चितवन २ मा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ ।

सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिन सूचित गरिएको सूचनामा उल्लेख छ ।

यस्तै चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

सुनकाे मूल्य बढ्याे

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य निरन्तर बढिरहेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो । आइतबार चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेको चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुुगेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ थियो ।

बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री तथा ७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहालले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन्।

आइतबार बिहान टुंडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। सम्बोधनमा प्रधानमन्त्रीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताए।

प्रधानमन्त्रीले गरेको  सम्बोधनको पूर्णपाठ:

फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन हो। आजभन्दा ठीक ७३ वर्षअगाडि हाम्रा अग्रज पुर्खाहरूले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको संघर्षमार्फत् जहानियाँ निरंकुश व्यवस्थामाथि विजय हासिल गरेका थिए। यस महत्वपूर्ण दिनमा प्रजातान्त्रिक अधिकार, गणतान्त्रिक व्यवस्था र राष्ट्रियताको रक्षाका निम्ति आफ्नो जीवनको बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानसहित स्मरण गर्दछु। विभिन्न आन्दोलन र संघर्षका क्रममा घाइते एवं अंगभंग हुनुभएका सम्पूर्ण योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गर्दछु। निरंकुशतन्त्रको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि संघर्षको मैदानमा खट्नुभएका सम्पूर्ण योद्धाहरूप्रति सम्मान व्यक्त गर्दै न्याय, समानता र स्वतन्त्रताका पक्षमा संघर्षशील स्वदेश तथा विदेशमा रहनुभएका आम नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

निरंकुश जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने नेपाली जनताको बलिदानीपूर्ण संघर्षदेखि वर्तमानसम्म देशमा निकै ठूला क्रान्ति, आन्दोलन र संघर्षहरू भएका छन्। ती सबै क्रान्ति, आन्दोलन र संघर्षहरूले लोकतन्त्र, शान्ति, अग्रगमन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणका निम्ति ऐतिहासिक भूमिका निर्वाह गरेका छन्। यस ऐतिहासिक अवसरमा ती सबै आन्दोलनहरूप्रति उच्च सम्मान व्यक्त गर्दै समाजवादउन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न सम्पूर्ण जनसमुदायमा अपील गर्दछु।

लोकतन्त्रका राजनीतिक, आर्थिक र सामाजिक आयामहरूको उच्चतम् तथा परिष्कृत अभ्यासबाट मात्र जनस्तरमा लोकतन्त्रप्रतिको गहिरो विश्वास, आत्मीयता एवं व्यवस्थाको रक्षा एवं निरन्तर विकासका निम्ति अपनत्वबोध पैदा हुन्छ।

लोकतन्त्रको संस्थागत सुनिश्चितता, संघीयताको गतिशील कार्यान्वयन र शासन प्रक्रियामा जनताको सक्रिय र उत्साहजनक सहभागिताबाट मात्र प्रजातन्त्रको निरन्तर सुदृढीकरण एवं समाजवादको आधार तयार पार्न सम्भव हुन्छ। सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई परिवर्तनको वास्तविक अनुभूति दिलाउँदै बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने महत्वपूर्ण कार्यभार हाम्रासामु छ।

जनताको जागरूकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव छ। लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्दै दशकौंदेखिको नेपाल र नेपाली जनताको विकास र समृद्धिको राष्ट्रिय आकांक्ष पूरा गर्न  सकिन्छ। उपेक्षित, उत्पीडित, सीमान्तकृत एवं विभेदमा पारिएका वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको राज्यमा समानुपातिक प्रतिनिधित्व एवं आर्थिक जीवनमा गुणात्मक  रूपान्तरणको माध्यमबाट मात्र सामाजिक न्यायको प्रत्याभूत गर्न, सुशासन र समृद्धिलाई गति दिन सकिन्छ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ एवं प्रभावकारी कार्यान्वयन गरेर नै मुलुकको लोकतान्त्रिक प्रणाली र संविधानको प्रगतिशील कार्यान्वयन सम्भव छ।

संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि वृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो। देशको राजनीति र अर्थतन्त्रले संकटपूर्ण परिस्थितिको सामना गरिरहेको पृष्ठभूमिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै जनताको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत् सुशासनको प्रत्याभूत गर्न, अर्थतन्त्रका चुनौतीहरू सम्वोधन गर्दै समृद्धि संस्थागत गर्न, संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दीगो शान्ति स्थापित गर्न, देशको भूराजनीतिक अवस्थालाई हृदयंगम् गर्दै स्वतन्त्र र सन्तुलित कुटनीतिक सम्बन्ध स्थापित गर्न सरकार दृढ छ।

अन्त्यमा, ७३ औं प्रजातन्त्र दिवसले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, लोकतन्त्र र संविधानको रक्षा एवं प्रगतिशील कार्यान्वयनसहित आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय प्रत्याभूत गर्न सफल रहोस् भन्ने कामनाका साथ फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद।

काँग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छ: विश्वप्रकाश शर्मा

सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने ठोकुवा गरेका छन् ।

आइतबार बिहान सुर्खेत पार्टी कार्यालयमा बोल्दै शर्माले पार्टीकै कमजोरीको कारण काँग्रेस सत्ता बाहिर पुगेको बताए ।

समाजका सबै मान्छेहरूमा असन्तुष्टि बढिरहेको वर्तमान सत्ता समीकरण धेरै नटिक्ने दाबी गरे । वर्तमान गठबन्धन एम्बुस‌ थापेर बनेको शर्माको टिप्पणी थियो । चुनावअघिको गठबन्धन कुनै एम्बुस थापेर नभई समयको आवश्यकताले बनेको उनको जिकिर थियो ।

कार्यक्रममा उनले नेपाल देशलाई चिन्नका लागि कर्णाली बुझ्नुपर्ने बताए । कर्णालीलाई समृद्ध नबनाई नेपालको समृद्धि हुन नसक्ने उनको भनाइ थियो । नेपाल देश चिन्नका लागि कर्णाली पैदल हिँड्नुपर्ने उनले बताए ।

२०६४ मा कर्णालीका धेरै जिल्लाहरू आफू पैदल हिँडेर यात्रा गरेको बताउँदै उनले कर्णाली आफ्नै खुट्टामा उभिन सके मात्र समुन्नत देश निर्माण हुने बताए ।

प्रचण्डले नै एमालेलाई राष्ट्रपति लिनुस् भन्नुभएको हो : योगेश

सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुने बताएका छन् ।

प्रेस चौतारी कर्णालीले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमालेले प्रस्ताव गरेको व्यक्ति नै सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बन्ने बताएका हुन् ।

सचिव भट्टराईले सरकार गठनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै राष्ट्रपति एमालेलाई दिन सहमति जनाइसकेको बताए । ‘प्रचण्ड कमरेड आफैले राष्ट्रपति लिनुस् भनेर दिन आउनुभएको हो । एमाले माग्न गएको होइन । राष्ट्रपति एमालेकै हुन्छ ।’

उनले चुनावी गठबन्धन एमालेको कारणले नभई आफ्नै कारणले टुटेको बताए । ‘प्रचण्डले खोज्दै आएपछि एमालेले प्रधानमन्त्री बनाउन सहयोग गरेको हो’ उनले भने, ‘१० पुसको सहमति मान्न रास्वपा, राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टी सबै मान्न तयार छन्, तर माओवादीले नमान्ने भन्ने हुँदैन ।’

‘हामी हरेक घरमा पुग्ने र जनताको वास्तविक अवस्थाका बारेमा बुझ्ने प्रयास रहन्छ’, उनले भने, ‘अहिले पाएको जनमत भन्दा राम्रो नतिजा ल्याउने गरी अग्रसर हुनेछ ।’ उनले अब एमालेलाई जवान पार्टी बनाउनतर्फ लागिएको बताए । एमालेले थालेको दुई महिने पार्टी सुदृढीकरण अभियानलाई प्राथमिकता दिइएको छ ।

तोडफोड र आगजनी गर्ने ४० जनामाथि अनुसन्धान सुरु

काठमाडौँ । यही फागुन १ गते नयाँ बसपार्कस्थित मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजनीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ।

यातायात मजदुरका नाममा प्रहरीका दुई वटा भ्यानमा आगो लगाउने, मल तोडफोड गर्ने तथा मोबाइल लुटपाटमा संलग्न भएको आरोपमा उनीहरूलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको थियो। आन्दोलनकारीले लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाट गरेका थिए।

उनीहरूले प्रहरी वृत्त बालाजुको बा २ झ १४४ नम्बरको स्कार्पियो र बा १ झ ७२२४ नम्बरको गाडी समेत जलाउनुका साथै बालाजु र माछापोखरी चोकको ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको प्रहरीको आरोप छ। आन्दोलनका क्रममा बालाजु चोकको अस्थायी प्रहरी पोस्टमा समेत आगो लगाइएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले आगजनी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।

‘प्रहरीको भ्यान आगजनी गर्ने र मल तोडफोड गरी चोरी गर्ने अन्य केही व्यक्तिको पहिचान भइरहेको छ, उनीहरूलाई पनि चाँडै नियन्त्रणमा लिन्छौँ,’ उनले भने।

नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनलगायतको नेतृत्वमा भएको आन्दोलनले उग्र रूप लिँदा उक्त घटना भएको थियो। घटनामा अधिकांश व्यक्ति चालक, सहचालक, विद्यार्थी र विभिन्न होटेल तथा रेस्टुराँका कामदार छन्।

लुटपाटमा संलग्नलाई मुलुकी अपराध संहिता ऐन, २०७४ परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्नाका साथै आगजनी तथा तोडफोड गर्नेलाई मुलुकी अपराध संहिता ऐन को परिच्छेद २६ को दफा दुई सय ८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता रिजालको भनाइ छ।

जीप दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते

दिपायल । डोटीकोे केआईसिंह गाउँपालिका–१ लोलीमा गएराति जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरूवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार दुर्घटनामा थप ६ जना घाइते भएका छन् । घाइते हुनेमा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका २७ वर्षीय तेज तिरूवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै डुम्राकोटकै ४ वर्षीय बालक समीर तिरुवा, २३ वर्षीया लक्ष्मी तिरुवा, १९ वर्षीय मीन लुहार र वडा नम्बर २ जारिमभाडीका २४ वर्षीय सुरज तिरुवा सामान्य घाइते भएको जनाइएको छ । सामान्य घाइतेलाई उद्धारपछि घर पठाइएको छ भने गम्भीर घाइतेको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ ।

सुपप्र ०१२३००१ च ३३२९ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा सवार यात्रु शुक्रबार मात्रै भारतबाट आएका थिए । गाडी रिजर्व गरेर दिपायलबाट केआइसिंह जाँदै गर्दा जीप दुर्घटना भएको हो ।

उपसचिव सहित थप २१ जना कर्मचारीको सरुवा

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव सहित थप २१ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले बिहीबार विभिन्न मन्त्रालय, कार्यालय तथा स्थानीय तहका कर्मचारीहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका उपसचिव तेज नारायण यादवलाई थारु आयोग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विक्रम प्रसाद पाण्डेलाई ठूलीभेरी नगरपालिका, डोल्पा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १ का विनोद कुमार दाहाललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका कृष्ण थापाको मुसिकोट नगरपालिका रुकुम पश्चिम सरुवा गरिएको छ । 

त्यस्तै जल तथा ऊर्जा आयोगका सिडिई पवन चन्दलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश, युवा तथा खेलकुद मन्त्रालयका डा. कृष्ण बहादुर घिमिरे तारकेश्वर नगरपालिका, काठमाडौँ, राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुलाई डाक्नेश्वरी नगरपालिका, सप्तरी, गृह मन्त्रालयका शाखा अधिकृत राजन कँडेललाई पुथ उत्तर गङ्गा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत र सिम्ता गाउँपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटालाई राप्तीसोनारी गाउँपालिका बाँकेको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाइएको छ । 

यसैगरी राष्ट्रिय महिला आयोगका ओमकार शाहलाई गुलरिया नगरपालिका बर्दिया, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेस प्रदेशका धर्मानन्द जोशीलाई पोखरिया नगरपालिका पर्सा, महाराजगन्ज नगरपालिका कपिलवस्तुका उपसचिव(शिक्षा)लाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी, वृन्दावन नगरपालिका रौतहटका उपसचिव(शिक्षा)लाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा काज फिर्ता गरिएको छ । 

