काठमाडौंकै एक स्कूलका प्रअ र विव्यस अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शिक्षक छनोट प्रक्रियामा पेश गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १६ हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि मंगलवार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत जनाएका छन् ।

थापा र धिताललाई अख्तियारको टोलीले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । घुसबापत लिएको रकमलाई बिगो कायम गरी बिगो असुलउपर तथा सोही बराबर जरिवानाको मागदाबी गरी मुद्दा दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ,’ प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ओलीवादी हुने एमालेको प्रवृत्ति हो ःघनश्याम भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा, निन्दा, गालीगलौज र भर्त्सना परम्परा विकास भएको आरोप लगाएका छन् ।

नेकपा एसनिकट अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै महासचिव भुसालले पछिल्लो समय ओलीलाई माथ गर्ने ढङ्गले निन्दा र भर्त्सना गर्नेहरू नेपालको राजनीतिमा उदाइसकेको बताए ।

भुसालले भने, ‘कमरेड ओलीको उदयपछि नेपालको राजनीतिमा घृणा, निन्दाको भर्त्सना, गालीगलौजको संस्कृति परम्परा बन्दै गयो । ओलीलाई माथ गर्ने ढङ्गले निन्दा र भर्त्सना गर्नेहरू नेपालको राजनीतिमा उदाइसकेका छन् ।’

भुसालले ओलीले जे गरे अझै १५ वर्ष आफूले विद्यार्थीहरूलाई त्यसबारे पढाउने बताए । रास्वपा र स्वतन्त्र मेयरहरूप्रति लक्षित गर्दै भुसालले निन्दा र गालीगलौजबाट राजनीतिमा स्थापित हुने परम्परा विकास भएकाले अनेरास्ववियूले संस्कारसहितको राजनीतिको अभियान चलाउनुपर्ने बताए ।

भ्रष्टाचार र तस्करीमा संलग्न भएकाहरूले सरकारमाथि आक्रमण गर्न खोजे ः गृहमन्त्री

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र तस्करीमा संलग्न भएकाहरूले सरकारमाथि आक्रमण गर्न खोजेको बताएको छन् ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका छन् ।

उनले भ्रष्टाचार, तस्करीको अन्त्य नगरीसम्म समृद्धिको सपना पूरा नहुने भएकाले सुशासनको अभियान चलाएको पनि बताएका छन् ।

युवाहरूमा अहिले अब देश बन्छ भन्ने आशा पलाएको पनि उनको दाबी छ ।

उनले भने, ‘अहिले भ्रष्टाचार, तस्करी र कमीसनखोरीमा संलग्नभएकाहरु आतङ्कित भएका छन् । तीनको रक्षा गर्न खोज्नेहरू सरकारलाई आक्रमण गर्न खोज्दैछन् । प्रधानमन्त्रीको नेतृत्वमा गृह मन्त्रालयले थालेको कामलाई असफल बनाउनको लागि आक्रमण गर्न खनिएका छन् ।’

देशलाई समृद्ध बनाएपछि मात्रै पार्टीको औचित्य पूरा हुने भएकाले अहिले सरकारले थालेको अभियानबाट आफूहरू पछि नहट्ने बताए । जतिसुकै आक्रमणको प्रयास भएपनि जनताको समर्थनलाई अगाडि राखेर अघि बढेपछि आफूहरू सफल हुने बताए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकार, आफ्नो गृहमन्त्री पदको निरन्तरता र भ्रष्टाचारी, तस्करी र कमिसनखोरीको निरन्तरता साथसाथै जान नसक्ने बताए ।

५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्छः केपी ओली

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलिले यस्तो बताएका हुन्। ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने ओलीको दाबी छ।

एमाले अध्यक्ष ओलीले कोशी प्रदेश सरकारको सन्दर्भमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गलाई संकेत गर्दै ओलीले कांग्रेसजस्तो पुरानो पार्टीले संविधान नमानेको देख्दा अचम्म लागेको बताए।

माओवादीले संविधान मान्दिनँ भनेर हतियार उठाएर गएको बताउँदै उनले भने, ‘अहिले पनि मानेको छैन। तर कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ।’

गठबन्धनले असंवैधानिक गतिविधि गरेको आरोपसमेत उनले लगाएका छन्। ‘उपसभामुखलाई किन बिरामी पार्नु भएको ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले गठबन्धनले जे जे असंवैधानिक गर्छ त्यसमा एमालेले साथ दिन्छ भन्ने कुरा नभएको बताए।

गिरिबन्धु टि –स्टेट जग्गा प्रकरणबारे ‘चिल आयो, चिल आयो भनेर कुखुरा चोर्ने तरिका’ भन्दै टिप्पणी गरेका छन् ।

कांग्रेसका सातवटै प्रदेशका सभापतिहरुको भेला भदौ १६ र १७ गते पोखरामा हुने

पोखरा । नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ ।

नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी संगठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिए।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा हुने भेलाको उद्घाटन पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको उनले बताए। भेलामा प्रदेश समितिको भूमिका एवं पार्टीको संस्थागत विकासलगायतमा छलफल हुने जनाइएको छ ।

नेपालले दियो मलेसियालाई ८४ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी चार देश सहभागी महिला टी- २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत नेपालले घरेलु टोलीलाई ८४ रनको लक्ष्य दिएको छ ।

नेपालले १८ ओभरमा घटाइएको खेलमा ७ विकेट गुमाएर ८३ रन जोड्यो । नेपालका कप्तान रुबिना क्षेत्रीले २३ र ईन्दु वर्माले २० रन बनाए ।

त्यस्तै काजल श्रेष्ठले १८ रन जोडिन् । नेपालले अघिल्ला दुवै खेल जितेको थियो ।

राष्ट्रपति पौडेल समक्ष नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतलनीवासमा शुक्रबार राष्ट्रपति र गभर्नर अधिकारीबीच कुराकानी भएको हो । भेटमा राष्ट्रपति पौडेललाई गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रका विषयमा जानकारी गराएको राष्ट्रपतिका निजी सचिवालयले जनाएको छ ।

त्रिभुवन विमानस्थलबाट आठ लाख रुपैयाँसहित फिलिपिन्सका नागरिक पक्राउ

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाइछिपाइ लैजान लागेको साढे आठ लाख रुपैयाँसहित फिलिपिन्सका नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फिलिपिन्सका ३२ वर्षीय नागरिक आर्सिनो जेआर मेसा रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

प्रहरीले एक सय दरको ३१ थान, २० दरको पाँच थान गरी जम्मा तीन हजार दुई सय अमेरिकी डलर र एक हजार दरको तीन सय थान, पाँच सय दरको एक हजार एक सय थान गरी आठ लाख ५० हजार नेपाली रुपैयाँसहित उनलाई बिहीवार पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा काठमाण्डौबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा पैसासहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।

व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश गरेर जग्गाधनीलाई धरपकड नगर्न हर्क साम्पाङलाई अदालतको आदेश

विराटनगर। धरानका मेयर हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा जबर्जस्ती जग्गाधनीलाई धरपकड नगर्न आदेश दिएको छ।

बिहीबार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो।

धरान ४ स्थित छोटी मोरङ डाडामा रहेको रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा मेयर साम्पाङले जबर्जस्ती बिरूवा रोपेको भन्दै अधिकारी दम्पती यसअघि नै अदालत गएका थिए।

साउन ६ गते मेयरले आफ्नो जमिनमा जबरजस्ती गरेको, पाराग्लाइडिङको उडानस्थलमै बिरूवा रोपेर असर पारेको भन्दै अधिकारी परिवार लगत्तै अदालत पुगेको थियो। साउन ११ गते उच्च अदालत, विराटनगरका न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश जारी गर्दै ुमुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा अनधिकृत रूपमा प्रवेश नगर्न, वृक्षरोपण गर्ने कार्य नगर्न, नगराउनु भनेको थियो।

तर, गएको सोमबार मेयर साम्पाङ फेरि जमिनमा पुगेर घर भत्काइदिने धम्की दिएपछि विवाद भएको थियो। अधिकारी दम्पतीले प्रतिवाद गरेको भिडिओ सार्वजनिक भएको थियो।

उक्त घटनाले आफूमाथि दुर्व्यवहार भएको भन्दै मेयर साम्पाङले प्रशासनमा उजुरी दिएका थिए। दम्पतीलाई पक्रन मेयरले प्रहरीलाई दबाब दिएका थिए। त्यसपछि आफू अदालत गएको र फेरि अदालतले पहिलो पटकको जस्तै आदेश दिएको रोजिनाले बताइन् ।

धानको गाँज कुहिन थालेपछि किसान चिन्तित

बागलुङ। खुमलचार जातको धानको गाँज कुहिन थालेपछि बडिगाड गाउँपालिकाका किसान चिन्तित बनेका छन् । हुर्कन लागेको धानको गाँज कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका हुन् ।

बागलुङको बडिगाड गाउँपालिकाले गत आर्थिक वर्षमा अनुदानमा वितरण गरेको खुमलचार जातको धानको बीउ लगाएका किसान अहिले समस्यामा परेका छन् ।

बडिगाड गाउँपालिकाले रु दुई लाख २० हजार लागतमा खुमलचार, खुमलआठ, खुमलदश र पोख्रेली जेठोबुढोको जातको चार हजार एक सय केजीको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो । तर खुमलचार जातको धानको बीउ लगाएका किसानको खेतमा धानको गाँज मर्न थालेको छ । बडिगाडको खौलारा, खाल र खर्बाङ आसपासका क्षेत्रको झण्डै ३० हेक्टर धानको खेतमा लगाइएको खुमलचार जातको धानमा जरा कुहिने समस्या देखिएपछि किसान निराश भएका छन् ।

पालिकाले अनुदानमा दिएको बीउका कारण अहिले खेतमा धान मरिरहेको बताउँदै बडिगाडका गाउँपालिका–५ ग्वालिचौरका सीता आचार्यले पालिकाले यसको क्षतिपूर्ति दिनुपर्ने माग गरे । बडिगाडका स्थानीय किसान लक्ष्मण विक र सीता आचार्य लगाएको धानखेतमा जरा कुहिने रोगको प्रकोपले धान उत्पादन घट्ने देखिएको हो ।

गाउँपालिकाले धानको उत्पादन बढाउन किसानलाई उन्नत जातको चार प्रकारका धानको बीउ अनुदान दिए पनि खुमलचार जातको धानमा समस्या देखिएको बडिगाड गाउँपालिकाका कृषि शाखा प्रमुख ईश्वर ओलीले जानकारी दिए।

“ल्याव परीक्षण गरेका बीउमात्रै खरिद बिक्री वितरण गर्ने गरिन्छ, अन्त सफल भइसकेको खुमलचार जातको धानको बीउ यहाँ सफल भएन”, उनले भने, “पालिकाले परीक्षणका लागि थोरै मात्रमा बीउ वितरण गर्न थालेको थियो, पछि किसानको माग खुमलचारमै बढी भयो, पालिकाले पुनः खुमलचारको बीउ खरिद गरेर अनुदानमा वितरण गरेको थियो ।”

यो क्षेत्रमा खुमलचार राम्रो हुन्छ भनेर सरकारले वर्गीकरण गरेको भूगोलमै पर्ने भन्दै उनले हिले खमुलचार धान रोपेका किसानको घरघरमा पुग्ने तथा विषादी वितरण गर्ने गरेको पनि उनको भनाइ छ।

धानको जरा कुहिने समस्या चार वर्ष पहिले पनि गलकोटमा देखिएको बताउँदै पालिकाले वितरण गरेको अन्य धानको बीउ भने राम्रो भएको उनको भनाइ छ । एक हजार आठ सय खुमलचारको धानको बीउमध्ये एक हजार तीन सय खुमलचारको धानको बीउ प्रयोगमा आएको ओलीको भनाइ छ । खुमलचारको बीउमा जरा कुहिने समस्या आएपछि उक्त खुमलचार जातको धानको बीउ लगाउने किसानको उत्पादनमा ५० देखि ७० प्रतिशत धानको उत्पादन घट्ने अनुमान गरिएको उनको भनाइ छ ।

पालिकाले प्रदान गरेको खुमलचार जातको धान मात्रै ३० हेक्टरमा रोपिएको बताउँदै किसानले समेत आफैँ खुमलचार जातको बीउसमेत लगाउँदै आएको बताए । समस्या आएपछि पालिकाले विभिन्न स्थानमा लगाइएको खुमलचार जातको धानको अनुगमन गरेको र किसानलाई विषादी उपलब्ध गराएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए ।

किसानको गुनासो आइसकेपछि रु. एक लाख लागतमा विषादी खरिद गरी वितरण गरिरहेको बताउँदै अध्यक्ष अधिकारीले किसानको समस्याप्रति पालिका गम्भीर भएको बताए । पालिकाले वितरण गरेको विषादीले हुनसक्ने नोक्सानीलाई घटाउने उनको विश्वास छ ।

पेस्तोल देखाइ रकम असुल्ने नक्कली प्रहरी सिरहाबाट पक्राउ

सिरहा । सिरहाको सीमाक्षेत्र आसपासका व्यापारी तथा व्यवसायीसँग आफू नेपाल प्रहरीको सई हुँ भन्दै अवैध रकम असुल्ने नक्कली प्रहरी पक्राउ परेका छन् ।

व्यवसायीहरुलाई नक्कली पेस्तोल देखाउँदै आफू नेपाल प्रहरीको सई हु भन्दै रकम असुल्ने लक्ष्मीपुर पतारी–१ का कुमोदकुमार साहलाई नक्कली पेस्तोलसहित नेपाल भारत सीमाक्षेत्र बडियारपट्टी गाउँपालिका ३ बाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपाल तर्फ आइरहेका लक्ष्मीपुरपतारी–२ का मुकेश यादव र सखुवानन्कारकट्टी गाउँपाालिका–१ का सदन नारायण दासलाई नक्कली पेस्तोल देखाउँदै ‘नेपाल प्रहरीको सई हुँ’ भन्दै धम्क्याई रहेकोे अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकाके जनाएको छ।

पक्राउ परेका साहलाई आवश्यक कार्वाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको छ। यता, सीमानाकाहरुमा सादा पेसाकमा व्यापक रुपमा परिचालन गरिएका घुमुवा प्रहरीहरुले पनि खुल्लेआम रुपमा तस्कर तथा स–साना व्यापारीहरुसँग अवैध रकम असुली गर्ने कार्य बढेको स्थानीहरु गुनासो गर्छन् । सीमानाकामा शान्ति सुरक्षा तथा चोरी तस्करी नियन्त्रण गर्न खटाइएका प्रहरीहरुकै मिलोमतोमा व्यापक रुपमा चोरी तस्करी हुने गरेको छ ।

कपिलवस्तुको सामुदायिक वनमा मानव कंकाल फेला

कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कंकाल फेला परेको छ। 

वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पलसमेत फेला परेको इलाका प्रहरी कार्यालय, कोपवाका प्रहरी नायब निरीक्षक प्रवीण कार्कीले जानकारी दिए।

उनले वनभित्र भेटिएको कंकालबारे अनुसन्धान भइरहेको बताए। वाणगंगा नगरपालिका-६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कंकाल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए।

यी २६ वटा निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द

काठमाडौँ । स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाइएको छ । स्वास्थ्य बीमा बोर्डको ३२ साउनमा बसेको बैठकले सूचीबाट हटाउने निर्णय गरेको हो ।

सरकारको आर्थिक वर्ष २०७९ र ८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बिमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरेको बीमा बोर्डले जनाएको छ ।

सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने घोषणा गरेको थियो । प्रतिनिधिसभाबाट १३ असारमा पास भएको आर्थिक वर्ष २०८० र ८१ को बजेटको बुँदा नं. २३८ मा ‘सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने’ उल्लेख छ ।

त्योसँगै मेडिकल कलेजहरूले पनि आफूले दिँदै आएको सेवा बन्द गरेका थिए । सरकारले सरकारी, सामुदायिक र सहकारीबाट सञ्चालन भएका अस्पतालमा बीमामा कार्यक्रम सञ्चालन गर्ने उल्लेख भएपछि बोर्डले निजी अस्पताललाई पुनः नवीकरण रोकेर सूचीबाट हटाउन थालेको हो ।

सरकारले बजेट वक्तव्य मार्फत निजी र मेडिकल कलेजबाट सेवा सञ्चालन गर्नमा रोक लगाएसँगै निजी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रमबाट हात झिकेका छन् ।

खर्च कटौती गर्ने भन्दै दर्जनौं संस्था खारेज

काठमाडाैं । देखाउने दाँत एउटा चपाउने अर्कै । सरकारले बजेटमार्फत नै खर्च कटौतीका प्रस्तावमात्र गरेन,सोही अनुरुप दर्जनौ सरकारी निकाय खारेजी समेत भइसकेका छन् । अर्कोतिर यही सरकारले धमाधम आफ्ना कार्यकर्तालाई भर्ती गर्ने उदेश्य अनुसार स्थायी दरबन्दी स्वीकृत गराइरहेको छ ।

अर्थतन्त्रमा दबाब बढेको भन्दै सरकारले विभिन्न संस्थान तथा समितिहरू खारेज गर्ने निर्णय गरिरहेका बेलामा  गत मंगलबारको मन्त्रिपरिषद् बैठकले भने ठूलो संख्यामा कर्मचारी भर्नाको बाटो खोलेको छ । राज्य कोषमा भार पर्नेगरी ६ सय ५८ नयाँ दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ । सरकारले चालु आर्थिक वर्षकाे बजेट वक्तव्यमार्फत २० वटा संस्थालाई गाभ्ने तथा खारेज गर्ने घाेषणा गरेकाे छ ।

अपेक्षित राजस्व संकलन नभएको र वैदेशिक सहायातमा पनि गिरावट आएका कारण सरकार अर्थतन्त्र सम्हाल्नुपर्ने  दबाबमा रहेको छ । त्यही दबाबका बेलामा  विभिन्न मन्त्रालय र मातहतमा सञ्चालित आयोजनाहरूका लागि एकैपटक ६ सय ५८ वटा अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय भएको हो।  

यता यही अवधिमा आफ्ना कार्यकर्ताहरुलाई जागिर खुवाउन भन्दै १३७३ अस्थायी दरबन्दी स्वीकृत गरिसकेको छ । जसमा अधिकृतस्तर तहसम्मका छन् ।

सरकारले शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा समेत गरी उक्त संख्याको अस्थायी दरबन्दी सिर्जना गरेको हो । 

सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार आयोगका लागि ५८ , कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना र आयोजना सहयोग इकाइहरूका लागि आवश्यक १९, वन तथा वातावरण मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८०/०८१ मा सञ्चाललन हुने संरक्षित क्षेत्र र जैविक मार्गका लागि एकीकृत भूपरिधि व्यवस्थापन आयोजनालगायतका १७  आयोजना तथा कार्यक्रमहरूका लागि राजपत्रांकित श्रेणीका ३८ दरबन्दी सिर्जना गर्न स्वीकृति प्रदान गरेको हो । 

त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगमातहतका निकायमा ७४, शहरी विकास मन्त्रालयअन्तर्गत नयाँ शहरी आयोजनालगायतका निकायमा राजपत्रांकित श्रेणीका ४ सय ६९ अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृत दिएको छ ।

अर्थमन्त्री डा.महत जीईएफको उपाध्यक्षमा निर्वाचित

भ्यानकुभर, क्यानाडा । नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित भएका छन् ।

एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएको उनको सचिवालयले जनाएको छ ।

यसअघि, मन्त्री डा.महतले विश्व वातावरण कोषको एसेम्वली बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए ।

साथै, उनले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसङ्ख्याको लागि पानीको श्रोत रहेको विषय विश्व समुदायमा ध्यानाकर्षण गराएका छन् ।

यसैगरी नेपालले जैविक विविधताको संरक्षणमा इमान्दार प्रयत्न गरिरहेको साथै दुर्लभ तथा संकटापन्न जङ्गली जनावर तथा प्रजातिहरूको संरक्षण गरेको र सोको नतिजा स्वरूप बाघ तथा गैँडाको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको जानकारी गराए ।

सो अवसरमा उनले नेपाल विश्वको १० औं जोखिमयुक्त मुलुक भएको र पछिल्ला दिनहरूमा बाढी पहिरो अतिवृष्टि सुख्खा साथै हिमताल विस्फोटको जोखिम समेत बढेको भन्दै विश्वको ध्यानाकर्षण गराएका छन् ।

नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्री सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा ५० अर्ब अमेरिकी डलर भन्दा बढी लगानी आवश्यक रहेको तर्फ उनले ध्यानाकर्षण गराए ।

अर्थमन्त्री डा. महतले जलवायु वित्तबाट सञ्चालित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिदैं यसै एसेम्वलीबाट अनुमोदित विश्व जैविक विविधता खाका कोष लगायतका श्रोत अति प्रभावित मुलुकहरूमा केन्द्रित गर्न अनुरोध गर्दै जबसम्म एकीकृत र समुच्च रूपमा कार्यान्वयन गरिदैंन तबसम्म कोषको आकार मात्र बढाएर खासै प्रभावकारी नहुने धारणा राखे ।

जलवायु परिवर्तन जोखिम उच्च भएका देशहरूको समेत प्रतिनिधित्व गर्दै लगानी आयोजनाहरूको गुणस्तर बढाउन स्थानीय जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेगरी कार्यान्वयन गर्नु पर्नेमा उनको जोड छ ।