काठमाडौं । बुटवलको कालिकापथमा एक युवकमाथि आक्रमण भएको छ ।
बुटवल११ कालिकापथको होराइजन चोक नजिकै निर्माण व्यवसायी निर्मल खत्रीमाथि दर्जन भन्दा बढीमा आएको समूहले आक्रमण गरेको हो ।
खत्रीमाथि आक्रमण गरेको आरोपमा अब्दुल कादिर, कृष्ण केसी र गणेश भन्ने लोकबहादुर कुँवरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले लोकपथलाई जानकारी दिए ।
पक्राउ परेकाहरूलाई शरीर अंगभंगको अभियोगमा मुद्दा दायर गरिएको थापाले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–१ रिमचिमका स्थानीयले श्रमदान गरेर करिब सात किलोमिटर सडक मर्मत गरेका छन् । वडा कार्यालयको समन्वयमा यहाँका स्थानीयले एक हप्ता श्रमदान गरेर सडक मर्मत गरेका हुन् ।
स्थानीय श्रमदान गरेर सेतीबगर रिमचिम तिम्मा पाङखाङ, खम्वुखा, सुम्लिखा, तीन भङ्गाले, बाघखोर सडक खण्ड मर्मत गरेका हुन् । बाटो बिग्रिएर आवतजावतमा समस्या भएपछि श्रमदान अभियान सञ्चालन गरेर सडक मर्मतको काम गरिएको वडाध्यक्ष नरबहादुर राईले जानकारी दिए। वडाले सञ्चालन गरेको श्रमदान अभियानमा स्थानीयले स्वतस्फूर्तरुपमा सहयोग गरिरहेको उनको भनाइ छ ।
“वडाले श्रमदान अभियान सञ्चालन गरेर सडकको मर्मत,सम्भार गरिरहेका छौँ”, वडाध्यक्ष राईले भने, “प्रायः सम्पूर्ण सडक बर्सातले बिग्रिएको अवस्था छ । जुन काम स्थानीय सरकारको बजेटले गर्न सम्भव छैन । स्थानीयलाई श्रमदानमा जोडेर सडक मर्मत गरिरहेका छौँ । यो अभियान जारी रहन्छ ।” वडाले थालेको कामलाई साथ दिँदै देश विदेशमा रहेका यहाँका स्थानीयलेसमेत आवश्यक सहयोग गरेको वडासदस्य गणेश राईले बताए । साउन १ गतेबाट सुरु भएको श्रमदान अभियानमा एक सय ५५ जना बढी स्थानीयले श्रमदान गरेर सडक मर्मतमा योगदान गरेको उनको भनाइ छ । “आफ्नो ठाउँको विकासमा आफैँ जुट्न आवश्यक छ”, उनले भने, “बाटो बिग्रिएर जनजीवन प्रभावित भएपछि श्रमदान अभियानमार्फत सडक मर्मत गरेका हौँ । हामीले थालेको अभियानलाई साथ दिँदै देशविदेशमा रहेका यहाँका स्थानीयले पनि केही सहयोग गर्नुभएको छ ।”
वडा कार्यालयले ल्याएको अवधारणाअनुसार स्थानीय युवाहरु श्रमदानमा सक्रियरुपमा खटेको स्थानीयवासी लगनबहादुर राईले बताए। आफ्नो ठाउँको लागि स्थानीय नागरिकले खेलेको सानो भूमिकाले राज्यको ठूलो बजेट खर्च हुनबाट बच्ने उनको भनाइ छ । “वडाले ल्याएको अभियानमा हामी युवा सक्रियरुपमा जोडिएका छौँ”, उनले भने, “आफ्नो ठाउँको विकास आफैँले गर्ने हो । हामीले अहिले सात किलोमिटर बढी सडक मर्मत गरेका छौँ । हामीले गरेको श्रमदानले राज्यको केही बजेट जोगिएको छ ।”
श्रमदानमार्फत सडकको नाली कटाउने, खाल्डाखुल्डी पुर्ने, आसपासको झाँडी हटाउनेलगायतका काम भइरहेको स्थानीय युवा रामचन्द्र राईले बताए। सडकको मर्मतमा स्थानीय सक्रिय भएर लागेपछि अहिले आवतजावतसँगै खाद्यान्न ढुवानीमा सहजता थपिएको उनको भनाइ छ । “स्थानीय आफैँ मिलेर सडक मर्मत गरेपछि आवतजावतमा सहजता छ”, उनले भने, “बिरामी हुँदा घरसम्म एम्बुलेन्स आउन सक्छ । आफ्नो ठाउँको विकासलाई दिगो बनाउन स्थानीय आफैँ अग्रसर हुन आवश्यक छ । श्रमदानमार्फत सडक मर्मत गरेपछि हामीलाई सहज भएको छ ।”
बर्सातको कारण वडाभित्रका विभिन्न ठाउँका सडकमा क्षति पुगेकोपछि सहज आवतजावतको लागि सडक मर्मत गरिएको स्थानीय शिक्षक हर्कराज राईले बताए। वडाले थालेको अभियानमा स्थानीयले उत्साहजनक रुपमा श्रमदान गरेको उनको भनाइ छ ।
युवाको सक्रियतामा भएको श्रमदान अभियानमार्फत सात दिनमा पाँच लाख बढीको काम भएको स्थानीय सीताराम राईले बताए। धेरै ठाउँमा सडक बिग्रेको कारण वडामा आएको बजेटले सडक मर्मत गर्न असम्भव भएपछि श्रमदानमार्फत काम गरिएको उनको भनाइ छ ।
काठमाडौं । पहिरोले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका–२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिरोले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको हो । पहिरोले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएका छन् । पहिरोले घर र पशुचौपायामा पनि क्षति पुगेको छ ।
बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताएका छन् ।
मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताए ।
‘मौद्रिक नीतिले पोलिसी रेट ६.५ प्रतिशत तोकेको छ,यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुंजी प्रवाह बढ्छ, जग्गा कारोबार पनि सहज हुन्छ,’ बुटवलमा पत्रकारसँगको कुराकानीमा उनले भने, ‘अब छिट्टै शिथिल बनेको अर्थतन्त्र चलायमान हुन्छ ।’
आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन बरामद भएको दाबी गर्दै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने बताए ।
सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कांग्रेस सांसद डा. सुनिल शर्माको अभिव्यक्तिबारे महतले शर्माको अस्पतालले स्वास्थ्य बीमा बोर्डको बीमा रकम नपाएका कारण मनपरी बोलेको बताए ।
पार्टीको केन्द्रीय समिति बैठक लाइभ हुँदा बाहिर चर्चाका लागि बोल्ने नेताहरुबारे भ्रम हटेको प्रवक्ता महतले बताए ।
काठमाडौँ। ग्रीसको रोड्स टापुको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकहरु परिचालन गरिए पनि बिगत ७ दिनदेखि जारी डढेलो नियन्त्रण बाहिर जाँदा हजारौं मानिस बिस्थापित भएका छन् ।
पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट पर्यटकसहित १९ हजार मानिसहरुलाई स्थानान्तरण गरिएको छ भने अर्को द्वीप कोर्फुबाट पनि मानिसहरुलाई स्थानान्तरण गर्न सुरु गरिएको छ ।
ग्रिसको आपतकालीन सेवाले आइतबार सूचना जारी गर्दै कोर्फु द्वीपका आधा दर्जन बस्ती खाली गराउन निर्देशन दिएको छ । थप नागरिकलाई स्थानान्तरण गर्ने काम भइरहेको बीबीसीले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार डढेलो नियन्त्रणका लागि हेलिकप्टर र सय भन्दा बढी अग्नीनियन्त्रकहरु परिचालन गरिएका छन् ।
ग्रीसको किओटारी क्षेत्रका तीनवटा होटेलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीका कारण दर्जनौ घरहरु जल्नुका साथै साथै ३५ हेक्टरमा रहेको जंगल नष्ट भएको छ । बिगत १५ दिनदेखि जारी उच्च तापमानले ग्रीसको जनजीवन अस्तब्यस्त बनेको छ ।
न्युयोर्क । चीनको वुहानपछि अब अमेरिकाको मासु बजारवाट कोभिड–१९ भन्दा पनि घातक विश्वव्यापी महामारी फैलिने खतरामा छ ।
हार्वर्डका वैज्ञानिकहरूले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेका छन् । उनीहरुको प्रतिवेदन अनुसार मानव, जनावर र जङ्गली जनावरको आपसी सम्पर्कका कारण यसको जोखिम बढ्ने उल्लेख गरिएको छ । यो प्रतिवेदन हार्वर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयले सार्वजनिक गरेको हो।
हार्वर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयको एक रिपोर्टमा भनिएको छ कि धेरै अमेरिकीहरू प्रायः सोच्छन् कि उनीहरूको देशमा यो हुन सक्दैन तर यस देशका नियमहरू यति कमजोर छन् कि एक भाइरस वा अर्को संक्रामक रोग अमेरिकामा जनावरहरूबाट मानिसमा सजिलै सर्न सक्छ।
प्रतिवेदन तयार गर्ने टोलीका सदस्य एन लिन्डरले भने कि, त्यहाँ वास्तवमै सुरक्षाको गलत भावना र आनुवंशिक रोग अन्यत्र अवस्थित छ र अमेरिकामा हुन सक्दैन भन्ने निराधार विश्वास छ।
हार्वर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयका रिपोर्टहरूले पनि जोखिमका धेरै बिन्दुहरूको बारेमा औल्याएका छन । पशुको आयात निर्यातको क्रमसँगै यस अवधिमा लाखौं जनावरहरू एकअर्का र तिनीहरूका ह्यान्डलरहरूको सम्पर्कमा आउँछन्। यस कारण जंगली जनावरबाट कुनै पनि संक्रमण सजिलै मानिसमा प्रवेश गर्न सक्छ।
एन लिन्डरले भने कि प्रत्येक वर्ष लगभग २२ करोड जीवित जंगली तथा घरपालुवा जनावर र अन्य उद्देश्यका लागि अमेरिकामा आयात गरिन्छ। कसैले कुकुर वा बिरालोलाई अरु देशमा ल्याउनुपर्ने हो भने प्रक्रियामा सामेल हुनुपर्छ । तर, एक आयातकर्ताले सजिलो नियमको साथ दक्षिण अमेरिकाबाट १०० जंगली स्तनपायी सजिलै ल्याउन सक्छ।
पशु आयात र निर्यातमा सजिलो कानुनका कारण अमेरिकामा कोभिड भन्दा खतरानाक भाइरस उत्पन्न हुने र त्यो तिब्रताका साथ फैलने ती बैज्ञानिकहरुको दाबी छ ।
वासिङ्टन । विगत दुई दशकयता पृथ्वीको महासागरको रंगमा उल्लेख्य परिवर्तन आएको छ । यस परिवर्तनको कारण जलवायु परिवर्तन हो ।
आज, जलवायु परिवर्तनले हाम्रो ग्रहको ५६ प्रतिशत भन्दा बढी महासागरहरूलाई असर गरेको छ । यो हाम्रो ग्रहको कुल भूमि क्षेत्र भन्दा बढी हो । पृथ्वीको महासागरको रंग यसको पानीमा रहेका जीव र खनिजहरूको प्रतिबिम्ब हो । समुन्द्रको रंगमा भएको परिवर्तन मानव आँखाले देख्न सक्दैन । तर यो तथ्याङ्कबाट स्पष्ट छ कि समुद्री पारिस्थितिकी प्रणालीहरू परिवर्तन हुँदैछन् ।
तर, महासागरको इकोसिस्टममा के परिवर्तनहरू भइरहेका छन् भन्ने पूर्ण रूपमा स्पष्ट छैन । तर, अनुसन्धान टोलीले मानव गतिविधि र जलवायु परिवर्तन यसका लागि निश्चित रूपमा जिम्मेवार रहेको विश्वास गरेको छ ।
‘म वर्षौंदेखि सिमुलेशनहरू चलाउँदै आएको छु, जसले मलाई बताउछ कि त्यहाँ समुद्री रंग परिवर्तनहरू हुन गइरहेको छ ।’ स्टेफनी डटकिविज, सह(लेखक र सेन्टर फर ग्लोबल चेन्ज साइन्सका वरिष्ठ अनुसन्धान वैज्ञानिकले एक विज्ञप्तिमा भनेका छन्, ‘वास्तवमा, यो अचम्मको होइन तर डरलाग्दो छ ।’
महासागरको रंग यसको माथिल्लो तहमा के छ भनेर मूल्याङ्कन गर्न प्रयोग गर्न सकिन्छ । उदाहरण को लागी, गाढा नीलो पानी जीवनको अनुपस्थितिको संकेत गर्दछ । जबकि हरियो पानीले फाइटोप्लाङ्क्टन भनिने बिरुवा जस्तो सूक्ष्म जीवहरूको बारेमा संकेत गर्दछ । यसमा क्लोरोफिल हुन्छ, जसले पातलाई हरियो रंग दिन्छ । फाइटोप्लांकटन सूर्यको किरणको सहायताले प्रकाश संश्लेषण गर्छ । यी बिरुवाहरू साना माछाको खाना बन्छन् र ठूला माछाको पेट खुवाउँछन् ।
बिरुवाहरूले प्रकाश संश्लेषणमा वायुमण्डलबाट कार्बन डाइअक्साइड तान्न सक्छन् । यो एक प्रमुख हरितगृह ग्यास भएकोले, वैज्ञानिकहरूले जलवायु परिवर्तनमा यसको प्रतिक्रियाको निगरानी गर्छन् । अनुसन्धानका प्रमुख लेखक तथा नेशनल सेन्टर फर ओशनोग्राफीका वैज्ञानिक बीबी केलले समुद्रको रंग परिवर्तनले मानिसले वातावरणमा गरेको क्षतिलाई झल्काउने बताए । वैज्ञानिकहरूले अनुसन्धानका लागि २० वर्षको एक्वा स्याटेलाइट डाटा प्रयोग गरेका छन् ।
चितवन । गत आर्थिक वर्ष २०७९ र ०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ज्यान तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँचरपाँच जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन् ।
उनीहरुलाई जनही १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ छन् । गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप ३२ लाख ८० हजार १७ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई रु चार लाख २७ हजार एक सय २८ उपचार खर्चबापत प्रदान गरिएको उनले जानकारी दिए ।
हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१ , बाघको आक्रमणबाट सात, भालुको आक्रमणबाट सात, जङ्गली बदेलको आक्रमणबाट छ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।
यस्तै जङ्गली जनावरका कारण दुई सय ३४ पशुधन क्षति भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ । यसको राहत स्वरुप रु ३१ लाख ३८ हजार चार सय प्रदान गरिएको छ । भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ । यसबापत ५१ हजार राहत रकम भुक्तानी गरिएको छ । यस्तै सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको उनले जानकारी दिए ।
जसको क्षतिबापत दुई लाख ३४ हजार नौ सय भुक्तानी गरिएको छ । यस्तै अन्नबालीमा क्षति पाँच सय १७ पटक गरेको पाइएको छ । जसको राहतस्वरुप निकुञ्जले ३९ लाख ५८ हजार छ सय २५ भुक्तानी गरेको छ ।
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण आठ सय ५६ घटना भएका छन् । यसको राहतस्वरुप निकुञ्जले दुई करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेको ब्युरोले जनाएको छ ।
श्रेष्ठले उक्त सरकारी जग्गामा मोही प्रमाणित गराई व्यक्तिका नाममा नामसारी गर्न भूमिका निर्वाह गरेको ब्युरोले जनाएको छ । सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले श्रेष्ठसँगै ललिता निवास प्रकरणमा जोडिएका हालसम्म १९ जना पक्राउ परेको जानकारी दिए । उनले यस प्रकरणमा थप व्यक्तिको समेत मिलेमतो देखिएकाले उनीहरूमाथि ब्युरोले अनुसन्धानसँगै निगरानी पनि बढाएको बताए । उनले पक्राउ परेका आरोपितमध्ये अधिकांशको बयान तथा सोधपुछ सकिएको समेत जानकारी दिए ।
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव भएपछि दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता पठाउन थालिएको छ ।
स्वास्थ्यमा नेतृत्व सम्हालेर बसेका तथा पहुँचका आधारमा केन्द्रमा बसिरहेका स्वास्थ्यकर्मीलाई यस पटक स्वास्थ्य मन्त्रालयले कुनै पनि बहानामा छुट दिन नसकिने भन्दै दरबन्दी भएकै स्वास्थ्य संस्थामा काज फिर्ता गरेको हो । आइतबार मात्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा काजमा रहेका सात जना कर्मचारीको मन्त्रालय प्रशासनले हाजिर काटिदिएको छ । उनीहरूले सोमबारदेखि मन्त्रालयमा हाजिर गर्न पाउने छैनन् । ती कर्मचारी पनि आफ्नो दरबन्दी भएकै स्थानमा जानुपर्ने खबर गोरखापत्रमा खबर छ ।
गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार पदम गिरी, अवधेश कुमार मण्डल, रमेश भट्ट, जैबी राई, अब्दुर रहमान, उत्तम गुरुङ र सरिता भण्डारी पौडेलले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । निर्वाचन समितिका अनुसार विभिन्न पदहरुमा मनोनयन दर्ता भएका उम्मेदवारहरुमाथि दाबी विरोध पश्चात ९० जनाको उम्मेदवारी कायम भएको छ । प्रारम्भिक नामावलीमा भने ९१ जना पञ्जीकृत सदस्यहरुको उम्मेदवारी परेको थियो । निर्वाचन समितिले कामय रहेका उम्मेदवारहरुलाई आफ्नो पासपोर्ट साइजको फोटोसहित नाम र पदसमेत उल्लेख हुने गरी सोमबार दिउँसो ४ बजेभित्र विवरण पठाउन आग्रह गरेको छ । समितिले ६ जना आईसीसी सदस्यका लागि ९ जना, एक जना प्रथम उपाध्यक्षका लागि ३ जना, द्धितीय उपाध्यक्ष १ जनाका लागि ३ जना, तृतीय उपाध्यक्ष १ जनाका लागि २ जना, महिला उपाध्यक्ष एक जनाका लागि दुई जनाको उम्मेदवारी परेको छ । यस्तै १ जना युवा उपाध्यक्षका लागि पनि दुई जनाको उम्मेदवारी परेको छ । यस्तै ३ जना सचिवका लागि ७ जना, कोषाध्यक्ष १ जनाका लागि ३ जना, सहकोषाध्यक्ष १ जनाका लागि ३ जनाको उम्मेदवारी परेको छ । यसैगरी महिला संयोजक र युवा संयोजक पदमा भने एकल उम्मेदवारी परेको छ । यस्तै १९ जना सदस्य पदका लागि ४० जनाको उम्मेदवारी परेको छ । यसैगरी लेखा समिति संयोजक पद ९१० का लागि २ जना, लेखा समिति सदस्य ९२० का लागि ३ जनाको उम्मेदवारी परेको संयोजक क्रान्ति सिंहले जानकारी दिए । नयाँ नेतृत्व चयनका लागि जुलाइ २७ मा निर्वाचन हुँदैछ ।
कीर्तिपुरवासीले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको एक महिना पुगिसक्दा पनि ताला खोल्ने विषमा दुवै पक्षबीच सहमति हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय पीडित संघर्ष समितिले असार ७ गते त्रिविका उप कुलपति, रेक्टर र रजिस्टारको मूलगेटमा तालाबन्दी गरेका थिए ।
तालाबन्दीपछि त्रिवि र समितिबिच करिब ५ पटक वार्ता हुँदा पनि सहमति हुन सकेको छैन । त्रिवि वार्ता समितिका संयोजक एवं त्रिवि अनुगमन निर्देशनालयका उपनिर्देशक उपप्राध्यापक विष्णुप्रसाद वाग्लेले वार्ता भएर ७ बुँदे सहमति भए पनि कार्यान्वयन हुन नसकेको बताए ।
हङकङबाट नेपाल हुँदै भारत तस्करीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै १ सय किलोग्राम सुनको छानबिन प्रक्रियालाई लिएर दुई निकायबीच जुहारी शुरू भएको छ ।
विमानस्थलबाट बाहिरिएको सुन पक्राउ गरेको राजस्व अनुसन्धान विभागले छानबिन पनि आफूले नै गर्ने भन्दै छानबिन प्रक्रियालाई अघि बढाएको छ । राजस्वले अनुसन्धानमा अन्य निकायको आवश्यकता नरहेको टिप्पणी गर्दै आफैंले अनुसन्धान गरेर टुंगोमा पु¥याउने बताएको छ ।
गृह मन्त्रालयले आफूले यसको बिस्तृत छानबिन गर्न पाउनुपर्ने माग गरे पनि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहतमा रहेको र हरेक कुरा प्रधानमन्त्रीलाई नै जानकारी गराउने भएकाले अन्य निकायको सहयोग आवश्यक नपर्ने बताउँदै आएका छन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो सुन तस्करी काण्डमा संगठित अन्तर्राष्ट्रिय गिरोहसमेत जोडिएकाले यसको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तथा उपत्यका अपराध अनुसन्धान महाशाखाले गर्नुपर्ने बताएको र यस विषयमा मन्त्रालयमा गम्भीर रूपमा छलफल भइरहेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । ती अधिकारीले भने– ‘उक्त सुन तस्करी काण्डमा चिनियाँ, भारतीय र नेपाली नागरिकको मिलोमतो रहेकोले राजस्व अनुसन्धान विभागले मात्रै अनुसन्धान गर्दा शंकाको घेरामा रहेका व्यक्तिहरू भाग्न सक्ने चिन्ता मन्त्रीज्यूले व्यक्त गर्नु भएको छ ।’ नेपाल समाचारपत्रमा खबर छ ।
नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक बस्दैछ । सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।
गत साउन २ गते देखी जारी केन्द्रिय समिति बैठकमा अधिकांस केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका गतिविधि र काम कारबाहीलाई लिएर एकाध व्यक्तिले गैर व्यावसायिक गतिविधि गरिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्ने गरी केन्द्रीय बैंकले ऐनमा नै संशोधन गरिने भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकिङ कसुर ऐन, २०६४ लाई समसामयिक संशोधन गर्ने व्यवस्था गरिएको छ । पछिल्ला दिनमा केही व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिर्ने, बैंक तथा वित्तीय संस्था कर्मचारीमाथि आक्रमण गर्ने गरेपछि केन्द्रीय बैंकले उक्त ऐनमा संशोधन गर्न खोजेको हो । “वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर–व्यावसायिक तथा उच्छङ्ल गतिविधिलाईसमेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैंकिङ कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने छ ” मौद्रिक नीतिमा उल्लेख छ ।