७० अङ्क ल्याए लाइसेन्सको ‘ट्रायल पास’ हुने प्रणाली लागू

हेटौँडा । यसअघि पटक–पटक रोकिँदै आएको ७० अङ्क ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली फागुन १ गतेदेखि लागू हुने भएको हो।

बागमती प्रदेशमा फागुन १ गतेदेखि ७० अङ्क ल्याए सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को ‘ट्रायल पास’ हुने प्रणाली लागू हुने भएको छ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा सो प्रणाली लागू गर्नको लागि श्रम,रोजगार तथा यातायात मन्त्रालयलाई अख्तियारी दिइसकेका छन्। उनले फागुन १ गतेदेखि प्रदेशको उपत्यकाको जिल्लाहरूबाट ७० अङ्क ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली लागू गर्न यातायात मन्त्रालयलाई निर्देशन दिएका हुन्।

उनले भने, ‘यसअघि ट्रायल सेन्टरका सञ्चालकले नै अहिले सक्दैनौँ भनेको भएर रोकिएको थियो। अहिले उहाँहरूले नै सक्छौँ भनेपछि हामीले यसलाई लागू गर्ने तयारी गरेका छौँ । यसअघिको सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले लागू गर्न खोजे पनि मुख्यमन्त्री राजेन्द्र पाण्डेले हस्तक्षेप गर्दा लागू हुन सकेको थिएन। उनले ३ पटकसम्म उक्त प्रणाली लागू गर्ने तयारी गरेका थिए।

यस्तो छ प्रक्रिया
यो प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १०० तोकिएको छ। त्यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थी अनुमति पत्रका लागि योग्य मानिनेछन्। प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि रोमन अङ्क ८ (एट) को अंकभार २० तोकिएको छ। दुई पटकसम्म अङ्कित रेखा छोएमा प्रत्येक पटक ५ अङ्कको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन। दुई पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरै पटक खुट्टाले भुईँ टेके, ठिक दिशाबाट वा ठिक तरिकाबाट ८ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था गरिएको छ।

साँघुरो फलेकको अंकभार १० तोकिएको छ। साँघुरो फलेकमा खुट्टाले भुईँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नु अगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन्। निर्देशिकामा यु–टर्नको अंकभार १० तोकिएको छ। ‘टर्निङ लाइट’ नबालेको खण्डमा १० अङ्क घटाइनेछ। त्यस्तो अवस्थामा पनि अङ्कित रेखा छोए भने अनुत्तीर्ण हुनेछन्। ट्राफिक सङ्केतका लागि १५ अंकभार तोकिएको छ। ट्राफिक सङ्केत पालना नगरेको खण्डमा १५ अङ्क घटाइनेछ। निर्देशिकामा उबडखाबडको अंकभार १५ तोकिएको छ। एक पटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ। एक पटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन्।

त्यसै गरी उकालो (र्‍याप) को अंकभार २० तोकिएको छ। त्यसै गरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनलाई १० अंकभार तोकिएको छ। कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार १०० तोकिएको छ। जसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ।

निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो ८ (एट) को अंकभार २० तोकिएको छ। दुई पटकसम्म अङ्कित रेखा छोए प्रत्येक पटक ५ अङ्कको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन। दुई पटकभन्दा बढी अङ्कित रेखा छोए, सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गए, ठिक दिशाबाट वा ठिक तरिकाबाट ८ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ।

निर्देशिकामा ट्राफिक सङ्केतको अंकभार १५ तोकिएको छ। पालना नगरे १५ अङ्क घट्ने प्रावधान राखिएको छ। त्यसै गरी यु–टर्नको अंकभार १० तोकिएको छ। टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ। अङ्कित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन्। चार पाङ्ग्रे सवारी चालकलाई र्‍याम (उकालो)का लागि अंकभार १५ तोकिएको छ। तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एक पटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ।

टर्कीमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ७ सय नाघ्यो

काठमाडौँ – टर्कीको भूकम्पका कारण तीन हजार ७०० जनाभन्दा धेरैको ज्यान गएको छ । सोमबार गएको भूकम्पमा परी अहिलेसम्म टर्कीमा दुई हजार ३०० जना र सिरियामा एक हजार ४४४ जना गरी तीन हजार ७४४ जनाको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

टर्कीमा हिजो बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि पनि निरन्तर कयौँ परकम्प गइरहेको अन्तर्राष्टंरिय सन्चार माध्यमहरूले जनाएका छन् । 

