ट्विटरको लोगोमा परिवर्तन, अब निलो चराको ठाउँमा कुकुर

काठमाडौं । सामाजिक प्लेटफर्म ट्विटरमा अर्को ठूलो परिवर्तन गरिएको छ

सामाजिक प्लेटफर्म टविटरमा अर्को ठूलो परिवर्तन गरिएको छ। यसपटक एलोन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । अब निलो चराको ठाउँमा कुकुर हुन्छ ।

यो परिवर्तन पछि प्रयोगकर्ताहरू धेरै आश्चर्यचकित छन्। किनभने  ट्विटरले आफ्नो नयाँ लोगो ‘डगी’ बनाएको छ । ट्विटरका मालिक एलोन मस्कले यसबारे चर्चा गरेका छन् ।

सोमबार रातीदेखि प्रयोगकर्ताहरूले आफ्नो ट्विटर खातामा नीलो चराको सट्टा कुकुर देख्न थालेका हुन् । एलोन मस्कले ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको स्पष्ट पारेका छन् ।

उपनिर्वाचनका लागि चैत २३ देखि आचारसंहिता लागु हुने

काठमाडौं । बैशाख १० मा हुने उपनिर्वाचनका लागि यहीँ महिनाको २३ गतेदेखि आचारसंहिता लागू हुने भएको छ । आउँदो बिहीबारदेखि आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

चाँडै बस्ने उक्त अयोगका पदाधिकारी बैठकले निर्णय गरेलगत्तै तोकिएकै समयावधि र क्षेत्रमा आचारसंहिता लागू हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

पौडेलका अनुसार निर्वाचन आचारसंहिता बिहीबारदेखि लागू हुनेछ । उपनिर्वाचन तनहुँ १, चितवन २ र बारा २ मा हुँदैछ । निर्वाचनका लागि सोमबार उम्मेदवार दर्ता मनोनयन तोकिएको थियो ।

तोकिएको समय विभिन्न राजनीतिक दलका उम्मेदवार र केही स्वतन्त्र उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उपनिर्वाचनका लागि बैशाख १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकिएको क्षेत्रमा मतदान हुनेछ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य हिजो घटाएको थियो । नेपाल आयल निगमले हिजो राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

राति १२ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर रु ३, डिजेल र मट्टितेलमा प्रति लिटर रु १०, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर रु १० र हवाई इन्धन (वाह्यतर्फ) प्रति लिटर अमेरिकी डलर ७० (अर्थात् करिब रु १० प्रति लिटर) ले घटाइएको निगमले जनाएको छ। 

घटेको मूल्य अनुसार अब निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्म अब पेट्रोल रु १७५ प्रतिलिटर, डिजेल र मट्टितेल रु १७०, हवाई इन्धन (आन्तरिक) रु १६० कायम भएको छ। 

खाना पकाउने एलपी ग्यासको मूल्य रु १८०० यथावत राखिएको छ। ग्यासको खुद्रा बिक्री मूल्यमा अझै पनि निगमालाई प्रति सिलसण्डर ५४५ रूपैयाँ घाटा रहेको भएतापनि हाललाई खुद्रा मूल्य यथावत नै राखिएको निगमले जनाएको छ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै हिजो बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको थियो । “निगमले सरकारको ऋण र ईण्डियन आयल कर्पोरेशन लिमिटेडलाई हाल तिर्नुपर्ने बक्यौता रकम करिव रु १४ अर्ब बाँकी रहेको अवस्थासमेतमा आमउपभोक्तालाई सहज एवम् सरल ढङ्गबाट पेट्रोलियम पदार्थ विक्रि वितरण गर्ने व्यवस्था मिलाउँदै आइरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. न्यौपाने

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिको अध्यक्ष पदमा डा.विजयराज न्यौपाने नियुक्त भएकाे छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ । उनी सो अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत छन् ।

नवनियुक्त अध्यक्ष डा.न्यौपानेले अस्पताललाई क्यान्सरसम्बन्धी थप जनचेतना जगाउने, उपचार गर्ने, अध्यापन गराउने अनुसन्धानसँगै क्यान्सरको क्षेत्रमा देशकै मुख्य थलोकाे रूपमा विकास गर्ने जानकारी दिए ।

उनले चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसबाट विसं २०३७ मा हेल्थ असिस्टेन्ट उत्तीर्ण गरी छ वर्ष चितवन, नवलपरासी र पर्सा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सेवा गरेका थिए । विसं २०४३ मा तत्कालीन सोभियत सङ्घको युक्रेनमा उनले त्यहाँको एमडी (यहाँको एमबिबीएस सरह)अध्ययन गरे । विसं २०५० मा एमडी (यहाँको एमबिबीएस सरह)को चिकित्सक भई चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो बनाए । डा.न्यौपानेले परिवार नियोजन सङ्घमा छ वर्ष सेवा गरेका छन् ।

उनले विसं २०५६ मा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुरुआत गरेका थिए । विसं २०५७ मा विपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स (विपीकेआइएचएस) धरानमा एनेस्थेसियोलोजिष्ट एन्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्ष त्यहाँ बिताए । विसं २०६० मा एमडी उत्तीर्ण गरी त्यसपछिको उनी विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत छन् ।

क्यान्सर अस्पतालमा विभागीय प्रमुखदेखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभवपछि अवकाश पाएका डा. न्यौपाने क्यान्सर अस्पतालमा रहँदा हस्पिस एन्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान गरेका थिए ।

अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा, २३ जना पक्राउ

जनकपुरधामकाे पिडारी चोक नजिक रहेको बीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर चलाएर शंकास्पद गतिविधि गरिरहेको पाइएपछि २३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

९ महिला र १४ जना पुरुषलाई पक्राउ गरिएको हो।

कल सेन्टरका मुख्य सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

सोमबार बेलुकी खानतलासी गर्दा कल सेन्टर सञ्चालन गर्न ३० वटा कम्प्युटरमा इन्टरनेट जडान गरी काम भइरहेको पाइएको थियो।

साथै थप ६० वटा कम्प्युटर इन्टरनेट जडान गर्ने तयारीमा राखिएको थियो। ९० थान कम्प्युटर, २ वटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।

‘कम्प्युटरमा अनलाइनमा बसेर उनीहरू विभिन्न एप्स खोलेर चलाइरहेका थिए। वास्तविकता के हो हामीले अनुसन्धान गरिरहेकै छौँ,’ उनले भने।

ट्रकको ठक्करबाट शाखा अधिकृतको मृत्यु

काठमाडौं काठमाडौंको बल्खुमा आइतबार दिउँसो साढे १२ बजे बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाइ ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा अर्घाखाँची छत्रदेव गाउँपालिका-५ चन्द्रागिरि नगरपालिका-१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पाण्डे रहेका छन् । उनी शाखा अधिकृत हुन् ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागको कार्यालयमा कार्यरत थिए ।

सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख १७१५ नम्बरको १२ चक्के मालवाहक गाडीले सोही दिशा जाँदै गरेको बा अअ ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्कर पछि गम्भीर घाइते भएका पाण्डेलाई नजिकैको वयोधा अस्पतालमा लगिएकोमा अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले ४३ वर्षीय ट्रक चालक अर्जुन ढुंगानालाई पक्राउ गरेको छ ।

चितवन–२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकाे छ। 

सोमबार बिहान पौने ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर लामिछानेले सबैभन्दा पहिले उम्मेदवारी दर्ता गराएका हुन्।

आफ्ना समर्थक सहित उनले मनोनयन दर्ता गरेका हुन् । निर्वाचन कार्यालयमा उमेदवारको प्रतिनिधिका रुपमा जिल्ला सहसंयोजक प्रभा ढकाल रहेकी छन् । भरतपुर ४ त्रिचोकमा रहेको लंकु भगवती मन्दिरमा पुजा गरेर लामिछाने मनोनयन दर्ता गर्न पुगेका थिए ।

लामिछानेको नागरिकतासम्बन्धी मुद्धामा दोषी ठहर गर्दै सर्वोच्चले उनको सांसद पद खारेज गरेपछि बैशाख १० मा उपनिर्वाचन गर्न लागेको हो । उपनिर्वाचनका लागि दिउँसो १ बजे नेपाली कांग्रेसले मनोनयन दर्ता गर्दैछ । 

निवर्तमान जिल्ला सभापति जीत नारायण श्रेष्ठले उमेदवारी दर्ता गर्दैछन् । भरतपुरको चौविस कोठीमा भेला भएर कांग्रेसका कार्यकता उमेदवारी दर्ताका लागि जाँदैछन् ।  यस्तै नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उमेदवार बनाएको छ । एमालेले दिउँसो तीनबजे मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । 

एकीकृत समाजवादीले उपनिर्वाचनमा उम्मेदवार नउठाउने

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले पनि उपनिर्वाचनमा पार्टीको उम्मेदवार नउठाउने भएका छन् । उक्त पार्टीले तनहुँ १ र चितवन २ मा कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ भने बारामा जसपा उम्मेदवारलाई सघाउने भएको हो ।

सत्ता साझेदार दलका उम्मेदवारलाई सहयोग गर्नुपर्ने भएकाले पार्टीको उम्मेदवार नउठाएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

समाजवादीले तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठलाई सहयोग गर्ने भएको छ । तनहुँ १ मा सो पार्टीको समानुपातिक मत ९५० र चितवन २ मा समानुपातिक मत ६१६ मात्रै छ । यस्तै बारा २ मा  समाजवादीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने भएको छ । यस क्षेत्रमा समाजवादीको समानुपातिक मत १ हजार ९९६ मत रहेको छ । 

आज २० चैत्र २०७९, सोमबार – तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर आफन्तसँग भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । शुभ कार्यमा सरिक भइनेछ । आँटेको र ताकेको कार्य पनि पुरा होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । झैझमेलाको अवस्था आउला । फलदायी यात्रा नहोला, तर सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । मित्रताको बन्धन कसिने बेला छ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कमको थालनी हुनेछ । अचल सम्पत्ति हात पर्ला । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मन खिन्न हुने स्थिति आउनेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु राम्रो होला । राजनीतिक कार्यमा पनि बाधा आउनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन सामान्य नै रहनेछ । लत्ता कपडामा बढी धन खर्च हुने र सामान हराउने योग छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

सात मन्त्रीले नसकेको संघीय शिक्षा ऐन ल्याउने चुनौती: राई

काठमाडौं । जनता समाजवादी (जसपा) पार्टीबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका अशोककुमार राईका अगाडि ५० वर्षदेखि नफेरिएको शिक्षा ऐन मुख्य चुनौतीको रूपमा उभिएका छ । त्यति मात्रै होइन, शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको वागडोर सम्हालेका मन्त्री राईसामु शिक्षा, विज्ञान तथा प्रविधिको बजेटलाई २० प्रतिशत पुर्‍याउनेदेखि अन्य दर्जनौं चुनौती छन् ।

शिक्षाका प्रशासनिक र प्राविधिक समस्या समाधान गरी शिक्षामा आमूल परिवर्तन ल्याउन विगत पाँच वर्षदेखि संघीय शिक्षा ऐन ल्याउने प्रयास भइरहेको छ । तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको कार्यकालयमा तयार भएको संघीय शिक्षा ऐनको विधेयक संसद्बाट पारित गराउन उहाँले हरसम्भव प्रयास गर्नुभएको थियो । त्यसपछिका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र देवेन्द्र पौडेलको कार्यकालमा पनि उक्त ऐन ल्याउने प्रयास भए तापनि सम्भव हुन सकेन ।

सरोकारवाला निकायसँग पटकपटक छलफल भएर संसदीय समिति, कानुन मन्त्रालय हुंदै मन्त्रिपरिषद् कार्यालयको विषयगत समितिमा छलफल भएर पुनः संसद्मा पुग्नै लाग्दा शिक्षा ऐनको विधेयकमा रोक लागेको थियो । फेरि शुरूबाटै प्रक्रियामा लैजाँदा पनि थोरै मिहिनेतबाट ऐन ल्याउन सकिने दाबी गर्दै सरोकारवालाहरू त्यसको लागि मन्त्री राईले प्रयास गर्नुपर्ने बताउँछन् ।

त्यसबाहेक वैशाख २ गतेबाट नयाँ शैक्षिकसत्र शुरू हुंदै छ । विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको हातहातमा नयाँ पाठ्यपुस्तक पुर्‍याउनु शिक्षा मन्त्री राईको अर्को चुनौती हो । यद्यपि, यो वर्ष समयमै पाठ्यपुस्तक पुग्नेमा प्रधानमन्त्री कार्यालयदेखि शिक्षा मन्त्रालयसम्म ढुक्क छ ।

राज्यका तीन तहमा नेपालको संविधानले दिएको जिम्मेवारी कतिपय मामिलामा स्पष्ट छैन । तिनलाई स्पष्ट गर्न शिक्षा ऐन आवश्यक छ । कुन कार्य कुन तहको जिम्मेवारीमा पर्छ भन्नेबारेमा ऐनले खुट्याइदिनुपर्छ । त्यसका लागि संघीय शिक्षा ऐन जरुरी रहेको सरोकारवालाहरू बताउँछन् । नवनियुक्त शिक्षामन्त्री राईले आफ्नै कार्यकालयमा संघीय शिक्षा ऐन ल्याउन सके सबैभन्दा सफल मन्त्रीका रूपमा अघि बढ्न सक्नेमा दुई मत छैन ।

मन्त्री राईको अर्को चुनौती भनेको विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डाको अन्त्य गरेर उच्च शिक्षाको सुधार गर्नु पनि हो । त्यसमाथि आठ महिनादेखि रिक्त त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति प्रक्रिया शुरू गर्नुपर्नेे अर्को चुनौती त छँदै छ । प्राविधिक तथा व्यावसायिक शिक्षा, विश्वविद्यालयको छाता ऐनको विधेयक र संसद्मा टेबल भएको उच्चशिक्षा ऐनको विधेयक ल्याउने दायित्व उहाँमाथि थपिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मतहतमा रहेको गेटा मेडिकल कलेज सञ्चालनको विषयमा पनि मन्त्रीको चासो देखिनु आवश्यक छ । प्रधानमन्त्री पुष्पकमल दाहालले करिब एक महिनाअघि सुदूरपश्चिमाञ्चल भ्रमण गर्दा सो कलेजलाई मेडिकल विश्वविद्यालय बनाउने उद्घोष गर्नुभएको थियो । तर त्यसलाई कुन मोडालिटीमा सञ्चालन गर्ने ? भन्ने विषयमा अहिलेसम्म निर्णय हुन सकेको छैन ।

शिक्षा मन्त्रालयको मातहतमा रहेको सो कलेजलाई विश्वविद्यालय बनाउने कि नबनाउने भन्ने विषयमा निर्णय लिनु चुनौतीपूर्ण छ । उच्च शिक्षा अध्ययनको नाममा कक्षा १२ पास गरेलगत्तै हजारौं विद्यार्थी विदेशिने प्रवृत्तिको अन्त्य गर्नु मात्रै होइन, नेपाल विश्वविद्यालय ऐन, कर्मचारी व्यवस्थापन, राष्ट्रिय पुस्तकालय व्यवस्थापन गर्नु पनि शिक्षा मन्त्रीको प्राथमिकतामा पर्नुपर्ने विषय हुन् ।

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाएपछि मात्र शिक्षामा सुधार हुन सक्छ । निजी विद्यालयलाई गाली गरेर मात्रै शिक्षामा सुधार हुँदैन । शिक्षकलाई समयअनुसारको तालिमको व्यवस्था गर्नुपर्छ । डिजिटल पुस्तकालय, ई–लर्निङ प्रणालीको विकासले मात्रै नेपालको शिक्षामा सुधार हुुन सक्छ ।

सरकारी विद्यालय र क्याम्पसमा गुणस्तरीय शिक्षाको प्रत्याभूति दिन शिक्षामन्त्रीले उच्च ओहोदामा पुगेका कर्मचारीत तथा सरकारी विद्यालयमा पढाउने शिक्षकशिक्षिकाका छोराछोरीलाई ती विद्यालय तथा क्याम्पसमा पढाउन अनिवार्य गर्ने प्रतिबद्धता जनाउन सक्नुपर्छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा यस्तो व्यवस्था ल्याउन खोजिएको थियो । तर, सम्भव भएन । अहिले उहाँ आफैं प्रधानमन्त्री भएको बेलामा उक्त निर्णय कार्यान्वयन गराउन सरकार पछि पर्नु हुँदैन ।

त्यसबेला सरकारी विद्यालयमा पढाउने शिक्षकले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सरकारी विद्यालयमै पढाउनुपर्ने व्यवस्था घोषणा गरिएको थियो । हालसम्म कार्यान्वयन हुन सकेको छैन । त्यसलाई कार्यान्वयन गर्न पहल गर्नु चुनौती छ ।

संविधानले अनिवार्य र निःशुल्क शिक्षा भने पनि लागु भएको छैन । राज्यको मूल कानुनले निर्देशित गरेको कुरालाई राज्यले प्रत्याभूत गर्न सक्नुपर्छ । त्यसका लागि माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गर्नुपर्ने दायित्व सरकारको हुनेछ । अनिवार्य र निःशुल्क शिक्षाले मात्र मुलुकको विकास सम्भव छ । रकम अभावको कारण कयौं विद्यार्थीले पढ्न पाएका छैनन् । निःशुल्क शिक्षाको नाममा अधिकांश सामुदायिक विद्यालयले रकम असुल्ने गरिरहेको अवस्थामा अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्नु अर्को चुनौती हो ।

विसं २०५१ मा मनमोहन अधिकारीको नौ महिने शासनकालदेखि चौथोपटक मन्त्री भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री राईका सामु देखिएका चुनौती समाधान गर्न शिक्षाका सबै निकाय लाग्नु अनिवार्य छ ।

मन्त्री राईले शिक्षा सचिवका साथै विज्ञान प्रविधि सचिवको उपस्थितिमा गुणस्तरीय र प्रविधिमैत्री शिक्षा अहिलेको आवश्यक रहेको जिकिर गर्दै भन्नुभयो– ‘मलाई शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रमा धेरै सुधार गर्न मन छ । त्यसलाई साकार बनाउन तपाईंहरूकै महत्वपूर्ण देन रहनेछ ।’

यसैबीच नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले सबैको साथ र सहयोग लिएर अघि बढ्ने बताउनुभएको छ । शुक्रबार अपरान्ह पदबहाली गर्न मन्त्रालय पुग्नुभएका मन्त्री राईले शिक्षामा सुधार ल्याउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । सरकार पुनर्गठनपछि पहिलो पटक आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १७ गते काङ्ग्रेसबाट उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाश शरण महत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सहरी विकास मन्त्री सीता गुरुङ थपेका थिए भने एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाएका थिए ।

यस्तै जसपाबाट अशोक राई, शिक्षा, लोसपाबाट शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, नेसपाबाट महिन्द्रराय यादव महिला तथा बालबालिका र नाउपाबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था तथा सहकारी मन्त्री भएका छन् ।

यसैगरी माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह, शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र अमनलाल मोदी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा रहेका छन् । माओवादीकै तर्फबाट सुशीला श्रीपाली पर्यटन राज्यमन्त्री छिन् ।

कानुन, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन् । बढीमा २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाउने संवैधानिक व्यवस्था अनुसार दुई राज्यमन्त्री पनि पद पनि खाली राखिएको छ ।

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २० अंक घटेर १८८८.५५ विन्दुमा झरेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भन फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोेट इण्डेक्स १.३३ अंक घटेको छ।

नेप्से परिसूचक घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। गत बिहीबार करिब ९० करोडको शेयर कारोबार भएको बजारमा यस दिन २६० स्टकको ३२ हजार ४१४ पटकको कारोबारमा १ अर्ब २० करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ८७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन कालिञ्चोक दर्शन लिमिटेडको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशत बढेर २१३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ६.१० प्रतिशत बढेको छ। अन्य स्टकको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन स्वाभिमान लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.६१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्को साढे ४ करोडको शेयर कारोबार भएको छ।

आइतबार १३ उपसमूहमध्ये यस दिन सबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन लघुवित्त, लगानी, जलविद्युत, वित्त, विकास बैंक र बैंकिङ्ग उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

श्रीमतीलाई भन्सार एजेन्ट बनाउने सुब्बा बिरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभाग, काठमाडौँका तत्कालीन नायव सुव्वा (हाल अवकाश प्राप्त) रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगले आइतबार विशेष अदालतमा पूर्व नासु घिमिरेविरुद्ध २ करोड १४ लाख ४६ हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

उनले पदमा रहँदा गैर कानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । २०५२ कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका थिए । भन्सार विभागमा कार्यरत रहेकै अवस्थामा २०७५ फागुन १ मा उनले राजीनामा दिएका थिए ।

सेवामा रहँदा ७ करोड ३९ लाख ६२ हजार ९८४ रुपैयाँ ६७ पैसा खर्च गरेको र यो अवधिमा उनको आम्दानी ५ करोड २५ लाख १६ हजार ३ सय २७ रुपैयाँ ४४ पैसा देखिएको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ । आम्दानीभन्दा बढी देखिएको सम्पत्तिलाई नै अख्तियारले गैर कानुनी सम्पत्तिका रूपमा किटान गरेर २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ २४ पैसा बिगो‚ त्यति नै जरिवाना र गैर कानुनी सम्पत्तिबाट बढेरबढाइएको चल अचल सम्पत्ति जफत गर्न अख्तियारले माग दाबी गरेको छ ।

अनुसन्धानबाट खुलेबमोजिम आरोपितविरुद्ध बिगो जरिवाना र गैर कानुनी सम्पत्ति जफत हुने गरी मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

अख्तियारले सम्पत्ति रोक्का र बिगो जरिवाना असुलका लागि उनकी श्रीमती शारदा गौतमलाई पनि प्रतिवादी बनाइएको छ । अर्घाखाँची स्थायी ठेगाना भएका गौतम अहिले कलङ्कीमा बस्दै आएका छन् । उनकी श्रीमती शारदा भन्सार एजेन्ट रहेको समेत खुलेको छ ।

देवाही गोनाहिका मेयरको सट्टा एसईई परीक्षा दिने नक्कलि परीक्षार्थी पक्राउ

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टा एसईई परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन। पक्राउ पर्नेमा गरुडा नगरपालिका ६ पोठीयाहिका कमल साह कानु रहेको प्रहरिले जनाइएको छ।

मौलापुर नगरपालिका अन्तर्गत लक्षमिनिया मावि परीक्षा केन्द्रमा मेयर कानुकाे सट्टामा एसईई परीक्षा दिइरहेका कमल साह लाई अनुगमन टोलीले पक्राउ गरेको हो।

शंका लागेर चेकजाँच गर्दा उनको सिमबोल नम्बर ३५०३७२८ को प्रेमलाल साह कानु नामको  परिचयपत्र समेत टोलीले बरामद गरेको छ। पक्राउ परेका उनी पेसाले ईञ्जिनियर तथा मेयर प्रेमलाल साहको ज्वाइँ रहेको बुझिएको छ। 

रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सहितको अनुगमन टोलीले नक्कली परीक्षार्थी कमल साह पक्राउ गरेको पुष्टी गरेका छन। उन लाई प्रहरीले जिल्ला प्रहरी कार्यालय ल्याइरहेको छ तथा परीक्षा नियमावली अनुसार कारवाही हुने एसपी बुढामगरले जानकारी दिएका छन।

उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित तीन जना विरुद्ध आइतबार विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

सर्लाहीको हरिपूर्वा ५ स्थित केश्वर गरिब जनता माविमा अध्यापनरत पाँचु रायलाई डिम जनता मावि परवानीपुरमा अनुदान कोटामा नियुक्त गराउने क्रममा भ्रष्टाचार गरेको आरोपसहित अख्तियार विशेष अदालत पुगेको हो ।
अख्तियारका सहसचिव भोला दाहालका अनुसार,सर्लाहीका तत्कालीन उपजिल्ला शिक्षा अधिकारी वासुदेव तिमल्सिना, शिक्षकको रूपमा नियुक्ति पाएका पाँचु राय र प्रधानाध्यापक नारायण प्रसाद बरालले अख्तियार दुरुपयोग गरी भ्रष्टाचारजन्य गतिविधि गरेको आरोपपत्र सहित विशेषमा मुद्धा दायर गरिएको छ ।भ्रष्टाचार मुद्धामा डामिएका उपसचिव तिमल्सिना हाल लालबन्दी नगरपालिका,नगरकार्यपालिकाको कार्यालय सर्लाहीको शिक्षा शाखा प्रमुखको रुपमा कार्यरत छन् ।

अख्तियारद्धारा दायर गरिएको आरोपपत्रमा नक्कली कागजात बनाएर अनुदान कोटामा शिक्षकमा नियुक्त गरेको आरोप लगाइएको छ ।

सर्लाहीको उच्च माध्यमिक शिक्षक अनुदान कोटामा सरुवा पदस्थापन गर्न साबिक डिम जनता उच्च माध्यमिक विद्यालय, परवानीपुर, सर्लाहीको निर्णयानुसार भनी उच्च माध्यमिक शिक्षक, शिक्षक अनुदान कोटातर्फको अर्थशास्त्र विषयको शिक्षक पदमा करार नियुक्त गरेको भनी नक्कली लिखत बनाई वदनियतपूर्वक नियुक्तिको लिखत तयार गरी सार्वजनिक संस्थामा नक्कली शिक्षक हुने व्यवस्था मिलाई नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई सोही ऐनको दफा ९ ले व्यवस्था गरेबमोजिम कैद र जरिवाना गर्न माग दाबी गरिएको सहसचिव भोला दाहालले जनाएका छन् ।