१९ लाख भन्दा बढिको मोबाईलका डिस्प्ले बरामद

बाँके, ३ असार । बाँके जिल्लाको नेपालगंञ्ज उपमहानगरपालिका १६ जयसपुर ईलाकाबाट १९ लाख २६ हजार रुपैयाँ बराबरको मोबाईलका डिस्प्ले सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको १२ सय ८४ थान मोबाईलका डिस्प्ले नं. ३० बागेश्वरी गण बाँकेले बरामद गरेको हो ।

बरामद मोबाईलका डिस्प्ले भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।

भोलिदेखि काठमाडौँ महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलिदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ। 

‘आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने तयारी गरेको महानगर स्रोतले जानकारी दिएको छ । 

काठमाडौँका मेयर बालेन साहले शुक्रबार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कूटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गरेका थिए।

तीन दिन बितिसक्दा पनि भारतमा प्रदर्शन भइरहेको उक्त विवादित अंश फिल्मबाट नहटाइएपछि सबै हलहरूमा नगर प्रहरीहरूले भोलिदेखि भारतीय फिल्म प्रदर्शन नगर्न आग्रह गर्ने जनाइएको छ । 

यस्तै, बालेनले उक्त विवादित अंश नेपालमा मात्र नभई भारतमा समेत तीन दिनभित्र हटाउनु पर्ने र नहटाए महानगरभित्र सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका थिए।

अख्तियारमा एकवर्ष भित्र हजारौं उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत १० महिनाको अवधिमा झण्डै साढे २२ हजार उजुरी परेको विवरण राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई जानकारी दिएको छ । समितिसँग आज भएको छलफलमा उक्त जानकारी दिइएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई

राष्ट्रिय सरोकार समितिले छलफलका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सहितका पदाधिकारीलाई बोलाएको थियो । यसक्रममा १० महिनामा परेका उजुरीबारे जानकारी दिइएको हो । 

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएका कामकारबाहीहरू, प्रमुख सवाल तथा समस्या, आयोगका सिफारिस कार्यान्वयन अवस्था, भावी कार्य योजना, समितिसँगको अपेक्षा र सहकार्यका क्षेत्रका बारेमा छलफल गर्न प्रमुख आयुक्त राईसहित आयुक्तहरू किशोर कुमार सिलवाल, जयबहादुर चन्द, डा. हरि पौडेल, डा. सुमित्रा श्रेष्ठ र सचिव रामेश्वर दंगाललाई छलफलका लागि बोलाएको थियो ।  

सचिब रामेश्वर दङ्गालले के प्रस्तुत गरे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल

छलफलका क्रममा अख्तियारको तर्फबाट सचिव रामेश्वर दंगालले हालसम्म भएका काम कारबाही, प्रगति विवरण समितिमा प्रस्तुत गरेका छन् ।  उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी संसदमा विचाराधीन अवस्थामा रहेको विधेयक छिटो अघि बढोस् भन्ने चाहना रहेको बताए । उनले सरकारी कामसँग जोडिएका निजी संस्था र एनजिओमा पनि अनुसन्धान गर्ने व्यवस्था राख्नुपर्नेमा जोड दिए ।  
सचिव दंगालले समितिको आइतबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म २२ हजार ३५५ उजुरी परेको जानकारी गराएका हुन् । तीमध्ये करिब आधा मात्र अर्थात् १२ हजार ५९२ उजुरीमात्र फर्छ्यौट भएको छ । २३० वटा मुद्दामा पुनरावेदन गर्दा गराएको अख्तियारले जनाएको छ ।

कसुर स्थापित भएको प्रतिशत पनि २०७९/८० मै सबैभन्दा कम छ । यो आर्थिक वर्षमा जम्मा ३०.७ प्रतिशत कसुर स्थापित भएको छ । सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा ८८.२४ प्रतिशत कसुर स्थापित भएको अख्तियारका सचिव दंगालले जानकारी दिए ।

प्रतिशतका हिसाबले सबैभन्दा बढी उजुरी फर्छ्यौट २०७८/७९ मा ७०.५६ प्रतिशत भएको छ । यसैगरी सबैभन्दा कम २०७९/८० मा ५६.३३ प्रतिशत उजुरी फर्छ्यौट भएको छ । अख्तियारका अनुसार २०७४/७५ मा १९४८८, २०७५/७६ मा २४०८५, २०७६/७७ मा २५१५२, २०७७/७८ मा २२६२५ र २०७८/७९ मा २४३३१ उजुरी दर्ता भएको छ । यसरी प्रस्तुति हेर्दा प्रमुख आयुक्त प्रेमकुमार राई प्रमुख आयुक्त भएर आएपछि अख्तियारमा उजुरी बढेको देखिन्छ भने पर्छ्योट संख्या पनि त्यतिकै बढी भएको देखिन्छ । सचिब दङ्गालद्वारा प्रस्तुत गरिएको बिषयका तथ्यांकअनुसार पछिल्लोपटक अख्तियरले दायर गरेका मुद्दा लाई हेर्दा यस्तो अवस्था पनि सुशासनको रफतारले गति लिएको छ सजिलै भन्न सकिन्छ। तथ्यांकले अख्तियारको सकृयतालाई समेत पुष्टि गरेको छ।

प्रस्तुत गरिएको पुर्ण बिवरण:-

वामदेव गौतम एमालेमा सक्रिय हुन तयार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासलस्थित पार्टी कार्यालय पुगेका वामदेव गौतमले एक घन्टा लामो भेट गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि वामदेव गौतम उत्साहित भएका छन् ।

एमालेले ७० वर्षे उमेर हदको प्रावधान हटाएपछि नेता गौतम पार्टी अध्यक्ष ओलीलाई भेट्न च्यासल पुगेका थिए । एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमको एमालेमा फर्किने बाटो खुला भएको थियो । भेटमा ओलीले गौतमलाई पार्टीमा सक्रिय भएर लाग्न आग्रह गरेका छन् ।

आफू पहिल्यै एमालेमा सक्रिय रहन इच्छुक भए पनि समूहको व्यवस्थापन नटुंगिएकाले ढिलाइ भएको उनले बताए ।

‘म पहिल्यै एमालेमा आएर सक्रिय हुन खोजेको हो, तर साथीहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा कुरा मिलिसकेको छैन,’ ओलीसँग भेटेपछि गौतमले भने, ‘अहिले चुनौतीको बेला छ, आगामी चुनावमा ६० लाख भोट कटाउनेगरी काम गर्नुपर्छ । म पार्टीमा सलाम गर्न, सलाम खाएर बस्न आउने होइन, खटेर काम गर्न आउने हो ।’

एमालेमा ७० वर्षे उमेरहद फुकाउने निर्णय वामदेवकै व्यवस्थानका लागि भनेर पार्टी नेताहरुले भनिसकेका छन् । एमाले कार्यालय स्रोतका अनुसार गौतम ओलीसँग भेटेपछि उत्साहित छन् ।

खपत नभएको बिजुली मात्र हामीले बेच्ने होः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र लोडसेडिङ गराएर भारतमा बिजुली नबेचेको बताएका छन्।आइतबार पत्रकार सम्मेलन गर्दै घिसिङले नेपालमा विद्युत कटौती गरेर भारत पठाएको भन्ने सामाजिक सञ्जालमा आएका टिप्पणी सत्य नभएको बताए।

‘उत्पादन भएर यहाँ खपत नभएको बिजुली मात्र हामीले बेच्ने हो,’ उनले भने, ‘हामी पिक समयमा पनि ४०० देखि ५०० मेगावाट बिजुली बिक्री गर्न सक्छौं।’

प्राधिकरणले प्रयोग गरिरहेको सिस्टममा आएको समस्याका कारण केही समय अघि नेपालले गडबडी झेल्नुपरेको उनले बताए। अहिले नेपालको विद्युत खपत २००० मेगावाट पुगेको छ। कुल उत्पादन क्षमता २७०० मेगावाट छ। सधै क्षमताअनुसार सबै बिजुली उत्पादन भने नहुने उनले बताए ।

‘कुनै दिन कुनै आयोजनाको विद्युत उत्पादनमा अवरोध आउन सक्छ। त्यसो हुँदा पनि २५०० देखि २६०० मेगावाट उत्पादन हुन्छ। २००० मेगावाट खपत हुँदा पनि ५०० मेगावाट बढी हुन्छ,’ उनले भने।

पिक समयमाभन्दा अन्य समयमा उत्पादिन विद्युत बिक्री नगरेमा घाटा हुने समेत उनले बताए। प्राधिकरणले विद्युत उत्पादकहरूसँग टेकु अर पेुमा विद्युत खरिद सम्झौता गरेको हुन्छ। यसरी विद्युत नकिनेमा तिनलाई क्षतिपूर्ति दिनुपर्छ भने यसरी किनेको विद्युत खेर गएमा घाटा हुने भएकाले निर्यात गरिएको उनले स्पष्ट पारे।

नेप्सेमा अज उच्च अंकले वृद्धि, चार अर्ब ८६ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार आज ५२.२६ अंकले बढेर दुई हजार ९४ दशमलब ३३ विन्दुमा बन्द भएको छ । 

शेयर बजार लगातार बढ्दो क्रममा देखिएको छ। विगत ९ दिनदेखि नेप्से सूचक सकारात्मक छ। ९ दिनमा नेप्से १९१ अंकले बढिसकेको छ। गत जेठ २२ गते १९०१.९९ विन्दुमा रकेको नेप्से सूचक आइतबार २०९४.३३ विन्दुमा पुगेको छ। यो अवधिमा नेप्से सूचक लगातार सकारात्मक देखिएको छ।

आज चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १९० कम्पनीको शेयरमूल्य बढेको छ भने २८ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटाको शेयरमूल्य स्थिर रहेको छ ।  

आज ११ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अभियान नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन भेञ्चर हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर नेपाल लघुवित्त वित्तीय संस्था र मेन्छियम हाइड्रोपावरको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था, सिटी होटल लिमिटेड, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, साधना नेपाल लघुवित्त वित्तीय संस्था, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन, नेशनल हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा पनि उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेका छन् ।   

आज सबैभन्दा बढी शुभम् पावर लिमिटेड र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ३६ करोड ६४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

प्याजको मूल्य वृद्धि गरे कारबाही गर्ने चेतावनी

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजको मूल्य बढी लिए कारबाही गर्ने बताएको छ । विभागले  एक सूचना निकालेर कारबाही गर्ने बताएको हो ।

सरकारले बजेट मार्फत प्याजमा भ्याट लगाएपछि धेरैमा ६० रुपैयाँ रहेको प्याज प्रतिकेजी १ सयभन्दा धेरै मूल्य पुगेको छ । बजारमा प्याजको मूल्यमा अस्वाभाविक उतार चढाव महसुस हुनासाथ विभागले सतर्कतापूर्वक बजारको आपूर्ति प्रणाली अध्ययन-अनुगमन गरिरहेको छ ।

अनुगमनको क्रममा कानूनले तोकिदिएको दायित्व पुरा नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कडा कार्यवाही हुने छ, विभागले लेखेको सूचनामा भनिएको छ ।

नेपालको शतकीय साझेदारी, कुशल र आसिफ क्रिजमा

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा अहिले टेस्टराष्ट्र जिम्बावेविरुद्ध खेलिरहेको छ। गृहमैदान हरारेमा जिम्बावेले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । 

संयमित रूपमा इनिङ सुरु गरेको नेपालले कुनै विकेट नगुमाई शतकीय साझेदारी गरेको छ । २७औँ ओभरमा नेपालले रन पूरा गरेको हो । 

कुशलले ज्१२ चौका २ छक्काकाे सहयोगमा ८२ बलमा ८७ रन बनाएका छन् । यस्तै, आसिफले ३ चौकाको सहयोगमा ८० बलमा ४३ रन बनाएका छन् । 

घरेलु मैदानमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल छनोटमा स्थान बनाएको नेपाल उही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा छ ।

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार? 

काठमाडौं  । चालु साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला ८०० रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला २०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो ।

मेयर उपमेयर बीच बिवादले देवाही गोनाहिको सम्पुर्ण कामकाज प्रभावित

रौतहट ३ जेठ। रौतहटको देवाही गोनाहि नगरपालीकामा मेयर प्रेमलाल साह र उपमेयर परानिया देवी पटेल बीच विवाद हुँदा विकास निर्माणका साथै नगरको सम्पूर्ण कामकाज प्रभावित भएको छ।  नगर स्थित सरकारी अस्पताल आहिले चर्चाको विषय बनेको छ। यो अस्पतालको बिषय चर्चामा भएपनि यस बाहेक नगरको सम्पूर्ण कामकाज प्रभावित भएको छ।  नगरपालीकाको उपमेयर  र अस्पतालका प्रमुख डाक्टरले छुट्टाछट्टै अस्पताल अलपत्र हुनुमा आफूहरुको कुनै दोष नरहेको सफाई दिएका छन। दुईदिन अघि एकजना कलाकारले अस्पतालको अबस्था बारे सामाजिक सञ्जाल फेसबुकमा भिडियो राखेपछि उपमेयर परणिया देवी पटेल र अस्पतालका डाक्टरले सनिवार सफाई दिने प्रयास गरेको देखिन्छ।

उपमेयर पटेलले अस्पतालको लागि १ करोड रुपैयाँ छुट्याएकोले सेवा प्रभावित हुनुमा मेयर र स्वास्थ प्रमुख दोषी रहेको दावी गरेकी छिन। त्यसैगरी अस्पातालका प्रमूख डाक्टरले भने नगरपालीकाले माग अनुसारको औषधि तथा जनशक्ती नदिएकाले सेवा प्रभावित भएको भन्दै पन्छिएका छन। तर एकवर्ष देखि अस्पतालको अबस्था दयनीय हुँदा कसैकाे ध्यान नगएको स्थानीयहरूले बताउँदै आएका छन।

गोनाही अस्पतालमा भाडामा एक्सरे मेसिन ल्याएर केहि समय अघि संचालन गर्नु र हाल अचानक एक्सरे मेसिन गायब भएको छ। अस्पतालमा रहेको भिडीयो एक्सरे मेसिन सञ्चालन भएकाे छैन।

सरकार बाट प्राप्त हुने औषधि मध्ये मात्र १० ।१५ किसीमको छ भने अस्पतालमा सामान्य औषधि रुवा, पटी, सिरिन्ज जस्ता सामान नहुँदा दैनीक उपचार गराउन आउने बिरामी मर्कामा परेका छन।

डेवाही गोनाहिमा मेयर उपमेयर बीच लामोसमय देखि चलेको बिवादको कारण अस्पताल मात्र नभई सम्पुर्ण विकास निर्माणको काम समेत प्रभावित भएको छ। नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृतको रूपमा उपसचिव शम्भु यादव आईसकेका छन्। नया प्रशासकीय अधिकृत यादव लाई हाजीर हुन दिनेकी नदिनेमा मेयर उपमेयर पक्ष बीच ठूलो बिवाद भएकाे थियाे। उक्त विवादकै बीच नया प्रशासकीय अधिकृत यादवले शुक्रवार आफ्नो कागजात नगरपालीकामा विझाईसकेका छन। उक्त अवसरमा कुनै बिवाद नहोस भनेर नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका गरी १५० भन्दा बढी जनशक्ती उपस्थित राहेका थिए। गृह प्रशासनमा काम गरिसकेका नया प्रमुख प्रशासकिय अधिकृत शम्भु यादवले बिशेषरुपमा पहल गरेर मेयर प्रेमलाल साह र उपमेयर प्रणीया पटेल लाई मिलाउनेमा नगरबासी विश्वस्त रहेको जिल्ला समन्वय समिति रौतहटका पूर्व उप सभापती रामअसिस यादवले बताएका छन। पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभू साह तत्कालिन एमालेका प्रदेश अध्यक्ष रहेको समय देवाही गोनाही नगरपालीकाका मेयर प्रेमलाल साह र उपमेयर परणिया देवी पटेल दुवैजना एमालेको टीकट बाट चुनावमा निर्वाचित भएका थिए । गत संसदिय निर्वाचनमा प्रभू साह एमाले छोडेर आमजनता पार्टी दर्ता गराए पनि मेयर उपमेयर भने एमाले मै रहेकाे देखिन्छ।  तथापि दुवैजना बीच बिवाद भएकाे कारण नगरको सम्पूर्ण कामकाज प्रभावित भएकाले दुवैजना लाई मिलाउन एमाले पार्टी नेतृत्वले  तत्काल पहल गर्नुपर्ने अवस्था देखिन्छ।

करेन्ट लागेर फेरी १ को मृत्यु रौतहटमा २ दिनमै ३ युवकको ज्यान गयो 

रौतहट ३ असार। रौतहट जिल्लाको परोहा नगरपालिका  ५ मा बस्ने २५ वर्षिय अबुलैस मिया कवारीको विद्युतको करेन्ट लागेर मृत्यु भएको छ। गर्मी बाट बच्न गएराती आफ्नो घरमै पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो । दुईदिन भित्र रौतहटमा करेन्ट लागेर ३ जना युवाको ज्यान  गएको छ । यस अघि  विद्युतमोटर बाट करेन्ट लागेर रौतहटको दक्षिणिभेग बौधीमाई नगरक्षेत्र अन्तर्गत  शुक्रवार राती २ जना युवकको ज्यान गएको थियो। मृत्यु हुनेमा बौधिमाई ५ कोपवा गाउँका अमर साहको छोरा वर्ष २५ को अरुण साह र भिखारी पण्डितका छोरा वर्ष २६ को  सिताबी पण्डित रहेकाे जिल्ला प्रहरी प्रवक्ता डिएसपि उमाशंकर यादवले बताएका छन।

 ट्युवेल धारामा विद्युत मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुण साह लाई विद्युत प्रवाह भएर करेन्ट लागेको थियो।  साहलाई  बचाउन खोज्दा पण्डितलाई पनि करेन्ट लागेर दुवैजना अचेत भएका थिए। तत्काल एम्बुलेन्स बाट दुवैजना लाई उपचारको लागि प्रादेशिक अस्पाताल गौर लैजाँदा डाक्टरले दुवैजना लाई मृत घोषणा गरेको डिएसपि यादवले जानकारी दिएका थिए। रौतहट संसदिय निर्वाचन क्षेत्र २ का संघिय सांसद किरण साहले गाएराती करेन्ट लागेर मियाँको निधन प्रती दुःख ब्यक्त गरेका छन।

मधेशमा भईरहेको भ्रष्टाचार विरुद्ध प्रतिकार गर्ने आमजनता पार्टीको निर्णय

रौतहट ३ असार। पूर्व मन्त्री तथा आम जनता पार्टी का अध्यक्ष प्रभु साहले मधेश प्रदेशमा भईरहेको भागबण्डा र बिक्री वितरण सहितको भ्रष्टाचार विरद्ध जनसंघर्षको अपरिहार्य आवश्यकता रहेकाे जिकिर गरेका छन।
शनिवार जनकपुरमा आम जनता पार्टी द्वारा आयोजित  अगुवा कार्यकर्तासंगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले शुक्रवार मधेश सरकारले ल्याएको बाँड्ने,चाट्ने र लुट्ने बजेटको विरोध गर्ने समेत निर्णयमा पुगेको बताएका थिए  । अध्यक्ष साहले यो बजेट आम जनताको नभभै नेता मुखी भएकाे आरोप लगाएका छन।
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ। उनले बजेट आफ्नो आसोपासे कार्यकर्तालाई मात्र काम लाग्ने वजेट भएकोले त्यस्ता बजेट ल्याउने प्रती आम जनतालाई विरोध गर्न ,आफ्नो कार्यकर्तालाई विरोध सहित आम जनतालाई बुझाउने कार्य काम गर्न समेत निर्देशन दिएका थिए। उक्त अवसरमा आजपा  केन्द्रीय कमिटी देखी जिल्ला स्तरको नेता तथा कार्यकर्ताहरु उलेख्नीय उपस्थित थिए।

रौतहटमा सशस्त्रद्वारा भारतीय नम्बर पेल्टको बोलेरो बरामद

रौतहट ३ असार ।  रौतहट स्थित सशस्त्र प्रहरीको टोलिले भारतीय नम्बरको बोलरो गाडी बरामद गरेको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी अस्थाई बेस क्याम्प दुधियाभारका प्रमुख इन्स्पेक्टर आवेश पुन को कमाण्डमा गएको टोलिले शिवनगर स्थित उक्त गाडी बरामद गरेको हो।

इन्सपेक्टर पुनको टोलिले गरुडा ५ शिवनगर स्थित चेकजाँचको क्रममा भन्सार महशुल नतिरेको बिआर २२ प १९५७ नम्बरको भारतीय बोलेरो गाडी बरामद गरेको  सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेक्वा रौतहटका प्रमुख एसपी माधव रेग्मीले बताएका छन ।  बरामद गाडीको ७ लाख रुपैयाँ मूल्यांकन सहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको एसपी रेग्मीले जानकारी दिएका छन । पछिल्लो समय राैतहटमा भारतिय गाडीको अत्यधिक चहल पहल बढेको छ।  

भोलि समाजवादी मोर्चा घोषणा गर्ने सहमति

काठमाडौं । समाजवादी मोर्चा भोलि घोषणा गर्ने नेताहरूबीच सहमति भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफलले भोलि मोर्चाको घोषणा गर्ने सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए ।

राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर भोलि मोर्चा घोषणा गर्ने सहमतिका साथ नेताहरू उठेका छन् ।

उनले भने, ‘मोर्चामा सुरूदेखि नै चार दलबीच गर्ने सहमति भएको हो । बाबुराम भट्टराई नेतृत्वको नेसपाबारे चाहिँ मलाई थाहा छैन ।’

यो मोर्चाको नेतृत्व सबै दलका नेताहरूले आलोपालो गर्ने सहमति भइसकेको छ । यो मोर्चा घोषणा भएपछि प्रधानमन्त्री प्रचण्डले तत्काल ५४ सीटको नेतृत्व गर्नेछन् । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ ।

१ जनाको मृत्यु, हाइड्रोपावरका १७ मजदुर सम्पर्कविहीन: सङ्खुवासमा बाढी

 सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ। अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ।

बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ। बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ ।

घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ।