पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ परेका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार खानलाई आज इस्लामावाद उच्च अदालतबाट प्रहरीले पक्राउ गरेको हो ।

तर, खानलाई कुन मुद्दामा पक्राउ गरिएको भन्नेबारे स्पष्ट हुन सकेको छैन । तेहरिक–ए–इन्साफ (पीटीआई) का उपप्रमुख फवादले ट्विट गर्दै रेन्जर्सले खानलाई उच्च अदालत अगाडिबाट पक्राउ गरेको जनाएका छन् ।

कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छः यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन् ।

उत्पादनमुलक उद्योगहरूलाई सबलीकरण गर्ने, रुग्ण उद्योगलाई पुनः सञ्चालन गरेर मात्रै अहिलेको आर्थिक संकटको सामना गर्न सकिने यादवको भनाइ छ । पर्यटन क्षेत्रको प्रबर्द्धन गर्न सके पनि केही मात्रामा आर्थिक समस्या समाधान गर्न उनले बताए ।

मंगलबार सरकारले प्रस्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो सुझाव दिनुभएको हो। उहाँले आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्ने बताउनुभयो। 

‘प्राथमिकता हामी कहाँ दिन्छौँ, सबैभन्दा बढी प्राथमिकतमा अहिले आर्थिक संकट जुन आइरहेको जस्तो देखिन्छ, जुन मुलुकमा आर्थिक वृद्धिदर घटेर गएको छ। त्यसलाई परिपूर्ति गर्न सबैभन्दा सजिलो र छिटो भनेको कृषि उत्पादनमा वृद्धि नै हो। कृषिमा आज लगानी गर्नुभयो भने तीन, चार महिनापछि नै नतिजा आउँछ। त्यसपछि उत्पादनमुलक उद्योगलाई सबलीकरण गर्ने, जुन उद्योगले उत्पादन गरिरहेको छ, त्यसको सबलीकरण गर्नुपर्छ। जुन विभिन्न कालखण्डमा अत्याधिक मुनाफामा रहेका उद्योग, कलकारखाना निजीकरण र उदारीकरणका नाममा कौडीका मूल्यमा बेचियो वा प्राइभेटाइज गरिनु आज ती सबै रुग्ण अवस्थामा रहेका छन्। तिनलाई पुनः सञ्चालन गर्ने वीरगञ्ज चिनी काराखाना, कृषि औजार कारखाना, चुरोट कारखाना लगायत कारखाना पुनः सञ्चालन गर्न सकिन्छ। त्यो सञ्चालको नीति निर्माण गरेर अघि बढ्ने हो भने, त्यसले उत्पादन वृद्धि गर्न सकिन्छ। विशेष गरेर पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नुपर्छ। त्यसपछि विनियोजित विधेयकमा समावेश बुँदालाई मार्गचित्र स्पष्ट हुन्छ।’’

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा पनि सुधार 

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेञ्ज नेप्से कारोबारको तेस्रो दिन मंगलबार (आज) दोहोरो अंकले बढेको छ । आज नेप्से १०.६६ अंकले बढेर एक हजार ८ सय ४४ दशमलब ३६ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से १६.९३ अंकले घटेर एक हजार ८ सय ३३ दशमलब ६९ विन्दुमा बन्द भएको थियो ।

नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज ७७ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार नेप्सेमा ८२ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज कारोबार भएका १६१ कम्पनीको शेयरमूल्य बढेको छ भने ५० कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज पिपुल्स पावर कम्पनीको शेयरमूल्य ६.४७ प्रतिशतले बढेर प्रतिकित्ता २६९.४० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ६ करोड ९६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

प्रधानमन्त्रीद्वारा पिंगथली देवीटार सडक शिलान्यास

काभ्रे। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको पिंगथली रजवास भुमिचुली बुढाखानी देवीटार सडक शिलान्यास गर्नुभएको छ ।

मङ्गलबार दिउँसो प्रधानमन्त्री प्रचण्डले उक्त सडकको शिलान्यास तथा नेपाल विद्युत प्राधिकण केन्द्रीय प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो ।

जिल्लाको विकट पालिका महाभारतको देविटार पुग्ने सडक पिंगथली रजवास भूमिचुली बुढाखानी देविटार खण्डको १७ किलोमिटर लामो सडक प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गर्नु भएको छ । बागमती प्रदेश सरकारले ९९ करोड रकम विनियोजन गरेको उक्त सडक ६० करोड ९६ लाखमा निर्माण सम्झौता भएको छ ।

पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक मार्फत निर्माण हुनेछ । १७ किमी सडक निर्माणका लागि ६० करोड ९६ लाख ७१ हजार ६ सय १९ रुपैयाँको लागतमा सम्झौता भएको छ ।

करेन्ट लागेर एककाे मृत्यु

रामपुर नगरपालिका-५ भम्बकका ३४ वर्षीय गोविन्द कुमालको करेन्ट लागेर मृत्यु भएको छ।

घर नजिकै बारी छेउमा रहेको काब्रोको रूखमा चढेर घाँस काट्ने क्रममा आज बिहान साढे सात बजे करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनका अनुसार रूखबाट नजिकै रहेको बिजुलीको नाङ्गो तारमा अड्किएको घाँसको डालो झार्ने क्रममा अचानक करेन्ट लागेको थियो। गम्भीर घाइते उनको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सुत्केरी बिदा ६ महिनासम्म पुर्याउने स्वास्थ्य मन्त्रालयको तयारी

काठमाडौं । नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या घट्दै गएपछि सरकारले कामकाजी हाल महिलाले ६० दिन सुत्केरी बिदालाइ बढाएर ६ महिना पुर्‍याउने तयारी थालेको छ।

जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर सुत्केरी बिदा छ महीनासम्म पुर्याउने पहल गरेको हो ।

हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बिदा १५ दिन रहेको छ । सार्कअन्तर्गत बंगलादेश र भारतले सुत्केरी बिदा छ महीनाको प्रावधानलाई कार्यान्वयनमा ल्याइसकेको छ । स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएकाले थप तीन महिना बिदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ को उपदफा (१) संशोधन गर्नका लागि आवश्यक राय सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ । उक्त ऐन संशोधन ड्राफ्ट करिब दुई हप्ता अगाडि नै स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालय गइसकेको छ ।

चिकित्सकहरूका  अनुसार जन्मेदेखि ६ महिनाका बालबालिकालाई  एक दिनमा कम्तिमा पनि ६ पटक देखि छिटो–छिटो खुवाएमा १० देखि १२ पटकसम्म आमाको दूध खुवाउनुपर्ने बताउँदै आएका छन्।

कटहरियामा याेजना अनुगमन र कार्यवाहकमा मेयर जैसवालको मनपर्दी 

रौतहट २६ बैशाख। रौतहटको कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवाल र उपमेयर रिता देवी यादव बीच ठूलो मतभेद भएको छ। मेयर जैसवाल र उपमेयर यादव एउटै पार्टीबाट प्रतिनिधित्व गरे पनि निर्वाचनको केहि समय भित्र दुबैजाना भित्र मतभेद देखिएको हो।

मेयर जैसवाल काम विशेषले बाहिर जाँदा उपमेयर यादव लाई कार्यवाहक मेयरको जिम्मेवारी दिनुपर्नेमा त्यसो नगरि मर्यादाक्रम मिचेर मनपर्दी गरिरहेको गुनासो बढ्दै गएको छ। कुनै प्राबिधिक कारणवश एकपटकको लागि त्यस्ताे हुनुलाई एउटा संयोग भनेर मान्न सकिन्छ। तर कटहरिया नगर प्रमुख अजयप्रकाश जैसवाल पटकपटक बाहीर जाँदा उपमेयर रिता देवी यादव लाई कार्यवाहक मेयरको जिम्मेवारी दिनुको सट्टा फेरी फेरि वडा अध्यक्षहरु लाई कार्यवाहक दिनुले नियतबस नै त्यसो गरीरहेको जानकारहरुले दाबी गरेका छन। गत स्थानिय निर्वाचनमा कटहरिया नगरपालिकामा  नेपाली कांग्रेसको टिकट बाट चुनाव लडेर मेयर पदमा जैसवाल र उपमेयर पदमा यादव विजयी भएकी थिइन्। पदभार ग्रहण गरेपछि केही महिना सौहार्दपूर्ण तरिकाले नगरपालीका सञ्चालन भएपनि गलत क्रियकलापको बिरोध जनाएपछि  मेरो मर्यादाक्रम मिचेर मेयर जैसवालले अन्य लाई कार्यबाहक दिँदै आएको उपमेयर यादवले गुनासो गरेकी छिन्। केहीदिन अघि मात्र उनी देश बाहीर जाँदा कटहरीया ५ का वडा अध्यक्ष सर्फलाल गुप्तालाई र त्यस अघी वडा ७ का अध्यक्ष समिस विक्रम लाई पटकपटक कार्यवाहक मेयरको जिम्मेवारी दिँदै आएको उपमेयर यादवले जानकारी दिएकि छिन। स्थानिय सरकार सञ्चालन एनमा गाउँ पालिका,नगरपालिका प्रमुख एकहप्ता अथवा सो भन्दा बढीको लागि बाहिर जाँदा उपप्रमुख उपमेयर लाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने प्रष्ट कानुनी व्यवस्था गरिएको छ। तर कटहरियामा उक्त एनको समेत बेवास्ता गरेको देखिएको छ।

त्यतिमात्र नभई नगरपालीकाको याेजना अनुगमनको उपमेयर अधिकार लाई पनि कटौति गरेर मेयर जैसवाल आफै योजनाको अनुगमन गरीरहेको कटहरियाकी उपमेयर रिता देवी यादवले गुनासो गरेकी छिन्। कार्यवाहक र याेजना अनुगमनको उपमेयरको अधिकार माथी प्रहार नगर्न पटकपटक आग्रह गर्दा पनि कूनै वास्ता नभएकाे उनको भनाई छ। याेजना अनुगमनको नाउँमा कटहरीया नगरपालीकाले यस आर्थीक वर्षमा अनुगमनमा ३० लाख रुपैयाँ छुट्याएको छ। याेजना अनुगमनको अधिकार नेपाल सरकारले उपमेयर लाई दिएको छ तर बलपूर्वक मेयर अजयप्रकाशले त्यसो गरीरहेको उपमेयरका श्रीमान जवाहर यादवले बताएका छन। 

सुनको मूल्य बढ्यो

काठमाडौँ । बैंशाख २६ गते मंगलबार सुनको मूल्य बढेको छ । यसदिन सुनको मूल्य प्रति तोला तीन सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख १० हजार ९०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १० हजार ३५० रुपैयाँमा कारोबार कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य आईतबारदेखि स्थिर भएको छ । चाँदीको मूल्य आइतबार कै मूल्य एक हजार ४४५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

सुनका ५२ वटा बिस्कुटसहित दुई भारतीय पक्राउ

कोलकत्ता । सीमा सुरक्षा बल (बीएसएफ) ले पश्चिम बंगालको उत्तर परगनास्थित भारत–बंगलादेश सीमाबाट दुई तस्करलाई पक्राउ गरेको छ। प्रहरीले तस्करहरूका साथबाट करिब ४ करोड २४ लाख रुपैयाँ मूल्यका ५२ वटा सुनका बिस्कुट बरामद गरेका छन् । 

बीएसएफको दक्षिण बङ्गाल फ्रन्टियरका अनुसार आईसीपी पेट्रापोल १४५ बटालियनका कर्मचारीले रोयल फ्रेन्डसिप इन्टरनेशनल प्यासेन्जर बसवाट बंगलादेशबाट भारत सुन तस्करी गर्ने सूचना पाएका थिए।

साे यात्रु बस अगरतलाबाट ढाका हुँदै कोलकाता जाँदै थियो । सोही बेला उनीहरु पक्राउ परेका हुन ।

आज पनि प्रि-बजेटबारे छलफल हुने

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रि–बजेटका बारेमा छलफल हुने भएको छ ।

प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार सोमबारदेखि २८ गतेसम्म सोही विषमया छलफल हुने भएको हो ।

बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल हुने र छलफलको अन्तिम दिन वैशाख २७ गते अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने कार्यतालिका रहेको छ ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आउने बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरुले छलफल सुरु गरेका हुन् ।

यस्तो छ २६ बैशाख २०८०, आज मंगलबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक साथ मिल्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मनमा दुबिधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ । भौतिक सुख पनि मिल्नेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभ र मङ्गल कार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वादिलो परिकार पनि मिल्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज कुनै कुराले मनमा शान्ति र प्रसन्नता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श व्यक्तिसँग भेटघाट हुनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । रोकिएका घरायसी काममा सुरुहुने र प्रगतिको वातावरण बन्नेछ ।

चार प्रदेशका पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षा सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुुसार हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भू–भागका आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । देशका तराई भू–भागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।

राती भने देशको पहाडी भू–भागका आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

 सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमा सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

सोमबार संघीय संसद भवनमा भ्रष्टाचारविरुद्ध बोल्न नपाएको भन्दै कपडा खोलेका चर्चा र विवादमा तानिएका अमरेश कुमार सिंहविरुद्ध अख्तियारमा उजुरी दर्ज भएको छ ।
१५ बर्षको अवधिमै करोडौं सम्पत्ति आर्जन गरेको भन्दै सिंहविरुद्ध सर्लाहीका विकासकुमार ठाकुरले अख्तियारमा उजुरी हालेका हुन ।

बलरा नगरपालिकामा डेढ बिघा जग्गाबाहेक अरु पैत्रिक सम्पत्ति र आम्दानीको स्रोत नरहेका सिंहले पछिल्ला १५ बर्षमा कुन स्रोतबाट करोडौं आर्जन गरे ? भन्दै अख्तियारमा उजुरी हालिएको हो ।

उनले हालेको २० बुँदा सहितको चार पन्ने उजुरीमा लेखिएको छ,२०६३ मा अन्तरिम संसदमा मनोनीत हुनुपूर्व काठमाडौंको कीर्तिपुरमा दुईकोठे डेरामा बस्ने गरेको,अन्तरिम संसदमा प्रवेशसँगै सर्लाहीमा घर बनाएको, जग्गा किनेको, लिलतपुर भैँसेपाटीमा आलिसान महल बनाएको, आफू र आफन्तका नाममा करोडौँका घर बनाएको लगायतका आरोप ठाकुरले लगाएका छन् ।


जेठी श्रीमतीको नाममा झापामा ४ कठ्ठा जग्गामा २ करोडको बंगला,दोश्रो श्रीमती लक्ष्मी जोशीको नाममा विभिन्न ठाउँमा घर जग्गा,करोडौंका जम्मा,बैंकहरुमा लाखौंको शेयर खरिद गरेको उजुरीमा उल्लेख गरिएको छ ।

कुनै पेसा व्यवसायमा संलग्न नरहेका सिंहले गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा गरेको खर्च र विलासी जीवनशैलीसहितलाई आधार मानेर ठाकुरले आयोगमा उजुरी दिएका हुन् ।

२०६३ सालबाट राजनीतिमा उदाएका सिंहको आर्थिक फड्को नै भ्रष्टाचारको कारण रहेको निवेदनमा ठाकुरले दाबी गरेका छन् ।

जंगली जनावरको कारण भैंसही र सोनारडीहका किसान समस्यामा 

रौतहट २५ बैशाख। जंगली जनावर ले बालीनाली सखाप गर्न थालेपछि रौतहटको फटुवा विजयपुर नगरपालिका ११ भैंसही र गुजरा नगरपालिका ५ सोनारडिहका किसान रातभरि हैरान भैरहेका  छन। 

किसानले लगाएको गहुँ,मकै, लगाएत तरकारी बाली समेत जंगली बँदेल, बाँदर लगायतका जनावरले क्षति गर्न लागेको कारण किसानहरू समस्यामा परेका हुन । भैंसहिका स्थानिय रेखा यादवले नजिकैको जंगल बाट दर्जनौंको संख्यामा आउने बाँदरले बालीनाली सखाप पार्ने गरेको बताएका छन।

ठुलो संख्यामा आउने बाँदरले बालीनालीमा साथै घरमा कोई नरहेको अवस्थामा घरभित्र प्रवेश गरेर अन्न, खानेकुरा तथा लुगा कपड़ा समेत क्षति गरीरहेको यादवले गुनासो गरेका छन। उता गुजरा ५ का पूर्व वडा अध्यक्ष समासुदिन देवानका अनूसार स्थानीय किसानले सोनारडीह ,बन बालुवा गाँउ छेउमा झन्डै ५० बिगाहा क्षेत्रफल जग्गामा गहुँ,मुसुरो,मकै तथा विभिन्न प्रकारको तरकारी बाली लगाएको छ।

गाँउ नजिकैको जंगल बाट दर्जनौंको संख्यामा आउने बाँदर तथा बँदेलले उक्त बालीमा क्षति गरिरहेका छन। ठूलो झुण्डमा आउने बाँदर र बँदेल धपाउन किसानहरू दिनभरि गुलेली लिएर खेतमा बस्नुपर्ने बाध्यता बनेको छ। त्यसैगरी बाँदर बँदेलका साथै रातिराति खेतमा आउने जंगली जनावर धपाउन किसानहरू रातभरि जाग्राम बसी राँको बालेर टीन ठटाउँदै बस्नुपरेको पूर्व वडा अध्यक्ष देवानले दुःखेसो पोखेका छन।

वर्षौदखिको किसानको समस्या समाधान गर्न डिवीजन बन कार्यालय रौतहट तथा तिनै तहका सरकारले कुनै चासो न लिएको फातुवा विजयपुर र गुजारा नगरपालिका का किसानहरूले गुनासो गरेका छन।

माधव नारायण नगर प्रमुख यादवद्वारा स्वास्थ प्रयोगशाला उद्घघातन

रौतहट २५ बैशाख। रौतहटको पर्विभेग माधव नारायण नगरपालिकाका मेयर बैजनाथ यादवले आईतवार स्वास्थ प्रयोगशालाको उदघाटन गरेका छन। मेयर यादवले माधव नारायण ६ स्थित जनस्वास्थ कार्यालय मातहतमा रहेको प्रयोगशालाको बिधिवत रूपमा उदघाटन गरेका हुन्। उक्त अवसरमा उनले  उपचार गराउन आउने जो कोही विरामीको सही रोग पता लगाउन प्रयोगशालाको महत्वपूणर् भुमिका रहेको बताएका थिए। प्रयोगशला सञ्चालन पछी विगतको जस्ताे अनुमान र लक्षणको भरमा औषधी उपचारको अन्तय भएको मेयर यादवले जिकिर गरेका थिए।

उदघाटन समारोहमा नगर उपप्रमुख निर्माला देवी रमण, प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव, वार्ड नं. ६ को वडा अध्यक्ष रामनेरश राय, ४का अध्यक्ष रामदेनी मुखिया,  ९ रामकिशोर साह, स्वास्थ्य शाखा प्रमुख श्यामजी राय, प्रशासन शाखा प्रमुख पृथ्वी यादव, लगायतको सहभागीता रहेको  स्वास्थ्यकर्मी नेकमहम्द हुसैनले मधेश दृष्टी लाई जानकारी दिएका छन।