महरा जोडिएको सुन तस्करीमाथि जाँचबुझ आयोगले छानबिन गर्ने

काठमाडौँ। राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सुन तस्करीका विषयमा छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।

माओवादी नेता कृष्णबहादुर महराको नाम जोडिएको इलेक्ट्रिक चुरोटमा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन हुने भएको छ ।

आजको बैठकमा असोज ५ गते आयोग गठन गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।

माउन्ट एल्ब्रस आरोहणको अनुभव ः आरोही शेर्मा

काठमाडौँ । सगरमाथा आरोही सुशील शेर्मालाई लागेको थिएन कि रसियाको माउन्ट एल्ब्रस हिमाल आरोहण तुलनात्मक रूपमा कठिनाइ होला । उनीमा युरोपको सबैभन्दा अग्लो र प्रमुख चुचुरो समुद्री (सतहभन्दा पाँच हजार ६ सय ४२ मिटरमाथि) को आरोहणको हुटहुटी थियो । बेचैन मन र अगाध उत्साहकासाथ आरोहणयात्रा तय गर्दै उनी गत साउन २६ गते आरोहणका लागि रसिया गए।

आरोहण प्रक्रिया पूरा गरी गत बिहीबार साउन ३२ गते बिहान शेर्माले माउन्ट एल्ब्रसको चुचुरोमा पुगेर राष्ट्रिय झण्डा फहराउन सफल भए । “हाँस्दाहाँस्दै रुनुपर्ने अनौठो अनुभूति हुँदोरहेछ, एल्ब्रसको चुचुरो चढ्दा त्यस्तै भयो”, हिमाल आरोहण सकेर मङ्गलबार काठमाडौँ ओर्लिएका आरोही शेर्माले भने, “क्षणभरमै बदलिरहने मौसमका कारण कतिबेला के हुन्छ अनुमान लगाउनै नसकिने रहेछ ।”

सगरमाथा र एल्ब्रस चढ्न कुन बढी कठिनाइ रहेछ भनी सोधिएको जिज्ञासामा आरोही शेर्माले भने, “फरक भनेको हिमालको उचाइ मात्रै हो । हिउँ उस्तै हो, हिमाल चढाइको रमाइलो र कष्ट दुवै उस्तै हुन् । हिमालमा देखिने दृश्य र ती दृश्यले लोभ्याउने पल, मौसममा आएको बदलीले उब्जाउने त्रास सबै उस्तै हुन् । त्यहाँ पुग्दा सगरमाथाको उचाइमा पुगेजस्तै अनुभूति भयो ।”

आरोही शेर्माको बुझाइमा सगरमाथामा हिमपहिरो र ग्लेसियर बढी जोखिम हुनेगर्छ भने एल्ब्रसमा ग्लेसियर कम हुने हुनाले दुर्घटनाको जोखिम कम हुन्छ । उनले विसं २०७४ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।
एल्ब्रस हिमालका लागि काठमाडौँदेखि मस्को हुँदै मिनिटल्नी बोधे भन्ने ठाउँसम्म हवाई मार्गबाट गएका शेर्मा त्यहाँबाट करिब ६ घण्टा पैदलयात्रापछि आजाउमा पुगेका थिए । शेर्माले आजाउबाट तेसकोल हुँदै छिकेद पिकसम्मको आरोहण अभ्यास गरेका थिए । उनको टोलीमा नेपाली गाइड चतुरमान तामाङ र रसियन गाइड डेनिससहित त्यहाँका तीन आरोही गरी पाँचजना सहभागी थिए ।

आजाउ नजिकैको माउन्टेन हटदेखि बुधबार मध्यरात माउन्ट एल्ब्रसका लागि प्रस्थान गरेका उनले रातभर आरोहण यात्रा तय गरेर बिहीबार बिहान ५ः१५ बजे सफलतापूर्वक आरोहण गरी नेपाली झण्डा फहराएका थिए । शेर्माको पर्वतारोहणको चाँजोपाजो ट्रेकिङ एजेन्सी चतुर ट्रेक एन्ड एभडेन्चर प्रालिले गरेको थियो ।

रसियाको हिमाल आरोहणका क्रममा त्यहाँका नागरिकलाई सगरमाथा, लुम्बिनीलगायत नेपालका धार्मिक एवं पर्यटकीयस्थलका बारेमा जानकारी दिँदै उनीहरूलाई नेपाल भ्रमणको निम्तो दिएको आरोही शेर्माले बताए । “आरोहणका क्रममा आफूले बयान गरेको यहाँको वस्तुस्थितिका बारेमा सबै आरोहीले कौतुहलतापूर्वक सुनेका थिए”, उनले भने, “उनीहरूले नेपाल भ्रमणमा आउने चासो पनि देखाएका छन् ।”

शेर्माले यसपछि तान्जानियाको किलि मन्जारो हिमाल आरोहण गर्ने योजना बनाएका छन् । सात महादेशका सात वटै अग्ला हिमाल आरोहण गर्दै विश्व शान्ति, मानव एकता र नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले हिमाल आरोहण अभियान सुरु गरिएको शेर्माले बताए । आरोहण अभियानको नारा ‘विश्व मानव शान्तिका लागि मानव एकता र धार्मिक सहिष्णुता कायम रहेको उनले जानकारी दिए ।

पाँचथरका ३६ वर्षीय शेर्माले यसअघि सर्वोच्च शिखर सगरमाथासहित लाङटाङ र आइसल्यान्ड पिकको सफल आरोहण गरिसकेका छन् । उनले नेपालको होचो भूभाग केचनाकवलदेखि विश्वको तेस्रो हिमाल कञ्चनजङ्घा बेस क्याम्पसम्मको पैदलयात्रा पनि गरीसकेका छन् । पर्यटनका माध्यमबाट देशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले पर्यटन प्रवर्द्धनका साथै धार्मिक सहिष्णुता कायम गर्नका लागि आफू लागेको बताए ।

“देश पर्यटनको माध्यमबाट समुन्नत र समृद्धिको दिशामा अघि बढोस् भन्ने मेरो चाहना छ, पर्वतारोहीलाई राज्यले पनि सम्मान गर्नुपर्छ । उनीहरूको जीविकोपार्जनका लागि केही व्यवस्था हुनसके पवर्ततीय पर्यटनको प्रभावकारी प्रवर्द्धन हुने थियो”, आरोही शेर्माले भने । आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन विशेषज्ञबाट तालिमको यथोचित व्यवस्था गरी पूर्ण व्यावसायिक बनाउन जरुरी रहेकामा उनले जोड दिए । आफ्नो भाषा, संस्कृतिलाई संरक्षण गर्दै अर्को देशको भाषा, संस्कृतिलाई पनि सम्मान गर्नुपर्ने उनले धारणा राखे ।

आरोही शेर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शेर्मा समुदायका अगुवा एवं प्रतिनिधिले सांस्कृतिक परम्परासहित स्वागत गरेका थिए । स्वागतपछि आयोजित कार्यक्रममा शेर्मालाई सम्मान गरिएको थियो । सोही अवसरमा उनले आफ्नो आरोहण अनुभव सुनाएका हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा १५ भदौदेखि आवेदन खुल्ने

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले १५ भदौदेखि प्रिमियममा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो।

इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरूका लागि निष्कासन गरिसकेको छ।

त्यस्तै, सार्वजनिक निष्कासनका लागि स्वीकृति पाएको सेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्तालेका लागि निष्कासन गर्न लागेको हो ।

इन्स्योरेन्सको आईपीओमा लगानीकर्ताहरूले १९ भदौसम्म आवेदन दिन सक्नेछन् ।

भारतको मिजोरममा निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु

काठमाडौं । भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ ।

मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले दुर्घटनाबारे जानकारी दिँदै कम्तिमा पनि १७ जना मजदुरको मृत्यु भएको बताएका छन् ।

भत्किएको पुलको भग्नावशेषमा अझै धेरै पुरिएका हुन सक्ने आशंका गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मिजोरमका प्रहरी अधिकारीका अनुसार पुल भत्किने बेलामा त्यहाँ ३५ देखि ४० जनासम्म कर्मचारीरमजदुर कार्यरत थिए ।

सुन तस्करीको अध्ययनका लागि अर्को महिना जाँचबुझ आयोग बनाउने सहमति

काठमाडौं । संसदमा रहेका प्रमुख दलहरुबीच अहिलेसम्म भएका सुन तस्करीबारे भएका छानबिनको अध्ययन र तस्करी नियन्त्रणका लागि कानुनी र संरचनागत सुधारबारे सिफारिस गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।

२ साउनमा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलो भन्दा बढी सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले अनुसन्धान सकेपछि आयोग बन्नेछ । बुधबार सिंहदरबारमा दलहरुबीच भएको सहमतिमा अर्को महिना असोज ५ गते सरकारले आयोग बनाउने र त्यही दिनदेखि आयोगले काम प्रारम्भ गर्ने उल्लेख छ ।

साउनमै घट्यो आयात–निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८० र ८१ को पहिलो महिनामै वैदेशिक व्यापारमा गिरावट आएको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएको छ । यो गत आवको यसै महिनाको तुलनामा १.५६ प्रतिशत कम हो । गत वर्ष साउनमा १ खर्ब ३१ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । यस महिनामा निर्यातमा ८.६५ प्रतिशतको गिरावट आएर १३ अर्ब ५२ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको पहिलो महिनामा १४ अर्ब ८० करोड रुपैयाँको निर्यात भएको थियो ।

आयात र निर्यात दुवैमा आएको गिरावटले समग्र वैदेशिक व्यापार तथा व्यापार घाटा समेत घटेको छ । साउनमा कुल वैदेशिक व्यापारको आकार १ खर्ब ४२ अर्ब ७६ करोड रुपैयाँ कायम भएको छ । यो गत आवको यसै महिनाको तुलनामा २।२८ प्रतिशत कम हो । सो आवको साउनमा १ खर्ब ४६ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो । साउनमा व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँको भएको छ ।

नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.४८ प्रतिशत र आयातको हिस्सा ९०.५२ प्रतिशत रहेको छ । साउनमा गत आवको तुलनामा निर्यातको हिस्सा खस्किएको छ ।

पेट्रोलियम पदार्थको आयात खस्कियो

भन्सार विभागका अनुसार साउनमा पेट्रोलियम पदार्थको आयातमै ठूलो गिरावट देखिएको छ । यस आवमा २१ अर्ब ९८ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ । गत आवको साउनमा पेट्रोलियम पदार्थको आयात २५ अर्ब रुपैयाँको भएको थियो ।

आइरन र स्टीलको आयात १२ अर्ब ९५ करोड रुपैयाँको भएको छ । यस आवमा आइरन र स्टीलको आयात सुधार भएको छ । साउन २०७९ मा ११ अर्ब २३ करोड रुपैयाँको आयात भएको थियो ।

एक महिनामा साढे २ अर्ब रुपैयाँको तरकारीजन्य वस्तुको आयात भएको छ । यस महिनामा २ अर्ब ८१ करोडको औषधि आयात भएको छ ।

सवारी साधन र यसको पार्टपूर्जा आयातमा ४ अर्ब २९ करोडको आयात भएको भन्सार विभागले जनाएको छ । गत वर्ष यस्तो वस्तुको आयात ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको भएको थियो ।

नेपालको सबैभन्दा ठूलो व्यापार भारतसँग रहेको छ । भारतबाट १ अर्ब २४ करोडको आयात भएको छ । ८ अर्ब ४ करोड रुपैयाँको निर्यात भएको छ । भारतसँग साउनमा मात्र ७२ अर्ब ७६ करोड रुपैयाँको व्यापार घाटा रहेको छ ।

चीनबाट २१ अर्ब ९४ करोडको वस्तु आयात हुँदा ३९ करोड रुपैयाँको मात्र निर्यात भएको छ । साउनमा १०९ मुलुक भन्दा बढीसँग वैदेशिक व्यापार भएको भन्सार विभागको तथ्यांक छ ।

बबरमहल दरबारमा विगतमा आफूले प्रयोग गरेको कार्यालय फिर्ता मागेको छ

काठमाडौं । हालै प्रवलीकरण (रेट्रोफिटिङ) सकिएको बबरमहल प्रयोगको विषयमा महालेखा परीक्षकको कार्यालय र सडक विभागबीच विवाद भइरहेका बेला जिल्ला निर्वाचन कार्यालयले पनि विगतमा आफ्नो स्वामित्वमा रहेको भाग फिर्ता मागेको हो ।

करिब २२ रोपनी क्षेत्रफलमा बनेको करिब ३०० भन्दा बढी कक्ष रहेको बबरमहल दरबारमा महालेखा परीक्षकको कार्यालयले करिब ३० वटा कक्षमा आफ्ना निर्देशनालयहरु राख्न खोजेपछि विवाद छ । महालेखालाई रोक्न प्रवलीकरण नसकिंदै सडक विभागले बुधबारदेखि आफ्नो कार्यालयका सामान हतार–हतार सारिरहेको छ ।

यस्तो अवस्थामा जिल्ला निर्वाचन कार्यालयले पनि आफूले प्रवलीकरण सुरु हुनुभन्दा अघि प्रयोग गरिरहेको भागमा फर्किन प्रयत्न थालेको छ । तर, सडक विभागबाट असहयोग भएपछि जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आयोग, प्रधानमन्त्री तथा मनित्रपरिषदको कार्यालयदेखि शहरी विकास तथा भवन निर्माण विभागसम्मको साथ खोजेको छ ।

सडक विभागले महालेखालाई सानोगौचरण्को जग्गा दिएर बबरमहल आफूले उपयोग गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय गराए पनि बबरमहलभित्रै बस्ने गरेको जिल्ला निर्वाचन कार्यालयसँग भने कुनै सहमति गरेको थिएन । प्रवलीकरणपछि ४ भदौदेखि निर्वाचन कार्यालय साविकको ठाउँमा फर्किन खोजेको थियो । तर, सडक विभागका कर्मचारीले कुनै हालतमा प्रवेश नदिने भन्दै रोकेका छन् ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालय, काठमाडौंले बबरमहलस्थित कुमारी चोक अड्डा हस्तान्तरण गरेको पत्र
जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार २०६० साल साउन ९ गते तत्कालीन जिल्ला प्राविधिक कार्यालय, काठमाडौंले बबरमहलस्थित कुमारी चोक अड्डा रहेको कक्षका कोठाहरुमध्ये २ वटाबाहेकका अरु कोठाहरु जिल्ला निर्वाचन कार्यालयलाई हस्तान्तरण गरेको थियो । त्यसअघि ती कोठाहरु जिल्ला प्राविधिक कार्यालयले नै प्रयोग गरेको थियो ।

हस्तान्तरणपछि कोठाहरुको लागि आवश्यक बिजुलीको महसुल तिर्ने गरी जिल्ला निर्वाचन कार्यालयलाई हस्तान्तरण गरिएको भाग बबरमहल दरबारभित्रै पर्छ ।

‘हाम्रो कार्यालयले हालको जिल्ला समन्वय समिति रहेको भवनतर्फबाट बाटो प्रयोग गर्छ, भुईं तल्लाका १५–१६ वटा कोठाहरु तत्कालीन जिल्ला प्राविधिक कार्यालयले हामीलाई हस्तान्तरण गरेर दिएकाले त्यसमा सडक विभागको दाबीले हुँदैन’, भट्टराई भन्छन्,‘महालेखा र सडक विभागबीच के सम्झौता भयो थाहा छैन, हामीसँग भवनको उपयोगबारे कुनै सम्झौता भएको छैन, हामीले साविकको कोठाहरु प्रयोग गर्न पाउनुपर्छ ।’

प्रवलीकरणको काम भइरहँदा कार्यालय भवन नभएपछि निर्वाचनले धोबिखोला किनारमा भाडाको घरमा कार्यालय चलाइरहेको छ । भवन प्रवलीकरण सकिएपछि साविककै ठाउँमा जान खोज्दा रोक्नु अनुचित हुने भट्टराईले बताए ।

‘यसबारे बबरमहलमा बुझ्न जाँदा सडक विभागका कर्मचारीहरुले नाराबाजी नै गर्नुभयो’, जिल्ला निर्वाचन भट्टराईले भने, ‘हामी भवन तयार भएको देखेर दाबी गर्न गएको हैन, हामीसँग प्रवलीकरण सुरु गर्ने बेलामा तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले खाली गरेर सहयोग गरिदिन भन्दै पत्र नै लेखेकाले काम नसकिन्जेलसम्मका लागि छाडेका थियौ, अब फर्कन्छौं ।’

अहिले कार्यालय भवन नहुँदा निर्वाचनसम्बद्ध सामग्री जिल्ला समन्वय समितिको कार्यालय काठमाडौंको हलमा राख्नुपरेको भट्टराईको भनाइ छ । विगतमा प्रयोग गरिरहेको कार्यालय भएको हिसाबले अहिले पनि बबरमहलभित्रका कोठाहरु प्रयोग गर्न रोक्ने अधिकार सडक विभागसँग नभएको निर्वाचन कार्यालयका कर्मचरीहरु बताउँछन् ।

