करिब दुई सय बढी शिक्षकले राजीनामा दिए

काठमाडौँ । विगतको वर्षहरूको तुलनामा राजीनामा दिने शिक्षकको संख्या बढेको छ ।

राष्ट्रिय किताबखाना (शिक्षक) को अनुसार अघिल्लो वर्षको तुलना भन्दा कम देखिए पनि त्यो भन्दा अघिल्लो वर्षहरूको तुलनामा भने बढी देखिएको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ हजार ८२६ जना शिक्षकले पेन्सन पट्टा लिएका छन् । त्यसमध्ये करिब दुई सय बढी शिक्षकले राजीनामा दिएका छन् । किताब खाना (शिक्षक) का अनुसार यो वर्ष २ हजार ६ सयले अनिवार्य अवकाश लिने छन् ।

अघिल्लो वर्ष स्थानीय तहको चुनाव, राजनीतिक दलहरूको चुनाव र स्थानीय तहले दिने गोल्डेन ह्यान्ड सेकलगायतका कारणले राजीनामा दिनेको संख्या अत्यधिक भएको हो ।

यो वर्ष राजीनामा दिने शिक्षक मध्ये अधिकांशको सेवा अवधि ३० वर्ष पुगेको र प्रविधिमार्फत पढाउन समस्या भएको जस्ता कारण रहेको बुझिएको छ ।

पछिल्लो समय विभिन्न माध्यममा भएका पाठ्यसामग्रीहरूलाई पनि आधार बनाएर पढाउन पालिकाहरूले दबाब दिइरहेकाले प्रविधिमा ज्ञान नहुने र सिक्न गाह्रो मान्ने शिक्षकहरूले राजिनामा दिएका हुन् ।

चार जना भ्रष्टकर्मचारी विरुद्ध विषेश अदालतमा मुद्दा

काठमाडौं । मालपोत र स्थानीय निकायका कर्मचारी विरुद्ध अख्यितार अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत तत्कालीन मालपोत अधिकृत लेखा पनेरु महत र जिल्ला मुगु, सोरु गाउँपालिका, वडा नं.६का तीन जना विरुद्ध मुद्दा दायर गरेको हो । 

 मुगु जिल्ला सोरुकोटस्थित खौलाचौरमा फिल्ड निर्माण गर्ने क्रममा  अस्वभाविक लागत अनुमान र प्राविधिक मूल्याङ्कन तयार गरी रकम हिनामिना गरेको आयोगका आरोप रहेको छ । सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, सब–इन्जिनियर मनोज धामी र सब–इन्जिनियर जगत बहादुर मल्लले लागतभन्दा बढीको विल बनाइ भ्र्रष्टाचार गरेको आयोगको आरोप रहेको छ ।

 मुगु जिल्ला सोरु गाउँपालिका, वडा नं. ६ सोरुकोटस्थित खौलाचौर फिल्ड निर्मांण कार्यमा उक्त फिल्ड निर्माण योजनामा गलत नापी किताब तयार गर्ने, नापी किताब चेकजाँच गर्ने, सो नापी किताब स्वीकृत एवं फिल्डमा नभएको नगरेको कामको मूल्याङ्कन गरी नापी किताब तयार गरी उपभोक्ता समितिलाई १५,४४,९३०.२६ रुपैयाँ बढी रकम भुक्तानी भएको देखिएको छ । विषेश अदालत काठमाडौंमा मुद्दा दर्ता भएको आयोगले जनाएको छ । 

त्यस्तै, मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत तत्कालीन मालपोत अधिकृत लेखा पनेरु महतलाई १,५०,००० रुपैयाँ घुस लिई भष्ट्राचार गरेको भन्दै विशेष अदालतमा दर्ता भएको छ । 

एकै पटक सीडीओमा श्रीमान्–श्रीमती

काठमाडौं । श्रीमान्–श्रीमती एकै पेसामा निजामती सेवामा पनि यस्ता उदाहरणीय जोडी छन्, जो एकै सेवा,एउटै जिम्मेवारीमा छन् । यसरी निजामती सेवामा कतिपय पहिल्यै सरकारी जागिरे भएका त कतिपय दाम्पत्य जीवनमा बाँधिएपछि निजामती सेवामा पाइला राखेको उदाहरणहरु पाइन्छ ।

यस्तै संयोग अहिले यस्तो जुरेको छ कि देशका ७७ जिल्लाका प्रशासन हाक्ने प्रशासकमध्ये एउटा दम्पत्ती नै रहेको भेटिएको छ ।

यी भाग्यमानी जोडी हुन्– गोपालप्रसाद अर्याल र मीना अर्याल । गोपालप्रसाद नेपाल सरकारका सहसचिव हुन । उनी ०७९ असार ३० गतेदेखि कन्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । यस्तै हालैमात्र गृह प्रशासनले एकै पटक सहसचिव र उपसचिव तहका ७० कर्मचारीहरुको सरुवा गर्दा मीनालाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी बनाएर खटाएको छ । उनी गत १२ माघमा त्यहाँ हाजिर भएर जिम्मेवारी सम्हालिरहेकी छिन् । यसरी श्रीमान श्रीमती नै सीडीओ बनेर प्रशासन हाक्ने अवसर पाएका हुन् गोपाल र मीनाको दम्पत्तिले ।

संयोग यस्तो जुरेको छ कि ०५५ सालमा मीना र गोपालले एकै पटक लोकसेवाबाट शाखा अधिकृतमा नाम निकाल्न सफल भएका हुन । विरलै भेटिनसक्छन्, एउटै विज्ञापनमा एकै पटक श्रीमान श्रीमतीले नै नाम निकालेको । अधिकृतबाट निजामती सेवामा पाइला राखेकी मीनाले सहायक लेखापाल, सह लेखापाल, नायव सुब्बा, शाखा अधिकृत सबैमा खुलाबाट पहिलो पटकमै लोकसेवा उत्तीर्ण गरेकी छिन्।

रेसुङ्गा १०, गुल्मी निवासी यी दुवैको बिवाह ०४५ सालमा हो । गोपालले ०५२ सालबाट निजामती सेवामा पाइला राखेका हुन । उनी ०५५ सालमा अधिकृत,०६१ सालमा उप सचिवमा र ०७३ सालमा सहसचिवमा उक्लिएका हुन ।

उपसचिव हुँदा स्थानीय विकास अधिकारीका रुपमा हुम्ला र बर्दियामा काम गरेका अर्यालसँग निर्वाचन आयोगमा ६ बर्ष काम गरेको अनुभव छ । केही समय मनाङमा स्थानीय विकास अधिकारी भएर समेत काम गरेका उनी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा काम गरे र ०७३ सालमा सहसचिवमा बढुवा भए । सहसचिवमा बढुवा भए लगतै आफ्नै गृह जिल्ला गुल्मीको प्रशासनको कमाण्डर गर्ने अवसर पाएका उनी ९ महिना पछि गण्डकी प्रदेशकको समाजिक विकास मन्त्रालयको सचिव भएर काम गरे । त्यहाँबाट सूदुरपश्चिम प्रदेशको अर्थिक मामिला मन्त्रालय, राष्ट्रिय पुननिमार्ण प्राधिकरण, सिसिएमसी, वातावरण विभागको महानिर्देशक हुँदै हाल कंचनपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् ।

उनका अनुसार शाखा अधिकृतमा पहिलो पोष्टिङ महिला मन्त्रालयमा भएको थियो । लोकसेवाको अधिकृतस्तरमा उत्तीर्ण हुने उनी नै जिल्लाको पहिलो महिला हुन् । महिला विकास विभाग, राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय, जिल्ला समन्वय समिति रसुवा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग हुँदै हाल प्रमुख जिल्ला अधिकारीको रुपमा खटिएकी छिन् मीना । उनी अर्घाखाँचीको जिल्ला प्रशासन हाँक्ने पहिलो महिला सीडीओ समेत हुन । अर्घाखाँची जिल्लाको प्रशासन हाँक्ने हालसम्म ४९ जना सीडीओमध्ये ४८ जना पुरुष थिए ।

जिल्ला समन्वय अधिकारीको रूपमा रसुवामा करिव २० महिना सेवा गर्दा उनले पुरानो बेरुजु फछ्र्योट, क्षमता विकास, पालिकाहरूसँग समन्वय लगायतका क्षेत्रमा धेरै काम गरिन । जसको कारण जिल्ला समन्वय समितिको बोर्डबाट उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित समेत भएकी थिइन ।

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । नेपाली नागरिकको तर्फबाट युवराज पौडेल(सफल)ले आयोगसमक्ष उजुरी दिएका हुन् ।

निवेदनमा भनिएको छ,’निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको रास्वपाका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासको माघ १३ गतेको फैसलाले अनागरिक भएको ठहर गरेको निजले दल दर्ता गर्दा एबम् संसद्को उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनः अवैधानिक रहेको पुष्टि हुन्छ ।’

अवैधानिक नागरिकता पेश गरी रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले दल खोल्ने निर्णय गरेकाले सो हस्ताक्षर अवैध ठहर भएको निवेदनमा भनिएको छ । गैरनागरिक गृहमन्त्री हुँदा राष्ट्रको विरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्ने कार्य भएको कारण रास्वपा खारेज हुनुपर्ने माग गरिएको छ ।

प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेटमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

आजै प्रधानमन्त्री दाहालसँग प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले भेटवार्ता गरे । भेटमा उनीहरुबीच बधाई आदानप्रदानका साथै प्रदेश सरकारलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको बताइएको छ ।

नेप्सेमा सामान्य सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार नेप्सेमा ४.९७ विन्दुले बजार बढेर नेप्से इण्डेक्ड दुई हजार एक सय १६ दशमलब ६५ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकम समेत घटेको छ । बुधबार एक अर्ब ७६ करोड ७० लाख बराबरको कारोबार भएको छ । मंगलबार दुई अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  बुधबार कारोबार भएका कम्पनीमध्ये ११० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ९३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।      

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार सात सय ५३ रुपैयाँ पुगेको छ । 

आज सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल बैंकको भएको छ । यसको आज ५ करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ ।                                 
 

श्रीमानको हत्या गरेर शव शौचालायमा पुरियो

सुर्खेत । भेरी नगरपालिका- ६ की भद्रकला कामीले लाठी प्रहार गरेर  आफ्नै श्रीमान काले कामीलाई हत्य गरेको पाँच वर्षपछि घटना सार्वजानिक भएको छ ।

३० पुस २०७४ मा  सिस्नेकी भद्रकला कामीले लाठ्ठी प्रहार गर्दा उनका श्रीमान ४७ वर्षीया काले कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । भद्रकला कामी र उनका छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घर नजिकै शौचालयमा पुरिदिएको प्रहरीले जनाएको छ ।

जाजरकोट प्रहरीले  अनुसन्धान बढाउँदा काले कामीको शव शौचालयमा पुरिएको अवस्थामा भेट्टाएको जाजकोटका डिएसपी सन्तोष निरौलाले बताए । उनका अनुसार शव शौचालयको खाडलमा पुरेको गोप्य सूचनाका आधारमा मंगलबार जाजरकोट प्रहरीले घटनास्थलमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटना स्थलमा पुगेर शौचालयको खाडल उत्खनन गर्दा काले कामीको शव भेटिएको थियो  ।

काले कामीको पुरै दाँतसहितको खप्पर (टाउको), प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाइन्ट भित्र मानव कङ्गाल हड्डीहरू फेला परेको छ ।  भद्रकला र उनका छोरा तुल्सीराम विकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अगाडि बढाइरहेको छ ।

भारतबाट बढेर आयो इन्धनको मूल्य

काठमाडौँ । भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको निगम स्रोतले बतायो । यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ ।

भारतीय आयल कर्पोरेसनबाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएका छन् ।

भारतबाट बढेर नयाँ मूल्य अाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिएको स्रोतको दाबी छ ।

हेटौँडा उपमहानगरले हटायो करारका कर्मचारी

काठमाडौँ । हेटौँडा उपमहानगरपालिकामा लामो समयदेखि काम गर्ने कर्मचारीदेखि भर्खर नियुक्त भएका कर्मचारीहरू समेतलाई हटाइएको हो ।

उपमहानगरपालिकामा चौथो तह, पाँचौँ तह र छैटौँ तहसम्मका ७१ जना कर्मचारी हटाएको हो । उपमहानगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर, स्वास्थ्य, प्रशासन, प्राविधिक कर्मचारी हटाइएको प्रमुख लामाले बताइन् ।

उनले भनिन्, ‘सरकारको निर्णय अनुसार नै कर्मचारी हटाएका हौ, बाकी केही कर्मचारी पदपूर्तिका लागी प्रदेशलाई भनेका छौ ।’ उनले अगाडी भनिन् ‘केही पदपूर्ति भइसकेको छ, बाकी बिस्तारै गर्दैछौ ।’

शुभम पावरको आईपीओ खुल्यो

काठमाडाै । शुभम पावर लिमिटेडले आज (बुधबार)देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्रीकाे लगि खुला गरिएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका चार लाख ८१ हजार ८८२ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो। सर्वसाधारणका लागि बिक्री गरिने सेयरमा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूमा वितरण नभएको एक लाख ८० हजार ५८० कित्ता सेयरसमेत थप भएको छ।

कूल कित्ता सेयरमध्ये ५८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। ११ हजार ६१० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ।

प्रधानमन्त्री प्रचण्ड, ओली र लिङ्देनबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार नेकपा (एमाले) र राप्रपाका अध्यक्षसँग बुधबार (आज) बालुवाटारमा छलफल गरेका छन्।

सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद बदर भएपछि उनले सम्हालेको गृह मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डले आफैँ राखेका छन्।

नागरिकता पुन: प्राप्ति गरेका रास्वपा सभापति रवि लामिछानेले मङ्गलवार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफूले नपाएका सरकारबाट बाहिरिने बताएका थिए।

प्रधानमन्त्री प्रचण्ड भने अब गृह मन्त्रालय अरू दललाई नदिने पक्षमा छन्।

फागुन २५ गते हुन लागेको राष्ट्रपतिको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषय पनि सत्ता गठबन्धनभित्र पेचिलो बन्दै गएको छ।

यसअघि एमाले र माओवादी केन्द्रबीच एमालेलाई सभामुख, राष्ट्रपति र माओवादीलाई प्रधानमन्त्री दिने सहमति भएको बताइएको थियो।

अहिले माओवादी नेताहरू राष्ट्रिय सहमतिमा राष्ट्रपति छान्नुपर्ने बताइरहेका छन्।

प्रतिनिधि सभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (बुधबार) दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आव २०७८/०७९) पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

यस्तै आजको बैठकमा संसद् सचिवालयका अनुसार बैठकमा सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने सम्भावित कार्यसूची रहेको छ।

सभामुखले सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यो पद रिक्त भएको संसदलाई जानकारी गराउनेछन्।

यस्तो छ कार्यसूची:

क्यानका कार्यवाहक सचिव दिए राजीनामा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत हुन भने बाँकी रहेको क्यानका एक पदाधिकारीले जानकारी दिए ।

मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकमा केन्द्रिय समितिका सदस्यहरूले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायत पाँच जनाको राजीनामा माग गरेका थिए ।

मल्लले पोखरामा बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् । नेपाल टी२० लिगमा विवाद, फिक्सिङ, तथा तीव्र आलोचनापछि मल्लले राजीनामा दिएका हुन् ।

२०७६ असोज ११ मा क्यानको निर्वाचनबाट उनी केन्द्रीय सदस्यमा नियुक्त भएका थिए ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि एक वर्ष अघि कार्यवाहक सचिवको जिम्मेवारी मल्लले पाएका थिए ।

मल्लले राजीनामा दिएसँगै क्यानका कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रीय सदस्य दुर्गाराज पाठकले पाएका छन् ।

पोखरा बोर्ड बैठकका निर्णय र पछिल्लो समय क्यानमा देखिएको विवाद सन्दर्भमा जानकारी दिन केही बेरमा पत्रकार सम्मेलन गर्ने तयारी छ ।