थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५४१ जनामा पिसिआर परिक्षण गर्दा ६४ जना र ९४७ जनामा एन्टीजेन परिक्षण गर्दा ४२ जना गरी जम्मा १४८८ नमुनाको परीक्षण गर्दा १०६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा ७४ जनाले कोरोना जितेर निको भएका छन् ।

हाल देशभर ४३५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा ४२ जना कोरोना संक्रमितहरु रहेकोमा संस्थागत आइसोलेशनमा २७ जना, आईसीयुमा १२ जना र भेन्टिलेटरमा ३ जना रहेका छन् ।

तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले तीन कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । बिहिबार नेप्सेले महालक्ष्मी विकास बैंक, युनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत गरेको हो । 

बिहीबार महालक्ष्मी विकास बैंक (MLBL),युनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । यस दिन महालक्ष्मी विकास बैंकको १६ लाख ४ हजार ३५३.३१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको ४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै युनियन लाइफ इन्स्योरेन्स (ULI) को पनि १९ लाख २८ हजार ५५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई ८.९७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यसैगरी पोखरा फाइनान्स लिमिटेड (PFL) को पनि ४ लाख १६ हजार ३६७.९२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । फाइनन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको ४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकृत ३ वटै कम्पनीको बोसन शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

सरकार र मिटरब्याजीविरुद्ध किसान मजदुर संघर्ष समितिको वार्ता भंग

काठमाडौँ – मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ।

बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै मिटरब्याज पीडितले सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेका हुन्।

सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ। ५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरु दोहोर्‍याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए।

प्रवक्ता नवीनले संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप लगाए।

विश्वविद्यालय विधेयकबाट सरकार पछि हट्दैन :मन्त्री राई

काठमाडाै‌ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई पारित गर्नुपर्ने बताएकाे छ । 

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री राईले विधेयकलाई पारित गर्नुपर्ने बताएका हुन् । उनले विधेयकबाट सरकार पछि नहट्ने स्पष्ट पारे । 

उनले नेपाल विश्वविद्यालयलाई छुट्टै इकाइको रुपमा मात्रै नहेरेर समग्र शैक्षिक परिस्थिति र परिवेश मिलाएर अगाडी बढाउनुपर्ने बताए । उनले विधेयक अगाडी बढाउँदा कार्यान्वयन हुनेगरी गर्नुपर्ने बताए । आगामी दिनमा कुनै त्रुटी र कमी नहुनेगरी विधेयकलाई अगाडि बढाउनुपर्नेमा उनको जोड छ । 

मन्त्री राईले नेपाल विश्वविद्यालयलाई नमूना विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी सोच्नुपर्ने बताए । उनले विश्वविद्यालयलाई बनाउने गरी नै विधेयकमा संशोधन दर्ता गर्न सांसदहरुलाई आग्रह गरे । 

काठमाडौँ महानगरका सामुदायिक विद्यालयले अब शुल्क उठाउन नपाउने (सुचनासहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूले कुनै पनि शुल्क उठाउन नपाउने भएका छन् ।

शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपयले विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै महानगरले कुनै पनि शुल्क नलिन आग्रह गरेको हो । 

महानगरले सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको छ ।

सिंहदरबार र राजधानी काठमाडौँबाट अन्यत्र सार्दा आपत्ति छैन : बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन साहले सिंहदरवार अरु नै पालिकामा सार्न आग्रह गरेका छन्।

सिंहदरवारले सहयोग नगरेको भन्दै मेयर साहले सिंहदरवार परिसरको फोहोर उठाउन बन्द गरेका थिए । त्यसपछि सोही विषयलाई लिएर पछिल्लो समय धेरै टीकाटिप्पणी समेत भएका छन् ।

सर्वसाधारण जति सबै मेयर साहको पक्षमा छन् । भने जनप्रतिनिधिहरूले उनको आलोचना गरिरहेका छन् ।

आफूहरूलाई राजनीति नभई सम्पदा, संस्कृती , कला र सभ्यता चाहिने उनले बताए । ‘हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन,’ मेयर शाहले भनेका छन् ।

यही बिचमा मेयर साहले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश पोख्दै लेखेका छन, ‘कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरवार अरु पालिकामा सार्नुहोस्। हामी काठमाडौँ बासीलाई कुनै आपत्ति छैन।

सगरमाथामा तीन शेर्पा गाइड बेपत्ता

सगरमाथा आरोहीहरूको सामान बोकेर गइरहेका तीन जना शेर्पा गाइड बेपत्ता भएका छन्। उनीहरू सेर्‍याक फल (हिम पहिरो) मा परी बेपत्ता भएका हुन्। घटना भएको थाहा पाएलगत्तै नाम्चे इलाका प्रहरी कार्यालयको टोली उद्धारमा संलग्न भएको छ।

पर्यटन विभाग पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले नाम्चेबाट घटनास्थल पुगेको इलाका प्रहरी कार्यालयको टोलीले बेपत्ता शेर्पाहरूको खोजी गरिरहेको बताए। टोलीमा संलग्न सहायक प्रहरी निरीक्षक पूर्णप्रसाद दाहालका अनुसार बेपत्ता शेर्पा गाइडहरू सोलुखुम्बु पासाङ गाउँपालिका-५ का स्थायी बासिन्दा हुन्। बेपत्ता हुनेमा सोलुखुम्बु पासाङ गाउँपालिका-५ का २१ वर्षीय लाक्पारिता शेर्पा, ३२ वर्षीय पेम्बातेन्जी शेर्पा र ४२ वर्षीय दाछिरी शेर्पा रहेको उनले बताए।

चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पु्र्याउने क्रममा आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा आइसफल क्षेत्रको दाम भन्ने स्थानमा इम्याजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिका तर्फबाट खटिएका गाइड बेपत्ता भएका हुन् ।

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले इम्याजिन नेपालबाट खटिएका तीन शेर्पा गाइड हराइरहेको बताए । उनले भने, “इम्याजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिका तर्फबाट खटिएका शेर्पा बाटो बनाउने क्रममा आवश्यक सामग्री पुर्याएर फिर्ता हुने क्रममा हिउँको ढिस्कोले पुरिएर बेपत्ता भएको जानकारी प्राप्त भएको छ ।”

वसन्त ऋतुमा सगरमाथा आरोहण टोलीलाई आवश्यक सामग्री पुर्याउने क्रममा आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा पर्ने आइसफल क्षेत्रमा हिउँको ढिस्को भर्‍याङसहित खस्दा गाइड हराइरहेको इम्याजिन नेपालले बताएको छ । राति १ बजे नै आधार शिविरका लागि प्रथान गरेको सो गाइड टोली क्याम्प–१ र क्याम्प–२ मा लागि सामान पुर्याएर फर्किंदै थियो । दिनभर खोजी कार्य जारी राखिएको भए पनि हराएका शेर्पा गाइडको स्थिति पत्ता लाग्न सकेको छैन ।

गाइड हराएको विषयमा जानकारी प्राप्त हुनासाथ स्थानीय प्रशासन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार संघ, इम्याजिन नेपाल कम्पनी र पर्वतारोहण सञ्चालक संघसँगको सहकार्यमा सिम्रिक एयरको हेलिकप्टरले ३ पटक खोजी गरेको विभागले बताएको छ । हिमपहिरो खसेको ढिस्को करिब ६० मिटर तल खोंचमा रहेकाले खोज तथा उद्धार गर्न कठिन भएको छ ।

हेलिकप्टरले खोजी गर्दा हावाको चापले थप हिउँको ढिस्को खस्ने सम्भावना भएकाले हेलिकप्टर घुमाएर खोजी गर्न नसकिएको बताइएको छ । हवाई मार्गबाट पत्ता नलागेपछि आधार शिविरबाट थप शेर्पा गाइडहरुलाई माथि पठाएर खोजी कार्य सुरु गरिएको इम्याजिन नेपालले बताएको छ । विभागले समेत स्थलगत मार्गवाट तीव्र रुपमा खोजतलास तथा उद्धार गर्ने कार्य जारी राखिएको जनाएको छ । बिहीबार भने हेलिकप्टरमा डोरी र यन्त्र उपकरणको सहयोगले खोंचमा खोजी कार्य तीव्र गर्ने जानकारी दिएको छ ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि २६ समूहका २ सय ६६ जनाले आरोहण अनुमति लिएका छन् । वर्षको पहिलो आरोहण शेर्पासहितको ११ जनाको टोलीले सगरमाथामा रोप फिक्सिङ (डोरी टाँगेर) बाटो बनाउँदै यस वर्षको पहिलो आरोहण पूरा गरेको थियो । गत वर्षको सिजनमा सगरमाथा आरोहणका क्रममा गएका ३ नागरिकको मृत्यु भएको थियो, जसमा २ नेपाली र १ विदेशी रहेका थिए ।

वि.सं. २०७९ को अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । वि.सं. २०७९ को अन्तिम कारोबार दिन, नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार, उच्च अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन बिहिबार (आज) नेप्से २९.०७ अंकले घटेर एक हजार ९ सय ३४ दशमलब ४७ विन्दुमा बन्द भएको हो । बुधबार भने नेप्से उच्च अंकले बढेको थियो ।     

त्यस्तै, आज एक अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको कारोबारमा करिब दुई अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २७ कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३००.७० रुपैयाँ पुगेको छ । यसका साथै कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५०१.८० रुपैयाँ पुगेको छ भने आज मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १५५.१० रुपैयाँ पुगेको छ ।        

नेप्सेका अनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५.५० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ८ करोड ४२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

होटलमा जुवातास खेलिरहेको अवस्थामा शेरचन समेत १० जना पक्राउ

टीकापुर नगरपालिका-१ ब्लक नम्बर ५ बस्ने ६८ वर्षीय दिल प्रसाद शेरचनको न्यू ब्रान्च होटलमा जुवातास खेलिरहेको अवस्थामा शेरचन समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार ९५ रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

 साथै, टीकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बस्ने खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा शाही समेत पाँचजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ६ सय ९५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

तीन मन्त्री र एक राज्यमन्त्री पाउँछौं : शेखर–गगन

काठमाडाै‌ । नेपाली कांग्रेसको संस्थापनइतरका नेता डा. शेखर कोइराला र पार्टी महामन्त्री गगन थापाले आफ्नो पक्षले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका छन् । नेपाली कांग्रेसले आन्तरिक किचलोका कारण सरकारमा पठाउने मन्त्री छान्न नसक्दा मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भइरहेको छ।

गत चैत १७ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बिस्तार गर्दा कांग्रेसले ४ जनालाई मात्रै मन्त्री बनाएको थियो।

उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकास मन्त्री बनेका थिए।

संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई ८ मन्त्रालय दिने सहमति सत्ता गठबन्धनभित्र भएको थियो। आफूले पाएको ८ मन्त्रालयमा पनि कांग्रेसले मन्त्री पठाउन सकेको थिएन। 

सभापति शेरबहादुर देउवाले आफू पक्षका ४ जनालाई मात्रै मन्त्री सिफारिस गरेका थिए। नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले मन्त्रीको नाम नै दिन मानेका थिएनन्।

कम्तीमा ३ मन्त्री आफूहरूले छान्न पाउनुपर्ने कोइराला-थापा समूहले सभापति देउवासँग माग गरेका थिए। ३ जना मन्त्री नपाएसम्म नाम नै नदिने अडानमा उनीहरू थिए।

सभापति देउवाले ३ मन्त्री र एक राज्यमन्त्री छान्न संस्थापनइतर समूहलाई आग्रह गरेका छन्।

बिहीबार बिहान बालुवाटारस्थित नेता कोइरालाको सचिवालयमा संस्थापनइतर समूहको बैठक बसेको थियो। केन्द्रीय कार्यसम्पादनले तय गरेअनुसार मापदण्डमा केन्द्रित भई मन्त्री छान्ने सहमति बैठकमा भएको छ।

‘पार्टीले ८ मन्त्रालय पाउँदा कम्तीमा ३ मन्त्रालय संस्थापनइतरलाई दिनुपर्छ भन्ने हाम्रो अडान हो। जनमत पार्टी सरकारमा नजाने देखिएकोले अब कांग्रेसले ९ मन्त्री र एक राज्यमन्त्री पाउने अवस्था बनेको छ,’ ती सांसदले भने, ‘३ मन्त्री र एक राज्यमन्त्री हामीले छानेर सभापतिलाई नाम दिन्छौं।’

जनमत पार्टीले गत चैत १९ मै मन्त्रालयमा असन्तुष्टि जनाउँदै सरकार छाडेको थियो। जनमतबाट अब्दुल खान खानेपानी मन्त्री थिए। जनमतले उद्योग मन्त्रालय मागेको थियो। उद्योग कांग्रेसले लिएपछि जनमत असन्तुष्ट छ। जनमतले सरकारले दिएको समर्थन भने फिर्ता लिएको छैन।

यसअघि गत चैत १७ मा कांग्रेसले ४ मन्त्री पठाएको थियो। सभापति देउवा पक्षबाट अझै २ मन्त्री छान्न बाँकी छ। सांसदहरू एनपी साउद र मोहनबहादुर बस्नेतलाई मन्त्री बनाउने तयारीमा सभापति देउवा छन्। देउवा पक्षबाट ६ जना मन्त्री हुँदैछन्।

साथै संस्थापनइतर समूह शेखर-गगन पक्षबाट ३ मन्त्री र एक राज्यमन्त्री हुनेछन्। उपसभापति धनराज गुरूङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, सांसद डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्य, राजेन्द्र बजगाई, मैना रावललगायत मन्त्रीका लागि आकांक्षी छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सांसद प्रदीप पौडेललाई पनि मन्त्री बनाउन सभापति देउवासँग माग गरेका थिए। 

‘नेता कोइराला र महामन्त्री थापाले आफ्नो समूहबाट निर्वाचित पदाधिकारीसँग छलफल गरेर मन्त्री र राज्यमन्त्रीको नाम टुंग्याउने कुरा भएको छ,’ बिहीबार बालुवाटारस्थित कोइराला सचिवालयमा भएको बैठकपछि एक सांसदले भने, ‘योग्यता र क्षमता हेरेर मन्त्री छान्ने कुरा भएको छ। मन्त्रीहरू एक वर्षमा फिर्ता बोलाउन पनि सकिने र राम्रो काम गरिरहे निरन्तरता पनि दिन सकिनेजस्ता विषयमा कुरा भएको छ।’

ती सांसदका अनुसार मन्त्री हुनेहरूको नाम छिट्टै बुझाउने तयारी छ। ‘उपनिर्वाचनसम्म नकुर्ने कुरा भएको छ,’ उनले भने, ‘केही दिनमै मन्त्रीका नाम टुंग्याइन्छ।’

स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै गण्डकी, कोशी र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

एकैदिन दुई कम्पनीको आईपीओ सूचिकृत

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सगरमाथा जलविद्युत कम्पनी र मोलुङ हाइड्रोपावर कम्पनीको आइपीओ सूचिकृत भएको छ ।

नेप्सेमा सगरमाथा जलविद्युत कम्पनीको १ करोड १२ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि १११ रुपैंया ४१ पैसा देखि अधिकतम ३३४ रुपैंया २३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘एसएमजेसी’ रहेको छ ।

कम्पनीले स्थानिय बासिन्दाहरुमा वितरण गरिएको ११ लाख २० हजार कित्ता, सर्वसाधारणको लागि वितरण गरेको ४३ लाख ६८ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको ५७ लाख १२ हजार कित्ता गरेर कुल १ करोड १२ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

त्यसैगरी,मोलुङ हाइड्रोपावर कम्पनीको ८० लाख २५ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि ६० रुपैंया ६२ पैसा देखि अधिकतम १८१ रुपैंया ७६ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘एमएचसिएल’ रहेको छ ।

कम्पनीले स्थानिय बासिन्दाहरुमा वितरण गरिएको ८ लाख २ हजार ५०० कित्ता, सर्वसाधारणको लागि वितरण गरेको २७ लाख २८ हजार ५०० कित्ता र संस्थापकहरूले लगानी गरेको ४४ लाख ९४ हजार कित्ता गरेर कुल ८० लाख २५ हजार कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

सूचिकृत पश्चात दुवै कम्पनीको सेयर भोली बिहीबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

आज (विहीवार) ३० चैत्र २०७९, तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एउटै कामबाट दोहोरो लाभ हुनसक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ । प्राविधिक कार्यमा पनि सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक धन खर्च पनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज निर्णय कार्यान्वयन हुन नसक्ला । आत्मबलमा कमी आउने र मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । शेयर बजारमा पनि रुचि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सजिलै अरूको मन जित्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । रोजगारको अवसर पनि मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म र कर्ममा मन पनि लाग्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । धार्मिक कार्यमा मन लाग्नेछ, तर समयको भने ख्याल गर्नु पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ ।

१३ एसएसपी डिआइजीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका १३ एसएसपीको डिआइजीमा बढुवा सिफारिस गरिएको छ ।

नेपाल प्रहरीले १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ। 

प्रहरी प्रधान कार्यालयले बुधबार १३ जना एसएसपीलाई बढुवा गर्न सिफारिस गरेको हो। 

बढुवामा पहिलो नम्बरमा कुबेर कडायत, दोस्रोमा केदार ढकाल, तेस्रोमा विष्णुकुमार केसी र चौथोमा भरतबहादुर बोहरालाई बढुवा गर्न सिफारिस गरेको हो।

यस्तै, रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुँबेर खापुङ, जनक भट्टराई लगायतको पनि बढुवा सिफारिस भएको हो। 

प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। 

भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित ११ जनाविरुद्व पाँच करोड ४३ लाख ३१ हजार ८१७ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कन्चनपुरको भिमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र लेखाअधिकृत गोविन्दराज उपाध्यायसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको जानकारी दिए।

ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सन प्रालि र त्यसका सञ्चालकद्वय ईश्वरीप्रसाद भट्ट र दिवाकर भट्टसमेतलाई प्रतिवादी कायम गरेर अख्तियारले मुद्दा दायर गरेको छ। तत्कालीन प्रमुख प्रशासकीय भट्ट र लेखा अधिकृत उपाध्यायले ठेक्का सम्बन्धमा प्रदेशभर लागू भएको सुदूरपश्चिम प्रदेश आर्थिक ऐन २०७८ को व्यवस्थाबमोजिमको न्यूनतम दरलाई नजर अन्दाज गरी ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सनले प्रत्यक्ष लाभ पाउने गरी सम्झौता गरेका थिए।

सम्झौताबाट मूल्य अभिवृद्धि करसमेत एक करोड ९५ लाख ७२ हजारबराबरको राजस्वसमेत चुहावट भएको अख्तियारको दाबी छ। उक्त रकमलाई बिगो कायम गरी त्यसको दोब्बर जरिवाना र सजायसहितको मागदाबी उनीहरूविरुद्ध छ। बैंक जमानत नलिई ठेकेदार कम्पनीसँग सम्झौता गर्दा नगरपालिकालाई मूल्य अभिवृद्धि करसमेत तीन करोड ४७ लाख ५९ हजार सरकारी रकम हानिनोक्सानी भएकोसमेत अख्तियारको ठहर छ । उनीहरूविरुद्ध सोही रकमको अर्को बिगो कायम गरी मुद्दा दायर भएको छ।

हिमालयसिंह ऐरको संयोजकत्वमा सुवास अधिकारी, विष्णुदेव भट्ट, दिपेन्द्र चौधरी सदस्यसमेत भएको खरिद इकाइ बैठकले नदीजन्य पदार्थको रोयल्टी उठाउने गरी बोलपत्र पुस्तिका तयार गरी स्वीकृतिको लागि पेस गरेका थिए । त्यही बोलपत्रको आधारमा ठेक्का सम्झौता भएको थियो । सुदूरपश्चिम प्रदेश आर्थिक ऐन २०७८ बमोजिको प्राकृतिक स्रोतको करको कायम दररेटअनुसार बोलपत्र पुस्तिका तयार नगर्दा एक करोड ९५ लाख ७२ हजार रुपैयाँबराबरको राजस्व चुहाबट भएको अख्तियारको ठहर छ।