काठमाडौं । ज्ञानवापी मुद्दामा भारतको सर्वोच्च अदालतले एएसआईको सर्वेक्षणमा जुलाई २६ गतेसम्म रोक लगाएको छ । सर्वोच्च अदालतले मस्जिदमा तोडफोड नगर्न निर्देशन पनि दिएको छ ।
यसबारे उत्तर प्रदेश सरकारको तर्फबाट उपस्थित जनरल तुषार मेहताले आजको एएसआईको सर्वेक्षणमा कुनै तोडफोड नभएको र त्यसको लागि कुनै योजना नै नभएको बताएका छन् । अहिले सर्भेमा मस्जिद नाप्ने काम मात्र भइरहेको छ । अर्कोतर्फ मुस्लिम पक्षले सर्वेक्षणको काम दुई–तीन दिनका लागि स्थगित गर्न माग गरेका छन् ।
हाईकोर्टमा पुनरावेदन गर्न आदेश
मुस्लिम पक्षले एएसआईको सर्वेक्षणविरुद्ध सर्वोच्च अदालतमा निवेदन दायर गरेको छ । याचिकामा, ज्ञानवापी मस्जिद व्यवस्थापन समिति, अन्जुमन इन्तेजामिया मस्जिदले वाराणसी जिल्ला अदालतको निर्णयमा रोक लगाउन माग गरेको छ ।
अन्जुमन इन्तेजामिया मस्जिदको तर्फबाट वरिष्ठ अधिवक्ता हुजैफा अहमदी सर्वोच्च अदालतमा उपस्थित भएका थिए । वाराणसीको जिल्ला अदालतले ज्ञानवापीको सर्वेक्षणको आदेश दिएको थियो । यसमा सर्वोच्च अदालतले ज्ञानवापी मस्जिद व्यवस्थापन समितिलाई वाराणसी जिल्ला अदालतको फैसलामाथि रोक लगाउन इलाहाबाद हाईकोर्टमा अपील गर्न भनेको छ ।
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख १२ हजारमा कारोबार भईरहेको छ ।
हिजो आइतबार छापावाल सुन १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४ सय ५० रुपैयाँ कायम छ । आइतबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७ सय ५० रुपैयाँ कायम थियो ।
चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । हिजो आइतबार तोलामा १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी मुलुकका नेताले आ–आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने छन् । बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जानुहुने कार्यक्रम छ । पाँच दिने भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुईदेशीय हितका बारेमा छलफल गर्ने अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
काठमाडौं । काठमाडौंको सामाखुसशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ । काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए । उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले जानकारी दिए । सामाखुशीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए । विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए । मगरको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीले खोजी गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
काठमाडौं । युक्रेनी ड्रोन आक्रमणमा रूसको कब्जामा रहेको क्रिमियास्थित गोलाबारुद डिपोमा आक्रमण भएको युक्रेनका गभर्नरले सोमबार बताएका छन् । “क्रिमियाको आकाशमा ११ वटा मानवरहित विमान (युएभी) लाई युक्रेनी वायु सेनाले गोली हानेर खसालेको छ, साथै युक्रेनी प्रतिरक्षा बलले उक्त क्षेत्रलाई नियमित निगरानीमा राखेको छ,” सर्गेई अक्स्योनोभले टेलिग्राममा भनेका छन् । आक्रमण झान्कोय जिल्लाको गोलाबारुद डिपोमा भएको थियो । उनले आक्रमणबाट भएको क्षतिबारे विस्तृत विवरण भने दिएनन् । उनले आक्रमणका कारण क्रिमियाको किरोभस्की जिल्लामा एक निजी घरमा क्षति पुगेको र आपतकालीन सेवा घटनास्थलमा रहेको बताए । सन् २०१४ मा रूसले कब्जा गरेको क्रिमियालाई मस्कोको युक्रेन आक्रमणको क्रममा कीभले निशाना बनाएको थियो तर पछिल्ला हप्ताहरूमा यो आक्रमण अझ तीव्र र बढ्दो अवस्थामा रहेको युक्रेनी अधिकारीले बताएका छन् । कीभले क्रिमियालाई फिर्ता लिने योजना रहेको बताउँदै आएको छ ।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागि हुने भएको छ । यसअघि भागबण्डामा चित्त नबुझाएको नाउपा एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागि हुन लागेको हो । अहिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित एक राज्यमन्त्री दिने सहमति भएको हो । नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरीलाई कृषि तथा सहकारी र सचेतक कैलाश चौधरीलाई राज्यमन्त्री दिने प्रस्ताव गरेको हो । यसअघि कांग्रेसबाट सरकारमा सामेल भएको पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएपछि कानुन मन्त्रालय खाली रहेको छ । तर कांग्रेसले अन्य पठाएको छैन ।
काठमाडौं । इटली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँ राजनीतिक भेटघाट सुरु गरेका छन् । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री दाहालले राजनीतिक भेटघाट सुरु गरेका हुन् । इटलीमा रहेका प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय वार्ता गर्ने भएका छन् । दुवै भेटवार्ता इटालीको राजधानी रोममा आज ९सोमबार० हुने भियनास्थित नेपाली दूतावासले जनाएको हो ।
दाहालले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् भने त्यसपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेट हुनेछ । साथै, प्रधानमन्त्री दाहाल त्यहाँ रहँदा खाद्य तथा कृषि संगठन ९एफएओ०का महानिर्देशक, विश्व खाद्य कार्यक्रम ९डब्लूएफपी०का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष ९एडीआईएफ०कार्यक्रमका अध्यक्षसँग पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहालसँगै कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालसहितको टोली इटाली गएको छ । प्रधानमन्त्री दाहाल साउन १० गते राती स्वदेश फर्कने छन् । समिट जुलाइ २६ सम्म इटलीमा हुँदैछ ।
जनकपुरधाम । जनकपुर रेल्वे स्टेशनमा एक महिला लुटिएको घटना सार्वजनिक भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका(६ कठालकी सुनिता कुमारी यादवबाट २ लाख ७० हजार रुपैयाँ लुटिएको घटना सार्वजनिक भएको हो ।
रेलमा चढ्नैबित्तिकै उनले बोकेको ह्याण्ड ब्याग गायब भएको र त्यसमा २ लाख ७० हजार रुपैयाँ रहेको दाबी गरिएको छ ।
जनकपुरको एनआईसी एसिया बैंकबाट उक्त रकम निकालेर घर जाने क्रममा रेल्वे स्टेशनमा लुटेराले १० हजार बराबरको सुनको गहना र पैसाा राखेको ह्याण्ड ब्याग लुटेर लगेको पीडित सुनिताले बताइन् ।
उनका श्रीमान सञ्जु यादव खाडी मुलुकमा छन् । गाउँमा सुनिताले जग्गा खरिद गरेकी थिइन् । जग्गाधनीलाई दिन भनी बैंकबाट निकालिएको रुपैयाँ घर लग्ने क्रममा लुटिएको उनले बताइन् ।
जनकपुरधाम । धनुषा र सिरहा जोडने बहुप्रतिक्षित कमला नदीको भत्केको पुलबाटै आवतजावत सुरु गरिएको छ । भत्केको कमला पुलबाट सर्वसाधारणहरुलाई बाँसको अस्थायी पुल बनाएर आवतजावत सुरु गराएको हो । यसअघि पनि सोही पुलबाट बाँसको सिढी चढदा प्रतिव्यक्ति २० रुपैयाँ लिदै आएको थियो । कमला नदीमा पानी बढेपछि आवतजावत गर्न कठिनाई भएको बेला पुलबाटै मोटरसाईकल लिएर समेत जाने अवस्था बनाइएको हो ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाका पूर्व अध्यक्ष एवम् पत्रकार देव कुमार यादवको विशेष पहलमा सिरहा नगरपालिकाले आम सर्वसाधारणको लागि बाँसको पुल मार्फत आवतजावत सहज बनाई दिएको हो ।
यसअघि केही स्थानीयहरुले सरकारी सम्पतिमा बाँसको पुल बनाएर लाखौँ रुपैयाँ असुली गर्दै आएका थिए । पत्रकार यादवको पहलमा नीजी पुल हटाएर सार्वजनिक पुलको निर्माण गरी पूर्णतः निःशुल्क आवतजावत सहज बनाई दिएको हो ।
अब सिरहा आवतजावतको लागि पुलबाटै मोटरसाईकल, साईकल, पैदल यात्रा गर्न सकिने अस्थायी व्यवस्था बनाईदिएको हो । पुल मर्मतको कार्य आउँदो असोजदेखि पुनः सुचारु हुनेछ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको हाङ्झोउमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सहभागि हुन जाने भएका छन् ।
२०६६सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा सहभागि भएका दाहाल यस पटक हाङ्झोउमा एसियाली खेलकुदको १९औँ संस्करणमा सहभागि हुने भएका हुन् ।
नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनसँग इटलीमा रहेका प्रधानमन्त्री दाहालले आइतबार भर्चुअल कुराकानी गरेका छन् । तीन दिने नेपाल भ्रमणमा आएका युआनसँगको छलफलमा प्रधानमन्त्री दाहालले एसियाली खेलकुदका क्रममा चीन आउने बताएको निकट स्रोतको दाबी छ ।
एसियाड आगामी सेप्टेम्बर २३ अर्थात् असोज ६ गते देखि अक्टोबर ८ तारिखसम्म सञ्चालन हुँदैछ । यसअघि १९औँ एसियाली खेलकुद सन् २०२२ को सेप्टेम्बर १० देखि २५ तारिखसम्म चीनमै आयोजना हुने तय भएको थियो । तर, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो ।
सन् १९५१ मा भारतको नयाँ दिल्लीमा पहिलो पटक एसियाली खेलकुदको आयोजना भएको यस प्रतियोगितको १९औं संस्करणमा सहभागी हुन४५ राष्ट्रका १२ हजार ५ सय खेलाडीले नाम दर्ता गराएका छन् । एसियाली खेलकुदमा आयोजक चीनका साथै थाइल्यान्ड, जापान, दक्षिण कोरिया, भारत, हङ्कङका करिव ६ सय खेलाडी सहभागी हुनेछन् ।
प्रतियोगिताका लागि हेइजाङका पाँचवटा सहआयोजक सहरमा ५४ वटा खेलस्थल तयार पारिएको छ । एसियाडका खेलहरू हाङ्झोउ, निङ्बो, वेनझोउ, हुझोउ, साओझिङ र जिनहुआ गरी ६ वटा सहरमा आयोजना हुनेछन् । उक्त प्रतियोगितामा नेपालले २९ वटा खेलमा भाग लिने छ ।
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । मुख्यमन्त्रीमा थापाको नियुक्तिविरुद्ध परेको रिटका आज पेशी तोकिएको हो । सर्वोच्चका न्यायाधीशद्वय सुष्मलता माथेमा र तीलप्रसाद श्रेष्ठको इजालमा पेशी तोकिएको हो । यसअघि हिजो न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी तोकिए पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आजका लागि माथेमा र श्रेष्ठको इजलासमा पेशी दुई नम्बरमा रहेको छ।
एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि गठबन्धनको सरकार गठन भएको थियो । गठबन्धनबाट सरकार गठनका लागि बहुमत नपुगेपछि सभामुखले समेत मतदान गरेपछि त्यसको विरुद्ध रिट परेको हो ।
थापा नेतृत्वको सरकालाई यहि साउन १९ गतेसम्ममा विश्वासको मत लिनुपर्ने बाध्यता छ, तर सरकार गठन अवैधानीक भएको भन्दै विपक्षी दल एमाललेले नयाा सरकार गठन गर्नुपर्ने मागसहित सर्वोच्च रिट दिएको थियो।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९सोमबार०का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा र्निधारण गरेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८२ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा रहेको छ । आज युरोको भाउ शनिबारको तुलनामा स्थिर छ ।
युरो एकको खरिद दर १४५ रुपैयाँ ५४ पैसा र बिक्री दर १४६ रुपैयाँ २० पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
काठमाडौं । नेपाली कांग्रेसको एक सता देखि जारी केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आज धारणा राख्ने छन् ।
पार्टीका केन्द्रीय सदस्य तथा अन्य पदाधिकारीले धारणा राख्ने क्रम सकिएकाले सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सदस्यहरूले राखेको जिज्ञासाको पदाधिकारीहरूले जवाफ दिन लागेका हुन ।
साउन २ गते देखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टी संगठन सुधारसहितका विभिन्न दश एजेन्डाहरू प्रस्तुत भएका छन् । केन्द्रीय कार्यालयको तर्फबाट महामन्त्री थापाले २०८० को साउनदेखि २०८१ को असार मसान्तसम्म एक वर्षे कार्यक्रम समेटेर वार्षिक क्यालेन्डरसहितका एजेन्डाहरू पेस गरेका छन् ।
यस्तै,पार्टी संगठन परिचालनका लागि विभिन्न कार्यक्रमहरू जारी केन्द्रीय समितिले तय गर्नुको साथै नीति महाधिवेशनको मिति पनि बैठकले घोषणा गर्ने छ । यद्यपी कांग्रेसको विधानले नीति महाधिवेशनको कुनै व्यवस्था गरेको छैन ।
बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान गठबन्धनका विषयमा पनि पार्टी धारणा बाहिर ल्याउने छ । दाहाल नेतृत्व सरकारका विषयमा कांग्रेसका केही नेताहरूले प्रश्न उठाउँदै आएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा,महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको कार्यशैलीलाई लिएर कांग्रेस केन्द्रीय सदस्यहरू पक्ष र विपक्षमा विभाजित भएका छन् । सभापति देउवा विधि र विधान अनुसार नचलेको आरोप संस्थापन इतरका नेताहरूले लगाउँदै आएका छन् । तर, संस्थापन पक्षका नेताहरूले पार्टी महामन्त्रीहरू नै अनुशासनमा नबसेको र पार्टी बर्वाद भयो भन्दै हिंडेको भन्दै असन्तुष्टि जनाएका छन् । पार्टी सभापति देउवा माथि आक्रामक महामन्त्रीद्वय केन्द्रीय सदस्यहरूको निसानामा परेका छन् ।
बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणको बचाउमा केन्द्रीय सदस्यहरू देखिएका छन् । महामन्त्री थापासहितका नेताहरू खाँणलाई निलम्बनको पक्षमा छन् ।तर, बहुमत सदस्यहरू त्यसको विपक्षमा छन् ।
बैठकमा प्रदेश सभापतिहरूले संघीयताको मर्म र भावना अनुसार केन्द्रीय नेताहरू चल्न नसकेको भन्दै गुनासो गरेका छन् । साथै, महामन्त्री थापाद्वारा प्रस्तुत कार्यक्रममा प्रदेश संरचनालाई नसमेटेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् । एक वर्षपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले मुलुक र पार्टीभित्र देखिएका समस्या र त्यसका समधानको उपाय भन्दा बढि आफ्नो असन्तुष्टि र गुनासाहरू बैठकमा पोखेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत बैठकको प्रत्यक्ष प्रशारण गरेर नयाँ सुरुवात गरेको कांग्रेसले विधान अनुसार गठन हुन नसकेका संरचनाहरू तत्काल गठन गर्ने र भ्रातृ संगठनका केन्द्रीय समितिलाई पूर्णता दिने, पार्टी संगठनलाई चलायमान बनाउन विभिन्न अभियान सञ्चालन गर्नेसहितका समसामयिक विषयमा आफ्नो धारणा बाहिर ल्याउने छ । सोमबारको बैठकमा पदाधिकारीहरूले बोलिसकेपछि आजको बैठकले त्यस विषयमा निर्णय लिने तयारी रहेको एक नेताले जानकारी दिए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झन्डै एक साताको कम्बोडिया भ्रमण सकेर स्वदेश फर्कँदै छन् ।
कम्बोडियामा भएको निर्वाचन पर्यवेक्षणका लागि राजधानी नोमपेन्ह पुगेका एमाले अध्यक्ष ओलीसहितको टोली आज (सोमबार) राति १० बजे स्वदेश फर्कने उनको सचिवालयले जनाएको हो ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली साउन २ गते राति पत्नी राधिका शाक्य,उपमहासचिव विष्णु रिमालसहितको टोली कम्बोडियाको निर्वाचन पर्यावेक्षका लागि त्यसतर्फ प्रस्थान गरेका थिए । कम्बोडियामा कुल ९७ लाख १० हजार ६ सय ६५ मतदाताले १ सय २५ जना विधायकको निर्वाचित गर्न मतदान गरेका छन् । निर्वाचनमा देशभर २३ हजार ७ सय ८९ मतदान केन्द्र तोकिएको थियो । निर्वाचनको पर्यवेक्षणमा ओलीसहित विभिन्न समूहमा ३ सय ३४ जना विदेशी पर्यवेक्षक बिहानैदेखि जुटेका थिए ।
पर्यवेक्षणकै क्रममा उनले आइतबार दिउँसो ४ बजे श्रीलङ्काका पूर्व राष्ट्रपति तथा वर्तमान सांसद मैत्रीपाला सिरिसेनासँग भेटवार्ता गरेका थिए । साथै हिजो साँझ ६ बजे ओली शान्तिका लागि अन्तर्राष्ट्रिय उच्च परिषद्ले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।
यसैबीच, कम्बोडियामा आइतबार सम्पन्न राष्ट्रिय निर्वाचनमा प्रधानमन्त्री हुन सेन नेतृत्वको कम्बोडियन पिपुल्स पार्टीले बहुमत प्राप्त गरेको छ । सेनको कम्बोडियन पिपुल्स पार्टीले कुल १२५ सिटमध्ये १२० सिट जितेको हो ।
प्रमुख प्रतिपक्षी दललाई चुनाव लड्न प्रतिबन्ध गरेको हुन सेनको पार्टीले ९६ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ । यद्यपी निर्वाचनको औपचारिक घोषणा हुन भने बाँकी छ । लामो समयसम्म सत्तामा रहेको सीपीपीसँग १७ साना दल चुनावी दौडमा थिए ।