पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६३.२४ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८० र ८१ को मौद्रिक नीति जारी गरेसँगै त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ ।
चालु आर्थिक वर्ष २०८१ र ८१ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको नीतिगत दर तथा निक्षेप सङ्कलन बोलकबोल दर घटाएका छ भने नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । बैंकदर यथावत राख्ने, ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सङ्कलन सुविधा उपलव्ध गराउने र शेयर धितो कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने विषय पनि मौद्रिक नीतिमा राखिएको छ । उक्त नीतिका कारण ब्याजदर घट्ने अनुमान गरिएको छ । मौद्रिक नीतिमा यस्ता व्यवस्था आएसँगै पुँजीबजारका लगानीकर्ता उत्साहित भएका छन् । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६३ दशमलव २४ अङ्कले बढेर दुई हजार दुई सय २७ दशमलव १६ अङ्कमा कायम भएको छ । यो दुई दशमलव ९२ प्रतिशतको वृद्धि हो ।
आज दुई सय ६६ कम्पनीको एक करोड २० लाख दुई हजार तीन सय आठ कित्ता शेयर ७५ हजार ८६ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३७ करोड ५१ लाख ९६ हजार दुई सय ३२ बराबरको कारोबार भएको छ । सबै समूहको उपसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ ।
सबैभन्दा धेरै विकास बैंक समूह एक सय ९५ दशमलव ३६ र होटल तथा पर्यटन समूह एक सय ७७ दशमलव २२ अङ्कले बढेको छ । बैंकिङ ६५ दशमलव ५६, वित्त ३३ दशमलव ५१, जलविद्युत् ४० दशमलव ७७ र लगानी समूह दुई दशमलव ५५ अङ्कले बढेको छ ।
त्यस्तै, जीवन बीमा समूह एक सय २५ दशमलव ५१, उत्पादन तथा प्रशोधन समूह ९२ दशमलव १५, लघुवित्त समूह ४९ दशमलव ६५, म्युचुअल फन्ड शून्य दशमलव ०८, निर्जीवन बीमा एक सय ५८ दशमलव ११, व्यापार एक सय २१ र अन्य समूह २२ दशमलव ३४ अङ्कले बढेको छ ।
आजको कारोबारमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एनआइबिल ग्रोथ फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १४ करोड ८१ लाख ५९ हजार ३७ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच लाख ७० हजार सात सय ५१ कित्ता शेयर किनबेच भएको छ ।

लघुवित्तीय संस्था खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ । काठमाडौँमा लघुवित्तीय संस्थाविरुद्ध प्रदर्शन भएको छ । आइतबार लघुवित्तीय संस्थाविरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखेर काठमाडौँमा प्रदर्शन गरेका हुन् । उनीहरूले माइतीघर मण्डलबाट जुलुस निकालेर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भद्रकालीसम्म पुगेका थिए । भद्रकाली पुगेर उनीहरूले कोणसभा समेत गरेका छन्। उनीहरूले वित्तीय दलाललाई कारबाही गर, लघुवित्त संस्था खारेज गर, कपाली कागज र बाउन्स चेक खारेज गर जस्ता नारा लेखिएका कागज बोकेका थिए। लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, संस्थाले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानहरूलाई ऋण निस्शुल्क प्रदान गर्नुपर्ने लगायत माग राखेका छन् ।

२६ सहसचिवको सरुवा, सूचीसहित

काठमाडौँ । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा अघिल्लो मन्त्रिपरिषद् बैठकले सङ्घ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार राष्ट्रिय कितावखानाका महानिर्देशक टोकराज पाण्डेको अर्थ मन्त्रालयमा सरुवा भएको छ भने ललितपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल गृह मन्त्रालय आएका छन् । त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशका प्रदेश सचिव भीष्म कुमार भुसालको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशमा सरुवा भएको छ भने तीर्थ राज भट्टराईलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशमा सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची

महिनौँदेखि गरेको सरुवा तयारीमा धेरै समय पछि सूची सार्वजनिक भएको छ । जसबारे केही दिन अघि प्रशासन डटकमले समाचार प्रकाशन गरेको थियो ।

आवासीय घरकर्जाको सीमा बढाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८० र ८१ को मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढाएको छ ।
“पहिलो आवासीय घर कर्जाको सीमा रु १ करोड ५० लाखलाई वृद्धि गरी रु २ करोड पुर्याइनेछ”, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् भनेको छ । त्यस्तै, नेपालका बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तीमा एक प्रतिशत थप ब्याज दिने व्यवस्थालाई राष्ट्र बैंकले चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ ।
चालु आर्थिक वर्षमा वित्तीय तथा मौद्रिक क्षेत्र सुधारका लागि विभिन्न कानूनी प्रक्रिया संशोधन तथा सुधारका नीति लिइने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षणको काम चुस्त बनाउन विभिन्न नीति, ऐन, नियमावली तथा निर्देशिकामा संशोधन गरिने जनाइएको छ ।
“वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर–व्यावसायिक तथा उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैकिङ्ग कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने छ”, चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ, “पारस्परिक मूल्याङ्कनबाट प्राप्त सुझाव समेतका आधारमा सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित निर्देशनहरु जारी गरिने छ । साथै, सम्बन्धित कानुनको समसामयिक परिमार्जन गर्न र राष्ट्रिय रणनीति तर्जुमा गर्न सहजीकरण गरिनेछ ।”
निजी क्षेत्रले विरोध जनाइरहेको चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन पनि संशोधन गर्ने राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् जनाएको छ । “बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने छ”, मौद्रिक नीतिमा उल्लेख छ ।
त्यस्तै, प्राकृतिक प्रकोप वा अन्य विशेष परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुको कर्जा पुनरसंरचना लगायतका व्यवस्था गरेर पुनरुत्थान तथा अन्य व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाले अवलम्बन गर्नु पर्ने उपाय र प्रकृयालाई समावेश गरी ‘स्ट्रेस्ड लोन रिजोलुसन फ्रेमवर्क’ जारी गरिने राष्ट्र बैंकको भनाइ छ ।
वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर पुनःमूल्याङ्कन गर्नुका साथै बैंक तथा वित्तीय संस्थाको आन्तरिक कर्जा जोखिम वर्गीकरण (इन्टरनल क्रेडिट रिस्क ग्रेडिङ)गर्नेसम्बन्धी मार्गदर्शन तर्जुमा गरी कार्यान्वयनमा ल्याइने मौद्रिक नीतिमा उल्लेख छ । त्यसैगरी, राष्ट्रिय स्तरका विकास बैंकहरुले समेत पूर्ण रुपमा क्यापिटल एडिक्वसी फ्रेमवर्क, २०१५ अनुसार पुँजीकोष कायम गर्नु पर्ने व्यवस्था लागू गर्ने राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा उल्लेख गरेको छ ।
नेपाल लेखामानअनुसार ‘एक्स्पेक्टेड क्रेडिट लस मोडल’ (इसिएल) कार्यान्वयनका लागि आवश्यक नीति तर्जुमा गरिने राष्ट्र बैंकको भनाइ छ । त्यस्तै, कर्जा प्रवाहको वर्तमान अवस्था समेतको विश्लेषणको आधारमा तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्नेसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने राष्ट्र बैंकले बताएको छ ।
चालु आर्थिक वर्ष वार्षिक बजेटमा उल्लेख भएबमोजिम बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा सुविधा उपयोग गर्ने ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनु पर्ने व्यवस्था पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।
धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका प्राइभेट इक्विटी फन्ड तथा भेञ्चर क्यापिटल फन्डमा बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई सहजीकरण गर्न विद्यमान लगानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने जनाइएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ‘क्रेडिट स्कोरीङ्ग’ मापन गर्ने प्रणालीको विकास गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने पनि राष्ट्र बैंकको भनाइ छ ।
चालु आर्थिक वर्षको २०८० र ८१ को वार्षिक बजेटमा उल्लेख भएबमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरीवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण राष्ट्र बैंकले गर्ने मौद्रिक नीतिमा व्यवस्था गरिएको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्था तथा अन्य भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुबीच ग्राहकको सूचना आदानप्रदान गर्ने कार्यलाई सहज बनाउन र नेपाल सरकारले जारी गरिरहेको राष्ट्रिय परिचयपत्रसमेतलाई केन्द्रीय ग्राहक पहिचान (सेन्ट्रलाइज्ड केवाइसी) प्रणालीमा आवद्ध हुने गरी केन्द्रीय ग्राहक पहिचान प्रणालीको निर्माण तथा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने जनाइएको छ ।

मौद्रिक नीति ः सहकारी संस्थाको नियमनका लागि विशिष्टिकृत निकाय स्थापना गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी सस्थाको प्रभावकारी नियमनका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने भएको छ ।
सहकारी संस्थाका बेथिती लगातार सार्वजनिक भइरहेको तथा अनेकन असन्तुष्टि सार्वजनिक भइरहेको अवस्थालाई मध्यनजर गरेर केन्द्रीय बैंकले समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने भएको हो ।
आज सार्वजनिक भएको चालु आर्थिक बर्षको मौद्रिक नीतिमा भनिएको छ, “आर्थिक वर्ष २०८० र ८१को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि गरिनेछ ।”
सरकारले चालु आवको बजेटमा सहकारी संस्थाको बेथिती नियमन गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख गरेको छ ।

विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार परराष्ट्रमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भइरहेको बताएका छन् ।
कांग्रेसको यही साउन २ गतेदखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा आज उनले आफ्ना धारणा राख्दै सत्ता नपाएपछि विपक्षी दलले सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार गरिरहेको आरोप लगाए ।
विपक्षमा रहेका दल सत्ता नपाएपछि रन्थनिएका जस्तो अवस्थामा देखिएको टिप्पणी गर्दै नेता साउदले भने, “सेना जस्तो संस्थामा केही पार्टीले आक्रमण गरिरहेका छन् । मुलुकको असंलग्न परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार गर्ने काम भइरहेको छ ।” प्रमुख सत्ता साझेदार दल कांग्रेस सही बाटोमा हिँडेको र सही बाटोमा हिँड्न आत्मविश्वास राखेर अगाडि बढ्नुपर्नेमा समेत उनले जोड दिए ।

अफगानिस्तानमा आईएसको उपस्थिति नरहेको दाबी

काठमाडौं । अफगानिस्तानको कामचलाउ सरकारले देशमा इस्लामिक स्टेट (आईएस) सङ्गठनको उपस्थिति नरहेको दाबी गर्दै त्यससम्बन्धमा सार्वजनिक विवरण आधारहीन भएका बताएको छ । साथै उसले ती विवरणको खण्डन पनि गरेको छ ।
अफगानिस्तानको इस्लामिक इमिरेट्सले कसैलाई अफगानिस्तानको राष्ट्रिय सुरक्षामा खलल पार्ने वा हाम्रो भूमि अरूका विरुद्धमा प्रयोग गर्न नदिने कार्यवाहक सरकारका विदेश मन्त्रालयका प्रवक्ता अब्दुल काहार बल्खीले स्पष्ट गरेका छन् ।
इरानका एक जना वरिष्ठ कूटनीतिज्ञले आतङ्कवादी समूह आईएसका कार्यकर्तालाई सिरिया, लिबिया र इराकबाट अफगानिस्तानमा सारिएको दाबी गरेपछि प्रवक्ता काहारको उक्त स्पष्टीकरण आएको हो । “हामी इरानी विदेशमन्त्रीले इराक, सिरिया र लिबियाबाट आईएसका नेतालाई अफगानिस्तानमा सारिएको दाबी गर्ने आरोपलाई अस्वीकार गर्दछौँ,” बल्खीले ट्वीट् गरेका छन् ।
यसअघि अफगान सुरक्षा बलहरूले आईएससँग सम्बद्ध दर्जनौँ कार्यकर्ताहरूलाई मारेको र गिरफ्तार गरेका थिए । चरमपन्थी सशस्त्र समूहले राजधानी काबुलमा मस्जिद, होटल र विदेश मन्त्रालयका कर्मचारीलगायत धेरै जनामाथि भएका घातक हमलाको जिम्मेवारी लिएको थियो ।

प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोम पुगेका छन् । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज स्थानीय समयअनुसार बिहान ७ः३० मा त्यहाँ पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सो कार्यक्रमलाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ । प्रधानमन्त्रीलाई रोमस्थित अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी, इटालीका परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरेका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
अतिकम विकसित राष्ट्रहरुको अध्यक्षको हैसियतमा उक्त कार्यक्रमको उद्घाटन समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् । हालै नेपालले पाँच वर्षका लागि अतिकम विकसित राष्ट्रहरूको ग्लोबल कोर्डिनेसन ब्युरोको अध्यक्षता ग्रहण गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल शनिबार इटालीतर्फ प्रस्थान गरेको थियो । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा उनको स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा। बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मी सहभागी छन् ।
यस्तै प्रधानमन्त्री दाहाल विद्यालय भोजनका बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनेछन् । यसैगरी उहाँ साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफल समेतमा सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्वखाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
नेपालको खाद्य सुरक्षाका साथै नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेमा त्यसअवसरमा महत्वपूर्ण छलफल हुनेछ । यस्तै, रोममा गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्। प्रधानमन्त्री प्रचण्ड यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको छ । अनेरास्ववियुले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अबदेखि कुनै पनि विश्वविद्यालय तथा क्याम्पसमा तालाबन्दीका कुनै पनि कार्यक्रम नगर्ने सङ्गठनका अध्यक्ष समिक बडालले जानकारी दिए । “अहिले तालाबन्दीका कारणले विश्वविद्यालय र क्याम्पस अस्तव्यस्त भएका छन्”, उनले भने, “अबदेखि अखिलले कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी गर्दैन, तल्लो कमिटीलाई तालाबन्दी नगर्न हामीले निर्देशन दिइसक्यौँ ।” अहिले नेपाल संस्कृति विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन् ।
अध्यक्ष बडालले तालाबन्दीका कारण विद्यार्थीको पठनपाठनसहित विश्वविद्यालय र क्याम्पस अस्तव्यस्त बन्ने भएकाले तालाबन्दीको विकल्पका रुपमा अन्य आन्दोलन गर्ने बताए ।
पत्रकार भेटघाटमा उनले सामुदायिक विद्यालय सुधार गर्न स्थानीय तहले गरेको कार्यलाई सहयोग गर्ने भनाइ राखे । उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक नभइ ‘बोर्ड अफ ट्रस्ट’का आधारमा गर्न सरकारलाई दबाब दिने बताए ।
दश हजार कमिटी गठन
यसैगरी अखिलले सङ्गठन विस्तारका लागि १० हजार कमिटी गठन गर्ने अभियान थालेको छ । छ महिनाभित्र वडा तह, पालिका तह, क्याम्पस तहसम्म १० हजार कमिटी गठन गर्ने अध्यक्ष बडालले जानकारी दिए ।
अभियानकै क्रममा अहिले क्याम्पस तहमा सदस्यता विवरण गरिरहेको जनाइएको छ । यही साउन १ देखि १० गतेसम्म क्याम्पसमा सङ्गठनका लागि सदस्यता विवरण गरिरहेको उनको भनाइ छ । क्याम्पसपछि कक्षा ११ र १२ मा अध्ययनरत रहेका विद्यार्थीलाई अखिलको सदस्यता विवरण गर्ने जनाइएको छ । अध्यक्ष बडालले आफ्नो सङ्गठनले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई अखिलको सदस्य नबनाउने घोषणा गरे।

निजी क्षेत्रको कर्जा ११.५ प्रतिशतले विस्तार हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले, चालु आर्थिक वर्ष २०८० र ८१ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको छ ।

आईतबार राष्ट्र बैंकले चालु वर्ष २०८० र ८१ को लागि मौद्रिक नीति जारी गर्दै निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको हो । यस्तै केन्द्रीय बैंकले विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत हुने अनुमान गरेको छ । यस्तै मौद्रिक नीतिले मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने नीति लिएकोे छ ।

काँग्रेस सरकारमा भएको अनुभूति भएन ः डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. सेखर कोइरालाले आम मानिसले कांग्रेस सरकारमा भएको अनुभूति नगरेको टिप्पणी गरेका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा. कोइरालाले कांग्रेस स्थानीय तह, प्रदेसदेखि केन्द्रसम्म सरकारमा भएपनि आम मानिसले कांग्रेस सरकारमा भएको अनुभूति नगरेको बताए । महंगी बढेको र आम मानिसको दैनिकी कठिन बन्दै गएको भन्दै कोइरालाले ध्यानाकर्षण गराएका थिए ।

कोइरालाले केन्दीय समितिको बैठक सधै लाइभ हुन नसक्ने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । कोइरालाले हालै गठबन्धनमा रहेका दलहरुले समाजवादी मोर्चा कसका लागि बनाएको हो भन्दै प्रश्न गरेका थिए । उनले यस केन्द्रीय समितिको बैठकले आउदा निर्वाचनमा कांग्रेस एक्लै लड्ने बाचा गर्नुपर्ने बताएका थिए ।

घट्यो मौद्रीक नीति प्रतिशतमा कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८० र ८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

आईतबार वेबसाइटमार्फत सार्वजनिक गरिएको मौद्रिक नीतिले ७ प्रतिशत रहँदै आएका नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको हो ।

नीतिगत दर घटेपछि बैंकहरुले राष्ट्र बैंकमार्फत लिने अल्पकालीन सापटीमा लागत कम पर्न जानेछ ।

त्यस्तै हालको बैंकदर ७.५ प्रतिशतको सीमालाई भने यथावत राखिएको छ । निक्षेप संकलन दर ५.५ बाट ४.५ प्रतिशत कायम गरिएको छ ।

त्यस्तै सार्वजनिक मौद्रिक नीतिमा आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाएर २ करोड पुर्याएको छ ।

शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय टोली काठमाडौंमा, भ्रमण अर्थपूर्ण

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का उच्च स्तरीय टोली आज नेपाल आइपुगेको छ। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको निमन्त्रणामा पोलिटव्युरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिवसमेत रहेका युयान च्याच्युन नेतृत्वको २६ सदस्यीय टोली आइतबार दिउँसो काठमाडौं आइपुगेको हो । श्रीलंकन एयरमार्फत उनीहरु नेपाल आएको टोलीलाई माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले स्वागत गरेका थिए । भ्रमण दलमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता र विदेश मन्त्रालयका अधिकारीहरु छन्। युयानको टोली सिंगापुर र श्रीलंका हुँदै नेपाल आएको हो । नेपाल बसाईंका क्रममा उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधामन्त्री र शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने छन्। चीनले प्रधानमन्त्रीका भ्रमणका बेला बीआरआई परियोजना कार्यान्वयनको ठोस खाकाका विषयमा छलफल गर्ने तयारी समेत गरिरहेको छ । सीपीसीको केन्द्रीय कमिटी बैठकले जुलाई १६ देखि २५ तारिखमा युयानको नेतृत्वमा तीन देशमा भ्रमणमा पठाउने निर्णय गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला सीपीसी नेताहरूको नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ।

मौद्रिक नीति पारित

काठमाडौं । आर्थिक वर्ष (२०८० र ८१) को मौद्रिक नीति पारित भएको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आइतबारको बैठकले मौद्रिक नीति पारित गरेको हो । मौद्रीक नीति वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको छ । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पु(याउने उद्देश्य राखेको हुन्छ ।

ललिता निवास प्रकरण ः तत्कालीन नापीका कर्मचारी श्रेष्ठ पक्राउ

काठमाडौं । ललिता निवास प्रकरणमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार थप एक जनालाई पक्राउ गरेको हो । तत्कालीन नापीका कर्मचारी अरूणकुमार श्रेष्ठलाई जोरपाटीस्थित उनकै घरबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए । सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेको एसएसपी आचार्यले बताए । यो सँगै हालसम्म यस प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।