नयाँ वर्षको पहिलो दिनकाे सुनको मूल्य

काठमाडौं । आज अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन । यस दिन नेपाली बजारमा सुनको मूल्य एक लाख नाघेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार सात सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक् हजार दुई सय रुपैयाँ कायम गरिएको छ ।  

त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

यस्तो छ आजको तपाईंकाे राशिफल

पुस १७ गते आइतबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अवसर आउनाले मन प्रसन्न रहने र सफल यात्रा हुनेछ । सामाजिक काममा सफलता प्राप्त हुनेछ, तर चोटपटकको भय छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा निरासता आउन सकिनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । काममा बाधा आउनसक्छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आस्था बढेर जाने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । शत्रु पनि क्षय हुन सक्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर खानपिनमा भने ध्यान दिनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफन्तसँग भेटघाट हुने र सहयोग पाइनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सानातिना समस्यामा अल्झनुपर्नेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर धन हात पर्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । लाभदायक यात्रा हुनेछ र नयाँ कार्यको योजना बन्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज इष्टमित्रसँग भेटघाट हुनेछ । काम विशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति भने सचेत रहनु पर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यले साथ नदिन पनि सक्छ । खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धर्मकर्म तथा समाजसेवामा मन पनि लाग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं । हिजो (शनिबार) बिहान कपिलवस्तु, कृष्णनगर नगरपालिका–३ बाट करिब दुई ग्राम ब्राउनसुगरसहित सोही नगरपालिका बस्ने २२ वर्षीय राजेश परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले परियारमाथि शंका लागि जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो ।

त्यस्तै कैलाली, भजनी नगरपालिका–३ कुसुमघाटबाट खैरो हिरोईन जस्तो देखिने पदार्थसहित अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

४ सय ७० मिलिग्राम अवैध लागूऔषधसहित जानकी गाउँपालिका–२ खर्गुवार बस्ने २३ वर्षीय सुदीप चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच एकीकरणको पहल सुरु

काठमाडौँ । वाम एकताअन्तर्गत पहिलो चरणमा यी तीन दलबीच एकीकरण हुने त्यसपछि अन्य दलहरूको बीचमा एकीकरणका लागि पहल गर्ने बताइएको छ ।

यस विषयमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबिच विभिन्न चरणमा छलफल पनि भएको छ ।

जसपाका एक नेताले भने, ‘एकीकरणका लागि सकारात्मक वातावरण तयार भइरहेको छ, सरकार गठनलगायतका कार्यमा नेताहरू व्यस्त भएको कारण त्यसमा केही ढिलाइ भएको हो मन्त्रीपरिषद् विस्तार भएपछि त्यसको विषयमा गम्भीर छलफल हुन्छ ।’ पुस १५ गते नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबिच पनि पार्टी एकताको विषयमा छलफल भएको बताइएको छ ।

पार्टी एकीकरणका लागि तीनटै दल सकारात्मक देखिएका छन् । नेकपा (एकीकृत समाजवादी) को जारी बैठकमा पनि यो विषयले प्रवेश पाएको छ । बैठकमा एउटा कुनै दलसँग एकीकरण नगर्ने, वाम एकताका लागि छलफल गर्ने बहस चलाएको छ ।

जसपा नेपालअनुसार पार्टी एकताका लागि एकीकृत समाजवादीबाट नै पहिलो प्रस्ताव आएको हो । त्यसपछि जसपाका अध्यक्ष उपेन्द्र यादव सक्रिय भएर माओवादी केन्द्रसँग पनि एकीकरण गर्ने तयारीमा जुटेका छन् ।

जसपा नेपालले पार्टी एकीकरणका लागि छलफल गर्न एउटा वार्ता समिति बनाउने पनि निर्णय गरेको छ । राजनीतिक समितिको बैठकले सो समिति बनाउने भएको छ ।

जसपाका प्रवक्ता मनिष सुमनले माओवादी केन्द्र, वा कुनै विशेष दलसँग एकता गर्ने भन्दा पनि जुन दलसँग विचार र मुद्दा मिल्छ त्यो दलसँग एकता वा सहकार्यका लागि छलफल गर्न समिति बनाउन लागिएको बताए ।

उनले भने, ‘माओवादीसँग एकताको विषयमा मलाई कुनै जानकारी छैन, पार्टीमा त्यसको कुनै चर्चा पनि छैन ।’