नेप्से र कारोबार रकम दुबै घट्यो

काठमाडौं ।बुधबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से कारोबारको चौथो दिन बुधबार (आज) झिनो  अंकले घटेको छ । मंगलबार दोहोरो अंकले बढेको नेप्से आज फेरी घटेको हो । आज नेप्से २.४३ अंकले घटेर एक हजार ८ सय ४१ दशमलब ९३ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १०.६६ अंकले बढेर एक हजार ८ सय ४४ दशमलब ३६ विन्दुमा बन्द भएको थियो ।

नेप्से सँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ७७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६५ स्टकको १६ हजार १०० पटकको कारोबारमा ५८ करोड ९१ लाख रुपैयाँ बराबरको १९ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ।

आज कारोबार भएका ८८ कम्पनीको शेयरमूल्य बढेको छ भने ११३ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८.५१ प्रतिशतले बढेर प्रतिकित्ता १६४ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार एनसीसी डिबेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज तीन करोड ५४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नक्कली शरणार्थी प्रकरण : आरजु र मञ्जु संलग्नताको प्रमाण जुटाउँदै प्रहरी

काठमाडौँ ।  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा कर्मचारीका अलावा सबैभन्दा बढ्ता राजनीतिकर्मी जोडिएका छन् । कांग्रेस, एमाले र माओवादी नेताहरूको संलग्नता देखिएको छ । १३ चैत २०७९ मा एक आरोपी पक्राउ परेपछि खुल्न थालेको रहस्यका पर्दा शीर्ष नेतासम्म तानिएको छ । मानव तस्करीको योजना बनाउने रणनीतिकार केशव दुलाल, सानु भण्डारी पक्राउ परेपछि शीर्ष नेताहरूको नाम पोलिन थालेको हो ।

त्यसतै नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘नाम जोडिएका’ काँग्रेस नेतृ आरजु राणा र पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको संलग्नताबारे प्रहरीले अनुसन्धान थालेको छ ।

सार्वजनिक भएको अडियो प्रकरणलाई नजिकबाट अनुसन्धान थालिएको छ भने त्यसमा नाम लिइएका दुई सांसद आरजु र मञ्जुको संलग्नताबारे प्रमाण जुटाउने प्रहरीले प्रयास गरिएको छ । आरजु र मञ्जु पनि दोषी देखिए पक्राउ पर्ने सम्भावना प्रबल छ ।

भ्रष्टाचार आरोपमा सिँचाइ डिभिजनका तत्कालीन प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन डिभिजन प्रमुख इच्छाकुमार श्रेष्ठसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गैरकानूनी लाभ तथा हानी एवं सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख इच्छा कुमार श्रेष्ठसहित ५ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँ मुद्दा दायर गरिएको हो ।

काम नै नभए नगरेको झुट्टा विल भरपाई बनाएर योजनाको भुक्तानी दिएको अख्तियारको ठहर छ । निर्माण नै नभएका आउटलेटका संरचनाहरूको मूल्यांकन गरी ३ लाख ५ हजार ८१० रुपैयाँ बढी भुक्तानी दिएको भन्दै अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सोही योजनामा संलग्न इन्जिनियर सन्तोष कुमार दास, लेखापाल नेत्र प्रसाद मरासिनी, भोलेबाबा कन्स्ट्रक्सन र सो का प्रोप्राइटर (ठेकेदार) सुक बहादुर गुरुङ र भोलेबाबा कन्स्ट्रक्सनको तर्फबाट अख्तियारी प्राप्त प्रकाश भट्टराईविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

आगो निभाउने क्रममा जलेर ४ जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम बेल्बासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका चार जनाको मृत्यु भएको भुमिस्थान नगरपालिका–२ का वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए।

घाइते मध्ये २ जनालाई पाल्पाको मिसन अस्पतालबाट काठमाडौं लैजाँदै गर्दा बाटोमा र २ जनाको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको उनले जनाए। मृत्यु हुनेमा ७२ वर्षीय पिताम्बर बेल्बासे र ५५ वर्षीय पदम बेल्बासेको गएराति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

५२ वर्षीय घनश्याम बेल्बासे र ३६ वर्षीय माधव बेल्बासेको कीर्तिपुर अस्पतालमा बुधबार बिहान ७ बजे मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ।

