यो खिचडी सरकारमा हामीलाई सहभागी हुन जरुरी छैन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारलाई समर्थन माग गर्दै कुनै प्रस्ताव नआएको बताएका छन्।

सरकारले समर्थनका लागि औपचारिक प्रस्ताव गरेमा मात्रै त्यसबारे छलफल गरेर आवश्यक निर्णय गरिने उनले बताए।

सरकारलाई समर्थन चाहिएको हो भने पार्टीमा औपचारिक रूपमा प्रस्ताव आउनुपर्‍यो। माग्दै नमागेको समर्थन हामीले किन दिने हो ? यो खिचडी सरकारमा हामीलाई सहभागी हुन जरुरी छैन। पुसको बेलामा खिचडी खान ठिक पनि हुँदैन,’ खनालले भने ।

ललितपुर महानगरले नागरिकलाई बिमा सुविधा दिने 

काठमाडौं । महानगर प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने प्रक्रिया सुरु भइसकेको बताएका हुन्। उनले भने, ‘नगरबासीको स्वास्थ्य बिमा गराएर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने गरी यो कार्यक्रम लागू हुँदै छ।

ललितपुर महानगरले नगरभित्र बसोबास गर्ने नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममार्फत सुविधा दिने तयारी थालेको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले स्वास्थ्य बिमा कार्यक्रमबाट ललितपुरबासी लाभान्वित हुने विश्वास व्यक्त गरे। उनले भने, ‘बिमा कार्यक्रम प्रभावकारी बनाउँछौं। यसले नगरबासीलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन सहयोग पुग्नेछ।’

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दोमादर बसौलाले स्वास्थ्य बिमा कार्यक्रमले स्वास्थ्य समस्याको कारणले हुन सक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्न सहयोग गर्ने बताए।

बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवालीले पबमा कार्यक्रममा सहभागी हुन ५ जनासम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार ३ हजार ५०० रकम प्रिमियमस्वरुप बुझाउनुपर्ने प्रावधान रहेको जानकारी दिए।

‘प्रिमियम बराबरको रकम बुझाएपछि १ लाख बराबरको स्वास्थ्य सेवा लिन पाइन्छ,’ उनले भने।

गरिब, एचआइभी संक्रमित, अति अशक्त, अपागंता भएका परिवारलाई प्रिमियमबापतको शुल्कमा छुट व्यवस्था गरिएको महानगरले जनाएको छ। महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई प्रिमियम रकममा ५० प्रतिशत र ७० वर्ष पुगिसकेका ज्येष्ठ नागरिकको हकमा पूरै छुट दिइनेछ।

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी नगरबासीले  ओपिडी, इमर्जेन्सी, अन्तरंग अर्थात् अस्पताल भर्ना भई लिइने सेवा (यस्तो सेवा लिँदा क्याबिनको सुविधा उपलब्ध हुने छैन। एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, एमआरआई, सिटी स्क्यान, रगतको जाँच, एपेन्डिक्स अपरेसन, पत्थरी अपरेसनको सेवा लिन सक्नेछन्।

महानगरका अनुसार १ हजार बराबरको चस्मा, श्रवणयन्त्र, सेतो छडी, बैसाखी र १ हजार १३३ थरीका सूचीकृत औषधी पनि सित्तैमा उपलब्ध हुनेछ।

नयाँ वर्ष मनाउने क्रममा भागदौड हुँदा ९ जनाको मृत्यु

एजेन्सी  । युगान्डाको राजधानीमा आइतवार नयाँ वर्षको अवसरमा उत्सव मनाउनेहरूबीच एक सपिङ मलमा भागदौड मच्चिदा कम्तीमा  नौ जनाको मृत्यु भएको प्रहरीले जनाएका छन् । कम्पालाको फ्रिडम सिटी मलबाहिर आतिशबाजीपछि, भागदौड हुँदा ९ जनाको मृत्यु र अन्य धेरै जना घाइते भएका छन् ।

घटनालगत्तै आकस्मिक सेवाका कर्मचारी घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्‍याइएको थियो, जहाँ ९ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो । मृत्यु हुनेमा नयाँ वर्षको अवसरमा हर्षोल्लास मनाउनेहरू रहेका प्रहरीले जनाएको छ । हतार र लापरबाहीले उक्त घटना भएको उनले बताए ।

