अस्पताल तोडफोड गर्नेलाई कार्वाही गर्न चिकित्सक संघको माग

काठमाडौँ । अत्तरखेल जोरपाटीस्थित नेपाल मेडिकल कलजको सघन उपचार कक्षमा उपचाररत एक बिरामीको विषयलाई लिएर बिरामीका आफन्तले मंगलबार अस्पतालमा तोडफोड गरेको घटनाको नेपाल चिकित्सक संघले निन्दा एवं भत्र्सना गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गालीगलौज गरि अभद्र व्यवहार समेत गरिएको भन्दै संघले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा यस प्रकारको अमानवीय घटना घटाई समग्र स्वास्थ्यकर्मी तथाचिकित्सकहरुको मनोबललाई नै निरुत्साहितपार्ने कार्यमा संलग्न दोषीमाथि छानबिन गरी “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९” बमोजिम कानूनी कारवाही गर्न संघ नेपाल सरकार तथा स्थानीय सुरक्षानिकाय समक्ष जोडदार माग गरेको छ ।
उपचार प्रक्रियामा चित्त नबुझेको अवस्थामा कानूनी बाटो अवलम्बन गर्ने प्रावधान हुँदाहुँदै अस्पताल नै तोडफोड गर्ने जस्तो अपराधिक गतिविधिमा संलग्न हुनु अत्यन्तै दुःखदकार्य भएको संघको विज्ञप्तिमा उल्लेख छ ।

यही जेठ २७ गते नेपाल मेडिकल कलेजमा एकजना बिरामी भर्ना भई उनकोे २८ गते Laparoscopic converted to open cholecystectomy सर्जरी गरी उपचार हुँदै गरेको बिरामीको अकस्मात Hypoxic ischemic encephalopathy भई हाल आई.सी.यू.मा उपचार भईरहेको संघले जनाएको छ ।
उपचारत विरामीको गम्भीर्यतालाई नबुझी अस्वभाविक रुपमा उत्तेजनामा आई अस्पतालमा तोडफोड गर्ने, अस्पतालको शान्तिपूर्ण वातावरणलाई खलल पु-याई बिरामीहरुको उपचारमा खटिने चिकित्सक, तथा स्वास्थ्यकर्मी लगायतलाई मानसिकतनावसिर्जनागरिनु गैर मानवीयकार्य भएको संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक विधेयक २०८० को दफा २६,२७ र २९ खारेज गर्न माग

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका छाता संगठनले आर्थिक विधेयक २०८० को दफा २६,२७ र २९ ले अर्थतन्त्रमा पर्नसक्ने गम्भीर प्रभावलाई मध्यनजर गरी तत्काल खारेज गर्न माग गरेका छन् । उक्त बुँदा खारेज गर्नेतर्फ सरकारले तत्काल तदारुकता नदेखाएमा चरबद्ध विरोधका कार्यक्रम गर्ने चेतावनी समेत ती संगठनले दिएका छन् ।
नेपाल बैंकर्स संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल बीमक संघ र जीवन बीमक संघ नेपाल एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी यसबाट निजी क्षेत्रको कानूनी राज्यप्रतिको विश्वास टुट्ने जनाएका छन् ।

आर्थिक विधेयक २०८० का केही प्रावधानका कारण अर्थतन्त्रका प्रमुख क्षेत्र बैंकिङ्ग, बीमा लगायत समग्र अर्थतन्त्रमा अपूरणीय क्षति पुग्ने जनाएका छन् । मान्यताविपरीत भूतप्रभावी कानून बनाउँदा संविधानप्रदत्त मौलिक हकको हनन समेत भएको ती संगठनको भनाई छ ।
पूँजी योगदानमा कर नलाग्ने अन्तर्राष्ट्रिय मान्यता अनुरुप नै एफपिओबाट प्राप्त हुने प्रिमियम तथा मर्जर एवं प्राप्तिबाट सिर्जना हुने बार्गेन पर्चेज गेनलाई कुनैपनि कानूनी धरातलमा सम्बन्धित संस्थाको आम्दानी मानी कर लगाउने व्यवस्था नेपालको कानूनमा नभएको उल्लेख गर्दै ती संस्थाले आयकर ऐन २०५८ को दफा ५६(३) को अपव्याख्या गरिएको जनाएका छन् ।

जेनेभामा महासंघ उपाध्यक्ष श्रेष्ठको सम्बोधन, नेपालको निजी क्षेत्र व्यापार वृद्धि र मर्यादित रोजगारी सिर्जना गर्न प्रतिबद्ध

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १११ औ सम्मेलनमा नेपालको रोजगारदाताको तर्फबाट जेनेभामा सम्बोधन गर्नुभएको छ ।
सम्मेलनलाई संवोधन गर्ने क्रममा रोजगारदाता परिषदका सभापति श्रेष्ठले कोभिड–१९ महामारीको पीडा सम्पूर्ण विश्वलेनै भोग्नु परेको र यो महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको बताउनु भयो ।
कोभिड महामारीका कारण गएको तीन वर्षमा सामाजिक–आर्थिक गतिविधि र मानव जीवनमा गम्भीर असर पार्नुका साथै महामारिले विकास प्रक्रियालाई नै पछाडि धकेलिदिएको र आर्थिक मन्दीको झट्काको सामना विश्वले गर्नुपरेको सभापति श्रेष्ठले बताउनुु भयो ।
नेपालमा, कोभिड महामारीबाट भएको नोक्सानीको छिट्टै रिकभरीको अपेक्षा गर्दै गर्दा पुनः अर्थतन्त्रमा आएका केही आन्तरिक चुनौतीका कारण आर्थिक गतिविधि सुस्त भएको र अपेक्षाकृत अर्थतन्त्र विस्तार हुन नसकेको बताउनुु भयो ।
विभिन्न चुनौतीहरुका बाबजुद पनि नेपालको निजी क्षेत्र व्यापार वृद्धि, मर्यादित रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको अभिवृद्धि, साना तथा मझौला उद्यमहरूको प्रवद्र्धन र व्यवसायको औपचारिकीकरण गर्न प्रतिबद्ध रहेको उहांले विश्व मञ्चमा प्रतिवद्धता जनाउनुु भयो ।
सभापति श्रेष्ठले परिवर्तित सन्दर्भमा सूचना प्रविधिको बढ्दो प्रयोग, कामगर्ने पद्धतिमा आएको परिवर्तनबाट श्रम बजार र श्रम सम्बन्धमा पनि परिवर्तन आउने र यसबाट रोजगारी कटौती तथा नयां शीपयुक्त जनशक्तिको आवश्यकता पर्ने उल्लेख गर्नुभयो । साथै उहाँले कार्यस्थलको सुधार, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका क्षेत्रमा थप लगानी गर्नु पर्ने आवश्यकतामा जोड दिनुभयो ।
परिषद्का सभापति श्रेष्ठले नेपालमा श्रम ऐन र सामाजिक सुरक्षा ऐन अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरू लागू भइरहेको जानकारी गराउनुु भयो । उहांले भन्नुुभयो–नयाँ श्रम ऐनका प्रावधानहरू सबै कामदारहरूका लागि लागू हुनेछन् र यसले राम्रो कामको अवस्था सुधार गर्न, मर्यादित रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
बाल श्रम उन्मूलन र डिसेन्ट वर्क कन्ट्री प्रोग्राममा राष्ट्रिय गुरु योजना विकास गर्न महासंघ परामर्श प्रक्रियामा सक्रिय रूपमा संलग्न भैरहेको जानकारी गराउंदै उहांले सबै प्रकारका बालश्रम उन्मूलनका लागि रोजगारदाता संगठनले सबै सरोकारवालाहरूसँग नजिकबाट काम गरिरहेको पनि सो अवसरमा वताउनुु भयो ।
सभापति श्रेष्ठले नीतिगत सुधार, सीप विकास, पेशागत सुरक्षामा महासंघको मुख्य जोड रहेको र सोही अनुसार कार्यक्रम पनि भैरहेको जानकारी गराउनुु भयो ।
सभापति श्रेष्ठले नेपालको रोजगारदाता संस्थाले नीतिगत सुधार एवं केन्द्र, प्रदेश र स्थानीय सबै तहमा सामाजिक संवादको संयन्त्रको सवलीकरण गर्ने काम गरिरहेको र रोजगारदाता संस्थाले तय गरेका रणनीति तथा कार्यक्रमहरू रोजगारी सिर्जना, आर्थिक वृद्धि र व्यसायको दीगोपनमा केन्द्रीत रहेको उल्लेख गर्नुभयो ।
१७६ भन्दा वढी मुलुकका सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिहरूको सहभागिता रहेको आइएलओ सम्मेलन जून ५ देखि शुरु भएको थियो भने सम्मेलन जुन १६ सम्म चल्ने छ ।
सम्मेलनमा महासंघको रोजगारदाता परिषद्का सभापति श्रेष्ठको नेतृत्वमा शिक्षा, सिप विकास तथा रोजगार समितिका सभापति गोपाल खनाल,नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक कुमार अग्रवाल (टेमानी), महासंघका वरिष्ठ परामर्शदाता हंसराम पाण्डेले सहभागिता जनाउनुभएको छ ।

सुनको मूल्य घट्यो, कारोबार कतिमा हुँदै छ ?

काठमाडौँ। नेपाली बजारमा आज (बुधबार) सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

शिक्षण पेशाप्रति आकर्षण बढाउन निस्टाले सांगठनिक र शैक्षिक कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ । शिक्षण पेशाप्रति आकर्षण घट्दै गएकोमा यसले गुणात्मक र दिगो सिकाईमा नकारात्मक असर पारेको नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ(निस्टा)ले आङ्कलन गरेको छ ।विशेषतः निजी विद्यालयको शिक्षण पेशालाई आकर्षक बनाउन नियुक्ति पत्र लगायत न्यूनतम तलब सुविधाको प्रत्याभूति गराउन सांगठनिक र शैक्षिक कार्यक्रम अघि बढाउने निर्णय गरेको निस्टाका केन्द्रीय अध्यक्ष भोलानाथ चालिसेले बताउनुभयो ।
निस्टा केन्द्रीय समितिद्वारा आयोजित प्रथम चरणको पाँच दिवसीय सांगठनिक भ्रमण मंगलबार समापन भएको छ। कोशी र मधेश प्रदेश लक्षित भ्रमणका क्रममा संगठन विस्तार, रायसुझाव संकलन र भावी रणनीति तर्जुमा सम्बन्धी कार्य गरिएकोसो अवसरमा दर्ताबिना सञ्चालित निजी विद्यालयहरुलाई कानूनी दायरामा ल्याउन सम्बन्धित स्थानीय तहलाई निस्टा जिल्ला समितिले सुझावसहितको निवेदन दिने निर्णय समेत गरिएको अध्यक्ष चालिसेले जानकारी दिनुभयो ।

यसैबीच निस्टाले नेपाल ट्रेड युनियन कांग्रेसको आगामी असार पहिलो साता हुने महाधिवेशन महाधिवेशनमा पर्यवेक्षकको रुपमा सहभागिता जनाउने भएको छ ।

विद्युत निर्यातको युगमा प्रवेश गर्दै नेपाल विद्युत प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले  विगतको उच्च लोडसेडिङ्ग निवारण गरी आन्तरिक उपभोगबाट बचत भएको विद्युत छिमेकी मुलुकमा निर्यात गर्न सक्षम भएको छ  । नेपालको उर्जा प्रणालीमा वचत भएको विद्युत उर्जा निर्यात गरी मुलुकको अर्थतन्त्रको मजबुत आधारशीलाको रूपमा योगदान पु-याउने प्रयास प्राधिकरणले गरिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  हाल नेपालबाट भारतले ४५० मेगावाट बिजुली आयात गरिरहेको जानकारी दिँदै आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको बताएका थिए । प्रधानमन्त्री दाहालको भारत भ्रमणकै दौरान फुकोट कर्णाली जलविद्युत् आयोजना र तल्लो अरुण जलविद्युत् आयोजना निर्माण सम्झौता भएको थियो । यी आयोजना निर्माणपछि नेपालबाट भारत आयात हुने बिजुलीको परिमाण बढ्ने ऊर्जाविद्को भनाई छ ।

प्राधिकरणले ढल्केबर मुजफ्फरपुर ४०० केभी ट्रान्समिसन लाइनबाट विशेषगरी वर्षायाममा भारतलाई विद्युत उपलब्ध गराइरहेको जनाएको छ । यसबाट प्राधिकरणलाई आर्थिक लाभ हुनुको साथै विदेशी मुद्रा आर्जन भएको छ । राज्यको सर्वाङ्गिण विकास दिनप्रतिदिन उर्जासँग निर्भर हुँदै गएको परिप्रेक्ष्यमा उर्जा विकासमा समर्पित प्राधिकरणले विद्युत उत्पादन, प्रसारण र वितरणको आधारभूत जिम्मेवारी पूरा गरी नागरिकहरू समक्ष जनविश्वास आर्जन गर्न सफल भएको छ ।

विपन्न नागरिकलाई नि:शुल्क स्मार्ट मिटर वितरण गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ

 स्वदेशी इन्जिनियरिङ्ग सिप, कला र विज्ञानको संयोजन गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत उर्जाको विकास, विस्तार तथा स्तरोन्नति गरी उज्यालो नेपालको महान अभियानमा सार्थक योगदान पुर्‍याएको छ भने आयातित महंगो पेट्रोलियम इन्धनको परनिर्भरता घटाउन उद्योग व्यवसायमा विद्युत विस्तार गर्नुका साथै विद्युतीय चुलो, विद्युतीय सवारी साधन लगायतका विद्युतीय उपकरणहरू उपयोगको प्रवद्र्धन गर्दै विद्युतको आन्तरिक खपतमा प्राधिकरणले जोड दिएको छ ।
मुलुकमा विद्यमान सार्वजनिक संस्थानहरू माझ एक उत्कृष्ट, उद्यमशील, सिर्जनशील र उत्पादनशील संस्थाको रूपमा प्राधिकरण क्रियाशील रहेको छ । यस संस्थाले आफ्नो नीतिगत, संरचनागत, प्रकृयागत र व्यवहारगत उद्यमशीलताबाट विद्युत उत्पादन, प्रसारण र वितरण जस्तो गहन जिम्मेवारी पूरा गरेको छ पछिल्लो समयमा मुलुकमा गरिबीको संवेदनशीलतालाई मध्यनजर गरी विद्युत उपभोक्ताहरूको क्रयशक्ति समेतलाई ध्यानमा राखी त्यस्ता उपभोक्ताहरूलाई राहत प्रदान गर्ने गरी विद्युत नियमन आयोग मार्फत सहुलियतमा आधारीत विद्युत महशुल दर निर्धारण गरिएको छ । नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम यस संस्थाले विद्युत उत्पादन, प्रसारण र वितरणको क्षेत्रमा उल्लेख्य रूपमा काम गरिरहेको छ । त्यसैगरी नेपाल विद्युत प्राधिकरणले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउदै लगेको छ । जस अन्तर्गत स्मार्ट मिटर, स्मार्ट ग्रीड, अनलाईन पेमेन्ट, अनलाईन एप्लिकेशन, एनइए अफिसियल एपको प्रयोग लगायतका डिजिटाईज्ड प्रविधिबाट सेवामा सरलीकरण गर्न थालिएको छ ।
विद्युत चोरीको कसुर नियन्त्रणका लागि विशेष ध्यान दिँदै आएको प्राधिकरणले हरित हाइड्रोजन, विद्युतीय सवारी साधन तथा विद्युतीय चुलोको प्रवद्र्धन लगायतका कार्य पनि गरिरहेको छ ।
विद्युत उत्पादनमा प्राधिकरण

२०७९ चैत मसान्त सम्मको अभिलेख अनुसार नेपाल विद्युत प्राधिकरण उत्पादन निर्देशनालयले संचालन तथा उत्पादन गरेको जम्मा जलविद्युत क्षमता ग्रिडमा जोडीएको ५७३.६२ मेगावाट र ग्रिडमा नजोडिएको ४.५४ मेगावाट गरी जम्मा जलविद्युत क्षमता ५७८.१६ मेगावाट, थर्मल विद्युत ५३.४१ मेगावाट, सोलार विद्युत २१.५८ मेगावाट गरी र ने.वि.प्रा. अन्तर्गत रहेका अन्य साना जलविद्युत केन्द्रबाट ४.९८ मेगावाट गरी जम्मा नेपाल विद्युत प्राधिकरणबाट उत्पादित विद्युत ६५८.१३ मेगावाट छ । नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरु बाट ४७८.१ मेगावाट र निजि क्षेत्रको विद्युत १,३२२.१६ मेगावाट गरी नेपालमा जम्मा २,४५८.३९ मेगावाट विद्युत उत्पादन भएको छ । मुलुकको करिब ९३ प्रतिशत विद्युतीकरण कार्य गर्न सफल यस प्राधिकरणले मुलुकभर रहेका वितरण केन्द्रहरु मार्फत (२०७९ चैत मसान्त सम्मको अभिलेख अनुसार सामुदायिक समेत) ५५,३६,४१६ ग्राहकहरुलाई विद्युत सेवा प्रवाह गर्दै आइरहेको छ ।


प्राधिकरण अन्तरगत सञ्चालित जलविद्युत आयोजनाको जडित क्षमता

१) कालीगण्डकी ए जलविद्युत  केन्द्र १४४ मेगावाट

२) मध्य मस्र्याङदी जलविद्युत केन्द्र ७० मेगावाट

३) मस्र्याङदी ज वि केन्द्र ६९

४) कुलेखानी प्रथम ज. वि. केन्द्र ६०

५) माथिल्लो त्रिशुली ३ए ज. वि.केन्द्र ६०

६) दुहवी मल्टीफ्यूल केन्द्र ३९

७) कुलेखानी दोश्रो ज. वि. केन्द्र ३२

८) चमेलिया ज. वि. केन्द्र ३०

९) त्रिशुली ज. वि. केन्द्र २४

१०) हेटौंडा डिजेल केन्द्र १४

११) कुलेखानी तेस्रो ज.बि. केन्द्र १४

१२) गण्डक ज.बि.केन्द्र १५

१३) मोदी ज. वि. केन्द्र १४.८

१४) देबीघाट ज. वि. केन्द्र १५

१५) सुनकोशी ज. वि. केन्द्र १०.०५

१६) पुवा खोला ज. वि. केन्द ६.२

१७) चतरा ज. वि. केन्द्र ३.२

१८) सेती फेवा ज. वि. केन्द्र २.५

१९) पनौती ज. वि. केन्द्र २.४

२०) सुन्दरीजल ज. वि. केन्द्र ०.९७ (सुदृढीकरण गरी ७ कि.वा. भएको)

२१) फर्पिङ ज. वि. केन्द्र ०.५
विद्युत प्रसारण लाइन निर्माण


प्राधिकरणले गत आर्थिक वर्षमा कोशी करिडोर २२० केभी (१०६ सर्किट किमी), सोलु करिडोर १३२ केभी (१८० सर्किट किमी), मस्र्याङ्दी–काठमाडौँ २२० केभी (१६४ सर्किट किमी), मोतीपुर–सन्धिखर्क १३२ केभी (७४ सर्किट किमी), वर्दघाट सर्दी १३२ केभी(२८ सर्किट किमी), बुटवल–मैनहिया १३२ केभी (३६ सर्किट किमी), नयाँ मोदी–लाहाचोक १३२ केभी (४० सर्किट किमी) प्रसारण लाइन सम्पन्न गरेको छ । नयाँ प्रसारण लाइन निर्माण र पुराना लाइन मर्मतको कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।

कार्यकारी निर्देशक घिसिङको प्रभावकारी नेतृत्व

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ

तत्कालीन सरकारले कुलमानलाई २०७३ साल भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो । पहिलो वर्षमै प्राधिकरण डेढ अर्ब रुपैयाँ नाफामा गयो । दोस्रो वर्ष ३ अर्ब, तेस्रो वर्ष साढे ७ अर्ब र अहिले यो चौथो वर्ष ११ अर्ब नाफामा पुगिसकेको छ । कुलमान आउनुअघि ०७२/७३ मा ८ अर्ब ८९ करोड घाटा रहेको नेपाल विद्युत प्राधिकरणको अभिलेखमा पाइन्छ ।

प्राधिकरणले एकातिर ठूलो आर्थिक घाटा व्यहोरिरहेको थियो भने अर्कोतिर जनता चरम लोडसेडिङको मारमा थिए । हरेक घर अग्रज पुस्ताले भोगेका टुकीको उज्यालोतिर फर्किन थालेका थिए । विपन्न परिवारले बिजुलीको उज्यालो आस मारिसकेका थिए । लालटिन, टुकी, मैनबत्ती, सोलार चार्जरजस्ता वैकल्पिक स्रोत सहारा बनेका थिए । आर्थिकरूपमा बलिया परिवारले इन्भटर जस्ता साधन जोडेका थिए । यही जर्जर र कठिन घडीमा कुलमान विद्युत प्राधिकरणमा नियुक्ति भएका थिए । लोडसेडिङ हटाउने उनको अभियानमा अनेक तगाराहरू तेर्सिएका थिए ।

दोश्रोपटक २०७८ साउन २७ गते कार्यकारी निर्देशक नियुक्त भएपछि कुलमानले विगतकोभन्दा राम्रो कार्यसम्पादन गरेर देखाइरहेका छन् । उनको दोश्रो परीक्षाको परिणाम पनि आइसकेको छ । आम नागरिकको पक्षमा काम गरेर उनले सर्वोत्कृष्ट अंक ल्याइसकेका छन् । विद्युत प्राधिकरणमा थप संस्थागत सुधारका लागि कुलमानको आवश्यकता प्राधिकरणले सदैव महसुस गर्नेछ ।

नेपालमाविद्युत उत्पादनको ऐतिहासिक पृष्ठभूमि

वि.सं.१९६८ मा ५० किलोवाट क्षमताको फर्पिङ्ग लघु जलविद्युत् परियोजना स्थापनासँगै सुरू भएकोविद्युत गृहको निर्माण र विद्युत उत्पादनको श्रृङ्खला हालसम्म पनि जारी नै छ। तत्कालीनसमयमा उत्पादित बिजुलीलाई चन्द्रशमशेरको पालामा उत्पादन गरिएकाले ’श्री चन्द्रज्योतिप्रकाश’ पनि भन्ने गरिन्थ्यो । यस केन्द्रबाट उत्पादित ४ सय किलोवाट विद्युत् वितरणसुव्यवस्था गर्न एउटा अड्डाको आवश्यकता महसुस गरियो।

वि.सं.१९६८ मा ५० किलोवाट क्षमताको फर्पिङ्ग लघु जलविद्युत् परियोजना स्थापनासँगै सुरू भएकोविद्युत गृहको निर्माण र विद्युत उत्पादनको श्रृङ्खला हालसम्म पनि जारी नै छ। तत्कालीनसमयमा उत्पादित बिजुलीलाई चन्द्रशमशेरको पालामा उत्पादन गरिएकाले ’श्री चन्द्रज्योतिप्रकाश’ पनि भन्ने गरिन्थ्यो । यस केन्द्रबाट उत्पादित ४ सय किलोवाट विद्युत् वितरणसुव्यवस्था गर्न एउटा अड्डाको आवश्यकता महसुस गरियो। फलस्वरूप ’बिजुली अड्डा’ नामक एउटाअड्डा स्थापना गरियो। यसरी एसियाकै सबैभन्दा लामो विद्युतीय इतिहास बोकेको देशनेपालका नागरिकले विगतमा अठार घण्टासम्म लोडसेडिङको मार भोगिरहेकोमा  हुने गरेको हाल भने देश लोडसेडिङ्ग मुक्त भएको छ।

नेपाल वन सेवामा पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल वन सेवाको श्रेणीविहीन पदहरूका लागि दरखास्त आह्वान गरिएको छ । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै २ सय ४५ जना माग गरेको छ । लोक सेवा आयोगले आज (बुधबार) सार्वजनिक सूचना जारी गर्दै स्थायी पदपूर्तिका लागि खुला र समावेशी प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त माग गरेको हो ।

तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले अनलाइन माध्यमबाट दरखास्त दिन सक्नेछन् । दरखास्त दिने अन्तिम मिति २०८० असार १९ गते सम्म र दोब्बर दस्तुर २०८० असार २६ सम्म दिन सकिन्छ ।

परीक्षाको किसिम शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, प्रयोगात्मक परीक्षा, लिखित र अन्तर्वार्ता हुने छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ५० पैसा र बिक्री दर १३२ रुपैयाँ १० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका-७ किर्लुकमा रा१त ४२९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक प्युठान ऐरावती गाउँपालिका घर भएका २७ वर्षीय कमल सोमै मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले बताए ।

दुर्घटनामा घाइते भएका चालक मगरको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा ज्यान गएको हो । अन्य २ जना घाइतेको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।

यस्तो छ ३१ जेष्ठ २०८० आज बुधबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ र दैनिक काममा अवरोधको सामना गर्नुपर्छ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्त सँग मनमुटाव बढ्ला । स्वास्थ्यमा समस्या देखापर्ला अतः सचेत रहनु होला । मानसिक चिन्ता र आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

धनु: (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्मसंस्कृतिका सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । प्रतिस्पर्धामा सफलता मिल्न सक्छ ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आफन्तले काममा सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

मीन: (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रका कामहरू अधुरै रहनसक्छ । स्वास्थ्य प्रति सजग रहन बढी जरूरी छ ।

१६ जिल्लाका एक हजारभन्दा बढी दादुराबाट संक्रमित

काठमाडौँ । दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित भएका छन्। स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले आज सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनालाई दादुराको प्रकोप भएको छ।

महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप भएको छ। ती जिल्लामध्ये सबभन्दा बढी प्रभावित कैलाली, सुनसरी र महोत्तरी रहेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगङ्गा नगरपालिका र गोदावारी नगरपालिका, सुनसरीको बर्जु नगरपालिका र महोत्तरीको गौलाशा नगरपालिकाको वडा नं २ र ५ रहेका छन्। ती स्थानीय तहका छ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

अहिलेसम्म दादुराको प्रकोपबाट बाँकेको नेपालगञ्जमा एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। यही जेठ २४ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको महाशाखाले जनाएको छ। दादुरा प्रकोप प्रभावित जिल्लामा हालसम्म दुई लाख १५ हजार ५४ जनालाई दादुराविरुद्धको खोप लगाइएको छ।

बाल स्वास्थ्य तथा खोप शाखाले यही जेठ २५ गतेदेखि सुनसरी मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लाका छ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु गरेको छ। दादुरा रुबेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ। एक जना दादुरा सङ्क्रमितले १८ जनासम्म रोग सार्न सक्दछ। मन्त्रालायले यसअघि जति पटक खोप लगाए पनि अभियानका क्रममा खोप लगाउन आग्रह गरिएको छ।

महाशाखाले काठमाडौँका सबै स्वास्थ्य संस्था, निजी अस्पतालमा सक्रिय दादुराका बिरामी खोजी जारी राखेको जनाएको छ। यस्तै सबै स्वास्थ्य संस्था र निजी अस्पताललाई दादुराको शङ्कास्पद केस नगरपालिका र स्वास्थ्य सेवा विभागमा प्रतिवेदन पेश गर्न अनुरोध गरिएको छ।

यस्तै, दादुराको निगरानीको लागि सबै जिल्ला र नगरपालिका फोकल पर्सनलाई संवेदनशील हुनसमेत महाशाखाले अनुरोध गरेको छ। रासस

अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धधनका लागि पूर्वाधार आवश्यक : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रहरूमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धधन गर्न प्रभावकारी पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

मङ्गलबार भारतको कलकत्तामा ‘बिमस्टेक बिजनेस कन्क्लेभ’ अन्तर्राष्ट्रिय व्यापार मञ्चको विशेष सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले क्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न राम्रा र प्रभावकारी सडक, जलमार्ग, रेलमार्गजस्ता पूर्वाधार निर्माणको आवश्यकता रहेको बताएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसका साथै, हवाई तथा डिजिटल कनेक्टिभिटी बढाउन, पूर्वाधार सञ्जाल सुधार गर्न र नयाँ पूर्वाधारहरू निर्माण गर्न बिमस्टेक सदस्य देशहरूले संयुक्त रूपमा लगानी गर्न आवश्यक रहेको पनि उनले बताए।

सहज ढुवानीका लागि सडक तथा बन्दरगाहजस्ता भौतिक पूर्वाधारको बृद्धि गर्न आवश्यक रहेको बताउँदै उनले क्षेत्रीय मूल्य शृङ्खलाको विकासमा सहयोगका लागि पूर्वाधारको विकास र स्तरोन्नतिका लागि संयुक्त प्रयास गर्न सकिने बताए।

विश्व रक्तदाता दिवस मनाइँदै

काठमाडौँ । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् ।

यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ ।

यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ । नाराले जीवनपर्यन्त रगत आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ ।

यसले नियमितरूपमा रगत र प्लाज्माको दानमार्फत दिगो र सुरक्षित आपूर्तिको महत्वबारेसमेत चर्चा गरेको छ । यही अवसरमा देशभरका विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेको छ ।

यस दिवसका अवसरमा ब्लड डोनर्स एशोसिएसन नेपालले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । एशोसिएसनले साताव्यापी चेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको एशोसिएसनका महासचिव केशव महर्जनले जानकारी दिए । ‘साइकल र्याली, महिला रक्तदाता अभिमुखीकरण, चित्रकला र रक्तदाता सम्मानलगायतका कार्यक्रम अयोजना गरेका छौँ’, उनले भने,’अस्पतालमा रगतको व्यवस्थापनमा असहज र रक्तादातालाई प्रोत्साहन गर्न नसक्नु अहिलेको चुनौती हो ।’

यस दिनलाई मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ ।

पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो भने सन् २००५ मा ५८औँ विश्व स्वास्थ्यसभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रूपमा नामकरण गरिएको थियो । रासस

सुनसरीमा स्काउट आधारभूत तालिम

काठमाडौँ । शिक्षा, युवा तथा खेलकुद शाखा बराहक्षेत्र नगरपालिका , सुनसरीको आयोजनामा स्काउट आधारभूत तालिम मंगलबाबाट आरम्भ भएको छ ।  नगरउप प्रमुख एवं स्थानीय स्काउट प्रमुख नन्द कुमारी  राईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा स्काउट लिडरहरु, प्रदेश कमिटी सदस्य हेमन्त भण्डारी , स्थानीय जनप्रतिनिधि, स्थानीय तदर्थ समिति पदाधिकारी,  शिक्षक ,  रोभर÷ रेन्जरको उपस्थिति रहेको थियो । तालिममा २८ जना पुरुष र १८ जना महिलाको सहभागिता रहेको छ ।  महिला तर्फ    ( पि टी सी ३९८) रास्ट्रिय प्रशिक्षक निर्मला अधिकारी   र पुरुषतर्फ   ( बि टी सी ५४१) रास्ट्रिय प्रशिक्षक नवल प्रसाद उपाध्याय  कोर्स प्रमुख रहनु भएको छ । तालीम असार ३ गते सम्पन्न हुनेछ ।

उद्योग वाणिज्य संघ काठमाडौंको करसम्बन्धी अन्तरक्रिया

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनमा आर्थिक विधेयक २०८०।८१ मा रहेका कर सम्बन्धि परिवर्तित व्यवस्था र त्यसले पारेको प्रभाव तथा समस्या सम्बन्धी छलफल एवं अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । संघसंग आवद्ध उद्योगी व्यवसायी , विभित्न्न जिल्ला नगर संघ तथा वस्तुगत संघको बाक्लो उपस्थितिबीच वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालले कर सम्बन्धी प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा संघका अध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई करका कारण परेका समस्याबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको पहिलो सत्रमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र नेपाल फ्रेट फरवार्डस संघ बीच नेपालमा निर्मित वस्तुहरुको निर्यात गर्दा जारी गरिने उत्पतिको प्रमाणपत्र उद्योग वाणिज्य सघबाट जारी गराउनेबारे सम्झौता समेत गरिएको थियो ।