सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ । बलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनका लागि सुनुवाइको पेशी आज (बिहीबार) छ।

पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाइका पेशी तोकिएको हो।

यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो।

असोज २० गते पक्राउ परेका सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले फैसला नहुँदासम्मका लागि थुनामा पठाउने आदेश गरेको थियो। सन्दीपले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन्।

प्रधानमन्त्री कार्यालयद्वारा राहदानी विभागको प्राविधिक शाखा निरीक्षण

काठमाडौँ । राहदानी विभागले सफ्टवेयरमा देखिएको समस्याका कारण सेवा प्रवाह गर्न नसक्ने बताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना तथा प्रविधि टोलीले विभागको त्रिपुरेश्वरस्थित कार्यालयको निरीक्षण गरेको छ।

टोलीले विभागका महानिर्देशक, प्रशासन र सफ्टवेयरको प्राविधिक सपोर्ट गर्ने टिमसँग अहिले देखिएको समस्याका बारेमा विस्तृत छलफल पनि गरेको छ।

प्रधानमन्त्री कार्यालयको प्राविधिक टीमले सम्झौताअनुसार कम्पनिले समस्या हल नगरेको र कम्पनिका कारण जनताले सास्ती भोग्नुपरेकाले तत्काल समस्या हल गर्न निर्देशन दियो। यसका लागि कम्पनिको केन्द्रीय कार्यालयबाट नै प्राविधिक झिकाएर तत्काल समस्या समाधान गर्न निर्देशन दिएको छ।

छलफलमा सेवाग्राहीले लामो समय लाइनमा नबसी राहदानी पाउने व्यवस्थाका लागि आवश्यक संरचनात्मक तथा नीतिगत सुधार वा परिमार्जनका लागि तत्काल कार्ययोजना बनाउनसमेत जोड दिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले का अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न ओली बुधबार दिउँसो राष्ट्रपति निवास शीतल निवास पुगेका हुन् । राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच करिब दुई घण्टा छलफल भएको थियो ।

छलफलमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

राष्ट्रपतिका लागि पार्टीभित्र लबिङ तीव्र भइरहेका बेलामा अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

महानगरले हटायो दरवारमार्गको सशुल्क पार्किङ सेवा

काठमाडौँ । काठमाडौँको दरबारमार्ग स्थित बाटोमा रहेको सशुल्क बाइक तथा कार पार्किङ सेवा काठमाडौँ महानगरपालिकाले हटाएको छ । मङ्गलवारबाट महानगरले सडकमा रहेको पार्किङ सेवा हटाएको हो ।

हाल उक्त सडकमा ट्राफिक प्रहरीले पार्किङ गर्न रोक लगाइरहेका छन् । यसअघि महानगरले निजी कम्पनीलाई सशुल्क पार्किङ सेवा सञ्चालनको जिम्मा दिएको थियो ।

पार्किङका कारण पिक आवरमा सवारी साधन आवतजावतमा कठिनाइ सृजना हुँदै आएको थियो ।

प्रधानमन्त्री, अर्थमन्त्री पौडेल र गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था बारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीका विषयमा चासो राखेको उनको निजी सविचालयले जनाएको छ । उनले ब्याजदर घटाउन तथा तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्न सुझाव दिए ।

छलफलमा प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित र सचेत तुल्याउन आवश्यक रहेको बताएका थिए ।

निजी क्षेत्रले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुग्न लागेको भन्दै तत्काल सुधारका उपाय अवलम्बन गर्न सरकारसँग माग गर्दै आएका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स लगायतले प्रधानमन्त्री, अर्थमन्त्रीसँग भेटवार्ता गरी ब्याजदरमा स्थिरता प्रदान गर्न, पूँजीगत खर्च बढाउन अनुरोध गर्दै आएका छन् ।

सुदूरपश्चिम कांग्रेस संसदीय दलको नेतामा शाह

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएका हुन् । दलको नेतामा रहेका अन्य आकांक्षीहरुलाई पछि पार्दै उनी सर्वसम्मत चयन भएका हुन् ।

कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षा राखेका थिए ।

हिजाे बसेको प्रदेश पदाधिकारीको बैठकबाट दलको नेताका आकांक्षीहरूलाई सर्वसम्मत निर्णय गर्न सुझाव दिइएको थियो । तर, सहमति नजुटेपछि प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो ।

समितिले बुधबार दिउँसो साढे २ बजेसम्म उमेदवार मनोनयनको समय तोकेको थियो । त्यो समय सकिने बेलामा नेताहरूबीच शाहलाई दलको नेता बनाउने सहमति भएको हो ।

निर्वाचन समितिका संयोजक अवस्थीले दलको नेताका लागि शाहले मात्र मनोनयनपत्र दर्ता गराएको जानकारी दिए ।

गठबन्धन टुट्नुमा काँग्रेस दोषी छैन: प्रकाशशरण महत

काठमाडौँ । काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन काँग्रेसले कोसिस गरे पनि सफल नभएको बताएका छन्।

केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै आज प्रवक्ता महतले गठबन्धन छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गएको बताए।

प्रचण्डले गठबन्धन छाडेर जानुभयो जुन निर्वाचन दौरान गरिएका प्रतिबद्धता विपरीत थियो,’ महतले भने, ‘किन प्रचण्डले गठबन्धनलाई टुट्न दिनुभयो भन्नेबारे विश्लेषण हुँदै जालान्।

उनले निर्वाचनमा काँग्रेसले अपेक्षा गरेअनुसार परिणाम ल्याउन नसके पनि सन्तोषजनक परिणाम आएको बताए। काँग्रेस सबैभन्दा ठूलो पार्टी भए पनि प्रतिपक्षमा रहनुपर्ने परिवेश सिर्जना भएको उनले बताए।

‘काँग्रेस विचलित भएको छैन। हामीले कहीँ कतै पनि वैकल्पिक नेतृत्व जुटाएर प्रधानमन्त्री लिने प्राथमिकता लिएनौँ,’ उनले भने, ‘अब हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौँ।

पासपोर्ट वितरण रोक्नुको भित्रि कारण

काठमाडौं। प्रधानमन्त्री बन्ने बित्तिकै प्रचण्डले आदेश दिए- तीन महिनाभित्र राहदानी र लाइसेन्सको लाइन हटाउनु । कतै प्रचण्डले पो जस लिने हुन् की भन्ने पीरले गृहमन्त्री रवि लामिछाने राहदानी विभाग तिर दौडिए, पासपोर्ट बाँडेको जस आफ्नो नाममा पार्न ।

सर्भरमा समस्या आएको भन्दै राहदानी विभागले पुस १७ गतेदेखि पासपोर्ट छपाई र वितरण नै बन्द गरेको छ । जसका कारण आवेदन फारम भरिसकेका १० हजार भन्दाबढि व्यक्तिहरुको हातमा पासपोर्ट कहिले पर्ने हो भन्ने अनश्चितता छाएको छ । 

बन्द गर्ने बहाना 
सर्भर सिस्टममा खराबीको बहानालाई राहदानी विभागले कारणको रुपमा प्रस्तुत गरेको छ । तर, सहज अनुमान लगाउन सकिन्छ की सर्भर बिग्रेको होइन, बिगारिएको हो । यस्तो आरोप लगाउने अरु पनि थप आधारहरु छन् । तर, यति बेलै किन बिगारियो भन्ने प्रश्नको जवाफ भने सटिक छ । 

गृहमन्त्री लामिछानले आफ्नो जिम्मेवारी क्षेत्र भन्दा बाहिर गएर राहदानी विभागका कर्मचारीहरुलाई  निर्देशन दिए । स्वभाविक रुपमा नेपालमा भएका अरु मन्त्रालय भन्दा आफुले काम गर्ने परराष्ट्र मन्त्रालय विशेष भएको घमण्ड पाल्दै आएका परराष्ट्रका कर्मचारीहरुको दम्भमा त्यसले ठेस पुर्यायो ।

त्यसमाथि सर्भर र सफ्टवेयरको अडिट गर्छु भनेर लामिछानेले गरेको घोषणा त आफैमा सहिसक्नुको हुने कुरै भएन । त्यसैले उनीहरुले सर्भर नै डाउन गरिदिए ।

लाइन लाग्नुको चुरो कुरो  
राहदानी विभागले सहज वितरण गर्न नसकेर पासपार्ट लिनेको लाइत त्यति लामो पारेको थिएन । विभागका एक कर्मचारीले भने, ‘यी भन्दा छिटै सेवा दिन नसकिने होइन । तर, हाम्रो बाध्यता नै बेग्लै छ ।’ उनका अनुसार विभागसँग पर्याप्त रुपमा पासपोर्टका कपी नै छैनन् । 

दैनिक रुपमा जति धेरै बाँड्यो त्यति छिटो सकिने भएपछि बाँड्न नै ढिला गरिएको उनले बताए । ‘पासपोर्ट नै छैन भन्न मिलेन, भएका बाँडिसकेर सेवा नै रोक्ने कुरा भएन’, उनले अगाडी थपे, ‘त्यसैले मिलाएर, पुर्याएर बाँडदै थियौ । लाइन अन्त्य गर्नु भन्ने प्रधानमन्त्रीको उर्दी आयो । हाम्रो पिर कसले बुझ्ने ।’

अझ गम्भिर कुरा त के रहेछ भने चाहेर पनि अहिले तुरुन्तै पासपोर्टका बुकहरु छाप्न सक्ने अवस्थामा विभाग छैन । रुस र युक्रेन युद्धका कारण विश्वव्यापी रुपमा चिप्सको अभाव छ । तुरुन्तै आपूर्ति हुने सम्भावना देखिदैन । चिप्स बिनाको पासपोर्ट बाँड्ने कुरा भएन । 

नेपालमा मात्रै नभएर विश्वव्यापी रुपमा नै अहिले पासपोर्टमा हाल्ने चिप्सको अभाव रहेको विभागका एक उपल्लो तहका कर्मचारीले जानकारी दिए ।

त्यसैले बाहिर जे जस्तो बहाना देखाइएपनि राहदानी वितरणको विषय नयाँ सरकार आएपछि अझ जटिल बनेको छ । सफ्टवेयर र सर्भरमा रहेको गडबढिबारे गृहमन्त्रीले थाहा पाउलान्की भन्ने चिन्ता विभागका मान्छेहरुमा छ । विदेशबाट चिप्स ल्याउन नसक्दा पासपोर्ट नै बाँड्न नसक्ने स्थितिमा पुगेर सरकार असफल सिद्ध हुने होकी भन्ने अर्काथरीलाई पिरलो छ । 

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा भेटवार्ता भएको हो ।

प्रचण्डले शपथ ग्रहण गरेपछि दुवै नेताबीच पहिलोपटक औपचारिक भेटवार्ता भएको हो । यसअघि अध्यक्ष नेपालले आफूलाई सरकारलाई समर्थन गर्न औपचारिक आग्रह नगरिएको बताउने गरेका थिए ।

नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई समर्थन गर्ने/नगर्ने निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ । पार्टीमा छलफल जारी नै रहेका बेला प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

शेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथौ दिन आज बुधबार उच्च अंकले बढेको छ । निरन्तर रुपमा बढेको शेयरबजारमा मंगलबार सामान्य गिरावट आएको थियो  ।

आज नेप्से ६४.८७ अंकले बढेर दुई हजार एक सय २५ दशमलब ८४ विन्दुमा बन्द भएको हो । मंगलबार आज नेप्से ३.०३ अंकले घटेर दुई हजार ६१ दशमलब ६ विन्दुमा बन्द भएको थियो  ।

यस दिन सेन्सेटिभ इण्डेक्स १४.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.८८ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ४५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५८ स्टकको ५७ हजार ३१२ पटकको कारोबारमा ३ अर्ब ५० करोड ११ लाख रुपैयाँ बराबरको ८७ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से बढेसँगै यस दिन दुई दर्जनभन्दा बढी स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन, हिमालयन डिष्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, खप्तड लघुवित्त, कालिका पावर, आरएसडिसी लघुवित्त, बाराही हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, आशा लघुवित्त लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, १६ स्टकको मूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन १५ स्टकको मूल्य घटेको छ। यद्यपि, यी सबै स्टकहरुको गिरावट दर २ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ५२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सानिमा माइ हाइड्रोपावर र नेपाल टेलिकमको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

बुधबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशत बढेको छ। त्यसैगरी, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

आयल निगम पुसमै दुई अर्ब ३२ करोड नाफा कमाउँदै : तर, उपभोक्तालाई अझै महँगोमा बेच्दै

अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य घट्दा पनि उपभोक्तालाई चर्को मूल्यमै पेट्रोलियम पदार्थ बेचेको नेपाल आयल निगमले १ पुसदेखि १५ पुससम्म मात्रै एक अर्ब ३२ करोड ८९ लाख नाफा कमाएको छ । १६ देखि ३० पुससम्म थप ९९ करोड १२ लाख नाफा हुने अनुमान छ । तर, पुरानो ऋण घटाउन भन्दै निगमले अहिले पनि उपभोक्ताको ढाड सेक्ने गरी पेट्रोल प्रतिलिटर १४.६६ र मट्टीतेल प्रतिलिटर ४३.७९ रुपैयाँ महँगो बेच्दै छ । 

भारतबाट ८५.३५ रुपैयाँ प्रतिलिटरमा खरिद गरिएको पेट्रोल करसहित सम्पूर्ण प्रशासनिक खर्च जोड्दा एक सय ६३.३४ रुपैयाँ पर्छ । तर, निगमले एक सय ७८ रुपैयाँमा बिक्री गर्छ । त्यस्तै, प्रतिलिटर एक सय ६७.८२ रुपैयाँ लागत पर्ने डिजेल एक सय ७५ रुपैयाँमा बिक्री गरिन्छ । निगमले भारतबाट डिजल प्रतिलिटर एक सय १० रुपैयाँमा खरिद गर्छ । भारतबाट १०३.९४ रुपैयाँ प्रतिलिटरमा खरिद गरिएको मट्टीतेलमा सम्पूर्ण लागत एक सय ३१.२१ रुपैयाँ पर्छ । तर, उपभोक्ताले एक सय ७५ रुपैयाँ लिटर खरिद गरिरहेका छन् ।

आन्तरिक हवाई इन्धनमा निगमले प्रतिलिटर ४८.८१ रुपैयाँ नाफा राखेर एक सय ९० रुपैयाँमा र बाह्य हवाई इन्धनमा ९९.३५ रुपैयाँ नाफा राखेर बिक्री गरिरहेको छ । खाना पकाउने एलपी ग्यासमा भने निगमले नियमित रूपमा नोक्सान खेप्दै आएको छ । प्रतिसिलिन्डर १८ सय रुपैयाँ बिक्री मूल्य तोक्दा निगमलाई  सिलिन्डरमा ३५९.५० रुपैयाँ घाटा छ । निगमले १४ सय ९५.९९ रुपैयाँ प्रतिसिलिन्डर ग्यास खरिद गरिरहेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि असोजसम्म निगमले निरन्तर नोक्सानी खेपेको थियो । त्यसयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेपछि कात्तिकदेखि भने निगमले नाफा कमाउन थालेको हो । १ देखि १५ मंसिरसम्म नौ करोड ८० लाख तथा १६ देखि २९ मंसिरसम्म ५८ करोड ७१ लाख आर्जन गरेको नाफाले ‘ब्रेक इभन’ (नाफामा जाने अवस्था)मा पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य घटेको, तर नेपाली बजारमा समायोजन नगरेका कारण निगमले १ देखि १५ पुससम्म एक अर्ब ३२ करोड नाफा गरको छ । त्यस्तै, १६ देखि ३० पुससम्म थप ९९ करोड १२ लाख नाफा आर्जन गर्ने अनुमान छ । यो प्रक्षेपण पूरा भए पुसमा मात्रै निगमले दुई अर्ब ३१ करोड १२ लाख नाफा कमाउने छ । 

निगमलाई आइतबार दिउँसो भारतीय आयल निगम (आइओसी)ले पेट्रोल, डिजेल, हवाई इन्धन र ग्यासको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको थियो । नयाँ मूल्य आउँदा पेट्रोल २.५४ रुपैयाँ, डिजेल २.९५ रुपैयाँ, हवाई इन्धन ४.१३ रुपैयाँ प्रतिलिटर र ग्यास ७८.२२ रुपैयाँ प्रतिसिलिन्डर मूल्य बढेर आएको निगमले जनाएको छ । तर, त्यसअघि नै निगमले चर्को नाफा राखेर मूल्य निर्धारण गरेका कारण यसपटक बढेर मूल्य आए पनि निगमको नाफादर केही खुम्चिएको मात्र छ । 

पुरानो ऋण बाँकी रहेकाले तत्काल मूल्य घटनाउन नसकिएको निगमको भनाई छ । तर, अधिकारकर्मीहरू ऋण तिर्ने बहानामा चर्को नाफा राख्नु उपभोक्ताको हित प्रतिकूल भएको बताउँछन् । ‘एकैपटक ऋण तिर्छु भनेर पेट्रोलियमजस्तो अत्यावश्यक वस्तुमा चर्को नाफा राख्नु आपत्तिजनक छ । यो उपभोक्ताहित प्रतिकूल निर्णय हो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘सरकारी स्वामित्वको निगमले ऋण बिस्तारै तिर्दै जाने गरी मूल्य पनि घटाउँदै ल्याउनुपर्छ । एकाधिकारप्राप्त बजारमा निगमले स्वेच्छाचारी निर्णय लिन्छ भने सरकारले हस्तक्षेप गर्नुपर्छ ।’

तर, निगम भने एक वर्षअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढ्दा पनि मूल्य समायोजन गर्न नपाउँदा लागेको ऋण तिर्न अहिले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपाली बजारमा नघटाइएको तर्क गर्छ । डेढ वर्षदेखिको १८ अर्ब बक्यौता र ऋण तिर्न बाँकी रहेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए । ‘महँगोमा तेल किनेर सस्तोमा बिक्री गर्दाको बक्यौता र ऋण गरेर अझै १८ अर्ब तिर्न बाँकी छ । तेल किन्दा लागेको ऋण तेल बेचेरै तिर्नुपर्ने बाध्यताका कारण अहिले मूल्य घटाउन नसकिएको हो,’ उनले भने ।

पुस २० गते बुधबार, यस्ताे छ तपाईंकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लामो समयदेखि रोकिएका र अपूर्ण कामहरू पूरा हुनेछन् । रमाइलो र अविष्मरणीय यात्राको सम्भावना छ, त्यसबाट दीर्घकालिक फाइदा पनि होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । प्रशासनिक र न्यायिक कार्यमा पनि सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयर बजारको क्षेत्रमा प्रगति हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । सन्तान पक्षको मायामा कमी आउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज चिताएको कामले तीव्रता लिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, आज लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ । हरेक कार्यमा सतर्क हुनुपर्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज चिन्ता हटेर मन हलुका हुनेछ । आकस्मिक उपहार प्राप्त हुनसक्छ, तर व्यक्तिगत खुसीका लागि किनमेल र धन खर्च बढ्न पनि सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो पात्रो

आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु, दुई घाइते

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको हो ।

मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र उनका छोरा विजेन्द्र घाइते छन् । उनीहरुको अवस्था सामान्य छ । उनीहरुको टाउको, हात र खुट्टामा आगोले पोलेको छ ।

उक्त घरमा ७ जना सुतेकोमा २ जनाको मृत्यु भएको, दुई जना घाइते भएको र तीन जना भागेर ज्यान जोगाउन सफल भएको प्रहरी जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डको निजी सचिवमा सहसचिव ढुङ्गाना नियुक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘निजी सचिव’मा सहसचिव नवराज ढुङ्गाना नियुक्त भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका सहसचिव ढुङ्गानालाई सोमबार(हिजो) कार्यालयले निजी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । 

सहसचिवमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय दलित आयोग, महालेखा नियन्त्रकको कार्यालय र वीरगन्ज भन्सारमा काम गरेका ढुङ्गाना वीरगन्ज भन्सारमा रहँदा कृषि औजार कारखानाको सञ्चालक समितिको अध्यक्षसमेत भई काम गरेका थिए ।   

यसअघि उपसचिव बस्दै आएकोमा प्रधानमन्त्रीको निजी सचिवालय प्रभावकारी बनाउन भन्दै सहसचिवलाई राखिएको सचिवालय स्रोतले बतायो । मन्त्री तथा प्रधानमन्त्रीको निवासमा स्वकीय र मन्त्रालय तथा कार्यालयमा निजी सचिवालय रहने व्यवस्था छ ।

नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेप्से ३.०३ अंकले घटेर दुई हजार ६१ दशमलब ६ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज कारोबार रकम तीन अर्ब रुपैयाँ नाघेको छ । आज तीन अर्ब ४५ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । तीन वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै आज दुई वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । आज स्वतगंगा हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३२७.९० रुपैयाँ पुगेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३९१.७० रुपैयाँ पुगेको छ । त्यस्तै, खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११६१.२० रुपैयाँ पुगेको छ भने अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य ९. ९९ प्रतिशतले बढेर प्रतिकित्ता ५६३.७० रुपैयाँ पुगेको छ । 

आज नेपाल वीन नेपाल लघुवित्त वित्तीय संस्था र बोटलर्स नेपाल तराइ लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ४३ करोड १९ लाखभन्दा बढीको कारोबार भएको छ ।