टर्कीमा मात्रै १४ हजारभन्दा धेरै घाइतेको उपचार भइरहेको र सिरियामा पनि कयौँ घाइते भएका बीबीसीले जनाएको छ । टर्कीमा सोमबार बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

हिजो बिहानको भूकम्पपछि कयौँ परकम्प गइरहेका छन् । रातभर पनि खोजी तथा उद्धारको काम भएको छ । लाखौँ मानिस घरबारविहीन भएका छन् । विस्थापितहरूलाई कठ्याङ्ग्रिँदो चिसोले समस्या थपेको छ।

यसैबीच भूकम्पका कारण भत्किएका संरचनामा फसेकाहरूको खोजी तथा उद्धारका लागि विश्वका विभिन्न देशबाट विशेषज्ञ टोली पुग्ने क्रम सुरु भएको छ ।

अहिले धेरैले उद्धार विशेषज्ञ, डाक्टर, उपकरण र विशेष तालिम प्राप्त कुकुरहरू पठाइरहेका छन् । युरोपेली सङ्घ, बेलायत, फ्रान्स, रुमेनिया, जर्मनी, हङ्गेरी, ग्रिस लगायतका देशबाट उद्धार टोली पुग्ने क्रम सुरु भएको छ ।

भुमि मन्त्रालय र बिश्वबिधालय बीच सहकार्य

काठमाडौ । भूमी प्रशासनका प्राज्ञिक बिधामा काठमाडौ बिश्वबिद्यालय सङ्ग सहकार्य मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको सक्रियता हुन लागेको समाचार जानकारीमा आएको छ।

सचिब रेग्मीका अनुसार भूमी ब्यबस्था , सहकारी तथा गरिबी निबारण मन्त्रालयले भूमी प्रशासन का विभिन्न बिधाहरुमा अनुसन्धान ,जनशक्ती उत्पादन तथा नवीन अबधारणाको प्रयोगमा काठमाण्डौ विश्वविद्यालय सङ्ग सहकार्य बढाउने भएको हो ।

मन्त्रालय र बिश्वबिद्यालयका उच्च पदधिकारीहरुको भेटमा सो कुरा भएको बताइएको छ। सो अबसरमा मन्त्री राजेन्द्र कुमार राइले भूमी प्रशासनका बिसयमा अध्यन अनुसन्धान गर्नु आबश्यक छ, यसमा काठमाण्डौ विश्व बिद्यालयको सहयोग आबश्यक रहेको कुरा बताउनुभएको थियो ।

मन्त्रालयका सचिब डा रेग्मीले हाल यस विश्व बिद्यालयबाट मन्त्रालयको सहकार्यमा जियोमेटृक इन्जिनियरिङ्ग बिषयमा पढाइ भैरहेकोमा भूमी प्रशासन बहु बिधायुक्त क्षेत्र भएकोले अन्य बिधाहरुमा समेत सहकार्यको सम्भावना रहेको बताए। विश्व बिद्यालयका उपकुलपती भोला थापाले मन्त्रालय सङ्ग सहकार्य गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा सह्कार्य गर्न इच्छुक रहेको ब्स्ताए।

रजिस्ट्रार अच्युत वाग्लेले प्रागिक सस्था र सरकारबिच निरन्तर सहकार्य आबश्यक रहेको बताए। भूमी ब्यस्थापनको कार्य विभिन्न बिधाहरु सङ्ग सम्बन्धित रहेकोले अब यी बिधाहरु सम्मृद्ध हुँदै भूमी प्रशासन सेवाग्राही मैत्री बनाउन यस्ता कार्यहरु गर्न लागिएको मन्त्रालयले जनाएको छ।

३ विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

सो प्रस्तावमाथि सांसद खिमलाल देवकोटाले यो विधेयक सकारात्मक रहेको बताउँदै स्थानीय र प्रदेश सरकारको भूमिकासमेत यसमा स्पष्ट हुनुपर्ने बताए । उनले सबै प्रकारका आयोजनालाई प्रभावकारी बनाउन तीनवटै तहका सरकारकातर्फबाट अनुगमन गर्ने व्यवस्था गर्नुपर्ने र विधेयकमा यससम्बन्धी प्रावधान राख्नुपर्नेमा जोड दिए ।

सांसद देवकोटाले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले विकास आयोजनाको प्रभावकारी अनुगमन र मूल्याङ्कन हुन नसक्दा अपेक्षित लाभ हुन नसकेका सन्दर्भमा आम चासोलाई सम्बोधन गर्दै सरकारले यस विधेयकलाई अगाडि बढाइएको बताइन् ।

यस्तै बैठकले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ सर्व सहमतिले पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको तर्फबाट मन्त्री शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् । आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ सर्वसम्मतिले पारित गरेको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् ।

काठमाडौँ महानगरमा ५ विभागीय प्रमुख हेरफेर

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा ५ जना विभागीय प्रमुखहरूको हेरफेर भएका छन् । महानगरका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार राजस्व विभागका प्रमुख डा.शिवराज अधिकारी खरिद इकाईमा सरुवा भएका छन् भने खरिदका ध्रुव काफ्ले राजस्व विभागमा गएका छन् ।

यस्तै कृषि तथा वातावरण विभागकी उपनिर्देशक सरिता राई प्रशासन विभागमा सरुवा भएकी छिन् भने उनको ठाउँमा विपद् व्यवस्थापन विभागका रवीनमान श्रेष्ठ सरुवा भएका छन् । यस्तै प्रशासन विभागका निर्देशक नवराज थापा विपदमा सरुवा भएका छन् ।

नवौँ तहको कर्मचारीहरूको २ वर्ष भन्दा धेरै समयसम्म एकै स्थानमा बसिसकेकोले विभागीय प्रमुखहरूको सरुवा गरिएको उनले बताए ।

नेप्सेमा सामान्य अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको दोस्रो दिन आज नेप्से ४.५७ अंकले बढेर दुई हजार एक सय दशमलव ६५ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको । आज नेप्सेमा एक अर्ब ४७ करोड ४१ लाख बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ९३ करोड १७ लाख बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये १०४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।      

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता दुई हजार ३३३ दशमलव ८० रुपैयाँ पुगेको छ । यस दिन सो लघुवित्तको शेयरमूल्य २१२ रुपैयाँ १० पैसा बढेर २ हजार ३३३ रुपैयाँ ८० पैसा पुगेको छ। त्यसैगरी, यस दिन महुली लघुवित्तको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ भने युनिभर्सल पावर र सिभिल लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लक्ष्मी बैंकको ८.५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रको मूल्य यस दिन सर्वाधिक ९.५८ प्रतिशत घटेको छ।

आज लक्ष्मी बैंक डिबेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंकको भएको छ । यसको आज ६ करोड ४५ लाखभन्दा बढीको कारोबार भएको छ ।    

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ६ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, युनिभर्सल पावर कम्पनीको यस दिन ५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशत बढेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ०.८२ प्रतिशत घटेको छ।

                            

नागरिकता विधेयक अगाडि बढाउँदै सरकार

काठमाडौँ- सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकहरूलाई संसद्‌मा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा प्रस्तुत गर्ने विधेयकहरूका बारेमा छलफल गर्न सोमबार बोलाएका बैठकमा विभिन्न विधेयकहरूलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो । 

व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरूसँग भएको छलफलमा विकास, सुशासन, संक्रमणकालीन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरू सदनमा लगिनेछ । 

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै ६ महिनाभित्र नागरिकता कानुन बनाउने बाचा गरेका थिए ।

जनसरोकारसँग प्रत्यक्ष जोडिएका, सुशासन र विकासका लागि आवश्यक कानुन निर्माणका लागि सरकारले सदनमा छलफलका लागि विधेयक प्रस्तुत गर्ने विषयमा आज छलफल भएको थियो ।

सुपर मादी हाइड्रोपावरकाे आईपीओ बाँडफाँट कसले कतिकित्ता पाए

माघ २३ गते सोमबार, सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यका १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो आईपीओमा परेका कुल आवेदनमध्ये १२ लाख ९८ हजार ६९३ आवेदकबाट १ करोड ४४ लाख ४६ हजार ५६० कित्ताका लागि स्वीकृत आवेदन परेको थियो। सोमध्ये १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित भएकी छिन्। कांग्रेससहित विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिएकाले सत्तागठबन्धनकी साझा उम्मेदवार बनेकी अर्याल सर्वसम्मत निर्वाचित भएकी हुन्।

सोमबारको बैठकमा सभाका अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाकी माननीय सदस्य उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

अर्यालले नारायणकाजी श्रेष्ठको प्रस्ताव तथा देवेन्द्र दाहाल र खिमलाल देवकोटाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन्।

