उद्योग समितिको सभापतिमा जनमतको उम्मेदवार अब्दुल खान

काठमाडौं । जनमत पार्टीले उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानलाई उम्मेदवार बनाउने भएको छ ।

प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ । बिहान ११ बजेदेखि अपराहृन ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार उद्योग समिति जनमतले पाएको छ । जनमतका प्रवक्ता डा। शरदसिंह यादवका अनुसार खानलाई सभापतिको उम्मेदवार बनाउने सहमति भएको छ ।

यो समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गणेश पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिमा जसपाको उम्मेदवार राजकिशोर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा राजकिशोर यादवलाई उम्मेदवार बनाउने भएको छ ।

प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि आज मनोनयन दर्ता हुँदेछ । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध समिति जसपाको भागमा परेको छ । जसपा प्रमुख सचेतक प्रदीप यादवका अनुसार यादवलाई सभापतिको उम्मेदवार बनाउने तयारी छ ।

संकाको घेरामा रहेका आफ्नै दलका नेतालाई पनि अनुसन्धानको दायरामा ल्याउँछौं ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेरै दलभित्र पनि ज–जसको नाम आएको छ । उहाँहररुलाई पनि अनुसन्धानको दायराभित्र ल्याउँछौं । तथ्य र प्रमाण भयो भने मेरो अनुहार हेर्नु पर्दैन । अनुसन्धानका लागि तान्नु भनेर मैले सीआईबीलाई पनि भनेको छु,’ प्रचण्डलाई उद्धृत गर्दै कांग्रेस नेता मधु आचार्यले भने ।आफ्नै दलका नेता भए पनि कुनै पनि प्रकरणमा अनुसन्धानको दायरामा ल्याउने बताएका छन् ।

कांग्रेसको रुपान्तरण अभियानका अगुवासँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नाम मुछिएका सबैको अनुसन्धान गर्न सीआईबीलाई भनेको बताएका हुन् ।

सुन तस्करी प्रकरणमा माओवादीका कृष्ण महराको नाम मुछिएको छ । प्रधानमन्त्रीले उनको पनि बयान लिनुपर्ने बताएका थिए ।

कांग्रेका रुपान्तरण अभियानका ९ जना नेताले आज बिहान प्रधानमन्त्रीलाई भेटेर समसामयिक विषयमा छलफल गरेका थिए ।

कागबेनी बाढी ः करिब एक अर्ब बराबरको क्षति

ढोरपाटन । गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्‍याएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी नै बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्ने माध्यम केही छैन ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्याङ्कअनुसार बाढीले कागबेनीमा करिब रु एक अर्बको क्षति पुर्‍याएको छ । भौतिक संरचना, स्थानीयवासीको घर, व्यवसाय र विभिन्न सङ्घसंस्थाको कार्यालयमा क्षति पुर्‍याएको को थियो । बाढीले यहाँका कृषकले खेती गर्दै आएको स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत क्षति पुर्‍याएको छ ।

गाउँपालिकाको कृषि शाखाको तथ्याङ्कअनुसार कागबेनीवासी कृषकको करोड बढीको स्याउ, ओखर र नास्पातीलगायतका फलफूल बोट क्षति पुगेको छ । बाढीले कृषकको ११ रोपनी तीन कठ्ठा बढीमा लगाइएको स्याउलगायतका फलफूलमा क्षति पुर्‍याएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिए । उनका अनुसार करिब एक सय ६९ भन्दा बढी स्याउ बोटमा क्षति पुगेको छ । स्थानीय मिङमर गुरुङको ४५ वटा स्याउका बोट र नर्सरी नष्ट भएको उनको भनाइ छ ।

बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुङ्गा नमडुल गुरुङ, पेमा निङ्वो विष्ट र कर्म छोक्ले गुरुङको स्याउबारीमा रहेको स्याउ बोटमा क्षति पुगेको उनले बताए । उनीहरूको रु। ३५ देखि ५५ वटासम्म स्याउ बोटमा क्षति पुगेको उनको भनाइ छ । कृषि बाढीले स्याउलगायतका कृषि उत्पादन हुने खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पुगेको छ । करिब सात हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा क्षति पुगेको शाखा प्रमुख धामीले जानकारी दिए ।

गाउँलेले कागबेनी वारिपारि क्षेत्रको खेतीयोग्य जमिनमा सिञ्चित हुने तीन वटा कुलो बाढीले क्षति गरेको छ । उनका अनुसार ३६ रोपनी जग्गामा सिञ्चित गरिने सिँचाइ कुलोसमेत बाढीले बगाएको छ । गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने नौवटा हाते ट्रयाक्टरसमेत बाढीले बगाएको उनी बताउछन् । बाढीले स्याउका बोट, बगैँचा, विभिन्न कृषि उपकरण र सिँचाइ कुलो बगाउँदा करिब रु। एक करोड बढीको क्षति भएको धामीको भनाइ छ ।

उनी भन्छन्, “यहाँका धेरै स्थानीयको मुख्य आयस्रोत स्याउ हो, बाढीले अधिकांश कृषकको स्याउ बगैँचामा ठूलो क्षति पुर्‍याएको छ, हामीले धेरै दिन लगाएर क्षति विवरण सङ्कलन गरेका छौँ, कोहीको बगैँचा बगाएको छ, कोहीको स्याउ र नास्पातीको बोट बगाएको छ, सिँचाइ कुलो बगाउँदा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो बस्ने अवस्था आएको छ ।”

बाढीले कृषकको गोठ र पशुचौपाया पनि बगाएको छ । पशुचौपाया बगाउँदा करिब रु. ५० लाख बढीको क्षति भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले जानकारी दिए । बाढीले २३ गोठ, ३२ लुलुगाई, दुई वटा खसी र एउटा घोडा बगाएको प्रमुख कठायतले बताए । यसबाट करिब रु. ५० लाख बढीको नोक्सानी भएको उनको भनाइ छ ।

बाढीले नगद, सामान र संरचनामा मात्र रु. ८१ करोड ८३ लाख २५ क्षति गरेको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी रु। २१ करोड दुई लाख बराबरको क्षति भएको गाउँपालिकाले तयार गरेको तथ्याङ्कमा उल्लेख छ । पचास ५० घरमा रु. ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ भने बाइसवटा घर पूर्ण र पाँच वटा घरमा आंशिक क्षति भएको थियो ।

मेरा लागि सबै धर्म बराबर ः हर्क साम्पाङ

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सबै धर्मलाई बराबर ठान्ने र उचित सम्मान दिने बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। स्ट्याटसमा ‘तिमि र म मा फरक’ भन्दै उनी लेख्छन्, ‘तिमी एउटा धर्मलाई प्रधानता दिन्छौ र अरु धर्मलाई कुल्चन खोज्छौ । म सबै धर्मलाई बराबर ठान्छु र उचित सम्मान गर्छु।’

उनले बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोजेको आरोपसमेत लगाएका छन् ।

उनी अगाडी लेख्छन्, ‘तिमी बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोज्छौ। म बाहिरका मान्छेलाई आकर्षित गरेर नगरकै बिकासमा श्रमदान गराउँछु ।’

केही दिनदेखि धरानमा समाजिक सद्भावमा खलल पुग्ने अवस्था आएपछि जिल्ला प्रशासनले शुक्रबार २४ घन्टे निषेधाज्ञा जारी गरेको थियो। जुन शनिबार राति १२ बजेबाट सकिएपछि धरान अहिले शान्त र सामान्य दैनिकीमा फर्किएको छ।

उद्योग समिति सभापतिमा रास्वपाले पराजुलीलाई उम्मेदवार बनाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने भएको छ ।

संसदीय समिति सभापतिहरुका लागि आज आइतबार मनोनयनको समय तोकिएको छ । र, समिति सभापतिहरुमा सत्तारुढ गठबन्धन र प्रमुख प्रचिपक्षीले भागबन्डा गरेका छन्, जसमा रास्वपा र राप्रपालाई समावेश गरिएको छैन । भागबन्डा नदिएपछि रास्वापाले आफ्नो हिसाबले समिति सभापतिमा उम्मेदवारी दिने तयारी गरेको छ ।

प्रमुख सचेतक सन्तोष परियारका अनुसार उद्योग समितिमा पराजुलीलाई उम्मेदवार बनाउने तय भएको छ । उनले अघि भने, ‘अरु समितिबारे छलफल भइरहेको छ ।’ सत्ता गठबन्धन र प्रमुख विपक्षीबीच भएको भागबन्डामा उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापति जनमत पार्टीको भागमा परेको छ ।

प्रमुख प्रशासकीय अधिकृत संघबाटै पठाउन लोक सेवाको सुझाव

काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघबाट नै पठाउन सुझाएको छ । संसदमा पेस गर्ने तयारीमा रहेको संघीय निजामती सेवा ऐनको मस्यौदामाथि दिएको परामर्शमा उक्त सुझाव दिएको हो ।

केन्द्रसँग जोड्ने संयन्त्र आवश्यक हुने चौतर्फी बहसका बिच अर्थ र कानुन पछि परामर्शका लागि आयोग पठाएको मस्यौदामा आयोगले केन्द्रीय सरकारबाट नै प्रमुख प्रशासकीय अधिकृत पठाउन उपयुक्त हुने भनेको हो ।

संघीयताको मर्म अनुशार सबै कर्मचारी सम्बन्धित तहकै हुनु पर्ने र वृत्ति विकास लगायतका लागि पनि प्रमुखसम्मै हुन पाउने व्यवस्था सुनिश्चित गरिनु पर्ने माग एकातिर छ भने संघकै प्रमुख प्रशासकीय अधिकृत हुँदा त कतिपय स्थानीय तहहरूले रिपोर्टिङमासमेत संघीय सरकारलाई अटेरी गर्ने गरेको वास्तविकता अर्कोतिर छ ।

प्रस्तावित मस्यौदामा प्रमुख प्रशासकीय अधिकृत प्रदेश लोक सेवाले पदपूर्ति गरेर स्थानीय तहकै दरबन्दी हुने उल्लेख गरिएको गर्दै स्थानीय तहका कर्मचारीको तयार नहुन्जेलसम्मका लागि केन्द्रबाटै पठाउने प्रस्ताव गरिएको छ ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७५ मा प्रतिनिधिसभामा दर्ता गरेको निजामती विधेयकमा प्रमुख प्रशासकीय अधिकृत केन्द्रबाट पठाउने उल्लेख गरिएकोमा २०७७ साल असारमा राज्य व्यवस्था समितिबाट पठाइएको विधेयकमा भने स्थानीय तहबाटै हुने प्रावधान राखिएको थियो ।

प्रतिनिधिसभामा पेस भएको मस्यौदामा छलफल नै हुन नपाउँदै नयाँ संसद्का लागि निर्वाचन भएसँगै ऐन सेलाएको थियो ।

एमेच्योर चेस प्रतियोगितामा सहभागी बुद्धिचाल टोली युएई जाँदै

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स चेस महासङ्घको आयोजनामा भाद्र ११ गते १७ गतेसम्म हुने एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार युएईको दुबईमा प्रस्थान गर्दै छन् ।

अफिसियल खेलाडीमा २०८० असार ९ गते देखि १३ सम्म धनगढीमा भएको पाचौँ राष्ट्रिय एमेच्योर खुला तर्फका विजेता दोलखाका आशिष फुयाल र महिला तर्फ विजेता कैलालीकी कुसुम पाण्डे रहेका छन् । अन्य खेलाडीमा धन बहादुर कैलाली बोगटी, भिमदत्त पाण्डेय, कनचन्पुर राजिव कार्की, दोलखा ,जित बहादुर केपछाकी, कैलाली , गोविन्दमान श्रेष्ठ दोलखा र भोजराज चौलागाई दोलखा रहेका छन् ।