प्रतिनिधिसभामा सांसदहरूको नाराबाजी

काठमाडौँ — प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । ‘हामी संसदमा बोल्न पाउँदैनौं भने कहाँ गएर बोल्ने ?’ राप्रपाका सांसद दिपक सिंहले प्रश्न गरे ।

बैठकको सुरूमै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्ने समय मागेका थिए । तर सभामुख देवराज घिमिरेले बैठकमा शून्य समयको मात्रै प्रबन्ध भएको भनेपछि राप्रपाका सांसदहरूले विरोध जनाएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

सुपारी काण्डमा जोडिएका भट्टराईलाई गृह सचिबको जिम्मेवारी

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृहसचिवको जिम्मेवारी दिएको छ । जसरी भुटानी शरणार्थी प्रकरणमा छानबिन भयो त्यही हिसाबले बाणिज्य बिभागमा छानबिन भयो भने सुपारी तस्करीमा जोडिएको पुष्टि हुने भट्टराईलाई नयाँ जिम्मेवारी दिएपछि सुपारी काण्डका जानकारहरु चकित भएका छ्न्। हाल गृहसचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।

गृहसचिव टेकनारायण पाण्डे असोज २ मा गृहसचिवबाट सरुवा भएर उपराष्ट्रपति कार्यालय गएपछि उनको ठाउँमा सिंह गृहमा आएका थिए ।

नयाँ गृह सचिब भट्टराई उनले गृह मन्त्रालय, पर्यटन मन्त्रालय, राष्ट्रिय योजना आयोग, उद्योग तथा आपूर्ति मन्त्रालयलगायतका अन्य निकायमा बसेर लामो समयसम्म काम गरेको बायोडाटा भएपनी धेरै ठाउँमा बिबादास्पद काम गरेको चर्चा छ। निर्वाचन ताका मदिरा उद्योगलाई रातारात लाइसेन्स दिन उनले धेरै व्यावसायी दौडाएर सुभलाभ गरेकाे समाचार श्रोतले बताएको छ। बिगतमा तस्करहरु संगकाे उठबसमा परिचालन हुने भट्टराई औद्योगिक व्यापारमा बढी दख्खल मानिए पनि अब त्यो नेटवर्क गृह सचिब संगको समिप्यता मा फस्टाउने सोचले तस्करहरु दङ्ग देखिएको बताइन्छ ।

सचिब सिह पनि भुटानी र राष्ट्रिय परिचयपत्र काण्डमा जोडिएको तथ्य समेत आउन थालेपछि सरुवामा परेको बुझिन्छ ।कतिपय गृह अनुभव बटुलेका स्वच्छ छबिका सचिब हुदाहुदै पनि गृहको कम अनुभवी र बिबादास्पद छबिका भट्टराई लाई सचिबमा भित्र्याएपछी उपप्रधानमन्त्री मन्त्री नारायणकाजी श्रेष्ठको गन्तव्य के हो धेरैलाई बुझ्न गाह्रो भएको छ।

राम्रो काम गर्दै अगाडि बढेका इमान्दार छबिका गृहमन्त्री श्रेष्ठले सचिब भट्टराईको अतित बुझ्न नभ्याएको कारण नै यस्तो भएको त होइन प्रश्न गर्नेहरूको संख्या बढेको छ। काम गरेर चर्चा बटुलेका मन्त्रीलाई नयाँ सचिबले कुन रुपले साथ दिन्छन् त्यो भने हेर्न बाकि छ।

पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउ परेपश्चात् पाकिस्तानमा प्रदर्शन

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले देशभर प्रदर्शन गरेका छन् ।

आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि इस्लामावाद उच्च अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको थियो । पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउ परेपश्चात् भडकिएको हिंसा कारण पाकिस्तानमा सरकारी तथा नीजि शैक्षिक संस्था बन्द भएका छन् ।

मंगलबार इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठाबाट सेनाले उनलाई पक्राउ गरेपछि उनका समर्थक देशैभरी विरोधस्वरुप आगजानी तथा उग्र प्रदर्शनमा उत्रेका छन् ।

पाकिस्तानको अखबार द डनका अनुसार अल कादिर ट्रस्ट घोटाला ५० अर्ब रुपियाँभन्दा बढीको घोटला छ, जहाँ इमरान, पत्नी बुशरा बीबी र बुशराकी साथी फराह गोगीले यसको फाइदा उठाएका छन् ।

आइतबारको एक र्यालीमा इमरानले खुफिया एजेन्सी आईएसआईको राजनीतिक शाखाका प्रमुख फैसल नसीरमाथि निकै गम्भीर आरोप लगाए । खानले भनेका थिए– फैसल मलाई मार्न चाहन्छ । यसमा कतिपय अधिकारीहरुले उनलाई सहयोग गरिरहेका छन् ।

यसपछि मंगलबार लाहोरबाट इस्लामाबाद प्रस्थान गर्नुअघि इमरानले भने– ‘सेनाले कान खोलेर सुन्नु पर्छ, म डराएको छैन ।’ उनले यसो भनेको करिब ४ घण्टापछि इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठाबाट सिसा फुटाएर उनलाई पक्राउ गरिएको हो । सेनालाई चुनौती दिएपछि मात्रै खानको गिरफ्तारी भएको मानिन्छ ।

उनको दल तहरिक-ए-इन्साफले मानिसहरूलाई बुधवार इस्लामावादस्थित ज्युडिसिअल कम्प्लेक्स बाहिर जम्मा हुन अपिल गरेको छ।

कतिपय समर्थकहरूले लहोरको सैनिक शिविर बाहिर शिविर बनाएर रात बिताएका थिए।

उनको पक्राउको खबर फैलिएपछि भीड सैनिक कमान्डरको घरभित्र प्रवेश गरेको थियो। खानका समर्थक र सुरक्षा फौजबीच भिडन्त चलिरहँदा देशभर मोबाइल सेवा अवरुद्ध छ। हिंसामा एक जनाको ज्यान गएको छ।

देशकै लागि लज्जाको विषय हो : शेखर

विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नक्कली शरणार्थीको विषय राष्ट्रियस्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय हिसाबले पनि जोडिएकाले अनुसन्धान प्रभावित पार्ने कुनै सम्भावना नरहेको दाबी गरे ।

नक्कली शरणार्थीको विषयमा ‘जो–जो दोषी हो उनीहरू त कारबाहीमा पर्नुपर्छ । गलत काम भएको छ । उनीहरुले कारबाहीको भागिदार बन्नुपर्छ,’ उनले भने, ‘तीन जना नेताले छलफल गरे, दुई जना नेताले बसेर छलफल गरेको विषयमा आएका समाचार हामीले पनि पढेका छौं । उहाँहरूले जे सुकै कुरा गरेपनि यो नक्कली शरणार्थीको विषय अन्तर्राष्ट्रियकरण भइसकेको छ । त्यस कारण त्यति सजिलो गरी प्रहरी प्रशासन पनि ब्याक हुन सक्दैन ।

अर्को प्रसङ्गमा नेता कोइरालाले महामन्त्री गगन थापाले असन्तुष्टि पोखेको विषय सभापतिप्रति लक्षित हुनसक्ने बताए । अहिले मन्त्री बनेकाहरू काँग्रेसबाटै बनेको भन्दै यसमा सबैसँग सल्लाह गरेरै भएको कोइरालाले बताए ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री समेत रहेका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए ।

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।

यस्तो छ आज वैशाख २७ गते बुधबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज माया प्रेममा सामीप्यता बढ्दै जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज राज्यबाट मान सम्मान पाइनेछ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आर्थिक लाभ पनि राम्रै होला ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । पारिवारिक र दाम्पत्य जीवन सुखमय हुनेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन खिन्न हुने स्थिति आउनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला, तर शेयर बजारबाट राम्रो लाभ मिल्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । कार्यमा अवरोध आउला । दिनको उत्तरार्धमा खर्च हुनेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कुनै कुराले मन प्रसन्न रहनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ला, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) गरेको काममा ढिलासुस्ती हुनेछ । तनाव बढेको महसुस हुनसक्छ, अत स् विचार गरेर निर्णय लिनु उचित होला साँझमा नयाँ खबर भने पाइन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनसक्छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभारम्भको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । शेयर बजारबाट पनि राम्रो लाभ मिल्नेछ ।

एकैपटक ४४ सहसचिवहरूको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले एकैपटक ४४ जना सहसचिवको सरुवा गरेका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

सरुवा हुनेमा नवनियुक्तदेखि विभिन्न मन्त्रालयमा कार्यरत सहसचिव रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

स्थानीय तहदेखि संघसम्मका विभिन्न निकाय तथा कार्यालयमा कार्यरत सहसचिवहरूको सरुवा भएको हो।

हेर्नुहोस् सूची :

अख्तियार प्रमुखको नाम लिन एआइजी ज्ञवालिको इन्द्रजीत लाई दबाब

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई राति अर्को कार्यालयमा सारेर प्रहरीले मानसिक यातना दिदै अख्तियार प्रमुख प्रेमकुमार राई को नाम लिन चर्को दबाब दिएको जानकारीमा आएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका राईलाई राति काठमाडौं उपत्यका प्रहरी कार्यालय लगेर मानसिक यातना दिदै अख्तियार प्रमुखको नाम लिए हिरासतमा राम्रो व्यबहार हुने भन्दै पटकपटक दबाब दिने गरेको स्रोतले बतायो । १९ गते पक्राउ परेका राईमाथि अनुसन्धानको लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालत लैजाँदा उनले न्यायाधीशसमक्ष आफूलाई टर्चर दिइएको बताएका छन् । उनले प्रहरीले आफूलाई अख्तियार प्रमुख प्रेम राईविरुद्ध बोल्न भन्दै भनेको बताएका छन् ।

उनलाई पक्राउ गरेको भोलिपल्ट राति एआईजी श्यामलाल ज्ञवालीको निर्देशनमा उपत्यका प्रहरी कार्यालय लगिएको प्रहरी स्रोतले बतायो ।

जिल्ला प्रहरी कार्यालयका एक अनुसन्धान अधिकारी भन्छन्, ‘आवश्यक अनुसन्धानका लागि भनेर लगिएको थियो । के कति कारण भन्ने चाहिँ थाहा भएन ।’

इजलास नम्बर २७ मा २४ गते म्याद थपको क्रममा न्यायाधीशले हिरासतमा कस्तो छ ? भनी सोध्दा उनले जवाफ दिए, ‘दिउँसो राम्रो छ । राम्रो गरी नै राखिएको छ । तर राति राती आएर शरणार्थी प्रकरणमा अख्तियार प्रमुख राईको नाम लिनू भनेर जबरजस्ती दबाब दिइन्छ । निरन्तर धम्की दिइरहेको छ ।’

एआईजी ज्ञवाली सहितकाे संंगठित टिमले प्रमुख राईमाथी किन प्रतिशोध राखे

श्यामलाल एआईजीमा बढुवा भएकै दिन अख्तियारले उनको नागरिकता छानबिनका लागि गृहमा लेखी पठाएको थियो । नागरिकताको जन्म मिति फरक पारेर जागिर खाएको दाबीसहित ज्ञवालीविरुद्ध बढुवा हुनुअघि अख्तियारमा उजुरी परेको थियो । त्यहीँ प्रतिशोध लिनका निम्ति र कतिपयले धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने मनसायले यो प्रसङ्गमा जवरस्त प्रमुख आयुक्त राइलाइ जोडन लागेको देखिन्छ जबकि उनको यो प्रकरणमा कुनै दोष देखिदैन नदेखिएपछी कसै न कसैको मुख बाट जवरजस्त बोल्न लगाउने योजनामा कतिपय ब्यक्तिहरु संगठित रुपमै लागिपरेको एआइजि ज्ञवालिको तहबाट हुने गरेको दबाबले नै पुष्टि गरेको छ।

समाचार श्रोतका अनुसार प्रारम्भिक छानबिनपछि वैशाख १४ गतेको निर्णयअनुसार पछि थप प्रमाण फेला परेमा कानूनबमोजिम हुने गरी हाललाई तामेलीमा राख्ने निर्णय गरेको प्रहरी मुख्यालयमा जानकारी गराएको छ ।
अदालत स्रोतका अनुसार म्याद थपसम्बन्धी आदेशको क्रममा न्यायाधीशले ‘टर्चर’ भनी लेखिदिएका छन् ।
‘न्यायाधीशले यस्तो संकेत गर्नु गम्भीर मानिन्छ’, स्रोतले भन्यो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले अदालतमा कोही अभियुक्तले दिएको बयानको वास्ता गर्ने कुरा नभएको बताए ।

‘अहिले अनुसन्धान भइरहेको छ । अनुसन्धानको क्रममा कहाँ कहाँ लग्यो भन्ने मलाई थाहा हुँदैन । अदालतमा बोल्ने कुरा पनि वास्ता गर्ने कुरा भएन । बाँकी कुरा अनुसन्धान भइरहेकाले बोल्न मिल्दैन ।’यो प्रकरणमा जुनसुकै कोणबाट अनुसन्धान गरेपनि अख्तियार प्रमुख राइ नजोडिने भएपछि अख्तियार द्वारा चलिरहेका मुद्दाका मुख्य दोषीहरूको संगठित दैडधुप अझै घटेको छैन । निर्दोष नफसुन दोषी नउम्किउन भन्ने मान्यता बोक्ने नेपाल प्रहरी संगठनका एक उच्च तहबाट यसरी दबाब दिएर निर्दोष ब्यक्तिलाई बिबादास्पद बनाउन खोज्नुलाई सुशासन चाहानेहरुले गम्भीर रुपमा लिएका छ्न।

भुटानी शरणार्थी बनाएर ठगी प्रकरण: टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले नेतासमेत रहेका सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले खानतलासी गरेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको रायमाझीको घरमा मंगलबार खानतलासीका गरेको प्रहरीले जनाएको छ । खानतलासी अहिले पनि जारी छ ।

काठमाडौं जिल्ला अदालतबाट वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन् । उनलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले ७७ वटै जिल्लामा पत्राचार गरेको छ । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा बिचौलियाहरुबाट करोडौं रकम बुझेको आरोप टोपबहादुर र छोरा सन्दीपमाथि लागेको छ ।

उनका छोरालाई प्रहरीले त्यही दिन बुटवलबाट पक्राउ गरेर हिरासतमा लिइसकेको छ । बिचौलियाहरुले सन्दीपको नाममा चार वर्षअघि डेढ करोडको चेक काटेका थिए ।
प्रहरीलाई झुक्याएर बच्न सफल नेकपा एमालेका सचिव, सांसद एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भारतमा पुगेको निष्कर्ष निकालिएको छ । उनी भैरहवा हुँदै भारतको गोरखपुर पुगेको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रहरीले भारतमा एउटा टोली नै खटाएर टोपबहादुरलाई खोज्ने रणनीति बनाएको प्रहरीको उच्च स्रोतले बतायो । गत साताको बुधबार टोपबहादुरलाई पक्राउ गर्न पुर्जी जारी भएको भए पनि टोपबहादुर भने निर्वाध रुपले अर्घाखाँचीबाट सभामुख देवराज घिमिरेसँग सँगसँगै बुटवल आएर काठमाडौँ आउँदा पक्राउ पर्ने भयले भैरहवाबाट बेपत्ता भएका थिए । अहिलेसम्म नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय रहेको आरोपमा गिरोहका आठ जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।

साउदी क्लब जाँदै मेस्सी

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार फुटबर लियोनल मेस्सी विश्वकीर्तिमानी रकममा साउदी अरबको टिममा आवद्ध हुन लागेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साउदी क्लव ‘अल हिलाल’ सँग उनको मौखिक सहमति भइसकेको छ ।

हालै आफ्नो देशलाई विश्वविजेता बनाएका ३५ वर्षीय लिजेन्डले फ्रेन्च क्लव पेरिस सेन्ट-जर्मेन (पीएसजी) छोडेर साउदी क्लब रोज्न लागेका हुन् । उनलाई भित्र्याउन अल हिलालले ५२२ मिलियन पाउन्ड (करिब ६५ करोड ८८ लाख डलर) खर्चिन लागेको एएफपीले जनाएको छ । समाचार अनुसार मेस्सीले सम्झौतामा हस्ताक्षर भने गरिसकेका छैनन् ।

मेस्सीले पाउन लागेको रकम अहिलेसम्म कुनै पनि खेलाडीका लागि सबैभन्दा ठूलो हो । यसअघि पोर्चुगलका सुपरस्टार रोनाल्डोलाई साउदी क्लव अल-नासरले वार्षिक २१ करोड ५० लाख डलरमा किनेको थियो । मेस्सीले पाउन लागेको रकम रोनाल्डोको भन्दा निकै बढी हो । अल नासर र अल हिलाल साउदीका प्रतिस्पर्धी क्लवका रुपमा चिनिन्छन् ।

१८ एसएसपीको काज र पदस्थापन, कसको कहाँ ? (सूचीसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज तथा पदस्थापन गरेको छ । बढुवा भई सोमबार ओहदाको फूली लगाएका एसएसपीहरुलाई प्रहरी मुख्यालयले मंगलबार पदस्थापन गरेको हो ।

प्रहरी प्रधान कार्यालयले सोमबारको निर्णयअनुसार उनीहरूको पदस्थापन गरेको हो।