यस्तो छ आज शुक्रबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज यात्राका योजना विफल हुनसक्छ । शैक्षिक क्षेत्र कमजोर नै रहनेछ तर आत्मबल बढाएर काम गरेमा सफलता मिल्नसक्छ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । शुभकार्यको योजना पनि बन्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमणीय र सुखद् यात्राको योग छ । नयाँ कामको योजना बन्नेछ । पारिवारिक जमघटमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मालसामान हराउन सक्छ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । घरायसी कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ । आत्मबल पनि बढ्नेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउ सकिनेछ । सामाजिक संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाइनेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रेममा सफलता पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान् तर साँझमा धन खर्च हुनेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) कीर्तिमानी काम गर्ने समय छ । वाक्चातुर्यले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ कार्यको योजना बन्ला र शुभकार्यको चर्चा चल्नेछ ।

सुपरमाई हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने

काठमाडौँ। सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने पाँच करोड रुपैयाँ बराबरको पाँच लाख कित्ता आईपीओ निष्कासन गर्ने निर्णय गरेको थियो । कम्पनीले २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । त्यस्तै १० हजार कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । बाँकी चार लाख १५ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ खरिदका लागि माघ २३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा निष्कासन अवधि फागुन ८ गतेसम्म लम्बिने बताइएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । साथै लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर एपमार्फत पनि आईपीओमा आवेदन गर्न सक्नेछन् ।

कम्पनीले ७.८ मेगावाटको सुपरमाई हाइड्रोपावर आयोजना निर्माण गरेको हो । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत सुरक्षित रहेको संकेत गर्छ ।

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने

काठमाडौँ । यसअघि माघ ११ गते सर्वोच्चको संवैधानिक इजलासले यो मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीलाई अहिलेसम्म नबुझाएको बहसका क्रममा वकिलहरूले उठाएका थिए।

दुवैतर्फका वकिलहरूका बहस सकिएपछि यो मुद्दामा आजै सर्वोच्चले निर्णय दिन सक्ने सम्भावना छ।

लामिछानेविरुद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन गत मंसिर २८ गते रिट दायर भएको थियो। तर पुस ६ मा बसेको संवैधानिक इजलासले लामिछानेको नागरिकता र पासपोर्ट विवादबारेको मुद्दामा अन्तरिम आदेश नदिएपछि शपथ लिने बाटो खुलेको थियो।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ।

साथै अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ।

राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिई राहदानी लिन नहुने उल्लेख छ। यदि लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

विदेशी नागरिकता त्याग्नुभन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ।

लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका थिए। यस विषयमा निर्वाचन आयोगमा पनि उनीविरूद्ध उजुरी परेको थियो। आयोगले स्पष्टीकरण सोध्दासम्म मतदान भइसकेको थियो। त्यसपछि उनीविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो।

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य प्रमुखसहित ३ जनाविरुद्ध मुद्दा दायर 

काठमाडौँ ।  झुट्टा बिल भरपाई तयार गरी भुक्तानी लिन-दिने गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख अङ्गद बहादुर शाही र तत्कालीन स्टोर किपरसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

स्वास्थ्य प्रमुख शाही र स्टोरकिपर गोविन्द खनालले फार्मेसीबाट युटुलिटि ग्लोभ्स समेतका मेडिकल सामग्रीहरू खरिद नै नगरेको अवस्थामा  खरिद गरेको झुट्टा बिल भरपाई कागजातहरू तयार गरी भुक्तानी लिन-दिने गरेको अख्तियारको ठहर छ ।  

यसैगरी बाँकेको डुडुवा गाउँ कार्यपालिकाको कार्यालयमा सी.अ.हे.व. छैटौँ पदमा कार्यरत सिताराम चौधरीले सञ्चालनमा नै नरहेको फार्मेसी सञ्चालनमा रहेको भनी अनधिकार तरिकाले अरु व्यक्तिले नै अन्यत्र सञ्चालन गरेको फार्मेसीबाट औषधि खरिद गरेको झुट्टा बिल उपलब्ध गराएको आरोपमा प्रतिवादीहरू अङ्गद बहादुर शाही र गोविन्द खनालले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसूरमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २३१ जनाको नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार ५ जना संक्रमणमुक्त भएका छन् भने देशभर १४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रेमप्रसाद आचार्यका परिवारले शव बुझ्न अस्विकार

काठमाडौं । मंगलबार संसद भवन अगाडी आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका परिवारले शव बुझ्न अस्विकार गरेका छन् ।

परिवारले बिभिन्न माग राख्दै माग पुरा नहुँदासम्म शव नबुझ्ने अडान राखेका हुन् । उनीहरुले आचार्यले उठाएका मागहरुको उम्बोधन गर्न, आचार्यलाई आत्मदाह गर्न बाध्य पार्नेलाई कानुनी कारबाही गर्न, मृतकको ६० लाख कृषि लोन मिनाह हुनुपर्ने, मृतकको छोरीहरुको पठनपाठनको व्यवस्था गर्नुपर्ने, आचार्यलाई किसान/व्यवसायी सहिद घोषणा गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम तथा स।ल कर्जा उपलब्ध गराउन, एक किसान र कृषि उपजलाई बिना अबरोध र नगतमा नै कारोबार हुने व्यवस्था मिलाउनुपर्ने लगायतका माग राखेका छन् ।

आचार्यको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।

आत्मदाहको प्रयास गरेका आचार्यको उपचारको क्रममा क्रितिपुर स्थित बर्न अस्पतालमा निधनको भएको थियो ।

राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने: नेपाली काँग्रेसका महामन्त्री गगन

काठमाडौँ । नेपाली काँग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको भन्दै निर्धारित समयमै उक्त चुनाव हुनुपर्ने धारणा राखे । 

संविधान र निर्वाचन कानून बाझिएकाले समय धकेल्ने प्रयास भइरहेको भन्दै थापाले भने, “राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ । यो बेलामा नेपाली काँग्रेसले आफ्नो उम्मेदवारलाई जिताउन प्रयास गर्छ ।”

पार्टीले राष्ट्रपतिको उम्मेदवारबारे केही दिनभित्र निर्णय गर्ने बताउँदै थापाले सोही उम्मेदवारलाई जिताउन सबै पार्टीसँग आह्वान गरिने बताए । “खासगरी नेकपा (माओवादी) केन्द्रले कांग्रेसको उम्मेदवारलाई मत हाल्ने अपेक्षा हाम्रो हो, किनभने पुष्पकमल दाहाल गोरखाबाट जितेर आउँदै गर्दा त्यहाँ कांग्रेसको मत परेको छ । म काठमाडौँमा विजयी हुँदा त्यहाँ माओवादीको मत परेको छ ।”

महामन्त्री थापाले पाँच वर्षका निम्ति मत मागेर आएको बताउँदै अहिले विभिन्न बहाना बनाएर जनताको मतलाई दुरुपयोग गर्न नपाइने उल्लेख गरे । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिइसकेपछि राष्ट्रपति पद नेपाली कांग्रेसको उम्मेदवारलाई दिनुपर्ने भन्दै थापाले भने, “त्यसो भयो भने राजनीतिमा सन्तुलन ल्याउँछ” ।

माओवादी केन्द्रले सापकोटालाई उपाध्यक्ष बनाउने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने तयारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सापकोटालाई उपाध्यक्ष बनाउने भएपछि जारी स्थायी समिति बैठकमा सहभागी भएका छन् । अहिले माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ ।

अहिले माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरात छन् । नेता सापकोटालाई उपाध्यक्षसहित प्रवक्ताको जिम्मेवारी दिने तयारी रहेको एक नेताले बताएका छन् । उनका अनुसार सम्भवतः आजैको बैठकले सो जिम्मेवारी दिनेछ ।

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

बागलुङ । १७ वर्षीया र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजनालाई  प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा ढोरपाटन नगरपालिका-७ बोबाङ बस्ने २२ वर्षीय आयुष बिक र २१ वर्षीय जीवन विक रहेका छन् । 

आयुषले आफ्नै घरमा १६ वर्षीया किशोरीलाई मंगलबार राति जबरजस्ती करणी गरेको र जीवनले आयुषकै घरमा माघ ४ गते राति १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब १३ करोड: प्रतिव्यक्तिमा भाग लगाउदा

 काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिना अर्थात मंसिरसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मंसिर मसान्तसम्म सार्वजनिक ऋण आन्तरिक र वाह्य गरी उक्त रकम बराबर  पुगेको हो । यो असार मसान्त अर्थात् अघिल्लो आर्थिक वर्ष २०७८/७९ को (गत असारसम्मको) तुलनामा भने ७ अर्ब रुपैयाँ कम हो ।

असार मसान्तसम्म सार्वजनिक ऋण २० खर्ब १३ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । मंसिरसम्मको तथ्यांक अनुसार नेपालको  सार्वजनिक ऋण प्रतिव्यक्तिमा भाग लगाउने हाे भने  ६८ हजार ७५५ रुपैयाँ पर्न आउँछ । यो कुल सार्वजनिक ऋणलाई २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसारको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० ले भाग गर्दा आएको नतिजा हो ।

यो बजेटका लागि स्रोत व्यवस्थापन गर्ने माध्यमका रुपमा २ खर्ब ४२ अर्ब २६ करोड वैदेशिक ऋण र २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य छ । तर, मंसिर मसान्तसम्म २९ अर्ब ५७ करोड बाह्य ऋण र १७ अर्ब ५० करोड आन्तरिक ऋण उठेको छ । यसर मंसिरसम्म सरकारले कुल ४७ अर्ब ७ करोड रुपैयाँ थप ऋण लिएको छ ।

८५ अर्ब ३९ करोड भुक्तानी

मंसिरसम्म सरकारले सावाँ र ब्याजमा झण्डै पौने खर्ब रुपैयाँ भुक्तानी गरेको छ । सरकारले लिएको ऋणको तुलनामा भुक्तानी रकम धेरै हुँदा समेत कुल सार्वजनिक ऋण भने घटेको देखिएको हो ।

अर्थ मन्त्रालयका अनुसार मंसिर मसान्तसम्म सरकारले ५३ अर्ब २४ करोड रुपैयाँ सावाँ भुक्तानी गरेको छ । यसै अवधिमा ३२ अर्ब १५ करोड रुपैयाँ बराबर ब्याज भुक्तानी भएको छ । यो बाहृय र आन्तरिक दुबै ऋणमा भएको भुक्तानी हो ।

वैदेशिक सहायता प्रतिवद्धता भने उत्साहजनक

यस आर्थिक वर्षको पहिलो ५ महिनामा वैदेशिक सहायता प्रतिवद्धता भने उत्साहजनक देखिएको छ । मंसिरसम्म १ खर्ब ९ अर्ब ४ करोड रुपैयाँ बराबरको भएको छ । यसमा ऋणको हिस्सा ८०.२४ प्रतिशत छ । अनुदान सहायता प्रतिवद्धताको हिस्सा १९.७६ प्रतिशत रहेको छ । समीक्षा अवधिमा अघिल्लो आवमा वैदेशिक सहायता प्रतिवद्धता ६४ अर्ब १५ करोड रुपैयाँ मात्र थियो । त्यसमा ऋणको हिस्सा ८९.३ प्रतिशत र अनुदानको हिस्सा १०.७ प्रतिशत रहेको थियो ।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार सहायता प्रतिवद्धता प्राप्तिमा बदल्न आयोजना कार्यान्वयनको गति बढाउनु पर्ने हुन्छ । त्यसमा पनि अनुदान सहायतामा अगाडि बढेका आयोजनालाई बीना उल्झन तीव्रता दिनु पर्ने उनको भनाई छ । ऋण सहायतामा सञ्चालित आयोजनाको कार्यान्वयन सुनिश्चितता अनुदानमा सञ्चालित आयोजनाको तुलनामा धेरै हुन्छ ।

सबैभन्दा धेरै प्रतिवद्धता विश्व बैंक समूहबाट

पहिलो ५ महिनामा सबैभन्दा बढी वैदेशिक सहायता प्रतिवद्धता विश्व बैंकबाट भएको छ । अर्थ मन्त्रालयका अनुसार मंसिरसम्म विश्व बैंक समूहबाट ६०.१ प्रतिशत हिस्सा ओगट्ने रकम बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको देखिएको छ ।

जापानबाट १५.२ प्रतिशत, एसियाली विकास बैंकबाट ९.४ प्रतिशत, यूरोपेली यूनियनबाट ३.१ प्रतिशत र बेलायतबाट ४.८ प्रतिशत वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ । अन्य विकास साझेदार मुलुकबाट ७.४ प्रतिशत वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कुन क्षेत्रमा कति वैदेशिक सहायता प्रतिवद्धता ?

  • सडक : ३२ प्रतिशत
  • सूचना प्रविधि १७ प्रतिशत
  • उर्जा : १३ प्रतिशत
  • वन तथा वातावरण : १२ प्रतिशत
  • कृषि : ९ प्रतिशत
  • शिक्षा : ६ प्रतिशत
  • शान्ति र न्याय : ५ प्रतिशत
  • महिला विकास/सिंचाई : २/२ प्रतिशत
  • रोजगारी/ खानेपानी तथा सरसफाई : १/१ प्रतिशत

१६ दिनपछि गण्डकीको मन्त्रिपरिषदले पायो पूर्णता

गत २५ पुसमा गण्डकी प्रदेशमा तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका खगराज अधिकारीको नेतृत्वको सरकारले १६ दिनपछि पूर्णता पाएको हो । संघीयतामा प्रदेश सरकारप्रति प्रश्न उठेका बेला गण्डकी प्रदेशमा भने खर्च कटौंती गर्न तीन दलका मुख्यमन्त्रीसहित १२ मन्त्रालयबाट घटाएर सात मन्त्रालयमा टुग्याइएको छ ।

मुख्यमन्त्री अधिकारीको नेतृत्वमा सोमबार पाँच मन्त्रालय घटाएर मन्त्रिपरिषद् टुंगाउने तयारी गरे पनि दलहरूलाई मन्त्रालय बाँडफाटमा टुंगो लगाउन नसके पछि उनी काठमाडौं हानिँदै प्रधामन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर मंगलबार पोखरा फर्किएसँंगै साँझ मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीमा तनहुँका हरिबहादुर चुमान नियुक्त भएका छन् । त्यसैगरी अन्य मन्त्रीमा आर्थिक मामिला मन्त्रीमा स्याङ्जाकी सीताकुमारी सुन्दास, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा स्याङजाका पन्चराम गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नवलपुरका रोशनबहादुर गाहा, कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रीमा कास्कीका वेदबहादुर गुरुङ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा म्याग्दीका रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् । मंगलबार मन्त्रीहरू नियुक्ति भएसँंगै गण्डकी प्रदेश प्रमुख पृथ्बीमान गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

नेप्सेमा झिनो अंकले गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार झिनो अंकले घटेको छ । आज नेप्से ०.३५ अंकले घटेर दुई हजार एक सय ८३ दशमलब २७ विन्दुमा बन्द भएको हो ।    

त्यस्तै, आज दुई अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था र सुर्यज्योती लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा उच्च वृद्धि भएको हो । 

आज समृद्धि फाइनान्स कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी समृद्धि फाइनान्स कम्पनीको भएको छ । यसको आज ९ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ ।                                 

बुधबार इन्स्योरेन्स र हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढी देखिन्छ। यस दिन नीर्जिवन बीमा उपसमूहको सूचक १.४९ प्रतिशतले बढेको छ भने जीवन बीमा उपसमूहको सूचक १.२७ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक ०.८१ प्रतिशतले बढेको छ। यस दिन कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

बिहीबार लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त र बाराही हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सूर्य ज्योति लाइफ इन्स्योरेन्सको पनि ९.९८ प्रतिशतले बढेको छ।

यता समृद्धि फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ७.६७ प्रतिशतले घटेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको ४.५० प्रतिशत, ग्रिन भेन्चर्सको ४.५० प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ४.५० प्रतिशतले घटेको छ।

बिहीबार समृद्धि फाइनान्सको सबैभन्दा धेरै ९ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने रिडि हाइड्रोपावरको ८ करोड ६१ लाख, आँखुखोला हाइड्रोपावरको ७ करोड ३८ लाख र नेपाल लाइफको ६ करोड ६७ लाख रुपैयााको शेयर कारोबार भएको छ।

राहदानी विभागले सेवाग्राहीको भीड घटाउन कार्य योजना बनाउँदै

काठमाडौँ । राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भीड घटाउन कार्य योजना बनाउने तयारी गरिएको विभागले जनाएको छ।

विभागमा सधैँ सेवाग्राहीको भीड बढ्दै जान थालेका कारण घटाउन कार्य योजना बनाएर कार्यान्वयन गर्ने तयारी भइरहेको विभागका निर्देशक तथा प्रवक्ता दुरुपदा सापकोटाले बताइन्।

उनले भनिन्,’सेवाग्राहीको घण्टौँ लामो लाइन तथा भिड घटाउन कार्य योजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेका छौँ तर कस्तो किसिमको कार्य योजना बनाउने त्यस विषयमा गृहकार्य हुँदैछ।’

कार्य योजनाको खाका छलफलकै क्रममा रहेको र यसको जिम्मेवार सबै निकायबाट पारित भएपछि कार्यान्वयन हुने प्रवक्ता सापकोटाको भनाइ छ।

राहदानी विभागमा अबका दुईरतीन महिनामा देखिने गरी सुधार हुने उनको दाबी छ। विभागको सफ्टवेयरमा आउने समस्यादेखि अन्य विविध कारणले सेवाग्राही घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै रहेको सेवाग्राहीको गुनासो छ।

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा आजदेखि सुरु

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षा आजदेखि सुरु भएको छ। परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक  सूचना तथा संचार प्रविधि केन्द्र, ललितपुरमा हुने काउन्सिले जनाएको छ। 

पूर्व प्रकाशित सूचना अनुसार परीक्षाको मिति २०७९ माघ १२ देखि १४ गते भनिएको भएता पनि परीक्षा २०७९ माघ १२ देखि १५ गते सम्म हुने काउन्सिले जनाएको छ। 

प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

दुई नेताहरुबीच पछिल्लो समसामयिक राजनीति, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, प्रदेशका सरकारलाई पूर्णतालगायतका समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रचण्ड प्रधानमन्त्री हुनु भएपछि ओली पटकपटक बालुवाटार पुग्नु भएको छ ।