प्राप्त थप विवरण अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनीका शाखा अधिकृत विपिन क्षेत्रीलाई ओमसतिया गाउँपालिका रुपन्देही, र त्यहाँका शाखा अधिकृत सागर गौतमलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश सरुवा गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका सुबोध कुमार ठाकुरलाई हंसपुर नगरपालिका, धनुषाको प्रमुख प्रशासकीय अधिकृत, गृह मन्त्रालयका मनिष झालाई माधवनारायण गाउँपालिका, रौतहटको प्रमुख प्रशासकीय अधिकृत, लम्की चुहा नगरपालिका, कैलालीका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढालाई चुरे गाउँपालिका कैलालीमा पठाएको छ । 

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १ का शाखा अधिकृत कोविद ढकाललाई सिदिङ्वा गाउँपालिका, ताप्लेजुङको प्रमुख प्रशासकीय अधिकृत र लगानी बोर्डको कार्यालयका पुण्य प्रसाद भट्टराईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशमा सरुवा गरिएको सूची प्राप्त भएको छ । 

पछिल्लो समय हरेक दिन जसो कर्मचारीको सरुवा गर्दै आएको सामान्य प्रशासन मन्त्रालयले सूची भने गुपचुप नै राख्दै आएको छ । उपसचिवमा बढुवा भएका कर्मचारीलाई पदस्थापन तथा कामकाजमा खटाउने ३ गरेको निर्णयबाहेक त्यसअघि र पछि गरिएका कैयूं सूचीहरू गोप्य राखिएको छ । अन्धाधुन्ध ‘इन्ट्रेष्ट’मा सरुवा गरिएकै कारण सार्वजनिक गर्दा विवादमा आउने भएपछि मन्त्रीको सचिवालय तथा प्रशासन महाशाखाले सूची लुकाउने गरेको हो । 

सरुवासँग सम्बन्धित तथा असम्बन्धित केही कर्मचारीहरूले सरुवामै मोटो रकम लेनदेन गरेको चर्चासमेत मन्त्रालयमा सुनिन थालेको छ । ‘सरुवा खेती’ सामान्यको पुरानै रोग भएपनि सुधार गर्छु भनेर आएकाहरुलेसमेत निर्णय भइसकेको नियमित प्रक्रिया अन्तर्गतको सरुवा सूची नै लुकाउनुले पनि सुधार्ने भन्दा धन्दालाई निरन्तरता दिनेतर्फ उन्मुख रहेको पुष्टि गर्दछ । 

यतिबेला भइरहेको सरुवा बिचको तह चलखेलमा निकै सक्रिय देखिन्छ । स्वार्थमा कर्मचारी खटाउन अवधि नै नपुगेका कर्मचारीलाई फाल्ने मात्रै होइन, आफ्नालाई ‘सेट’ गर्न निकै छोटो अवधिमासमेत मिल्काउने गरेको भेटिएको छ । जसले निजामतीलाई थप विकृत बनाउने मात्रै होइन, अस्थिरता निम्त्याई रसातलमा पुर्‍याउने तर्फ उच्च नेतृत्वको चेत खुल्न जरुरी छ । 

टर्की र सिरिया भूकम्प : मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

काठमाडौँ । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ हजार नाघेको छ।

समाचार एजेन्सी रोयटर्सका जानकारीअनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३९ हजार ६७२ र सिरियामा ५ हजार ८०० जनाको मृत्यु भएको छ।

अझै पनि दुवै देशमा खोजी तथा उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भूकम्पमा परेका हरूको उद्धारका लागि विभिन्न मुलुकबाट आधुनिक उपकरणसहितका टोली टर्की र सिरियामा पुगेका छन्।

उनीहरूले अझै पनि भग्नावशेषमा मानिसहरू जीवित रहेको हुनसक्ने भन्दै खोजीलाई निरन्तरता दिइरहेका छन्।

मृत्यु हुनसक्नेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन्।

सरकारले शिक्षामा व्यापार गरेको “पूर्वप्रधानन्यायाधीश कार्की “

काठमाडौँ: पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लागएकी छन्। शुक्रवार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । कार्कीले सरकारले शिक्षा,स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताइन् । शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेकाले नेपालीहरुले छोराछोरीहरुलाई अध्ययन गराउन नसकेको बताइन् ।