यस्तो छ अर्यालको राजनीतिक यात्र
बिस २०१३ साल असोज २० गते पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा जन्मिएको अर्यालको हालको ठेगाना विरगञ्ज महानगरपालिका– २३, गण्डक चोक रहेको छ । उनी हाल काठमाडौँको बूढानीलकण्ठ–४, रुद्रेश्वरमा बस्दै आएकी छन् । उनका श्रीमान् डा. यमबहादुर थापा हुन् भन् अर्यालका एक/एक छोरा र छोरी छन् । 

शिक्षा
१. विद्यावारिधि (विद्यार्थी)– राजनीतिक समाजशास्त्र, रिम्टस् विश्वविद्यालय पञ्जाव, भारत
२. एम.ए. समाजशास्त्र, जुलाई २०१३,  इन्दिरा गान्धी विश्वविद्यालय, भारत
३. Continuing Education Course University of Massachusetts,
Amherst, Massachusetts USA 01003-3260 July 1994
ईमेल : urmila.aryal@hotmail.com 

राजनीतिमा प्रवेश
वि.सं. २०२६ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश ।
वि.सं. २०३५ सालमा कम्युनिष्ट पार्टीको संगठित सदस्यता प्राप्त ।

राजनीतिक जिम्मेवारी :
२०३५ साल चैत्रमा तत्कालीन नेकपा चौम जिल्ला कमिटी सदस्य ।
२०३६ सालमा तत्कालीन चौम अन्तर्गत अनेम संघको केन्द्रीय सम्मेलन आयोजक कमिटी सदस्य ।
२०३६ सालमा ठाकुरराम बहुमुखी क्याम्पस स्ववियू उपसभापतिमा निर्वाचित ।
२०३८ सालमा तत्कालीन चौम अन्तर्गत अयोध्यामा भएको अनेम संघको पहिलो राष्ट्रिय सम्मेलनबाट पहिलो केन्द्रीय अध्यक्ष पदमा निर्वाचित ।

२०३८ सालमा अखिल भारत नेपाली एकता समाजको राष्ट्रिय सम्मेलनको अध्यक्षता ।
२०३८ सालमा शान्ति क्षेत्र प्रस्तावको औचित्यबारे अखिल भारत नेपाल विद्यार्थी संघद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन दिल्लीमा अध्यक्षता ।

२०४६ सालमा नेकपा एमालेमा प्रवेश ।
२०५० सालमा नेकपा एमाले पर्सा जिल्ला कमिटी सदस्यमा निर्वाचित । सोही वर्ष राजविराजमा सम्पन्न अखिल नेपाल किसान संघको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित । 
२०४८ र २०५१ मा पर्सा जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रत्यासी भई उपविजेता । 
२०५१ सालमा नेपाल कोल लिमिटेडको अध्यक्षको जिम्मेवारी वहन ।
२०५६ सालमा पर्सा जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित ।
२०५९ माघको सातौं महाधिवेशनबाट नेकपा (एमाले)को वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित ।

२०५८ देखि २०६३ सालसम्म Rural and indigenous women taskforce of asia pacific forum on women law and development को स्टेरिङ कमिटी सदस्य
२०६३ चैत्र १० देखि २०६४ ज्येष्ठ १० गतेसम्म नेपाल सरकारको महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री ।

२०६५ सालमा वुटवलमा सम्पन्न आठौं महाधिवेशनवाट नेकपा (एमाले)को केन्द्रीय सदस्य तथा पोलिटव्यूरो सदस्यमा निर्वाचित ।

सन् २००९ नोभेम्वरमा Workers’ Party of Bangladesh को आठौं महाधिवेशनमा नेपालको तर्फबाट प्रतिनिधित्व गरी नेकपा एमालेको तर्फबाट शुभकामना सन्देश सम्प्रेषण गरेको ।
२०६४ सालदेखि महिला लोकतान्त्रिक सञ्जालको केन्द्रीय अध्यक्ष ।

२०६७ चैत्रदेखि २०६८ भाद्र ११ गतेसम्म नेपाल सरकारको स्थानीय विकास मन्त्री ।
विभिन्न समयमा नेकपा (एमाले) पार्टी स्कूल विभाग, महिला विभाग, कृषि विभागको जिम्मेवारीका साथै निर्वाचन विभाग र समावेशीकरण तथा सामाजिक सुरक्षा विभागको प्रमुख भई जिम्मेवारी निर्वाह गरेको ।
२०७० ज्येष्ठ ४ गते एकीकृत नेकपा (माओवादी)मा प्रवेश । हाल पार्टीमा स्थायी कमिटी सदस्य ।
२०७८ माघ १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित ।

पार्टी तथा सरकारको प्रतिनिधि भई गरेका विदेश भ्रमण : चीन, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, किर्गिस्तान, फिलिपिन्स, थाइल्याण्ड, इन्डोनेसिया, अमेरिका, फ्रान्स, स्पेन, स्वीटजरल्याण्ड आदि ।

राजीनामा दिएका मन्त्रीहरू दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने

कठमाडौं । आइतबार राजीनामा दिएका मन्त्रीहरूले पत्रकार सम्मेलन गर्ने भएका छन् । उनीहरूले दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेको रास्वपाले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन आयोजना गरिएको छ । उक्त सम्मेलनमा आफूले मन्त्रालय सम्हालेको कार्यकालका उपलब्धिहरूका बारेमा जानकारी गराइने बताइएको छ ।

रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी डा.तोसिमा कार्कीले आइतबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए ।

यस्तो छ माघ २३ गतेको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समाजमा हितको लागि लाभदायक छलफल हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउला । शुभ कार्यको चर्चा पनि चल्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ कार्यको योजना बन्ने वा प्राप्ति हुनेछ । सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । भूमिबाट पनि लाभ नै रहला ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र माइलो यात्राको योग रहेको छ । धर्मकर्ममा मन लाग्नेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च नै रहनेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफन्त र राज्यबाट मान सम्मान पाइनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् 

प्रमुख सचेतकहरुसँग सामुहिक छलफल गर्ने: प्रधानमन्त्री प्रचण्ड 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरुसँग सामुहिक छलफल गर्ने भएका छन ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज विहान ९ बजे बालुवाटारमा बोलाईएको बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने बिजेनसका बारेमा राय लिने छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संसदको आगमी बैठकलाई प्रभावकारी रुपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरुलाई बोलाईएको हो ।

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद् अन्तर्गत आज बिहान ११:५९ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ ।

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

यस्तै उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सदस्य उर्मिला अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उक्त प्रस्तावमा देवेन्द्र दाहाल र खिमलाल देवकोटाले समर्थन गर्नेछन् । राष्ट्रियसभा अध्यक्षले उर्मिला अर्याललाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तो छ आजको कार्यसूची:

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन मूल्याङ्कन विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने

अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने

सार्वजनिक सेवा प्रसारण विधेयक,२०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षण मुद्रण सम्बन्धी विधेयक,२०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने

सुरक्षण मुद्रण सम्बन्धी विधेयक,२०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने अभिलेख संरक्षण(पहिलो संशोधन)विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

झिनो अंकले बढेर बन्द भए नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार झिनो अंकले बढेको छ । आजको कारोबार शुरु भएदेखि नै तिव्र उत्तारचढाव देखिएको नेप्से अन्ततः झिनो अंकले बढेर बन्द भएको हो । 

आज नेप्से १.५४ अंकले बढेर दुई हजार ९६ दशमलब ८ विन्दुमा बन्द भएको छ । कारोबार रकम दुई अर्ब समेत पुग्न सकेको छैन । आज एक अर्ब ९३ करोड १७ लाख रुपैयाँ भन्दा बढीको भएको छ । 

आज कारोबार भएका कम्पनीमध्ये १०८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।      

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता दुई हजार एक सय २१ रुपैयाँ पुगेको छ र पोखरा फाइनान्सको शेयरमूल्यमा ८.४९ प्रतिशतले बढेर प्रतिकित्ता ४२५.३० रुपैयाँ पुगेको छ ।          

यता इष्टर्न हाइड्रोपावरको शेयरमूल्य ५.४५ प्रतिशतले घटेको छ भने प्राइम लाइफ इन्स्योरेन्सको ३.८४ प्रतिशत र सयपत्री हाइड्रोपावरको ३.६३ प्रतिशतले घटेको छ।

यस दिन नेपाल लाइफको सबैभन्द धेरै ६४ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआइसी एशिया बैंकको ५ करोड ८५ लाख, नविल बैंकको ५ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमा ८ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ५ उपसमूहको सूचक नकारात्मक देखिएको छ। यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ।

                        
 

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीकाे निर्णय

काठमाडैँ ।आइतबार (आज) राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र सो पार्टीलाई गृह मन्त्रालय नदिने सन्देश दिएलगत्तै सो पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको रास्वपाका एक नेताले बताए । बैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो ।