बालेनका गतिविधि र निर्णय प्रक्रियासँग विमति जनाउँदै सल्लाहकार रेशुले दिइन् राजीनामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छन् । मेयर बालेन साहका पछिल्ला गतिविधिप्रति असहमति जनाउँदै राजीनामा दिएकी हुन् ।

उनले बुधबार वक्तव्य जारी गर्दै मेयर साहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको बताएकी छन् । उनलाई बालेनले मेयर भएलगत्तै सल्लाहकार नियुक्त गरेका थिए ।

आफ्नो मर्म र भावनाविपरीतका शैक्षिक निर्णयहरु भएको भन्दै राजीनामा दिएकी अर्यालले कुन कुन निर्णय र के के कदमबारेमा आफ्नो विमति हो त्यसबारे केही खुलाएकी छैनन् ।

पछिल्लो समया संस्थागत विद्यालयमा अनिवार्य १० प्रतिशत छात्तवृत्तिमा कडाइ गरेका बालेनले १३ हजार विद्यार्थीहरुलाई छात्तवृत्तिमा अटाएका थिए । हालै भृकुटीमण्डपमा भएको एक शैक्षिक मेलासमेत बालेनले बन्द गराएका थिए ।

११ महिनामा २५५ जना पक्राउ

महेन्द्रनगर। कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुर्व्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन्।

पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला सिमानाका कारण यहाँ दैनिक लागुऔषधसहित युवा–युवती पक्राउ परिरहेका छन्।

गत साउनदेखि जेठ मसान्तसम्म यहाँ २६ किलोग्राम चरेस, चार सय ९९ दशमलव ६६ ग्राम खैरो हिरोइन, ३६ ट्याबलेट नाइट्राभेट, तीन सय ५८ एम्पुल फेनारगनलगायत लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए ।

यहाँ भारतसितको खुला सिमानाका कारण यहाँ लुकीछिपी लागुऔषधको कारोबार हुने गरेको छ। कञ्चनपुरमा स्थानीय प्रशासनलाई पनि लागुऔषध नियन्त्रण मुख्य चुनौती बनेको छ।

प्रहरी निरीक्षक गिरीका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म पक्राउ पर्नेमा दुई २९ जना पुरुष, १२ महिला र १४ भारतीय नागरिक रहेका छन् । “जिल्लाभरि नै लागुऔषध नियन्त्रण र विद्यालयस्तरमा सचेतनाका कक्षा सञ्चालन भइरहेका छन्”, उनले भने, “लागुऔषध पूर्णरूपमा नियन्त्रणमा ल्याउन स्थानीय नागरिक, पालिका र सबैको सहयोग आवश्यक पर्छ ।”

महेन्द्रनगरस्थित धुम्रपान निधेषका अभियन्ता मदन चन्द बालबालिका र युवापुस्तालाई लागूऔषधको लतबाट बचाउन स्वयं अभिभावक जिम्मेवार भएर लाग्नुुपर्ने बताउँछन् ।

“प्रहरीले मात्रै नियन्त्रण गरेर लागूऔषध न्यूनीकरण गर्न कठिन हुनसक्छ”, उनले भने, “यसका लागि सामूहिक प्रयासको खाँचो छ ।”

माइतीघरमा पीडित लेनदेन संघर्ष समिति द्वारा धर्ना

काठमाडौँ । तराईका विभिन्न जिल्लाबाट आएकापीडित लेनदेन संघर्ष समितिहरुले आज पनि माइतीघरमा धर्नामा बसेका छन् ।

उनीहरूले लेनदेन कारोबार सहज गर, सामाजिक सद्भाव कायम राख, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर जस्ता नारा लेखिएको पम्पप्लेट बोकेर प्रदर्शन गरिरहेका छन् ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यही वैशाख २० गते जारी सो अध्यादेशका प्रावधान पूर्वाग्रही, असमान र अनुचित भएकोले आफूहरु मर्कामा परेको संघर्ष समितिले जनाएको छ ।
नियम कानून सबैको लागि समान हुनुपर्छ आफूहरुको कुनै राय सुझाव नलिई एकपक्षीय ढंगले अध्यादेश जारी गरिएका छन् ।

परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभुङ्ग पार्न खोजिएको भन्दै उनीहरूले आफूहरूमाथि कारबाही गर्न ल्याइएको अध्यादेश खारेजीको माग गरे । त्यसमा केही सीमित व्यक्तिले आफ्नो दुनो सोझो गर्न खोजेको उनीहरूको आरोपसमेत छ ।

आफूहरूलाई डर देखाउँदै मिटरव्याजी भनी निवेदन दिने, धाकधम्की दिने काम भएको भन्दै आतङ्क नरोकिए चरणबद्ध आन्दोलनमा जानेसमेत सुदखोरहरूको चेतावनी छ ।

उनीहरूले स्थानीय निकायमा जाँचबुझ गरी मात्र प्रमाणको आधारमा मात्र उजुरी दर्ता गरिनुपर्ने, हाल दर्ता गरिएका उजुरीलाई जाँचबुझ तथा छलफलको लागि स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने, आफूहरूले दिएको पैसाको साँवा र व्याज उपलब्ध गराउनुपर्नेलगायतका माग राखेका छन् ।

करोडौँ घाटामा हेटौँडा सिमेन्ट उद्योग

काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले असहज परिस्थितिका कारण आर्थिक रुपमा ठूलो नोक्सानी बेहोर्नु परेको अवस्था छ ।

उद्योगको पछिल्लो अवस्था हेर्दा वार्षिक करीब रु दुई अर्ब बराबरको वार्षिक आम्दानी देखिन्छ भने करीब दुई अर्बभन्दा बढी वार्षिक खर्च देखिन्छ ।

आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि ११ करोड १५ लाख रुपैयाँ घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो ।

संस्थाका अनुसार उद्योग हालसम्म ९० करोड रुपैयाँको घाटामा चलिरहेको छ । आव २०७४/७५ मा उद्योगले एक लाख नौ हजार सात सय ९६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो ।

यसमा एक लाख छ हजार तीन सय ३२ मेट्रिक टन सिमेन्ट बिक्री गर्न सफल भएको थियो भने एक अर्ब ६८ करोड ३८ लाख ६४ हजार नौ सय १७ रुपैयाँ आम्दानी गरेका थियो भने एक अर्ब ५२ करोड २६ लाख एक हजार चार सय १८ खर्च भई १६ करोड ३६ लाख तीन हजार चार सय ९९ रुपैयाँ नाफा कमाएको थियो ।

सरकारको स्वामित्वमा रहेको यो उद्योग केही सीमित आवबाहेक अन्य धैरैजसो आवमा विविध कारणले आर्थिक रुपमा ठूलो नोक्सानीसहित सञ्चालन हुँदै आएको छ । पुराना मेसिनरी प्रविधि र पटकपटक बिग्रने समस्या तथा लागत खर्च बढी आउने कारणले अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा नोक्सानी हुँदै आएको बताउनुभयो 

उद्योग निरन्तर घाटामा गएको तथ्याङ्क

आव २०७५-७६ मा उद्योगले एक लाख नौ सय ६९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा एक लाख चार  हजार पाँच सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा रु एक अर्ब ६४ करोड २० लाख १८ हजार तीन सय १८ आम्दानी गरेकामा रु एक अर्ब ६५ करोड २५ लाख ५९ हजार चार सय ५४ खर्च भई रु एक करोड पाँच लाख ४१ हजार एक सय ३६ नोक्सानी व्यहोरेको थियो । त्यसपछि आव २०७६-७७ मा उद्योगले ८१ हजार नौ सय ८९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ७२ हजार सात सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा रु एक अर्ब एक करोड तीन लाख तीन हजार पाँच सय ४३ आम्दानी गरेकोमा रु एक अर्व २४ करोड ८५ लाख २७ हजार पाँच सय ५१ खर्च भई रु २३ करोड ८२ लाख २४ हजार उद्योगलाई घाटा भएको थियो । 

यस्तै आव २०७७-७८ मा उद्योगले ८९ हजार दुई सय २५ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ९२ हजार छ सय ८८ मेट्रिक टन सिमेन्ट बिक्री गर्दा रु एक अर्ब २२ करोड ४८ लाख ४८ हजार ४३ आम्दानी गरेकामा एक अर्ब ३९ करोड ५२ लाख ८८ हजार सात सय ११ खर्च रु १७ करोड चार लाख ४० हजार छ सय ६९ उद्योगलाई घाटा भएको थियो । 

यसैगरी, आव २०७८-७९ मा उद्योगले ८५ हजार दुई सय ५६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ८० हजार छ सय ९८ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा रु एक अर्ब चार करोड ३४ लाख ८६ हजार दुई सय ९५ आम्दानी गरेकामा रु एक अर्ब २७ करोड ८९ लाख ९७ हजार दुई सय ६४ खर्च भई रु २३ करोड रु ५५ लाख १० हजार नौ सय ६९ उद्योग घाटामा गएको थियो । 

यस्तै, आव २०७९-८० मा रु एक अर्ब दुई करोड ३९ लाख ८४ हजार आठ सय ४० आम्दानी गर्न सफल रहेको उद्योगले रु एक अर्ब १३ करोड ५५ लाख ४८ हजार दुई सय ३५ खर्च गरेको थियो । यो आवमा उद्योगलाई रु ११ करोड १५ लाख ६३ हजार तीन सय ९५ घाटा भएको महाप्रबन्धक पाण्डेले बताए। 

उद्योगमा कच्चापदार्थको अभाव र पुरानो ऋण तिर्न नसक्दा बारम्बार बन्द हुँदै आएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्यमा समस्या आइरहेको छ । महाप्रबन्धक पाण्डे उद्योगलाई गतिशील बनाउन आफूले योजना उद्योग मन्त्रालयमा प्रस्तुत गरे पनि कुनै जवाफ नआएका कारण अगाडि बढ्न कठिन भएको बताए । उनका अनुसार उद्योगमा ३८ वर्ष पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजार लगायतका समस्या छन् । 

उद्योगले एक महिनापछि यही सोमबारदेखि पुनः क्लिङ्कर उत्पादन सुरु गरेको छ । अब तीन महिनाका लागि उद्योगमा कच्चापदार्थ तयारी रहेको बताउँदै तीन महिनाको उत्पादनले उद्योग बन्द भएको बेला धान्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । महाप्रबन्धक पाण्डेका अनुसार अहिले दैनिक १५ हजार बोरा सिमेन्ट उद्योगबाट उत्पादन तथा बिक्री भइरहेको र उद्योगमा ३० हजार मेट्रिक टन सिमेन्ट भण्डारण रहेको छ । उद्योगमा पहिलेदेखिकै ३० करोडभन्दा बढी कोइला खरिद तथा कर्मचारी निवृत्तिभरण बापतको ऋण भएकाले त्यसलाई घटाउँदै उद्योगलाई समायोजन गर्नतर्फ आफू लागिपरेको उनले बताए। 

पछिल्लो समय बजारमा आएको आर्थिक मन्दीले सिमेन्टको बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको उनले बताए । उद्योगमा हाल दुई सयजना कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा सय कामदार रहेका छन् । उद्योगका भैँसे, ओख्रे, मजुवा र जोगिमारामा खानी रहेका छन् । कम्पनी ऐनअन्तर्गत २०३३ असोज १३ मा स्थापित भएको यस उद्योगले २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । उद्योगको वार्षिक उत्पादन क्षमता दुई लाख २५ हजार मेट्रिक टन रहेको छ ।

चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद, चार अर्बभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीन जनालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको छ । अदालतले कर फर्छ्यौट आयोगका सदस्य सचिव समेत रहेका शर्मा, पूर्वअध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई ९ वर्ष कैद सजाय सुनाएको हो ।
मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनीहरूको सजाय निर्धारण गरेको हो।

यस्तै इजलासले उनीहरूलाई चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना सुनाएको हो। उनीहरूलाई उक्त इजलासले गत जेठ १८ गते दोषी ठहर गरिसकेको छ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेका दुई मुद्दामा उनीहरूलाई कसुर सजाय गरेको हो। गैरकानुनी सम्पत्ति आर्जन गरेको अर्को मुद्दामा भने उनीहरूलाई सफाइ दिएको थियो।

अख्तियारले २०७४ साल असारमा उनीहरूविरूद्ध १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूले विभिन्न व्यापारीलाई अनियमित तरिकाले कर छुट दिएको अख्तियारको आरोप थियो।

९ वर्षअघि गठित आयोगले कर विवाद फर्छ्यौट गर्ने जिम्मेवारी पाएको थियो। अख्तियारको सुरूको मुद्दा २० अर्ब ९८ करोड रुपैयाँ कर छुट दिने निर्णयबारे थियो। सो मध्ये १० अर्ब दुई करोड रुपैयाँ नियम बमोजिम कर छुट दिएको निष्कर्ष अख्तियारले निकालेको थियो।
बाँकी १० अर्ब ९६ करोड रुपैयाँ बदनियतपूर्वक गैरकानुनी तवरले छुट दिएको अख्तियारको ठम्याइ थियो। अख्तियारले दुई वर्षअघि पनि उनीहरूविरूद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्ने अर्को मुद्दा चलाएको थियो। उक्त मुद्दामा पनि कसुर कायम हुने ठहर विशेष अदालतले गरेको छ।

एभरेष्ट बैंककाे १२६औं शाखा उद्घाटन

एभरेष्ट बैंकले नवलपरासीको दलदलेमा १२६औं शाखा उद्घाटन गरेको छ। ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुबिधाहरू उपलब्ध गराउने उद्देश्यले बैंकले सोमबार उक्त शाखा उद्घाटन गरेको बताएको छ।

उक्त शाखाको उद्घाटन देवचुली नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष एक देव पौडेलका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरेका हुन् ।

अध्यक्ष पौडेलले दलदलेमा एभरेस्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङ्गले बर्दघाट र सो आसपासका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गर्नुका साथै पन्जाब नेशनल बैंक भारतसँगको साझेदारीले गर्दा स्थानीय बासिन्दा र पूर्व भारतीय गोर्खा सैनिकले पेन्सन तथा अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरे ।

उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ देवचुली नगरपालिकाका वरिष्ठ उपाध्यक्ष तेज प्रसाद न्यौपाने, सशस्त्र प्रहरी बलका निरीक्षक विनोद पौडेल, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधीर गौतम साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो (मंगलबार) १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम छ । यस्तैगरी, आज चाँदीको मूल्य ४५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

बागलुङमा जीप दुर्घटना,  दुई जनाको मृत्यु

बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिए । उनीहरूको घटनास्थलमै मृत्यु भएको भनाइ छ ।

जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको केसीले बताउनुभयो । मृत्यु हुने दुवै जना पुरुष रहेको उनको भनाइ छ । जीप सडकभन्दा धेरै तल खसेको हुँदा अहिलेसम्म कति सवार थिए भन्ने यकिन हुन नसकेको सूचना अधिकारी केसी बताउँछन् । अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारकार्यमा लागेको छ ।

पुग्यो देशको ऋण २१ खर्ब ७३अर्ब, ११ महिनामै ३ खर्ब थपियो

काठमाडौं । नेपालको सार्वजनिक ऋण बढेर २१ खर्ब ७३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन केन्द्रका अनुसार यो वर्ष थपिएको तीन खर्ब ऋणसहित तिर्न बाँकी सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब रूपैयाँभन्दा धेरै पुगेको हो।

