मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडाै‌ । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक आज (मंगलबार) दिउँसो ४ बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । आज बस्ने बैठक हरेक मंगलबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठक हो ।

के हो स्तन क्यान्सर ? यस्ता छन् लक्षण, कारण र बच्ने उपाय

काठमाडौँ । स्वस्थ र आनन्ददायी जीवन सबैको चाहना हो । तर, क्यान्सरजस्तो भयानक रोगले मानिसलाई अकालमै निलिरहेको छ । सयौं प्रकारका क्यान्सरमध्ये स्तन क्यान्सर धेरैलाई लाग्ने प्राणघातक रोग हो । यो महिलालाई मात्र नभई पुरुषलाई पनि हुन सक्छ । तर, पुरुषमा यो रोग निकै कम लाग्ने गरेको छ ।

नेपालमा स्तन क्यान्सरबाट वर्षेनि थुप्रै महिलाको मृत्यु हुने गरेको छ। महिलामा पाठेघरको मुखको क्यान्सर पछिको सबैभन्दा बढी हुने क्यान्सर स्तन क्यान्सर हो। नेपालमा ३० देखि ५० वर्ष उमेरका महिलाहरूमा स्तन क्यान्सर बढी देखिन्छ। अस्वस्थकर जीवनयापन, विभिन्न खाले औषधिहरूको प्रयोग, बच्चालाई स्तनपान यथेष्ट मात्रामा नगराउने, आन्तरिक रोगबारे खुलेर चर्चा नगर्ने, लाज मान्ने जस्ता कारणले स्तन क्यान्सरको प्रकोप बढिरहेको छ।

प्रारम्भिक चरणमै पत्ता लगाउन सके स्तन क्यान्सरबाट पूर्णरूपमा बच्न सकिन्छ। तर, नेपालमा स्तन क्यान्सर भएका महिला दोस्रो वा तेस्रो चरणमा मात्र अस्पताल आईपुग्छन्। नेपालमा स्तन क्यान्सरबारे जनचेतना फैलाउन विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाउने गरिन्छ। हाम्रो शरीर साना साना कोशिकाहरूले मिलेर बनेको हुन्छ। यस्ता कोशिकाहरूको आफ्नै खाले जीवनचक्र हुन्छ। सो चक्रमा विविध कारणले असमन्जस्यता आउँदा कोशिकाहरूको अनियन्त्रित वृद्धि हुन पुग्छ, जसलाई हामी क्यान्सर भनेर बुझ्दछौ। क्यान्सर प्राणघातक रोगमा पहिलो नम्बरमा पर्दछ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२० मा मात्रै करोड भन्दा ज्यादाको ज्यान क्यान्सरका कारणले गएको छ।

नेपालका सन्दर्भमा पनि क्यान्सरबाट हुने मृत्युको सङ्ख्या बढ्दै गइरहेको छ। स्तनमा भएका कोषकोशीकामा असामान्य परिवर्तन भई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ। स्तन या काखीमा नदुख्ने गिर्खा आउनु स्तन क्यान्सरको मुख्य लक्षण हो। त्यसको साथै स्तनको मुन्टो गाडिनु, स्तनमा भएको घाउ निको नहुनु, स्तनको मुन्टोबाट फोहोर पानी आउनु, स्तनको आकारमा परिवर्तन आउनु, स्तनको बाहिरी छालामा परिवर्तन हुनु यसका लक्षणहरू हुन्। त्यसैले यस्तो केही समस्या भएमा समयमै डाक्टर कहाँ जानू जरुरी छ।

स्तन क्यान्सरका धेरै कारणहरू छन्। यदि परिवारमा कसैलाई क्यान्सर छ भने जिनबाट सो क्यान्सर सन्ततिमा आउने धेरै सम्भावना हुन्छ। अर्को हर्मोनल कारण पनि हुन्छ जस्तो छिटो महिनावारी भएका महिलाहरूलाई र ढिलो सम्म महिनावारी नसुकेका महिलाहरूमा यसको सम्भावना हुन्छ। साथै, जसले बच्चालाई स्तनपान गराउँदैनन्, उनीहरूलाई पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ। गर्भनिरोधक चक्कीहरूको सेवनले समेत स्तन क्यान्सरको जोखिम बढाउँछ। ढिलो बिहे गर्ने, ढिलो बच्चा पाउने, जङ्क फुडहरू धेरै खाने, बोसो भएको खानेहरू खानाले, कसरत, योगा नगर्ने बानीले पनि स्तन क्यान्सर हुन सक्छ। आजको समाजमा बच्चा नजन्माउने, जन्माए पनि ढिला जन्माउने प्रवृत्ति बढ्दै गइरहेको देखिन्छ। यस्तो जीवनशैलीले हार्मोनल डिसअर्डर निम्त्याउन सक्छ, जसले अन्ततः क्यान्सरको रूप लिने हुन्छ। अहिलेको समयमा स्तन बढाउनेरघटाउने कस्मेटिक प्रोडक्टहरूको प्रयोगले समेत क्यान्सर हुन सक्छ। धूम्रपान र मद्यपानको सेवन पनि स्तन क्यान्सरको लागि घातक चिज हो।

पुरुषमा पनि निक्कै कम मात्रामा स्तन क्यान्सर हुन्छ। कुल स्तन क्यान्सरको करिब १५ स्तन क्यान्सर पुरुषमा देखिने तथ्याङ्कले बताउँछ। पुरुषहरूमा पनि महिलाहरूमा जस्तै स्तनको आकारमा परिवर्तन आउने, स्तनको मुन्टो गाडिने, गिर्खा आउने जस्ता लक्षणहरू देखापर्छ। हामीले आफ्नो स्तन घरमै जाँच गर्न सक्छौँ। महिनावारी भएको पाचौं दिन पछि ऐना अगाडि उभिएर आफ्ना स्तनको जाँच आफैँले गर्न सकिन्छ। आफैँले आफ्नो स्तन र काखीमुनि छाम्ने, निचोर्ने, स्तनको आकार बराबर छ कि छैन हेर्ने गर्नु पर्छ। यसलाई ‘सेल्फ ब्रेस्ट एग्जामिनेसन’ भनिन्छ। यसो गर्दा आफुलाई केही असहज महसुस भएमा तुरुन्तै डाक्टरकोमा गइहाल्नु पर्छ। परिवारमा कसैलाई क्यान्सर छ भने परिवारका अन्य सदस्यले नियमित जाँच गराउनु पर्दछ।

हलिउड नायिका एन्जेलिना जोलीको उदाहरण यहाँ सान्दर्भिक हुन्छ। उनकी आमालाई स्तन क्यान्सर भएको र आफूमा पनि पोजेटिभ देखिएकाले उनले आफ्नो स्तनलाई काटेकी थिइन्। यसरी जिन टेस्ट गराउँदा भविष्यमा हुनसक्ने क्यान्सरबाट बच्न सकिन्छ। समयमै बच्चा जन्माउने, यथेष्ट स्तनपान गराउने, अनावश्यक हर्मोनल औषधिको प्रयोग नगर्ने जस्ता क्रियाकलापले पनि स्तन क्यान्सरबाट बच्न सकिन्छ। साथै, नियमित व्यायाम गर्ने, बोसोरहित खाने कुरा खाने गर्नु पर्छ।

स्तन क्यान्सरको उपचार विधि क्यान्सरको स्टेज हेरेर निर्धारण गरिन्छ। उनीहरूको चरण हेरेर आवश्यकता अनुसार शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी, हर्मोनल थेरापी र टार्गेटेड थेरापीबाट स्तन क्यान्सरको उपचार गर्न सकिन्छ। रोगको प्रकृति हेरेर डाक्टरले उपयुक्त उपचार विधिको चयन गर्ने गर्दछन्।

गर्भअवस्थामा स्तन क्यान्सर भएमा पहिले बच्चा जन्मिन दिइन्छ अनि मात्रै उपचार सुरु हुन्छ। नेपालीहरू क्यान्सर लाग्ने बित्तिकै डराउने, नेपाली डाक्टरलाई विश्वास नगरी भारत तथा अन्य देश जाने गर्छन्। नेपालका डाक्टरसँग परामर्श नगरीकन यसरी हतारो गर्दा धन र जन दुबैलाई असर परिरहेको देखिएको छ। क्यान्सरको उपचारको निमित्त अन्तर्राष्ट्रिय स्तरको गाइडलाइन हुन्छ, जसलाई फलो गरेर नै हामी उपचार गर्ने गर्छौँ। यसबारेमा जनचेतना फैलाउने काम भयो भने उस्तै उपचारकै निमित्त विदेश धाउने परिपाटीको अन्त्य हुन पुग्छ।

क्यान्सर भयो भन्ने बित्तिकै डराउनु पर्दैन। क्यान्सरलाई हामीले आफ्नो-आफ्नो ठाउँबाट जनचेतना फैलाउन जरुरी छ। क्यान्सरको बारेमा एकअर्कासँग कुरा गरौँ। केही समस्या भएमा तुरुन्तै अस्पताल जाउँ। जति छिटो रोग पत्ता लाग्छ, उपचार त्यति नै सजिलो हुन्छ। त्यसैले क्यान्सरको बारेमा बुझौँ। यसका लागि सम्पूर्ण स्वास्थ्यकर्मीहरूको साथ र सहयोग चाहिन्छ। यो एउटा टिम एफोर्ट पनि हो। हामी सबै मिलेर काम गर्यौँ भने क्यान्सरलाई हराउन सकिन्छ। यसका साथसाथै बिरामीको मानसिक, सामाजिक र अन्य पाटोमा पनि काम गर्नुपर्ने हुन्छ।

पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विस्फोट, कैयौँको मृत्यु

एजेन्सी । उत्तरपश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । विष्फोटमा अधिकांश सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । 

विष्फोटमा परी ४० जनाभन्दा बढी घाइते भएका छन् भने आसपासका भवनहरू भत्किएका छन् । उक्त विष्फोट बाह्य हमलाका कारण भएको कुनै प्रमाण नभेटिएको र विद्युतीय त्रुटिका कारण दुर्घटना भएको अनुमान सरकारी अधिकारीहरूले गरेका छन् । अफगानिस्तानको छिमेकी खैबर पख्तुनख्वामा प्रान्तीय प्रहरीका प्रवक्ताले गोलाबारुदमा आगलागी हुँदा विष्फोट भएको हुनसक्ने बताएका छन् । 

पाकिस्तानी तालिबान समूहले विगत केही समयदेखि सुरक्षा बलहरूलाई लक्षित गरी धेरै आक्रमण गर्दै आएको छ तर यो विष्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन । प्रतिआतङ्कवाद विभागका क्षेत्रीय प्रमुख सोहेल खालिदले पनि कार्यालयमा भएको विष्फोट आतङ्कवादीले गराएको नभई त्यो एक दुर्घटना भएको प्रारम्भिक अनुसन्धानको प्रतिवेदन आफूलाई प्राप्त भएको बताएका छन् । 

कार्यालयमा राखिएका हातहतियार गोलाबारुदमा लापरवाहीका कारण आगो सल्केर विस्फोट भएको हुनसक्ने उनको अनुमान छ ।

बारा-२ मा उपेन्द्र यादवको अग्रता कायमै

बारा । बारा क्षेत्रनम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । 

मंगलबार दिउँसो २ बजेसम्मको मत परिणाम अनुसार उनले १५ हजार १८३ मत प्राप्त गरिसकेका छन्। 

उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने १० हजार ३७० मत प्राप्त गरेका छन्। यादव कुशवाहाभन्दा ४ हजार ८१३ मतले अगाडि छन्। 

तेस्रो स्थानमा नेकपा एमालेका पुरूषोत्तम पौडेल छन्। उनले ५ हजार २७ मत प्राप्त गरेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले भने २ हजार ९५ मत प्राप्त गरेका छन्।  

चितवन -२ बाट रवि लामिछाने भारी मतान्तरसहित फेरि निर्वाचित, तोडे आफ्नै रेकर्ड

चितवन । आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्। 

अन्तिम मत परिणाममा लामिछानेले ५४१७६ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत पाएका छन्। 

उनीहरूबीचको मतान्तर ४२९६२ छ। नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १०९३६ मत पाएका छन्।

यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए।

अमेरिकी नागरिकता लिएर फेरि नेपाली नागरिकता नलिएको मुद्दामा उनको सांसद पद गुमेको थियो। उनको सांसद पद गुमेका कारण चितवन-२ मा उपनिर्वाचन भएको हो। 

ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएका छन्।

मकवानपुरको मनहरि–३ स्थित कालिदमार भन्ने स्थानमा गए राति  मधेस प्रदेश०३–००१त ७१८८  नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

दुर्घटनामा मनहरि-३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्र्याक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको छ।

तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतले विजयी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १५ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन् ।

डा. वाग्लेले निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर विजयी भएका हुन् ।

वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाए भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भएका छन् । त्यस्तै राप्रपाकी शोभा गुरुङले २१८ र मङ्गोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा गर्न बाँकी छ ।

यस्तो छ आज वैशाख १२ गते मंगलबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ र शुभ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धार्मिक यात्राको योग पनि रहेको छ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कुनै न कुनै माध्यमबाट आफन्तसँग भेटघाट हुनेछ । आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज जोशजाँगर र खुसी थापिनेछ । धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । प्रियपात्रबाट सहयोग पनि मिल्नेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज विद्यामा ह्रास हुनसक्छ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा खर्च पनि हुनेछ, तर सफल यात्राको योग पनि छ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसायमा फाइदा होला । पुनर्मिलनको योग पनि रहेको छ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । योजना गोप्य राखेर अघि बढ्नुहोला ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । कृषि कार्यका कमहरू सम्पन्न हुनेछन् ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभ समाचार सुन्न पाइनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । स्वादिष्ट परिकारले समेत प्रतीक्षा गर्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाइ दुबईको विमानमा आगलागी भएको छ ।

विमानस्थलबाट उडेको केहिवेरमै विमानको इञ्जिन फेल भएको थियो । विमानको इन्जित फेल भएपछि अवतरण गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानको इञ्जिन फेल हुँदा ठूलो आवाज आएको थियो भने विमानमा आगलागी समेत भएको देखिएको छ । विमान अहिले पनि काठमाडौंको आकाशमा फन्का लगाइरहेको छ भने अन्य विमानलाई डाइभर्ट गरिएको छ ।

दुई बस एकापसमा जुध्दा १३ यात्रु घाइते

तनहुँ। पृथ्वी राजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका –२ माथिल्लो गुणादीमा सोमबार दिउँसो २:४५ बजे दुई यात्रुबस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।

दमौलीबाट पोखरा जाँदैगरेको ग १ ख ३८२३ नम्बरको बस र बिपरित दिशाबाट आउँदैगरेको ना ५ ख २११३ नम्बरको बस एकापसमा ठक्कर खाँदा दुवै तर्फका गरी सो सङ्ख्यामा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणका अनुसार पोखरा महानगरपालिका –३ बस्ने वर्ष ४३ की श्याममाया मग्राती सोही महानगरका वडा २ बस्ने अभिषेक सुनार र वर्ष २२ की पुजा सुनार घाइते भएका हुन् ।

उनीहरु सबैको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको छ । यसैगरी तनहुँको  शुक्लागण्डकी नगरपालिका –४ बस्ने वर्ष ४० को बलबहादुर गर्बुजा व्यास नपा. – ५ पतेनी बस्ने वर्ष ६३ की हिरा बिक, सोही ठाउँमा बस्ने वर्ष ६६ को त्रिलाल बिक, व्यासकै वडा –१३ बस्ने वर्ष ४५ की रुपा रम्तेल, वर्ष ४० को यमबहादुर रम्तेल, म्याग्दे गाउँपालिका –४ थर्पु बस्ने वर्ष ५४ को शारदा कुमाल घाइते भएका छन् ।

यसैगरी, गोरखा पालुङटार न.पा. –२ बस्ने वर्ष ७५ की सुकुन्धरा नेपाली, कास्की अन्नपूर्ण गाउपालिका –१ बस्ने वर्ष १९ कि इल्का लिम्बु घाइते भएकी छिन् । उनीहरू सबैको दमौली अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, कास्कीको पोखरा महानगरपालिका –३ बस्ने अग्नि सुनार घाइते भएको र उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

९ महिनामा कृषि विकास बैंकको नाफा १ अर्ब ४ करोड

काठमाडौँ । सरकारी स्वामित्वको कृषि विकास बैंकले चालू आर्थिक वर्षको ९ महिनामा १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि, यो अघिल्लो वर्ष तुलनामा ४५.३६ प्रतिशतले कम हो ।  आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्म बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) दर बढेसँगै नाफा प्रभावित हुन पुगेको हो ।

बैंकको नाफा घटे पनि खुद ब्याज आम्दानी वृद्धि भएको छ । सो अवधिमा बैंकले ६ अर्ब २४ करोड ७३ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा ११.८६ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले ५ अर्ब ५८ करोड ४६ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकले कुल १ खर्ब ८१ अर्ब ५५ करोड ५० लाख ९३ हजार रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ७७ अर्ब ३६ करोड ६५ लाख ३९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा भने बढेर ४.२० प्रतिशत पुगेको छ । बैंकको जगेडा कोष गत आवको समीक्षा अवधिको तुलनामा २.८२ प्रतिशतले बढी छ । 

देशको विद्यमान आर्थिक अवस्था, तरलताको अनिश्चितलगायतका कारण व्यवसाय विस्तारमा केही कमी आएको बैंकले जनाएको छ । पूँजी बजारमा आएको गिरावट, कोषको लागतमा भएको उल्लेख्य वृद्धि, बैंकको निष्क्रिय कर्जा वृद्धिले नाफा प्रभावित भएको छ । बैंकको वितरण योग्य नाफा ५५ करोड ४३ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

बैंकले आगामी दिनमा कृषि तथा अन्य प्राथमिकता क्षेत्रलाई विशेष ग्राहयता दिँदै कर्जा गुणस्तर उत्कृष्ट कायम गर्ने प्रतिबद्धता जनाएको छ । ग्राहको चाहना तथा व्यवसायको सम्भाव्यता अनुरूप डिजिटल बैंकिङ सेवा ग्रामीण स्तरसम्म उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरूप किसान क्रेडिट कार्डको सेवा थप विस्तार गर्ने बैंकले जनाएको छ । 

व्यवसाय अन्तरनिहित जोखिमको प्रभावकारी व्यवस्थापन गर्दै उपलब्ध स्रोत परिचालन, थप स्रोत सङ्कलन र व्यवस्थापन तथा साधनको अधिकतम उपयोग गरी सेयर होल्डर र सम्बद्ध सरोकारवालाहरूको हित हुने गरी व्यवसाय विस्तर गर्ने बैंकको प्रतिबद्धता छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ८.५६ रुपैयाँले घटेर ७.९ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २०१.४ रुपैयाँ कायम भएको छ ।

लुम्बिनीका मुख्यमन्त्री लिला गिरी पदमुक्त, पाएनन् विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेकाे प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो ।

उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाए ।

माओवादी केन्द्र, नेपाली कांग्रेस नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, एकिकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज समेत रहेका गिरी गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र दुई स्वतन्त्र गरि ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

तर, राष्ट्रिय राजनीतिमा फेरिएको सत्ता समिकरणपछि राप्रपा बाहेकका दलहरूले गत चैत्र १२ गते नेकपा माओवादी केन्द्र लगायतका दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। सरकारमा सहभागि दलहरूले समर्थन फिर्ता लिएको एकमहिना बिताएर गिरीले विश्वासको मत लिएका हुन्

रवि लामिछानेले लिए अग्रता, पछि परे एमालेका न्यौपानेले

चितवन- २ मा भएको उपचुनावको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार लामिछानेले २ हजार ३ सय ३२ मतका साथ अग्रता कायम राखेका छन् ।

लामिछानेलाई पछ्याइरहेका एमालेका रामप्रसाद न्यौपानेले १ हजार ४ सय २७ मत पाएका छन् । तेस्रोमा रहेका कांग्रेसका जितनारायण श्रेष्ठले १ हजार ३१ मत पाएका छन् ।

नेपाल र साउदी अरबबीचको खेल रद्द, नेपाल एक खेलअघि नै सेमिफाइनलमा

काठमाडौं बर्षाका कारण नेपाल र साउदी अरवबीचको खेल रद्द भएका छ । मूलपानी (माथिल्लो) मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल भारी वर्षासँगै टस नहुँदै खेल रद्ध भएपछि नेपाल र साउदी अरबले अंक बाँडेको हो ।

वर्षाका कारण खेल रद्द भएपछि नेपाल र साउदी अरबले १-१ अक बाँडेका छन् । योसँगै नेपाल एक खेलअघि नै एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ ।

तीन खेलबाट पाँच अंक पुर्‍याएको नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालले तीन खेलबाट ५ अंक जोडेको छ । समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ ।

चौथो स्थानको साउदीको पनि २ अंक छ । यो समूहमा कतारले अंक जोड्न सकेको छैन । नेपालले अन्तिम खेल १४ वैशाखमा कतारसँग खेल्नेछ । यो खेल जितेको अवस्थामा नेपाल समूह विजेता बन्नेछ ।

समूहको अन्तिम खेलमा ओमान र साउदी अरवबीच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिम बन्नेछ ।

चितवन २ मा रविको अग्रता

चितवन । चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिएका थिए अहिले वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका छन् ।