काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्य मंगलबार मनोनयन गर्नु भएको छ ।
मनोनयन हुनु भएका सदस्यमा अमिता प्रधान काठमाडौं, अमृता थापा मगर मकवानपुर, उमा शिवाकोटी झापा, उर्मिला प्रधान सुनसरी, एलिजा अधिकारी चितवन, कमला तिवारी नवलपरासी, कल्पना नेपाली नुवाकोट, किरण सरकार पर्सा, गीताकुमारी गुरुङ चितवन, गीता श्रेष्ठ सुनसरी, चन्द्रादेवी जोशी बझाङ, चिनु पोखरेल तनहुँ, छाया सुनार कालिकोट रहनुभएको छ । छिरिङ फुटिक शेर्पा तेह्रथुम, ज्वाला पाण्डे काठमाडौं, तारा थपलिया दोलखा, दिपशिखा शर्मा ढकाल सिन्धुली, निनु कर्ण महोत्तरी, नवोदिता चौधरी सुनसरी, पवित्रा पौडेल ढकाल पाल्पा, पार्वती आचार्य बाग्लुङ, पार्वती चन्द डोटी, पुष्पा थारु रुपन्देही, प्रमिला महतो धनुषा सदस्यमा चयन हुनुभएको छ । त्यस्तै, भगवती केसी बाग्लुङ, भागिरथा अधिकारी मोरङ, भावना शाही कालिकोट, भारती जोशी बाँके,मथुरा विष्ट ललितपुर,मञ्जु नेपाल सिन्धुपाल्चोक,माया केसी स्याङ्जा,मिना सिंह प्रजापति काठमाडौं, मिरा चन्द कञ्चनपुर, मुन्नी गुप्ता सप्तरी, रमा अर्याल रुपन्देही, राधा कार्की झापा, राधा कुँवर पर्वत, रञ्जिता गिरी काठमाडौं, रिता शाही हुम्ला, रीसा श्रेष्ठ ललितपुर, लक्ष्मी बाराकोटी प्रसाई झापा, लिलाकुमारी नेपाल काभ्रेपलाञ्चोक, वसन्ती भण्डारी डडेल्धुरा, विमला गैरे कपिलवस्तु, सनिसा भेटवाल तेह्रथुम, सरस्वती बस्नेत कैलाली, सरिता आङ्दम्बे खोटाङ, डा. सीता घिमिरे मोरङ, सीता भुषाल अर्घाखाँची, सुष्मा तिवारी पर्सा, सुस्मिता थापा लम्जुङ, संगिता तामाङ ओखलढुंगा सदस्यमा मनोनित हुनुभएको पार्टीले जनाएको छ ।
काठमाडौँ । पाकिस्तानी राजदूतावासले १०औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता र छैठौं वार्षिक राजदूत अफ पाकिस्तान वक्तृत्वकला प्रतियोगिताको पुरस्कार एक समारोहबीच मंगलबार वितरण गरेको छ । राजदूत अबरार एच हाश्मीले विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए ।
यस वर्षको निबन्ध लेखन प्रतियोगिताको विषय “सार्क – यसलाई कसरी क्षेत्रीय समृद्धिका लागि प्रयोग गर्न सकिन्छ“ थियो। निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई स्मारिका र नगद पुरस्कारसहित स्वर्ण, रजत र कास्य पदक प्रदान गरिएको थियो। विद्यार्थीहरुलाई सान्त्वना नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।
“हाम्रो जीविकोपार्जनमा जलवायु परिवर्तनको प्रभाव – दक्षिण एसियामा साझा चुनौती” विषयक वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट हुनेलाई पनि स्वर्ण, रजत, कांस्य पदकका साथै स्मारिका र नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसपछिका तेह्र उत्कृष्ट विद्यार्थीहरूले पनि स्मारिका र नगद पुरस्कार प्राप्त गरे।
दुई प्रतियोगितामा ३८ उच्च माध्यमिक विद्यालयदेखि विश्वविद्यालयका विद्यार्थीसम्म नेपाली विद्यार्थीहरुको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।राजदूत हाश्मीले सहभागी विद्यार्थीहरुको आलोचनात्मक सोचको प्रशंसा गर्दै भविष्यका चुनौतिहरुको सामना गर्न आह्वान गरे । राजदूतले दुई देशबीचको युवा अन्तरक्रियाको महत्वलाई चिरस्थायी पुलको रुपमा उजागर गरे ।
