राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक (पूर्णपाठसहित)

काठमाडाैं । राष्ट्रिय तथ्याङ्क कार्यालयले १२औँ राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन्।  

राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्। अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो।

यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो।

विस्तृत र अन्तिम प्रतिवेदनमा भने २७ हजार ९०२ कम अर्थात् दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या देखिएको हो।

नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषदको बैठक आज बस्दै

काठमाडौँ । नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषदको बैठक आज बस्ने भएको हो ।

हिजो बिहीबार बस्नुपर्ने नियमित मन्त्रिपरिषदको बैठकलाई आज शुक्रवारको लागि सारिएको थियो । आज शुक्रवार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने भएको हो ।

नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दज्र्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वाेच्च पद (प्रहरी महानिरीक्षक) बन्नेछन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति भएका थिए ।

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । त्यसपछि रिक्त हुने आइजिपी पदमा हाल पदोन्नति भएका एआइजीबाटै बढुवा गर्नुपर्ने भएकाले अब पाँच एआइजीमध्ये एक जनाले महानिरीक्षकको पदमा बस्न महत्वपूर्ण अवसर प्राप्त गर्दै छन् ।

राष्ट्रिय जनगणना- २०७८ को अन्तिम नतिजा आज सार्वजनिक हुँदै

काठमाडौँ । राष्ट्रिय जनगणना ०७८ को नतिजा आज (शुक्रबार) सार्वजनिक गरिने भएको छ ।

राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक गर्दै छन् ।

सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले २५ कात्तिकदेखि ९ मंसिर ०७८ सम्म जनगणना गरेको थियो । कार्यालयले ८० भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना सङ्कलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । जसअनुसार नेपालको प्रारम्भिक जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ ।

सङ्कलित तथ्याङ्क विश्लेषण गरेर दुई महिनाअघि नै जनगणनाको सम्पूर्ण तयारी भए पनि राजनीतिक कारणले रोकिएको थियो । नेपालमा हरेक १० वर्षको अन्तरमा जनगणना गर्ने व्यवस्था र अभ्यास छ ।

जनगणना मुख्यतः देशको सामाजिक अवस्था, आर्थिक स्थिति, घरपरिवारको अवस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, इन्धनलगायतका आधारभूत आवश्यकतामा नागरिकको पहुँचलगायतका विषय जनगणनामा समेटिन्छन् ।

यस्तो छ शुक्रबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्या र बुद्धिको विकास हुनेछ। पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो मायाले सताउला, तर शेयर बजारको कारोबारमा लाभ मिल्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज घर व्यवहारमा झमेला आउनसक्छ । मनमा दुबिधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित रहनेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सफल यात्राको योग छ । कार्य सम्पादनमा सहजता र लाभ पनि मिल्नेछ, तर साँझमा पैसा खर्च हुने चोटपटकको भय छ सचेत रहनुहोला ।

आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैँकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ३३ पैसा र बिक्री दर १३१ रुपैयाँ ९३ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ८१ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा रहेको छ।

यस्तैगरी बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ६४ पैसा र बिक्री दर १६२ रुपैयाँ ०८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

अख्तियारको फेला परेपछि उम्कन गाह्रो ,उपसचिव सहित दर्जनौंलाई करोडौं दण्ड र जेल सजाय

काठमाडौ । अख्तियारले २०७४ सालमा दायर गरेको मुद्दा विशेष अदालतले राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका ११ कर्मचारीको सजाय निर्धारण गरेको छ । गल्ती गर्नेहरू कहिलै उम्कदैनन भन्ने तितो सत्य उजागर भएको छ। भ्रष्टाचार नियन्त्रण र न्यूनीकरणका निम्ति निरन्तर कृयासिल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफनो गतिलाई अझै तेज बनाएको छ तर अदालतमा दायर मुद्दाहरूको प्रक्रियाको नाममा हुने ढिलाइले अपेक्षित परिणाम नदेखिएको भएपनि मुद्दा दायरको सख्या हेर्दा अब भ्रष्टाचार गर्नेहरु जोगिन सक्दैनन भन्ने अधार बलियो भएको छ।

यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीमध्ये तीन उपसचिवलाई जनही आठ वर्ष कैद सजाय सुनाइएको छ । एक उपसचिवलाई साढे दुई वर्ष कैद निर्धारण गर्दा दुई लेखा अधिकृतलाई नौ वर्ष कैद सजाय निर्धारण गरिएको छ ।

विशेष अदालतका सूचना अधिकारी नारदप्रसाद भट्टराईले न्यूनतम साढे दुई वर्षदेखि नौ वर्षसम्म कैद र बिगोको दोब्बर जरिवाना असुलको आदेश भएको जानकारी दिनुभयो । विशेषले फागुन ३० गते कसुर ठहर गरेको थियो । दुई फरक–फरक मुद्दामा गरी अदालतले ११ जनालाई दोषी ठहर गरेको थियो ।

सङ्कलित राजस्व रकम पूरा बैङ्कमा दाखिला नगरी हिनामिना गरेको अभियोगमा विशेषले चार उपसचिव, दुई अधिकृत र पाँच सहायकस्तरका कर्मचारीलाई दोषी ठहर गरेको थियो । अदालतले अभियोगपत्रमा प्रतिवादी बनाइएका सबैलाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले बुधबार सजाय निर्धारण गरेको हो ।

इजलासले उपसचिव रमेशप्रसाद दाहाललाई आठ वर्ष कैद र तीन करोड दुई लाख १७ हजार रुपियाँ बिगो र बिगोको दोब्बर जरिवाना गरेको छ । यस्तै उपसचिव विष्णुप्रसाद पौडेललाई आठ वर्ष कैद तथा पाँच करोड ८३ लाख ९२ हजार रुपियाँ बिगो असुलको आदेश गरेको छ । उपसचिव नयराज नेपाललाई आठ वर्ष कैद र छ करोड १७ लाख ६४ रुपियाँ बिगोको आदेश गरेको छ । दुवैसँग बिगोको दोब्बर जरिवाना असुलको आदेश गरेको छ८ ।

यस्तै लेखा अधिकृत कुमार कटवाललाई छ वर्ष कैद र ५० लाख ८२ हजार ९०६ रुपियाँ बिगो, टीकाराम अधिकारीलाई नौ वर्ष कैदको आदेश गरेको छ । अधिकारीलाई १४ करोड सात लाख ९६ हजार रुपियाँ बिगो असुलीको आदेश गरिएको छ भने बिगोको दोब्बर जरिवाना हुनेछ ।

यसैगरी लेखा अधिकृत सुरेश अधिकारीलाई नौ वर्ष कैद तथा १५ करोड तीन लाख ९९ हजार ९८६ रुपियाँ बिगो, लेखापाल देवराज नेपाललाई आठ वर्ष छ महिना कैद र ११ करोड २२ लाख ६३ हजार रुपियाँ बिगो असुलको आदेश अदालतले गरेको छ । अदालतले लेखापाल रुद्रप्रसाद दाहाललाई आठ वर्ष कैद र पाँच करोड ३२ लाख १० हजार ५०९ रुपियाँ बिगोको आदेश गरेको छ ।

राजस्व हिनामिनाकै अर्को मुद्दामा अदालतले उपसचिव होमनाथ भट्टराईलाई साढे दुई वर्ष कैद र १४ लाख पाँच हजार रुपियाँ बिगो असुलको आदेश गरेको छ । यस्तै उपसचिव विष्णुप्रसाद पौडेललाई आठ वर्ष कैद र दुई करोड २० लाख ५२ हजार रुपियाँ बिगोको आदेश अदालतले गरेको छ । लेखा अधिकृत सुरेशप्रसाद अधिकारीलाई आठ वर्ष कैदको आदेश गरिएको छ भने दुई करोड २० लाख ५२ हजार रुपियाँ बिगो र बिगोको दोब्बर जरिवानाको आदेश अदालतले गरेको छ ।

लेखापाल मणिराज दाहाललाई अदालतले आठ वर्ष कैदको आदेश गरेको छ । दाहाललाई दुई करोड २० लाख ५२ हजार रुपियाँ बिगो र दोब्बर जरिवानासमेत हुनेछ । सहलेखापाल टङ्कबहादुर खड्कालाई आठ वर्ष कैद भएको छ । यस्तै दुई करोड २० लाख ५२ हजार रुपियाँ बिगो तथा दोब्बर जरिवाना हुनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो मुद्दा २०७४ असार ४ गते दर्ता गरेको थियो । आर्थिक वर्ष २०७१/७२ देखि २०७३/७४ सम्मको राजस्व हिनामिना गरेको आरोपमा पहिलो मुद्दा दायर भएको थियो । उक्त मुद्दामा कुल ६१ करोड २१ लाख २८ हजार ५५५ रुपियाँ बिगो कायम गरिएको छ ।

यस्तै अख्तियारले दोस्रो मुद्दा २०७४ मङ्सिर १२ गते दायर गरेको थियो । दुई आर्थिक वर्षको राजस्व कम दाखिला गरी हिनामिना गरेको आरोप पछिल्लो अभियोगपत्रमा थियो । कुल आठ करोड ९६ लाख १७ हजार ६३ रुपियाँ राजस्व हिनामिना भएको अख्तियारको ठहर थियो । दुई मुद्दामा ७० करोडभन्दा बढी राजस्व हिनामिना भएको जिकिर अख्तियारको थियो ।यस्ता मुद्दा अख्तियारले सयौंको संख्यामा अदालत मा दायर गरेको छ ।विशेषको यो फैसलाले भ्रस्टाचार बाट थिलथिलो भै दिक्क भएका नागरिकसामु सुशासनको आशा जगाएको छ।

प्राथमिक तहका लागि ६ हजार १३ पदमा विज्ञापन (सूचीसहित)

शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि ६ हजार १३ पदमा विज्ञापन आह्वान गरेको छ । ८ वैशाख २०८० सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर १५ वैशाखसम्म आवेदन दिन सकिनेछ ।
१८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारहरूले आवेदन दिन सकिनेछ ।

लिखित परीक्षा सामान्य तर्फको २० जेठ २०८० मा हुनेछ । सामान्य विषयको नतिजा सार्वजनिक भएपछि विषयगत परीक्षाको मिति तोकिने आयोगले जनाएको छ ।

सबैभन्दा कोशी प्रदेश अन्तर्गतका जिल्लाका १ हजार ३५५ सिटमा विज्ञापन आह्वान गरिएको छ । आयोगले मधेश प्रदेशमा १ हजार ११७, बागमती प्रदेशमा १ हजार २४१, गण्डकी प्रदेशमा ८६१, लुम्बिनी प्रदेशमा ५३८, कर्णाली प्रदेशमा ४७२ र सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाका लागि ४२९ सिटका लागि विज्ञापन आह्वान गरेको हो ।

रोकिएन शेयर बजारको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको अन्तिम कारोबारको दिन आज नेप्से १८.१५ अंकले घटेर एक हजार ९ सय १५ दशमलब १४ विन्दुमा पुगेको हो । बुधबार नेप्से १५.७६ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब २९ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, शेयर बजार घटेपनि कारोबार रकमा भने सामान्य सुधार देखिएको छ । आज नेप्सेमा एक अर्ब ४१ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो नेप्सेमा एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका २८ कम्पनीको शेयरमूल्य बढेको छ भने १७९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार युनि नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशयिा बैंकको भएको छ । यस कम्पनीको आज २१ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ ।           

घटेको बजारमा यस दिन माया खोला हाइड्रोपावर कम्पनी र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माया खोलाको शेयरमूल्य २९ रुपैयाँ २० पैसा बढेर ३२१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ भने एशियन हाइड्रोपावरको २९ रुपैयाँ ८० पैसा बढेर ३२८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, सिद्धार्थ बैंकको यस दिन ८ प्रतिशतभन्दा बढी बढेको छ।

१३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.०२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

राष्ट्र बैंकले निकाल्यो सूची, २०८० सालमा बैंक कति दिन बिदा हुन्छ ? (सुचिसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विसं. २०८० का लागि शनिबार बाहेकको बैंक बिदाको सूची सार्वजनिक गरेका छन् । राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले आज उक्त सूची सार्वजनिक गरेको हो । विभिन्न ३५ प्रकारका बिदाको सूची प्रकाशत गरिएको हो ।

कार्यालय समय बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान ११ बजेदेखि ५ बजेसम्म कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि ४ बजेसम्म रहने छ । प्रत्येक शुक्रबार बिहान १० देखि १ः३० बजेसम्म कार्यालय समय निर्धारण गरिएको छ ।

यता बैंकिङ कारोबार समय भने बैंशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० देखि ४ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुनेछ । शुक्रबार बिहान १० देखि १२ः३० बजेसम्म् बैंकिङ कारोबार समय तय गरिएको राष्ट्र बैंकको सूचीमा उल्लेख छ ।

एकै ठाउँबाट सेवा दिन काठमाडौँ प्लाजा सर्दै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिका काठमाडौँ प्लाजामा सर्ने भएको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौँ प्लाजामा सर्न लागेको हो ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच बुधबार सहमति भएको छ । सहमति पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले हस्ताक्षर गरे ।

महानगरले मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग काठमाडौँ प्लाजामा सार्ने तयारी गरेको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो । महानगरअन्तर्गतका १६ वटा विभागले अहिले फरक–फरक स्थानबाट सेवा प्रदान गर्दै आएको छ ।

सम्झौताबमोजिम झ्याल, ढोका र लिफ्टसहित विग्रिएका र भत्किएका संरचना बहाल रकमबाट कटाउने गरी महानगरले मर्मत गर्नेछ । प्रत्येक पाँच वर्षमा १० प्रतिशतले बहाल वृद्धि गर्ने गरी १० वर्षका लागि सम्झौता भएको छ ।

पाँच रोपनी दुई पैसा क्षेत्रफलमा निर्माण भएको उक्त सात तले भवनको तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र दुई सय दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न मिल्छ । सूचना अधिकारी आचार्यका अनुसार २०७२ सालको भूकम्पअघि महानगरको सेवा बागदरबारबाट प्रवाह भइरहेको थियो । भूकम्पका कारण भवन जीर्ण भएपछि केही समयका लागि राष्ट्रियसभा गृहबाट सेवा सञ्चालन गरिएको थियो । हाल सुन्धारामा रहेको जेडिए कम्प्लेक्सबाट सेवा सञ्चालन भइरहेको छ ।

कम्प्लेक्समा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, वित्त, प्रशासन, कानुन तथा मानव अधिकार, आन्तरिक लेखापरीक्षण इकाई, खरिद इकाई छन् । साविक बागदरबारमा महानगर प्रहरी बल, इजलास, कानुनसम्बन्धी सेवा, ट्राफिक व्यवस्थापन विज्ञको कार्यकक्ष, योजना अनुगमन तथा मूल्याङ्कन इकाई छन् । टेकुमा उद्यान तथा हरियाली प्रवद्र्धन आयोजना, वातावरण व्यवस्थापन विभाग र जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन् । कृषि तथा पशुपक्षी विभाग र शिक्षा विभाग ताहाचलमा छ ।

राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा छन् । सहकारी विभाग बिजुली बजारमा छ । सहरी योजना आयोगको कार्यालय थापाथलीमा छ । जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा स्वास्थ्य, सम्पदा तथा पर्यटन, विपद व्यवस्थापन, सामाजिक विकास विभाग, सार्वजनिक निजी साझेदारी इकाईलगायत कार्यालय छन् ।

हनुमान ढोका दरबार संरक्षण कार्यालय वसन्तपुरमा छ । राष्ट्रियसभा गृह परिसरमा सूचना प्रविधि विभाग र जिन्सी शाखालगायत संरचना छन् ।

११ वर्षीया छात्रामाथि बलात्कारको आरोपपछि शिक्षक फरार

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ३ स्थित एक निजी विद्यालयमा अध्ययनरत नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेपछि शिक्षक फरार भएका छन् ।

सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक दीपेन्द्र यादवले जबर्जस्ती गरेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय सबैलाका इन्सपेक्टर रामकृष्ण देवकोटाले उक्त घटनाबारे बुझ्न खोज्दा भिडभाडमा रहेको भन्दै केही विवरढ दिन चाहेनन् ।

विद्यार्थीका अनुसार विद्यालयको शौचालयबाट शिक्षक र छात्रा एकसाथ निस्केको उनीहरूले देखेपछि शिक्षक भागेका थिए । छात्राले आफूलाई शिक्षक यादवले शौचालयमा थुनेर जबर्जस्ती गरेको बताएकी छन् ।

प्रहरीले छात्रालाई हिजै प्रादेशिक अस्पताल जनकपुरधाम लगेर स्वास्थ्य परीक्षण गराएको छ । तर, आरोपी शिक्षक भने पक्राउ परेका छैनन् । सबैला प्रहरीले बोर्डिङका प्रिन्सिपल हरि श्रेष्ठलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

बढ्यो सुनको भाउ, आज कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला २ हजार रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार २सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।

दुई महिना नपुग्दै २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षकको तलब

काठमाडौं । नेपाली क्रिकेट टिमलाई राम्रो नतिजा दिलाएका भारतीय प्रशिक्षक मोन्टी देसाइले छिट्टै यसको ‘फल’ पाएका छन् । नेपाल क्रिकेट संघले उनको मासिक तलबमा २० प्रतिशत वृद्धि गरेका छन् ।

प्रशिक्षक नियुक्त भएको दुई महिना नपुग्दै देसाईको तलब बढाइएको हो । यसअघि मासिक १० हजार डलर पाउने सम्झौता रहेकोमा अब उनले मासिक १२ हजार डलर (करिब १६ लाख रुपैयाँ) पाउने छन् । आउँदो अप्रिल १ बाट उनको नयाँ तलबमान कार्यान्वयन हुने बुझिएका छन् ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले यसअघि सम्झौता गर्दा नै नेपालले एक दिवसीय मान्यता जोगाउन सफल भएको खण्डमा तलब बढाउने समझदारी रहेको बताए ।

‘उहाँको प्रशिक्षणमा नेपालले एक दिवसीय मान्यता जोगाउनुका साथै विश्वकप क्वालिफायर्समा पनि स्थान सुरक्षित गरेको छ । त्यसैले पूर्वशर्त अनुसार हामीले तलब वृद्धि गरेका छौँ,’ उनले भने ।

गत माघ २३ गते देसाइलाई क्रिकेट संघले प्रमुख प्रशिक्षकमा नियुक्ति दिएको थियो । औपचारिक नियुक्ति पाउनुभन्दा केही दिनअघिबाटै देसाइले नेपाली टिम सम्हालेका थिए ।

देसाइको प्रशिक्षणका नेपालले घरेलु मैदानमा २ वटा र यूएईमा एउटा एक दिवसीय शृङ्खला खेलेको छ । घरेलु मैदानमा भएका दुवै श्रृङ्खला नेपालले क्लीन स्वीप गर्न सफल भयो । यसैगरी यूएईमा भएका ४ म्याच मध्ये तीनवटा नेपालले जितेको थियो ।

समग्रमा देसाइको प्रशिक्षणमा नेपालले खेलेका १२ खेलमा ११ वटामा जित हासिल गरेको छ । यही प्रदर्शनको बलमा नेपालले जिम्बाबेमा हुने विश्वकप क्वालिफायर्समा स्थान पक्का गरेको हो । राष्ट्रिय टोलीले चमत्कारिक प्रदर्शन गर्दै दुई महत्त्वपूर्ण सफलता हासिल गरेपछि क्रिकेट समर्थकहरूमाझ देसाइ लोकप्रिय बनिरहेका छन् । क्यानले पनि छिट्टै तलव बढाएर उनलाइ पुरस्कृत गरेकाे छ ।

प्रशिक्षकको तुलनामा क्रिकेट खेलाडीहरुको तलव भने नगण्य छ । केन्द्रीय सम्झौतामा परेका खेलाडीहरुले ३० देखि ६० हजार रुपैयाँसम्म मासिक तलव पाउँछन् ।

विश्वकप क्रिकेटको समय तालिका सार्वजनिक

नयाँ दिल्ली, (एजेन्सी) । सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको खेल समयको तालिका भारतीय क्रिकेट कन्ट्रोल बार्ड (बीसीआई) ले सार्वजनिक गरेको छ ।

५ अक्टोवरदेखि शुभारम्भ हुने विश्वकप क्रिकेटको फाइनल खेल विश्वकै सबैभन्दा ठूलो स्टेडियम अहमदावादको नरेन्द्र मोदी स्टेडियम १९ नोभेम्वरमा हुने पक्का भएको छ । भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा विश्वका १० टोलीको सहभागिता रहने छ । प्रतियोगिता ४६ दिनसम्म चल्नेछ । यो दौरान १० टोलीकाबीच तीन प्लेअफ समेत कुल ४८ खेलको आयोजना हुनेछ ।

विश्वकप क्रिकेटको खेलको आयोजनाको लागि बीसीसीआईले अहमदाबाद, बेङ्गलुरु, चेन्नई, दिल्ली, धर्मशाला, गुवाहटी, हैदरबाद, कोलकोता, लखनउ, इन्दौर, राजकोट र मुम्बई जस्ता शहरलाई चुनेको छ । आईसीसी अन्तर्गत आयोजना गरिने विश्वस्तरीय प्रतियोगिताको खेल समय तालिका एक बर्ष अघि नै सार्वजनिक गरिने प्रचलन रहदै आएको छ । तर, बीसीसीआईले भारत सरकारसँग विशेष मुद्दामा मञ्जुरी लिनुपर्ने भएकोले यसमा ढिलाई भएको हो । यी विशेष दुइ मुद्दाहरुमा पाकिस्तानको टोलीको भिसा मञ्जुरी र प्रतियोगिताको लागि ट्याक्स फ्रि रहेका छन ।

हालै दुबईमा सम्पन्न अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को वैठकमा बीसीसीआई पाकिस्तानी टोलीलाई भिजा उपलब्ध गराउने आश्वासन दिएको थियो । पाकिस्तानी टोलीलाई भिसा उपलब्ध गराउने कुरामा भारत सरकार लचिलो बनेपनि ट्याक्स छुटको बारेमा भने छलफल भइरहेको छ ।

केहि समयपश्चात नै बीसीसीआई यो सम्वन्धमा आईसीसीलाई जानकारी गराउने बताइएको छ । भारतीय रंगशालामा भारत र पाकिस्तानबीच पछिल्लो खेल सन् २०१२ मा भएको थियो । त्यसपछि भारत सरकारले आईसीसीका प्रतियोगिता बाहेक अन्य कुनै पनि क्रिकेट पाकिस्तानीसंग नखेल्ने निर्णय गरेपछि अहिलेसम्म दुई राष्ट्रबीच कुनैपनि क्रिकेट श्रृंखलाको आयोजना हुन सकेको छैन ।

प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । आयोगले आज प्राथमिक तहको शिक्षकमा विज्ञापन खुलाएको हो।

सामुदायिक विद्यालयको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।

न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ ।

इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/ मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।