प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गतको संसद् बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।

संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रियसभा बैठक भने अनिश्चित छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस जाने भएकाले बैठक अनिश्चित कालका लागि स्थगित भएको हो ।

आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको प्रमुख कार्यभार भएको बताउनुभएको छ । आजदेखि यहाँ सुरु भएको ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले मुलुकलाई आर्थिक रुपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जा अत्यावश्यक रहेको बताउनुभयो ।

द्विपक्षीय तथा क्षेत्रीय बजारसम्म विद्युत व्यापारको सम्भावनालाई नकार्न नसकिए पनि नेपालको पहिलो प्राथमिकता आन्तरिक खपत नै रहेको प्रधानमन्त्री दाहालले बताए । नेपालका मुख्य ४ वटा क्षेत्र विद्युत खपतका लागि महत्वपूर्ण रहेको पनि उनले उल्लेख गरे । ‘कृषि क्षेत्र, उद्योग, कुकिङ र यातायातमा ठूलो परिमाणमा विद्युत खपत गर्न सकिन्छ,’ उनले भने, ‘यसरी खपत भएर बढी भएको विद्युत भारतीय बजारमा बिक्री गर्नुको विकल्प छैन ।’

विद्युतको आन्तरिक खपतबाट पेट्रोलियम पदार्थको आयातमा कमी आउनुका साथै ठूलो परिमाणमा व्यापारघाटामा कमी आउने प्रधानमन्त्री दाहालले बताए । नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धता अनुसार कार्बन उत्सर्जन घटाउने र सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनमा पुग्ने नीतिलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको उनको भनाइ थियो ।

यसैगरी, कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो दशकमा विश्वले हरित ऊर्जा विकासका विभिन्न पक्षका विषयमा छलफल गर्दै आएको हुँदा नेपालले पनि त्यसलाई अवलम्बन गरेर अगाडि बढिरहेको बताए । ‘नेपाल विद्युत प्राधिकरणले गत वर्षदेखि बर्खामा बढी भएको विद्युत भारत निर्यात गर्न सुरु गरेको छ, अब यसमा निजी क्षेत्रसमेत जोडिन आएको छ,’ उनले भने, ‘ऊर्जा सम्मेलनले विद्युत व्यापारको दायरालाई अझ फराकिलो बनाएको छ ।’ सरकार निजी क्षेत्रलाई सबै खालका सहयोग गरेर सहजीकरण गर्न तयार रहेको पनि उनले बताए ।

कार्यक्रममा भुटानका आर्थिक मामिला मन्त्री लोकनाथ शर्माले विश्वमा स्वच्छ ऊर्जाको अभावका कारण आर्थिक संकट गहिरिँदै गएको हुँदा यसको विकासमा एकत्रित हुनुपर्ने समय आएको बताए । ‘नेपाल र भुटानमा ठूलो परिमाणमा जलविद्युत उत्पादन गर्न सक्ने सम्भाव्यता रहेको छ,’ उनले भने, ‘उपलब्ध स्रोतको अधिकतम उपयोग गरी भारत तथा बंगलादेशमा निर्यात गरेर आर्थिक विकासको लक्ष्य हासिल गर्न सकिन्छ ।’

यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले यस सम्मेलनको मुख्य उद्देश्य नै स्वच्छ ऊर्जाको प्रयोगबाट कार्बन उत्सर्जनमा कमी ल्याउने र विद्युतको बजार विस्तार गर्ने नै रहेको बताए । ‘हरित ऊर्जालाई प्रवद्र्धन गर्ने यो महत्वपूर्ण अवसर पनि हो,’ उनले भने, ‘व्यापकरूपमा विद्युत उत्पादन र बजारिकरणका लागि सरकारले विद्युत व्यापार सम्झौता (पिपिए) को बाधा अड्काल तत्काल फुकाउनुपर्छ ।’

समाजबादी युवा संघको ध्यान पशुपतिमा

काठमाडौ‌ । आराध्यदेव श्री पशुपतिनाथको आदर्श गरिमा एवं महत्व अनुरुप पशुपति क्षेत्रको योजनाबद्ध रुपमा सुरक्षा, सम्भार तथा विकास गर्ने लगाएतका उद्देश्य कार्यान्वयन गर्नको लागि पशुपति क्षेत्र विकास कोषको गठन भएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिब लाई समाजवादी निकट युवा सघले ज्ञापनपत्रसमेत बुझाएको छ। ज्ञापनपत्रमा भनिएको छ ,मातहतमा रहने गरि पशुपति क्षेत्र भित्र रहेको विद्युतिय शव दाह गृह संचालनमा रहेकोमा विद्युतिय शव दाह गृहमा रहेका मेसिनहरु करिब ३१ महिना भन्दा लामो समय देखि पूर्णरुपमा संचालन हुन सकेका छैनन ।

विद्युतिय मेसिनबाट अन्तिम मृत्यु संस्कार गर्न चाहने मृतकका परिवाहरुलाई विद्युतिय शव दाह मेसिनबाट मृत्यु संस्कार गर्न समस्या परिरहेको छ ।
तसर्थः उक्त विद्युतिय शव दाह गृहमा रहेका सम्पूर्ण मेसिनहरु अविलम्ब मर्मत गरि संचालन गर्न युवा संघ नेपाल पशुपति क्षेत्र विकास कोषको गम्भिर ध्यानाकर्षण गराएको छ।

युवासंघ नेपालले आफनो स्थापनाकाल देखिनै राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कानूनी शासन लगाएतका विषयमा निरन्तर सरोकार राख्दै आफ्नो अभियान लाई निरन्तरता अध्यक्ष फुर्वा लामाले सम्पत्ति न्यूजलाइ जानकारी गराए । टोलिको नेतृत्व केन्द्रिय उपाध्यक्ष नितेष पौडेलले गर्नुभएको थियो।

भारतबाट बढेर आयो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले भारतबाट इन्धनको मूल्य बढेर आएको जनाएको छ ।

हरेक १५्/१५ दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँछ ।  आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्य बढेर आएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर करिब साढे ६ रुपैयाँ र डिजेल प्रतिलिटर करिब १ रुपैयाँ बढेर आएको हो । आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

शेयर बजारमा सामान्य अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को आरोलो यात्रा कायमै रहेको छ ।  साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) नेप्से ३.०७ अंकले घटेर एक हजार ९ सय ४ दशमलब ९८ विन्दुमा बन्द भएको हो ।     

त्यस्तै, आज ८७ करोड चार लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ६२ कम्पनीको शेयरमूल्य बढेको छ भने १३८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६६७.७० रुपैयाँ पुगेको छ भने मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २०६.३० रुपैयाँ पुगेको छ ।        

नेप्सेका अनुसार आज खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५.५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंक लिमिटेड प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ५ करोड २६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सिरहा। सिरहा, लहान नगरपालिका-१७ देवीदह टोल बस्ने रामेश्वर यादवको कुखुरा फर्म र फर्मको पछाडी रहेको उनकै परालको टालमा सोमबार दिउँसो आगलागी हुँदा कुखुराको दाना, कुखुरा र फर्म जलेर करिब २० लाख ४६ हजार ५ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरी, कोशी गाउँपालिका-७ मुसहरी टोल बस्ने ६० वर्षीय चन्द्र सदाको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा उक्त आगो फैलिएर सदा लगायत ७ जना मानिसहरुको घरमासमेत आगलागी हुँदा ७ जनाको घर र विभिन्न सरसामान जलेर करिब ११ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

संसदका दुई सचिवहरुको हेरफेर

संघीय संसद सचिवालयका सचिवहरुको जिम्मेवारी हेरफेर गरिएको छ । प्रशासनिक कर्मचारी सचिवहरुको हिजो सरुवा गरिएको सचिवालय स्रोतले बताएको छ । दुई सचिवमध्ये प्रशासन हेर्नेलाई अनुसन्धान र अनुसन्धान हेर्नेलाई प्रशासनमा लगिएको बुझिएको छ ।

प्रशासन हेर्ने सुदर्शन खड्का र अनुसन्धान हेर्ने डा.रोजनाथ पाण्डेको जिम्मेवारी हेरफेर गरिएको हो । पाण्डे गत पुसमा सचिवमा बढुवा भएका हुन । संसद सचिवालयका सचिव ध्रुव घिमिरेले राजीनामा दिएपछि एउटा सचिवको पद रिक्त थियो । लामो समय प्रवक्ताको भूमिकामा रहेका डा. पाण्डेलाई सचिवमा बढुवा भएसँगै अनुसन्धान विभाग सम्हाल्दै आएका पाण्डेलाई प्रशासन फाँटतिर लगिएको हो ।

केही सचिवको सरुवा हुन सक्ने सम्भावना, मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने भएको हो ।

आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णयसँगै केही मन्त्रालयका सचिवहरूको सरुवा हुन सक्ने उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

हाल एक वरिष्ठ सचिव अतिरिक्तमा छन् भने दुई प्रदेशमा प्रदेश प्रमुख सचिव पद रिक्त रहेको छ । यससँगै अघिल्लो सरकारले ल्याएका केही सचिव नयाँ सरकार बनेसँगै परिवर्तन गर्ने तयारी गरिँदै आइएको थियो ।

भोलि प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपाल तनहुँ जाँदै

तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तनहुँ जाने भएका छन् ।

यहीँ महिनाको १० गते हुने उपनिर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न उनीहरु भोलि (बुधबार) तनहुँ जाने भएका हुन् ।

उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न प्रचण्ड, देउवा र नेपाल भोलि तनहुँ जाँदैछन् ।

उनीहश्रले भोलि दिउँसो २ बजे तनहुँको डुम्रेबजारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

बानेश्वरमा सरकारविरुद्ध नाराबाजी गर्ने ११ जना पक्राउ

काठमाडौं स् सरकारविरुद्ध नाराबाजी गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान बानेश्वरस्थित संसद भवन अगाडि सरकारविरूद्ध नाराबाजीमा उत्रिएका द्वन्द्वपीडितलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नाराबाजी गर्दै निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। घाइते,अशक्त भएकाहरूको उपचार गर,सहिदको उच्च सम्मान गर, देश द्रोही प्रचण्ड मुर्दाबाद,संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गर लगायतका नारा लगाएर उनीहरू प्रदर्शनमा उत्रिएका छन्।

अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ।

आफूहरूको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन द्वन्द्वपीडित काठमाडौंको विभिन्‍न स्थानमा धर्ना दिँदै आएका छन्

तुलसीपुरमा सशस्त्रका सहायक हवल्दारले चलाए आफैंमाथि गोली

दाङ । दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

हिजो बेलुकी करिब ८ः३० बजे डयुटीमा खटिएकै अवस्थामा एसएलआरले चिवुमा गोली हानी आत्महत्या गरेको इप्रका तुसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु भएको डीएसपी मल्लले बताए । उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा पाँच दिन पहिले मात्रै आएका थिए । यसअघि उनी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए ।

पारिवारिक विवादका कारण केसीले आफैलाई गोली हानी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी मल्लले बताए । घटनाबारे अनुसन्धान भैइरहेको डीएसपी मल्लले बताए ।

आगामी आवका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल भित्र्याइने

काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेडले आगामी आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल भित्र्याउने तयारी गरेको छ ।

लिमिटेडका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले आगामी आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउनका लागि समयमा बजेट विनियोजन गर्न सम्बन्धित निकायबीच निर्णय भएको जानकारी दिए ।

“अघिल्ला वर्षमा बजेटको सही समयमा विनियोजन नहुँदा मलको कमी देखापरेको थियो तर आगामी आर्थिक वर्षका लागि चाहिने बजेट समयमा विनियोजन गर्न सरोकारवाला निकायसँग निर्णय भएकोले मलको कमी हुँदैन । लिमिटेडलाई पनि योजना तयार पार्न अनुकूल भएको छ” उहाँले भन्नुभयो ।

उहाँका अनुसार बजारमा मलको कमी हुनुको मुख्य कारण बजेट विनियोजन समयमा नहुनु हो । उहाँले पछिल्लो वर्षका लागि मलको आवश्यकता परिपूर्ति गर्न पुस मसान्तभित्र आवश्यक बजेट चाहिने उल्लेख गर्नुभयो । “खरिद प्रक्रियाको समयका कारण चैतमा प्राप्त भएको बजेटले कृषकको सही समयको माग पूरा हुन सक्दैन”, पोखरेलले भन्नुभयो ।

मल वितरण निर्देशिकाबमोजिम लिमिटेडले पाँच हजार तीन सय सहकारी संस्थामार्फत स्थानीय तहसम्म मल बिक्री वितरण हुने गरेको छ । प्रबन्ध सञ्चालक पोखरेलका अनुसार साल्ट ट्रेडिङले ३० प्रतिशत र लिमिटेडले ७० प्रतिशत मल आपूर्ति गर्ने गरेका छन् ।

यस आर्थिक वर्ष कृषकलाई रासायनिक मल बढीमा सात लाख मेट्रिक टन र कम्तीमा पाँच लाख मेट्रिक टन आवश्यक हुन्छ । चार लाख मेट्रिक टन आउने क्रममा रहेको तर समयमा बजेट विनियोजन नभएका कारण एक लाख मेट्रिक टन कमी हुने पोखरेलले बताउनुभयो ।

हाल लिमिटेडमा एक लाख मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र अरू आपूर्ति गर्नका लागि टेण्डर खोलिएको उहाँले जानकारी दिनुभयो ।

आव २०७८/०७९ मा करिब एक लाख ७७ हजार पाँच सय छ मेट्रिक टन आपूर्ति गरेकोमा यस आर्थिक वर्षमा हालसम्म खरिद र टेण्डर भएको जम्मा तीन लाख २४ हजार मेट्रिक टनमध्ये एक लाख ३८ हजार एक सय टन भित्रिएको र एक लाख ३६ हजार छ सय टन बिक्री वितरण भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

भारत सरकारबाट खरिद भएको युरियामध्ये आठ हजार दुई सय मेट्रिक टन प्राप्त भएको र २१ हजार आठ सय मेट्रिक टन आउने क्रममा रहेको छ । एक लाख २३ हजार मेट्रिक टन सम्झौता भएको र ४० हजार मेट्रिक टन टेण्डर भएको मन्त्रालयले जनाएको छ ।

निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ — नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काका साक्षीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जन(भ्रष्टाचार) मुद्दामा विशेष अदालतले सोमबार खड्काका साक्षी निमा टासी शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सोमबार न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

खड्काविरुद्ध २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ६६ लाख रुपैयाँ गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनलाई २०७१ साल माघमा खड्कालाई मन्त्रिपरिषद्ले निगमको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

अनेकन विवादमा मुछिएपछि २०७४ असोजमा विभिन्न संसदीय समितिको सिफारिसबमोजिम सरकारद्वारा पदच्युत गरिएका खड्काले श्रीमती शर्मिला खड्का र अन्य व्यक्तिका नाममा समेत चलअचल सम्पत्ति लुकाइराखेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर सुनुवाइका लागि पटक पटक पेशी तोकिए पनि उपस्थित नभएपछि विशेष अदालतले सोमबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले चण्डिका भट्टलाई हटाएर अवकाशप्राप्त इन्जिनियर (उपसचिव) गोपाल खड्कालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको भन्ने समाचारका विषयमा तत्काल छानबिन गर्न निर्देशन दिएकी छन्।

आइतबार मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई ठाडो निर्देशन दिएकी हुन् । केही दिन अघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक भएको थियो । सोही घटनाको विषयमा थप सत्यतथ्य छानविन गरी विभागीय कारबाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकी हुन् ।

उनले मन्त्रालयका सचिव डा. दामोदर रेग्मी तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्मनिधि सोतीलाई मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गर्ने गरेको विषयमा आएका समाचारबारे तत्काल छानबिन गर्न निर्देशन दिएको दिए।

इकागजको प्रधान सम्पादकमा विकास थापा

काठमाडौँ । इकागज मिडिया प्रालिद्वारा प्रकाशित इकागज डटकमको प्रधान सम्पादकमा विकास थापा नियुक्त भएको छ । इकागज मिडियाको सोमबार बसेको व्यवस्थापन बैठकले थापालाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो । थापा यसअघि सोही मिडियाको सम्पादकको जिम्मेवारी निरवाह गरिरहेका थिए ।

स्थापनाकालदेखि नै प्रधान सम्पादकको जिम्मेवारीमा रहेका वरिष्ठ पत्रकार हरिबहादुर थापाले सोमबार राजीनामा दिएपछि रिक्त रहेको स्थानमा थापालाई नियुक्त गरेको छ ।

व्यवस्थापनमा स्नातकोत्तर ‍‍(एमबीए) थापाले २० वर्ष कान्तिपुर राष्ट्रिय दैनिकको विभिन्न जिम्मेवारीमा रही काम गरेका छन् । ‘जलसरोकार’ का विषयमा निरन्तर कलम चलाउँदै आएका थापाले ८ वर्ष अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा काम गर्दै सम्पादनको नेतृत्व पनि सम्हालेका छन् ।

ऊर्जा र आर्थिक समाचारमा विशेष दक्षता हासिल गरेका थापाको ‘नेपालमा जलविद्युत’ नामक पुस्तक प्रकाशित छ ।