विगत ५ र १० वर्षदेखि क्रमशः प्रत्येक वर्ष लगातार आयोजना हुने यी दुई प्रतियोगिता नेपाली युवाहरूमाझ निकै लोकप्रिय भएका र देशभरका प्रतिभाशाली विद्यार्थीलाई आकर्षित गर्ने गरेका छन् ।
भक्तपुर। एडिफाई प्राइभेट स्कुल अर्गनाइजेसन नेपाल (इप्सन) भक्तपुरले मंगलबार आयोजना गरेको हिज्जे प्रतियोगितामा ग्लोबल एकेडेमी विजयी भएको छ । प्रतियोगितामा इडन गार्डेन बोर्डिंग स्कुल दोश्रो, सूर्योदय सेकेण्डरी स्कुल तेश्रो र युनिटी इंगलिस स्कूल सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । विजयी प्रतियोगीलाई संस्थाका अध्यक्ष तथा आयोजक नगरकोट फेदीस्थित क्वालिटी इंगलिस माविका प्रिन्सिपल जिबी खड्काले पुरस्कार वितरण गरेका छन् । प्रतियोगितामा इप्सन आबद्ध नौवटा संस्थागत विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालुविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । माओवादी जनयुद्धकालमा बालसैन्यका रुपमा भर्ती भएका लेलिन विष्टले दायर गरेको रिटमा सो आदेश जारी गरिएको हो। सर्वोच्चले रिट निवेदनलाई अग्राधिकारसमेत दिएको छ ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विष्टलाई अयोग्य लडाकु बनाउनुको कारण प्रचण्डलाई सोधेको हो।
माओवादी जनयुद्धकालमा २०५९ सालदेखि बालसैन्यको रूपमा भर्ती भएका लेनिन विष्टले आफूलाई अयोग्न लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईविरुद्ध सर्वोच्चमा रिट दिएका थिए।
निवेदक विष्टले बाल सेनाको रूपमा परिभाषित गरी पहिचान दिलाई राहत,परिपुरण,क्षतिपूर्ति र न्याय दिलाउन विपक्षीका नाममा परमादेश माग गरेका थिए। तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा ठूलो संख्यामा बालबालिकालाई जनमुक्ति सेनामा भर्ती गरिएको थियो । विद्यालयमा पढ्दै गरेका अबोध बालबालिकालाई अपहरण गरी जर्बजस्ती बालसैन्य बनाउँदा विष्टजस्ता थुप्रै व्यक्तिको जीवन अन्धकारमय भएको छ ।
काठमाडौं । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ ।
त्यस क्रममा एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरिका नीरजकुमार कामत रहेको बताइएको छ । अहिले उपचारका लागि उनलाई राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरी अधिकारीले बताएका छन् । उनका हजुरबुबा र बुबाले जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । उनका बाबुले २०६४ मा जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए ।
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय र अन्तर्गत कार्यालयमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको विवरण १५ दिनभित्र पठाउन निर्देशन दिएको छ ।
राजपत्राकिंत र राजपत्र अनकिंत कर्मचारीको छुटुटा छुट्टै विवरण तोकिएको ढाँचामा मन्त्रालयको कर्मचारी प्रशासन शाखामा र इमेलमार्फत सफ्टकपी समेत पठाउन मन्त्रालयले परिपत्र गरेको हो ।
पाल्पा । राजस्व अनुसन्धान कार्यालय बुटवलले पाल्पाको रामपुर –५ स्थित बेझाडमा शनिबार बरामद गरेको ६ सय ४९ बोरा अवैध रासायनिक मल नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत नामक युरिया मल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मलको बिल, कागजपत्र र भण्डारण गर्ने व्यक्ति पत्ता नलागेपछि कार्यालयले अनुसन्धानका लागि युरिया मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
