सय किलो सुन बरामद प्रकरणमा राजश्व अनुसन्धान विभागले होटल भियानमा छापा हानेको छ । सय किलो सुन प्रकरणमा कनेक्सन देखिएपछि विभागले आज (आइतवार) छापा हानेको हो । विभागले केही कागजातहरू बरामद गरेको छ । विभागले १ जनालाई पक्राउ गरेको जनाएको छ । उनको हङकङसँग कनेक्सन देखिपछि पक्राउ गरिएको अनुसन्धानमा खटिएका एक अधिकृतले लोकान्तरलाई बताए । भन्सारबाट कटिसकेपछि राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट मोटरसाइकल ब्रेक सू बरामद गरेको थियो ।
Month: February 2022
समाजवादी मोर्चाले आज विद्यार्थी मोर्चाको घोषणा गर्ने
काठमाडौं । चारदलीय समाजवादी मोर्चाले समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्ने भएको छ । माओवादी, जसपा, एकीकृत समाजवादी र नेकपा सम्मिलित मोर्चाले अब विद्यार्थी मोर्चा गठन गर्न लागेको हो । आइतबार दिउँसो १२ बजे विद्यार्थी मोर्चाको गठन गर्न लागिएको हो ।ललितपुरको च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणा हुने कार्यक्रम तय भएको छ। कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । समाजवादी मोर्चाले आफ्नो संगठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार गर्ने योजना बनाएको छ। केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँच–पाँचजनासम्म र प्रदेशमा तीन–तीन तथा जिल्लामा दुई–दुईजना चारवटै पार्टीबाट समेटिने गरी मोर्चा बनाइने भएको छ । हालै गठन भएको मोर्चाको नेतृत्व हाल एकीकृत समाजवादीका अध्यक्ष नेपालले गर्दै आएका छन्।
नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध
चितवन। नारायणगढ–मुग्लिन सडक खण्डमा आइतबार बिहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो।
पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उनले बताए। पहिरोका कारण यस सडक खण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ।
बाबुरामले भने– कोशीमा नयाँ सरकार बनाउन मध्यावधिमा जाऔं
काठमाडौं । नयाँ सरकार गठनको पहल भइरहेका बेला भट्टराईले मध्यावधिको विकल्प सुझाएका हुन् । नयाँ सरकार गठन हुने तयारी भइरहेका बेला नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी सरकार निर्माणका लागि मध्यावधि निर्वाचनमा जानु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र रु यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने ।’ अंक गणितका आधारमा सरकार निर्माणमा गर्न संवैधानिक प्रश्न उठिरहेको बेला भट्टराईले मध्यावधिको विकल्प सुझाउनलाई अर्थपूर्ण मानिएको छ । उनी अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट छन् । समाजवादी मोर्चामा आफूलाई नसमेटेपछि बाबुराम प्रचण्डसँग टाढिएका हुन् ।
पोखरा महानगरले कृषि एम्बुलेन्स सञ्चालनमा नियमितताको मागका साथः उपभोक्ता
पोखरा महानगरपालिका वडा नं १९ र १६ को सङ्गमस्थल ठूलीपोखरीमा किसान बजार सञ्चालनमा आएपछि किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले बजार पाएको छ । पोखरा महानगरपालिकाले एक महिनायता कृषि एम्बुलेन्स सञ्चालन गरी वडाको दुर्गम क्षेत्रमा उत्पादित तरकारी बजार क्षेत्रमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाइदिएपछि किसानको अनुहारमा खुशी छाएको छ ।
पोखरा महानगरपालिका वडा नं १९ र १६ को सङ्गमस्थल ठूलीपोखरीमा सञ्चालनमा ल्याइएको किसान बजारस्थलमा शनिबार तरकारी किन्न स्थानीयको भीड नै लागेको थियो । स्थानीय उपभोक्ताले ताजा र सस्तो मूल्यमा तरकारी उपभोग गर्न पाएका छौँ । बिचौलिया हाबी नहुँदा किसानले समेत उचित मूल्य पाएका छन् ।’ स्थानीय उपपभोक्ताले बजारले नियमितता पाउनुपर्ने माग राखेका छन् । भारतबाट ल्याइएको बासी र विषादीयुक्त तरकारी उपभोग गर्नुपर्ने बाध्यता अब हामीलाई हटेको छ, स्थानीय दुर्गादेवी अधिकारीले भनिन् ।
वडास्तरीय उक्त किसान बजारस्थलको संयोजक जीतबहादुर बस्नेत रहेका छन् । उनले बजारलाई नियमितता दिने प्रयास आफ्नो रहने र फलफूलका साथै पछिल्ला दिनमा दूध र मासुको समेत व्यवस्था गरिने बताए । महानगरपालिकाको कृषि एम्बुलेन्सले ल्याएको तरकारी बजारस्थलमा १०–२० प्रतिशत नाफा लिएर उपभोक्तलाई बिक्री गरिएको जानकारी संयोजक बस्नेतले दिए । कृषि एम्बुलेन्सले ल्याउन नसकेका दिन पनि बजारकै तर्फबाट ढुवानी गरेर तरकारी बजारस्थलमा ल्याइने प्रतिबद्धता संयोजक बस्नेतको छ ।
ठूलीपोखरीमा शनिबारदेखि सञ्चालनमा आएको किसान बजारस्थलको उद्घाटन पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, वडा नं १६ का अध्यक्ष अमृत तिमिल्सेना र पोखरा महानगरपालिका कृषि तथा पशु सेवा महाशाखाका प्रमुख मनोहर कडरियाले संयुक्तरूपमा गरेका थिए ।
सो अवसरमा बोल्दै वडा नं १९ का वडाध्यक्ष पाण्डेले किसानले उत्पादन गरेको तरकारीको बजारीकरण गरी उनीहरूलाई कृषिप्रति आकर्षित गर्नुपर्नेमा जोड दिए । युवाको विदेश मोहलाई घटाउनका लागि पनि सरकारी तहबाट कृषि क्षेत्रलाई अनुदान दिएर भए पनि कृषिप्रति युवाको आकर्षण बढाउन जरुरी रहेको भनाइ पाण्डेको छ ।
पोखरा–१६ का वडाध्यक्ष तिमिल्सेनाले किसान बजारलाई निरन्तरता दिने कार्यमा आफ्नो प्रयास रहने बताउँदै नजिकै बजार स्थापना भएपछि स्थानीय किसानले समेत आफ्नो उत्पादनलाई वृद्धि गर्ने विश्वास उनले दिलाए । किसानलाई प्रोत्साहन र कृषि क्षेत्रको प्रवर्द्धन गर्न वडास्तरबाट समेत बीउबिजन र सहजरूपमा रासायनिक मल उपलब्ध गराउने व्यवस्था मिलाउन आफ्नो प्रयास रहने प्रतिबद्धता तिमिल्सेनाले गरे ।
पोखरा महानगरपालिका कृषि तथा पशु सेवा महाशाखा प्रमुख कडरियाले पोखरा महानगरपालिकाले पोखराका विभिन्न १५ स्थानमा सङ्कलन केन्द्र र पाँच स्थानमा किसान बजारस्थल सञ्चालनमा ल्याएको जानकारी दिए । कृषि क्षेत्रको प्रवर्द्धन गर्न र पोखरेली उपभोक्तालाई ताजा र कम विषदीयुक्त तरकारी खुवाउन आफ्नो प्रयास रहेको बताए । कृषि एम्बुलेन्सले पोखराका विभिन्न वडामा पुगेर किसानले उत्पादन गरेको तरकारी विभिन्न बजारस्थलसम्म ल्याउने गरेको जानकारी कडरियाले दिए ।
आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
काठमाडौँ । अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट वञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदै छ । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ ।
सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ ।
मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वव्यापी सङ्कट, द्वन्द्व र जलवायु आपत्कालले मानव बेचबिखनको जोखिम बढिरहेको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् । यस्तै गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घअन्तर्गतको लागुऔषध र अपराधसम्बन्धी कार्यालयका अनुसार विकासशील राष्ट्रहरूमा मानव बेचबिखनप्रतिको प्रतिक्रिया घट्दै गएको छ । सन् २०२० मा मानवबेचबिखन पत्ता लगाउने दर ११ प्रतिशतले घटेको र मावबेचविखनविरुद्ध सजायको दर २७ प्रतिशतले घटेको थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय प्रतिवेदन, २०७६ अनुसार पछिल्लो समय महिला र बालबालिकाको एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका अन्य विभिन्न मुलुकमा समेत बेचबिखन तथा ओसारपसार हुन थालेको छ ।
मानव बेचबिखनको आयाम फराकिलो बन्दै गएकाले यसको नियन्त्रण चुनौतीको विषय बन्दै गएको छ । मानव बेचबिखन नियन्त्रणका लागि समयसाक्षेप कानुनको संशोधन र निर्माण गर्न आवश्यक भएको यस क्षेत्रमा काम गर्दै आएका साझेदार संस्थाहरूको भनाइ छ ।
“मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न हाम्रा कानुन अपुग र अव्यवहारिक छ”, समाजशास्त्री मीना पौडेल भन्छिन्, “पहिल्यैतिर लोभलालच वा झुक्याएर बेचबिखन हुन्थ्यो, अहिले यसको आयाम फराकिलो भएको छ । अहिले महिलामात्र होइन, पुरुष पनि यसको जोखिममा छन् ।”
इपिएस कोरिया शाखाले खोल्यो पानी जहाज कम्पनीमा २५०० कामदारका लागि भाषा परीक्षा
काठमाडौँ । पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि इपिएस कोरिया शाखाले भाषा परीक्षा खुलाएको छ। शाखाले करिब २ हजार ५०० कामदारका लागि भाषा परीक्षा आह्वान गरेको हो । भाषा परीक्षा असोज १ गतेदेखि सुरु हुने इपिएस कोरिया शाखाले जनाएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबिच सम्पन्न समझदारी पत्रअनुरूप रोजगार अनुमति प्रणालीअन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गर्ने आवेदन फाराम दर्ता गर्नुहुन सूचना आह्वान गरिएको इपिएस कोरिया शाखाद्वारा आइतबार जारी सूचनामा भनिएको छ।
परीक्षा एकै दिनमा ४ सिफ्ट गरी सञ्चालन हुनेछ।
आवेदक संख्या बढी भएमा पहिलो र दोस्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुने बताइएको छ भने आवेदक सङ्ख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने छ।
१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा सजाय नपाएको, गणतन्त्र कोरियामा गएर गैर कानुनी गतिविधिमा संलग्न नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, कोरियामा इ–९ र इ–९–१ भिसामा पाँच वर्षभन्दा कम अवधि बसेकोले आवेदन दिन पाउने छन्।
सन् २०२३ को कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा उत्तीर्ण भई सीप परीक्षा दिई बसेका व्यक्तिहरूलेसमेत यस क्षेत्रको परीक्षा आवेदन दर्ता गराउन सक्नेछन्। यो क्षेत्रको भाषा परीक्षामा सामेल भई अनुत्तीर्ण व्यक्तिहरूले पछि हुने अन्य क्षेत्रतर्फको परीक्षा आवेदनहरू प्रकाशित भएमा त्यस परीक्षाका लागिसमेत आवेदन दिन सक्ने शाखाले बताएको छ।
‘कोरियन भाषा परीक्षा उत्तीर्ण हुन भनेको रोजगारीको छनौट प्रक्रियामा सामेल हुन रोष्टरमा सूचीकृत हुने भएकाले शत प्रतिशत रोजगारीको ग्यारेन्टी भने नभएको जनाउँदै आफ्नो पेसा, व्यवसाय आदिलाई निरन्तरता दिन पनि शाखाले आग्रह गरेको छ।
नयाँ बसपार्कमा यात्रुको झोला तानेर हैरानी दिने पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल अधिकारीले विभिन्न स्थानबाट काठमाडौँ आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख हैरानी दिने ट्याक्सी चालक, होटेल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले शनिवार मात्र नयाँबसपार्कबाट १० जनालाई नियन्त्रणमा लिएको छ। जसमध्ये चारजना होटेल सञ्चालक रहेका छन्। ‘सुरुको समयमा सम्झाइबुझाई गरेर छाडेका छौँ, उक्त घटना दोहोरिएको खण्डमा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ’, उनले भने। प्रहरीले उक्त अभियानलाई निरन्तरता दिने उनको भनाइ छ। नेपाली होटेल व्यवसायी सङ्घका अध्यक्ष गणेश ढकालले होटेल व्यवसायी सङ्घ र नेपाल प्रहरीको संयुक्त टोलीले यात्रुलाई दुःख हैरानी दिनेलाई कारबाहीका लागि अभियान सञ्चालन गरेको बताए। यात्रुलाई दुःख तथा हैरानी दिने जो–कोहीलाई कारबाही हुनुपर्ने उनको भनाइ छ। यात्रुले सुरुमै आफ्नो गन्तव्यस्थल पहिचान गरी काठमाडौँ आएका हुन्छन्, उनीहरूलाई बसपार्कमा गएर जथाभावी झोला तान्ने तथा दुःख हैरानी दिने काम गर्नु हुँदैन, यात्रु पनि कुनै किसिमको प्रलोभनमा पर्नुहुँदैन’, उनले भने । सङ्घले पछिल्लो समय होटेल क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न तथा व्यवस्थित रूपमा होटेल सञ्चालन गर्नका लागि होटलमा अनिवार्यरूपमा ‘सिसी क्यामेरा’ जडान गर्ने कामलाई समेत अगाडि बढाएको छ ।
सुन काण्डको जरैदेखि अनुसन्धान नभए मन्त्रीको राजीनामा माग्छौँ ः प्रदिप पौडेल
बुटवल । नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले सुन काण्डको जरैदेखि अनुसन्धान नभए काँग्रेसले सरकारका मन्त्रीहरुको राजीनामा माग्ने बताएका छन् ।प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै तल्लो तहको मजदुर वा कर्मचारीलाई दोष दिएर एक–एक क्वीन्टल सुन काण्डमा सरकार उम्कन नपाउने बताए । ‘सरकारको उपस्थिति भन्सार र एयरपोर्टमै राम्रोसित हुन नसके कहाँ हुन्छ ? कस–कसको संलग्नतामा सुन आयो । तल्लो तहको मजदुर र कर्मचारीलाई देखाएर दोषी नउम्काइयोस्,’ उनले भने, नत्र हाम्रा अर्थमन्त्रीको पनि राजीनामा माग्छौँ । गृहमन्त्रीले पनि राजीनामा दिनुपर्छ ।’
नेता पौडेलले काँग्रेस सरकारमा भए पनि भ्रष्टाचारको विरोधमा सशक्त भएर लाग्ने र दोषीलाई उम्कन नदिने बताए । सुन काण्डमा एमालेले उठाएको प्रश्न जायज भएको बताउँदै उनले सदन नै अवरोध गर्ने र मन्त्रीहरुलाई जवाफ दिन नदिने शैली भने फेर्न आग्रह गरे ।
नेता पौडेलले सङ्घीयता बोझिलो र खर्चिलो हुँदै गएको बताउँदै अब सङ्घ र प्रदेशमा मन्त्रिपरिषद् र सांसद संख्या घटाउनुपर्ने बताए । संघीयताविरोधीहरु मैलाउन लागेको र आन्तरिक आयले प्रशासनिक खर्चसमेत चलाउन नसक्ने भएकाले विकल्प खोज्नुपरेको उनको भनाइ थियो । राजनीतिक नेतृत्व मन्त्रिपरिषद् र सांसद संख्या घटाउन राजीभए अनावश्यक बोझिलो कर्मचारीतन्त्र घटाउनसमेत सकिने उनले बताए । ठूलो संख्या भए पनि उपलब्धिमूलक काम नभएको र नागरिकको मन जित्न नसकेकाले काँग्रेसमार्फत सङ्घीयतालाई छरितो बनाउन राजनीतिक बहस चलाउनुपर्ने उनको भनाइ थियो ।
१६ जिल्लाका नदीहरूमा बहाब बढ्ने, केहीमा आकस्मिक बहाबको जोखिम
काठमाडौं । आज आइतबार देशभरका १६ जिल्लाका स(साना नदीहरूमा बहाब बढ्ने सम्भावना छ । आज इलाम, झापा, पाँचथर, सिन्धुली, बारा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ र आसपास भई बहने स–साना नदीहरूमा बहाब बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी जिल्लाका केही नदीमा आकस्मिक बहाबको जोखिम रहेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ । यस्तै आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, धनकुटा, उदयपुर, सुनसरी, मोरङ, पर्सा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रुपन्देही, कपिलवस्तु, पाल्पा, बाँके, बर्दिया, दाङ, रुकुम पूर्व, रोल्पा, कैलाली, अछाम, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा र आसपास भई बहने केही स(साना नदीमा समेत बहाब बढ्न सक्ने पूर्वानुमान छ । यी क्षेत्र भइ बहने साना नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आगामी ३ दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल तर बढ्दो रहने पूर्वानुमान छ ।
सिद्धार्थ राजमार्ग अवरुद्ध
काठमाडौँ । तिनाउ गाउँपालिका३ स्थित ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले गएरातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् ।
माथिबाट ठूलो ढुङ्गासहित अझै पहिरो खस्ने खतरा रहेको जनाइएको छ । बेला–बेलामा पाल्पा–बुटवल सडकको सिद्धबाबा क्षेत्रमा पहिरो खसेर समस्या भइरहेको छ । सडकमाथिबाट चट्टानसहितको पहिरो खसेर वर्षायाम मात्र नभई अन्य समय पनि यात्रा गर्ने यात्रु तथा सवारीसाधनले सास्ती भोग्नुपरिरहेको छ ।
यस्तो छ आज १४ श्रावण २०८०, आईतवारको राशिफल
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।
मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । लगानी गर्ने समय पनि छ ।
सिंह: (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभ समाचार सुन्न पाइनेछ । मनोरञ्जनको क्षेत्रमा सहभागी भइनेछ । पराक्रम बढ्नुका साथै कार्यमा प्रगति पनि हुने देखिन्छ ।
तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्नेछ ।
धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । । वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । नियमित खर्चसमेत बढ्ने योग रहेको छ ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमणीय र टाढाको यात्रा फलदायी हुँदैन । आकस्मिक धन लाभ हुनेछ ।
कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ, तर आफन्तको सहयोग र धन हात पार्न पनि सक्छ ।
बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अतिथिका रूपमा सम्मान पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।
मकर: (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज स्वास्थ्यमा समस्या आउनसक्छ, स्वास्थ्य प्रति सचेत रहनु पर्छ, तर तीर्थाटनको योग छ । साँझमा शुभ र नयाँ समाचार पनि पाइनेछ ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । कुनै कुराले अनुहारमा कान्ति पनि छाउनेछ ।
मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।
प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको छ ।
गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा दार्चुला शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसहित ७ जनाविरुद्ध मुद्धा दायर गरिएको हो ।
अधिकृत सुरेन्द्र बहादुर विष्टसहित इन्जिनियर सन्तोष पाण्डेय, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ७ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । नगरपालिका वडा नम्बर ६ पनेबाज मौरीभिटा देखि वडा नम्बर ७ र ८ को बन्तोली बोहरीगाउँको सडक-खण्ड निर्माणको लागत इष्टिमेटमा कडा चट्टानको भाग बढी देखाई वास्तविकभन्दा बढी भुक्तानी दिएको अख्तियारको ठहर छ ।
प्रमुख प्रशासकीय अधिकृत विष्टले आ.व. २०७४-०७५र आ.व.२०७५-०७६ मा सञ्चालित पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बङ्ग्याइ कटिङ गर्दा बढी दररेट रहेको हार्ड रकको परिमाण अस्वभाविक रूपमा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी रु.२६ लाख २ हजार ५ सय ५६ रुपैयाँ ११ पैसा बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) वमोजिमको कसुर गरेको अख्तियारको दाबी छ । सोही दफा बमोजिम बिगो रकम असुल उपर हुनसमेत मागदाबी लिइएको छ।
मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा वीरेन्द्रबहादुर बस्नेत
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि-मुनले कार्यकालको उत्तरार्धतिर विश्व खाद्य सम्मेलनमा ‘भात खाने बानी हटाऊ ः अरु चिज खानेतर्फ ध्यान दिउँ’ भनेका थिए । विश्वमा धान चामल उत्पादनमा उल्लेखनीय ह्रास आएपछि उनले विश्वका उपभोक्तालाई यस्तो आग्रह गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घका अनुसार अहिले विश्वभर सात करोड ८० लाख मानिस भोकमरीमा छन् भने करिब एक तिहाइ खाद्य उत्पादन कम भएको छ । साथै करिब तीन अर्ब मानिसले सन्तुलित भोजनको पहुँचमा पुग्न सकेका छैनन् । विश्वमा पछिल्लो समय देखिएको भूराजनीति तथा अर्थतन्त्रको आपूर्ति शृङ्खलामा आएको अवरोधले खाद्य सुरक्षाको चिन्ता बढाएको छ । यसै सन्दर्भमा हालै छिमेकी मुलुक भारतले पनि आगामी निर्वाचनलाई मध्यनजर गर्दै चामल निर्यातमा प्रतिबन्ध लगाएको छ ।
एकातिर धान उत्पादन हुने उर्वर भूमि घट्दो क्रममा छ भने कृषिमा काम गर्ने जनशक्ति विदेश पलायन भइरहेका छन् । जसले कृषि उत्पादन घटाउँदै परनिर्भरता बढाएको छ । गत आर्थिक वर्षमा मात्रै नेपालले रु ३६ अर्ब ६६ करोड बराबरको चामल आयात गरेको भन्सार विभागको तथ्याङ्क छ ।
विश्वभर खाद्यसङ्कट निम्तन सक्ने सम्भावित जोखिम र नेपालले आफ्नै भूमिमा उत्पादन बढाएर धान चामलमा आत्मनिर्भरताको बाटोमा अघि बढ्न हालको निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायमुखी बनाउन अपरिहार्य भइसकेको छ ।
यही आवश्यकतालाई मध्यनजर गर्दै एयरलाइन्स व्यवसायमा सफल वीरेन्द्रबहादुर बस्नेत कृषिकर्ममा लाग्नुभएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतले मोरङको डाँगिहाटमा रु ५० करोडभन्दा बढी लगानीमा अत्याधुनिक उपकरणयुक्त ‘आरजु राइस मिल’ सञ्चालनमा ल्याएका हुन् ।
कम्पनीका कार्यकारी अध्यक्षसमेत रहेका बस्नेतले निर्वाहमुखी धानखेतीलाई आत्मनिर्भरतर्फ लैजाने उद्देश्यले किसानलाई प्रेरित गर्दै मिल सञ्चालनमा ल्याएका हुन् । नेपाली किसानले उत्पादन गरेको धानको चामल नेपाली उपभोक्तामाझ पुर्याउने र किसानलाई धानको न्यूनतम समर्थन मूल्य तोकेर उपभोक्तालाई कम मूल्यमा चामल उपलब्ध गराउने उद्देश्यले उनी कृषि क्षेत्रमा होमिएका हुन् ।
किसानलाई प्रोत्साहित गर्दै उपभोक्तालाई स्वदेशी गुणस्तरीय चामल विभिन्न देशमा समेत पुर्याउने उद्देश्यले कृषिमा हामिएको भन्दै उनले यसबाट बढ्दो खाद्य सङ्कट समाधानमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । उनले यसमार्फत आफू मात्रै होइन, २० हजारभन्दा बढी किसानलाई पनि सँगै लैजाने योजना बनाएका छन् ।
‘बढ्दो खाद्य सङ्कट कम गर्न नेपाली उपभोक्ताले नेपाली चामल खरिद गरेर खानुपर्छ’, रासससँगको कुराकानीमा कार्यकारी अध्यक्ष बस्नेतले भने, “यस्ता मिलले गर्दा किसानलाई प्रोत्साहित गर्छ, उनीहरूलाई सही मूल्य दिन्छ । यो मोडल सफल भए देशभर विस्तार गर्ने लक्ष्यसमेत छ ।”
लामो समयदेखि एयरलाइन्स व्यवसायमा संलग्न बस्नेतको परिवार त्यसअघि पनि कृषि पेसामै रहेको उनको भनाइ छ । ‘हाम्रो परिवार ३५र३६ वर्षदेखि कृषि क्षेत्रमै छ । बुद्ध एयर सुरु गर्नुभन्दा अघिको परिवारको मुख्य पेसा नै कृषि थियो’, उनले भने । व्यावसायिक खेती हुन नसक्नु आजको ठूलो समस्या भएको भन्दै बस्नेतले जलवायु परिवर्तनका कारण पनि धान खेतीका लागि चुनौती थपिएको उल्लेख गरे। उनले भने, ‘धान उत्पादनमा ह्रास आएको छ । धानको सङ्कट चुलिँदै गएको मैले अनुभव गरेको छु र वास्तविकता पनि त्यस्तै छ ।’
पर्यटन पूर्वाधार, होटल, बैंक तथा वित्तीय संस्था, ऊर्जा, शिक्षा र सूचना प्रविधिमा ठूला–ठूला लगानी भएका छन् तर, कृषि प्रधान देश नेपालमा कृषिलाई प्राथमिकता दिन नसकिरहेको अवस्थामा आफू यसको आवश्यकता महसुस गर्दै विभिन्न चुनौतीका बाबजुद कृषिमा होमिएको उनको भनाइ छ । ‘हामी नपाली किसानको मात्रै धान खरिद गर्छौं’, उनले भने, ‘निर्वाहमुखी कृषिलाई औद्योगीकरण गर्नु हाम्रो २० वर्षे योजना पनि हो ।’
कृषि विभागका अनुसार नेपालमा समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थानमा जुम्लाको छुमचौरमा तीन हजार ५० मिटर उचाइसम्म धानको खेती गरिन्छ । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करिब २४ दशमलव एक प्रतिशत कृषिको योगदान रहेकोमा कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा धानको १५ प्रतिशत योगदान छ । आव २०७९ र ८० मा १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भई ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यद्यपि अझै पनि मुलुकमा १० देखि १२ लाख मेट्रिक टन धान अपुग हुँदै आएको छ ।
‘खाद्य सुरक्षा चुनौतीपूर्ण छ । मित्रराष्ट्र भारतबाट खाद्यान्न आयात नगरेको खण्डमा हामी भोकमरीमा पर्छौं’, बस्नेतले भने, ‘अहिले जसरी भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । त्यसले ठूलो हाहाकार मञ्चिएको छ, हल्लाखल्ला भएको छ तर, अहिले भारतमा पनि खाद्यान्न सङ्कट ठूलो समस्याको रुपमा आएको छ ।’
बस्नेतको बुझाइमा भारतले कुनै दबाब सिर्जना गर्न चामल निर्यात प्रतिबन्ध गरेको होइन । जलवायु परिवर्तनका कारण विश्व खाद्य कार्यक्रमजस्ता विश्व प्रसिद्ध सङ्गठनले खाद्यान्न सङ्कट आउने प्रक्षेपण गरिरहेका छन् ।
जलवायु परिवर्तनका कारण पर्याप्त पानी नपरेकाले धान उत्पादन कमजोर भएको छ । बेमौसमी वर्षा हुनेजस्ता कारण धान उत्पादन कमजोर बन्दै गएको उनको बुझाइ छ । यो समस्या अर्को वर्ष अझ बढ्ने छ । अघिल्लो वर्ष पनि भारतले चामल निर्यातमा प्रतिबन्ध गरेको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार २०८० साउन ६ गतेसम्म मुलुकभर ६८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ८८ प्रतिशत रोपाइँ भएको थियो । मुलुकलाई खाद्यान्न विशेष गरी चामलमा आत्मनिर्भर बनाउन निर्वाहमुखी किसानलाई व्यवसायमुखी बनाउन जरुरी भएको व्यवसायी बस्नेतले उल्लेख गरे। मुलुकमा चामलको सङ्कटलाई समाधान गर्न नेपाल नै आत्मनिर्भर हुनुपर्छ भन्ने उद्देश्यले अत्याधुनिक राइस मिल सञ्चालन गरिएको उनले बताए ।
‘चामल निर्यात प्रतिबन्ध लगाउने भारतको हालैको निर्णयले चामलको भाउ बढे पनि हामीले उत्पादन र आपूर्ति गर्ने चामलको मूल्य बढ्दैन, किन भने हामीलाई भारतको निर्णयले असर गर्दैन’, उनले भने, ‘किसानसँगै धान किनेर चामल सस्तो मूल्यमा उपभोक्तामाझ लगिरहेका छौँ । त्यसैले गर्दा किसान र उपभोक्ता दुवैलाई फाइदा पुगेको छ ।’
उनका अनुसार ठूलो लगानीमा अत्याधुनिक मिल खोलेर किसानबाट धान पनि खरिद गरिए पनि बजार व्यवस्थापनमा निकै चुनौती भने कायमै छ ।
यो हप्तामा प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँ । यो साता नेपाली बजारमा सुन र चाँदीकै मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको शुक्रबारको तुलनामा यो साता शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।गत साता शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० रुपैयाँ थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ कायम छ ।
यो साताको बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । यसबाहेक, हिजो शुक्रबार ९०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० रुपैयाँ कायम भएको हो ।यस्तै, यो साता चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्ममा घटेर १४ सय ५० रुपैयाँ कायम भएको छ ।