आषिश फुइयाल २००० रेटेड तर्फ प्रतिस्पर्धा गर्नेछन् भने अन्य सबै खेलाडीहरुले १७०० मुनिको रटिङमा प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।

भैरहवा भन्सारद्वारा अवैध सामानको बरामद

लुम्बिनी । भैरहवा भन्सारबाट फरक सामानको बिजक पेस गरी अवैध सामान भित्र्याउँदै गर्दा भन्सार कार्यालयले बरामद गरेको छ ।

प्लाष्टिकका दानाको बिजकबाट नेपाल भित्र्याउन लागेको दुईवटा ट्रकमा जाँच गर्दा ठूलो परिमाणमा कागजातभन्दा फरक कपडा, काजु, किसमिसलगायत फेला परेको भन्सार कार्यालयले जानकारी दिएको छ ।

भारतबाट प्लाष्टिकका दानाको बिजक पेस गरेर भन्सार गर्ने प्रक्रियामा रहेका दुईवटा ट्रक जाँच गर्दा फरक सामान भेटिएको भैरहवा भन्सार कार्यालय प्रमुख मनिराम पौडलले जानकारी दिए । भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लाष्टिक दाना भनिए पनि भौतिक जाँचका क्रममा दुईवटै ट्रकमा ठूलो परिमाणमा फरक सामान फेला परेको उनले बताए ।

ना५ख ३३५ नम्बरको नेपाली ट्रक र युपी ५३ जिटी ०५७८ नम्बरको भारतीय ट्रक भन्सार परिसरबाटै नियन्त्रणमा लिई जाँच सुरु गरिएको भन्सार कार्यालयले जनाएको छ । जयमा ट्रेडर्स र चितवन ह्याचरीको नाममा बिजक बनाएर भन्सारमा प्रवेश गराइए पनि ती व्यावसायिक फर्महरू हाल सञ्चालनमा नभएको कार्यालयले जनाएको छ ।

प्रारम्भिक जाँचका क्रममा शुक्रबार नियन्त्रणमा लिइएका दुईवटा ट्रकमा करिब रु. दुई करोड बराबरको रहेको अनुमान गरिएको छ ।

गाउँमै गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको छ । गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए ।

गाउँपालिकाले पालिकाभित्रका विभिन्न १० स्वास्थ्य संस्थाबाट एक सय ५० गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गरिएको उनले बताए । भिडियो एक्स–रेबाट आमा र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था बुझ्न सजिलो हुने उनले जानकारी दिए । एम्बुलेन्ससहितको स्वास्थ्यकर्मीको टोली हरेक महिना पालिकाभित्रका गर्भवतीको गर्भावस्थाको परीक्षण गर्न टोल–टोलमा पुग्ने गरेका हुन् ।

“गाउँपालिकाको बोलाई स्वास्थ्यचौकी, महादेवटार आधारभूत स्वास्थ्य सेवा केन्द्र, सहिद स्मृति आधारभूत अस्पतालबाट निःशुल्क भिडियो एक्स(रे सेवा प्रदान गर्दै आएको छ”, उनले भने, “त्यस्तै बगुवा स्वास्थ्यचौकी, खान्चोक स्वास्थ्यचौकी, मसेल सामुदायिक स्वास्थ्य एकाइ, ओख्ले आधारभूत स्वास्थ्य सेवा केन्द्र, तान्द्राङ स्वास्थ्यचौकीबाट नियमित सेवा उपलब्ध गराइँदै आइएको छ ।”

गर्भवतीको गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र समयमै समस्याको पहिचान गर्ने उद्देश्यले पालिकाभित्र नै गर्भवतीका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । ‘प्रोटेबल भिडियो एक्स–रे मेसिन’को प्रयोग गरी स्वास्थ्यकर्मीले वडा–वडामा पुगेर सेवा दिँदै आएको उनले बताए।

गाउँपालिकाले यो सेवा सुरु गर्नुअघि पालिकाभित्रका गर्भवतीको गर्भावस्थाको परीक्षणका लागि गोरखा अस्पताल पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो । अहिले पालिकाभित्रैबाट प्रत्येक वडामा पुगेर सेवा दिन सुरु गरेसँगै गर्भावस्थामा हुनसक्ने समस्याको समयमै पहिचान गरी उपचार गर्न सक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

दार्चुलाको ब्यासमा डेंगु सार्ने लामखुट्टे फेला

बैतडी । तराईका जिल्लामा बढी हुने डेंगु संक्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ।

तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले भने, ‘ दार्चुलाको ब्यासमा पनि डेंगु सार्ने लामखुट्टे फेला परेको छ। दार्चुलामा प्रदेशकै बढी सङ्क्रमित पनि भेटिएका छन्।’

पहाडमा पनि डेंगु संक्रमण बढ्दै गएको र सङ्क्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। ‘यहाँ पनि डेंगु संक्रमण बढेको छ। सबैले सचेत रहन आवश्यक छ,’ उनले भने। डेंगु भएका उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन्।

यसका साथै गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट–खुट्टा सुन्निनेजस्ता लक्षण देखापर्ने निर्देशनालयले जनाएको छ। डेंगु जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, किट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ।

स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका जोशीले बताए। वर्षात्मा दैनिक डेंगुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेंगु संक्रमण फैलाउने लामखुट्टे नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ।

यसैबीच सुदूरपश्चिम प्रदेशमा डेंगु संक्रमण ह्वात्तै बढेको छ। सन् २०२३ को पछिल्लो चार महिनाको तथ्याङ्क हेर्दा यहाँ डेंगु संक्रमण ह्वात्तै बढेको देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो। निर्देशनालयका अनुसार मे महिनामा २२, जुनमा २६ जनामा संक्रमण देखिएकामा जुलाइमा त्यो सङ्ख्या बढेर ५८ पुगेको छ। यस्तै अगस्ट महिनामा भने डेंगु संक्रमण ह्वात्तै बढेको पाइएको छ। अगस्तको हालसम्म दुई सय १३ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति जोशीले जानकारी दिए। सुदूरपश्चिममा सन् २०२३ को हालसम्म पाँच सय ४० जनामा संक्रमण पुष्टि भइसकेको छ।

नेपाली काँग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुङ्गो लगायो

राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको छ ।

काँग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरेको थियो । उक्त समूहबाट जीवन परियार मात्रै परेका छन् । दुवै तिरको हुने गरी सन्तोष चालिसेलाई उम्मेदवार बनाएर काँग्रेसले सन्तुलन मिलाएको छ ।

लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदै छ । समितिको नेतृत्व चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ ।

समाजवादी प्रेस सङ्गठनले आगामी असोज भित्र सातै प्रदेशमा भेला आयोजना गर्ने

काठमाडौँ । समाजवादी प्रेस सङ्गठनले आगामी असोज भित्र सातै प्रदेशमा भेला आयोजना गर्ने भएको छ । सङ्गठनको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले निर्धारित समयमा ती भेला सम्पन्न गरी सङ्गठनको संरचना र सामर्थ्य विस्तार गर्ने निर्णय गरेको हो ।

बैठकले आमसञ्चार क्षेत्रलाई थप मर्यादित र व्यावसायिक बनाउन, श्रमजीवी पत्रकारका पारिश्रमिक वृद्धि गर्न तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्न एवं श्रमजीवी पत्रकारको विभिन्न सञ्चार गृहमा पारिश्रमिक भुक्तानीमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।

बैठकले सङ्गठन सुदृढीकरणका सन्दर्भमा आइपर्ने विभिन्न समस्या निरूपण गर्न, केही रिक्त पदमा भूगोल, प्रदेशको सन्तुलन मिलाएर केही सदस्यलाई जिम्मेवारी तोक्न, आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठकलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

अब बस्ने पदाधिकारी बैठकले सङ्गठनको आवश्यक विभाग गठन, सल्लाहकार समिति निर्माण, विभागलाई पूर्णता प्रदान गर्ने छ । सङ्गठन सुदृढीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्य योजना, समसामयिक परिस्थितिबारे बैठकमा छलफल गरिएको उपमहासचिव प्रेम गौतमले जानकारी दिए ।

बैठकमा साङ्गठनिक प्रतिवेदनलगायत मातहतका कमिटीले सम्बन्धित भूगोलमा भए गरेका कार्य प्रगतिको समीक्षा गर्दै सङ्गठनको नीति, विधानमा छलफल गरिएको थियो । सङ्गठनले आज स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने तथा विभिन्न पुरस्कारको घोषणा गर्ने भएको छ ।

को को कर्मचारि मुछिए सुन काण्डमा, माहार्निदेशक सहित सबै अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुन तस्करी काण्डमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित सबै कर्मचारीमाथि विस्तृत छानबिन र अनुसन्धान थालेको छ ।

पछिल्लो समय ६१ किलो सुन तस्करी र त्यसअघि इलेक्ट्रिक सिगरेट (भेप) मार्फत् गरिएको ९ किलो सुनतस्करीमा संलग्न रहेका भनिएका सबै कर्मचारीमाथि अख्तियारले विस्तृत अनुसन्धान थालेको हो ।

गत शुक्रबार बसेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पूर्ण बैठकले सुन तस्करीमा संलग्न रहेका भनिएका सबै कर्मचारीलाई अनुसन्धान घेरामा ल्याउने र उनीहरू सबैको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । अख्तियार स्रोतले अध्यागमन विभागका महानिर्देशक अधिकारीसहित सुन काण्डमा मुछिएका सबैलाई छानबिनको घेरामा ल्याउने निर्णय गरेको हो ।

अख्तियारको सो निर्णयअनुसार ६० किलो सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेका कर्मचारी सन्तोष श्रेष्ठमाथि छानबिन र अनुसन्धान शुरूभएको छ । यसै गरी ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नायब सुब्बा रेवन्त खड्कामाथि समेत अख्तियारले छानबिन थालेको छ ।

अख्तियारले अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीसहित सुन तस्करीमा मुछिएका सार्वजनिक ओहोदामा रहेका सबैमाथि विस्तृत छानबिन गर्न अनुसन्धान अधिकृतहरू नै तोकेर अनुसन्धान थालेको जनाइएको छ । अख्तियारले महानिर्देशक अधिकारीसहित अन्य कर्मचारीको सुन तस्करसँग भएका आर्थिक कारोबारका बारेमा विभिन्न सम्पर्क स्रोतमार्फत् जानकारी लिने काम गरिरहेको बताइएको छ । सुन तस्करसँग सम्बद्ध रहेकाहरूको १३ पन्ने विवरण भराउनुका साथै उनीहरूले यसअघि जागिर खाँदाका सबै गतिविधिको एक एक अध्ययन र अनुसन्धान गर्ने अख्तियार स्रोतले जनाएको छ ।

६० किलो सुनतस्करी प्रकरणका मुख्य योजनाकार मानिएका दावा छिरिङसँग गहिरो कनेक्सन देखिएपछि अध्यागमन विभागका महानिर्देशक अधिकारी विभागबाट हटाइएका छन् । उनलाई हाल गृह मन्त्रालयले अतिरिक्त समूहमा राखेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अधिकारी र दावाबीच लामो समयदेखि विच्याटमा विभिन्न धन्दाका बारेमा कुराकानी हुने गरेको, अधिकारीले दावालाई सहयोग गरेको र सोबापत दावाले ठूलै आर्थिक सहयोग गरेको विषय फेला पारिसकेको छ । अतः अधिकारी सीआईबीको गम्भीर छानबिनमा समेत परिसकेका छन् ।

गृहमन्त्रालयका एक अधिकारीले अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीमाथि सीआईबी र अख्तियारले समेत छानबिन थालेकाले गृह मन्त्रालयले छानबिन गर्न जरुरी नरहेको बताए । ‘अधिकारीलाई गृह मन्त्रालयमा तानेर अतिरिक्त समूहमा राख्ने निर्णय भएको छ, उहाँमाथि सीआईबीले छानबिन गरिरहेको र अख्तियारले समेत छानबिन गर्ने भएकाले गृहबाट छानबिन गर्न जरुरी देखिँदैन’। तर, गृहमन्त्रालयले अधिकारीलाई निलम्बन गर्नुपर्ने माग सर्वत्र उठिरहेको छ । सुन तस्करसँग कनेक्सन भएको विषय सार्वजनिक भइसक्दा समेत अधिकारीलाई निलम्बन गर्न नसक्दा गृहमन्त्रालयको नेतृत्वमाथि प्रश्न समेत उठिरहेको छ । अधिकारीलाई निलम्बन गर्ने विषयमा गृहमन्त्रालयले अहिले सम्म कुनै पनि निर्णय गर्न सकेको छैन ।

गृहमन्त्रालयले बिहीबार अधिकारीलाई अध्यागमन विभागबाट मन्त्रालय तान्ने निर्णय गरेको थियो । अधिकारी भने हाल बिदामा छन् ।

अख्तियार स्रोतका अनुसार सुनकाण्डमा मुछिएका तथा तस्करहरूसँग कनेक्सन भएका कर्मचारीहरूले अकुत सम्पत्ति आर्जन गरेका प्रारम्भिक सूचनाहरू प्राप्त भइसकेका छन् । अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीले दावासँग मिलेर विभिन्न धन्दाहरू सञ्चालन गर्ने गरेको र सोबाट आएको ठूलो परिमाणको रकमले नेपाल र भारतका विभिन्न होटलहरूमा लगानी गरेको दाबी स्रोतको छ । पोखरा निवासी अधिकारीको पोखराका चर्चित र ठूला होटलहरूमा बढी लगानी रहेको बताइएको छ ।

स्रोतका अनुसार राजस्व अनुसन्धान विभागमा हुँदा अधिकारीले भारतीय सीमा नाकाबाट आउने विभिन्न तस्करीका सामानहरू छुटाउन महत्वपूर्ण भूमिका खेलेका थिए । ‘त्यतिखेर सुपारी, मरिचको तस्करीमा समेत अधिकारीले भूमिका खेल्ने गरेको स्रोतले जानकारी दिएको छ । सुन तस्कर दावासँग अधिकारीको कनेक्सन अधिकारी ठूला करदाता कार्यालयमा बस्दा भएको थियो । त्यसपछि उनीहरूबीच घनिष्ट सम्बन्ध रहँदै आएको स्रोतको दाबी छ ।

धरानमा हट्यो निषेधाज्ञा

काठमाडौँ । धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भन्दै स्थानीय प्रशासन (सुनसरी) ले धरान उपमहानगर क्षेत्रमा जारी गरेको निषेधाज्ञा हटाएको छ ।

धरानका–२० वटै वडामा शुक्रबार १२ रातिदेखि २४ घण्टाका लागि निषेधाज्ञा लागू गरिएको थियो। स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटेसँगै बिहानै बाट धरानमा चहलपहल शुरु भएको हो ।

साम्प्रदायिक सद्भावना बिग्रियोस् भन्ने उद्देश्यले स्थानीय प्रशासनले शनिबार रातिसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो। जातीय र धार्मिक विवाद बढ्दै गएपछि सम्भावित हिंसा रोक्न धरानमा निषेधाज्ञा सँगै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनीनगर–६ बाट बराह क्षेत्र नं.३ नडाहा चोकदेखि धरानतर्फ, इटहरी उपमहानर–२० तरहरा पानी पियादेखि उत्तर धरानतर्फ, धरान–५ प्रवेश गर्ने पूर्वी केराबारी बाट धरानतर्फ र धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट धरान तर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।