काजमा फिर्ता भए र नभएका कर्मचारीको विवरण तीन दिन भित्रमा पेश गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काज फिर्ता गरिएका कर्मचारीको विवरण माग गरेको छ ।

मन्त्रालयले सातै प्रदेश, सबै स्थानीय तह र स्वास्थ्य मन्त्रालय मातहतका सबै निकायलाई पत्राचार गरी काज फिर्ता गरिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको विवरण तीन दिन भित्र पठाउन निर्देशन दिएको छ ।

गत असार १७ गते मन्त्रीस्तरीय निर्णय गरी काजमा खटाइएका दरबन्दी भएकै स्थानमा फिर्ता गर्न मन्त्रालयले निर्देशन दिएको थियो । तर, राजनीतिक पहुँच र स्वास्थ्य सम्बन्धी ट्रेड युनियनको भनसुनका भरमा स्वास्थ्यका कर्मचारी अझै काजमा बस्दै आएका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार २०७५ सालदेखि असारसम्म ८९१ कर्मचारी काजमा शहरकेन्द्रित पालिकामा कार्यरत थिए ।

उनीहरूको दरबन्दी भने दुर्गम क्षेत्रमा थियो । राजनीतिक पहुँचको भरमा स्वास्थ्यका कर्मचारी दरबन्दी भएको दुर्गम क्षेत्रको साटो काज लिएर शहरकेन्द्रित गाउँपालिका, नगरपालिका तथा महानगरपालिकामा गएका छन् ।

तर, मन्त्रालयको गत १७ को परिपत्रले कति स्वास्थ्यका कर्मचारी आफ्नै दरबन्दी भएको स्थानमा फर्किएका छन् भन्ने अझै एकिन भएको छैन ।

उसो त, काजमा आएका कर्मचारीलाई तलब कसले दिने भन्ने विवाद छ । स्थानीय तहले तलब भत्ता खुवाउन नसक्ने भन्दै दरबन्दीभन्दा बाहिर भएको समायोजन मिलानका कर्मचारी फिर्ता गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिरहेका छन् ।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले ४ असारमा आर्थिक वर्ष २०८० र ८१ देखि स्वीकृत दरबन्दीभन्दा बाहेकका कर्मचारीको तलब भत्ता नव्यहोर्ने निर्णय गरेका छन् ।

तीन बैंकको संस्थापक शेयर विक्रीका लागि सूचना जारी

काठमाडौं । भदौ ८ गते तीन विकास बैंकले सर्वसाधारणका लागि संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले २० हजार कित्ता, सांग्रिला डेभलपमेन्ट बैंकले ३ लाख ३४ हजार ८७४ कित्ता र एक्सेल डेभलपमेन्ट बैंकले १६ हजार २७५ कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएका हुन् ।

तीन कम्पनीमध्ये शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शेयरको प्रतिकित्ता मूल्य १४५ तोेकेको छ । अन्य दुई कम्पनीहरूले भने शेयरको मूल्य खुलाएका छैनन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले विक्रीमा ल्याएको शेयर खरीद गरेका शेयरधनीहरूले भदौ ८ गतेपछि कम्पनीद्वारा घोषणा हुने लाभांश तथा हकप्रद शेयर प्राप्त गर्ने जानकारी समेत दिएको छ । भदौ ८ गतेदेखि विक्रीमा आएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर खरीदका लागि भदौ १७ गतेसम्म आवेदन दिनुपर्नेछ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटदल लिमिटेड रहेको छ । 

अन्य दुई कम्पनीको शेयर खरीदका लागि आगामी १५ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन दिनुपर्नेछ । सांग्रिला डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकले भने यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बिक्री खुला गर्दा वितरण हुन नसकेको शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

चार जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्डको ५५औँ बैठकले चार वटा जलविद्युत् परियोजनाहरू (रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानी भेरी जलविद्युत् परियोजना) का लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा शुक्रवार(आज) लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकास क्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ।

त्यस्तै, दाङ जिल्लाको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमति पत्र दिने निर्णय गरेको छ। साथै, बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता रिजन इनर्जीबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ ।

बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । यसका अतिरिक्त, बोर्डको बैठकले ग्रिन क्याल्सियम एमोनियम निटरेट फर्टीलाइजर फ्याक्ट्री स्थापन सम्बन्धमा अध्ययनका लागि मलेसियास्थित रिनिकोलासँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ।

बैठकमा विभिन्न परियोजनाहरूको सम्बन्धमा गहन छलफल भई महत्त्वपूर्ण निर्णय भएको विचार व्यक्त गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले आगामी दिनमा जलविद्युत् परियोजनाहरूको परियोजना लागत निर्धारण गर्दा ब्यांकेबल हुने गरी थप अध्ययन विश्लेषण गर्न, कार्यान्वयनमा रहेका परियोजना समयमा सम्पन्न गर्न आवश्यक समन्वय प्रगाढ बनाउन र लगानी स्वीकृति र परियोजना कार्यान्वयनमा रहेका प्रक्रियाहरूलाई छोट्याउँदै छिटोछरितो र परिणाममुखी कार्यसम्पादन गर्न सम्बन्धित सबै निकायहरूलाई निर्देशन दिएका छन्

मोदीले पालिकाहरुमा खटाइएका उपसचिव र शाखा अधिकृतहरू अझै ’हाजिरी‘ भएका छैनन्

जनकपुरधाम । स्थानीय तहमा दरबन्दी अनुसारकै कर्मचारी खटाउनु ठुलो चुनौतीको विषय बन्दै गएको छ । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिवको दरबन्दी भए पनि कयौं पालिकामा उपसचिवलाई नराखी निमित्तका भरमा कार्यसम्पादन हुँदै आएको छ । जनप्रतिनिधिहरुले आफ्नो अनुकुल कार्यसम्पादन गराउनका लागि पनि यस प्रकारको बेथितिलाई मलजल गर्दै आएको र दरबन्दी तोकेर खटाइएका उपसचिवहरुलाई सम्बन्धित पालिकामा हाजिर गर्न नदिएको उदाहरण पनि भेटिन्छन् ।

केही अघिमात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री अमनलाल मोदीले पालिकाहरुमा तोकिएको दरबन्दी अनुसारकै कर्मचारी पठाउने र त्यस्ता कर्मचारीलाई हाजिर गर्न नदिने पालिकामाथि बजेटको अंकुश लगाउने गरी प्रक्रिया अघि बढाए ।

कतिपयलाई तत्कालीन मन्त्री मोदीको निर्णयले खुसी बनायो भने कतिपय आक्रोसित भए । तर मोदीले त्यो अभियान रोकेनन् । वर्षौंदेखि राजधानी काठमाडौंमा रजाइँ जमाएर बसेकाहरुलाई राजधानी बाहिर पठाउने र लामो समयदेखि दुर्गममा सेवा दिँदै आइरहेकाहरुलाई निवेदन नै लिएर रोजेकै आधारमा सरुवा गरियो । उनको यो कार्यशैली सिंहदरबारमा कर्मचारीलाई सरुवा गराउने केही विचौलिया र राजधानीमा रजाइँ गरेर बसेका केही कर्मचारीलाई पाच्य भएको थिएन ।

यद्यपि मन्त्री पदबाट हट्नु अघिसम्म मोदीले स्थानीय तहलाई ‘निमित्तविहीन’ बनाउने अभियानलाई अघि बढाइरहेका थिए । २०८० साउन २९ गते उनी पदमुक्त हुनुअघि साउन १८ र २३ मा उपसचिव र शाखा अधिकृतहरुलाई स्थानीय तहमा र त्यहाँ अड्डा जमाएर बसेका विषयगतलाई विषयगतकै जिम्मेवारी र अन्यलाई विभिन्न अड्डामा सरुवा गरियो ।

सरुवा सरुवा गरिएका २० उपसचिव र शाखा अधिकृतहरूमध्ये १९ जनालाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको थियो भने त्यहाँस्थित निमित्त रहेका अधिकृतहरूलाई मन्त्रालयमा सरुवा गरियो । सरुवासँगै मधेस प्रदेशका पालिकामा ‘निमित्त’को खेलो सकिएको थियो ।

तर, कर्मचारी सरुवा गरेको केही दिनमै मन्त्री मोदी पदमुक्त भएपछि अहिलेसम्म पनि स्थानीय तहहरुमा हाकिम (उपसचिव, शाखा अधिकृत)हरु हाजिर भएका छैनन् ।

नयाँ मन्त्री आएका कारण अब त्यति कडाइ नहुने र भनसुनका आधारमा सरुवा थमौती गराएर आफू कार्यरत रहेकै ठाउँमा बस्ने प्रयास स्वरुप कर्मचारीहरु सरुवा भएको स्थानमा जान आलटाल गरिरहेको बताइन्छ ।

करिब एक दर्जन उपसचिव र शाखा अधिकृतहरुले विभिन्न कारण देखाएर सरुवा रोक्न निवेदन नै दिएका छन् । मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखामा सरुवाको विषयलाई लिएर विभिन्न कर्मचारी ट्रेड युनियन आबद्ध कर्मचारीहरुको भिड लाग्ने गरेको छ ।

धनुषाको सबैला नगरपालिकामा सरुवा भएका उपसचिव गोविन्द प्रसाद घिमिरे अहिलेसम्म हाजिर नभएको नगरपालिकाका मेयर कारीराम यादवले बताए । मेयर यादव भन्छन्, ‘अहिलेसम्म उहाँ हाजिर हुन आउनुभएको छैन । हाजिर हुन्छु वा आउँदैछु भनेर सम्पर्क पनि गर्नुभएको छैन ।’

सबैला नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कृष्ण पौडेलले सम्हाल्दै आएका छन् । उनी एक वर्षदेखि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेल अधिकृतस्तरका कर्मचारी हुन् ।

‘सरुवा प्रक्रिया सरकारको हातमा छ । जसलाई पठाए पनि काम गर्नु हो । म हाजिर गराउँछु,’ मेयर यादवले भने, ‘तर, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाइसकेपछि कम्तीमा दुई वर्ष रहन दिनुपर्छ ।’

धनुषाको विदेह नगरपालिका पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा छ । यो पालिकामा प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा खटाइएका उपसचिव हाजिर हुन आएका छैनन् । यहाँ प्राविधिकतर्फको इन्जिनियर संजीव कुमार साहले निमित्तको जिम्मेवारी सम्हालिरहेका छन् । उनी विदेहमा करिब ५–६ वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्दै आएको उपमेयर आशा झाले जनाइन् ।

‘अहिले सरुवा भएको उपसचिव हाजिर हुन आउनु भएको छैन,’ उनले भनिन्, ‘तर यसअघि सरुवा भएको उपसचिवजी नगरपालिकामा आउँदा पनि सम्पर्क गर्नुभएन, । उहाँले नगरपालिकामा आएर मेयरलाई सम्पर्क गरेर फर्किनु भयो । पछि मैले नै उहाँसँग सम्पर्क गरेपछि मैले अर्कै ठाउँ सरुवा गराएँ भनेर जानकारी गराउनु भयो ।’

यो पालिकामा मेयर र उपमेयरबिच आन्तरिक विवाद चलिरहेको छ, जबकि दुवै एउटै पार्टीबाट निर्वाचित जनप्रतिनिधि हुन् । मेयर बेचन दास र हाकिम साहबीच राम्रो सम्बन्ध भएकै कारण यहाँ सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने परिपाटी रहेको कर्मचारीहरुको भनाइ छ ।

विदेहकी उपमेयर आशा झाले मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा आर्थिक वर्ष २०८० र ०८१ को बजेट बनाएको भन्दै बजेट कार्यान्वयन नगर्न नगराउन मुद्दा नै हालेकी छन् । उनका अनुसार बजेट तर्जुमा, राजस्व परामर्श समिति र अनुगमन समितिको संयोजकमा उपमेयर हुनुपर्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐनमा रहे पनि उनको सहमति बिना नै बहुमत सदस्यको हस्ताक्षरबाट बजेट आएपछि मुद्दा हाल्नु परेको हो ।

परिणामस्वरुप पालिकाको बजेट तथा कार्यक्रम पारित भए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

विदेहका मेयर दास भने सरुवा भएका उपसचिव अहिलेसम्म हाजिर हुन नआएको दाबी गर्दछन् । यो पालिकामा सरुवा भएको भनिएका उपसविच काजीबहादुर विष्टले अहिलेसम्म आफूलाई फोन सम्पर्क पनि नगरेको उनको भनाइ छ ।

‘मेरो पहिलो कार्यकालमा दिलबन्धु सुवेदी सरुवा भएर आउनु भएको थियो । १०–१५ दिन बस्नुभयो । अनि जानुभयो,’ उनले भने, ‘उहाँहरुको त गोजीमै रमाना हुन्छ । त्यसैले अहिले सरुवा भएर आउने हाकिमले पनि कम्तीमा एक वर्ष बस्ने गरी प्रतिबद्धता गर्नुभयो भने ठिकै छ । नभए गुन्जायस छैन ।’

यसअघि सरुवा भएर आएको प्रमुख प्रशासकीय अधिकृतलाई पनि हाजिर नगराएको उनी आफैँले स्वीकारे । उनले भने, ‘वैशाखको लास्टमा आयो । दरबन्दी उपसचिवको भए पनि सरुवा भएर आउँदा उहाँ अधिकृत नै हुनुहुन्थ्यो । आर्थिक वर्ष समाप्त हुन डेढ महिनामात्रै बाँकी थियो । त्यसैले हाजिर गराइनँ । वहाँलाई असारपछि आउनुस्, त्यतिबेला विचार गर्छु भनेको थिएँ ।’

यस्तै, नगराइनमा पनि प्रमुख प्रशासकीय अधिकृत हाजिर नै नहुने सो कार्यालयका एक जना कर्मचारी बताउँछन् । हाल स्वास्थ्य सेवातर्फका रामगुलाम कर्णले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । उनी मन्त्रालयका सचिव कृष्णहरि पुष्करका नातेदार रहेका कारण पनि त्यहाँ दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृत आउन अनुकुल नभएको ती कर्मचारी बताउँछन् ।

साउन १८ गते भएको सरुवामा उपसचिव बेदराज फुयाँललाई नगराइनको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ तर उनी अहिलेसम्म कार्यालयमा हाजिर भएका छैनन् ।

मेयर विनय कुमार यादव भने आफ्नो पालिकामा सरुवा भएका उपसचिव आएमा हाजिर गराउने बताउँछन् । उनले भने, ‘अहिलेसम्म हाजिर भएको छैन । हाजिर हुने विषयमा वा यस पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आउँदैछु भनेर कुनै सम्पर्क पनि गरेको छैन ।’ यद्यपि तोकिएको कर्मचारी आएमा आफूलाई काम गर्न कुनै अप्ठ्यारो नहुने उनले प्रस्ट पारे ।

अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृत स्थानीय नै भएकाले पालिका राम्ररी नै चलिरहेको उनले बताए । उनी भन्छन्, ‘हामीलाई जो हाकिम आए पनि ठिकै हुन्छ । तर, जति पनि उपसचिव आएका छन्, सबै असफल भएका हुन् । यहाँका जनता र यहाँको वातावरण अनुसार उनीहरु काम गर्न सक्दैनन् ।’

यसअघि नगराईनमा प्रमुख प्रशासकीय अधिकृत भई कामकाज गरेको विनय कुमार सोनुले सरुवा हुँदा मोटरसाइकल र ल्यापटप लगेको उनले बताए । उनले भने, ‘त्यतिबेला म यहाँ थिइनँ, सरुवा भएपछि उतैबाट गएछ । अनि म आएपछि ताकेता र कारबाहीको कुरा गरेपछि टुटेफुटेको अवस्थामा मोटरसाइकल पठायो । तर, ल्यापटप अहिलेसम्म पठाएको छैन ।’

यसअघिको प्रमुख प्रशासकीय अधिकृतले १९ महिना बसे पनि नगरसभा गराउन नसकेको भन्दै मेयर यादवले भने, ‘तर, निमित्त भए पनि अहिलेसम्म पालिका राम्ररी चलाइरहनुभएको छ । यस सन्दर्भमा निमित्त होस् वा उपसचिव, स्थानीय तहमा स्थानीय प्रशासक नै भए बल्ल स्थानीय तहजस्तो हुन्छ ।’

सरुवा भएका स्थानमा कर्मचारी नगएकोबारे मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका सह–सचिव हेमराज तामाङ, स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राई कुनै प्रतिक्रिया जनाउन चाहँदैनन् । प्रवक्ता एवं सहसचिव कमल प्रसाद भट्टराई भने यसबारे आफूलाई जानकारी नआएको बताउँछन् ।

यतिमात्रै होइन, मन्त्रालयको वेबसाईटमा कर्मचारी सरुवाको विवरणसमेत अपडेट गरिएको छैन । मन्त्रालयको वेबसाइटमा अन्तिम पटक नेपाल सरकार९मन्त्रिपरिषद्० को वैशाख २० र २४ को निर्णयानुसार सरुवा कामकाजमा खटाइएका राजपत्राङ्कित प्रथम श्रेणी र नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव कर्मचारीहरुको विवरण मात्रै अध्यावधिक गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले भने कर्मचारीको सरुवाका विषयमा गम्भीर रहेको बताइन् । आवश्यकता अनुसार कर्मचारी पर्याप्त रहँदा पनि निमित्त राख्ने प्रवृत्तिलाई अन्त्य गरिने उनको भनाइ छ ।

‘एकातिर दरबन्दीमा तोकिएको योग्य कर्मचारी थन्क्याउने र अर्कोतिर निमित्तलाई अवसर दिने कुरो हुँदैन,’ उनले भनिन्, ‘पालिकामा उपसचिवको दरबन्दी छ र उपसचिव हामीकहाँ पर्याप्त छ भने निमित्त किन राख्ने ? त्यसैले पुरानै निर्णयलाई कानुन सम्मत गरी अगाडि बढिन्छ ।’

सुगममा रहेको कर्मचारीलाई दुर्गममा र दुर्गममा रहेका कर्मचारीलाई सुगममा काम गर्ने मौका पाउनुपर्ने उनको भनाइ छ ।

सुन तस्कर छिरिङसँग गहिरो कनेक्सनमा,‘अधिकारी’

काठमाडौं । ६० किलो सुन तस्करीमा संलग्न रहेका दावा छिरिङसँग गहिरो कनेक्सन भेटिएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई विभागबाट हटाइएको छ । महानिर्देशक अधिकारीको सुन तस्कर दावासँग ‘कनेक्सन’ र ‘डिल’ भएका केही तथ्यहरू भेटिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले अधिकारीलाई मन्त्रालय तानेर छानबिन थालेका छन् ।

उनलाई हाल मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पनि दावाको कल डिटेल्सको आधारमा अधिकारीलाई विशेष निगरानीमा राखेर अनुसन्धान अघि बढाइरहेको बताइएको छ । शक्ति केन्द्रसँग ठुलो पहुँच बनाएका अधिकारीमाथि निष्पक्ष छानबिन हुनेमा आशंका देखिएको छ ।
निजामती क्षेत्रमा शक्तिशाली सहसचिवको रूपमा चिनिने अधिकारीको सत्तानिकट विभिन्न शक्तिकेन्द्रसँग उनको नियमित उठबस हुने गरेको स्रोतको दाबी छ । अधिकारी अध्यागमन विभागको महानिर्देशक हुनुअघि राजस्व अनुसन्धान विभागमा पाँच महिना महानिर्देशकको रूपमा कार्यरत रहेका थिए । राजस्व अनुसन्धान विभागबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आएका उनको एकै पटक गृहमन्त्रालयमा सरुवा भएको थियो ।

गृहमा सरुवा भएलगत्तै उनले गृहअन्तर्गत रहेको र अत्यन्तै संवेदनशील मानिएको अध्यागमन विभागको महानिर्देशक बन्न सफल भएका थिए । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेको अवस्थामा गत फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनाएर पठाइएको थियो ।

अधिकारीले सुन तस्कर दावाको सहयोगमा काठमाडौं, पोखरा र भारतका विभिन्न स्थानमा रहेका होटलहरूमा लगानी गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार राजस्व अनुसन्धान विभागमा हुँदा अधिकारीले भारतीय सीमा नाकाबाट आउने विभिन्न तस्करीका सामानहरू छुटाउन महत्वपूर्ण भूमिका खेलेका छन् । राजस्व अनुसन्धान विभागका एक कर्मचारीले भने– ‘त्यतिखेर सुपारी, मरिचको तस्करीमा समेत सहयोग गरेको देखिन्छ ।’

तीन तहको सरकार बीचमा थप समन्वय र सहकार्य आवश्यक ः मुख्यमन्त्री शर्मा

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको मर्म अनुसार तीन तहको सरकार बीचमा थप समन्वय र सहकार्य आवश्यक भएको बताएका छन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरद्वारा बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘साक्षर कर्णाली प्रदेश तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम’लाई सम्बोधन गर्दै उनले यहाँको शिक्षाको स्थिति अन्य प्रदेशभन्दा पछाडि नै रहेको हुँदा यसलाई माथि उकास्न आवश्यक छ भने ।

‘समस्या र अभाव छ, त्यहाँ सरकार हुनुपर्दछ’, उनले भने, ‘यसमा तीन तहको सरकारको त्यत्तिकै भूमिका छ । तीनै तहको सरकारको उद्देश्य भनेकै आम नागरिकलाई खुसी तुल्याउनु हो । सामाजिक न्यायको अनुभूति गराउनु हो ।’ ज्ञानका लागि शिक्षा चाहिएको र शिक्षाले नै नागरिकलाई साक्षर बनाउने हो भन्दै मुख्यमन्त्री शर्माले आर्थिक, सांस्कृतिक र सामाजिक न्यायका लागि तीनै तहका सरकारले कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिए ।

सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले प्रदेश सरकारले कर्णाली प्रदेशलाई साक्षर प्रदेश बनाउने नीति तथा कार्यक्रम ल्याएकाले सङ्घ सरकारसहितका सरोकारवालालाई सहयोग गर्न अपिल गरे । शिक्षा हरेक क्षेत्रको प्रमुख आधार भएको जनाउँदै उनले यसमा सरकारले विशेष जोड दिने तयारीमा लागेको जनाए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका महानिर्देशक चुडामणि पौडेलले पहुँचलाई सुनिश्चिता र सबैका लागि शिक्षा भन्ने मूल नारालाई सरकारले अगाडि बढाएको बताए । ‘हिमाली जिल्लामा आवासीय विद्यालयको व्यवस्थापन गर्ने भनिएको छ’, उनले भने, ‘ती विद्यालयलाई एक ठाउँमा ल्याएर दरबन्दी सिर्जना गरी शिक्षकको व्यवस्थापन गरौँ र सबैलाई शिक्षाको पहुँचमा ल्याऔँ ।’ प्राविधिक विद्यालय नपुगेका पालिकामा प्राविधिक विद्यालय स्थापनामा जोड दिनुपर्ने उनको भनाइ थियो ।

चितवनको केरामा ‘ओइलाउने’ रोग

चितवन । चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ । ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका अनुसार कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा रहेका केरा बगैँचामा यो समस्या देखिएको हो । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार विभिन्न व्याक्टेरियाका कारण ओइलाउने रोग लाग्ने गर्दछ । उनले भने ‘अहिलेसम्म कार्यालयमा चार वटा बगैँचामा यस्तो समस्या आएको सूचना आएको छ ।’ अहिले नयाँ बिरुवा रोपिएको बगैँचामा यो रोग देखिएको उनको भनाइ छ ।

पुराना बालीका अवशेष, रोगी बिरुवा, गाना तथा कृषि औजार, मौरी तथा अन्य कीराको माध्यमबाट व्याक्टेरिया केरामा सजिलैसँग सर्ने उनले बताए । यो व्याक्टेरियाले गुभोको पातबाट आक्रमण सुरु गर्ने उनले जानकारी दिए ।

सरसफाइ तथा बगैँचाको उचित व्यवस्थापन गर्नुपर्ने, फलको अन्तिम हाता निस्किएपछि बुङ्गो हटाइदिनुपर्ने, रोगी बिरुवाको गानोसहित हटाएर नष्ट गर्न सके यो रोगको सङ्क्रमण फैलनबाट बचाउन सकिने उनले बताए ।

एउटै जग्गामा लामो समयदेखि केरा खेती गरिरहँदा, रोग लागेको बगैँचामा प्रयोग गरिएको औजार निर्मलीकरण नगरी अर्को बगैँचामा प्रयोग गर्दा रोग सर्ने गरेको उनले जानकारी दिए । केराको जराभन्दा माथि गानो कुहिने हुँदा त्यसमा अन्य रोगले समेत आक्रमण गर्ने गरेको देखिएको उनले बताए ।

केरा जोन सञ्चालक समन्वय समितिका संयोजक विष्णुहरि पाण्डेका अनुसार जिल्लामा एक चरणमा ल्याइएको केराका बिरुवामा यो समस्या देखिएको हो । उनले सो चरणमा १० हजार बिरुवा झारिएको बताउँदै ती बिरुवा लगाएका बगैँचामा यो समस्या देखिएको जानकारी दिए । उनले भने, ‘अन्य क्षेत्रमा पनि देखिएको हुनसक्छ । हामीले अनुगमन गरिरहेका छौँ ।’

परियोजनाअन्तर्गत केरा जोन कार्यक्रमले वितरण गरेको केरामा रोग देखिएको हो । जिल्लामा दुई हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ । यहाँ मालवोग र जी नाइन जातका केरा लगाउने गरिन्छ । यहाँका केरा चितवनसहित काठमाडौँ, पोखरा, बुटवललगायतका सहरमा जाने गरेका छन् ।

बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको मन्त्रिपरिषद् पुनः गठन एवं कार्यविभाजन गरेका गरेका छन् ।

मन्त्रिपरिषद्लाई लिएर गठबन्धन दलहरू भित्र आन्तरिक विवाद बढ्दै गएका बेला मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद्को कार्य विभाजन हेरफेर गरेका हुन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार गरेका छन् ।

जसअनुसार बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना मन्त्रालय, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून मन्त्रालय, कुमारी मोक्तान सामाजिक विकास मन्त्रालय, युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्रालय, तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

रामकृष्ण चित्रकार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपक्षी मन्त्रालय, लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्रालय, पुकार महर्जनलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, उत्तम जोशी स्वास्थ्य मन्त्रालय र मसिना खड्का वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ ।

शनिबार बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने

काठमाडौँ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा यही भदौ ९ गते शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो ।

नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गर्न लागिएको जानकारी दिए ।

ललितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ः०० बजेदेखि सुरु हुने महाजलयात्रामा १५ वटा डुङ्गामार्फत जलयात्रा गरिने उपाध्यक्ष खनालले बताए । काठमाडौँ सहरका साथै बागमती नदीको वातावरण दूषित भएको भन्दै महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ थियो ।

सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण वाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताहरूले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । उक्त महोत्सव तथा महाजलयात्रा सम्पन्न गर्नका लागि रु। पाँच लाख लाग्ने आयोजकले जनाएको छ ।

बाजागाजासहित सुरु हुने महोत्सव तथा महाजलयात्रामा सबैलाई नदीनजिक पुर्‍याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउने नाराले जनाएको छ । सोही अवसरमा सहभागीले नदी सरसफाइसमेत गर्नेछन् ।

महिला टी–ट्वान्टी आई सिरिज ःआज नेपाल र मलेसिया खेल्दै

काठमाडौँ । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोलीसँग खेल्दैछ ।

मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । सिरिजको दुई खेल जितेको नेपाल ४ अंक सहित फाइनल नजिक पुगेको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो भने बुधबार भएको दोस्रो खेलमा कुवेतलाई हराएको हो । आजको खेलमा जित निकालेमा शीर्ष स्थानमा रहेर नेपाल फाइनल प्रवेश गर्नेछ ।

मलेसिया पनि नेपाललाई पराजित गरेर फाइनल प्रवेश गर्न चाहन्छ । यदि नेपाल शीर्ष दुईमा रहेमा शनिबार फाइनल खेल्नेछ ।
पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानको लागि शनिबार नै खेल्नेछन् । नेपालले सोमबारमा थाईल्यान्डसँग अभ्यास खेल खेल्नेछ ।

नेपालले एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा (भदौ १४ देखि भदौ २३ सम्म) मा मलेसियामा नै खेल्नेछ ।

प्रतियोगितामा एघार टोलीको सहभागिता रहनेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी–ट्वान्टी विश्वकप छनोट खेल्न पाउनेछन् ।

नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसियातथा दोस्रो खेलमा १ सेप्टेम्बरमा बहराइनसँग खेल्नेछ ।

३ सेप्टेम्बरमा भुटानसँग तेस्रो खेल खेल्ने नेपालले ४ सेप्टेम्बरमा कतारसँग चौथो खेल खेल्नेछ । नेपालले समूह चरणको पाँचौं तथा अन्तिम खेलमा ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।

आइफोन उपहारको लोभ देखाएर ५० लाख ठगी

काठमाडौँ । आइफोन उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू करिब ५० लाख रकम ठगीमा परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएप लगायत मार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गरे।

उक्त जानकारीपछि आइफोन पाउने लोभमा महिलाले धमाधम उनले भनेको बैंक खातामा पैसा पठाए। झण्डै आधा करोड रकम जम्मा गरेपछि ती व्यक्ति सम्पर्कविहीन भए। त्यसपछि ठगिएको चाल पाएका पीडितहरूले साइबर ब्यूरोमा दिएको जाहेरीका आधारमा खोजतलास र अनुसन्धान गर्दा पीडितबाट करिब आधा करोड रकम ठगी भएको फेला परेको ब्यूरोका प्रहरी उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।

‘तपाईँ लक्की हुनुभएको छ, तपाईँले लक्की ड्रमार्फत आइफोन जित्नुभएको छ, हामी आइफोन पठाउँदैछौँ, ‘कष्टम क्लियरेन्स’का लागि हामीलाई पैसा पठाउनुपर्छ’, भनेर महिलालाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको ब्यूरोमा जाहेरी परेको रायले बताए।

प्राप्त निवेदनमाथि प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा यसरी ठगीमा रौतहटको कटहरिया बस्ने ३० वर्षका उमेशकुमार यादव र पर्साका राजकुमार पण्डित संलग्न रहेको पत्ता लागेपछि ललितपुर कुपण्डोलबाट पक्राउ गरी उनीहरूबाट ४९ लाख ९५ हजार नगद तथा सञ्चार उपकरणसमेत बरामद गरिएको छ।

उनीहरूको साथबाट ४९ लाख ९५ हजार, सात थान मोबाइल, एक सय ८३ थान सिम कार्ड र १२ थान एटीएम कार्डसमेत बरामद गरिएको छ। उनीहरूमाथि विद्युतीय माध्यमबाट ठगी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बैतडीमा नागरिकता बनाउने घटे, राहदानी बनाउने बढे

बैतडी । बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क हेर्दा नागरिकता बनाउनेको सङ्ख्या घटेको र राहदानी बनाउनेको सङ्ख्या बढ्दै गएको हो ।

गत आर्थिक वर्ष २०७९ र ८० मा छ हजार तीन सय ३८ जनाले नागरिकता बनाएका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । यसमा तीन हजार तीन सय ९६ पुरुष र दुई हजार नौ सय ४२ महिलाले नागरिकता बनाएका हुन् । जसमध्ये १२ जनाले वैवाहिक अङ्गीकृत नागरिकता बनाएका छन् । यस्तै पाँच जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् ।
आर्थिक वर्ष २०७८ र ७९ मा आठ हजार पाँच सय १४ जनाले नागरिकता बनाएका थिए । यो एक वर्षको अवधिमा चार हजार दुई सय ५७ पुरुष र चार हजार दुई सय ५७ महिलाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । यस्तै २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता बनाएका छन् । यस्तै चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् ।

आव २०७७ र ७८ मा पाँच हजार पाँच सय ६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने छ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गरेका थिए ।

यसैबीच यहाँबाट राहदानी बनाउनेको सङ्ख्या ह्वात्तै बढेको छ । गत वर्ष २०७९ र ८० मा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार छ सय ८० जनालाई राहदानी वितरण गरिएको छ । जसमा दुई हजार चार सय ९६ पुरुष र एक सय ८४ महिला रहेका छन् । यो वर्ष द्रुत सेवाका लागि एक जनाको पनि सिफारिस गरिएको छैन ।

यस्तै आव २०७८ र ७९ मा छ सय २२ जनालाई राहदानी वितरण गरिएको छ । यसमा पाँच सय ३५ पुरुष र ६४ महिलाले राहदानी बनाएका हुन् । यसका साथै द्रुत सेवाका लागि आठ सय छ जनाले राहदानीको सिफारिस गरिएको जनाएको छ । आव २०७७ र ७८ मा यहाँका तीन सय ९२ जनालाई राहदानी वितरण गरिएकामा चार सय ३१जनालाई द्रुत सेवाका लागि सिफारिस गरिएको थियो ।

लगानी बोर्डको बैठक जारी

काठमाडौँ । लगानी बोर्डको बैठक सुरु भएको छ ।

शुक्रबार बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा लगानी बोर्डको बैठक सुरु भएको हो ।

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज साँझ बस्ने भएको छ ।

संसदीय दलको कार्यालय सिंहदरवारमा साँझ ५ बजे बैठक बस्न लागेको हो । साँझ बस्ने बैठकमा भदौ ११ गते हुने संसदीय समितिका सभापतिको निर्वाचनका विषयमा छलफल हुने सचेतक निशा डाँगीले जानकारी दिइन् ।

प्रमुख दलले संसदीय समितिका सभापतिहरू भागबन्डा गरेपछि रास्वपाले त्यस विषयमा छलफल गर्न बैठक बोलाएको हो । साथै, बैठकमा पार्टीले दर्ता गरेका संकल्प तथा सार्वजनिक महत्वका प्रस्तावको विषयमा छलफल हुनेछ ।

यसैबीच, संसदीय समितिको सभापति निर्वाचनका विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहालसँग आजै(शुक्रबार) नै भेट्ने तयारी छन् ।तर, समय भने टुंगो लाग्न बाँकी रहेको उनले जानकारी दिए ।

एसईई दिएका २०८० का विद्यार्थीहरुले नाम र जात ५ वर्षसम्म सच्याउन पाउने

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउने समयावधि ५ वर्ष हुने बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

बैठकले ‘उमेर, नाम, जात सच्याउने नियमहरू, (तेस्रो संशोधन) २०८०’विद्यार्थीले प्रमाण पत्र पाएको ५ वर्षसम्म नाम, थर र जन्ममिति सच्याउन मिल्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले समयावधि ६ महिना मात्रै हुँदा धेरै विद्यार्थी समस्यामा परिरहेकोले त्यसलाई संशोधन गरेर कम्तिमा पाँच वर्ष समयावधि राख्नुपर्ने भन्दै गृह मन्त्रालयलाई अनुरोध गरेको थियो ।

बोर्डको पहलमा गृह मन्त्रालयले नियमावली संशोधन गर्नुपर्ने कुराहरू पहिचान गरेर बोर्डलाई सुझाव पठाएपछि त्यसमा बोर्डले थप सुझाव सहित गृहमा पठाएको थियो । बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘यो व्यवस्था संशोधन नहुँदा धेरै विद्यार्थीले दुख पाइरहेका छन् । उनीहरूले राहत पाउने भए ।’

कुनै विद्यार्थीले प्रमाणपत्र लिइसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको अवस्थामा आफ्नो वा बाबु आमाको नाम वा थर वा नाम थर संशोधन गराएकोमा सो बमोजिम एसईई वा कक्षा १२ को प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नाम थर सच्याउन चाहेमा एक पटकको लागि एक वर्षभित्र दरखास्त दिन सक्ने व्यवस्था गरेको छ ।

नाम, थर, उमेर सच्याउन चाहने विद्यार्थीले प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्ने र प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्ने व्यवस्था थियो ।

यदि ६ महिना ढिला भएको अवस्थामा सीडीओले पनि फैसला पर्चा बनाउन नमिल्ने नियमले उल्लेख गरेको छ । यदि कसैले नागरिकता प्रमाण पत्र लिइसकेको र सोही अनुसार सच्याउन पर्ने भए पनि ६ महिनाभित्रै सच्याउनको लागि निवेदन दिनुपर्ने व्यवस्था थियो ।

‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार नागरिकता प्रमाणपत्रमा उमेर, नाम र जात संशोधन गर्न सीडीओले संशोधन गर्नुको आधारहरू समेत उल्लेख गरेर संशोधन भएको थर ठहर्ने गरी निर्णय गरेको भन्ने फैसला पर्चा खडा गरी नियमावली अनुसार परीक्षा नियन्त्रण कार्यालयलाई थर सच्याउनको लागि सिफारिस सहित पठाउनुपर्छ ।

यी सबै प्रमाणहरू जुटाएर एसईईको प्रमाण पत्र पाएको ६ महिना भित्रै बोर्डमा आइपुग्नुपर्ने व्यवस्थाले विविध कारणले ढिला हुँदा धेरै विद्यार्थी समस्यामा परिरहेको बोर्डले जनाएको छ ।