यस्तो छ आजको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन खिन्न हुने स्थिति आउनेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । राजनीतिक कार्यमा बाधा पनि आउनसक्छ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज घरमा कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कामको सन्दर्भमा आउँने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ हुनेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । प्राविधिक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

मन्त्रालय छनोटमा दलहरूको रस्साकस्सी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री परिषद् विस्तारको गृहकार्य थालेसँगै मन्त्रालय छनोटमा दलहरूको रस्साकस्सी चलेको छ । सरकारको शक्तिशाली र ‘मालदार’ मन्त्रालयका रूपमा चिनिएको गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, उद्योग, वाणिज्य तथा आपूर्ति र पर्यटन मन्त्रालयजस्ता महत्वपूर्ण मन्त्रालयमा दलहरूको नजर गडेको छ ।

वर्तमान आठ दलीय सत्ता गठबन्धनमा २ दल थपिएर १० दलीय बन्न पुगेको गठबन्धनका अधिकांश दलहरूले महत्वपूर्ण मन्त्रालय रोज्न थालेपछि मन्त्रिपरिषद् विस्तार लम्बिन सक्ने देखिएको छ ।

संयुक्त सरकार भएकाले गठबन्धनमा सामेल दलहरूबीच शक्ति वितरणमा सहमति जुटाउन केही समय लाग्नसक्ने जिकिर गरेको छ ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गृह वा अर्थसहित भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसंख्या, उद्योग वाणिज्य तथा आपूति मन्त्रालय लिने विषयमा छलफल भइरहेको केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिनुभयो । यद्यपि, गठबन्धन दलहरूबीच छलफल जारी रहेकाले केही दिनमा निर्णयमा पुग्ने उहाँले बताउनुभयो ।

त्यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको दाबी गरेको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गृहसहित उपप्रधानमन्त्रीमा आफ्नो दलको दाबी कायमै रहेको दोहोर्‍याउनुभयो । सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रका नेताहरूले समेत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डलाई गृहमन्त्रालय आफंैले राख्नुपर्ने सुझाव दिने गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा रहेका नेता नारायणकाजी श्रेष्ठ उक्त मन्त्रालय नछाड्ने पक्षमा हुनुहुन्छ ।

उता जसपाका अध्यक्ष उपेन्द्र यादव सम्भव भएसम्म सांसद भएर उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा आउने योजनामा हुनुहुन्छ । जसपाले बारा २ का सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा पठाएपछि उक्त निर्वाचन क्षेत्रमा उपेन्द्र आफैं उम्मेदवार हुने तयारीमा लाग्नुभएको छ ।

उता दुई मन्त्रालयको दाबी गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने मन्त्रालय रोजेको छैन । लोसपाका नेता शरतसिंह भण्डारीले कुन मन्त्रालय भन्दा पनि सम्मानजनक रूपमा सरकारमा सहभागिता खोजेको बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीले अहिल्यै यही मन्त्रालय भनेका छैनौँ । गठबन्धन दलहरूबीच छलफलको क्रममा एउटा आधार बन्ला । तर, हामीले सम्मानजनक ढंगबाट भागबण्डा हुनुपर्छ भनेका छौं ।’ गठबन्धनको सहयात्री भएकाले आफूहरूलाई दुई मन्त्रालय दिनुपर्ने भण्डारीले दाबी गर्नुभयो ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने कृषि, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण, शिक्षा, वन तथा वातावरण, सहकारी तथा गरिबी निवारण, ऊर्जालगायतका मन्त्रालयलाई नेताहरूले कम महत्व दिने गरेका छन् । यो सरकारमा सहभागी हुन चाहेका दलहरूले समेत त्यही परम्परालाई दोहोर्‍याउँदै मन्त्रालय छनोट गर्ने गरेको पाइएको छ । यद्यपि, गठबन्धन सरकारमा १० दल कायम रहेकाले सबैलाई भाग पुर्‍याउँदा मन्त्रालय रोजेरै पाउने सम्भावना भने निकै कम छ ।

दलहरूले शक्तिशाली र मालदार मानिएका मन्त्रालय नै छनोट गर्नुमा सरुवा, बढुवा, व्यापार व्यवसायको आयात निर्यात, ठेक्का पट्टालगायत गतिविधिमा सक्रिय हुनेगरेको सम्बन्धित विषयका जानकारहरू बताउँछन् । मालदार मानिएका मन्त्रालयको जिम्मेवारीसहित एकपटक मन्त्री भइसकेपछि त्यसैलाई स्थायी आयश्रोतको माध्यम बनाउने र आफूलाई अरू मन्त्रीहरूभन्दा वजनदार ठान्ने प्रवृत्तिले काम गरेको उनीहरूको भनाइ छ ।

कम महत्व दिइएका तर जन सरोकारका मन्त्रालयहरूमा ठूला दलहरूले कम चासो दिनुले मालदार मानिएका गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, उद्योग वाणिज्य तथा आपूर्तिलगायत मन्त्रालयबाट ठूलै लाभ लिन सक्ने सार्वजनिक रूपमा अभिव्यक्तिहरू आउने गरेका छन् । प्रशासन सुधार सुझाव समितिका संयोजक काशीराज दाहालले वर्तमान गठबन्धनमा रहेका महत्वपूर्ण दलहरूले कम महत्व दिइएका मन्त्रालयको जिम्मेवारी लिएर सबै मन्त्रालयको हैसियत समान रहेको अनुभूति गराउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति पौडेल र चीनका राजदूतबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि चीनका राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र राजदूत सङबीच बुधवार शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पौडेल राष्ट्रपति भएपछि राजदूत सङले पहिलोपटक भेटेका हुन्। 

२५ फागुनमा राष्ट्रपति निर्वाचित भएका पौडेल भेटघाट तथा विभिन्न कार्यक्रमहरुमा व्यस्त छन्। 

घुस लिएको आरोपमा वैदेशिक रोजगार विभागका सुब्बा विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँमा कार्यरत पाण्डेले सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा बुधबार आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

वैदेशिक रोजगार कसुरमा मिलापत्रपछि रोक्का भएको बैंक खाता पुन: सञ्चालन गर्नका लागि सेवाग्राहीसँग घुस/रिसवत लिएको आयोगले दाबी गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालले जारी विज्ञप्तिमा पाण्डेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) खण्ड (ख) बमोजिमको कसुर गरेकोले ३० हजार नै बिगो कायम गरी जरिवाना र कैद माग दाबी गरी मुद्दा दायर भएको उल्लेख गरिएको छ ।

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ आजदेखि निष्काशन खुला

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले चैत ८ गते बुधबारदेखि चैत १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ ।  

कम्पनीले ४३ करोड ६८ लाख रुपियाँ बराबरको ४३ लाख ६८ हजार कित्ता आईपीइओ सर्वसाधारणका बिक्री गर्न लागेको हो ।

चार लाख ३६ हजार ८०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि  र १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । 

बाँकी ३५ लाख ८१ हजार ७ सय ६० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । 

सर्वसाधारणका लागि छुट्याइएको उक्त शेयर ३ लाख ५८ हजार १ सय ७६ जनाले १०–१० कित्ताका दरले पाउने छन् ।  

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो कारोबारको दिन आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १५.७६ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब २९ विन्दुमा पुगेको हो ।  

त्यस्तै, आज नेप्सेमा एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज मायाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २९२ रुपैयाँ पुगेको छ । यसका साथै आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ६.११ प्रतिशतले बढेर प्रतिकित्ता ९५५ रुपैयाँ पुगेको छ ।      

नेप्सेका अनुसार बोटलर्स नेपाल तराइका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज ९ करोड १९ लाख भन्दा बढीको कारोबार भएको छ ।                        

योगदानमा आधारित सामाजिक सुरक्षा कोष आबश्यक: मुख्यसचिव बैरागी

काठमाडौं । सरकारका मुख्यसचिव शंकरदास बैरागीले सामाजिक सुरक्षामा सरकारको दायित्व सामाजिक सुरक्षा योजनाबाट कम गर्नुपर्ने बताएका छन् ।

बुधवार सामाजिक सुरक्षा कोषको कार्यक्रममा उनले सरकारको सामाजिक सुरक्षा दायित्वको लागत बढ्दै गएको बताए ।

वैरागीले कुल गार्हस्थ्य उत्पादनको ५.१८ प्रतिशत र बजेटको १२ प्रतिशत माथि सामाजिक सुरक्षाको क्षेत्रमा खर्च भएको भन्दै वर्षैपच्छिे सामाजिक सुरक्षामा खर्च बढ्दै जाँदा बजेटको स्रोतमा चाप पर्ने गरेको बताए ।

उनले सामाजिक सुरक्षाको दायरालाई बिस्तार गरी सरकारको सामाजिक सुरक्षाको दायित्वलाई कम गर्दैै लैजान सक्नुपर्ने र त्यसका लागि योगदानमा आधारित सुरक्षा योजना उपयुक्त भएको बताए ।

मुख्यसचिव वैरागीले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा आवद्ध गराउँदा राष्ट्रिय पुँजीको निर्माण गर्न सहयोग पुग्ने बताए ।

राष्ट्रिय पुँजी पूर्वाधार निर्माण र सामाजिक सुधारमा खर्च गर्नसके पुँजीको अभावबाट परेको समस्या सहज हुनसक्ने भन्दै उनले तरलता व्यवस्थापन गर्न पनि कोषले महत्वपूर्ण भूमिका खुल्ने बताए ।

वैरागीले अनौपचारिक क्षेत्रमा कार्यरत र स्वरोजगारमा आवद्ध व्यक्तिहरुको सामाजिक सुरक्षाको दायरामा समेट्न नसकिए पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा ल्याउनु राम्रो भएको बताए ।

मुख्यसचिव वैरागीले सामाजिक सुरक्षा कोषलाई सबै पक्षबाट सहयोग र सुदृढ बनाउन जरुरी रहेको बताए । उनले सामाजिक सुरक्षा दायरा बढाउँदै सामाजिक संरक्षण दिगो र उत्पादनमुखी बनाउन सामाजिक सुरक्षा ऐन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

सामाजिक सुरक्षा कोषको श्रमिक सुचिकृत योजना प्रधानमन्त्री प्रचण्डद्वारा शुभारम्भ

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् ।
सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको सामाजिक सुरक्षा कोष कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । उक्त योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ ।

वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ ।

उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौँ श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको थियो ।

ट्रेड युनियन सङ्घ सङ्गठनले लामो समयदेखि अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन माग गर्दै आएका थिए ।

नेपालको औपचारिक क्षेत्रका श्रमिकले तीन वर्षदेखि सामाजिक सुरक्षा योजनाबाट लाभ लिन थाले पनि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिक त्यसबाट वञ्चित हुँदै आएका थिए । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन पैरवी गर्दै आएको थियो ।

नयाँ श्रम स्वीकृति लिनेलाई आजदेखि कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य गरिएको छ । हाल दैनिक करिब दुई हजार जनाले श्रम स्वीकृति लिने गरेका छन् ।

श्रम स्वीकृति लिनेले कोषमा एक महिनाको योगदान रकम जम्मा गर्नुपर्ने छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले छ महिनाको योगदान रकम जम्मा गर्दा १० प्रतिशत छुट पाउने प्रवक्ता पन्थीले बताए ।

विदेशमा रहेका श्रमिकले कोषको वेबसाइटबाट सूचीकरण गरी योगदान रकम जम्मा गर्न सक्नेछन् ।

स्वीकृत कार्यविधिबमोजिम वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका श्रमिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम रु २ हजार मासिक रूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन् ।

प्रवक्ता पन्थीका अनुसार कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् ।

कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम सङ्कलन भएको छ । कोषले योगदानकर्तालाई रु तीन अर्ब ८१ करोड दाबी भुक्तानी गरेको छ ।

विसं २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो ।

सहसचिवको नतिजा सार्वजनिक (नामावलीसहित)

काठमाडौं । लोकसेवा आयोगले लिएको सहसचिवको पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
लोकसेवाले गत पुस २५ र २६ गते लिएको खुल्ला प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्णको नतिजा सार्वजनिक गरेको हो ।

जसअनुसार वन, जनरल फरेष्ट्री सेवातर्फ तीन जना छनोट भएका छन् । १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित संख्या २० जना रहेका छन् । शक्षा, शिक्षा प्रशासन सेवातर्फ तीन जना छनोट भएका छन् । १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित संख्या २२ जना रहेका छन् । स्वास्थ्य, मेडिसिन, नेफ्रोलोजी सेवातर्फ कोहि पनि छनोट भएका छैनन् । स्वास्थ्य, मेडिसिन, ट्रपिकल मेडिसिन सेवातर्फ एक जना छनोट भएका छन् । एक जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित एक जना नै रहेका छन् । स्वास्थ्य, डर्माटोलोजी/लेप्रोलोजी, भेनरल डिजिजेज सेवातर्फ चार जना छनोट भएका छन् । २ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित संख्या १६ जना रहेका छन् ।

उत्तीर्ण उम्मेदवारलाई सूचना प्रकाशित भएको सात दिनभित्र पासपोर्ट साइजको २ कपी फोटो, आवश्यक न्यूनतम योग्यता यकिन हुने कागजातसहित दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरेर दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा प्रमाणपत्रको प्रतिलिपि आफैंले प्रमाणित गरी रुजू गराउनसमेत आयोगले जानकारी गराएको छ ।

२९ जना कर्मचारी परे विभागीय कारवाहीमा

काठकाडौं । यो आर्थिक बर्षमा विभागीय सजायमा २९ कर्मचारी परेका छन् । लोक सेवा आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो बर्ष विभिन्न तह र विभिन्न मन्त्रालय गरि २९ जना कर्मचारीहरु विभागीय सजाय परेका हुन् ।

जसमध्य सबै भन्दा बढी स्वास्थ तथा जनसंख्या मन्त्रालयका कर्मचारी छन् । स्वास्थ्य मन्त्रालयका नौं जना कृषि तथा पशुपन्छी विकास मन्त्रालयका आठ जना, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तीन जना, अर्थ र संस्कृत पर्याटन मन्त्रालयका दुई दुई जना, उर्जा, वन, सामान्य प्रशासन, उद्योग, भौतिक पूर्वाधारका एक एक जना विभागीय कारवाही भएका हुन् ।

जसमध्य उपसचिव तीन जना, शाखा अधिकृत चौध जना, नायब शुब्बा सात जना, पाँचौं तहका तीन जना र खरिदार दुई जना विभागीय कारवाही परेका छन् । उनीहरुलाई फरक फरक सजाय तोकिएको छ । नसिहत दिनेमा छ जना, तलब बृद्धि रोक्कामा तीन जना, वढुवा रोक्कामा एक जना, सेवावाट हटाउनेमा सोह्र जना, सेवाबाट बर्खास्त हुनेमा तीन जना रहेका छन् ।

नेपाल सरकारका सचिबको ब्यागेज दिल्लीमा फुटेसि तातेको पर्यटन मन्त्रालय

काठमाडौँ । तोकिएको जिम्मेवारीमा कसरी सेवा दिन्छ्न् अनि कतिसम्म गैरजिम्मेवार हुन्छ्न भन्ने यथार्थ नेपाल सरकारका सचिब गोकर्ण मणि दवाडीको ब्याग (luggage) दिल्ली पुग्दा फुटेको सन्दर्भले यतिबेला सबैको ध्यान केन्द्रित गराएको छ। यो सन्दर्भ सार्वजनिक भए सगै ब्यागेज फुटेको विषयमा छानबिन सुरु हुनेभएको छ ।

एउटा सचिबको ब्यागेज फुटेपछि मात्रै सबैको ध्यानाकर्षण हुने हो कि सर्वसाधारणले अहिलेसम्म भोग्दै आएका सास्तीका बारेमा पनि त्यो छानबिन समितिले छलफलको बिषय बनाउछ त्यसप्रति समेत सबैले चासोका साथ हेरेका छन।

नेपाल वायुसेवा निगमले सचिव दुवाडीको ब्यागेज फुटेको विषयमा छानबिन सुरु गर्न लाग्दा सर्वसाधारणले भोग्दै आएका समस्यालाई पनि त्यो समितिको ध्यान जन जरुरी छ भन्ने आवाज पनि त्यतिकै उठन थालेको छ ।

सोमबार सचिव दुवाडी काठमाडौँबाट दिल्ली उडानका क्रममा आफ्नो ब्यागेज फुटेको ट्विटर मार्फत जानकारी गराए पछि सस्कृती पर्यटन ,नागरिक उडान मन्त्रालयको ध्यानाकर्षण भए सगै उक्त घटनाबारे जानकारी पाएपछि छानबिन सुरु गरिएको बायुसेवा निगमले जनाएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा निगमलाई मेन्सन गरेर सचिव दुवाडीले लेखेका छन्, ‘नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्‍यो । यसको जिम्मा कसले लिने तिम्रो अनुसन्धान गर्दै गरौला, मैले मेरो सामान बोक्न अब डोको खोज्नुपर्‍यो भन्दै ट्विट गरेपछि बायुसेवाको बास्तबिकता सेवा बाहिर आएको हो।

४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १७ गतेदेखि सुरु हुँदै छ। परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। परीक्षाका लागि देशभर ४ लाख ८५ हजार विद्यार्थी तयारीमा जुटेका छन्।