कोभिड १९ महामारी र सुरक्षा मुद्दाहरूसँग सम्बन्धित प्रतिबन्धहरू पछि सन् २०२३ मा स्वागत गर्ने उत्सवहरू तीन वर्षमा पूर्वी अफ्रिकी देशमा पहिलो थियो ।

आगलागीबाट २ घर जलेर नष्ट र वडाध्यक्षको मृत्यु

पाेखरा  । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् । मादी गाउँपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष सुरज कुमार गुरुङको आगोले जलेर मृत्यु भएको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।

आइतबार राति पौने ९ बजे आगलागी हुँदा गुरुङ घरभित्रै रहेका र घरसँगै जलेर उनको मृत्यु भएको बताइएको छ । तर, आगलागीको समयमा घरबाट निस्किन सक्ने अवस्था भएपनि उनी भित्रै रहनुमा रहस्यमय हुन सक्ने आशंका गरिएको छ । गुरुङको घर ढुंगामाटो र टिनको छानाले छाइएको थियो ।

आगलागीमा नजिकै रहेको टौराज गुरुङको कोरियन प्रविधिले बनेको दुई तले घर पूर्ण रुपमा नष्ट भएको छ । घरमा रहेका अन्नपातदेखि सबैकुरा जलेर नष्ट भएको वडाध्यक्ष गुरुङले बताए । आगलागीको कारण भने अझै खुलन सकेकाे छैन । आगो करिव ११ बजे स्थानीय भेला भएर निभाएका हुन् । क्षतिको विवरण आएको छैन । मृतक गुरुङ २०७४ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

पुस १८ गते साेमबार, यस्ताे छ तपाईंकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेममा जीवन सफलता पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । नयाँ कामको थालनी हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

सि‌ंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली बिक्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक यात्रा हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान सम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । आत्मबल बढ्ने र प्रेममा सम्बन्धमा माधुर्यता छाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वादिष्ट भोजन पाइनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । वैदेशिक कार्य पनि सहजै हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज समय मध्यम खालको छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि नहोला । स्वास्थ्यमा एक्कासि खराबी आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथिको आगमन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

जसपा नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुनेछ ।

मंगलबारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारमा सहभागिताबारे निर्णय गर्ने भएको छ । जसपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा जाने वा नजाने विषयमा कुनै निर्णय गरिसकेको छैन ।

कार्यकारिणी समितिको बैठकले यो विषय टुंगो लगाउने जिम्मा राजनीतिक समितिलाई दिएको थियो ।त्यसबाहेक चुनावको समीक्षा, विधान अधिवेशन र दलहरूसँग एकताका लागि वार्ता समिति गठन लगायतका एजेण्डा पनि छन् ।

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनकाे आह्वान हुँदै

बुटवल । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रदेश राजधानी दाङको देउखुरीमा (आज) सोमबार बस्दैछ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश सभा सदस्यहरुले शपथ लिएको भोलिपल्ट प्रदेश सभाको अधिवेशन आह्वान गरिएको हो ।

प्रदेश सभाको नवनिर्मित भवनमा दिउँसो १ बजे सुरु हुने अधिवेशनमा सोमबार दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्वोधन गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले  सचिवहरुको बैठक बोलाए

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् । उनले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएका हुन् ।

सो बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रचण्डले सचिवहरुसँग छलफल गर्न लागेको यो पहिलो पटक हो । शपथ ग्रहण लगत्तै उनले आफ्नो कार्यकाल देश निर्माणमा खर्चिने बताएका थिए ।

देशभर अत्यधिक चिसो बढ्ने सम्भवना चहलपहल कम गर्न विज्ञहरूले सुझाव

आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन्। विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकूल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्। 

पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ। आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा शीतलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरूको सुझाव छ। 

पश्चिम बंगालमा सिर्जना भएको न्यूनचापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि बताए। उनले मर्निङ वाकमा सकेसम्म चिसोको वेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताए। 