राजस्व अनुसन्धान कार्यालयका अधिकृतसहित करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र प्रहरीका प्रतिनिधिसहितको टोलीले सिल खोलेर नियन्त्रणमा लिएको हो । रामपुर नगरपालिकाका जनप्रतिनिधि, रामपुर उद्योग वाणिज्य संघलगायतको रोहबरमा भण्डारण गरेर राखिएको मल नियन्त्रणमा लिई सिल खोलेर अवैध रासायनिक मल बुटवलमा पठाइएको छ ।
काठमाडौँ । सर्वोच्च अदालतमा परेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ ।नागरिकता विधेयकविरुद्ध परेको रिट मङ्गलवार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासमा परेको थियो।
मङ्गलवार दिउँसो खाजापछि उक्त रिट हेर्ने भनिएको थियो। बहस गर्न दुवै पक्ष उपस्थित हुन भनिएको थियो। तर खाजा समयपछि अन्य दुइटा मुद्दा पनि हेर्न बाँकी रहेको हुँदा हेर्न नभ्याइनेमा राखिएको हो।
काठमाडौं । नेपाल बैंकर्स संघले आगामी असार महिनामा कर्जाको ब्याजदर घटाउने निर्णय गरेसंगै नेप्सेमा उच्च अंकको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकले बढेको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.३२ अंक बढेको छ। त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
आज नेप्से ३४.१७ अंकले बढेर दुई हजार २० दशमलब ६४ विन्दुमा बन्द भएको छ । आज चार अर्ब १२ करोड ६६ लाख ९५ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका १९६ कम्पनीको शेयरमूल्य बढेको छ भने २२ कम्पनीकोे शेयरमूल्य घटेको छ । पाँच वटाको शेयरमूलय स्थिर रहेको छ ।
आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जवीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै आज भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र सिटी होटल लिमिटेडको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीे बढेको छ ।
आज सबैभन्दा बढी प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब चार प्रतिशतले घटेको छ ।कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको साढे १७ करोडको शेयर कारोबार भएको छ भने आइएमई जनरल इन्स्योरेन्सको १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।यस कम्पनीको आज २७ करोड ६६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
रौतहट । रौतहटका स्थानीय तहमा विकृति विसङ्गति मौलाएको छ । जनप्रतिनिधिले लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी नियुक्त भएका कर्मचारीलाई पाखा लगाउँदै आफ्ना आसेपासे र कार्यकर्ता करारमा भर्ना गरी जिम्मेवारी दिएपछि स्थानीय तहको कार्यसम्पादन खस्किँदै गएको छ ।
भर्तीकेन्द्र बन्दै नगरपालिका
१६ नगरपालिका र दुई गाउँपालिका रहेको रौतहटका चन्द्रपुर र इसानाथ नगरपालिकामा मात्र दरबन्दी अनुसार नेपाल प्रशासन सेवाका उपसचिव कार्यरत छन् । फतुवा, विजयपुर, बोधिमाइ नगरपालिकामा अहेबले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् । कतिपय नगरपालिकाले स्थायी कर्मचारी भएपनि करारमा कर्मचारी भर्ना गरी स्थायी कर्मचारीको तेजोबध गरिरहेका छन् । कमिसन दिएर करारमा नियुक्त कर्मचारीका कारण इन्जिनियरिंग, स्वास्थ्य तथा प्राविधिक सेवाका स्थायी कर्मचारी तनावमा छन् । राजदेवी ,गढीमाई, राजपुर, गरुडा, फतुवाविजयपुर नगरपालिका, दुर्गाभगवती गाउँपालिका लगायतका स्थानीय तहमा करारका कर्मचारी हाबी भई लोकसेवा आयोगबाट सिफारिस भई आएका कर्मचारी जिम्मेवारीविहीन बन्दै गएका छन् । करारमा भर्ती भई जागिर खानेमा जनप्रतिनिधिका आफन्त, श्रीमती, छोराछोरी,सालासाली समेत रहेका छन् । योजनाबाट कमिसन संकलन गर्ने मुन्सी बनाउन समेत कर्मचारी भर्ना गरिएको छ । अनावश्यक रुपमा करारमा कर्मचारी भर्ती गर्दा ठूलो बजेट कसरी जुटाउने भन्ने प्रश्न खडा भएको छ तर जनप्रतिनिधिलाई कुनै चिन्ता र फिक्री भएको देखिँदैन । नेताहरुले आफ्ना आफन्तलाई करारमा नियुक्ति दिलाएर स्थानीय तहलाई भर्ती केन्द्र बनाएका छन् ।
परिवारवाद हाबी
राजपुर फरदवा नगरपालिकाका डा. मो. मेयर राजिक आलम र गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव जिल्लाकै भ्रष्ट नगरप्रमुखका रुपमा परिचित छन् । उनले नायब सुब्बास्तरका कर्मचारी नागेन्द्र प्रसाद यादवलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर लुट मच्चाइरहेका छन् ।गरुडा नगरपालिकाका मेयर कन्तमणि प्रसाद जैसवाल पनि नामुद भ्रष्टाचारीमा गनिन्छन् । उनका छोरा शैलेश प्रसाद जैसवालको अनुमतिबिना नगरपालिकाको कुनैपनि आर्थिक प्रशासकीय कार्य हुन नसक्ने नगरबासीको गुनासो छ । यसैगरी राजदेवी,मौलापुर, गुजरा नगरपालिकासमेत मेयर उपमेयरका आफन्त हाबी भएकाले सेवाप्रवाहमा समस्या उत्पन्न भएको छ ।
असारे विकाससँगै कमिसनको खेल
आर्थिक वर्षको अन्त्यमा हतार हतार योजना सम्पन्न गर्न खोज्दा विचौलिया हाबी भएका छन् भने विकास निर्माणका कार्य औपचारिकतामा सीमित भएका छन् । योजना सम्पन्न भएको देखाउन हतारमा गुणस्तरहीन काम गरी काल्पनिक प्रतिवेदन बनाएर बिल भर्पाई पेश गरी भुक्तानी लिने तथा कमिसन खाने प्रवृत्ति मौलाएको छ । असार मसान्तकेन्द्रित योजनामा आर्थिक अनियमितता तथा भ्रष्टाचारको गन्ध राम्रोसँग आउने गरेको छ । विनियोजित बजेट असारमसान्तभित्र खर्च गरिसक्नुपर्ने र ठेकेदार कम्पनीहरूले पनि असार मसान्तभित्रै योजना सम्पन्न गरी भुक्तानी स्वीकृत गरिसक्नुपर्ने नियमले गर्दा असार महिना लाग्दै गर्दा योजना सम्पन्न भएको प्रतिवेदन र बिल भर्पाई पेस गरी भुक्तानी स्वीकृत गराउन रौतहटका स्थानीय तहमा ठेकेदार कम्पनी, उपभोक्ता समिति र स्थानीय जनप्रतिनिधिहरूको भीड लाग्ने गरेको छ ।निकै हतार र लतरपतर पाराले गरिने विकासको कामले दिगो विकासलाई सघाउनुको सट्टा बजेटको दुरुपयोग मात्रै बढाउँदै आएको छ । वर्षको एघार महिना सुस्ताएका ठेकेदार कम्पनीहरू पनि असार महिना लागेपछि भने काम गर्न जुर्मुराउने र स्थानीय तहले समेत असार लागेपछि मात्रै विकासको काममा जाँगर देखाउने प्रवृत्तिले असारे विकासले प्रश्रय पाउँदै आएको छ । रौतहटका स्थानीय तहको ठूलो धनराशी असारे झरीसँगै बगेर खेर जाने गरेको छ । यसैबीच गरुडा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूदेव झा करोडौँ रुपैयाँ कुम्ल्याएर हालै सरुवा भएका छन् ।
नियामक निकाय मौन
भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी पाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका नियामक निकायले यस विषयलाई यथाशीघ्र गम्भीरतापूर्वक छड्के अनुगमन तथा अध्ययन गरी आवश्यक कार्वाही गर्नुपर्ने आवाज स्थानीयस्तरमा उठ्न थालेको छ । प्रमुख जिल्ला अधिकारीले स्थानीय तहका विकृति विसङ्गति रोक्नुपर्नेमा उनी समेत मौन देखिन्छन् । प्रदेश सभाका सदस्य , जिल्ला समन्वय समितिले पनि यस विषयमा चासो नदेखाएपछि आमनागरिक वेथितिको मारमा परेका छन् ।
सञ्चारकर्मीको भूमिकामा प्रश्न
परोहा नगरपालिकाका नगरप्रमुख शेष वकिलले प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवको सहमतिमा प्रेस काउन्सिलबाट कार्वाहीमा परेको जिल्लाबाहिरको एक दैनिक पत्रिकालाई गतवर्ष २७ लाख रुपैयाँ भुक्तानी दिएका थिए । सो विषय महालेखापरीक्षकको प्रतिवेदनमा समेत उल्लेख छ । सर्वसाधारणले स्थानीय तहका बेथिति, विकृति , विसंगति समाचार पढ्न पाएका छैनन् भने सुशासनका समाचारले प्राथमिकता पाएका छैनन् । नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सार्वजनिक रुपमै पत्रकारलाई हातमा लिएको अभिव्यक्ति दिनुले सञ्चारकर्मीले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको संकेत गर्दछ । कतिपय सञ्चारकर्मी स्थानीय तहमा भएका विकृति थाहा पाउने बित्तिकै बार्गेनिङ्ग गर्ने र विभिन्न संस्थाका प्रस्ताव लिएर जनप्रतिनिधि तथा कर्मचारी समक्ष प्रस्तुत हुनुले वेथिति बढाउन थप बल पुगेको रौतहटका सुशासन चाहने बुद्धिजिवीको विश्लेषण छ । कतिपय राट्रिय दैनिकका स्थानीय सम्वादादाताले मासिक रुपमा नजराना बुझ्ने गरेको आरोप समेत लाग्दै आएको छ ।
काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुँदै । बैठकका लागि यूएईको सरकारी टोली नेपाल आइसकेको छ । नेपाल र यूएईबीच भएको श्रम समझदारी पुनरवलोकनसहित नवीकरणको निर्णय गर्न दुवै देश छलफलमा बस्ने भएका छन् । नेपाल–यूएई श्रम मन्त्रालयस्तरको संयुक्त कार्य समूहको बैठक बुधबार काठमाडौंको चन्द्रागिरिमा बस्ने भएको छ ।
बैठकमा नेपालले यूएईसँग नेपाली श्रमिकले पाउने न्यूनतम तलब वृद्धि गरेर श्रम समझदारी नवीकरण गर्न गर्न प्रस्ताव गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार कतिपय कानुनी व्यवस्थालाई श्रमिक मैत्री बनाउने गरी सुधार गर्नुपर्ने, यूएईबाट फर्किएका श्रमिकलाई सामाजिक एकीकरण र श्रमिकको सीप विकासमा सहयोग लिने लगायतका विषयमा नेपालले ठोस प्रस्ताव राख्ने छ । श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चितताका लागि पनि यूएईसँग विभिन्न प्रस्तावहरु राख्ने तयारी छ ।
नेपाल र यूएईबीच ३१ जेठ २०७६ मा नेपाल र यूएईबीच श्रम समझदारी भएको थियो । समझदारीपत्रमा व्यवसायजन्य दुर्घटना वा रोग लागेमा उपचार खर्च रोजगारदाताले व्यहोर्नुपर्ने तथा पाँच वर्षसम्म सेवा अवधिका लागि हरेक वर्षको सेवा बापत २१ दिनका दरले र त्यसभन्दा बढी अवधिका लागि वार्षिक ३० दिनका दरले उपदान पाउने व्यवस्था गरिएको छ ।
सो समझदारीमा समसामयिक सुधार गर्न यूएईसँग छलफल हुने श्रम मन्त्रालय स्रोतले बतायो ।
भक्तपुर । एडिफाई प्राइभेट स्कुल अर्गनाइजेसन नेपाल (इप्सन) भक्तपुरसँग आबद्ध नौवटा संस्थागत विद्यालयका विद्यार्थीबीच हिज्जे प्रतियोगिता भक्तपुरको चाँगुनारायण ६, नगरकोट फेदीस्थित क्वालिटी इंगलिस माविको आयोजनमा भइरहेको छ । इप्सनको यस वर्षको पहिलो अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप हो । संस्थाका अध्यक्ष तथा आयोजक विद्यालयका जिबी खड्काले फाइनल राउण्डपछि आजै विजयी प्रतिष्पर्धीलाई पुरस्कार वितरण गरिने जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक विद्यालयले सहभागिता जनाएको छैन ।
काठमाडौँ । शंकरदास बैरागी नेपाल सरकारको २५औँ मुख्यसचिव हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका सचिव रहनुभएका वैरागीलाई नेपाल सरकारले तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामापछि मुख्य सचिव नियुक्त गरेको थियो । नेपाल सरकारको समग्र कार्यसञ्चालनमा मुख्य प्रशासकका रुपमा उहाँले निरन्तर क्रियाशीलताका साथ एक अब्बल मुख्यसचिवको छवि बनाइसक्नुभएको छ । प्रशासन तथा कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेपका बावजुद पनि वैरागीको सक्रियता सराहनीय छ ।
मुख्यसचिवका रुपमा वैरागीको अहोरात्र सक्रियता
बारम्बार सचिव बैठक राखेर मन्त्रालयको प्रगतिको जानकारी लिने कार्य गर्दै आउनुभएका वैरागीले परराष्ट्रसचिवले मुख्य सचिव चलाउन गाह्रो हुने आरोपलाई गलत सावित गर्नुभएको छ । एउटा कुशल मुख्यसचिवमा हुनुपर्ने सबै गुण उहाँमा विद्यमान छन् । तीन तहकै सरकारले जबाफदेही, मितव्ययी, चुस्त सेवा प्रवाह र आर्थिक अनुशासन कायम गर्ने विषयलाई जोड दिनुपर्ने धारणा व्यक्त गर्नुहुने मुख्यसचिव वैरागीले सङ्घीयतामैत्री सोच र कार्यशैलीमा सुधार हनुपर्नेमा जोड दिँदै आउनुभएको छ ।
मुख्यसचिवको हैसियतले नेपाल सरकारका मन्त्रालय, सचिवालय, केन्द्रीयस्तरका कार्यालय वा मातहत निकाय, आयोजना, कार्यालयको प्रगति विवरण लिने वा लिन लगाउने, त्यसको समीक्षा गर्ने वा गराउने वा तत्सम्बन्धमा आवश्यक निर्देशन दिने कार्य उहाँले प्रभावकारी ढंगले गरिरहनुभएको छ ।
विभिन्न मन्त्रालय, सचिवालय, केन्द्रीयस्तरका कार्यालय वा मातहतका निकाय, आयोजना, कार्यालयबाट कुनै उपयोगी, उदाहरणीय, सृजनात्मक, अन्वेषणात्मक वा अनुसन्धानात्मक कार्य भइरहेको छ भन्ने कुराको कुनै स्रोतबाट जानकारी प्राप्त हुन आएमा वा निरीक्षणबाट सो कुरा देखिन आएमा सम्बन्धित पदाधिकारीलाई आवश्यकता अनुसार प्रोत्साहन गर्ने वा गराउने कार्य समेत उहाँले प्राथमिकता दिनुभएको छ ।
कुनै मन्त्रालय, सचिवालय, केन्द्रीयस्तरका कार्यालय वा मातहतका निकाय,आयोजना, कार्यालयहरुको निरीक्षणबाट प्रचलित कानून, नेपाल सरकारको नीति, कार्यक्रम वा निर्णयको विपरित कुनै कार्य भइरहेको वा हुन सक्ने सम्भावना रहेको छ भन्ने जानकारी हुन आएमा त्यस्तो कार्य हुन नदिन वा हुनबाट रोक्न सम्बन्धित पदाधिकारीको ध्यानाकर्षण गर्ने वा गराउने कार्य समेत वैरागीको प्राथमिकतामा छ ।
वैरागीमा छैन विदेश मोह
प्रायः मुख्यसचिव अवकाशको पूर्वसन्ध्यामा राजदूत बन्ने दौडमा संलग्न भई न्यायेचित व्यवस्थापन भन्दै विभिन्न देशको राजदूत नियुक्त भई गएको दृष्टान्त सबैसामु स्पष्ट छ ।तर वैरागीमा विदेशप्रतिको मोह देखिँदैन । परराष्ट्र सेवामा कार्यरत रहँदा नै उहाँले वैदेशिक नियोगमा काम गरी पर्याप्त अनुभव हासिल गरिसक्नुभएको छ ।जागिरे जीवनको पूर्वार्धमा पनि नेपाल र नेपालीको सेवामा नै रमाउने वैरागीको चरित्र सबैका लागि अनुकरणीय छ ।विगतका मुख्यसचिवको पृष्ठभूमि परराष्ट्र सेवा नभएका कारण कुटनीतिक मामिलामा तुलनात्मक रुपमा कमजोर देखिएपनि वैरागीसँग परराष्ट्रको लामो अनुभव भएका कारण अन्तर्राष्ट्रिय सम्बन्धमा नेपाल सरकार चुकेको छैन ।
परराष्ट्र सेवामा वैरागीको योगदान
बैरागीले २०१४ फेब्रुअरीदेखि १० अक्टोबर २०१५ सम्म नेपालको कार्यवाहक परराष्ट्र सचिव/कार्यवाहक विदेश सचिवको रूपमा काम गर्नुभएको थियो। उहाँ संयुक्त राष्ट्र संघको कार्यालय, विश्व व्यापार संगठन र जेनेभामा रहेका अन्य अन्तर्राष्ट्रिय संस्थाका साथै अन्तर्राष्ट्रिय संस्थाहरूमा नेपालको राजदूत/स्थायी प्रतिनिधि हुनुहुन्थ्यो। उहाँले इटाली गणतन्त्रको समवर्ती मान्यताको साथ स्विस कन्फेडेरेसनमा नेपालको असाधारण राजदूत र पूर्णाधिकारीको रूपमा सेवा गर्नुभएको थियो ।
बैरागीले २०१३ मा विश्व व्यापार संगठनका लागि नेपालको राजदूत तथा अतिकम विकसित देशहरूको परामर्शदाता समूहको संयोजकको रूपमा काम गर्नुभयो ।राजदूत र स्थायी प्रतिनिधिको रूपमा आफ्नो कार्यकालमा बैरागीले संयुक्त राष्ट्र मानव अधिकार परिषद्, विश्व स्वास्थ्य सम्मेलन, शरणार्थीहरूका लागि संयुक्त राष्ट्र उच्चायुक्तको कार्यकारी समिति लगायतमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो। उहाँले जेनेभामा सम्पन्न विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन र बैठकहरूमा पनि सहभागिता जनाउनुभएको थियो ।
बैरागीले नयाँ दिल्लीस्थित नेपाली दूतावासको दोस्रो/प्रथम सचिव (अगस्ट १९९५–मे १९९८), काउन्सिलर/मन्त्री–काउन्सिलर/डेपुटी चिफ अफ मिसन, बेनेलक्स देशहरूमा नेपाली दूतावास र नेपालका लागि नियोगको रूपमा काम गर्नुभएको थियो। उहाँलाई अष्ट्रेलियाको क्यानबेरामा आवासीय दूतावास स्थापना गर्ने जिम्मा समेत दिइएको थियो।
बैरागी नेपालका राष्ट्रपतिको चीन ९२०१९०, म्यानमार ९२०१९०, जापान ९२०१९०, कतार ९२०१८०, संयुक्त राष्ट्र संघ ९२०१९०, भारत ९२०१७० को राज्य/आधिकारिक भ्रमणका क्रममा आधिकारिक प्रतिनिधिमण्डलमा सदस्य समेत रहनुभएको थियो । नेपालका प्रधानमन्त्रीको भारत ९१९९१, २००४, २०१६, २०१७, २०१८०, चीन ९२०१६, २०१७, २०१८०, फ्रान्स ९२०१९०, बेलायत लगायतका देशको आधिकारिक भ्रमणका क्रममा पनि उहाँलाई प्रतिनिधिमण्डलमा समावेश गरिएको थियो। उहाँले नोभेम्बर २०१८ मा पहिलो विश्वयुद्धको अन्त्यको शताब्दी समारोहको स्मरणार्थ पेरिस शान्ति फोरममा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।
उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को उच्चस्तरीय बैठक लगायत विभिन्न उच्चस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको सदस्यका रूपमा सहभागिता जनाइसक्नुभएको थियो । सन् २०१४ नोभेम्बर र अगस्ट २०१८ मा काठमाडौंमा १८औँ सार्क शिखर सम्मेलन र चौथो बिमस्टेक शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गराउन उहाँ सक्रियतापूर्वक संलग्न हुुनुहुन्थ्यो । उहाँले सार्क स्थायी समिति र बिमस्टेकका वरिष्ठ अधिकारीका थुप्रै बैठक र सत्रको अध्यक्षता समेत गर्नुभएको थियो ।
उहाँले संयुक्त राष्ट्र संघको महासभा ९१९९४, २००५, २००९, २०१०, २०११, २०१४, २०१५, २०१६, २०१७, २०१८० नेपाली प्रतिनिधिमण्डलको सदस्यको रूपमा, एसियाली–अफ्रिकी महासभाको ६०औँ वार्षिकोत्सव र एशियन–अफ्रिकन नयाँ सम्मेलनमा पनि भाग लिइसक्नुभएको छ ।वैरागीले चीन, बेलायत, जापान, क्यानडा, ब्राजिल, ईयू, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया, टर्कीलगायत देशसँग द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा परराष्ट्र मन्त्रालयको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो ।
निजामती सेवामा प्रवेश
मुख्यसचिव वैरागी वि.सं. २०४४ सालमा नेपाल परराष्ट्र सेवाबाट निजामती सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ २०७२ सालमा परराष्ट्र सचिव भएका थिए । त्यसअघि १ वर्षभन्दा लामो अवधि उहाँले सोही मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी वहन गर्नुभएको थियो । परराष्ट्रको इतिहासमै सबैभन्दा लामो समय निमित्त सचिव हुने बैरागी पहिलो व्यक्ति हुनुहुन्छ । उहाँलाई परराष्ट्र मामिला विज्ञका रुपमा लिइन्छ । बैरागीले सहसचिव हुँदा संयुक्त राष्ट्रसङ्घका लागि आवासीय प्रतिनिधि तथा जेनेभाका लागि स्थायी प्रतिनिधि र त्यसअघि अस्ट्रेलियास्थित दूतावासको उपप्रमुखको भूमिका निर्वाह गर्नुभएको थियो । मन्त्रालयमा वैरागीले बहुपक्षीय आर्थिक मामिला महाशाखाको सहसचिव, युरोप अमेरिका डिभिजन, दक्षिण एसिया डिभिजन र सार्क शाखाका लागि उपसचिव, भारत र भुटान शाखाका साथै संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय विभागका लागि डेस्क अधिकृतलगायत विभिन्न पदमा रहेर काम गर्नुभएको थियो ।
जन्म र शिक्षा मुख्य सचिव बैरागीको जन्म वि.सं. २०२२ साल माघमा पर्वत जिल्लामा भएको थियो । उहाँले नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक तह र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्मको औपचारिक अध्ययन गर्नुभएको छ । त्यस्तै उनले ब्रेसल्सको फ्री विश्वविद्यालयबाट विकास विषयमा स्नातकोत्तर उपाधि समेत हासिल गर्नुभएको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।
पूर्व अयोग्य लडाकु लेनिन विष्टसहितले दायर गरेको रिट सुनुवाईका लागि मंगलवारको इजलासमा राखिएको हो । माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै बिष्टले प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री डा. भट्टराईमाथि कारबाहीको माग गर्दै गत हप्ता रिट दायर गरेका थिए ।
काठमाडौं । मुलुकको रजधानी काठमाडौंमा नक्कली सरकारी कार्यालय खोलेर ठगी धन्दा चलाउन सम्भव होला ? धेरैको उत्तर हुनसक्छ -सम्भावना कम छ ।
तर, काठमाडौंको बूढानीलकण्ठ -५ मा नक्कली सरकारी कार्यालय खडा गरी ठगी धन्दा गरेको घटना फेला परेको छ ।
कृषि मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यलय सञ्चालनमा छ । देशको विभिन्न स्थानमा यस्ता कार्यालय खोलीएका छन् । तर, जयराम नामका एक व्यक्तिले बूढानीलकण्ठमा सरकारी कार्यालय जस्तै गरी अन्तर्राष्ट्रिय खाद्य सुरक्षा स्थापना गरेर ठगी धन्दा चलाउदै आएको फेला परेको हो ।
केसीले आफूलाई कृषि मन्त्रालयको उपसचिवका नाममा चिनाउँदै दुईतले घर बहालमा लिएर नक्कली कार्यालय खोलेका थिए ।
यो कार्यालयमा राष्ट्रिय झण्डा हाल्नेदेखि कर्मचारीहरु पनि नियुक्त गरेका थिए । उनले सरकारी लोगो र छाप पनि नक्कली बनाएर प्रयोग गर्दै आएका थिए । प्रहरी स्रोतका अनुसार केसीले उक्त कार्यालयमा शाखा अधिकृतका रुपमा पेम्बा तामाङ, जनसम्पर्क अधिकृतका रुपमा आकाश राई र प्राविधिक इन्जिनियरका रुपमा दिपेश गुरुङ नाम गरेका व्यक्तिलाई राखेका थिए । केसीले उनीहरुलाई नियुक्ति पछि दिने भन्दै काममा लगाइरहेका थिए । केसीले सरकारी छापमात्र होइन, डब्लुएफपीको समेत नक्कली छाप तथा लेटरप्याड बनाएका थिए ।