंगलबार विश्वासको मत लिने भएपछि उहाँले बृहत् वामपन्थी एकताको नारा दिएर विश्वासको मत लिने प्रयासमा रहनुभएको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए ।

सरकारमा सहभागी दलहरूबाटै विश्वासको संकट देखेपछि दाहालले सत्ता गठबन्धनभन्दा बाहिर रहेका दलहरूलाई विभिन्न आश्वासन देखाएर संसद्बाट विश्वासको मत फुत्काउने प्रयास गरिरहनुभएको छ । प्रचण्डसँग रिसाएका माधव नेपालले आइतबार बिहान प्रचण्डसँग तेस्रो भेट गर्नुभएको छ । शुरूमा कांग्रेससँग गठबन्धन तोड्नैपर्ने स्थिति आए एमाले अध्यक्ष केपी ओलीसँग सँगै गएर कुराकानी गर्ने प्रचण्ड र नेपालको बीचमा समझदारीलाई प्रचण्डले उल्लंघन गरेको भन्दै आपत्ति जनाउनुभएको थियो ।

नेपालले प्रधानमन्त्रीसँग पहिलोपटक प्रचण्डका भान्जा गोकुल भण्डारीको हात्तीवनस्थित निवासमा र दोस्रोपटक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्नुभएको थियो । त्यसपछि आइतबार माओवादी दलको कार्यालयमा नेपाल–दाहालबीच तेस्रो भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्रीले माधव नेपालसँग विश्वासको मत दिन र सरकारमा समेत सहभागी हुन आग्रह गर्नुभएको माधव नेपालको सचिवालयले जनाएको छ । दाहालले आइतबार शुरूमा माधव नेपाल र त्यसपछि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि सँगै भेट गर्नुभएको हो । विश्वासको मत लिनेबारेमा नै छलफल भएको र दुई नेताहरू सकारात्मक रहेको नेताहरूले बताएका छन् ।
पार्टी अध्यक्ष नेपाललाई प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिन पटकपटक आग्रह गर्नुभएको छ । तर, हामीले के गर्ने भन्ने निर्णय गरिसकेका छेनौं । यस विषयमा निर्णय लिन अझै २ दिन बाँकी नै छ । राजनीतिकले कस्तो कोर्ष लिन्छ त्यही अनुसार निर्णय गर्छौं ।’माओवादीसँगको एकताभन्दा अघि नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच एकता गर्ने गरी पत्र पठाएकोे नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

नेकपा माओवादीले वाम एकताको प्रयासलाई सफल बनाउन पार्टीका नेताहरूसमेत लागिपरेको नेताहरूले बताएका छन् । ‘प्रधानमन्त्री प्रचण्डले नेकपा एस र जसपालाई सरकारमा ल्याउने प्रयास गरिरहनुभएको छ,’ माओवादीका एक नेताले भने–‘त्यसका लागि आवश्यक परे पार्टी एकता गर्नुपरे पनि पछि नहट्ने बताउनुभएको छ ।’ त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिने बारेमा छलफल चलिरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेससँगको पुरानो गठबन्धन तोडेर एमालेसँग मिल्न पुगेका दाहालप्रति कांग्रेस आक्राोशित बनेको छ । २६ गते विश्वासको मत दिने भन्नुभएका प्रधानमन्त्री दाहाललाई कांग्रेसले मत नदिने प्रष्ट पारिसकेको छ । कांग्रेसले मत नदिने मात्रै होइन प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका दलहरूको मतसमेत घटाउने प्रयासमा लागेको सत्ता गठबन्धनले अनुमान गरेको छ । सत्ता गठबन्धनका मुख्य खेलाडीका रूपमा रहेका नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले कांग्रेस यो सरकार ढाल्न प्रयत्नमा रहेको आरोप लगाउनुभएको छ ।

अहिलेको सरकारलाई जसपाले सरकारलाई समर्थन गरिसकेको छ भने नेकपा एस अझै पर्ख र हेरको अवस्थामा रहेको तर विश्वासको मत दिने पक्षमा रहेको छ । आइतबारको भेटमा प्रधानमन्त्री प्रचण्डले दुई नेतालाई आफूलाई विश्वासको मत दिन आग्रह गरेका गर्नुका साथै पार्टी एकताबारे पनि छलफल गरेको स्रोतको दाबी छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र प्रधानमन्त्री प्रचण्डबीच पार्टी एकता गर्ने विषयमा शनिबार नै सहमति भइसकेको छ ।

उता लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतनदिने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । आइतबार बसेको कार्यकारिणी समितिले ठाकुरलाई अधिकार दिएको हो । पुस २६ मा विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले समय लिनुभएको छ । सोही दिनसम्म साना दलहरूलाई स्थिर राख्न र आफ्नो पक्षमा विश्वासको मत लिनका लागि प्रधानमन्त्री प्रचण्डले अनेकन कसरतहरू गरी नै रहनुभएको नेताहरूले बताएका छन् ।

६१ वटा क्रसर उद्योग बन्द

रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अवैधरुपमा सञ्चालन भई रहेका ६१ वटा क्रसर उद्योग बन्द गरेका छन् । कानुन विपरीत दर्ता नगरी तथा नवीकरणलगायत सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यक्रम संलग्न उद्योगहरूलाई तत्काल बन्द गर्ने गृह मन्त्रालयको निर्देशनसँगै अवैध रूपमा सञ्चालन गरिएका उद्योग बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । 

गृहको निर्देशनअनुशार जिल्ला अनुगमनबाट निर्णय गर्दै आइतवारदेखि नै लागू हुने गरी अवैध रूपमा सञ्चालनमा आएका क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी  पाण्डेले बताए ।

गृह मन्त्रालयले विकास निर्माण आयोजनामा पूर्व स्वीकृत मापदण्ड र तोकिएको परिमाणभन्दा बढी ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन एवं दोहन हुने गरेको र आयोजना सम्पन्न भएपश्चातसमेत निरन्तर दोहन भईरहेको भन्ने जानकारी हुन आएको भन्दै वातावरण संरक्षण ऐन, २०७६ को पालना र अदालतको आदेश कार्यान्वयन गर्न सचिवस्तरीय निर्णय गरी अवैध क्रसर उद्योग बन्द गर्न सवै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको थियो  । 

आन्दोलन छोडेर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्।

सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी)ले विशेष टोली परिचालन गरी छानबिन गरिरहेको जानकारी दिए। उनले सबै धर्ना र आन्दोलनका गतिविधि छोडेर प्रहरीको छानबिनमा सहयोग गर्न आग्रह गरेका हुन्।

आफू मन्त्री भएपछि दुई पटक टेलिफोन गरी धर्नामा रहेकी रुबी खानलाई घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सहयोग गर्न आग्रह गरेको बताए।

यसअघि गत सोमबार गृहमन्त्री लामिछानेले गृह सचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफल गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए।