२ थान अटोमेटिक पेस्तोलसहित २ जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिमा २ थान अटोमेटिक पेस्तोलसहित २ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१७ डाँडाघोपा बस्ने २९ वर्षीय हुकमेन जिमी र सोही उपमहानगरपालिका–१५ सहिद मार्ग बस्ने २४ वर्षीय रोहित राईलाई २ थान अटोमेटिक पेस्तोलसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले हुकमेन जिमीलाई उनकै घरमा लुकाई राखेको स्वचालित हतियार पेस्तोलका विभिन्न पार्टससहित फेला पारी पक्राउ गरेको थियो ।

थप सोधपुछको क्रममा उनले २ थान पेस्तोल खरिद गरी ल्याएकोमा १ थान आफूले राखेको र १ थान रोहित राईलाई दिएको भनि खुल्न आएपछि रोहित राईको घर तलासी गर्दा १ थान म्याग्जिन सहितको पेस्तोल फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

पूर्वगृहमन्त्री खाणलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणनार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई सरकारी वकिल कार्यालय लगिएको छ।

काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाणलाई बयानका लागि सरकारी वकिल कार्यालयमा लगिएको हो। शरणार्थी प्रकरणमा पक्राउ परेका खाणसहित १२ जनालाई शनिबारदेखि लागू हुने गरी आइतबार थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी हिजोमात्र काठमाडौंबाट पक्राउ परेका छन्। उनलाई आज म्याद थप गर्ने तयारी छ। एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीकविरूद्ध आइतबार पक्राउ पुर्जी जारी भएको छ

यस्तो छ आज जेठ १ गते सोमबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ सचेत रहनुहोला, तर पनि नयाँ र शुभ कार्यको थालनी हुनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) पूजा पाठमा मन जानेछ । मनोरञ्जन पूर्वक दिन बित्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । घर परिवारसँग समय व्यतीत हुनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । सामाजिक कार्य अघि बढ्नेछ । शेयर बजरको कारोबारमा सफलता मिल्नेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तरपनि कुनै न कुनै कुराले मन प्रसन्न रहला ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वादिष्ट सुखद् भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाइसँग समय बित्नेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ । धार्मिक काम र भक्तिभाव बढ्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज श्रद्धा र भक्ति बढ्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

प्रधानमन्त्रीले आजको संसद् बैठकमा भ्रष्टाचार निवारण विधेयक पेश गर्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक आज (सोमबार) दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।

नेपाली कांग्रेसबाट विसं. २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यको रूपमा निर्वाचित सदस्य तथा सामाजिक एवं साहित्य क्षेत्रमा सक्रिय पुरुषोत्तम बस्नेतको ७८ वर्षको उमेरमा मिति २०८० साल वैशाख २९ गते निधन भएकोमा उनको निधनप्रति आजको बैठकले शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सरकारको नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारी गरेको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ ५ गत नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको हो ।

संविधानकाे धारा ९५ मा संघीय संसद्का दुवै सदनमा सम्बाेधन गरी राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा नीति तथा कार्यक्रम सम्बोधन गर्ने तयारी भएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको हाे । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको बताए ।

नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पनि बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब १७ अंक घटेर बन्द भएको छ। साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १६.९६ अंकले घटेर एक हजार ८ सय २१ दशमलब ६४ विन्दुमा बन्द भएको हो ।  

आज ९० करोड ५ लाख ६३ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका ४० कम्पनीको शेयरमूल्य बढेको छ भने १६९ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७२७.१० रुपैयाँ पुगेको छ ।   

नेप्सेका अनुसार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ । यस कम्पनीको आज पाँच करोड ३५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

मोदी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट

 काठमाडौं । मोदी इनर्जी लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म निष्कासन गरेको आईपीओ ३१ वैशाख, आइतबार बिक्री प्रबन्धक सनराइज क्यापिटलले बाँडफाँट गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५५ लाख ५९ हजार ४२० कित्ता सेयर निष्काशन गरेको थियो । कर्मचारीहरुका लागि छुट्याइएको सेयरमा बाँडफाँट नभएको ५२ हजार ८४० कित्तासहित गरी कुल ५६ लाख १२ हजार २६० कित्ता सेयर सर्वसाधारण्मा बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

विदेशबाट फर्किदा साथमा दुईभन्दा बढी मोबाइल ल्याए जफत

काठमाडाै ।  तपाईं विदेशबाट फर्किंदा साथीभाइ र आफन्तका लागि उपहार स्वरुप मोबाइल ल्याउँदै हुनुहुन्छ ? विदेशबाट फर्किदा साथमा दुई वटासम्म फोन ल्याउँदा भन्सार तिर्न नपर्ने सुविधा वैदेशिक रोजगारमा गएका कामदारले मात्रै पाउने भएका छन् । 

मन्त्रिपरिषद्को २६ वैशाख २०८० को निर्णयअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तिमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले दुई थानसम्म मोबाइल फोन ल्याएमा कुनै पनि महसुल लाग्ने छैन । तर यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धि आदेश २०७७ बमोजिम विदेशबाट फर्कने यात्रुहरूले आफूले प्रयोग गरिरहेको एक थान मोबाइल फोन महसुल नतिरी ल्याउन पाउने व्यवस्था छ ।

भन्सार विभागले आइतवार एक सूचना प्रकाशित गर्दै नयाँ नियमसम्बन्धि व्यवस्था स्पष्ट पारेको हो । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई फर्किने क्रममा दुई वटा फोन महसुल नतिरी ल्याउन पाउने सुविधा प्राप्त हुनेछ । त्यसरी ल्याइएका फोन सम्बन्धित व्यक्ति स्वयम्ले नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएसमा अनलाइन माध्यमबाट दर्ता गर्नुपर्नेछ ।

तर अध्ययन, भ्रमण वा अन्य प्रयोजनका लागि विदेश गएका नेपालीहरूले भने साथमा एक थान मोबाइल मात्र महसुल नतिरी ल्याउन पाउने छन् र त्यसको घोषणा भन्सार कार्यालयमा गर्नुपर्ने छैन ।

नक्कली मह बनाउने ७ भारतीय पक्राउ

रुपन्देही । बुटवलमा नक्कली मह बनाउने कारखानासहित ७ जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं ११ सिर्जनानगरमा ४ वटा घर भाडामा लिएर नक्कली महको कारखाना खोलेका उनीहरूले नक्कली मह बनाएको आरोपमा पक्राउ परेका हुन् । 

पक्राउ परेका व्यापारीलाई राती १ बजे वडा प्रहरी कार्यालय रामनगर लगेर छाडिएको छ । सिर्जना नगरका ७ वटा घरमा सञ्चालन गरिएको यस्तो कारखानाबाट नक्कली मह बरामद गरिएको हो ।

ती व्यापारीले नेपाली ग्राहकमाथि गम्भीर खेलबाड गर्दै नक्कली मह कारखाना खोलेर सञ्चालन गरेको गोप्य सूचनाका आधारमा शनिवार राती ४ घण्टा प्रहरी र स्थानीयको पहलमा गस्ती गरेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूले मौरीका सडे गलेका चाकालाई चिनीपानीमा भिजाएर सक्कली मह भन्दै बजारमा बेच्ने गरेको बताइएको छ । 

दार्चुलामा चट्याङ लागेर तिन जना घाइते

दार्चुला । यार्चागुम्बा संकलन गरिरहेको अवस्थामा व्यास गाउँपालिका-२ हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर तीन जना घाइते भएको प्रहरिले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार चट्याङ लागेर दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका–१ पिपलचौरी बस्पालीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका हुन् ।

