वैदेशिक रोजगारीमा जानेमा झापा पहिलो स्थानमा र काठमाडौं वरिपरिका महिला

झापा । झापा जिल्लाबाट वैदेशिक रोजगारीका लागि जाने मध्ये देशकै पहिलो नम्बरमा रहेको पाइएको छ ।

वैदेशिक रोजगारीमा जानेलाई परामर्श गरिरहेको सुरक्षित आप्रवास कार्यक्रम (सामी) भद्रपुरको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा  झापाबाट रोजगारीका लागि झण्डै ८ हजारले विदेश यात्रा गरेका छन् । 

सामीका अनुसार झापाबाट फागुनमा २ हजार ७३५, चैत्रमा २ हजार ८२३ र वैशाखमा २ हजार ३१५ जना वैदेशिक रोजगारीमा गएका छन् । यो देशकै सबैभन्दा बढी सङ्ख्या हो ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका भद्रपुर संयोजक फणिन्द्रप्रसाद दाहालका अनुसार वैदेशिक रोजगारीमा जाने झापालीको सङ्ख्या बढेसँगै जोखिम र असुरक्षा पनि बढेको छ ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा ठगीमा परेका ११० जनामध्ये ३४ जना कामदारलाई न्यायमा पहुँच पुर्‍याएर १६ लाख ९५ हजार रकम क्षतिपूर्ति भराइएको छ । 

झापामा२०७२ सालदेखि तत्कालीन जिल्ला विकास समिति अन्तरगत सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना २०७४ सालको स्थानीयतहको निर्वाचन पछि स्थानीय तह हरूले नै सो परियोजना सञ्चालन सुरु गरेका हुन् ।  २०७६ मङसिरदेखि भद्रपुर नगरपालिकाले परियोजना सञ्चालन गर्न बिर्तामोडको विराट सामुदायिक अध्ययन केन्द्रलाई जिम्मेवारी दिएको थियो । तर, यस आ.व.देखि सुरक्षित आप्रवासन (सामी) कार्यक्रम भद्रपुर नगरपालिकाले आफै सञ्चालन गरिरहेको संयोजक दाहालले जानकारी दिनुभयो । सूचनाको पहुँच अन्तरगत नै वैदेशिक रोजगारीबाट फर्केकाहरूबाटै स्वयम् सेवकहरू घरदैलोमा सूचना प्रवाह गर्ने, सम्भावित स्थानमै गएर सामुदायिक अभिमुखीकरण कार्यक्रमको आयोजना गरिरहेको उहाँको भनाइ  छ । गत आवमा भनपामा १५ वटा र चालु वर्षमा ३ वटा सामुदायिक अभिमुखीकरण कार्यक्रम रहेको बताइएको छ ।

 सूचनाको पहुँच, न्यायिक सहजीकरण, सीपमा पहुँच, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श यि शीर्षकले वैदेशिक रोजगारी सम्बन्धी सबै समस्या समाधान गर्ने संयोजक दाहालको भनाइ छ ।
सूचनाको पहुँच अन्तरगत नै सम्भावित वैदेशिक रोजगारीमा जाने अर्थात राहदानी लिएकाहरूलाई विशेष अभिमुखीकरण र पत्रकारहरूलाई समेत वैदेशिक रोजगार सम्बन्धीका समस्या समाधानमा सूचना प्रवाहको लागि अभिमुखीकरण रहेको दाहाल बताउनुहुन्छ ।

स्वीस सरकार विकास सहयोग एसडीसी र नेपाल सरकारको संयुक्त कार्यक्रमको रुपमा भद्रपुर नगरपालिकामा सञ्चालन गरेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबाट वैदेशिक रोजगार सम्बन्धी कुनै पनि समस्या समाधान नगरपालिकाबाटै हुने उहाँले बताउनुभयो ।

वैदेशिक रोजगारीमा रहेका समस्याहरूलाई सहजीकरण गरी नगरवासीको वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन भद्रपुर नगरपालिकाले  सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको सञ्चालन गरेको हो ।

राहदानी बनाउने बेलादेखि वैदेशिक रोजगारीबाट घर फर्कने बेलासम्म अझ घर फर्केर पनि श्रम स्वीकृति रहेको अवधिसम्ममा पर्ने कुनै पनि समस्या समाधान सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले गर्ने संयोजक दाहालको भनाइ छ ।

सामीले गरेको अनुसन्धानमा वैदेशिक रोजगारमा मुख्यतया सूचनामा कमी, न्यायको पहुँच नहुनु, सीप र तालिमको अभाव, वित्तीय साक्षरतामा कमी र मनोसामाजिक परामर्शमा कमी जस्ता समस्याले धेरै जसो रोजगारहरुले दुःख झेल्नु परिरहेको जनाइएको छ ।

वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषण रहित बनाउन नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुरूप २०६७ सालमा नेपालका पहिलो २ वटा खोटाङ र सर्लाही जिल्लामा सञ्चालित भएको थियो । जसको परिणाम राम्रो भएपछि अहिले ३८ वटा जिल्लाका १५६ स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको पनि दाहालले जानकारी गराउनुभयो ।

अहिलेसम्म कामका लागि विदेश जाने महिलामध्ये राजधानी काठमाडौं र यसको वरिपरिका जिल्लाका धेरै रहेको तथ्याङ्क छ । बागमती प्रदेशको काठमाडौं र वरिपरिका ६ जिल्लाबाट मात्रै ५१ प्रतिशत महिला वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

अहिलेसम्म संस्थागत रुपमा श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश जाने एक लाख ३२ हजार ९९५ जना महिलामध्ये काठमाडौं, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रे, नुवाकोट र चितवनबाट ६७ हजार ९६८ जना रहेका छन् । यी जिल्लाहरुमध्ये सिन्धुपाल्चोकका सबैभन्दा धेरै १८ हजार पाँच सय जना छन् ।

त्यस्तै काठमाडौंका १२ हजार ४१९, मकवानपुरका ११ हजार ३७४, काभ्रेपलाञ्चोकका नौ हजार ६३०, नुवाकोटका आठ हजार ३०१ र चितवनका सात हजार ७४४ जना छन् । बागमती प्रदेश पछि दोश्रोमा प्रदेश–१ बाट विदेश जाने महिला धेरै छन् । तथ्यांक अनुसार प्रदेश–१ को झापा र ईलामबाट मात्रै २२ दशमलव ७९ प्रतिशत महिला रोजगारीका लागि विदेश गएका छन् ।
महिला रोजगारीका लागि विदेश जाने प्रदेश मध्ये तेश्रोमा प्रदेश–२ छ ।

जहाँको मोरङ्ग र सुनसरीबाट मात्रै १८ दशमलव ३७ प्रतिशत महिला कामका लागि विदेशिएका छन् । वैदेशिक रोजगार विभाग कार्यालयका काठमाडौँका पूर्व प्रमुख मधुविलास पण्डित काठमाडौं वरिपरिका जिल्लाबाट महिला विदेश जान खोज्नुमा प्रमुख कारणमा राजधानी नजिक हुन पनि एक भएको बताउनु हुन्छ ।

काठमाडौं नजिकको जिल्लामा दलालको विगविगी भएको बताउँदै परिवार र जाने महिलालाई राम्रो कमाई हुने आश्वासन दिएर प्रभाव पार्ने गरेको उहाँको भनाइ छ । सरकारले महिला कामदार विदेश जान कडाई गरे सँगै अवैधानिक रुपमा दलालले भारत, श्रीलङकाको बाटो हुँदै तेश्रो मुलुक लैजाने गरेको पण्डित बताउनुहुन्छ ।

अबैधानिक रुपमा विदेश गएका कामदारको अवस्था डरलाग्दो भएको र कम्पनीको काममा भनेर लैजाने गरे पनि घरेलुकाममा दलालले लगाउने पण्डित बताउनुहुन्छ । सरकारले अवैधानिक रुपमा जाने कामदार रोक्न श्रम सम्झौता गरेर कानुनी रुपमा जाने बाटो बनाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असइ) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। इलाका प्रहरी कार्यालय,मिर्चैया सिरहाको मुद्दाा शाखामा कार्यरत असइ सचिन कुमार भदैसवारविरुद्ध भ्रष्टारचार मुद्दा दायर भएको हो।

 सेवाग्राहीसँग घुस लिएको आरोपमा तत्कालीन इलाका प्रहरी कार्यालय मिर्चैया सिराहाका प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवाररिुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक भदैसवारले जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग नौ हजार घुस-रिसवत लिएको अख्तियारको ठहर छ । घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय र्दिबासबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

स्थानीय तहलाई स्वास्थ्यको पत्र: आधारभूत अस्पतालका जनशक्तिको तलबभत्ता आफैं व्यहोर्नू

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिपरिषद्ले स्वीकृत नगरी जनशक्ति थप नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रिपरिषद्बाट स्वीकृत दरबन्दीबाहेकको पदमा कुनै पनि प्रक्रियाबाट पदपूर्ति नगर्न निर्देशन दिएको हो ।

१२ सय रोपनीमा बनेका सबै संरचना भत्काउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पोखराको फेवाताल किनार आसपासमा बनेका ४ सय ९३ वटा संरचना अवैध भएको ठहर गरेको छ । फेवातालको किनारबाट सीमा क्षेत्र ६५ मिटर कायम गर्दै सर्वोच्चले त्यहाँ बनेका सबै संरचना भत्काउन आदेश दिएको हो ।

सर्वोच्चले फेवा किनारदेखि ६५ मिटरसम्म एक हजार दुई सय रोपनी जग्गा अतिक्रमण गरेर बनाइएका स्थायी र अस्थायी संरचना हटाउन संघीय सरकार, पोखरा महानगरपालिका र सम्वद्ध निकायका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयालको संयुक्त इजलासले किनारदेखि ६५ मिटर परसम्मको भाग फेवातालकै भएको ठहर गरेको हो । अहिले ताल वरिपरि ६५ मिटरभित्र १२ सय रोपनी जग्गा व्यक्तिको नाममा छ । सर्वोच्च अदालतले २०७५ साल वैशाख १६ मै २०३० सालमा मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन आदेश दिएको थियो । तर सर्वोच्चको आदेश कार्यान्वयन गर्नुको साटो तत्कालीन महानगर प्रमुख मानबहादुर जिसी नेतृत्वको कार्यपालिका बोर्डले फेवा तालकै मापदण्ड घटाएर ३० मिटर बनाएको थियो ।

महानगरपालिका प्रमुख धनराज आचार्यले सर्वोच्चको लिखित फैसला आएपछि कार्यान्वयन गर्ने जनाएका छन् ।

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको मंगलबार आज २६.५६ अंकले घटेर दुई हजार ६४ दशमलब ८३ विन्दुमा बन्द भएको छ । सोमबार २.९४ अंकले घटेर दुई हजार ९१ दशमलब ३९ विन्दुमा बन्द भएको छ ।  सोमबारदेखि करेक्टिभ मुडमा देखिएको बजारले मंगलबार पनि सोहि क्रमलाई निरन्तरता दिएको छ।

पछिल्लाे समय लगातार बढ्दो क्रममा रहेको नेप्से सूचक लगानीकर्ताले प्रोफिट बुक गर्दा केहि नकारात्मक देखिएको हो।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज चार अर्ब ११ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार चार अर्ब ७४ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २८ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटाको शेयरमूल्य स्थिर रहेको छ ।  

आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटी होटल, पीविडब्लु वित्तीय संस्था, इन्वा हाइड्रो पावरको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।आज सबैभन्दा बढी नेपाल पूर्वाधार विकास बैंकको शेयरको कारोबार भएको छ । यस कम्पनीको आज २० करोड ५७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

यता युनिक नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने महुली लघुवित्तको ४.४८ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ६.३० प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.०१ प्रतिशतले घटेको छ।

मंगलबार नेपाल इन्फ्रास्टक्चर बैंकको सबैभन्दा धेरै २० करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको १९ करोड ४४ लाख, हिमालयन डिस्टिलरीको १३ करोड ५९ लाख र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

नयाँ स्कट ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन: अर्थ समिति

काठमाडौं । नयाँ ब्रोकर लाईसेन्सको प्रक्रिया अघि बढाउन अर्थसमितिले निर्देशन दिएको छ । मंगलवार बिहान नेपाल धितोपत्र बोर्डका पदाधिकारीसँगको छलफलपछि अर्थसमितिले ब्रोकर लाईसेन्स वितरण प्रक्रियलाई निरन्तरता दिन निर्देशन दिएको हो । अर्थसमितिका एक सदस्यका अनुसार स्टक ब्रोकरका विषयमा भने सञ्चालन अनुमति दिँदा फरक नपर्ने देखिएकाले प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको हो । 

गत जेठ २९ गते बसेको अर्थसमितिको बैठकले नयाँ ब्रोकर लाईसेन्स वितरण प्रक्रिया रोक्ने निर्णय गरेको थियो । सो बैठकले अर्थसमितिबाट लाइसेन्स वितरण प्रक्रियाका विषयमा विस्तृत अध्ययन गरी अर्को निर्णय नभएसम्म प्रक्रिया अघि नबढाउन नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिने निर्णय भएको थियो । सोही निर्णय बमोजिम मंगलवार अर्थसमितिले बोर्डका पदाधिकारी सहितको बैठक बोलाएको हो ।

बोर्डले गत असोज २ गतेदेखि ३१ गतेसम्म ४६ कम्पनीहरूको आवेदन ब्रोकर लाइसेन्सका लागि प्राप्त गरेको थियो । ४६ कम्पनीमध्ये ४३ कम्पनीलाई बोर्डले लाईसेन्सका लागि आशयपत्र प्रदान गरेको हो ।

सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री चढेको गाडी बझाङमा दुर्घटना

बझाङ  । सुदूरपश्चिम सरकारका मन्त्री चढेको गाडी बझाङमा दुर्घटनामा परेको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो । 

मंगलबार डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सवार गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।

दुर्घटनामा परेर मन्त्री सिंहसहित अन्य ४ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारी जानकारी दिए।

घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गरिरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

चार लाख घुस रकमसहित तीन कर्मचारी पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु ४ लाख घुस रकमसहित पक्राउ गरेको छ।

ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ, दमक, झापाका आयोजना व्यवस्थापक (उपसचिवसरह) हुताराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल र इटहरी कार्यालयको संयुक्त टोलीले मङ्गलवार रंगेहात पक्राउ गरेको हो। 

सडक निर्माणका लागि अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिए वापत उनीहरुले निर्माण व्यवसायीबाट घुस लिएको अवस्थामा आज नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए।

सुनको मूल्य घट्याे, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

काठमाडौ‌ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन र चाँदीको मूल्य घटेको जानाएको छ । सोमबारको तुलनामा मंगलवार सुनचाँदीकै मूल्य घटेको महासंघले  जानाएको हो ।

महासंघका अनुसार सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो । सोमबार सुनको भाउ स्थिर रहँदै आइतबारकै मूल्यमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्यमा १० रुपैयाँको गिरावटसँगै १४ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । सोमबार १४ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

साहारा पाउने आशामा परमेश्वर पुकार्दा पुकार्दै बालकको गयो ज्यान

रौतहट ५ असार। बर्दियामा प्रहरीले ज्यानसम्बन्धी कसुरको आरोपमा गुलरिया नगरपालिका–४, तुलापुरमा बस्दै आएका ३९ वर्षीय राजु शाही, सोही ठाउँमा बस्दै आएका ३८ वर्षीया गीता शाही र ३५ वर्षीया निशा नेपाली छन् । गुलरिया–१०, कालाबन्जारमा बस्ने प्रमुख यादवले उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएका थिए ।यादवका आठ वर्षीय छोरा अजय आफ्नै घरमा बिरामी भई अचेत अवस्थामा हुँदा बालकलाई तुलापुरस्थित सत्य बचन परम ईश्वरीय मार्गदर्शन नामक संस्थामा प्रार्थना गराए निको हुने भ्रमपूर्ण आश्वासन दिए । प्रहरीका अनुसार त्यसपछि सो संस्थामा लागि प्रार्थना गराउने क्रममा बालकको मृत्यु भएको जाहेरीमा उल्लेख छ ।
घटना यही असार १ गतेको हो । उनीहरूलाई पक्राउ गरेर अदालतबाट ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको बर्दियाका डीएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए । तुलापुरस्थित सञ्चालन गरेको सत्य बचन परम ईश्वरीय मार्गदर्शन नामक संस्थामा रहेका व्यक्तिहरूले यहाँ ल्याएर बचन तथा प्रार्थना गरेपछि परमेश्वरले ठिक गर्नुहुन्छ, औषधि उपचार गराउन कहीँ कतै लैजानु पर्दैन भन्ने भ्रमात्मक आश्वासन दिई भ्रममा पारी प्रार्थना गर्ने क्रममा नै निजको मृत्यु भएको पीडित परिवारले जनाएको छ।

रौतहटमा रकम लिदै धर्म परिवर्तन गर्दै रौतहटको कटहरिया लगायत कैयौं पालिकामा पछिलो समय यसरी सोझा मानिसलाई विभिन्न भ्रममा पारेर ईशाई धर्मको प्रचारप्रसार गर्न केहि मानिस सक्रिय रहेको देखिएको छ। हिन्दु धर्मका अशिक्षित तथा दलीत विपन्न परिवारको खास गरी महिलालाई बिभिन्न भ्रममा पारने गरेका छन। हिन्दू धर्म छोडेर परमेश्वरको प्रार्थना गरेमा बिरामी नीको हुने, सम्पती हुने भन्दै केहि मानिसले आफ्नो व्यक्तिगत फाईदाको लागि धर्म परिवर्तन गराउदैं ईशाई धर्म अपनाउन बाध्य बनाइएको बताइन्छ । तथापी यस्ता बिकृती लाई निरुस्ताहित गर्न स्थानिय अगुवा, जनप्रतिनिधी तथा प्रहरी प्रशासनको त्यस प्रति गम्भीरता पूर्वक ध्यानाकर्षण हुन जरुरी देखिन्छ।

सञ्जय मिश्रा 

जिल्ला प्रशासन राैतहटमा विधुतिय राहदानी सेवाको काम  शुरु

रौतहट ५ असार । जिल्ला प्रशासन कार्यालय राैतहटमा विधुतिय राहदानी सेवाको काम सुरू भएको छ। सेवाग्राहीको सुविधाका लागि जिल्ला प्रशासन कार्यालयमा विद्युतिय राहदानी सेवाको काम विहान  ७  बजे देखि शुरु गरिएको हो ।

सिडियाे धर्मेन्द्र कुमार मिश्रका अनुसार  प्रचण्ड गर्मि र सेवा ग्राहीको चापलाई ध्यान दिदै असार ५ गते देखी लागू हुने गरी विहानै देखि सेवा प्रदान गरीएको हो । प्रत्येक आईतवार देखि विहिवार सम्म विहान ७ बजे देखि सांझ ५  बजे सम्म र शुक्रबार विहान ७  बजे देखि दिउँसो ३  बजे सम्म विधुतिय राहदानी सेवाको काम हुने सिडियाे मिश्रले जानकारी दिएका छन्  ।

विधुतिय राहदानीको फर्म भराउने तथा वायोमेट्रिक सेवा जिल्ला प्रशासन कार्यालयले सुचना प्रकाशन गरि नि:शुल्क रहेको जानकारी दिई सकेका छन । सेवा ग्राहीको सुविधाको  सो कार्यालयले परिसर भित्र सन्देश प्रसारण गर्न  लागि साउण्ड सिष्टम जडान गरेका छन् । गर्मिमा सेवा ग्राहीलाई राहत होस भनी बढि चहल पहल  हुने  प्रतिक्षालय सहितका ठाउं ठाऊमा  पंखा जडान समेत भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

विधुत प्राधिकरण जनताप्रति उत्तरदायी छैन, नाफा देखाएर झुक्याउने काम गरेको प्रभु साहको जिकिर

रौतहट ५ असार। पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष  प्रभु साहले नेपाल विद्युत् प्राधिकरण नेपाली जनताप्रति उत्तरदायी जबाफदेही नभएको जिकीर गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सुन्य समयमा बोल्दै संघिय सांसद समेत रहेका अध्यक्ष शाहले विधुत प्राधिकरण नेपाली जनतालाई झुक्याउने काम मात्र गरेको टिप्पणी गरेका थिए। । ऊर्जा क्षेत्रमा ६० अर्ब पैसा छुट्याएको भए पनि कहाँ खर्च गर्ने भन्ने स्पष्ट उल्लेख नभएको उनको दाबी रहेको छ।

नेपाल विद्युत् प्राधिकरण नेपाल सरकार र नेपाली जनताप्रति उत्तरदायी छ वा विदेशी शक्तिकेन्द्रप्रति जबाफदेही छ अध्यक्ष साहले प्रतीप्रश्न गरेका थिए। रेड बुकले के भन्छ भने विद्युत् प्राधिकरण जनताप्रति जबाफदेही छैन । सभामुखज्यूले त्यसलाई त फर्काइदिनुपर्ने हो उनले भने किनकि ऊर्जामा झन्डै ६० अर्बजति पैसा छ कुन कहाँ के क्रियाकलापमा कसरी खर्च गर्छ भन्ने छैन । वैकल्पिक ऊर्जाको २० पाना ओगटेर झन्डै ४० पेजसम्म कुन–कुन पालिकामा कति–कति लाख भनेर छापेर जनतालाई झुक्याउने वाहेक केही नभएको उनको ठहर रहेकाे छ। यति दुनियाँको इन्ट्रेस्ट भइरहेको ऊर्जा क्षेत्र सांसद जान्नै नहुने ? के छ भित्री कुरा किताब लेख्नै नहुने ? शीर्षक अनुसार गतिविधि सांसदहरूले जान्नै नहुने हो ? कुन ठाउँमा विद्युत् प्रसारण बढाउँदै हुनुहुन्छ ? कहाँ सबस्टेशन बढाउँदै हुनुहुन्छ प्रभू साहले जानकारी मागेका थिए। के रेडबुकमा आउनै नहुने हो त्यो क्रियाकलापहरू । यसरी अपारदर्शिता भनेकै भ्रष्टाचार होइन ? बक्यौता रकमहरू किन उठाउन पहल भइराखेको छैन उनले प्रश्न गरेका थिए।

विद्युत प्राधिकरणले आफूलाई नाफामा देखाएर दुनियाँलाई झुक्याएको आरोप पनि उनले लगाएका छन । प्राधिकरणले व्यापारिक घरानाहरूलाई सेवा गरेको तर गाउँघरमा विद्युत् प्रसारण गर्न नसकेको अध्यक्ष साहले जिकिर गरेका छन।

 राष्ट्रीयसभाकी उपाध्यक्ष अर्यालले गरीन मौलापुरको प्रसंसा 

रौतहट ५ असार। राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले  माैलापुर नगरपालिकामा भएको भौतिक पूर्वाधार निर्माणको प्रसंसा गर्दै त्यहाँ को विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएकी छन्। उपाध्यक्ष अर्याल सोमवार रौतहटको मालापुर नगर क्षेत्र अन्तर्गत विभिन्न विकास निर्माणका योजनाहरुको स्थलगत अनुगमन निरीक्षण गर्दै उक्त प्रतिवद्धता जनाएकी हुन्।

उपाध्यक्ष अर्याल मैलापुर स्थित पुराता्त्विक महादेव मन्दिर, बसपार्क, (ल्यान्ड पुलिङ) जगा एकीकरण तथा नया सहरको याेजना, पिकनिक पार्क, बहुउद्दश्यीय भवन लगाएतको पूर्वाधार निरीक्षण गरेका थिए। निरीक्षणको क्रममा मौलापुर नगर प्रमूख रीना कुमारी साहले उक्त भौतिक संरचना बारे उपाध्यक्ष अर्याल लाई जानकारी दिएका थिए।

माैलापुर जस्तो ग्रामिण क्षेत्रमा प्रदेशमै उत्कृष्ट सहरको जस्ताे विकास निर्माणका पूर्वाधार निर्माण,७५ विगहा जग्गामा नया सहरको अवधारणा तथा पुरातातविक महादेव मन्दिर लाई बिश्व सम्पदा सूचीमा राख्ने प्रयास लाई राष्ट्रीयसभाकि उपाध्यक्ष उर्मिला अर्यालले खुलेरै सराहना गरेकी थिइन्। साथै मौलापुरमा विकास निर्माणका थप योजनाको लागि विशेषरुपमा पहल गर्ने प्रतिबद्धता जनाएको मेयर रीना कुमारी साहले जानकारी दिएकी छन्। मौलापुरमा अवलोकन निरीक्षणको क्रममा उपाध्यक्ष अर्याल, मेयर साहका साथै राष्ट्रियसभा सचिवालयका पदाधिकारिहरुको समेत सहभागीता रहेको टोलीमा सहभागी सुमन यादवले जानकारी दिएकि छन।

नक्कली शरणार्थी प्रकरण : अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले पनि थाले अनुसन्धान

नक्कली शरणार्थी प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेका छन् । जिल्ला अदालतबाट धरौटीमा छुटेका लक्ष्मी महर्जन र टंक गुरुङसँग दुवै निकायले बयान लिएका छन् ।

असार १ गते जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले महर्जनलाई ५ लाख तथा गुरुङलाई १० लाख रुपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

सोही साँझ पौने ८ बजे दुवैजनाले धरौटी बुझाए तर रिहा भने भएनन् । अदालत परिसरबाटै दुवै जनालाई अन्य मुद्दाको पनि अनुसन्धान गर्न बाँकी रहेको भन्दै गिरफ्तार गरिएको थियो ।

‘अभियोगपत्रमा नै मुद्दाको थप अनुसन्धान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गर्ने भनेर लेखिएका कारण ती दुवै निकायमा उपस्थित गराउनका लागि गिरफ्तार गरेका हौं भन्ने जानकारी गराएर प्रहरी परिसर टेकु नै लगियो,’ थियो ।

भोलिपल्ट शनिवार सार्वजनिक बिदाको दिन भएकाले उनीहरू दुवै जनालाई टेकु परिसरको प्रहरी हिरासतमै राखियो । आइतवार असार ३ गते प्रहरीले दुवै जनालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा प्रहरीले ११ बजेतिर उपस्थित गराएको थियो ।  विभागले ११ बजेदेखि साढे ३ बजेसम्म दुवै जनासँग बयान लिएको थियो ।

त्यसपछि विभागले लक्ष्मी महर्जनलाई ५० हजार रुपैयाँ र टंक गुरुङलाई १ लाख ५० हजार रुपैयाँ धरौटी लिएर रिहा गरेको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा धरौटी बुझाएपछि पनि उनीहरू रिहा भएनन् । प्रहरीले पुनः उनीहरूलाई नियन्त्रणमा लिएर अख्तियारमा उपस्थित गराएको थियो ।

अख्तियारले भने झन्डै डेढ घण्टा जति बयान लिएर दुवै जनालाई रिहा गरेको थियो । त्यसपछि उनीहरू दुवै जना आ-आफ्नो घर फर्किएका थिए ।

दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प

दार्चुला । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो ।

पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।