लागुऔषधसहित ११ जना पक्राउ

काठमाडाैं । देशका  विभिन्‍न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ परेका छन् ।     मकवानपुरकाे  हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुरस्थित सडकबाट  लागूऔषध गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले बा.२१ च ९३२६ नम्बरको गाडीबाट करिब ४० केजी  गाँजा फेला पारी गाडीका चालक बारा बौदिमाई नगरपालिका-४ बस्ने २० वर्षीय राजकुमार रामसहित ४ जना र ना.२१ प १०९० नम्बरको मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-१९ बस्ने १९ वर्षीय नबराज थिङलाई  गाँजा करिब ६० ग्रामसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

कञ्चनपुरकाे पुनर्वास नगरपालिका-११ अमरबस्ती बस्ने ३२ वर्षीय सविन महर्जन र सोही ठाउँ बस्ने २६ वर्षीय राजु विकलाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम, नगद ४ हजार ४ सय २० भारतीय रूपैयाँ, ६ हजार ४ सय ९० नेपाली रूपैयाँ, विभिन्न देशका सिक्का ७ थान र डिजिटल तराजु १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले सविनको घरमा लागुऔषधको कारोबार गरिरेहेको अवस्थामा उक्त लागूऔषध, नगद र डिजिटल तराजु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बाँकेकाे बैजनाथ गाउँपालिका-२ माथिल्लो पितमारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुरेश रानालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीकाे धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारलबाट लागूऔषध ब्राउनसुगर ३ ग्राम ७० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-३ बस्ने २३ वर्षीय आषिस ओली र २९ वर्षीय बसन्त ओली रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१० प ७९९९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापाकाे झापा गाउँपालिका-६ भृकुटी चौक बस्ने ३० वर्षीय हेम नारायण चौधरीलाई अवैध लागूऔषध गाँजा ५ सय ६५ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागुऔषध सेवन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

चितवनकाे खैरहनी नगरपालिका-९ बैरहनी चोकबाट करिब ११ केजी अवैध लागूऔषध गाँजा  प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ पैदलयात्रीले झोला फाली फरार भएपछि झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

२८ जना उपसचिवको सरुवा (सुचिसहित)

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव पदमा बढुवा नियुक्ति भएका कर्मचारीहरूलाई पदस्थापन तथा सरुवा गरेको हो । 

बढुवा नियुक्त भएका उपसचिवहरूमध्ये २५ जनालाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, दुई जनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र एक जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको हो । 

स्थानीय तहमा पदस्थापन गरिएका उपसचिवहरूलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम कामकाज गर्न खटाइएको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएका दुई जनालाई कर्मचारी समायोजन ऐन, २०७५ को दफा ९(९) र अख्तियारमा पठाइएका उपसचिव राम बहादुर तामाङलाई निजामती सेवा ऐन, २०४९ को दफा १५(१) बमोजिम पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली पुगे बालुवाटार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल भइरहेको बताइएको छ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा यी दुई नेताले भेटवार्तालाई बाक्लो बनाएका छन्। माओवादी राष्ट्रिय सहमतिमै राष्ट्रपति चुन्नुपर्ने पक्षमा छ।

एमाले पूर्व सहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने अडानमा छ।

नेप्से परिसूचकसँगै कारोबार रकममा भारी गिरावट

काठमाडौं । बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर दुई हजार ९१ दशमलव ५६ विन्दुमा बन्द भएको हो । मंगलबार पनि नेप्से १६.४० अंकले घटेर दुई हजार एक सय ५ दशमलव ४६ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, आज नेप्से घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा एक अर्ब ७३ करोड २५ लाख बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ७८ करोड ७० लाख बराबरको कारोबार भएको थियो । 

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ३७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७६ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा सबैभनदा बढी वृद्धि भएको छ । आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य ८.५४ प्रतिशतले बढेर प्रतिकित्ता २२ हजार रुपैयाँ पुगेको हो ।  

आज गरिमा डिभेञ्चर २०८५ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यसको आज ६ करोड २० लाखभन्दा बढीको कारोबार भएको छ ।                      

पाँच प्रदर्शनकारी पक्राउ

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिबाट घरेलु हिंसा पीडित बिनु यादवसहित चार जना पक्राउ परेका छन् । पूर्व न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै ४ जना महिलाले संसदभवन बाहिर टायर बालेर प्रदर्शन  गर्न लागेका थिए ।

सोही समयमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले पूर्व न्यायाधीशकी श्रीमती आरती गिरी, विनु यादव, क्रितिका यादव, कृष्ण कठायत र सरिना फुयाललाई पक्राउ गरेको छ । श्रीमानमाथि बैवाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी गिरीकी पत्नी आरती गिरीले कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेकी थिइन्  ।

अतिक्रमित संरचना सात दिनभित्र हटाउन वीरगञ्ज महानगरको आग्रह

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सातदिने सूचना जारी गरेको हो । महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना सात दिनभित्र हटाउन सूचना जारी गरेको छ । तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ ।

यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ । महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरिएको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताए ।

आज फागुन ०३ गते बुधबार : यस्तो छ तपाईंको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन भावुक र उत्ताउलो बन्नसक्छ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आस मारेको काम बन्नसक्छ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । शुभ र नयाँ कार्यको चर्चा चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साथीभाइबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ । आर्थिक पक्ष र शेयर बजारबाट लाभ नहुने देखिन्छ । पढाइलेखाइमा पनि समय दिन सकिँदैन ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । मिलनसार साथीको सहयोगले कार्य सिद्ध हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी नबेहोर्नुपर्ला । घरायसी समस्या बढ्नेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कुनै समाचारले मनमा खुसियाली छाउला । धार्मिक कार्य सफल रहनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्न सक्छ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । स्वादिष्ट भोजन पाइनेछ । वैदेशिक कार्य र वित्तिय संस्थाबाट सफलता मिल्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमाइलो यात्राको योग रहेको छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

प्रतिनिधि सभा बैठक आज बस्दै (कार्यसूचीसहित)

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ, संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

संसद् सचिवालयका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

महानिर्देशकसहित २० सहसचिवको सरुवा (नामावलीसहित)

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै सडक विभागका महानिर्देशक, उपमहानिर्देशक, आयोजना निर्देशकहरूको सरुवा गरेको हो । 

विभागको महानिर्देशकमा सुशील बाबु ढकाललाई पठाइएको छ, भने तत्कालीन महानिर्देशक अर्जुन जङ्ग थापालाई मन्त्रालयमा तानिएको छ ।

अहिले सरुवाको समय नभए पनि नयाँ सरकार परिवर्तन भएसँगै हरेक सरकारको पहिलो प्राथमिकतामा पर्दै आएको सरुवामा निकै ठुलो आर्थिक चलखेल हुँदै आएको छ, त्यसमा पनि प्राविधिक तर्फ भने सरुवामै कल्पना बाहिरको खेल हुँदै आएको छ ।

नामावली:-

 

सरकार र आन्दोलनरत मजदुरबीच ५ बुँदे सम्झौता

काठमाडौँ । सोमबार साँझदेखि आन्दोलनमा उत्रिएको मजदुर सङ्गठनहरू र सरकारबीच ५ बुँदे सम्झौता भएको छ । आज बिहान ९ बजेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका भएको वार्ताबाट दुईपक्षबीच ५ बुँदे सम्झौता भएको मन्त्रालयको सचिवालयले जानकारी दिएको छ ।

सहमतिका बुँदाहरू :

१. उपत्यकाबाट बाहिर सञ्चालन हुने सवारी साधनका सम्बन्धमा उठेका विषयहरूका सम्बन्धमा मिति २०७९/१०/२९ मा गठित यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेलसम्म यातायात सुचारु सञ्चालनको व्यवस्थापनका लागि सम्बद्ध निकायहरूलाई अनुरोध गर्ने ।

२. मिति २०७९/११/०१ गते काठमाडौँस्थित गोङ्गबु नयाँ बसपार्कमा मजदुरहरूले गरेको कार्यक्रममा भएको घटना दुःखपूर्ण रहेको र लुटपाट तथा आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने र आन्दोलनका क्रममा मिति २०७९/११/१ र २ गते पक्राउ परेका निर्दोष व्यक्तिहरूलाई तत्काल रिहाइ गर्ने

३. क) ती २०७९/१०/११ गते समग्र यातायात क्षेत्र सुधारका लागि उच्चस्तरीय यातायात सुधार सुझावका लागि कार्यदल गठन भएकोले सो कार्यदलले यातायातसँग सरोकार राख्ने सबै सम्बद्ध पक्षसँग छलफल गरी सुझाव लिने
ख) मिति २०७९/१०/२९ मा गठित यातायात सुधार कार्यदलमा सरोकारवाला सम्बद्ध महासङ्घ, सङ्घ र सङ्गठनका प्रतिनिधिहरूलाई आवश्यकता अनुसार आमन्त्रण गर्ने

४. मिति २०७९/११/०२ गते आव्हान गरिएको सार्वजनिक यातायात हडताल कार्यक्रम स्थगन गर्ने र यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेलसम्म यसअघि आव्हान गरिएका सबै कार्यक्रम स्थगन गर्ने

५. काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रा. लि. बीच गोङ्गबुस्थित नयाँ बसपार्कको लागि भएको सम्झौताका सम्बन्धमा काठमाडौँ महानगरपालिकाबाट प्राप्त प्रतिवेदन अध्ययन गर्ने, काठमाडौँ महानगरपालिकाले यसको अनुगमन गर्ने साथै उक्त प्रा.लि., महानगरपालिका र सम्बद्ध मजदुर सङ्घ-सङ्गठनहरू र यातायात व्यवसायी महासङ्घहरूबिच छलफल गर्ने र यसको संयोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गर्ने

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज दिउँसो ४ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध-वार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्ने र दिगो विकास तथा सुशासन समितिले २०७८/७९ को प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ ।

यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन प्रस्तुत हुनेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले मन्त्रिपरिषद् बैठकबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको ऐन २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

नागरिक लगानी कोषको ७५ हजार कित्ता शेयर विक्रीमा

काठमाडौं । नागरिक लगानीकोषको ७५ हजार कित्ता संस्थापक शेयर फागुन २ गतेदेखि विक्रीमा ल्याएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर फागुन १० गतेसम्मका लागि विक्रीमा ल्याएको हो । 

यो शेयरको मूल्य प्रतिकित्ता रू. ७४३ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शिलबन्दी खाम वाहिर सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट उल्लेख गरेको हुनुपर्नेछ । 

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेटकार्यालय थापाथली, काठमाडौं र विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखाबाट पनि आवेदन प्राप्त गर्न र पेश गर्न सकिने व्यवस्था छ । यो शेयर प्राप्त गर्ने लगानीकर्ताहरूले फागुन २ गतेपछि कोषद्वारा प्रस्ताव गरिने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्ने जानकारी कोषले दिएको छ ।

सरकार र यातायात व्यवसायीबीच वार्ता जारी

काठमाडौं ।   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेताहरुसँग वार्ता सुरु भएको हो ।

हिजो बालाजु क्षेत्रमा भएको आगजानी र तोडफोडको घटना भएकाे थियाे । तीनवटा मजदुर संगठनले आज सवारी साधान नचलाउने निर्णय गरे पछि उनीहरुलाई बार्तामा बोलाएको हो ।

मजदुर संगठनको हडतालपछि काठमाडौं उपत्यकामा सवारी साधान कमै मात्रा चलेका छन । जसका कारण यात्रुहरु अलपत्र अवस्थामा छन् ।

काठमाडौं उपत्यकामा आन्दोलनरत यातायात मजदुरले आज आह्वान गरेको सार्वजनिक यातायात बन्दको आंशिक प्रभाव परेको छ ।

बिहानैदेखि काठमाडौंका विभिन्न रुटमा चल्ने सार्वजनिक यातायातका सवारी साधन न्यून संख्यामा चलेका छन् । केही बस, माइक्रो बस र ट्याक्सीहरु चले पनि सामान्य अवस्थाको संख्यामा सार्वजनिक यातायात नचल्दा यात्रुले भने सास्ती भोग्नु परेको छ ।

आज फागुन ०२ गते : यस्तो छ तपाईंको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला, तर साँझमा मन प्रसन्न रहनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला, सचेत रहनु होला ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन उत्साहपूर्ण रहनेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ । सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । व्यवसायबाट लाभ मिल्नेछ । तपाईंको लागि यसपालिको प्रेम दिवसले थप उत्साह र ऊर्जा प्रदान गर्नेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साथीबाट विशेष सहयोग मिल्नेछ । तपाईंलाई कसै कसैले उपहार पनि दिन सक्छन् ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेमको समस्या हटेर जानेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज भाग्योदय हुनेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । तपाईंलाई कसै कसैले भित्र भित्रै मन पराउन सक्छन् ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज घरमा अतिथिको आगमन हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला । पूरै दिन रोमान्टिकमा बित्ने र खर्च पनि बढ्न सक्छ ।

बालाजु क्षेत्रमा यातायात मजदुरको उग्र प्रदर्शन

काठमाडौं । ट्राफिक नियम उल्लंघनमा गरिने कारबाही खुकुलो पार्न र बसपार्कबाहिरै माइक्रोबस पार्किङ दिन माग गर्दै यातायात मजदुरले सोमबार अपराह्नदेखि रातिसम्म बालाजु क्षेत्रमा उग्र प्रदर्शन गरेका छन् । बुधबारदेखि सार्वजनिक यातायात ठप्प पार्ने पूर्वघोषित कार्यक्रम सार्वजनिक गर्न बालाजु जम्मा भएका मजदुर र नयाँ बसपार्क सञ्चालनको ठेक्का लिएको ल्होत्से बहुउद्देश्यीय प्रालि कर्मचारीबीच पार्किङको विषयमा झडप भएपछि प्रहरीले नियन्त्रणको प्रयास गर्दा प्रदर्शन झन् उग्र बनेको हो । 

ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गरेको भन्दै लिने जरिवाना बढी भएको विरोधमा यातायात क्षेत्र ठप्प पारेर आन्दोलनमा उत्रिएका मजदुर र प्रहरीबीच पटकपटक झडप भएको थियो । आन्दोलनकारीले नेपाल प्रहरीको माछापोखरीमा रहेको अस्थायी प्रहरी बिट र २ वटा भ्यानमा आगो लगाइदिएका छन् । त्यसै गरी आन्दोलकारीले ल्होत्से महलभित्र प्रवेश गरी तोडफोड गरेका छन् । ट्राफिक प्रहरीले माघ १ गतेदेखि देशभर सवारी नियम उल्लंघन गर्ने सवारीकर्ताले १ हजार ५ सय रुपियाँ जरिवाना पु¥याएपछि यातायात मजदुरले त्यसको विरुद्धमा आवाज उठाउँदै आएका थिए ।

यातायात मजदुरले आज मंगलबार उपत्यकामा सार्वजनिक सवारीसाधन चल्न नदिने घोषणा गरेका छन् । सोमबार बालाजु क्षेत्रमा भएको आन्दोलनका कारण लामो दूरीमा चल्ने सार्वजनिक बससमेत प्रभावित भएका थिए । राजधानीबाट बाहिर जाने कुनै पनि सवारीसाधन चल्न सकेका थिएनन् ।

आन्दोलनमा सहभागीहरूमध्ये केही युवाहरू लुटपाटमा समेत संलग्न भएपछि स्थिति प्रहरीको नियन्त्रण बाहिर गएको थियो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पटकपटक प्रयास गरेको भए पनि आन्दोलनकारी अनियन्त्रित भएपछि प्रहरीले केही राउन्ड हवाइ फायर गरेको थियो ।

नयाँ बसपार्क बाहिर रहेका साना सार्वजनिक सवारीसाधनको पार्किङसमेत नयाँ बसपार्कबाट नै हुनुपर्ने नियम बनाएपछि यातायात मजदुरहरू नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउदेश्यीय कम्पनीविरुद्ध आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका नाममा स्थानीय ट्यापे मुन्द्रेहरूको प्रवेश भएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बालाजु क्षेत्रको अवस्था तनावग्रस्त भए पनि उक्त आन्दोलन प्रहरीको नियन्त्रण बाहिर नगएको दाबी गर्नुभयो । सो क्षेत्रमा आन्दोलनकारीले बाटोबाटोमा सवारीसाधन तेस्र्याएर विरोध प्रदर्शन गरेपछि बाटोमा हिँड्ने बटुवासमेत प्रभावित भएका छन् । बटुवालाई समेत आन्दोलनकारी र सुरक्षा निकायले लखेटेकाले स्थिति झन् अन्योलग्रस्त बनेको स्थानीय व्यवसायी सन्तोष बस्नेतले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

आन्दोलनका कारण सार्वजनिक तथा निजी सवारीसाधन नचलेपछि सो क्षेत्रमा बसोबास गर्ने स्थानीय पनि प्रभावित भएका छन् । उनीहरूलाई आन्दोलनकारी र प्रहरीले समेत सार्वजनिक बाटोबाट हिँड्न रोक लगाउँदा स्थानीय सर्वसाधारणहरू हात उठाएर आ–आफ्नो गन्तव्य गइरहेको कारुणिक दृश्य देखिएको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन सयौंको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । दुवै तर्फबाट ढुंगा हानाहान हुँदा सो क्षेत्र रणभूमिमा परिणत भएको छ । आन्दोलनले उग्ररूप लिएपछि आन्दोलनकारी र सरकारी पक्षबीच वार्ता भए पनि वार्ता निष्कर्षमा भने पुगिसकेको छैन ।

सो क्षेत्रमा राखिएको सार्वजनिक सम्पत्तिमा समेत आन्दोलनकारीले निसाना बनाउँदा सवारी सुरक्षाका लागि राखिएका सबै वस्तुहरूमाथि आन्दोलनकारीले आक्रमण गरेका छन् ।

केही महिनायता सवारी नियम उल्लंघन गर्नेमाथि कारबाही गर्ने भन्दै ट्राफिक प्रहरी निर्मम बन्न थालेपछि यातायात मजदुर आक्रोशित हँुदै आएका थिए । अहिले ३ वटा मजदुर संगठनले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेको उनीहरूले जनाएका छन् । आन्दोलनमा उत्रने मजदुर संगठनमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल मजदुर यातायात संघ र अखिल नेपाल मजदुर संघ रहेका छन् । उनीहरूले विभिन्न १० बुँदे मागसमेत राखेका छन् ।

यातायात मजदुरहरूले अहिले लागू भएको ट्राफिक नियमसमेत नमान्ने घोषणा गरेका छन् । उनीहरूले ऐन संशोधनको मागसमेत गरेका छन् ।

एम्बुलेन्स मात्रै फुटाएनन्, मोबाइलसमेत लुटे : चालक

प्रदर्शनकारीको आक्रमणमा एम्बुलेन्स पनि पर्‍यो । प्रदेश–३ ००१–०२२ च २६३१ नम्बरको एम्बुलेन्सको चारैतिर सिसा फुटेको छ । रसुवाबाट बिरामी लिएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुर्‍याएर फर्किँदै गरेको एम्बुलेन्स आक्रमणमा परेको हो । 

चालक ठाकुरप्रसाद न्यौपानेले भने, ‘म रसुवाको कालिका गाउँपालिकाबाट ल्याएको बिरामी टिचिङमा छाडेर फर्किँदै थिएँ । प्रदर्शनकारीले एम्बुलेन्स तोडफोड मात्रै गरेनन्, मेरो मोबाइल पनि लुटे ।’ क्षतिग्रस्त एम्बुलेन्स बनाइदिन माग गर्दै सोमबार राति नै न्यौपानेले गोंगबुु प्रहरीवृत्तमा निवेदन दिएका छन् । चारैतिरको सिसा फुटेको उनले बताए । 

शान्तिपूर्ण आन्दोलनमाथि हस्तक्षेप भएपछि झडप : केसी
अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले सामान्य संघर्षका कार्यक्रमबारे मजदुरलाई जानकारी गराउने क्रममा ल्होत्सेले बिथोल्न खोजेपछि झडपको अवस्था आएको बताए । ‘यातायात मजदुरहरूलाई भेला पारेर शान्तिपूर्ण ढंगले आन्दोलनका कार्यक्रम र हाम्रा मागबारे जानकारी गराउँदै थियाैँ,’ उनले भने, ‘सोही क्रममा ल्होत्सेको टिमले हामीलाई त्यहाँबाट हटाउन खोज्यो, यहीबाट विवाद सुरु भएको हो ।’ उनले सोमबार पक्राउ परेका चारैजना माइक्रोबस चालक रहेको बताए । बसपार्कभित्र ल्होत्सेको एकाधिकार, पार्किङ भाडा वृद्धि, ट्राफिक जरिवाना र कारबाहीबारे आफूहरूको आपत्ति रहेको उनको भनाइ छ । 

मन्त्री श्रेष्ठले वार्तामा बोलाए
मजदुरहरूका माग र झडपबारे छलफल गर्न मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मजदुर संगठनका नेता, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, महानगरलगायतलाई बोलाएका छन् ।