कक्षा १० को एसइई परीक्षामा यस पटक ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै छन्। साधारण, परम्परागत र प्राविधिक धारका गरी ८६ विषयको परीक्षाका लागि सबै जिल्लामा उत्तर पुस्तिका र प्रश्न पत्र पुर्‍याई सकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रदेशगत रूपमा फरक–फरक प्रश्न पत्र बनाई २ हजार ३७ परीक्षा केन्द्रमार्फत परीक्षा लिइने छ। सङ्घीयताको प्रावधान अनुसार एसइई परीक्षा लिइने दायित्व प्रदेश सरकारको हो। तर पर्याप्त संरचना र जनशक्ति अभाव देखाउँदै केन्द्रले नै लिँदै आएको छ।

आजको मौसम : मेघगर्जन, चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशभर आंशिक बदली रही पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको छ ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि सामान्य बदली रहेको छ । अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा बढी धनगढीमा ३१ मिलीमिटर वर्षा भएको छ । काठमाडौँमा १७, वीरेन्द्रनगरमा १७, ओखलढुङ्गामा ११, घोराहीमा १० र लुम्लेमा २२ मिलीमिटर वर्षा मापन गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ११ र अधिकतम तापक्रम १९ दशमलव नौ डिग्री सेल्सियस छ ।

न्यौपाने भए कृषि बिकास बैकको उपमहाप्रबन्धक

दाङ जिल्लामा जन्मनुभएका यज्ञप्रकाश न्यौपाने बैकिङ्ग क्षेत्रमा कुशल र अनुभवी व्यक्तित्वको रुपमा चिनिनुहुन्छ । हाल कृषि विकास बैंकको कामु उपमहाप्रबन्धकको जिम्मेवारीमा रहनुभएका न्यौपानेले कृषि विकास बैंकमा झण्डै २३ वर्ष विताइसक्नुभएको छ ।

अर्थशास्त्रमा स्नातकोत्तर र गणित विषयमा स्नातक शिक्षा हाँसिल गर्नुभएको न्यौपाने आफ्नो केही समय शिक्षण पेशामा समेत व्यतित गर्नुभएको थियो ।

उहाँले १ वर्ष बढी त्रिभुवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा शिक्षण सहायक पदमा नियुक्त भई प्राध्यापन गर्नुभएको थियो ।

तर उहाँलाई बैंकर बन्ने रहरले छाडेन । २०५६ सालमा कृषि विकास बैंकमा प्रवेश गर्नुभएका उहाँले २ दशक भन्दा बढीको यात्रामा ऐतिहासिक कार्य सम्पादन गर्न सफल हुनुभएको छ । २०५६/०८/२२ मा अर्थशास्त्री (सातौं तह)मा प्रवेश गर्नुभएका न्यौपानेले २०६५ साउन सम्म वित्त तथा लेखा विभागमा कार्यरत रहनुभयो ।

उहाँले सो पदमा रहँदा वित्तिय विवरण तयार गर्ने तथा नेपाल राष्ट्र बैंकमा वित्तिय रिपोटिङ्ग लगायतको कार्य गर्नुभएको थियो । २०६५ मा शाखा प्रमुख अधिकृतस्तरको द्धितिय श्रेणी नवौ तह (प्रशासन), लेखा विभागको जिम्मेवारीमा रहनुभई कार्यरम्भ गर्नुभयो । उक्त पदमा रहँदा बैंकको वित्तिय विश्लेषणसम्बन्धी कार्य गर्नुभयो ।

त्यसैगरी व्यावसायिक निर्णय लिन बैंक व्यवस्थापननलाई आवश्यक पर्ने विभिन्न प्रकारका वित्तिय सूचना उपलब्ध गराउने कार्यमा नेतृत्व गर्नुभयो ।

उहाँले बैंकको सम्पत्ति तथा दायित्व व्यवस्थापन उपसमितिको सदस्य सचिव भई कार्य समेत गर्नुभयो । साथै बैंकको व्याजदर निर्धारण र बाह्य लेखापरीक्षण कार्यलाई आवश्यक सहजीकरण गर्नुभएको थियो । कृषि विकास बैंकमा उहाँले महत्वपूर्ण कार्यमा नेतृत्वदायी भूमिका खेल्दै आउनुभएको छ ।

मिति २०७३/४/२२ देखि २०७६ /६/१ सम्म कृषि विकास बैंक लि. वित्तय तथा लेखा विभागमा विभागीय प्रमुख पदमा कार्यरत रहनुभयो ।

केन्द्रीय व्यवस्थापन सूचना प्रणालीको प्रारम्भ, बैंकको खाताबन्दी पुस्तिका भर्ने कार्यको अन्त्य गर्ने कार्यमा अग्रसर हुनुभयो । तोकिएको समयमा वित्तिय विवरण तयार गरी पहिलो पटक पौषमसान्तभित्र वार्षिक साधारणसभा सम्पन्न गर्ने कार्यमा आवश्यक कार्य सम्पादन गर्नुभयो ।

त्यसैगरी कृषि विकास बैंक लि. को का.मु. उपमहाप्रबन्धक पदमा मिति २०७६/६/२ गते देखि कार्यरत भएसँगै बैकका विभिन्न विभाग वित्ति तथा लेखा विभाग, शाखा सञ्चालन विभाग, ट्रेजरी विभाग, सूचना प्रविधि विभाग, बजार व्यवस्थापन विभाग, सामान्य सेवा विभाग र भौतिक सम्पत्ति व्यवस्थापनको नेतृत्व गर्नुभएको छ ।

त्यसैगरी बैंकको कार्य सञ्चालक समितिबाट गठन विभिन्न उपसमितिको आधुनिक बैकिङ्ग विस्तार, सञ्चालन जोखिम व्यवस्थापन उपसमिति, पूर्वाधार व्यवस्थापन उपसमितिमा, खरिद व्यवस्थापन उपसमिति, compliance सम्बन्धी उपसमिति, AML/CFT सम्बन्धी उपसमितिलगायत विभिन्न उपसमितिहरुको संयोजकको भूमिकामा कार्यसम्पादन गर्न सफल हुनुभएको छ ।

बैंकको सूचना प्रविधि सम्बन्धी नीति, शाखा सञ्चालन कार्यविधि, POS तथा शाखा रहित बैकिङ्ग सञ्चालन कार्यविधि, एटिएम(ATM) सञ्चालन तथा व्यवस्थापन कार्यविधि बैंकको सञ्चालन समितिबाट स्वीकृत गराउन आवश्यक कार्यका साथै बैंकमा विभिन्न आधुनिक बैकिङ्ग Product 5 in one लागु गर्ने कार्यमा नेतृत्व गर्नुभएको थियो ।

त्यसैगरी बैंकले प्रयोग गर्दै आएको सफ्टवेयरको स्तरोन्नतिसम्बन्धी आवश्यक कार्य गर्ने खेल्नुभएको थियो भने बैंकले दिएको जिम्मेवारी तल्लिन भई सम्पादन गर्दै आउनुभएको छ ।

सो बैंकको प्रमुख कार्यकारी अधिकृतका निम्ति उहाँले पनि दर्खास्त हाल्नु भएपछि बैक भित्र बाट नै उहाँकै नेतृत्व आउनु पर्छ भन्ने लबिङ सुरु भएपनि उहाँ छनोट हुन सक्नु भएन।

उम्मेदवारको शैक्षिक योग्यता तथा कार्यानुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारमध्ये ५ जनालाई ‘सर्ट लिष्टिङ्ग’ गरी अन्तरवार्ताका लागि छनौट गरिएपनी उहाँ कृषि बिकास बैकको सिइओ बन्न पाउनुभएन।

तर बैंक संचालक समितिको चैत १ गतेको बैंठकले नेउपानेलाइ उपमहाप्रबन्धकमा बढुवा गरेको छ।अब लामो समय कृषि बिकास बैकले नेउपाने बाट बिज्ञता सहितको सेवा पाउने देखिन्छ ।

उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले वैशाख १० मा चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगका अनुसार यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ता गर्न सकिनेछ। नयाँ खुल्ने दलहरूले उपनिर्वाचनमा भाग लिन भने पाउने छैनन्।

तर २०७९ फागुन ५ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलले उपचुनावमा भाग लिन फागुन १६ गतेसम्म दल दर्ता निवेदन आयोगमा पठाइसक्नुपर्छ।

राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिनुपर्ने आयोगको भनाइ छ।

गत मंसिर ४ मा भएको चुनावमा चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने निर्वाचित भएका थिए। तर सर्वोच्च अदालतले उनको उम्मेदवारी नै बदर गर्दै पद खारेज गरिदिएपछि यहाँ उपचुनाव हुन लागेको हो।

उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका छ।

चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको आयोगले जनाएको छ। चैत २३ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ।