एकल आमाका सन्तानलाई मावलीकै थर राखेर जन्मदर्ता गर्न निर्देशन (सुचनासहित)

काठमाडाैं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल आमाका सन्तानको मावलीकै थर राखेर बालबालिकाको जन्मदर्ता गर्न निर्देशन दिएको छ । 

सरकारद्वारा बाबुको ठेगान नभएको र एकल महिलाबाट जन्मेको बच्चाको जन्मदर्ताको कागजपत्र बनाउँन निर्देशन जारी गरेको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ६ हजार ७४३ वटै वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई ४ बुँदे सर्कुलर पठाएर सो निर्देशन दिएको हो ।

‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानसँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानमा जन्मदर्ता गरिदिने,’ विभागको निर्देशमा भनिएको छ ।

‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर र मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने,’ विभागको निर्देशको दोस्रो बुँदामा भनिएको छ ।

जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा जन्मदर्ता रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता बनाउन पनि विभागले भनेको छ ।

दुई महिना नबित्दै पाँच सहसचिव सरुवामा परे

काठमाडौँ । सरुवा भएको ठाउँको कार्यक्षेत्र बुझ्न नपाउदै पाँच जना सहसचिवको सरुवा गरिएको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेका छन् ।

प्राप्त समचार अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव भुपाल बराल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उत्तर कुमार खत्री र राष्ट्रिय योजना आयोगका सहसचिव बाबुराम सुवेदीको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

त्यसै गरी अर्थका झक्क आचार्य पुनः श्रम मन्त्रालयमै फर्काइएको छ भने सुमन दाहाल राष्ट्रिय योजना आयोग पुगेका छन् ।

एक-डेढ महिनामै सरुवा गरिदा कतिपय ठाउँमा दरबन्दी नै रिक्त छैन भने निकै छोटो अवधिमा अदलबदल गरिदा अस्थिरसमेत बन्न पुगेको छ ।सहसचिव सुमन दाहाल भने अर्थमा एमाले सत्तामा हुँदा र बिष्णु पौडेल दायाँबायाँ हुँदा त दुइटा तिनवटा महाशाखा प्रमुख मात्रै भएनन् कृषि बिकास बैकको अध्यक्ष समेत भैसकेका छ्न अर्थ नियाल्नेहरुको प्रतिक्रिया सुन्न सकिन्छ।

नेप्सेमा ८.२८ अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन बिहिबार आज नेप्से ८.२८ अंकले घटेर एक हजार ८ सय ६६ दशमलब ७९ विन्दुमा बन्द भएको हो ।     

त्यस्तै, आज ९२ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने १६५ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।   

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३११.८० रुपैयाँ पुगेको छ । यसका साथै आज सिटिजन म्युचुअल फण्ड २ को शेयरमूल्य पनि ९.९४ प्रतिशतले बढेको छ ।      

नेप्सेका अनुसार सामलिङ पावर कमपनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७.४३ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ४ करोड ९२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

बिहीबार घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार घटेको छ । बुधबार एकैदिन २ हजार रुपैयाँले बढेर एतिहासिक रेकर्ड राखेको सुन बिहीबार भने तोलामा ८००  रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८००  रुपैयाँले घटेर १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६५० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १४ सय ३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ४० रुपैयाँ कायम रहेको थियो ।

साउदी क्लबद्वारा मेस्सीलाई ५८ अर्बको अफर

काठमाडौं । साउदी क्लबद्वारा मेस्सीलाई ५८ अर्बको अफर अाएकाे छ । रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि किर्तिमानी रकमकाे अफर आएको छ ।

चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले अर्जेन्टिनी कप्तान मेसीलाई अनुबन्धन गर्नका लागि कीर्तिमानी रकमको प्रस्ताव गरेको छ । 

उनका अनुसार अल हिलालले वार्षिक करिब ५८ अर्ब नेपाली रुपैयाँ (४०० मिलियन युरो) को प्रस्ताव गरिएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) को बिच सम्झौता समाप्त हुन तीन महिनामात्र बाँकी रहेको बेला साउदी क्लबले किर्तिमानी रकममा अफर गरेको हो । मेसी र पीएसजीबीचको सम्झौता यही जुनमा समाप्त हुँदै छ ।

पीएसजीले मेसीसँगको सम्झौता एक वर्षका लागि थप गर्ने तयारी गरेको तथा स्पेनिस क्लब बार्सिलोनाले पुनः आबद्ध हुने चर्चाका बिचमा मेस्सीलाई साउदी क्लबको सो अफर आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरबाट हाल खेलिरहेका छन्, अल नासरले रोनाल्डोलाई वार्षिक १७३ मिलियन युरोमा अनुबन्ध गरेको थियो । अर्जेन्टेनी स्टार मेस्सीलाई रोनाल्डोको भन्दा २०० मिलियन युरो बढी रकमको अफर आएको हो ।

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले आज अपराह्न ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि सत्ता साझेदार दलका नेताहरू सम्मिलित कार्यदललाई न्यूनतम साझा कार्यक्रम तयार पार्न जिम्मेवारी दिइएको थियो ।

कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका विजय पौडेल लगायत सदस्य छन् ।

बलात्कार गरेर शिक्षक फरार

तुलसीपुर । पश्चिम दाङमा एसइइ दिने छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षक फरार भएको प्रहरीले जानकारी दिएको छ ।

शान्तिनगर गाउँपालिका–७ धनौरीमा रहेको शिवशक्ति माध्यामिक विद्यालयका शिक्षक ३५ वर्षका खुमानन्द पौडेल बालात्कार पछि भागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

विद्यालयमा होस्टेल बसेकी १६ वर्षकी छात्रालाई आरोपित शिक्षकले सोमबार राति बोलाएर बलात्कार गरेपछि घटना सार्वजनिक भएको छ ।

शिक्षक पौडेलका विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी परेपछि प्रहरीले खोजी कार्य तिब्र पारेको छ ।

न्यायाधीश गिरि विरुद्ध बलात्कार मुद्दा  दर्ता

काठमाडौं २२ चैत । आम नागरिकलाई अन्याय भयो भने जाने निकाय अदालत कै न्यायाधीश विरुद्ध बलात्कार मुद्दा  दर्ता भएपछिकाे घटनाले आम मानिस बीच तरंग पैदा गरेको छ।

न्यायलय जहाँ बाट सत्यतथ्यका आधारमा न्याय पाइन्छ भन्ने जनभावना अझै जिवित छ। तर न्याय परिषदका कार्यरत एउटा जिम्मेवार ब्याक्तित्वलाई त्यो पनि आफनै श्रीमतीको उजुरीको आधारमा पक्राउ गरिनुले हाम्रो समाजमा हुने गरेका अपराधहरुका बारेमा धेरै कोणबाट विश्लेषण समेत सुरुभएको छ।

प्राप्त जानकारी अनुसार कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीस भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बलात्कारको आरोप लागेका गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत कपिलवस्तुले अनुमती दिएको हो ।

न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको भन्दै उनकी कान्छी श्रीमतीले जबरजस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्।

पीडितले मंसिर पहिलो साता नै जाहेरी दिएकी थिइन्। तर प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको थिएन तर पछि महिला अधिकारकर्मीहरुको दवावमा मुद्दा दर्ता भएको थियो । पक्राउ पूजी जारी गरिएका न्यायाधीस गिरी हाल न्यायपरिषदमा कार्यरत छन् ।

देउवाले दुई मन्त्रीको नाम टुँग्याए

काठमाडाैं । नेपाली कांग्रेसले पार्टीका सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा पठाउन बाँकी ४ मन्त्रीमध्ये २ जनाको नाम टुंग्याएको हो।

बैठकमा सहभागी भएका एक पदाधिकारीले दिएको जानकारीअनुसार केन्द्रीय सदस्यद्वय मोहनबहादुर बस्नेत र नारायणप्रकाश (एनपी) साउद मन्त्री बन्ने टुंगो लागेको छ।

साउद गत मंसिरको चुनावमा कञ्चनपुर- २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गराउँदै कांग्रेसले उनलाई मन्त्री बनाउन लागेको हो।

यस्तै बस्नेत सिन्धुपाल्चोक-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। उनलाई बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको हो।

कांग्रेसले सात प्रदेशको प्रतिनिधित्व हुने गरी र समावेशी सिद्धान्तअनुसार मन्त्री छानेर सरकारमा पठाउने मापदण्ड बनाएको थियो।

कांग्रेसले पाएका ८ मन्त्रालयमध्ये कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री पठाउन बाँकी छ।

यसअघि गत चैत १७ गते उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रीमा उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा प्रवक्ता प्रकाशशरण महत, सहरी विकास मन्त्रीमा सीता गुरूङ र उद्योग मन्त्रीमा रमेश रिजाललाई पठाइएको थियो।

दुई दिनभित्र सरकारले पूर्णता पाउने: प्रधानमन्त्री प्रचचण्ड

 काठमाडौं । सरकार गठन भएको एक सय दिन पूरा भइसक्दा पनि पूर्णता नपाएको भन्दै प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ गठन्धनको आलोचना भइरहेका बेला सो दाबी गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचचण्डले दुई दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् ।

सातौँपटक पुनर्गठन हुँदा पनि सरकारले पूर्णता नपाएपछि आलोचित बनेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार दुई दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरेका हुन् ।  माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको दुई दिनभित्रमा पूर्ण रूपमा सरकार विस्तार हुने जानकारी दिएका हुन् ।

माओवादीको पदाधिकारी बैठक सुरू

काठमाडौं, २२ चैत्र । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताईएको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेका छन् ।

रविविरुद्धको उजुरी खारेज ,उम्मेदवारी कायमै

काठमाडौं ,२२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेजीको मागसहित परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेका छन् ।

लामिछानेले पुरानै मतदाता नामावलीको आधारमा मनोनयन दर्ता गरेको भन्दै चितवन-२ उपनिर्वाचनका स्वतन्त्र उम्मेदवार सन्तोष पौडेल, स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिबबहादुर सुवेदी र राष्ट्रिय जनर्मोचाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर गिरीले मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी दिएका थिए ।

उजुरी खारेजीसँगै रास्वपा सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।

थ्रीस्टार हाइड्रोपावरडलाई आईपीओ निष्काशन गर्न बोर्डले दिए अनुमति

काठमाडाैं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएका छन् । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न चैत १७ गते अनुमति दिएको हो ।

कम्पनीले हाल कायम जारी पूँजीको २५ प्रतिशत अर्थात १२ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले संस्थापकहरुबाट जारी पूँजीको ७५ प्रतिशत अर्थात ३६ करोड ९३ लाख ७५ हजार रुपैयाँ पूँजी संकलन गरी सकेको छ ।

सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४९ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले खोटांङ जिल्लाको हलेसी टुवाचुङ्ग नगरपालिकामा ६.६०० मेगावाटको क्षमताको सापसुप खोला स्मल हाइड्रोइलेक्ट्रीक आयोजना निर्माण गर्दैछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

रविविरुद्धको मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ ।सुनुवाइ सकिएकाले आजै आदेश आउने तयारी छ । राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा आज पेशी तोकिएको थियो ।

सुनुवाइको क्रममा रविका वकिलहरूले संवैधानिक इजालासमा अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरिसकेकाले अहिले यो विषयमा कुनै विवाद नरहेको जिकिर गरेका छन् ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको मुद्दाको पेशी उनले हेर्न नमिल्ने भनेपछि सुनुवाइ स्थगित भएको थियो ।

सोमबार युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

उपेन्द्रलाई ओलीको प्रश्न- जितेपछि के गर्नुहुन्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जसपाका अध्यक्ष उपेन्द्र यादवलाई अफ्ठ्यारोमा साथ दिँदासमेत धोका दिएको बताएका छन् ।

एमालेको चुनावी अभियान सुरु गर्न गढीमाइ पुगेको ओलीले भने, ‘अस्ति उहाँलाई आपत् परेको बेलामा। कांग्रेस, माओवादीले छाडेको बेलामा त्यस बेलामा एमालेले आउ मिलेर जाऔं साथ छ भन्नेर लिएर हिँड्यो। माथि पुगेपछि उहाँको भूमिका त बेग्लेबेग्लै देखिन थाल्यो ।’

अहिले देश लुट्न बनेको दश दलीय गठबन्धनको एउटा सदस्य रहेको बताए । उनले मधेशको विकास गर्ने उपेन्द्र नभएर एमालेले मात्रै सक्ने भएकाले भ्रममा नपर्ने आग्रह गरे ।

उनले भने, ‘उहाँ पहिला मोरङबाट लड्नुहुन्थ्यो त्यहाँबाट उखेल्लिएपछि सुनसरीबाट लड्नुभयो । त्यहाँबाट सप्तरी आउनुभएको थियो त्यहाँ पनि जरा टक्टकाएपछि सबैभन्दा लाटासोझा जनता यहाँ छन् भनेर बारा आएका छन् । उहाँ जितेपछि फुलमाल अबिर लगाउनुबाहेक गर्नु के हुन्छ ? मन्त्री खानुहोला त्यो भन्दा बढी के गर्नुहुन्छ ? विकास गर्नुहुन्छ ? उहाँबाट विकास हुन्छ ?’