गौरका मेयरसाह द्धारा संस्कृत विद्यालय भवनको शिलान्यास

जनकपुर २८ बैशाख।

रौतहटको सदरमुकाम गौर नगरपालिकाका मेयर शम्भु साहले संस्कृत विद्यालय भवनको शिलान्यास गरेका छन।  मेयर साहले बुधवार बिधिवत रूपमा गौर २  संस्कृत विद्यालय अर्थात गुरुकुल भवनको शिलान्यास गरेका हुन। जुद्ध माध्यमिक विद्यालयको पश्चिम पटि उक्त विद्यापिठ भवनको शिलान्यास गरिएको हो। धार्मिक सांस्कृतिक मूल्य मान्याता एवम  नैतिक ब्यवहारहरुको संरक्षण गर्ने चुनावमा गरेको  प्रतिबद्धता अनूसार उक्त विद्यालय निर्माण भैरहेको मेयर साहले बताएका छन।

 शिलान्यास समारोहमा उदयशंकर झा, धन्नजय झा, राघवेन्द्र झा, गौरीकान्त मिश्र, वडा २ का अध्य्क्ष बिनोद जयसवाल, जयनारायण श्रीवास्तव, घनश्याम झा बाबा सीताराम दास, लगाएतको उपस्थिति रहेको थियो । सोहि अवसरमा प्रमुख प्रशासकीय अधिकृत सुवास ठाकुरले वरिष्ठ नागरिकहरुलाई गमछा ओढाई सम्मान गरेका थिए । नगर विकास कोषको कुल ८० लाखको लागतमा निर्माण हुने उक्त भवनको प्रारम्भीक चरणमा १५ लाख रकम विनियोजन भएको अधिकृत ठाकुरले जानकारी दिएका छन।

गुजरा २ का मुसहर परिवारलाई निशुल्क विद्युत मीटर वितरण

जनकपुर २८ बैशाख । रौतहटको गुजरा नगरपालीका २ का मुसहर परिवारलाई निशुल्क विद्युत मीटर वितरणको प्रक्रिया सुरू भएको छ। वडा अध्यक्ष अशोक खान थारुले बिशेष सक्रियतामा निशुल्क विद्युत मीटरको लागि मंगलबार देखि  वडामा नाम संकलन सुरू गरिएको हो।

दुई दिनमा ७८ जना मुसहर परिवारको नाम संकलन भएकाे छ भने वडा २ मा १ सय परिवारको मुसहर वस्ति रहेको छ। अती विपन्न, सुकुम्बासी  मुसहर समुदायहरुलाई विधुत मिटर नभएर बति बाल्न कठिनाई भएको कारण नगरकाे सहयोगमा बिधुत प्राधिकरण संग समन्वय गरि नाम संकलन भएकाे हो।

गुजरा नगरपालीकामा पहिलोटक मूसहर समुदाय लाई  वडा २ को सहयाेगमा निशुल्क विद्युत मीटर वितरण गर्न लागिएको वडा अध्यक्ष अशोक खान थारुले बताएका छन। वडा २ पछि गुजरा बाँकी वडाका विपन्न मुसहर परिवारलाई निशुल्क विद्युत मीटर वितरण गर्ने योजना रहेको मेयर सन्तलाल चौधरीलाई बताएका छन।

विपन्न परिवारको बिहेमा नगद सहयोग

रौतहट २८ बैशाख। रौतहटको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमनि जैसवालले दलित तथा बिपन्न  परिवारलाई आर्थिक सहयोग गरेका छन।

मेयर जैसवालले गरेको चुनावी घोषणा अनुसार बुधबार गरिव-दलित परिवारको छोरीको बिहेमा राहत पुग्ने उदेश्यले  जनही २५ हजारको दरले सहयोग प्रदान गरिएको हो ।

गरुडा नगरपालिका ५ शिवनगर टोल बस्ने रामबाबु महरा, गंगाराम महराकी छोरी तथा मुकेश राम जिको बहिनीको बिहेमा हुने खर्चमा  राहत पुग्ने उदेश्य सहित ननगरपालिकाद्वारा रकम प्रदान गरिएको हो ।

अतिविप्पन तथा दलित गरिब परिवारको छोरीको विहेमा ठूलो आर्थिक समस्या हुने गरेको कारण नगरपालिकाले त्यस्ता परिवारलाई आर्थिक सहयोग गरेको मेयर जैसवालले जानकारी दिएका छन।

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणको बयान आजदेखि

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आजदेखि बयान लिइने भएको छ ।

बुधबार बिहान मैजुबहालस्थित निवासबाट खाँणलाई प्रहरीले पक्राउ गरेको थियो । खाँणसँगै प्रहरीले उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो।

काठमाडौँ जिल्ला अदालतले खाँणलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ। आज (बिहीबार) उनलाई सरकारी वकिल कार्यालय काठमाडौँमा बयान लिने तयारी भएको जनाइएको छ ।

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्नेलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग लेनदेनमा संलग्न भएको आरोपमा खाँणलाई बुधवार चाबहिलस्थित मनमैजुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

खाँण पक्राउ परे लगत्तै देउवाले खाँण निकटका काँग्रेस नेताहरूसँग छलफल गरेका थिए । त्यसपछि पदाधिकारी बैठक बसेको थियो ।

बुधवार को बैठकमा खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भए पनि निर्णय हुन सकेको थिएन । महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा भने खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा छन् ।

कति छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ११ पैसा र बिक्री दर १६५ रुपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, डलरको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ६३ पैसा र बिक्री दर १४४ रुपैयाँ ०२ पैसा रहेको छ।

आज केही स्थानमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव कायम रहेकाले बिहीवार गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक अथवा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । आज लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरुमा सामान्य हावा हुरीको सम्भावना रहेको छ ।

आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।

बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प

बाजुरा । बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ । 

बिडिएस चौथो वर्षमा अध्ययनरत छात्राले गरिन् आत्महत्या

चितवन – आन्तरिक परीक्षा दिइरहेको बेला परीक्षा हलमा खटिएका शिक्षकले जबर्जस्ती मानसिक तनाव दिएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन् ।

चितवन मेडिकल कलेजमा बिडिएस चौथो वर्ष (पहिलो चरण) की विद्यार्थी पाल्पाको रामपुर नगरपालिका वडा नं–४ घर भई भरतपुर–१० मा डेरा गरी बस्ने २३ वर्षीया सिमरन थापाले बुधबार दिउँसो १ः३० बजे आत्महत्या गरेको चितवन प्रहरीले पुष्टि गरेको छ ।

परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेपछि उनले कोठामा गएर आत्महत्या गरेकी हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरुले मृतकको साथबाट कुनै सुसाइट नोट नभेटिएको तर मेडिकल कलेजमा बुझ्दा परीक्षामा चिट चोरेपछि उनलाई हलबाट निकालिएको बुझ्न आएको बताए ।

उनले आफू सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवबाट ५०० मिटर उत्तरमा  सो घटना घटेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापछि चितवन मेडिकल कलेजमा इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ ।

मेडिकल कलेजका विद्यार्थीहरुले आज प्रेषित गरेको विज्ञप्तिमा मृतक थापाले आन्तरिक परीक्षा दिइरहेको समयमा परीक्षामा खटिएको शिक्षकले जबरजस्ती मानसिक तनाव दिई परीक्षा हलबाट निकालेपछि उनी आत्महत्या गर्न बाध्य भएको जनाइएको छ ।

विद्यार्थीहरुले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीका माग राख्दै इमरजेन्सीबाहेक कलेजका सबै सेवा बन्द गरेका छन् ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ — आजदेखि एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठक आजदेखि ३० गतेसम्म बस्नेछ । बैठक आज बिहान १० बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ । तीन दिनसम्म सञ्चालन हुने बैठकमा विभिन्न १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्य योजना, केन्द्रीय सदस्यको कार्य विभाजन, पार्टी प्रवेशीको व्यवस्थापनलगायत १० कार्यसूचीबारे छलफल हुनेछ ।

गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरू सहभागी हुनेछन् ।

यस्तो छ २८ बैशाख २०८०, बिहीबार आजको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । आर्थिक तनाव बढेको महसुस हुनेछ, तर साँझमा मन प्रसन्न रहला ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ, तर वैदेशिक लगानीले राम्रो प्रतिफल दिन सक्छ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ धर्मकर्म, परोपकार तथा समाजसेवा जस्ता कार्यमा मन जाला । कपडाको लगानी राम्रै हुनेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा प्रसन्न छाउनेछ । पारिवारिक सहयोग पनि मिल्नेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग छ ।

पुर्वमन्त्री खाणलाई चार दिनमा हिरासतमा राख्न अनुमति

काठमाडौँ । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बिहान पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।

आरजुले दिइन् साइबर ब्युरोमा उजुरी (सुचनासहित)

काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ एवम् सां‌सद आरजु राणा देउवाले साइबर ब्युरोमा उजुरी दिएकी छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नामसमेत जोडिएको अडियो सार्वजनिक भएको भन्दै उनले सो अडियोको उच्च प्रविधिबाट जाँच गरी दोषीमाथि कारबाही गर्न माग गरेकी छन् ।

फरार टोपबहादुर रायमाझीले विरामी भएको संसद सचिवालयमा जानकारी

काठमाडौं । फरार रहेको टोपबहादुर रायमाझीले आफु बिरामी भएको संसद सचिवालयलाई जानकारी गराएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले उनलाई गत बुधबारदेखि खोज्दै आएको छ । तर उनलाई प्रहरीले हालसम्ममा पनि पक्राउ गर्न सकेको छैन् ।

यसै बीचमा फरार रहेका रायमाझीले संसद सचिवालयमा आफू विरामी भएको निवेदन पठाएका हुन् । विरामी भएको जानकारी गराउँदै उनले विरामी विदा स्वीकृति गरिदिन समेत संसदमा आग्रह गरेका छन् ।

२४.२ प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा रेमिट्यान्स आउने क्रम २४.२ प्रतिशतले बढेको छ । चैत महिनामा मात्रै १ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान तथा आर्थिक वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार यस अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई रु.९०३ अर्ब ३९ करोड पुगेको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेर ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३ लाख ८७ हजार ८३९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो । 

चैत महिनामा खुद ट्रान्सफर २२.८ प्रतिशतले वृद्धि भई रु.९९६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो ।