आज विदेशी मुद्राको विनिमय दर कति छ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

स्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ८१ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूची यस्तो छ

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ ।

बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत आज शहरी विकास, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तो छ ५ असार २०८०, आज मंगलवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । शुभ चिन्तकबाट साथ, सहयोग र सम्मान पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नियमित खर्चसमेत बढ्ने योग छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्तसँग मनमुटाव बढ्नसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ, तर स्वास्थ्यको भने ख्याल गर्नुपर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सबैले तपाईंको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण पनि बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । स्वास्थ्यले साथ नदिन पनि सक्छ ।

सिरियामा बम विस्फोट हुँदा पाँच सैनिकको मृत्यु

एजेन्सी। सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा सोमबार सडक किनारमा राखिएको बम विस्फोटमा परी पाँच सैनिकको मृत्यु हुनाका साथै अन्य सात जना घाइते भएको सरकार समर्थक शाम एफएम रेडियोले जनाएको छ ।

बम देइर अल–जोरको पश्चिमी ग्रामीण इलाकाको सडकको छेउमा राखिएको थियो । बम कसले राखेको हो भन्ने अझै प्रस्ट भइसकेको छैन तर यसले सक्रिय इस्लामिक स्टेट (आईएस) लडाकुहरूमाथि सङ्केत गरिएको छ ।

आइतबार मध्य प्रान्त होम्सको मरुभूमि क्षेत्रमा सडक किनारमा राखिएको बम विस्फोटमा तीन सैनिकको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका थिए।

यसैगरी आइतबारको अर्को छुट्टै आक्रमणमा एक सिरियाली लेफ्टिनेन्टलाई आईएस समूहका लडाकुहरू मानिने सशस्त्र व्यक्तिहरूले घाइते बनाएका थिए। जुन १३ मा सडक किनारमा भएको बमले होम्समा एक सिरियाली सैनिक अधिकारीको मृत्यु भएको थियो ।

रोकियो घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया

काठमाडौँ । घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र घोराही सिमेन्ट इन्डस्ट्रिलाई पत्राचार गर्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न दिर्नेशन दिएको हो । 

योसँगै आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । तर सोमबार सूचना जारी गर्दै कम्पनीले आवेदन दिने म्याद असार १४ गतेसम्म थप गरेको जनाएको थियो ।

एकातिर दोब्बर बढी आवेदन परेको देखाउने अनि अर्कातिर आवेदन दिने म्याद असार १४ सम्म पुर्याइनुबीच तारतम्य नमिलेको भन्दै घोटाला भएको शंकामा सीडीएससीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो । 

करेन्ट लागेर एक जनाको मृत्यु

सिरहा। सिरहामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । धनगढीमाई नगरपालिका ५ का ३५ वर्षीय शिव नारायण कामतको करेन्ट लागेर मृत्यु भएको हो ।

छत ढलानको क्रममा भ्याभरेटर मेसिनबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ । करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी भोलाराज भट्टले जानकारी दिए ।

मृतक कामैत धनगढीमाई नगरपालिका ५ का वडा अध्यक्ष रामजतन कामैतका छोरा हुन् । मृतको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चार दलले घोषणा गरे समाजवादी मोर्चा

 काठमाडौं । सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । लगतै नेताहरुले हालेमालो गरेर खुसी साटे ।

समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन् । सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ । नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिनेछ ।

मोर्चा सञ्चालन गर्न तत्कालका लागि दुई तहको संरचना बनाउने तयारी छ । शीर्ष नेताहरू रहने संयोजन समिति र प्रत्येक राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी सचिवालय गठनको तयारी छ ।

प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद हुनेछन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने नेताहरूले बताएका छन् ।

नेप्सेमा सामान्य अंककाे गिरावट

काठमाडौं । विगत ९ दिनदेखि लगातार बढ्दो क्रममा रहेको नेप्से सूचक सोमबार सामान्य अंकले घटेको छ। विगत ९ दिनमा लगातार १९१ अंकले बढेपछि बजार सोमबार करिब ३ अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज सोमबार २.९४ अंकले घटेर दुई हजार ९१ दशमलब ३९ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ५२.२६ अंकले बढेर दुई हजार ९४ दशमलब ३३ विन्दुमा बन्द भएको थियो । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज चार अर्ब ७४ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ८० कम्पनीको शेयरमूल्य बढेको छ भने १४२ कम्पनीकोे शेयरमूल्य घटेको छ । एक वटाको शेयरमूल्य स्थिर रहेको छ ।  

यसअघि होटल र इन्स्योरेन्स सेक्टरमा लगानीकर्ताको बढी आकर्षण रहेकोमा अहिले ती सेक्टरले केहि विश्राम लिन खोजेको देखिन्छ। सोमबार होटल र इन्सयोरेन्स उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ।

आज नौं कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्विटी फण्ड, माउन्टेन इनर्जी शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, बीपीडब्लु लघुवित्त वित्तीय संस्था, मेन्छियम हाइड्रोपावर, सिटी होटल लिमिटेड, मकर जीतुमाया सुरी हाइड्रोपावर, सानिा इक्विटी फण्ड र लुम्बिनी विकास बैंकको शेयरमूल्यमा पनि उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेका छन् ।   

आज सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज २९ करोड ८२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

पैसा नभएको खाताबाट आइपिओ भरेमा कारबाही हुने (सुचनासहित)

काठमाडौँ । बैंक खातामा पैसा नभएको वा अपुग रकम भएको बैंक खाताबाट सार्वजनिक निष्कासन अर्थात् आइपिओ भरेमा कारबाही हुने भएको छ ।

घोराही सिमेन्टको आईपीओमा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि लाखौँ कित्ता भरेर बदमासी गरेको खबर फैलिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले एक सूचना सार्वजनिक गर्दै आवश्यक मौज्दात नभएको खाताबाट शेयर भरेमा कारबाही हुने जनाएको हो ।

धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार झुटा एवम् जालसाजीयुक्त कारोबारअन्तर्गत कारबाही हुने सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

तत्कालीन महानिर्देशकविरुद्ध अख्तियार द्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले राजभण्डारीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । 

तत्कालीन महानिर्देशक राजभण्डारीले महानिर्देशकका रुपमा सरकारी पदमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको पाइएको अख्तियारको भनाई छ । सार्वजनिक सेवामा उनी २०५१/११/३० देखि मिति २०७९/०५/३१ गतेसम्म रहेका थिए । उक्त अवधिमा उनको विभिन्न आयमा तीन करोड पचासी लाख एकाउन्न हजार सात सय चालीस रुपैया अड्चालीस पैसा वैधानिक आय स्रोत खुल्न आएको देखिन्छ । 

अख्तियारका अनुसार उनको सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा जग्गा खरिद, घर निर्माणदेखि सवारी साधन खरिदमा भएको खर्च र बैंक मौज्दात रकमसमेत गरी सात करोड बयालीस लाख उनान्तीस खर्च तथा लगानी गरेको देखिन्छ । उनको कुल वैधानिक आयलाई कुल व्ययसँग तुलना गर्दा आयभन्दा तीन करोड छपन्न लाख वैधानिक स्रोत पुष्टि हुन नसकेको अख्तियारको भनाई छ । 

प्रचलित कानून बमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वभाविक सम्पत्ति आर्जन उनले गरेको पाइएको छ । मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको अख्तियारको भनाई छ । राजभण्डारीले सार्वजनिक पदको दुरुपयोग गरेको पुष्टि भएकोले री सो रकम बराबर बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ ।

५३ लाख रुपैयाँसहित त्रिभुवन विमानस्थलबाट वृद्धा पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३ लाख नगदसहित एक जना वृद्धालाई प्रहरीले पक्राउ गरेको छ।

विमानस्थलको आन्तरिक उडानतर्फबाट प्रहरीले ५३ लाख ८ हजार ५०० रुपैयाँसहित एक जना वृद्धालाई पक्राउ गरेको त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन ठकुरी चन्दले जानकारी दिए। 

ह्यान्ड ब्यागेज चेकिङ गर्नेक्रममा पर्वतकी ७० वर्षीया बिबीकुमारी गुरूङबाट स्रोत नखुलेको उक्त रकम फेला परेको हो। आइतबार अपराह्न साढे ४ बजेतिर उनी बुद्ध एयरको फ्लाइटबाट भैरहवा जान लागेकी थिइन्। 

एक्सरे मेसिनमा स्क्रिनिङ गर्नेक्रममा उक्त रकम देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई कार्यालय जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।  उनीमार्फत अन्‍य संलग्न व्यक्तिको पनि पहिचान खुल्न सक्ने प्रहरीले जनाएको छ। 

सरकारी सुविधामा विदेश गएका ३० सरकारी अधिकृत फरार

काठमाडौं । राज्यले विज्ञ जनशक्ति उत्पादनका लागि कमर्चारीलाई विदेशमा अध्ययनका लागि पठाउने गर्दछ ।तर सरकारी सुविधामा विदेश गएका ३० सरकारी अधिकृत फरार भएका छन् । त्यहाँ पढेको शिक्षा र सिकाइलाई नेपालमा प्रयोग गर्ने उद्देश्य सरकारले राखेपनि धेरै जसो सरकारी कर्मचारी छात्रवृतिको दुरुपयोग गरेर नेपाल नफर्कने गरेका छन् ।

सरकारी कोटामा कति कर्मचारी, कुन देशमा, कहिले पढ्न गए र कहिले फर्कन्छन् भन्ने विवरण सरकारी निकायमा छैन । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता अधिकारी त्यस्ता कर्मचारीको एकीकृत विवरण प्रणाली नभएको बताउँछन् ।

कुन मन्त्रालय र कुन सेवाबाट गएको भन्ने विवरण सम्बन्धित मन्त्रालयमा मात्र हुने उनले बताए । उनले भने, ‘सामान्य प्रशासन सेवाबाट अध्ययनका लागि गएकाबाहेक अरूको विवरण हाम्रो मन्त्रालयमा छैन ।’

राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्मा विदेश गएका धेरै प्राविधिक कर्मचारीहरू नफर्केको सुनिएको तर उनीहरूको विवरण नभएको बताउँछन् । उनले भने, ‘हामीले बुझेअनुसार, निजामती कर्मचारीहरूको सबै विवरण राख्ने राष्ट्रिय किताबखानामा त्यस्तो विवरण छैन ।’

त्यसरी सरकारी छात्रवृतिमा विदेशमा पलायन हुनेहरुमा कृषि मन्त्रालयका मात्रै १८ जना छन् । सहरी विकास मन्त्रालयबाट विदेश गएका एक जना इन्जिनियर,अर्थ मन्त्रालयको एक जना शाखा अधिकृत छन् । त्यस्तै उद्योग मन्त्रालयअन्तर्गत खानी तथा भूगर्भ विभागका बरिष्ठ भूगर्भविदसहित ४ जना विदेश गएर फर्केनन् । उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय २ जना उपसचिवसहित ६ जना नेपाल फर्केनन् । साथै स्वास्थ्य मन्त्रालयको ८औँ तहका एक कर्मचारी अमेरिका गएर नेपाल आएनन् ।
सरकारले उनीहरुलाई हाजिर हुन आउनका लागि आह्वान पनि गर्यो । तर उनीहरु विदेशबाट नेपाल नै आएनन् । अध्ययन पूरा भएपछि सामान्यतय ९० दिनमा कार्यालयमा हाजिर हुन आउनुपर्ने हुन्छ तर उनीहरु वर्षौदेखि वेपत्ता छन् । कतिपय कर्मचारीलाई सेवाबाट समेत हटाइसकेको छ भने केही अझै प्रक्रियामा छन् । सेवाबाट हटाउनु पूर्व राष्ट्रिय पत्रिकामा सूचना निकाल्नुपर्ने हुन्छ । त्यसरी सूचना निकालेसँगै लोकसेवा आयोगलाई जानकारी गराएसँगै सेवाबाट निष्काशन गर्न सकिने निजामती सेवा ऐनमा व्यवस्था गरिएको छ ।
निजामती सेवा ऐनमा विदेशमा अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि नेपाल फर्केर निश्चित समय अनिवार्य सेवा गर्नुपर्ने व्यवस्था छ । सरकारको मनोनयनमा अध्ययन गर्ने, तालिम लिने वा अध्ययन भ्रमणमा जाने कर्मचारीले त्यस्तो अध्ययन, तालिम वा अध्ययन पूरा गरेपछि सुविधा लिनुअघि कार्यरत रहेको मन्त्रालय वा कार्यालयमा सेवा गर्नुपर्ने न्यूनतम अवधि उल्लेख छ । त्यसमा तीन महिनासम्म अध्ययन वा तालिम गरेकाले एक वर्ष र तीन महिनादेखि ६ महिनासम्म गरेकाले डेढ वर्ष अनिवार्य सेवा गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, ६ महिनादेखि नौ महिनासम्म अध्ययन वा तालिम गरेको कर्मचारीले दुई वर्ष, नौ महिनादेखि एक वर्षसम्म गरेकाले तीन वर्ष र एक वर्षदेखि दुई वर्षसम्म गरेकाले चार वर्षसम्म सरकारले तोकेको अनिवार्य सेवा गर्नुपर्छ ।

सरकारी छात्रवृत्तिमा अस्ट्रेलिया पुगेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा‍. राजेन्द्रप्रसाद अधिकारीले दुई वर्षे अध्ययन अवधिभर सरकारी तलब सबै बुझेर नेपालमा नआएर राज्यलाई घात गरे । मन्त्रालयको अभिलेख अनुसार अधिकारी १५ मंसिर ०७६ देखि सम्पर्कमा छैनन् । त्यस्तै कृषि मन्त्रालयकै उपसचिव श्रेणीकै वरिष्ठ कृषि प्रसार अधिकृत जयन्तीकुमारी भुसाल विदेश अध्ययन सकिएपछि गायब छन् । बाली संरक्षण अधिकृत भीम चौलागाईं पनि छात्रवृत्तिका लागि बिदा स्वीकृत गराएर विदेश गएका उनी पनि आएनन् । १५ साउन ०७६ देखि उनी सम्पर्कविहिन छन् ।

बाली संरक्षण अधिकृत रामकृष्ण कहार पनि छात्रवृत्तिमा विदेश अध्ययन गरेर फरार छन् । कृषि अर्थविज्ञ कृपा ढकालसमेत छात्रवृत्तिमा विदेशमा अध्ययन गरेर नेपाल फर्किनन् । भेटेरिनरीतर्फका उपसचिवद्वय खड्कसिंह विष्ट र शिवचन्द्र घिमिरे छात्रवृत्ति सकेर विदेशमै वेपत्ता भए । विष्ट ७ पुस ०६७ र घिमिरे १५ चैत ०५७ मा अध्ययनका लागि विदेश उडेका थिए ।

१४ असोज ०७३ मा छात्रवृत्ति स्वीकृत गराएर विदेश गएका अर्का उपसचिव कमलराज आचार्य पनि उतै गायब भए । त्यस्तै, भेटेरिनरी अधिकृतहरू तोयानाथ बराल, तुलसीराम थापा, विनु श्रेष्ठ, सुवास सिवाकोटी, अञ्जनकुमार चालिसे विदेश अध्ययन सकेर फर्किएनन् । बरालको ७ पुस ०५६, थापाको २५ असोज ०५५, श्रेष्ठको ५ जेठ ०६९, सिवाकोटीको ३० पुस ०७० र चालिसेको १४ कात्तिक ०५३ मा छात्रवृत्ति स्वीकृत भएको थियो ।

त्यस्तै, शाखा अधिकृत श्रेणीका पशु चिकित्सकहरू रिमादेवी श्रेष्ठ, घ्याग्याल्पो पुनेल र यादव शर्मा बजगाईं पनि सरकारी छात्रवृत्तिमा विदेश पढेर देश नफर्किनेको सूचीमा छन् । श्रेष्ठको ५ जेठ ०६९, पुनेलको १६ पुस ०५५ र बजगाईंको ११ पुस ०७४ मा छात्रवृत्ति स्वीकृत भएको थियो ।

जो सरकारी कोटामा विदेश गएर नेपाल फर्केनन्

सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागकी इन्जिनियर सुवर्णशोभा शाक्य सरकारी सुविधामा १२ साउन ०६७ मा नेदरल्यान्ड गइन् । उनी उतैबाट वेपत्ता छिन् ।

अर्थ मन्त्रालयकी शाखा अधिकृत विजया आचार्य पनि सरकारी छात्रवृत्तिमा विदेश पढेर उतै पलायन भइन् । सरकारी छात्रवृत्तिमा ०६३ मा अमेरिका गएकी उनी जागिर छाडेर उतै बसेकी हुन् ।

स्वास्थ्य मन्त्रालयकी आठौँ तहकी सोनिया कोइराला छात्रवृत्तिमा अमेरिका गएर फर्किइनन् । ०७३ मा अमेरिका गएर पढ्न सुरु गरेकी उनी ०७६ मा पढाइ सकेपछि उतै बसिन् । सरकारले उनको शिक्षाका लागि एक करोड लगानी गरेको थियो । सो लगानी बालुवामा पानी सरह भएको छ ।

खानी तथा भूगर्भ विभागका सिनियर भूगर्भविद् सुदीप श्रेष्ठ क्यानाडा गएकामा फर्किएनन् । अमेरिका गएका भूगर्भविद् रोशन कोइराला उतै रमाएर बसे । भूगर्भविद् सन्तोष अधिकारी अध्ययनका लागि चीन गएका थिए । उनी पछि चीनबाट फर्केर अमेरिका गएका छन् । सहायक भूगर्भविद् सम्झना बुढाथोकी छात्रवृत्तिमा जापान गएर फर्किएकी छैनन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट छात्रवृत्तिमा विदेश गएर ६ कर्मचारी नेपाल फर्किएनन् । अध्ययन सकाएपछि उपसचिवहरू मेकानिकल सिडिई हरिचरण घिमिरे र हाइड्रोलोजिस्ट विजयकुमार पोखरेल वेपत्ता भए । सिभिल इन्जिनियरद्वय प्रभा शाह र प्रमिला अधिकारी, शाखा अधिकृत केमिस्ट विष्णुप्रसाद सुवेदी र इन्जिनियर शैलेन्द्र सिंह उतै लुकेर बसे ।

कर्मचारी किन भाग्छन् ?

पूर्व मुख्यसचिव डा. विमल कोइराला हरेक मान्छेले वृत्ति/विकास र अवसर हेर्ने बताउँछन् । बढी सुविधा र राम्रो जीवन पाउँदा पढ्न गएकै देशमा नेपाली कर्मचारी पलायन हुने गरेको उनले बताए ।

‘यहाँ कर्मचारीतन्त्रमा राजनीतिकरण र वृत्ति बिकासमा उल्झन छ’, उनी भन्छन्, ‘मुलुकको वातावरण राम्रो नहुदासम्म कर्मचारी भाग्ने समस्या रहिरहन्छ ।’

भारतीय कर्मचारीतन्त्रमा आकर्षण भएकाले कर्मचारी पलायन हुने समस्या नरहेको वा कम रहेको डा. कोइराला बताउँछन् । तर, विदेशमा राम्रो अवसर पाए नेपालका सबै क्षेत्रका कर्मचारी पलायन हुने अवस्था रहेको पूर्व कृषि सचिव उत्तमकुमार भट्टराई बताउँछन् ।

उनका अनुसार प्राविधिक क्षेत्रका कर्मचारीले विदेशमा अवसर र आर्थिक सुरक्षा पाउने हुँदा उनीहरूमात्र पलायन भएको देखिएको हो । नेपालमा १० वर्षमा जोगिने पैसा विदेशमा एकै वर्षमा कमाइ हुने भएपछि कर्मचारीहरूले जागिर र मुलुक छोड्ने गरेको भट्टराई बताउँछन् ।

‘उनीहरूलाई समातेर ल्याएर राख्ने कानुन पनि छैन’, पूर्वसचिव भट्टराई भन्छन्, ‘विदेशमा आम्दानी राम्रो हुँदा कर्मचारीले मुलुक छोड्ने निर्णय गरिरहेका छन् ।’

देश बनाउने मेरुदण्ड भएकाले प्राविधिक कर्मचारी बढी आवश्यक भएकोले उनीहरूबारे सरकारले विशेष ध्यान दिनुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘काम गर्ने वातावरण विकास गर्ने, खोज अनुसन्धानको दायरा बढाउने र कुनै बेला दक्षिण कोरियाले गरेझैं धेरै सुविधा दिएर प्राविधिक कर्मचारीलाई रोक्नुपर्छ ।’

नविल बैंकको ललितपुर सातदोबाटोको शाखा स्थानान्तरण हुँदै

काठमाडौँ। नविल बैंक लिमिटेडले शाखा कार्यालय स्थान्तरण गर्ने भएको छ । बैंकले हालको स्थानबाट स्थानान्तरण भई नयाँ परिसरबाट असार १० गतेदेखि संचालनमा आउने भएको हुँदा सूचना प्रकाशित गरी सेवाग्राहिलाई जानकारी गराएको हो ।

बैंकले हाल ललितपुर जिल्ला, ललितपुर महानगरपालिका १४, सातदोबाटोमा रहेको शाखा कार्यालय सोही महानगरपालिकाको वडा नम्बरमा १५ सातदोबाटोमा स्थानान्तरण गर्ने भएको छ ।

बैकका अनुसार हाल कायम रहेको शाखा कार्यालयबाट १ सय मिटरको दुरीमा सो कार्यालय स्थानान्तर गरिने भएको छ

पालिका प्रमूख सिंह द्वारा एक्सरे मेसिन हस्तान्तरण

रौतहट ४ जेठ। रौतहटको पूर्वी भेग दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंहले प्राथमिक स्वास्थ्य केन्द्र गंगा पीपरामा डिजिटल एक्सरे मेसिन  हस्तान्तरण गरेको  छन् । अध्यक्ष सिंह ले सनिवार एक समारोह बीच उक्त मेसिन स्वास्थ केन्द्र लाई हस्तान्तण गरेका हुन्। विरामीको निशुल्क सेवाका लागि उपलब्ध गराएको एक्सरे मेसिन  सञ्चालन गरिएको छ।

एक्सरे मेसिनको उद्घाटन गर्दै अध्यक्ष सिंहले उपलब्ध प्रविधिबाट स्वास्थ्य सुरक्षाको बारेमा जानकारी लिन सजिलो हुने र परीक्षणको आधारमा उपचार प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए । 

देवाही गोनाहिको प्रमुखमा उपसचिव यादव हाजीर, मेयर उपमेयरको बिवाद मिल्ने आशा 

रौतहट ४ असार। लामोसमय देखि विवादको घेरामा रहेकाे रौतहटको देवाही गोनाही नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी उपसचिव शम्भु यादवले पाएका छन्।

उपसचिव यादव आईतवार बिधिवतरुपमा नगरको कार्यालयमा हाजीर भएका छन्। सो अवसरमा मेयर प्रेमलाल साहले प्रमुख प्रशासकिय अधिकृत शम्भु यादवलाई माला र खाँदा ओढाएर सम्मान सहित स्वागत गरेका थिए। मेयर साहले उनको कार्यकाल सफलताको शुभकामना समेत दिएका थिए। सो अवसरमा देवाही गोनाही नगरपालीकाका निर्वाचीत जनप्रतिनिधिका साथै विभिन्न पार्टीका नेता कार्यकर्ताको साथै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको बाकलो उपस्थिती रहेको थियो। नया प्रशासकीय अधिकृत यादवले शुक्रवार आफ्नो कागजात नगरपालीकामा बुझाएर फर्केका थिए। उक्त अवसरमा कुनै बिवाद नहोस भनेर नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका गरी १५० भन्दा बढी जनशक्ती उपस्थित राहेका थिए।

गृह प्रशासनमा काम गरिसकेका नया प्रमुख प्रशासकिय अधिकृत शम्भु यादवले बिशेषरुपमा पहल गरेर मेयर प्रेमलाल साह र उपमेयर प्रणीया पटेल लाई मिलाउनेमा नगरबासी विश्वस्त रहेको जिल्ला समन्वय समिति रौतहटका पूर्व उप सभापती रामअसिस यादवले बताएका छन। पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभू साह तत्कालिन एमालेका प्रदेश अध्यक्ष रहेको समय देवाही गोनाही नगरपालीकाका मेयर प्रेमलाल साह र उपमेयर परणिया देवी पटेल दुवैजना एमालेको टीकट बाट चुनावमा निर्वाचित भएका थिए । गत संसदिय निर्वाचनमा प्रभू साह एमाले छोडेर आमजनता पार्टी दर्ता गराए पनि मेयर उपमेयर भने एमाले मै रहेकाे देखिन्छ।  तथापि दुवैजना बीच बिवाद भएकाे कारण नगरको सम्पूर्ण कामकाज प्रभावित भएकाले दुवैजना लाई मिलाउन एमाले पार्टी नेतृत्वले  तत्काल पहल गर्नुपर्ने अवस्था देखिन्छ।

सञ्जय मिश्रा