राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीद्वारा सपथ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्य सचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका छन् ।

पूर्व मुख्य सचिब बैरागीले आजै राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ पनि लिएका छन्। बिहिबार सिहंदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई सल्लाहाकारको सपथ ग्रहण गराएका हुन्। पूर्व मुख्य सचिव बैरागीको राजिनामा पछि आजै सरकारले मुख्य सचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ।

नक्कली शरणाथी बनाएर ठग्नेमा, दुई गिरोहको साँठगाँठ

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देश पठाउन करोडौं रूपैयाँ उठाएको विषय अहिले सर्वाधिक चासोमा छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै रकम संकलन गर्ने केशव दुलाल र सानु भण्डारीसहितको गिरोहसँग पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहितका उच्चपदस्थको मिलेमतो थियो ।

यो प्रकरणमा मुछिएका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको बयान र पीडितहरूले दिएको उजुरीका आधारमा यो प्रकरणमा विडम्बना के छ भने यी कसुरमा संलग्न दुवै गिरोहलाई देशको शक्तिशाली राजनीतिक दलकाे संरक्षण थियो । इन्टरनेट फिसिङ (जालसाजी) बाट अमेरिकी नागरिकको बैंक खातामा रहेको रकम नेपाल ल्याउने र नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै रकम उठाउने दुई गिरोहका नाइकेहरूबीच साझेदारी रहेको पुष्टि भएको छ ।

त्यस्तै धोकाधडी गरी ५६ जना अमेरिकी नागरिकको खाताबाट ६३ करोड ४६ लाख रुपैयाँ नेपाल ल्याउने पृथ्वी शाहको गिरोहलाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संरक्षण थियो । नक्कली शरणार्थी प्रकरणका नाइके भण्डारी र वित्तीय ठगीका नाइके शाहबीच साझेदारी रहेको पुष्टि भएको छ ।

फरक–फरक अभियोगमा शाह र भण्डारी थुनामा छन् । उनीहरूबीच ठगी कारोबार साझेदारी रहेको प्रहरी अनुसन्धानले देखाएको छ । फोन, इमेल तथा SMSबाट जालोमा पारी अमेरिकी नागरिकको पैसा ल्याएको आरोपमा गत पुस २२ मा पक्राउ परेका शाह पुर्पक्षका लागि कारागारमा छन् । नक्कली शरणार्थी प्रकरणका नाइके भण्डारी पनि गत चैत १२ मा पक्राउ परेयता हिरासतमा छन् ।

अमेरिकी नागरिकहरूलाई इमेल, फोन र SMSबाट जालोमा पारी उनीहरूको खाताको रकम सिधै नेपालका विभिन्न कम्पनीमा जम्मा गरिएको थियो । यसका लागि शाहको गिरोहले टुर्स एन्ड ट्राभल र रेमिट्यान्सको बहानामा १४ कम्पनी खडा गरेको थियो, तर ती सबै कम्पनीको प्रयोजन व्यवसाय होइन, ठगी थियो ।

ठगी प्रयोजनका लागि खोलिएको वर्ल्ड ट्राभल एन्ड इन्भेस्टमेन्ट प्रालिमा शाहका साझेदारका रूपमा सानुकी श्रीमती अञ्जना रजक भण्डारी पनि छिन् । कम्पनीमा अञ्जनाका नाममा १८ हजार ७५० कित्ता र पृथ्वीका भाइ विजयविक्रमका नाममा ६ हजा २२५ कित्ता सेयर छ । विजय पनि पुर्पक्षका क्रममा कारागारमै छन् ।

गिरोहले ‘इन्टरनेट फिसिङ’ बाट अमेरिकी नागरिक डार्लेन पेड्रोन्सेली, स्टेफेन रशेल फार्मर, गिल्बर्टो एच गोन्जालेज, राजिन्दर सिंह ब्रार, डेभिड माइकल फ्रिम्यान, इर्भिङ इ गोशेल, इब्राहिम वाई जाब्रा, एल्भिरा एस रामिरेस, राफेल डोनेज, एन्थोनी मार्टुकी, न्यान्सी जे आइफर्ट, क्याथरिन एल ग्रिनसहित ५६ जनाको रकम चोरी गरेको थियो । सन् २०१७ को अप्रिलदेखि २०२२ को जुलाईसम्म ७३ पटक कारोबार गरी ४५ लाख ४६ हजार अमेरिकी डलर, ३ लाख ४० हजार क्यानेडियन डलर र २२ हजार पाउन्ड स्ट्रर्लिङ गरी ६३ करोड ४८ लाख रुपैयाँ नेपाल ल्याइएको थियो ।

पैसा ल्याउन शाहको गिरोहले पे यु सेन्टर, यु क्यास सर्भिस, टाइम्स टुडे पिस होलिडे, वर्ल्ड फर्स्ट होलिडे, वर्ल्ड एट वर्क कन्सल्टेन्सी, फोर्टिन पिक रिजर्भ कम्पनी खोलेको थियो । त्यस्तै यही गिरोहले वर्ल्ड एक्सपोर्ट एन्ड इन्पोर्ट प्रालि, वर्ल्डवाइड रेमिट, वर्ल्ड ट्राभल एन्ड इन्भेस्टमेन्ट, हन्टिङ रिजर्भ अफ नेपाल, कैलाश एक्जिम, माउन्टेन अपार्टमेन्ट र रोयल न्युल्यान्ड भेन्चर पनि चलाएको थियो । यी कम्पनीका नाममा भित्रिएको ६३ करोड ४८ लाख रुपैयाँ ठगीको भन्दै अमेरिकाको ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको थियो । उक्त रकम भुक्तानी नदिन, अनुसन्धान गरी अमेरिका नै पठाउन फिनसेनको आग्रह आएपछि राष्ट्र बैंकको वित्तीय सूचना केन्द्र (एफआईयू) ले खाता रोक्का गरिदिएको थियो ।

अनुसन्धान जारी रहेकै बेला यो रकम खुलाउन भन्दै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चैत २०७८ मा राष्ट्र बैंकलाई सोझै पत्र लेखेका थिए । राष्ट्र बैंकको स्वायत्ततामा अर्थमन्त्रीको अनधिकृत हस्तक्षेपबारे कान्तिपुरले समाचार लेखेपछि उत्तेजित शर्माले सार्वजनिक कार्यक्रममै भनेका थिए, ‘मन्त्री भएपछि मलाई मर्का पर्‍यो, मलाई अन्याय भयो भन्दै मानिस आउँछन्, अन्याय पर्‍यो भने बोलिदिने काम हाम्रो होइन रु’ अनुसन्धान प्रभावित गर्ने गरी विज्ञप्ति जारी गरेर उनले शाहले ल्याएको पैसा वैदेशिक लगानी भएको दाबी गर्दै नेपालमा लगानीको वातावरण बिगार्न समाचार लेखिएको आरोपसमेत लगाएका थिए ।

अनुसन्धान रोक्न र गिरोहले ल्याएको रकम खुलाउन आतुर देखिएका शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मन्त्रिपरिषद्बाट निलम्बन नै गराएका थिए । उनलाई बर्खास्तसमेत गर्ने उद्देश्यले शर्माका दाजु नाता पर्ने पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानबिन समितिसमेत गठन गरिएको थियो । तर, सर्वोच्च अदालतले कारबाही गैरकानुनी भन्दै अधिकारीलाई काममा फर्कन निर्देशन दिएको थियो । अनुसन्धान अघि बढेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई पक्राउ गरी संगठित अपराधमा मुद्दा दायर गरेको हो । सोही कसुरमा सानुकी पत्नी अञ्जना फरार छिन् । आवरणमा अञ्जना देखिए पनि सानुले नै शाहसँग कारोबार गरेको पाइएको प्रहरी अधिकारीको भनाइ छ ।

शाहसहितको गिरोहले कम्पनी खडा गरी अवैध धन लगानी गरेको अनुसन्धानबाट खुलेको छ । पृथ्वी, उनका भाइ विजयविक्रम, अञ्जनासहितका व्यक्तिले १६ करोड ३० लाख ८० हजार मूल्य देखाएर १३ ठाउँमा जग्गा किनेका थिए । त्यसबारे अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ ।

माफियाको आडमा मुख्यसचिव बन्दै अर्याल

काठमाडौं। सरकारले काबिल मुख्यसचिव शंकरदास वैरागीलाई हटाएर प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेको छ । असार २ गते अनिवार्य अवकाश पाउन लागेका सचिव अर्याललाई माफियाको आडमा मुख्यसचिव नियुक्त गर्न लागिएको श्रोतले बताएको छ । विगतमा सेक्युरिटी प्रेस अनियमिततामा मुछिएका अर्यालले नेपालको दूरसञ्चार क्षेत्र लाई समेत डुबाएका थिए । उनलाई विदेशी र माफियाको इशारामा चल्ने आरोप समेत लाग्ने गरेको छ ।व्यापारिक घरानाको पक्षपोषण गर्दै आएका अर्यालले तिनैको आडमा अवकासको मुखमा मुख्यसचिव बन्ने सौभाग्य पाउन लागेको स्रोतको दाबी छ ।
यता इमान्दारी र कुशलतापूर्वक जिम्मेवारी वहन गर्दै आएका वैरागीलाई भने राजीनामा दिन बाध्य पारी पाखा लगाइएको छ । नेपालको सार्वजनिक प्रशासनमा यो एक विडम्वनापूर्ण घटना भएको विश्लेषकको कथन छ ।
वर्तमान मुख्यसचिव शंकरदास वैरागीलाई मन्त्री स्तरको सेवा सुविधा दिने गरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार, महालेखापरीक्षक वा राजदूतमा व्यवस्थापन गर्ने तयारी भइरहेको श्रोतले जनाएको छ । मुख्यसचिवको कार्यकाल नसकिंदै वैरागीलाई अन्यत्र व्यवस्थापन गर्न लागिएको हो। वैरागी परराष्ट्र सेवाबाट मुख्यसचिव बनेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहालले यस विषयमा छलफल गर्न मन्त्रीपरिषद्को बैठक समेत बोलाएका छन् ।

मुख्यसचिव वैरागीको राजीनामा, अर्याललाई नियुक्त गर्ने तयारी

काठमाडौं। मुख्यसचिव र राजदूत नियुक्ती गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। आजको बैठकमा प्रधानमन्त्री कार्यालयमा रहेका सचिव वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी भएको छ। अहिलेका मुख्यसचिव शंकरदास वैरागीलाई मन्त्री स्तरको सेवा सुविधा दिने गरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार, महालेखापरीक्षक वा राजदूतमा व्यवस्थापन गर्ने तयारी छ।

मुख्यसचिवको कार्यकाल नसकिंदै वैरागीलाई अन्त व्यवस्थापन गर्न लागिएको हो। मुख्यसचिव हुन लागेका अर्याल आगामी असार २ मा अनिवार्य अवकासमा जाने थिए। वैरागी परराष्ट्र सेवाबाट मुख्यसचिव बनेका थिए। उनले राजदूतको रुपमा भारत,चीन र अमेरिका नपाउने भए आफुलाई नेपालमै व्यवस्थापन गर्न प्रधानमन्त्रीसंग आग्रह गरेको स्रोतले जनाएको छ ।

मधेसका साहुमहाजन अध्यादेशले अन्याय गरेको भन्दै आन्दोलनमा

काठमाडौँ । पीडित लेनदेन संघर्ष समिति, मधेश प्रदेशले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश–२०८० तत्काल खारेज गर्न माग गरेको छ । उक्त अध्यादेश खारेज गर्नेतर्फ सरकारले तदारुकता नदेखाएमा चरबद्ध विरोधका कार्यक्रम गर्ने चेतावनी समेत संघर्ष समितिले दिएको छ ।मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यही वैशाख २० गते जारी सो अध्यादेशका प्रावधान पूर्वाग्रही, असमान र अनुचित भएकोले आफूहरु मर्कामा परेको संघर्ष समितिले जनाएको छ ।

धनुषा पीडित लेनदेन संघर्ष समितिका अध्यक्ष विजय कुमार यादव


नियम कानून सबैको लागि समान हुनुपर्नेमा आफूहरुको कुनै राय सुझाव नलिई एकपक्षीय ढंगले अध्यादेश जारी गरिएको समितिका धनुषका अध्यक्ष विजय कुमार यादवले बताउनुभयो । बैंकबाट ऋण लिएर गाउँघरमा समस्या परेकालाई बिनाधितो निःस्वार्थ सेवाको भावनाले सहयोग गरी अड्को फड्को फुकाउँदै आएकोमा अध्यादेशले साहू महाजन तथा मिटरब्याजीको संज्ञा दिएकोमा अध्यक्ष यादवले गम्भीर आपत्ति जनाए ।ऋणीले ऋण तिर्न नमानेको र बैंकले आफूहरुलाई पटक पटक ताकेता गरिरहेको उनले दुःखेसो पोखे । लेनदेन पीडितको हकहितका लागि संघर्ष समितिका धनुषा अध्यक्ष विजयकुमार यादवले विशेष सत्रियताका पहलकदमी तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।
अध्यादेशको दफा ४ मा स्थानीय तह वा स्थानीय तहको वडा समितिको कार्यालयबाट प्रमाणित नगराइएको लेनदेन कारोबारका लिखत छ महिनाभित्र प्रमाणित गराउनुपर्ने प्रावधान उल्लेख छ ।लिखत प्रमाणीकरणका लागि रकम लिने पक्ष उपस्थित हुन नमानेका कारण स्थानीय तहले प्रमाणीकरण गर्न नमानेको अध्यक्ष यादवको कथन छ ।
अध्यादेशको दफा २ मा ऋण असुलीका लागि ऋणीलाई कुनै प्रकारको धम्की दिने वा हिंसा वा शोषण गर्न नपाइने उल्लेख छ । अध्यादेशको दफा ५ मा अनुसन्धान अधिकारीले अनुचित लेनदेन सम्बन्धी कसूरमा अनुसन्धान गर्दा साहूले अस्वाभाविक रुपमा ठूलो रकम घरसारमा ऋण दिएको देखिएमा प्रचलित कानून बमोजिम सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गरी कारवाही चलाइने व्यवस्था गरिएको छ ।
“अध्यादेशले मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (क), मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ३६ तथा मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४को दफा ३० मा गरेको संशोधनप्रति हाम्रो गम्भीर आपत्ति छ” –अध्यक्ष यादवले भने – “हामी साहु महाजन होइनौँ । हामीलाई ऋण दिने बैंक, हामीबाट ऋण लिने ऋणी, सरकार सबैबाट चौतर्फी मारमा परेका छौँ । एक दुई जनाले गल्ती गरेको हुनसक्छ, तर सबैलाई एउटै बास्केटमा राखेर अध्यादेश ल्याइयो । यसमा हाम्रो गम्भीर आपत्ति छ ।”

अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन गर्ने तयारी भइरहेको जानकारी समेत उनले दिए । अध्यादेशका सम्पूर्ण प्रावधान अमान्य भएकोले वदर हुनुपर्ने समितिको माग छ ।

संघर्ष समितिका धनुषा अध्यक्ष विजय कुमार यादवले विवाह, व्रतबन्ध, श्राद्ध, शिक्षा, स्वास्थ्योपचारका लागि पैसा नभएर समस्यामा परेकालाई सहयोग गर्नु कुनै अपराध नभएको बताए । यसबाट मधेशका ग्रामीण भेगका विपन्न नागरिकलाई जीवनयापन, सामाजिक, सांस्कृतिक कार्य गर्न, बिरामी भएको बेला उपचार गर्न, सन्ततिको शिक्षादीक्षा र पालनपोषण गर्न गम्भीर समस्या हुने अध्यक्ष यादवको भनाई छ ।

सिरहा पीडित लेनदेन संघर्ष समितिका अध्यक्ष धनेश्वर यादव


समितिका सिरहा अध्यक्ष धनेश्वर यादवले लोकतान्त्रिक मूल्यमान्यताविपरीत र निरङ्कुश अध्यादेश तत्काल खारेज नभए कडा आन्दोलनको आँधिबेहरी सिर्जना गर्ने चेतावनी समेत उनले दिए । अध्यादेश खारेज गरी सरकारले आफ्ना माग तत्काल सम्बोधन नगरेमा असार ५ गते काठमाडौँका विभिन्न स्थानमा आन्दोलनका कार्यक्रम गर्ने संघर्ष समितिले जनाएको छ ।
पीडित लेनदेन संघर्ष समिति, मधेश प्रदेशले विभिन्न जिल्लामा जिल्ला समिति समेत गठन गरेको जनाएको छ । समिति जिल्ला अध्यक्षमा महोत्तरी– शेखर मिश्रा, सप्तरी–रामकिसुन यादव, पर्सा–सुनिल पाण्डे, बारा–रामेश्वर यादव, सर्लाही–चन्दनकुमार यादव, रौतहट–शेषनाथ यादव चयन भई अध्यादेशको सशक्त प्रतिकारमा उत्रिएका छन् ।
अनुचित लेनदेन सम्बन्धी कार्यलाई कसूर कायम गर्नको लागि मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई तत्काल संशोधन गर्न भन्दै सरकारले सो अध्यादेश ल्याएको थियो । अध्यादेशका प्रावधानका कारण अर्थतन्त्रका केही क्षेत्रमा अपूरणीय क्षति पुग्ने समितिको धारणा छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय मान्यताविपरीत भूतप्रभावी कानून बनाउँदा संविधानप्रदत्त मौलिक हकको हनन समेत भएको संघर्ष समितिको भनाई छ । यसबाट निजी क्षेत्रको कानूनी राज्यप्रतिको विश्वास समेत टुट्ने समितिले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणः थुनछेक बहस सकिने सम्भावना

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहस बिहीबार सकिने सम्भावना रहेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेले ‘भोलि जसरी पनि सक्नुपर्छ’ भनेर बुधबार इजलास टुंग्याएका थिए ।
प्रतिवादीका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्न लगाएर उनले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी वा साधारण तारिखमा छाडेर मुद्दा किनारा लगाउने भन्ने आदेश दिनेछन् ।
इलजासमा बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र पूर्वसांसद आङ्टावा शेर्पाका कानुन व्यवसायीहरूले बहस गरेका थिए । बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट १६, हरिभक्त महर्जनका तर्फबाट दुई र उनकी पत्नी लक्ष्मी महर्जनका तर्फबाट एक जना अधिवक्ताको बहस हुनेछ । त्यसलाई खाजाअघिको समयमै सक्ने योजनामा न्यायाधीश न्यौपाने रहेका छन् ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ आज हुँदै

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ बिहीबार हुँदैछ।

सुनुवाइ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ जेठ ३२ गते अर्थात् आजका दिन गर्ने कार्यतालिका तय गरेको थियो।

सोही कार्यतालिका अनुसार आज सुनुवाइ हुने र आजनै सो प्रस्तावलाई अनुमोदन गर्ने तयारी हुन थालेको हो।

बुधबार उजुरीकर्ताको छलफलपछि आज बिहान ८ बजे सुनुवाइ समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको छ।

समितिले बुधबार ७ जना उजुरीकर्तासँग एकल रुपमा र बाँकीसँग सामूहिक रुपमा छलफल गरेको थियो। कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन्।

गत वैशख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो।

बागमतीसहित तीन प्रदेशमा चट्याङ्गसहित वर्षा हुने

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू(भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू(भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखी मौसम सामान्यतया सफा रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यस्तै, आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखी मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तो छ ३२ जेष्ठ २०८०, बिहीबार आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राज्यबाट मान सम्मान पाइनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज दैनिक कार्यमा प्रगति हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । रोकिएको धन हात पर्ला । राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धर्म कर्ममा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभ पनि रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च पनि रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्न पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनगम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ र दैनिक काममा अवरोधको सामना गर्नुपर्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । शिक्षामा सफलता पनि पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज भाग्यले राम्रै साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र माइलो यात्राको योग रहेको छ । धर्म, कर्ममा मन लाग्नेछ ।

प्रहरीमाथि चक्कु प्रहार

काठमाडौं । ललितपुरको पाटन क्याम्पसनजिकै प्रहरीमाथि चक्कु प्रहार भएको छ । एक किशोरले प्रहरी जवानमाथि चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट प्रहरी जवान सामान्य घाइते भएका छन् ।

ललितपुर पाटनढोकामा रहेको पाटन क्याम्पसनजिकै रहेको एक क्यान्टिनका किशोरले प्रहरी जवानलाई बुधबार दिउँसो चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीमाथि आक्रमण गर्ने युवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घुससहित वडाध्यक्ष र वडा सचिव पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा वडाध्यक्ष र वडा सचिवलाई पक्राउ गरेको छ ।

धनुषाको नगराईन नगरपालिका वडा नं. २ का वडाअध्यक्ष वुलन यादव र वडासचिव अमृतनारायण मिश्र ७० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।

धनुषाको नगराइन नगरपालिकाका वडाध्यक्ष वुलन यादव र वडा सचिव अमृत नारायण मिश्रले सडक निर्माण कार्य सम्पन्न गरिदिए बापत ७० हजार रुपैयाँ घुस लिएको उजुरीको आधारमा यादव र मिश्रलाई अख्तियारले पक्राउ गरेको हो ।

उनीहरूलाई बुधबार नगराईन नगरपालिका वडा नं. २, नगराईन चोकबाट नियन्त्रणमा लिइएको अख्तियार केन्द्रीय कार्यालयका प्रवक्ता भोला दाहालले जानकारी दिए।

थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ’नबिल डिबेन्चर– २०८७’ निष्कासन गर्ने भएको छ। डिबेन्चर निष्कासनको लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जनाएको छ । त्यस्तै बैंकले ऋण पत्र निष्कासनको लागि बिक्री प्रबन्धक समेत नियुक्ति गरेको छ ।
बैंकले डिवेन्चर बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। मंगलबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच दुई पक्षले समझदारी गरेका हुन्। समझदारी पत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्। उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय विनयकुमार रेग्मी र मनोज ज्ञवाली र दुवै संस्थाका वित्तप्रमुखको उपस्थिति रहेको थियो ।
नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ । पुँजीगत आधार थप सबलभई व्यापार वृद्धि तथा जोखिम व्यवस्थापनमा डिवेन्चर निष्कासनले सहयोग पु¥याउने विश्वास गरिएको छ। नबिलबैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालय र १८ विस्तारित शाखा कार्यालयमार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

मकवानपुरमा ५४ लाखको सुन बरामद

हेटौंडा । मकवानपुर प्रहरीले करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोस्टमा यात्रुवाहक बस जाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित वीरगन्जका किसन साहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार बुधवार बिहान करिब ३ बजे प्रदेश २–०३–००१ ख ०१५९ नम्बर बस चेक गर्ने क्रममा बसका यात्री साहले जुत्ताभित्र लुकाइल्याएको उक्त रकम बराबरको ५६१.३० ग्राम सुन बरामद भएको हो । उनलाई पक्राउ गरिएको छ ।

संघीय संसदमा पत्रकारमाथि भएको दुव्र्यवहारप्रति महासंघको विरोध

काठमाडौँ । संघीय संसदमा समाचार संकलनका क्रममा पत्रकार शम्भु दंगाललाई मर्यादापालकबाट गरिएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
जेठ ३० गते मंगलबार प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिले संकक्रमणकालीन न्यायसम्बन्धी विधेयकका लागि गठन गरेको उपसमितिको बैठकको निमन्त्रणा पाएका रातोपाटी डटकम अनलाइनमा कार्यरत दंगाललाई मर्यादापालकबाट समाचार संकलनमा जुटिरहेको अवस्थामा माथिको ओदश भन्दै पाखुरामा समातेर बाहिर निकालेका थिए ।
स्वतन्त्रपूर्वक सञ्चारकर्ममा जुटिरहेका पत्रकारमाथि गरिमामय संसद्को मर्यादापालकबाट भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरुद्ध रहेको छ । महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान र ख्याल गरी यस्ता घटना दोहोरिन नदिइ प्रेसमैत्री वातावरण तयार पार्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

समान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब नाघ्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ। पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसूचकले यस दिन पनि निरन्तरता दिएको हो।

नेप्से साताको कारोबारको चौथो दिन आज नेप्से १६.४२ अंकले बढेर दुई हजार ३७ दशमलब ०६ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से ३४.१७ अंकले बढेर दुई हजार २० दशमलब ६४ विन्दुमा बन्द भएको थियो । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज पाँच अर्ब एक करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब १२ करोड ६६ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार भएका ११० कम्पनीको शेयरमूल्य बढेको छ भने १०० कम्पनीकोे शेयरमूल्य घटेको छ । १३ वटाको शेयरमूलय स्थिर रहेको छ ।  

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९४५ दशमलव ४० रुपैयाँ पुगेको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता १६२ दशमलव ५० रुपैयाँ पुगेको छ ।
छ । 

आज सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब पाँच प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज २८ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशत बढेको छ भने बैंकिङ्ग, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो।