प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको दिने तय भएको छ । त्यसको अघिल्लो दिन आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधाानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

१० पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दा रास्वपाले पनि समर्थन गरेको थियो । ११ पुसमा रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भए भने ३ माघमा रास्वपाका डोलप्रसाद अर्याल श्रम र शिशिर ढकाल शिक्षामन्त्री तथा तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री भए ।

२५ फागुनको राष्ट्रपति चुनावमा १० दलको गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई साथ दिएको रास्वपाले अब प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सत्ता पक्षकै बेञ्चमा बस्ने निर्णय गरेको छ ।

एक जना सब-इन्जिनियर पक्राउ

काठमाडौँ । पोखरामा एक जना सब-इन्जिनियर पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब-इन्जिनियर प्रविन विकलाई १५ हजार घुस रकमसहित पक्राउ गरेको हो । उनी पोखरा महानगरपालिका-२८ मा कार्यरत छन् ।

उनले बाटो निर्माण गर्दा जग्गा मिल्ने गरी बाटो लगिदिने भन्दै घुस मागेका थिए।

सोही सूचनाको आधारमा आयोगबाट खटिएको टोलीले उनलाई पोखरा–१४स्थित चाउथेबाट शुक्रबार पक्राउ गरेको हो।

स्ववियु निर्वाचन : मतदान जारी, केहि क्याम्पसमा निर्वाचन रोकिए

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ ।

देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो ।

चौध वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा विद्यार्थी उत्साही भएर मतदान प्रक्रियामा सहभागी भएका छन् । बिहानैदेखि विद्यार्थी लाइनबद्ध भएर मतदानमा सहभागी भएका छन् । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखियता नियमित हुनसकेको छैन ।

उपत्यकाका क्याम्पसमा त्रिवि केन्द्रीय क्याम्पस, नेपाल ल क्याम्पस, सररस्वती क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, थापाथली इञ्जीनियरिङ क्याम्पस, पुल्चोक इञ्जीनियरिङ क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पसलगायत अधिकांश क्याम्पस मतदान सुरु भएको उनले जानकारी दिए । मतदानका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

सरकारले विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यन्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ ।

यी क्याम्पसमा स्ववियु निर्वाचन रोकिए

उपत्यका सबैजसो क्याम्पसमा मतदान भइरहे पनि देशभरिका ६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।

विद्यार्थी सङ्गठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित निर्वाचन प्रक्रिया रोकिएको छ । उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अबरुद्ध रहेको छ । नेपाल कमर्स क्याम्पसमा हिजो अन्तिम समयमा आएर निर्वाचन रोकिएको हो ।

यस्तै सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जीनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस निर्वाचन प्रक्रिया रोकिएको छ । यस्तै त्रिचन्द्र क्याम्पसमा यही चैत ९ गतेका लागि तोकिएको छ ।

सरकारमा जाने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ ।

आज संघीय संसद भवनको शङ्कर हलमा बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे काँग्रेसको संसदीय दलको बैठकले कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने छ ।

चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल

काठमाडौं । गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभयो । संघीय संसद्मा बिहीबार भएको निर्वाचनमा ३३ हजार ८ सय २ मतभारका साथ पौडेल राष्ट्रपति पदमा विजयी हुनुभएको हो । पौडेलका प्रतिष्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नुभयो ।

यसअघि २०६५ साउनमा कांग्रेसकै डा. राववरण यादव पहिलो राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी २०७२ कात्तिक ११ सम्म राष्ट्रपति थिए ।

त्यसपछि एमालेकी विद्या भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । दोस्रो कार्यकालका लागि २०७४ फागुनमा २९ मा उनी पुनः निर्वाचित भइन् ।

राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३ सय १३ सांसदले मतदान गरेका थिए । जसको कुल मतभार २४ हजार ७ सय २७ रहेको थियो । प्रदेशतर्फ ५ सय १८ सांसदले मतदान गरेका थिए । प्रदेशतर्फको मतभार २४ हजार ८ सय ६४ रहेको थियो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।

मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल तटस्थ रहनुभएको थियो । त्यसै गरी माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद चन्द्र भण्डारी उपचारका लागि विदेश हुनुहुन्छ भने एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी हुनुभएन । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् । त्यस्तै, मधेश प्रदेशकी जसपा सांसद बिन्दु यादव अनुस्थित रहनुभयो भने नेपाली कांग्रेसका संघीय सांसद टेकबहादुर र रास्वपाका सांसद रवी लामिछानेको संसद पद खारेज भएको तथा जसपाका सांसद सहनाज रहमानको निधन भएकोले ३ मतको २ सय ३७ मतभार घटेको थियो ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा (एकीकृत समाजवादी), जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमोर्चा, नेसपा र आम जनता पार्टीले खुलेर समर्थन गरेका थिए ।

बिहीबार मतदान अघि बसेको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकबाट रास्वपाले पनि पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेपछि उहाँको पक्षमा दुई तिहाइभन्दा बढी मत खसेको हो । अर्का उम्मेदवार नेम्बाङलाई भने एमालेको र केही क्रस मत परेको निर्वाचन परिणामले देखाएको छ ।

आम निर्वाचनमा भएको कांग्रेससहितको गठबन्धन गत पुस १० मा टुटाएर एमालेसहितको सात दलीय गठबन्धन गरी सरकारको नेतृत्व गर्नुभएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले फागुन १० मा पुरानै गठबन्धनमा फर्की कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गरेर नयाँ समीकरणमा जाने निर्णय गरेसँगै पौडेललाई राष्ट्रपति बन्न सहज बाटो खुलेको हो ।

तनहुँको ब्यासदेखि शीतल निवाससम्म

२००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मिएका पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुखको जिम्मेवारीमा पुग्नुभएको छ । मध्यम वर्र्गीय किसान परिवारमा जन्मिएका पौडेलले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गर्नुभएको छ । नेपाली कांग्रेसमा लागेर छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा सक्रिय नेता पौडेल आजैदेखि संवैधानिक राष्ट्रप्रमुखको रूपमा सबैको साझा व्यक्ति भएर काम गर्ने जिम्मेवारीमा आइपुग्नुभएको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिक्रिया दिनुभयो ।

पौडेलले ६ पटक सांसद, ५ पटक मन्त्री र एक पटक प्रतिनिधिसभाको सभामुखको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँले २०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसद्मा १७ पटकसम्म चुनावी प्रतिस्पर्धामा उत्रिए पनि पराजित हुनुभएको थियो भने २०७४ को संसदीय निर्वाचनमा तनहुँ–२ बाट पराजित हुनुभएको थियो । यसपटक संसद्मा सहभागी १३ दलमध्ये नौ दलको समर्थनमा गठबन्धनले साझा उम्मेदवार बनाएपछि पौडेल देशको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति बन्न सफल हुनुभएको हो ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले २०१६ सालमा हिमालयन छात्र संघको सदस्य बनेर राजनीतिक यात्रा शुरू गर्नुभएको थियो । २०१७ सालमा राजाले संसद् भङ्ग गरी बीपीलाई जेल हालेको विरोधमा प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएदेखि उहाँ सक्रिय राजनीतिक कार्यकर्ताका रूपमा अघि बढ्नुभयो । २०२७ सालमा नेविसंघको संस्थापक सदस्य बन्नुभएका पौडेल २०३४ सालबाट आफ्नै जिल्ला तनहुँबाट जिल्ला सदस्य भएर मूल पार्टी नेपाली कांग्रेसमा सक्रिय हुनुभयो ।

२०४३ सालमा केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख हुँदै निरन्तर केन्द्रीय सदस्य हुनुभएका पौडेल २०६२ सालमा कांग्रेसको महामन्त्री, २०६४ सालमा केन्द्रीय उपसभापति, २०७२ सालमा कार्यवहाक सभापतिसम्म बन्नुभएको थियो ।

त्यस्तै, २०४८ सालपछि भएका ७ वटा संसदीय चुनावमध्ये २०७४ सालको बाहेक अन्य सबै निर्वाचतमा उहाँले तनहुँबाट निरन्तर जित हासिल गर्दै आउनुभएको थियो । २०५१ सालमा प्रतिनिधि सभाको सभामुख बनेका पौडेल २०६५ मा कांग्रेस संसदीय दलको नेता भएर प्रमुख विपक्षी दलको नेताको भूमिकामा रहनुभएको थियो । उहाँ २०४८ सालमा पहिलोपटक स्थानीय विकास मन्त्री बन्नुभएको थियो भने २०४९ सालमा कृषिमन्त्री, २०५६ सालमा उपप्रधानमन्त्रीसहित सूचनारसञ्चारमन्त्री, स्थानीय विकास र गृहमन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

२०६३ सालमा माओवादी शान्तिप्रक्रियामा आएपछि उहाँ शान्ति तथा पुनःनिर्माण मन्त्रीसमेत बन्नुभयो । प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार र १५ वर्ष जेल जीवन बिताएका पौडेल २०७९ साल फागुन २५ गते बिहीबार भएको चुनावबाट गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएर शीतल निवास प्रवेश गर्दै हुनुहुन्छ । पौडेलको काँधमा संविधानको संरक्षक भएर राष्ट्रको अभिभावकत्व ग्रहण गर्ने जिम्मेवारी आइपुगेको छ । संविधानको कसीमा बसेर विवादरहित राष्ट्रपतिको भूमिका निर्वाह गरी बिदा हुने चुनौती पौडेलमाथि छ । गणतन्त्र नेपालको राष्ट्रपतिको भूमिका कस्तो हुनुपर्छ भनेर सबैले देख्ने गरी काम गर्ने नव निर्वाचित राष्ट्रपति पौडेलले प्रतिक्रिया दिनुभएको छ ।

घुससहित  शिक्षा अधिकृत पक्राउ

काठमाडौँ । सरुवा सहजीकरणका लागि भन्दै एक लाख घुस खाने अधिकृत अख्तिायर दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।यस्तो फट्याई गर्न अधिकृत हुन,ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाका शिक्षा अधिकृत ।
अधिकृत शेषकान्त पौडेललाई अख्तियारले टोलीले एक लाख घुससहित पक्राउ गरेको हो ।

उनले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस गरेको उजुरी अख्तियारमा परेको थियो । यसपछि खटिएको टोलीले पौडेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

नवनिर्वाचित राष्ट्रपति पौडेल आज पशुपति र बिपी संग्रहालय जाने

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज (शुक्रबार) बिहान ९ बजे पशुपति जाने कार्यक्रम रहेको छ । पशुपति दर्शनपछि राष्ट्रपति पौडेल सुन्दरीजल जाने कार्यक्रम छ । सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र सङ्ग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ ।

त्यसअघि बिहान ८ बजे पौडेलले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । सभामुख घिमिरे आज आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर-व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन बहराइन जान लागेका छन् ।

पौडेल बिहीबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका थिए 

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ आज

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । यसअघि बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको रिटको आजका लागि पेसी तोकिएको हो ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो । तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखेका हुन् 

०७६ साल माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा भएका ५ हजार जनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए ।

उक्त अभिव्यक्तिविरुद्ध उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

प्रशासनिक क्षेत्रमा बिकृति थोपर्दै सचिब पुष्कर

काठमाडौ । नेपालको सार्वजनिक प्रशासनको गरिमा कमजोर गराउने अभियानमा प्रशासन क्षेत्रकै बहालवाला कर्मचारीको प्रमुख हात रहेको देखिन्छ । लोकतान्त्रिक ब्यबस्थामा यात्रारत नेपालको प्रशासन क्षेत्रले मर्म अनि धर्म अनुसार पछिल्लो पटक आफ्नो लिक छोडदै गएको अनुभुती प्रशासकहरुका कार्यसम्पादन नियाल्दा यो झल्को आउने गरेको छ।


राजनीतिक नेतृत्वलाई औंला देखाएर नेतृत्वमा रहेका प्रशासकले आफू जोगिन खोजेको देखिदै छ तर जो जहाँ छौ त्यहाँबाट आफुले लोकसेवा अध्ययन गर्दा अनि देश बिदेशका अभ्यासलाई डटेर राजनीतिक नेतृत्व सामु प्रस्तुत हुन नसक्दा दिन प्रति दिन नेपालको प्रशासनको गरिमा कम्जोर बन्दै गएको अनुभुति गर्नुपरेको हो ।


आकर्षक मन्त्रालय पाउने लोभमा सकेसम्म सबै पार्टीको सदस्यता हात पार्ने र मन्त्रालय छिर्ने प्रवृत्ति कायम रहेसम्म जनस्तरमा प्रशासन क्षेत्रको आलोचना बढनेक्रम कम हुने देखिदैन । मुख्यसचिव एक्लोले थिती र बिधिमा रहि काम गरेरमात्र हुदैन भन्ने उदाहरण अहिले हेर्न सक्छौ।


मुख्यसचिव केहि नयाँपन दिऔ भन्ने सोचले अगाडि बढेको देखिन्छ तर प्रशासनको चेन अफ कमान्ड भन्दा बाहिर गएर दबाब र प्रभावमा पारेर मन्त्रालय हत्याउने कनिष्ठ सचिबका कारण सेबा प्रबाहमा समेत ठुलै असर परिरहेको छ।


लोकतान्त्रिक ब्यबस्था कै विरुद्धमा लाग्ने लोकमान सिह कार्की आख्तियारमा रहदा उनका खास मतियारका रूपमा परिचालन भएका पृष्ठभुमि बोकेका सचिब कृष्णहरि पुष्कर सचिब बढुवासँगै प्रदेशमा नगएरै अर्थको राजस्वमा जिम्मेवारी हत्याउन के सम्म योगदान गर्नुपर्यो त्यो सबै सामु छर्लङ्ग छ।

सचिब बढुवा भएपछि प्रदेश नगै सघमा जिम्मेवारी नपाउने निजामती ऎन र बिधि उनका हकमा किन लागु भएन यो सन्दर्भ नत बहसमा आयो नत भित्र जमेर रोक्न सकियो ।पछिल्लो समय प्रशासन भित्रको बिकृती नेतृत्व गर्दै तिनै पुष्कर सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हाकिरहेका छ्न यसबाट सजिलोसँग भन्न सक्छौ हामी कहाँ छौ। उनी सामान्य प्रशासन मन्त्रालय भित्रिए सगै ठुलै संख्यामा सहसचिव उपसचिव र शाखा अधिकृत सम्म सरुवा बढुवा गर्न सफल भैसकेका छ्न ।


स्थानीय तहमा पठाउने कार्यकारीहरुलाई घरमै बोलाएर बोलकबोलमा जिम्मेवारी दिन समयको चापले उनलाई भ्याइनभ्याई भएको छ। उनलाई अहिले परेको मर्का मन्त्रीले समेत बुझ्न सकेका छैनन। के यस्तै प्रवृत्तिलाई प्रोत्साहन दिन पुष्कर भित्र्याइएको हो ? इमानदार प्रशासकले यतिबेला प्रश्न गर्दैछ्न भने यो हर्कत देख्ने र बुझ्ने नागरिक समाज आकोशित बन्दै गएको छ।

माओवादी धारका नेताहरूको बैठक बालुवाटारमा जारी

काठमाडौँ । माओवादी धारका नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ८ बजेदेखि सुरु भएको हो ।

जारी बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल सहभागी रहेका छन् ।

यस्तै नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष आहुती लगायतका नेताहरु पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि माओवादी नेताहरु एक भएका हुन् । बैठकमा पार्टी एकता वा कार्यगत एकताबारे छलफलको एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत आइतबार शहीद तथा वेपत्ता योद्धा सन्तती फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा माओवादी धारका नेताहरुले एकजुट भएरअगाडि बढ्ने बताएका थिए । द्वन्द्वकालीन घटनाको मुद्दाको विषय उठेपछि १० वर्षे सशस्त्र जनयुद्धमा सँगै सहभागी भएका विभिन्न माओवादी धारका नेताहरू छलफलमा जुटेका हुन् ।

राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु

काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगका अनुसार फागुन २५ गते हुने निर्वाचनका सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको हो ।

मौन अवधिमा राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसार लगायतका कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको आयोगले जनाएको छ ।

आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता जारी गरेको थियो । उक्त आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड(७२, संख्या ३२ मा प्रकाशन भइसकेको छ । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पनि सोही आचारसंहिता लागू भएको थियो ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता हुन्छन् । संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का ३३२ जना सदस्य र ७ वटै प्रदेश सभाका ५५० जना सदस्य गरी ८८२ जना मतदाता छन् ।

राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास चन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । कांग्रेसका पौडेललाई सत्तारुढ माओवादी केन्द्रसहितका दलहरूको साथ रहेको छ ।

सुनकाे मूल्य बढ्याे

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि गत साताको कारोबारको अन्तिम दिन शुक्रबार एक लाख दुई हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँ कायम गरिएको छ । गत शुक्रबार एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैयाँ बढेर आज चाँदीको मूल्य प्रतितोला एक हजार २७५ रुपैयाँ पुगेको छ ।अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा महासंघले नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औन्स एक हजार ८५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तो छ आज फागुन २१ गते आइतबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजबाट भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय पनि छ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । सांगीतिक क्षेत्रमा रुचिपनि बढ्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले राम्रै सहयोग गर्नेछन् । भूमिबाट पनि लाभ मिल्ला ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम पनि बिग्रिएला ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज स्वास्थ्यमा खर्च बढ्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला । सानो तिनो समस्यामा पनि अल्झनुपर्ला ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) पारिवारिक जीवनमा असमझदारी बढ्न सक्छ । विद्यार्थीले पनि पढाई अलिक ध्यान दिनुपर्नेछ । वैदेशिक कार्य भने बन्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ ।

अन्तर्घात छानबिन प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता: जसपा अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तर्घात छानबिन प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता गरेका छन् । हिजो (शनिबार) छानबिन समितिको प्रतिवेदन बुझ्दै उनले केही समयभित्रै उक्त प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता गरेका हुन् ।

अध्यक्ष यादवका अनुसार प्रतिवेदन आगामी बैठकमा प्रस्तुत हुन्छ । उनले यो प्रतिवेदनले भविष्यमा अनुशासित मर्यादित पार्टी पंक्तितयार गर्ने र आउने पिँढीलाई मार्गनिदेश गर्ने बताए ।

शिवलाल थापा संयोजकत्वको छानबिन समितिले गत मंसिरमा सम्पन्न निर्वाचनमा भएको अन्तर्घातको स्थलगत रुपमा तयार पारेको प्रतिवेदनमा केन्द्रदेखि स्थानीय तहसम्मका ८० जना नेता, कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरेको छ ।

सत्ता साझेदार दलको बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सत्ता साझेदार दलका बैठक बस्ने भएको छ । बैठक आज (आइतबार) प्रधानमन्त्री निवास वालुवाटारमा अपरान्ह ४ बजे बस्ने भएको हो ।

फागुन २५ मा हुन गईरहेको राष्ट्रपति निर्वाचन र मन्त्रिमण्डल विस्तार लगायतका बिषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।