उनका अनुसार हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट दुम्लिङबाट प्रहरी साहयक निरीक्षक नारायण विष्टको टोली घटनास्थलमा खटिएको बताए ।

पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

रामेछाप १ बाट निर्वाचित सांसद शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी भएको काठमाडौं प्रहरी परिसरले बतायो ।

शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको सार्वजनिक भएपछि पक्राउ पुर्जी जारी भएको छ ।

वाग्मती नदी किनारमा फोहर फाल्नेलाई जरिवाना

काठमाडाै । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु वाग्मती सफाइ महाअभियानका क्रममा नदी किनारमा फोहर फाल्नेलाई स्थलगतरुपमै जरिवाना गरिएको छ।

वाग्मती सफाइ महाअभियानले प्रत्येक शनिबार बिहान आयोजना गर्ने जागरणमूलक सफाइका क्रममा सिनामङ्गल पुलमुनिको नदी किनारमा फोहर फाल्ने लक्ष्मीनारायण शर्मा र हिमालयन विल्डर्सलाई १०/ १० हजार गरी २० हजार जरिवाना गरिएको छ। काठमाडौँ महानगरपालिकाले सफाइस्थलमै रसिद काटेर दोषीलाई कारबाही गर्ने अभियान नै चलाउने भएको छ।

महाअभियानले प्रत्येक हप्ता जरिवाना लिने रसिदसहित नगर प्रहरी र कर्मचारी पठाइ सहयोग गरिदिन महानगर प्रमुख शाहसँग अनुरोध गरेका थिए। सफाइ महाअभियानले काठमाडौँ उपत्यकाका दुवै महानगरपालिका र सबै नगरपालिकालाई दिगो फोहर व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ।

विसं २०७० जेठ ५ देखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार बिहान दुईघण्टा सञ्चालन हुने गरेको छ। आज सफाइ महाअभियानका ५२२औँ हप्तामा पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो। सफाइबाट तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ। अर्को शनिबार बिहान पनि यसै स्थानमा सफाइ गरिने जनाइएको छ।

यसैगरी विष्णुमती सफाइ अभियानको ४७० औँ हप्तामा मानसिंह धर्म माध्यमिक विद्यालय परिसरमा सफाइ गरिएको छ। सफाइबाट एक ट्र्याक्टर नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए।

वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकाका सबै नदी, सांस्कृतिक सम्पदालगायत सार्वजनिकस्थलमा सफाइ अभियान सुरु भएको छ। रुद्रमती नदीमा पनि सफाइ गर्ने गरिए पनि सेतोपुल क्षेत्रमा सिधै नदीमा ढल हालेर प्रदूषित बनाइएको अभियानकर्मी राम साहले जानकारी दिए।

यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मती, मनोहरा, रुद्रमती, मनोहरा, ललितलपुरको गोदावरी खोला, चक्रपथको उत्तरी र पश्चिमी खण्डमा पनि सफाइ गरिएको जनाइएको छ। जताततै सफाइ अभियान जारी रहे पनि ठोस उपलब्धि नभएको भन्दै आलोचना हुने गरेको छ।

कर्मचारीतन्त्रका कारण नेपालको विकास हुन सकेन: आरजु 

काठमाडाै । काँग्रेस नेतृ आरजु राणाले मुलुक कर्मचारीतन्त्रका कारण विकास हुन नसकेको बताएकी छिन् । उनले मुलुकको विकास हुन नसक्नुमा नेता नभइ कर्मचारीतन्त्र मुख्य कारण रहेको बताएकी हुन ।
बाँनियाले यो देश नेताकै कारण विकास भएन जस्तो लाग्दैन भन्ने जिज्ञासामा राणाले जबाफ दिएकी छिन्,यो देश नेताको कारण नभइ कर्मचारीतन्त्रका कारण विकास नभएको जिकिर गरेकी हुन ।

उनले छोरा जयवीरको कस्सम खाँदै भुटानी शरणार्थी प्रकरणमा एक रुपैंया घुस नखाएको जबाफ दिएकी छिन् ।उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै आर्थिक लाभ नलिएको दाबी गरेकी छन् । एउटा मान्छे देखाउनुहोस्, जसले आरजु राणा देउवालाई पैसा दिएँ भनोस् । उनले अगाडि थप्दै छोराकै कसम खाएर भन्छु, भुटानी शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन ।

प्रहरी हिरासतमा रहेका सचिव टेकनारायण पाण्डेलाई भेटन् रानीपोखरी वृत्त पुगेको जिज्ञासामा आफू पागल नभएको प्रतिक्रिया दिएकी छिन् । प्रहरी नियन्त्रणमा रहेका बालकृष्ण खाँणले प्रमाण चपाएर निलेको सन्दर्भमा आरजुले आफू कागज र घाँस खाने नभएको बताएकी छन् ।

टेकनारायण पाण्डेसँग भेटघाट भएको अर्काे जिज्ञासामा  भेट्न जानका लागि म पागल हो ?भन्दै प्रतिप्रश्न गरेकी छिन् । ६ करोड रुपैंया दिएको प्रकरणमा मञ्जु खाँणसँग जोडेर राखिएको जिज्ञासामा मञ्जु खाँण पार्टीको केन्द्रीय सदस्य रहेको,सँगै आफूसँगै नहुने र आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

यस्तो छ ३१ बैशाख २०८०, आज आइतबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कृत्यमा या शुभ कार्यमा सरिक पनि भइनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शुभ कार्यमा सरिक भइनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा पनि प्रगति नै हुनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आत्मबलमा कमी आउनेछ । मनमा चिन्ता र दुबिधा उत्पन्न हुनेछ । स्वास्थ्य प्रति सचेत रहनु होला, तर शुभ कार्यमा सरिक भइनेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभहानी, आयव्यय, सुखदुस्ख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मन भावुक र उत्ताउलो बन्नसक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । सरकारी निकायको भएपनि रहला, तर शुभ कार्यमा सरिक भइनेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) शुभकार्यको चर्चा चल्नेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । व्यापार व्यवसायमा सफलता पाइनेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । राजनैतिक र कूटनैतिक कार्यमा सफलता मिल्नेछ, तर निर्णय कार्यान्वयन हुन संघर्ष गर्नु पर्ला ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज राजनैतिक र सामाजिक कार्यमा दोष लाग्न सक्छ । कसैले झुट पनि बोल्नसक्छन्, तर साँझमा नयाँ र शुभ समाचार सुन्न पाइनेछ ।

अमेरिकी डलरकाे भाउ बढ्याे

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । साताको पहिलो कारोबार दिन आइतबार अमेरिकी डलर १२ पैसाले बढेको छ । यसअघि शुक्रबार पनि डलरको भाउ १७ पैसाले बढेको थियो।

नेपाल राष्ट्र बैंकले आइतबार युरोपियन युरोमा झिनो गिरावट आएको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ११ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसाले घटेको हो । यसअघि शुक्रबार युरोको खरिदमूल्य १४३ रुपैयाँ १५ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ८० पैसा कायम गरिएको थियो ।

आइतबार एकको अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसामा कारोबार भएको छ । यसाअघि शुक्रबार खरिदमूल्य १३१ रुपैयाँ ५ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको थियो ।

त्यस्तै, आइतबार पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १६४ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य १६५ रुपैयाँ १७ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७३ पैसा र बिक्रीमा ८८ रुपैयाँ १३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६८ पैसा पाइन्छ।

यस्तै, राष्ट्र बैंकले कतारी रियाल आइतबार एकको खरिदमा ३६ रुपैयाँ एक पैसा र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा पाइन्छ। साउदी अरेबियन रियाल एकको खरिददर आइतबार ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ २९ पैसा र बिक्रीमा २९ रुपैयाँ ४२ पैसा पाइन्छ। आइतबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ७४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५५ पैसा तोकिएको छ।