जलवायुविज्ञ उप्रेतीले जनवरी, फेब्रुअरी र मार्चमा न्यूनतम तापक्रम औसतभन्दा तल हुने र वर्षा पनि कम हुने बताए। उनका अनुसार हिउँदमा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायुप्रदूषणमा पर्छ।न्यूनतम तापक्रम घट्दै जाँदा चिसो र शीतलहर बढाउने भएकाले जनवरी ४ सम्म देशको पश्चिमी भागमा यसको असर पर्ने भन्दै सचेत रहन आग्रह गरे। 

त्रिविले पोस्ट ग्र्याजुएट डिप्लोमा इन एजुकेसन’ को भर्ना नखोल्ने

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको शिक्षा सङ्कायले यो शैक्षिक सत्रमा पनि ‘पोस्ट ग्र्याजुएट डिप्लोमा इन एजुकेसन’ को भर्ना नखोल्ने भएको छ ।

त्रिविले एक वर्षे बीएड कार्यक्रम बन्द गरेर तीन सेमेस्टरको ‘पोस्ट ग्र्याजुएट डिप्लोमा इन एजुकेसन’ सुरु गर्ने गरी पाठ्यक्रम निर्माण गरिरहेको छ ।

शिक्षा शास्त्र संकायका डिन प्रा.डा. चित्रबहादुर बुढाथोकीले सेमेस्टर प्रणालीको पाठ्यक्रम निर्माण नसकिएका कारण यो शैक्षिक सत्रमा भर्ना खोल्ने सम्भावना कम रहेको बताए ।

पाठ्यक्रम निर्माण गर्ने विषय समिति अरू काममा लाग्नुपर्ने भएकाले ढिलाइ भएको डिन प्रा. डा. बुढाथोकीले बताए ।

त्रिविले २०७७ को चैतमा एक वर्षे बीएड कार्यक्रम बन्द गरेर सेमेस्टर प्रणालीमा ‘पोस्ट ग्र्याजुएट डिप्लोमा इन एजुकेसन’ सञ्चालन गर्ने सूचना निकालेको थियो । तर एक वर्षे बीएड बन्द गरेको दुई वर्ष भइसक्दा पनि सेमेस्टर प्रणालीको पाठ्यक्रम बनाउन नसक्दा विद्यार्थीहरू समस्यामा परेका हुन् ।

शिक्षाबाहेक अन्य सङ्कायबाट स्नातक उत्तीर्ण गरेर शिक्षण पेसामा लाग्न चाहने विद्यार्थीहरूले एक वर्षे बीएड उत्तीर्ण गर्नुपर्ने सरकारी नियम छ । त्रिविले भएको एक वर्षे बीएड कार्यक्रम बन्द गरेर अर्को विकल्प नदिँदा विद्यार्थीहरू समस्यामा परेका छन् ।

राष्ट्रपति हुने कुरा हल्ला मात्रै: माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीले तत्कालै नेकपा एमालेसँग एकता सम्भव नरहेको निष्कर्ष निकालेको छ।

शनिबारदेखि काठमाडौंमा जारी पार्टी स्थायी कमिटी बैठकमा एमालेसँगको एकताको विषयले प्रवेश नै नपाएको जानकारी उपमहासचिव गंगालाल तुलाधरले दिएका छन्।

एकताको हल्ला एमालेकै केही नेताहरुले चलाएको पनि उनले बताए। ‘एकताको कुरा एमालेका केही साथीहरुले चलाएको हल्ला मात्रै हो’, उनले भने, ‘एकता हुन्छ भन्ने कुरामा दुवै पक्षबाट कुनै पहल भएको छैन। केही नेताको रहरले एकता हुने होइन। नेताहरुबीच भेटघाट भएको हो। तर एकतालाई लिएर कुनै कुरा भएको छैन।’

तुलाधरले एमाले उपाध्यक्ष विष्णु पौडेलहरु यो सरकार बन्नुअघि एकताका लागि सक्रिय भएको स्वीकारे। ‘उहाँहरुसँग एकताका लागि सक्रिय हुनु भएको थियो। तर विष्णु पौडेलजी मन्त्री भइसकेपछि त्यस विषयमा सक्रिय हुनुहुन्न’, तुलाधरले भने, ‘अहिलेकै अवस्थामा हामी कसैसँग एकता हुने विश्वासमा छैनौँ। हामी अहिले पार्टी पुन:निर्माण अभियान छौँ। हाम्रो जोडबल पार्टीलाई बलियो बनाएर अघि बढ्ने हो।’

नेकपा माओवादी केन्द्रसँग एकता लागि गत भदौमै संयोजन समिति बनाउने निर्णय गरिए पनि त्यसले खासै गति नलिएको उनले बताए।

‘हामीले एक पटक एकताको पहल गरेको पनि हो। तर माओवादीबाट खासै गम्भीर कुरा आएन’, उनले भने, ‘अहिले हाम्रो लक्ष्य कुनै पद प्राप्तिभन्दा पार्टी बलियो बनाउने हो। हामी तत्कालै एकताको पक्षमा छैनौँ।

जनकपुरमाथि काठमाडौंको फराकिलो जित

काठमाडौँ — काठमाडौं नाइट्सले नेपाल टी–२० मा जनकपुर रोयल्समाथि आइतबार ९० रनले जित निकालेको छ । टीयू मैदानमा १ सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.१ ओभरमा अलआउट हुनु अगाडि ९० रन मात्र बनाउन सक्यो ।

त्यसमा प्रारम्भिक ब्याटनर अरफुदिन असरफको ३३ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । काठमाडौंका लागि अविनाश बोहराले चार तथा अजमतुल्लाहम उमरजाईले दुई विकेट लिए ।

त्यस अगाडि पहिले ब्याटिङ गरेको काठमाडौंले छ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । त्यसमा सुनाम गौतमले ४७ बलमा ६२ रन बनाए र उनी नै ‘प्लेयर अफ द म्याच’ रहे । यस्तै, रायन बर्लले ६१ रन बनाए र नटआउट रहे ।

नेप्सेमा आज दोहोरो अंकले सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार १७.२६ अंकले बढेर दुई हजार ४६ दशमलब २९ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ५६.८८ अंकले बढेर दुई हजार २९ दशमलब ३ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, आज कारोबार रकम पनि बढेको छ । आज चार अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा दुई अर्ब ८६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

आज कारोबार भएका कम्पनीमध्ये १२१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । श्रृजनशिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर १ हजार ९४१.६० रुपैयाँ पुगेको छ । साथै चार वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

आज सिद्धार्थ इक्विटी फण्डकोे शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंक लिमिटेडको भएको छ । यसको आज २२ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ ।                                

प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्।

आइतबार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले पानसमा दीप बालेर विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन्। यसअघि त्यस क्षेत्रमा हेलिकाेप्टरमार्फत पुष्पवृष्टि गरिएको थियो।

समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललगायतका विशिष्ट व्यक्तिसहित पोखरावासीको उत्साहजनक उपस्थिति रहेको छ।

कुमारी बैंक र एनसीसी बैंकको आजदेखि  एकिकृत कारोबार

कुमारी बैंकले नेपाल क्रेटिड एण्ड कमर्स (एनसिसी) लाई आफूमा गाभेर आजबाट एकीकृत कारोबार सुरू गरेको छ। मर्जरपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको हो।

दुबै बैंकको मंसिर २५ गते बसेको छुट्टाछुट्टै विशेष साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । नेपाल राष्ट्र बैंकले पुस ६ गते मर्जरमा जाने अन्तिम स्वीकृति दिएको थियो ।

मर्जरपछि बैंकको प्रधान कार्यालय अहिले कुमारी बैंक रहेको टंगाल कार्यालय नै कायम भएको बैंकले जनाएको छ ।
हाल एनसिसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ रुपैयाँ छ भने कुमारी बैंकको १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ छ ।

एकीकृत कारोबारपछि कम्पनीको चुक्ता पुँजी करिब २५ अर्ब ८४ करोड पुग्नेछ । बैंकको कुल निक्षेप ३ अर्ब ११ अर्ब ३४ करोड र ऋण २ खर्ब ७४ अर्ब ५५ करोड पुगेको छ ।

मर्जरपछिको प्रमुख कार्यकारी अधिकृतमा रमेश राज अर्याल रहने भएका छन् । उनी हाल एनसीसी बैंकका प्रमुख कार्यकारी हुन भने कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।