विश्वकप छनोट : नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ ।

आईसीसी एकदिवस विश्वकप छनोट खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४९ ओभर चार बलमा २ सय ३८ रनमा अल आउट भयो ।

ब्याटिङमा नेपालका आरिफ शेखले ६३, गुल्सन झाले ४२ रन बनाए । यस्तै रोहित पौडेलले ३०, करन केसी र आसिफ शेखले २८/२८,  दीपेन्द्र सिंह ऐरीले २३ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । नेपालको बलिङ ध्वस्त बनाउने क्रममा वेस्ट इन्डिजका ज्यासन होल्डरले सर्वाधिक ३ विकेट लिए । 

नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो, सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खोलिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले बिहीबार अन्तरिम आदेश नहुने आदेश गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ। सर्वोच्च अदालतले उक्त विधेयक कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटो खुलेको हो ।

सर्वोच्चको यो आदेशसँगै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको ऐन कार्यान्वयनको बाटो खुलेको छ ।

कृषि विकास बैंकको संचालकमा उत्तर कुमार खत्री नियुक्त

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको संचालकमा अर्थमन्त्रालयका सहसचिव उत्तर कुमार खत्री नियुक्त भएका छन् । नेपाल सरकारको जेठ ३२ गते बसेको मन्त्रीपरिषदको बैठकले निर्णयले खत्रीलाई संचालकमा नियुक्त गरेको हो ।

बैंक संचालक समितिको आज (असार ७) गते बसेको बैठकमा नव नियुक्त संचालक खत्रीले बैंक संचालक समितिको सदस्यको रुपमा शपथ ग्रहण समेत गरेका छन् ।

यी हुन, खातामा पैसा बिनै घोरही सिमेन्टको १०–१० लाख कित्ता आईपीओ भर्ने व्यक्ति

काठमाडौँ। घोराही सिमेन्टले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा खातामा पैसा नै नभई ठूलो मात्रामा आवेदन दिनेहरुको पहिचान भएको छ। नेपाल धितोपत्र बोर्डले खातामा पैसा नभई पनि १०–१० लाख कित्ताका लागि आवेदन दिने १२ जनाको पहिचान गरेको हो।

खातामा पैसा नभई आवेदन दिनेमा भक्तपुरको अनन्तलिंगेश्वर-१ का प्रेमप्रसाद आचार्य, सोही वडाका उज्जवल आचार्य र भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका-३ की श्रीजा पोखरेल छन् ।

त्यस्तै, गोरखाको सिरानचोक-३ की सावित्रा पराजुली, रुपन्देहीको तिलोत्तमाकी लक्ष्मी घिमिरे, मोरङ कानेपोखरी-१ की मुना खत्री र चितवनको भण्डारा-१ का मनोज पाठक छन् ।
सुनसरीको देवानगन्ज-१ का मिथिलेशकुमार मेहता, दोलखाको नाम्दु-३ का नवीन खत्री, ललितपुरको टिकाथली-५ का अनिल राना, पर्वतको कार्कीनेटा-३ की रञ्जना ढकाल पौडेल र काठमाडौंको मध्य बानेश्वरका सुमित्रा बम छन् ।

यी १२ जनाले खातमा रकम नभएकै अवस्थामा पनि एकजनाले दिन पाउने अधिकतम १० लाख कित्ताका दरले १ करोड २० लाख कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए ।
धितोपत्र बोर्डले यसरी आफ्नो बैंक खातामा पर्याप्त रकम नभई आवेदन हाल्ने व्यक्तिमाथि अनुसन्धान सुरु गरेको छ ।

शेयर बजारमा सामान्य अंकको सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन दोस्रो बजारका लगानीकर्ताहरु होटल तथा बीमा कम्पनीहरुमा आकर्षित भएका छन्। यस दिन १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घट्दा होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक उच्च दरमा बढेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार ४.७५ अंकले बढेर दुई हजार ५५ दशमलब ५३ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से दोहोरो अंकले घटेर बन्द भएको थियो ।  

आज तीन अर्ब ४४ करोड ४८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ भने १४७ कम्पनीकोे शेयरमूल्य घटेको छ । चार वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।   

आज सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज तारागाउँ रिजेन्सी होटल, ओरियन्टल होटल, कालिञ्चोक दर्शन लिमिटेड, बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

त्यतै कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो होटलको यस दिन २९ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्को कारोबार रकम १४ करोड नाघेको छ।

आज सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज २९ करोड ६३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

प्राधिकरणका पूर्वमेकानिकल इन्जिनियरविरुद्ध १ करोड ४२ लाखबढीको भ्रष्टाचार मुद्दा 

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

प्राधिकरण अन्तर्गत विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा उनले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आयोगको आरोप छ । यादवले सार्वजनिक सेवामा प्रवेश गरेदेखि अवकास पाएसम्म एक करोड ७१ लख ४६ हजार ४४ रुपैयाँ ४९ पैसा आर्जन गरेको देखिन्छ । 

यस अवधिमा उनको ब्यय (खर्च तथा लगानी) तर्फ तीन करोड १३ लाख ९८ हजार ५३४ रुपैयाँ ९० पैसा खर्च तथा लगानी गरेको देखिन्छ । जसमा कुल खर्च र सोही अवधिको आयव्ययको विवरण अनुसार स्रोत खुल्न आएको वैध आय एक करोड ७१ लख ४६ हजार ४४ रुपैयाँ ४९ पैसा रहेको अख्तियारले जनाएको छ । 

उनको एक करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँ ४१ पैसाको स्रोत खुल्न नसकेको हो । सोही बराबरको मागदावीसहित आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । 

सम्बन्धित समचार

प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चार लाख घुस रकमसहित तीन कर्मचारी पक्राउ

संशोधन नभई बजेट पास हुँदैनः उपेन्द्र यादव

काठमाडौं, ७ असार । जनता समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले सरकारले गठबन्धनमा रहेका दलहरुबीच छलफल नै नगरी एकलौटी ढंगले बजेट ल्याएको आरोप लगाएका छन् । आज (बिहीबार) पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले बजेट यथास्थितिमा पास हुन नसक्ने बताए ।

‘यो बजेटमा न्यायोचित वितरण भएन र देशमा चालु रहेका योजनाहरु समेतलाई अवरोध हुने गरी ल्याइएको छ । प्रधानमन्त्रीजीले पनि यसलाई सच्याउने भन्नु भएको हुनाले सच्चिएर अगाडि बढ्छ ।

‘अहिलेको बजेटमा एकलौटी ढंगले गठबन्धनमा रहेका दलहरुसँग छलफल नै नगरी यो बजेट ल्याइएको छ । बजेटले मधेश लगायत धेरै क्षेत्रलाई उपेक्षा गरेको छ । त्यसकारण यसलाई सच्याउनु पर्छ, सुधार गर्न पर्छ भनेर हामीले भनेका छौं । यथास्थितिमा यो बजेट पास हुन कठिन छ ।

बजेटमा न्यायोचित वितरण नभएको र यसले चालु रहेका योजनासमेतलाई असर पुर्याएको उनको भनाई छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत बजेट संशोधनका लागि सहमत भइसकेको उनले बताएका छन् ।

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट न्यायाधीशद्वय भट्टराई र रेग्मीको संयुक्त इजलासमा सुनुवाइ सुरु

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासको पहिलो नम्बरमा नै मुद्दाको पेसी परेको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले जेष्ठ १९ गते दायर गरेको रिटमा यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते अघिल्लो संघीय संसद्बाट पारित भएर शीतलनिवासमा थन्किएको नागरिकता विधेयक, २०६३ लाई संशोधन गर्न बनेको नागरिकतासम्बन्धी विधेयक, २०७९ प्रमाणीकरण गरेको थिए ।

बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा नागरिकता ऐन कार्यान्वयनमा बाधा पुग्ने छ । तर अल्पकालीन अन्तरिम आदेश खारेज भएमा कार्यान्वयनमा आउने छ ।

अघिल्लो संसदबाट राष्ट्रपति कार्यालयमा पुगेर अड्किएको उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि विवाद बढेको हो ।

राजदेवीको १० औ नगरसभा बाट साढे ४६ करोडको बजेट विनियोजन

रौतहट ६ असार। झण्डै साढे ४६ करोडको बजेट विनियोजन गर्दै राजदेवी नगरपालिकाकाे १० औं नगरसभा सम्पन्न भएको छ। राजदेवी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागी बुधवार बजेट तथा निति कार्यक्रम प्रस्तुत गर्दै नगर सभा संपन्न भएको हो।

जनमुखी स्थानीय सरकार,विकास र समृद्धिको आधार भने मूल नारा सहित आयोजित नगरसभामा मेयर भिखारी प्रसाद यादवले आर्थिक बर्ष २०८०/०८१ को लागि निति तथा कार्यक्रम कार्यान्वयन गर्न ४६ करोड़ ४० लाख १५ हजार रुपैयाको बजेट प्रस्तुत गरेका थिए।
चालू तर्फ ११ करोड़ ४१ लाख ५० हजार तथा पूंजीगत खर्च तर्फ ९ करोड़ ३८ लाख ६५ हजार रुपैया खर्चको लागि बजेट विनियोजन गरिएको छ ।  , सिचाई , कृषि कहती ,सहकारी प्रबर्दन ,नदी नाला ,पोखरि ,संरक्षण , युवा हरुलाई स्वरोजगारको लागि सीपमूलक तालीम , पर्यटन तथा सस्कृति विकास , पुरातात्विक बस्तु को खोज तथा व्यवस्थापन लाई बिशेष प्राथमिकतामा राखीएको छ।
सामाजिक विकास तर्फ गुणस्तरीय ,स्वच्छ प्रतिस्पर्धात्मक अध्यन अध्यापन प्रणालीमा जोड़ दिइएको छ ।
बैज्ञानिक सिचाई प्राविधि, नगरपालिका भित्र प्रतीक्षालय , सार्वजानिक शौचालय ,प्रत्येक वड़ा लाइ जोड़ने रिंग रोड,सड़क ,पुल ,कलभर्ट , कृषि भूमिमा सिचाई उपलब्ध गराउने तर्फ जोड दिईएको छ।
नगर सभामा जिल्ला समन्वय समिति रौतहटका सभापती राम अयोध्या प्रसाद यादव, उपमेयर राजकुमारी देवी , प्रमुख प्रशाकिय अधिकृत प्रलव कायस्थ , वड़ा अध्यक्षहरू लगायत निर्वाचित जनप्रतिनिधि विभिन्न दलका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो।

सञ्जय मिश्रा 

मेयरले प्रशासकिय अधिकृत लाई २५ किलोको माला किन लाइदिए

रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा भर्खरै आएका प्रमुख प्रशासकीय अधिकृत रासनारायण प्रसाद पटेललाई २५ किलोको माला गलामा पहिराएर काम सुचारु गर्न लगाएका छन्। वडा अध्यक्षहरुको घेराउमा परेका मेयरका निम्ति असार मसान्तको चाप सगै कामचलाउ योजनाबाट रकम निकासाका निम्ति पनि लफडामा नटिकेका कार्यकारीलाई जवाफ दिन र आफनो कामका निम्ति पनि २५ किलो होइन कार्याकारीको गलाले थाम्थ्यो भने सय किलोको माला पहिराउन पनि मेयर तयार थिए। यो रोग जिल्लाभरका नगरपालिकामा बिद्यमान छ। आफनो पदिय हैसियत नबुझेर हो या जे जस्तो योजना भनेपनी खुरुखुरु चेकमा हस्ताक्षर गर्छ्न भनेर यो हद सम्म जनप्रतिनिधि गिर्छ्न् यो सन्दर्भले निष्ठापुर्वक काम गर्ने मेयरको शिर झुकेको छ। रौतहटको एउटा नगरपालिकाका मेयरले गरेको यो अपरिपक्वताले भोलि सिङ्गो जिल्लामा नै सुशासन होइन कुशासन भित्र्याउने त होइन चिन्ता बढेको छ।
यतिबेला बृन्दाबन हाजिर गर्न आएका कार्यकारी प्रमुख रासनारायण लाई मालाको रासले प्रफुल्ल बनाएको होला तर किन मलाई मेयरले हैसियत भुलेर यो हदको सम्मान गरे भन्ने चुरो कुरो बुझेर कार्यशैलीमा सचेत नहुने हो भने आज मालाकाे रास भिर्ने त्यो ज्यानको दुबै हातमा हतकडी नलाग्ला भन्न सकिन्न तसर्थ आबेगमा होइन संयम भएर जिम्मेवार र जवाफदेही बनौ।मेयर साव अनि प्रमुख प्रशासकीय अधिकृत ज्यु ? अब त खादा र माला होइन जन जन को मन मन को माया नै करोडौंको सम्मान हो आबेगमा रमाएर फुर्सदमा नपछुताउ बृन्दाबनको सम्मानले सबैलाई झस्काएको छ।
यसैबीच प्रमूख प्रशासकीय अधिकृत पटेल बुधवार नगरपालिकाको कार्यालयमा हाजिर भएका थिए । उनलाई वृन्दावनका मेयर बिनोदप्रसाद कुर्मीले खाँदा र २५ किलोको माला लगाएर स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए। यसैबिच वृन्दावनका केहि स्थानिय तथा जनप्रतिनिधिले प्रमुख प्रशासकिय अधिकृत पटेल लाई २५ किलोको फूलको माला लगाएर स्वागत गरेको निको मानेनन। उक्त तस्वीर अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ।कतीपयले आफू मातहतका यी कर्मचारी संग योजना लिन चाकडि गरेको प्रतिक्रिया समेत दिएका छन् ।

कतै सम्मान त कतै हातपात सम्मको सामना

असार मसान्त लाग्न लागेका यो बेलामा कतिपय नगरपालिका भित्रका कर्मचारीले सम्मान र चाकडी ग्रहण गरिरहेका छ्न् भने कतिपय नगरपालिकाका कर्मचारीले हप्किदप्की मात्रै होइन गाली अनि हातपातको अवस्थाको समेत सामना गर्नुपरेको छ। यो दुबै कोणबाट कर्मचारीले काम गर्नुपरेको बध्यतालाइ सन्चारकर्मिले सहजीकरण सहित जन अपेक्षा अनुरुपको सुशासनको पक्षमा कलम चलाउनुपर्नेमा त्यसो हुनुभन्दा उल्टो बल्छी थाप्ने गरेका कारण रौतहटका कर्मचारी प्रशासन कुनबेला अख्तियारको फन्दामा परिएला भन्ने मानसिक तनाब बोकेर कार्य क्षेत्रमा डटिरहेका छन्।

आम विद्यार्थी मोर्चा सक्रिय हुँदै प्रदर्शन पछि सिडियाेलाई ज्ञापनपत्र

रौतहट ७ असार। मधेश प्रदेशमा प्रभू साह नेतृत्वको आमजनता पार्टी निकट आम विद्यार्थी मोर्चा  पनि सक्रिय हुनथालेको छ। बिधार्थी मोर्चाले सम्पुर्ण विद्यार्थीको हकहितको लागि पहिलो पटक शान्तिपूर्ण आन्दोलन सहित माग अगाडी सारेको हो। सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५% छुटको माग गर्दै बिरगंज

स्थित प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ। बुधवार 

दर्जनौं को संख्यामा गएका आम बिद्यार्थी मोर्चाका विद्यार्थीहरुले  बिरगजमा बिरोध जुलुस प्रदर्शन पछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो।

नेपाल सरकारले सार्वजनिक यातायातमा बिद्यार्थीलाई ४५ प्रतिशत भाडामा छुट दिने व्यवस्था काठमाडौंमा मात्र सिमित भएकाे छ। कलैया, जितपुर, पोखरीया लगायत दर्जनौं स्थान बाट  अध्ययनको लागि सार्वजनिक यातायातमा दैनीक आउने सैयौं बिद्यार्थी लाई नियमानुसार भाडामा ४५ प्रतिशत छुट दिइनुपर्ने मोर्चाले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

सरकारले निर्धारण गरेको विद्यार्थीको लागी छुट सुबिधा लागू नभएमा मधेश प्रदेशमा कडा आन्दोलन गर्ने चेतावनी मोर्चाले दिएको छ।

आम बिद्यार्थीको केन्द्रीय ईञ्चार्ज  उमेश कुशवाहाको नेतृत्वमा गएको बिद्यार्थी को टोलीमा केन्द्रीय अध्यक्ष बिबेक साह, मधेस प्रदेस इन्चार्ज बिकास झा, मधेस प्रदेस सह- इन्चार्ज दिपेन्द्र साह तथा प्रदेस अध्यक्ष राकेश बैठा लगायत पर्सा, बारा, रौतहटका दर्जनौं विद्यार्थीको सहभागीता रहेको थियो।

सञ्जय मिश्रा 

पिपरा बजारको बाटो खाली गराउन अध्यक्ष सिंह सक्रिय

रौतहट ७ असार। रौतहटको दुर्गाभगवाती गाउँपलिकाको अध्य्क्ष शम्भू सिंह द्वारा पीपरा बजारका सडक अतिक्रमण हटाउन सक्रिय भाएका छन। पसलको समान सडकमा राखिएकोले बाटो अतिक्रमण गरेर लगाइएको छाउनी,होडिंग बोर्ड लाई हटाउन अध्यक्ष सिंहले आग्रह गरेका छन।

सडक दुर्घटना जोखिमबाट बचाउन र बजारमा सहज रुपमा आवत जावत गर्न ब्यक्तिहरुलाइ सजिलो होस् भन्दै अध्यक्ष ले त्यस्ता सामग्री हटाउन आग्रह गरे। अध्यक्ष सिंहले इलाक प्रहरी कार्यालय गंगा पीपरा र शस्त्र प्रहरी वैश् कैम्प भलोइयाको टोली सयुक्तरूपमा सहयोग गरेका  थिए। अनुरोधको बेवास्ता गरेमा बाटो अतिक्रणकारी लाई कानून अनुसार कार्वाहिको दायरामा ल्याउने अध्यक्ष सिंहले चेतावनी दिएका छन 

पूर्व मेयर कुशवाहा द्धारा १०५ फीटको महादेव मुर्तिको शिलान्यास

रौतहट ७ असार। रौतहटको कटहरिया नगरपालिकाका पूर्व मेयर सियाराम कुशवाहाले १०५ फिट अग्लो महादेव भगवानको मूर्ति निर्माणको लागि शिलान्यास गरेका छन।

कटहरिया नगरपालिका १, बड़ेरवा टोलमा रहेको रामजनकी मठमा १०५ फिट अग्लो मुक्तेश्वर महादेवको मूर्ति निर्वाण गर्न  पूर्व मेयर कुशवाहा बुधवार बिधिवत रूपमा शिल्यानाश गरेका हुन्। ब्यक्तिगत र केही दाताको सहयोगमा कुल ५० लाख रुपैयाँको लागतमा उक्त महादेवको मूर्ति निर्माण गरिने लक्ष्य रहेको पूर्व मेयर कुशवाहाले जानकारी दिएका छन। शिलान्यास समारोहमा दर्जनौं स्थानियहरुको सहभागीता रहेको थियो।

किसानलाई पेन्सन र न्यायलय समावेशी हुनुपर्ने प्रभू साहको माग

रौतहट  ७ असार। किसानको हकहितका लागि पटकपटक आवाज उठाउँदै आएका पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष  प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था र समावेशी न्यायलय हुनू पर्ने प्रस्ताव गरेका छन्। प्रतिनिधिसभाका सदस्य प्रभु साहले संविधानको मर्मबमोजिम न्यायालयलाई पनि समावेशी बनाउनुपर्ने बताएका छन् ।  संविधानले राज्यका सबै निकायमा समावेशी सिद्धान्तका आधारमा सहभागिता र प्रतिनिधित्वको व्यवस्था गरेको स्मरण गराउँदै उनले एकपटक न्यायालय पनि समावेशी भएको हेर्न चाहेको बताएका छन।प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांद साहले भने, ‘न्यायालय पनि यही संविधानको भित्र छ, यही संविधान मान्ने भए न्यायालय पनि समावेशी हुनुपर्दैन  ? कि न्यायधीश अरू जाति समुदायबाट हुन मिल्दैन प्रश्न गरेका थिए।

उनले न्यायालयलाई संविधानको मर्मबमोजिम सबै लिंग, जाति र वर्गको प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन। त्यसैगरी 

समाज र राष्ट्रको लागि सदैव आफ्नो जीवन आहुती गर्दै आएका अन्नदाता किसानलाई राज्यले पेन्सनको व्यवस्था गर्नुपर्ने उनले माग गरेका छन।

कृषि क्षेत्रको प्रोत्साहनका लागि, पुस्तैनी आफ्नो पेसा कृषिनै बनाएका किसानको सम्मानका लागि पनि पेन्सन दिने व्यवस्था गर्न सरकारले आँट गर्नुपर्ने पूर्व मन्त्री साहले जिकीर गरेका छन।

प्रतिनिधिसभामा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा बुधवार भाग लिँदै संघिय सांसद साहले आफ्नो जागीर अवधिभरी लुटेर बसेका कर्मचारीलाई पेन्सन दिने, तर किसानलाई नदिने काम नगर्न पनि सरकारलाई सचेत गराएका थिए।

नेता साहले‘देश लुटेर खाने  स्थायी सरकारलाई दिने कि मुलुकका जनतालाई पाल्दै आएका किसानलाई  प्रश्न गरेका थिए। आफ्नो खुन पसीना बेचेर सुकाएर हामीलाई हामी नेपाली जनतालाई पाकिरहेको छ उनीहरूलाई हामीले पेन्सन किन दिन नसक्ने तर्क गरेका थिए। उनले भने म भन्न चाहन्छु कि यदि तपाई हामी कृषिलाई सम्मान गर्न चाहन्छौँ, कृषकको सम्मान बढाउन चाहन्छौँ  भने कृषकलाई पेन्सनको व्यवस्था गरौँ, यो लुट्ने स्थायी सरकार नेपाल सरकारका भ्रष्ट कर्मचारीलाई हैन ,। कर्मचारी बनाउनेहरु जुन-जुन जती-जती ठुलो पोष्टमा छन् त्यति ठुलो भाग खाने भ्रष्टाचार गर्ने अनि त्यसैलाई पेन्सन दिएर पाल्ने हैन यो कस्ताे नीति हो प्रभू साहले प्रस्ट्याएका थिए।

पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष साहले विनियोजित बजेटले कृषि क्षेत्रतर्फ आकर्षित गर्न सक्ने सम्भावना नरहेको उल्लेख गर्दै त्यसतर्फ विशेष ध्यान पुर्‍याउन पनि सरकारलाई सुझाव दिएका थिए।

सञ्जय मिश्रा

अप्पर लोहोरे खोला हाइड्रोको आइपीओ आजदेखि बिक्री खुला

काठमाडौँ – अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले बिहीबारदेखि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज असार ७ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो।

कम्पनीले जारी पुँजीको ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १०५ अर्थात् ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरूका लागि जारी गरेको छ। जसअनुसार यस कम्पनीले १ सय अङ्कित मूल्यमा ५ लाख ९ हजार ८०४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको छ।

जसमध्ये २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेख जिल्लाको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दा बाहेक दैलेख जिल्ला बासिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १०५ ले हुन आउने १ करोड ९८ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन भएको छ। जसअनुसार प्रतिसेयर १ सय अङ्कित दरले १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो ।दुवै समूहका लगानीकर्ताले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले यसमा असार गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने असार २१ गतेभित्र आवेदन दिनु पर्नेछ।

रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ। स्थानीय बासिन्दाले आयोजना स्थल, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।