तिर्न बाँकी सार्वजनिक ऋणमध्ये दस खर्ब ९९ अर्ब ७२ करोड रूपैयाँ आन्तरिक ऋण (मुलुकभित्रका बैंक तथा वित्तीय संस्था तथा सर्वसाधारणबाट उठाइएको) छ। त्यस्तै दस खर्ब ७३ अर्ब ५२ करोड रूपैयाँ बाह्य ऋण (बहुपक्षीय तथा दुई पक्षीय दातृ निकायसँग लिइएको) छ।

चालु वर्षमा बढेको विदेशी विनिमय दर परिवर्तनको प्रभाव अहिले हिसाबमा गरिएको छैन। वर्षको अन्त्यमा यो हिसाब मिलान गर्दा विनिमय दरको कारण ऋणको भार बढ्छ।

जेठ महिनामा मात्रै ४३ अर्ब ८३ करोड रूपैयाँ सार्वजनिक ऋण थपिएको छ। जसमा ४० अर्ब ६८ करोड आन्तरिक र तीन अर्ब १४ करोड रूपैयाँ मात्रै बाह्य ऋण उठाइएको छ।

गत साउनदेखि जेठसम्ममा तीन खर्ब रूपैयाँभन्दा बढी ऋण थपिएको छ। जसमा दुई खर्ब २० अर्ब ३८ करोड आन्तरिक ऋण उठाइएको छ भने ७९ अर्ब ६७ करोड रूपैयाँ मात्रै बाह्य ऋण उठाइएको छ।

११ महिनामा उठाइएको तीन खर्ब ६ करोड सार्वजनिक ऋणमध्ये करिब २२ प्रतिशत रकम ब्याज भुक्तानीमा सकिएको छ ।प्राप्त ऋणको अनुपातमा ब्याज भुक्तानीमा यति धेरै रकम खर्चिनु परेको यो पहिलोपटक भएको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्। त्यस्तै एक खर्ब ४० अर्ब रूपैयाँ साँवा फिर्ता गरिएको छ।

आन्तरिक ऋण लाभ कि हानि?

अर्थविद् विश्‍वास गौचन ऋण कहाँ उपयोग गरिएको छ भन्ने विषयले ऋण ठीक र बेठीक भन्नुपर्ने बताउँछन्।

‘ऋणको उपयोग कहाँ गरिएको छ र त्यसले कहाँ प्रभाव परेको छ भन्ने आधारमा ठीक वा बेठीक भन्नुपर्छ,’ उनले भने, ‘आन्तरिक ऋणको भार बढी देखिनुलाई मात्रै नराम्रो भन्न मिल्दैन। समग्र ऋणको पनि बढी होइन। तर पछिल्लो समयमा देखिएको वृद्धिदर भने अत्यधिक छ। यसमा सजग बन्नुपर्छ।’

राष्ट्र बैंकका पूर्वअधिकारीहरू तथा व्यवसायीहरू भने आन्तरिक ऋण बढी हुँदा बजारमा समस्या सिर्जना हुने बताउँछन्। राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले अहिलेको अवस्थामा आन्तरिकको तुलनामा बाह्य ऋण लाभ हुने बताउँछन्।

आन्तरिक ऋण बढी उठाउँदा भने प्रत्यक्ष रूपमा आर्थिक वृद्धिदर र रोजगारी सिर्जनामा समेत प्रभाव पर्ने उनले बताए।

‘आन्तरिक ऋणमा सरकार नै प्रतिस्पर्धा गर्‍यो भने निजी क्षेत्रले पाउँदैन र पाएको ऋण पनि महँगो हुन्छ। यसले आर्थिक वृद्धिमा नै असर गर्छ,’ उनले भने, ‘अहिले बजारमा देखिएको समस्या यही हो।’

बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी आन्तरिक ऋणको मात्रा बढी हुँदै जाँदा बैंकको प्रणालीमा लगानी योग्य पुँजी अभाव हुने र निजी क्षेत्रमा जाने कर्जा कम हुने बताउँछन्।

लगानी योग्य रकम अभावका कारण पनि ब्याजदर बढ्ने भएकाले लिने ऋण महँगो हुने उनले बताए।

बाह्य ऋणको तुलनामा आन्तरिक ऋणको ब्याजदरको भार सरकारलाई दोब्बरभन्दा बढी हुन्छ। आन्तरिक ऋणको उपयोग समग्र सरकारी खातामा गएर सबै खर्चमा मिसिएर मात्रै हुनाले पनि यसले कति लाभ गरेको छ भन्न सकिने अवस्था नरहने विज्ञहरूको भनाइ छ।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आजको बैठकमा ४ मन्त्रालयकाे बजेटमाथि छलफल जारी रहनेछ । युवा तथा खेलकुद, शिक्षा, कानुन र कृषि मन्त्रालयका बजेटमाथि छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ ।

हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल भएको थियो ।

यस्तो छ आज २०८० असार ६ गते बुधबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय मध्यम खालको छ । अप्रिय समाचारसमेत सुन्नुपर्ने देखिन्छ । टाढाको यात्रामा नगरेकै जाती हुनेछ, तर आर्थिक लाभ भने मिल्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) हेलचेक्र्याइँले गर्दा काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप पनि लाग्न सक्छ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धर्म, तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक लगानीको अवसर जुट्नेछ ।

धनु: (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सानो भूलका कारण गरेको काममा बाधा आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोबारमा मन्दी आउन पनि सक्छ ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव पनि मिल्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । वैदेशिक काम अघि बढ्ने समय छ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेममा सफलता प्राप्त हुनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनार्जन हुनसक्छ । विशिष्ट व्यक्तिको सहयोग पनि पाइनेछ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग पनि मिल्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घरमा अतिथिको आगमन हुनेछ । सङ्गीतमा रुचि पनि बढ्नेछ ।

हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ। सरकारले हवाई इन्धनको मूल्य घटाएको छ। नेपाल आयल निगमका अनुसार आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ प्रतिलिटर कायम भएको छ।

अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर दुई सय अमेरिकी डलर (करिब २६ रुपैयाँप्रति लिटर)ले घटेको छ।

मूल्य समायोजनपश्चात् भारतको कोलकाताको हवाई इन्धन (आन्तरिकतर्फ)को बिक्री मूल्यको तुलनामा काठमाडौँमा बिक्री गरिने मूल्यप्रति लिटर ३ दशमलव ६९ रुपैयाँले सस्तो भएको छ।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको रहेको निगमले जनाएको छ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ १० पैसा र बिक्री दर १३१ रुपैयाँ ७० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मन्त्री चढेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु

धनगढी । बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भन  सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् । मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

दुई जनाको निधन भएको र शव ऋतु पोलिक्लिनिक देउडामा रहेको जानकारी आएको छ। घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।

बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिवेश चौधरीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको उनले बताए ।

चीन भ्रमणको तयारीमा प्रधानमन्त्री प्रचण्ड 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणको तयारीमा जुटेका छन् । भारत भ्रमणपछि चीन भ्रमणको तयारीमा लागेका प्रचण्डको भ्रमण मिति भने टुंगो लागेको छैन् । यद्यपि डेढ महिनापछि अगष्टमा चीन भ्रमण गर्नेगरी अनौपचारिक छलफल भइरहेको छ । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रचण्डको भ्रमण अगष्टमा गर्ने गरी नेपाल पक्षले प्रस्ताव गरेको छ । तर चीनले उक्त समयका लागि जवाफ भने दिइसकेको छैन । 

चीनको जवाफको प्रतिक्षामा रहेको सरकारले चीनसँग केही महत्वपूर्ण परियोजनामा सहमति जुटाउने प्रयास गर्ने बताइएको छ ।