सरकारले दिइरहेको स्कलरसिप र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै उनले आपत्ति जनाइन्। आर्यघाटमा पुर्‍याइएको शवमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको उनको भनाई छ।

कार्कीले भनिन्,‘अहिले त के भयो भयो, शिक्षा व्यापार, स्वास्थ्य व्यापार, हरेक कुरामा व्यापार छ। कतिपय आमाबुबा रोएको देख्छु, पढाउने इच्छा छ, डाक्टर बनाउने इच्छा छ। डाक्टर बनाउने,इन्जिनियर बनाउने इच्छा राखेका छन्।बुबाआमालाई पनि पढाउने रहर छ, छोराछोरीलाई पनि पढ्ने रहर छ तर हैसियत छैन। जग्गा बेचेको छ, ऋण लिएको छ,घर जग्गा यी कुराहरु केही पनि होइनन्।’

उनले थपिन्,‘पढाइका अगाडि घर,जग्गा केही होइनन्। आफ्ना घरका सन्तानलाई राम्रोसँग पढाएको रहेछ भने सन्तान राम्रोसँग पढ्नु नै सम्पती हो। छोराछोरीले कमाएर खाएको घर नै उज्यालो र राम्रो हुन्छ। स्कलरसिप कसले पाउँछ,सरकारले दिने सहुलियत कसले पाउँछ त्यो पनि थाहा छैन। शिक्षा व्यापार भएको छ। पहिला त्यस्तो थिएन।’

दिपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपालको लगातार दोस्रो जित

काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ।

दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदशर्नमा नेपालले सक्टल्याण्डलाई पराजित गरेको हो।

नेपालको जितका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ११६ बलको सामना गर्दै ८५ रनको योगदान गरे। त्यस्तै कुशल मल्लले ६७ बलमा ८१ रनको पालि खेले।

टस हारेर पहिला ब्याटिङ् गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रनको लक्ष्य जोडेको हो। जवाफी ब्याटिङमा उत्रेको नेपालले ३ ओभर बाँकी छदै ३ विकेटले पराजित गरेको हो।

नेपालका लागि कप्तान सन्दीप लामिछाने ३ विकेट लिदाँ कुशल मल्लले २ विकेट लिए। यस्तै दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र सोमपाल कामीले १ विकेट लिए।

मधेसको किसानलाई निःशुल्क सिँचाइ मिटर उपलब्ध गराउने

जनकपुरधाम : मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानहरूका लागि निःशुल्क मिटर वितरण र सिँचाइको व्यवस्थापनका लागि पहल सुरु गरेको छ।

मधेसको १ सय ३६ वटै पालिकामा कृषि विद्युतीकरण, कृषि मिटर निःशुल्क वितरण र सिँचाइको व्यवस्थापनका लागि मन्त्रालयले पहल सुरु गरेको हो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाको पहलमा नेपाल विद्युतीकरणको प्रादेशिक कार्यालयसँग समन्वय गरिरहेको छ। 

यसका लागि मधेस प्रदेशको हरेक जिल्लाका नेपाल विद्युत प्राधिकरणको कार्यालयसँग छलफल गरिने मन्त्री कुशवाहाले जानकारी दिए।

नेपाल विद्युत प्राधिकरणको मापदण्ड अनुसार बिजुलीको महशुल पालिकाले तिर्नुपर्ने र पूर्वाधार निर्माणका लागि बजेट छुट्याइने मन्त्री कुश्वाहाको भनाइ छ। 

किसानलाई निः शुल्क मिटर वितरण र सिँचाइको व्यवस्थापनका लागि भएको छलफलमा मन्त्री कुश्वाहा, मन्त्रालयका सचिव डा. नम्रता सिंह र नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुर थिए। 

मधेस प्रदेशमा सप्तरीको राजविराज, रुपनी, छिनमस्ता, बिष्णुपुर, बलान बिहुल, बोदेबरसाइन, खड़क, सुरुँगा र अग्निसाइर पालिकाले पहल थालेका छन्। 

त्यस्तै धनुषाका सबैला, क्षिरेश्वरनाथ, बटेश्वर, शहिदनगर, बिदेह, जनकनन्दनी, हंसपुर, कमला, धनौजी, मुखियापट्टी मुसरनिया, मिथिला बिहारी, नगराइन, औरही, लक्ष्मीनिया र जनकपुरधाम, महोत्तरीको औरही, गौशाला, सम्सी, भंगहा, एकडारा, पिपरा, मनारा सिसवा, मटिहानी, बलवा, महोतरी र रामगोपालपुर, सर्लाहीको ईश्वरपुर, बसवरिया, रौतहटको मौलापुर, देवाही गोनाही, कटहरिया, माधवनारायण, गढिमाई, दुर्गा भगवती र पर्साको वीरगन्जले समेत यसका लागि पहल सुरु गरेको छ।

पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेण्डरमै राख्ने सरकारको निर्णय

काठमाडौं, ५ फागुन । सरकारले जनयुद्ध दिवसमा र पृथ्वीजयन्तीको विदालाई सरकारको वार्षिक क्यालेन्डरमै समावेश गर्ने भएको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषदको बैठकले पृथ्वीजयन्ती र जनयुद्ध दिवसको विदा क्यालेन्डरमै समावेश गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी गराइन् ।

सरकारले यस वर्ष पृथ्वीजयन्ती र जनयुद्द दिवस दुवैमा मन्त्रिपरिषदको निर्णय गरी विदा दिएको थियो । दुवै विदाका बारेमा सर्वत्र आलोचना भएपनि सरकारले क्यालेन्डरमै विदा समावेश गर्न लागेको हो ।

सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रुपमा विकास गर्दैछौँ : प्रधानमन्त्री

काठमाडौँ,५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रूपमा विकास गर्दै जाने सरकारको सङ्कल्पमा सबैको सहयोग र प्रतिबद्धता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

“अस्पताललाई चिकित्सा शिक्षा र तालिम केन्द्रका रूपमा रूपान्तरण र विकास नगरी सुलभ, प्रभावकारी, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिँदैन, अनुसन्धानको कार्यलाई व्यवस्थित र परिणाममुखी तुल्याउन सकिँदैन”, उनले भने, “यसै यथार्थलाई मध्यनजर गर्दै प्रतिष्ठानले विराटनगर, भरतपुर, भैरहवामा रहेको सरकारी र सामुदायिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरेको छ ।”

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले आगामी दिनमा प्रतिष्ठानले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यकताको सम्बोधन हुने गरी अनुसन्धानका कामलाई अगाडि बढाउन निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले आफ्नो दृष्टिकोण, लक्ष्य र उद्देश्यलाई मध्यनजर गर्दै स्वास्थ्य सेवाका लागि विश्वसनीय, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न, देशमा आवश्यक जनशक्ति उत्पादन गर्न, अनुसन्धान तथा चिकित्सा शिक्षाको विकासमा गरिरहेको प्रयास र पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताए ।

उनले भने, ‘सरकारी स्वास्थ्य संस्था र प्रतिष्ठानमा सेवा प्रदायक निकाय र व्यक्तिले प्रभावकारी सेवा नदिएको, प्राविधिक सामग्रीको चुस्त दुरुस्त परीक्षण र परिचालन नगरेको, सार्वजनिक स्वास्थ्यको गुणस्तर कमजोर रहेको, पेसागत मर्यादा र आचरणमा स्खलन आएको, मिलेमतोमा सरकारी सम्पत्तिप्रति बेवास्ता र दुरुपयोगसमेत भएको, सेवाग्राहीप्रति विनम्रता र गम्भीरताको कमी रहेको जस्ता जनगुनासो र सार्वजनिक सञ्चारमाध्यममा आएका समाचार हाम्रा लागि गम्भीर विषय हुन्, यस्ता बेथितिमा सुधारका लागि स्वास्थ्य क्षेत्रमा शल्यक्रियाको आवश्यकता महसुस हुन्छ ।’

प्रतिष्ठानबाट यस क्षेत्रमा थप परिस्करणसहित निरन्तरताको अपेक्षा गर्दै सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । उनले भने, ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले स्वास्थ्य सेवा प्रवाह, जनशक्ति उत्पादन र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्दै आए पनि सेवाग्राहीको चाप र विकसित नयाँ परिस्थितिका सामु त्यो पर्याप्त देखिँदैन ।’

प्रतिष्ठानबाट दीक्षित हुनुहुने विद्यार्थीका लागि आजको दिन खुसी र विशेष गौरवका दिन भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । ‘व्यक्तिगत जीवनका दृष्टिले, सामाजिक उत्तरदायित्वका दृष्टिले, राष्ट्र निर्माणको गुरुत्तर जिम्मेवारीका दृष्टिले आजको दिन तपाईँहरूका लागि अविस्मरणीय दिन हो’, उनले भने, ‘आजको दिन आफ्नो भविष्य एवं देश र जनताप्रतिको उत्तरदायित्वमा थप सङ्कल्प र अठोट गर्ने दिन हो ।’

प्रधानमन्त्री प्रचण्डले भने, ‘चिकित्सा विज्ञान प्रतिष्ठानले तपाईँलाई ज्ञान र सीपका साथ उच्चतम उपाधि प्राप्त गर्ने अवसर प्रदान गरेको छ, भविष्यको आधारशिला खडा गरिदिएको छ ।’

उनले प्रतिष्ठानबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई समाजमा सकारात्मक परिवर्तन ल्याउन र जनताको सेवालाई विस्तार र विकासमा योगदान पुर्‍याउने गरी प्रयोग गर्न आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईँहरू स्वयं जिम्मेवार, सक्रिय, जिज्ञासु र कर्तव्यनिष्ठ भएर मात्र दीक्षान्त समारोहले कोरेको मार्गमा अगाडि बढ्न र निरन्तर सफलता हासिल गर्न सक्नुहुनेछ ।’

उनले प्रतिष्ठानअन्तर्गत रहेको वीर अस्पतालले आफ्नो उत्पादनमार्फत देशका विभिन्न ठाउँमा विशेषज्ञ सेवा पुर्‍याउन सफल भएको भन्दै त्यसलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

सरकारको सेवामा रहेका पाँच सय बढी चिकित्सकले यसै संस्थामार्फत विशेषज्ञता र अति विशेषज्ञताको उपाधि प्राप्त गरी स्वास्थ्य सेवामा योगदान पुर्‍याइरहेका छन् । वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो मुख्य लक्ष्य बनाएको उल्लेख गर्दै प्रधानमन्त्रीले चुनौतीपूर्ण अवस्थामा रहेको राजनीति र अर्थतन्त्रलाई सकारात्मक दिशा दिन आफू प्रयासरत रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न, देशका सम्पूर्ण विकास आयोजनाहरू तोकिएको गुणस्तर र तोकिएकै समयमा निर्माण सम्पन्न गरी समृद्धिको यात्रालाई तीव्रता दिन दृढसङ्कल्पित छु ।’

सरकारको यस प्रयासमा प्रतिष्ठानको नेतृत्व, आबद्ध चिकित्सक, कर्मचारी र आम सरोकारवाला निकाय तथा व्यक्तित्वको रचनात्मक एवं सकारात्मक प्रयास, सहयोग र प्रतिबद्धता जरुरी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

नेपालको नयाँ संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकका रूपमा प्रत्याभूत गर्दै समाजवादउन्मुख स्वास्थ्यको सङ्कल्प रहेको तथ्य पेस गर्दै उनले संविधानमा व्यवस्था भएबमोजिम स्वास्थ्यसम्बन्धी हकको व्यावहारिक अभ्यासका निम्ति कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीगत प्रबन्ध तथा सुधार आवश्यक रहेको बताए ।

वर्तमान सरकार संविधानमा व्यवस्था भएबमोजिमका ऐन तर्जुमा गरी स्वास्थ्य सेवालाई नि:शुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । त्यसका लागि सरकारका तर्फबाट आवश्यक गृहकार्य र पहल भइरहेको उहाँले जानकारी दिए ।

बैंकिङ ज्यादतीविरुद्ध व्यवसायीको प्रदर्शन

काठमाडौं । विभिन्न व्यवसायी संगठनहरु आफूहरुमाथि बैंकले ज्यादती गरेको भन्दै प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत नौवटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरु प्रदर्शनमा उत्रिएका हुन् ।