सडक दुर्घटनामा १७ जनाको मृत्यु

एजेन्सी । पूर्वी चीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आइतबार बिहान भएको एउटा भीषण सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २२ जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन् ।

शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ । आज नेप्से परिसूचकमा २०.५५ अंकले वृद्धि भई २१६४.४८ विन्दुमा रोकिएको छ । आज ०.९६ प्रतिशतले सेयर बजार बढेकोे हो ।

यस्तै, हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भइरहेको छ । यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । दोश्रोमा शिभव् सिमेन्टका र तेश्रोमा रिडी पावर कम्पनीको बढीको सेयर बिक्री भएको छ ।

त्यस्तै, आज कारोबार रकम पाँच अर्ब रुपैयाँ नाघेको छ । आज पाँच अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १३३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५४५.५० रुपैयाँ पुगेको छ भने बाराही हाइड्रोपावर १० प्रतिशतले बढेर प्रतिकित्ता २५८.५० रुपैयाँ पुगेको छ । यसका साथै तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।  

आज बुद्धभुमी नेपाल हाइड्रोपावर, वीन नेपाल लघुवित्त वित्तीय संस्था र सिर्जनशिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज २१ करोड २९ लाखभन्दा बढीको कारोबार भएको छ ।   

कालिञ्चोक दर्शनले आईपीओ निष्काशन गर्दैका

कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेका छन्, भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ। त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

एटीएम प्रयोग गर्दा सावधानी अपनाउन नेपाल राष्ट्र बैंककाे आग्रह

काठमाडौं ।  एटीएम ह्याक गरेर रकम चोरी भएके घटना यसअघि बाहिरिएपछि बैंकले एटीएमको सुरक्षित प्रयोगका लागि चार उपायसमेत सुझाएको छ ।

एटीएम प्रयोगकर्ताले आफ्नो पिनकोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटीएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने र आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटीएमको सुरक्षित प्रयोग हुने बैंकले जनाएको छ ।

बैंकले अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटीएम कार्ड र पिन नम्बर सेयर नगर्न पनि आदेश दिएको छ ।  एटीएमबाट रकम निकाल्दा कतै क्यामेरा भएको वा नभएको तथा पिन कोड थिच्ने बेलामा कसैले देखे–नदेखेको निश्चित गर्नुपर्नेमा बैंकले जोड दिएको छ ।

विदेशीले नेपालबाट लगे अर्बऔ रेमिट्यान्स

नेपालमा श्रम स्वीकृति लिने विदेशीमा चिनियाँ सबैभन्दा बढी, बेलायती दोस्रो र अमेरिकी तेस्रो ल अनौपचारिक रूपमा भारतबाट साढे एक खर्ब भित्रिँदा नेपालबाट झन्डै चार खर्ब जान्छ  

नेपालमा काम गर्न आएका विभिन्न मुलुकका नागरिकहरूले पाँच वर्षमा झन्डै ३२ अर्ब रेमिट्यान्स उनीहरूको देशमा पठाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक ०७४/७५ देखि गत आव ०७८/७९ को अवधिसम्ममा ३१ अर्ब ८७ करोड १० लाख रुपैयाँ नेपालबाट बिदेसिएको हो । विश्वका विभिन्न मुलुकबाट नेपाल आउने आप्रवासी कामदारमार्फत औपचारिक रूपमा उक्त रकम बाहिरिएको हो । तर, नेपालमा सबैभन्दा बढी भित्रिने भारतका कामदारले अनौपचारिक रूपमा पठाउने रकम भने यसमा समावेश गरिएको छैन । 

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

काठमाडौं । प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार बसेको बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत नदिने बताउनुभएको हो ।

‘हामी प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो । नेपाली कांग्रेस अहिले विश्वासको मतको खिलाफमा उभिन्छ । प्रतिपक्षमा बस्छ भन्ने कुरा स्पष्ट छ ।’संसद्को दोस्रो, तेस्रो दललगायतका पार्टीहरूको गठबन्धनको सरकार बन्दा विश्वासको मत दिने कुरा कांग्रेसमा छलफलको विषय नै नभएको उहाँको भनाइ छ ।

महामन्त्री थापाले कांग्रेसको केन्द्रीय समितिको बैठक पुस २८ गतेबाट बस्ने र बैठकले निर्वाचन र निर्वाचनपछिको राजनीतिक घटनाक्रमको बारेमा विस्तृत छलफल गर्ने बताउनुभयो । गठबन्धन गरेको देखि गठबन्धनलाई टिकाउन नसकेको बारेमा पनि केन्द्रीय समितिको बैठकमा गहन, खुला र पारदर्शी छलफल हुने उहाँको भनाइ छ । थापाले भन्नुभयो– ‘उक्त बैठकमा निर्वाचन र निर्वाचनपछिको राजनीतिक घटनाक्रमको निर्मम ढंगले समीक्षा गर्छौं, गठबन्धन गर्नेदेखि गठबन्धन टिकाउन नसक्नेसम्म खुला र पारदर्शी रूपमा छलफल गर्नेछौं ।

तर, संसद्का सशक्त प्रतिपक्षको भूमिका खेल्ने कुरामा कांग्रेस एक ढिक्का छ ।’दाहाललाई विश्वासको मतमा असफल बनाएर नयाँ गठबन्धन बनाउन कांग्रेस लागेको भन्ने समाचार सार्वजनिक भएको बेला थापाले राजनीतिक दलका नेताहरूसँग सामान्य छलफल भएको तर त्यो सरकार गठनका लागि नभएको प्रष्ट पार्नुभयो । ‘अरू दलहरूका नेताहरू सभापतिसँग भेट्न उहाँहरू नै समय मागेर आउनुभएको हो’, थापाले भन्नुभयो, ‘शीर्ष नेताहरूको बीचमा सामान्य छलफल हो, कांग्रेसले अरू पार्टीलाई प्रधानमन्त्रीको अफर गर्नेकुरा अफवाह हो, निराधार हो ।’ पार्टीको आन्तरिक छलफलका सन्दर्भमा उहाँले कांग्रेस अब नीति अधिवेधनमा अगाडि बढ्ने बताउनुभयो ।

कांग्रेससहितको पाँच दलीय गठबन्धन तोडेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँगको गठबन्धन गरी प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ मा विश्वासको मत लिँदै हुनुहुन्छ । यो अवस्थामा संघीय संसद्मा कांग्रेसले निर्वाह गर्ने भूमिका र त्यसका लागि गर्नुपर्ने तयारीका बारेमासमेत बैठकमा छलफल भएको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

‘सिंगो पार्टी एकताबद्ध भएर प्रतिनिधिसभामा सशक्त भूमिका निर्वाह गर्ने निर्णय भएको छ । कांग्रेसमा धेरै सांसदहरू नयाँ भएकाले विश्वासको मत लिने प्रक्रिया के हुन्छ र कसरी हुन्छ भन्नेबारेमा समेत सांसदहरूलाई जानकारी गराउने काम भएको छ ।’आफ्नो हातमा आएको सरकार निर्माणमा सफलता प्राप्त नभएपछि कार्यकर्ता तहमा आक्रोश छताछुल्ल भइरहेको अवस्थामा सभापति देउवाले पार्टीका शीर्ष नेताहरूलाई सँगै बोलाएर आगामी रणनीतिका बारेमा पहिलोपटक छलफल गर्नुभएको हो । कांग्रेसले अन्य कुनै दलका नेताहरूलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको र अस्थिरताको खेलमा नलाग्ने पनि कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले अन्य दलका नेताहरूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्ने हल्ला निराधार भएको दाबी गर्दै भन्नुभयो– ‘संसदको सबैभन्दा ठूलो दल कांग्रेस देशको जिम्मेवार पार्टी भएकाले सशक्त प्रतिपक्षमा बस्छ । कसैलाई प्रधानमन्त्री भइदेउ भनेर हिड्दैन । बरू सत्ता सहयात्री दलहरूबीच नै भागबण्डाको कुरा नमिल्दा कांग्रेसले प्रस्ताव गरिदियोस् र बार्गेनिङ पावर बढाउन सकिन्छ भन्ने सोचेको होला त्यो कांग्रेसले गर्दैन ।’

जनताका आवाज सदनबाट निरन्तर उठाइरहने भन्दै शर्माले सरकारलाई देश र जनताका पक्षमा गरेका कामको गुण र दोसका आधारमा पक्ष वा विपक्षमा आफ्नो धारणा बनाउने बताउनुभयो ।

शनिबार बसेको दलको बैठकले कांग्रेसलाई प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका रूपमा विजयी गराएकोमा मतदाताप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा शेखर कोइरालालगायत पदाधिकारी एवं संघीय संसद्का सांसदहरू सहभागी थिए । संसदीय दलको अर्को बैठक पुस २६ गते सदन बस्नुअघि संसद् भवन बानेश्वरको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ ।

आज देखि श्रम स्वीकृति लिन सकिने

काठमाडौँ । आज(आइतबार)देखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको मन्त्रीपरिषद्ले गत पौष ११ गते गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा उपरोक्त स्थानबाटै श्रम स्वीकृत लिन सकिने छ।

यसअघि काठमाडौँ र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो। प्रचण्ड नेतृत्व सरकारको मन्त्रीपरिषद्को पहिलो बैठकले नागरिकहरूलाई प्रदान गर्दै आएका आधारभूत सेवा दिने निकायहरूको सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो झण्झटमुक्त बनाउने, यसमा देखिने गरी सुधारका कामहरू तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

सोही निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातहतका मन्त्रालयहरूलाई कार्य योजना निर्माण गरी कार्यान्वयनमा जान निर्देशन दिएबमोजिम भोलिबाट थप दुई स्थानबाट श्रम स्वीकृति लिने व्यवस्था सुरु हुनेछ।

सुर्खेत र धनगढीबाट भने छिट्टै प्राविधिक तथा भौतिक तयारीपछि यो सेवा सुरु हुनेछ। त्यसका लागि सरकारको तर्फबाट आवश्यक गृहकार्य भइरहेको छ। यसअघि प्रदेशहरूबाटै श्रम स्वीकृत लिन नसकिने अवस्थाका कारण नागरिकले सास्ती पाउँदै आएका थिए।

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित तुल्याउने प्रधानमन्त्रीको सोचअनुसार श्रम स्वीकृतिका लागि कार्यालय बिस्तार गरिएको हो। प्रधानमन्त्री प्रचण्डले सचिवहरूसँगको छलफलका क्रममा समेत नागरिकले राज्यबाट सेवा प्राप्त गर्न लामो लाइन र अन्य झन्झट व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले आफ्नो निर्देशनलाई बढीमा एक महिनाभित्र परिणाम देखिने गरी कार्यान्वयन गर्न भनेपछि मन्त्रालयहरूले निर्देशनको कार्यान्वयनका लागि कार्य योजना बनाएर काम गर्न थालेका छन्।

दुधिअवा क्याम्पसकाे सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ शुरु

रौतहट, पुस २२ गते । फतुवा बिजयपुर नगरपालिका स्थित दुधिअवा क्याम्पसको सहयोगार्थ धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ शुरु भएका छन भौतिक तथा गुणस्तरीय शिक्षाकोलागि एक समारोहबीच धान्याञ्चल सप्ताह ज्ञान महायज्ञको उदघाटन गरिएको छ । सप्ताहको पहिलो दिन आज पंचकन्या सहित १०८ कलशयात्राले नगर परिक्रमा गरिएको हो ।


रौतहट क्षेत्र नं. ३(क)का प्रदेश सांसद केशव राय चौधरीले प्रमुख अतिथिको आसनबाट यज्ञ उद्धघाटन गर्दै नगरपालिका कै एकमात्र स्नातक तह पढाई हुने कारणले मात्र नभई मेरो निवार्चन क्षेत्र समेत भएकोले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो ।

प्रदेश सभासदस्य चौधरीले आफ्नो क्षेत्रमा बिकासका पुर्वाधार तथा शैक्षिक प्रगतिको लागि यस दुधिअवा क्याम्पसको भौतिक तथा गुणस्तरीय शिक्षाको उन्नयनका लागि मेरो हर किसिमले आर्थिक तथा नैतिक समर्थन रहेकोे बताउनु भयो । सो उदघाटन समारोहमा दुधिअवा क्याम्पस संचालक समितिका अध्यक्ष गणेश मैनाली, क्याम्पस प्रमुख रन्जन खरेल, प्रमुख वाचक पंडित भोजराज मिश्र लगायतकाले कार्यक्रमको औचित्यता प्रष्ट पार्नुभएको थियो ।


कार्यक्रममा क्याम्पस प्रमुख रंजन खरेलले यो सप्ताह ज्ञान महायज्ञ शुरु गर्नुको मूख्य उद्धेश्य महायज्ञ मार्फत धार्मिक कार्यमा संलग्नता जनाउन र संकलित रकमबाट क्याम्पसको भौतिक तथा गुणस्तरिय शिक्षा प्राप्तीको लागि खर्च गरिने जानकारी दिनु भयो ।

यही पुस २९ गते सम्म चल्ने उक्त सप्ताह ज्ञान महायज्ञमा सम्पुर्ण जिल्लाबासी, नगरबासी, शिक्षाप्रेमी, छिमेकी जिल्ला लगायतका दानबिर महानुभावहरुलाई सप्ताहमा उपस्थित भई धार्मिक अनुष्ठानमा सहभागि भई आर्थिक सहयोग गरि पुन्य कमाउन पनि क्याम्पस संचालक समितिका अध्यक्ष गणेश मैनाली तथा वडा अध्यक्ष मन्जय कुमार चौधरीले संयुक्त अपिल गरेका छन । सो उद्धघाटन कार्यक्रममा स्वागत मन्तब्य निर्मल आकास तथा कार्यक्रमको संचालन अनन्त पौडेलले गर्नुभएको थियो ।

अर्को देशको नागरिकता लिँदा नेपालको रद्द हुने होइन, कायम नरहने हो 

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकताका विषयमा परेको रिटमा शुक्रबार दुवै पक्षले बहस गरेका थिए छ ।

लामिछाने पक्षबाट जवाफी बहस गरेका वरिष्ठ अधिवक्ता सुनीकुमार पोखरेलले अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता रद्द हुने नभई कायम नरहने जिकिर गरे ।

नेपालको नागरिकता ऐनअनुसार अर्को राष्ट्रको नागकिरता लिए पनि नेपालको नागरिकता रद्द हुने होइन, कायम नरहने मात्र हो,” पोखरेलले आफूले गरेको बहसका विषयमा जानकारी दिएकाे हाे । “अमेरिकी नागरिकता २०७५ साल असार ३ गते त्याग गरी त्यसको सूचना अध्यागमन विभागमार्फत गृह मन्त्रालयमा बुझाएकाले त्यसपछि उनको नागरिकता कायम भएको छ ।”

उनले लामिछानेले त्यस बेला दिएको निवेदनमा नै आफ्नो नागरिकता अध्यावधिक गर्ने प्रयोजनका लागि भनेर खुलाएकाले उनले नागरिकता माग्न जानुपर्ने आवश्यकता नरहेको तर्क गरेका छन् ।

“दफा १० को २ अनुसार नागरिकता त्यागेको अवस्थामा पुनः प्राप्तिका लागि जानुपर्ने हो । नागरिकता नत्यागेको अवस्थामा विदेशी नागरिकता त्यागेर त्यसको जानकारी गराएसँगै नागरिकता कायम भएको छ,” पोखरेलले भने ।

सभामुखको निर्वाचन आउँदो माघ ७ गर्ने

काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन आउँदो माघ ७ गते शुक्रबार गर्ने समझदारी भएको हो ।

“माघ ७ मा सभामुख चुन्ने भन्ने विषयमा मोटामोटी समझदारी भएको हो । सहमतिमा निर्णय नै भएको भने छैन,” राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, “यसमा कसैको विमति नरहेकाले अन्य विषय नआएमा त्यसै दिन सभामुख चुनाव हुनसक्छ ।

मधेस प्रदेशमा नयाँ सरकारका लागि आह्वान

काठमाडौँ । मधेस प्रदेशमा नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेस गर्न प्रदेश प्रमुख हरिशंकर मिश्रले आह्वान गरेका छन्। 

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्तिका लागि लागि पुस २८ गते बेलुका ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका हुन्।

‘निर्वाचन परिणामबाट मुख्यमन्त्री नियुक्ति गर्न नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २८ गते बिहीबार दिउँसो ४ः०० बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ’, प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले विज्ञप्तिमा जानकारी दिएका छन् । 

मधेस प्रदेशसभामा १०७ जना सांसद छन्। सरकार बनाउन बहुमतका लागि ५४ जना सांसदको समर्थन आवश्यक हुन्छ । 

नेपाली काँग्रेसका सभापति देउवाले किन बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार अपराह्न साढे ४ बजे आफ्ना निजी निवास धुम्बाराहीमा बैठक बोलाएको काँग्रेसका एक पदाधिकारीले बताए । संसदीय दलको बैठक र प्रधानमन्त्रीको विश्वासको मतका सन्दर्भमा छलफलका लागि देउवाले बैठक बोलाएको ती पदाधिकारीको भनाइ छ । 

यता माओवादी केन्द्रले बुधवार उपमहासचिव जनार्दन शर्मामार्फत विश्वासको मत दिन काँग्रेसलाई प्रस्ताव गरेको थियो ।  

राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औँल्याउँदै शर्माले सभापति देउवालाई भेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी छ । काँग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने पक्षमा देखिएका छन् । प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्ने पौडेलको जोड छ ।

उनले काँग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकलाई त्यसको माहौल निर्माण गर्न आग्रह गरेका थिए । बिहीबार साँझ महामन्त्री विश्वप्रकाश शर्माको निवासमा महामन्त्रीद्वय गगन थापा, शर्मा र मुख्य सचेतक लेखकबीच छलफल भएको थियो ।

आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकिकृत काराेबार सुरू

काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकिकृत काराेबार सुरू गर्ने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडकाे नामबाट एकिकृत काराेबार सुरू हुने भएकाे हाे । यी दुई बैंकलाई नेपाल राष्ट्र बैंकले पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएका थिए ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड बीच मर्जर प्रयोजनका लागि २०७९ आषाढ २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कार्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड बीच मर्जर प्रयोजनका लागि २०७९ आषाढ २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कार्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो।

महुली लघुवित्तमा भारिमात्रामा कर्मचारी माग

काठमाडौँ: महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै वरिष्ठ सहायकका लागि केही र कनिष्ठ सहायक पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने छन् ।

बस दुर्घटना हुँदा ६ जना निधन, १८ जना घाइते

पाल्पा । पाल्पामा बस दुर्घटना हुँदा ज्यान गुमाउनेमा ६ महिला नै रहेका छन् । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने नजिकै बिहीबार राति ९:३० बजे राधादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको ज्यान गएको हो ।

दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक सबै खुर्साने गाउँका रहेको उनले बताए ।

मृतक मध्ये एकजनाको भने पहिचान हुन सकेको छैन । मृतकमध्ये तीन जनाको शव बाहिर निकालिएको छ भने ३ जनाको शव बसले च्यापेको अवस्थामा छ ।

पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य जारी राखेको स्थानीय प्रहरी चौकी जुठापौवाका वरिष्ठ हबल्दार लिलाबहादुर केसीले जानकारी दिए । दुर्घटनामा घाईते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।