भवनको प्रयोगबारे विवाद भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल समेत भएको थियो । छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सहसचिव तथा सडक विभागका पूर्वमहानिर्देशक अर्जुनजंग थापा र महानिर्देशक सुशीलबाबु ढकालले निर्वाचन कार्यालयलाई साविकको कक्षहरु उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

तर, अहिले छिर्न नै नदिने अवस्था आएको भन्दै निर्वाचन कार्यालयले विघटित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिम्मेवारी लिएर बसेको शहरी विकास तथा भवन निर्माण विभागलाई पत्र लेखेको छ । कार्यालयले प्रवलीकरण सकिएका कारण साविकको कक्षहरुमा आफ्नो कार्यालय सर्ने तयारी गरेकाले हस्तान्तरण गर्न आग्रह गरेको छ ।

‘हामीले विगतमा सरकारबाटै पाएको बबरमहलको एक सानो भाग फिर्ता मागेका हौं’, जिल्ला निर्वाचन अधिकारी भट्टराई भन्छन्, ‘हामीलाई आशा छ, सडक विभागले सहज रुपमा नै सहयोग गर्छ ।’

काठमाडौं जिल्लाको निर्वाचनसम्बद्ध सबै काम गर्नुपर्ने अड्डा भएकाले यसमा करिब साढे ६ लाख मतदाताको संवेदना जोडिएको भट्टराईले बताए । २०५६ सालदेखि बबरमहलमा नै निर्वाचन कार्यालय बसेकाले धेरै मतदाताले कार्यालयको ठेगानामा अहिले पनि बबरमहल नै सम्झिने गरेको भट्टराईको भनाइ छ ।

‘सरकारकै जमिन हो, सरकारकै भवन हो, त्यहाँभित्र हाम्रो कार्यालय पनि थियो’, उनले भने, ‘प्रवलीकरणका लागि सहयोग गर्न अन्यत्र स¥यौं, अब काम सकिएपछि त्यहाँ फर्किन पाउनु हाम्रो पनि अधिकारकै कुरा हो ।’

कैलालीमा डल्फिन उफ्रिएको हेर्न पाइने

कैलाली । कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न कैलालीको टीकापुरस्थित वडा नं. ७ बैदी ढुङ्गानाटोलमा पुगे । साथीसहित बैदीस्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा पुग्नुभएका उनले डल्फिन उफ्रेको हेरेर आनन्द लिए । बर्खा लागेपछि कैलालीको टीकापुर–७ स्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा दैनिक डल्फिन देखापरिरहेका छन् ।

नदीमा साँझ र बिहानको समयमा साना र ठूला डल्फिन देखिने गरेका छन् । ‘नदीमा पानीको बहाव बढेको छ । डल्फिन उफ्रँदै रमाइरहेका देख्यौँ’, सुनारले भने, ‘डल्फिन बडो आनन्दले रमाउने रहेछन्, नदी किनारमा बसेर करिब एक घण्टा बच्चासहित डल्फिन नाचेको हेर्यौँ, आनन्द लाग्यो ।’

बर्खाको यो समयमा ढुङ्गानाटोलमा दैनिक सर्वसाधारण डल्फिन हेर्नकै लागि आउने गरेका छन् । डल्फिन अवलोकन गर्न स्वदेशीदेखि विदेशी नागरिकसमेत आउने गरेका स्थानीय संरक्षणकर्मी बताउँछन् ।

हरेक वर्ष विदेशी पर्यटक पनि डल्फिन हेर्नका लागि यहाँ आउने गरेका डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गाना बताउँछन् ।

‘विदेशी नागरिकले हप्तौँसम्म बसेर डल्फिनबारे अध्ययन गर्ने गरेका छन्’, उनी भन्छन्, ‘नेपालका विभिन्न जिल्लाबाट समेत सर्वसाधारण आउने गरेका छन् । डल्फिन अवलोकनका लागि यहाँ भ्यूटावर र प्रतिक्षालय बनाइएको छ ।’

डल्फिन अवलोकन क्षेत्रसम्म जाने सडकलगायतका पूर्वाधार स्थानीय सरकारले निर्माण गरिदिएको छ । बर्खामा डल्फिन बढी देखिने भएकाले संरक्षण नेपालले सप्ताहव्यापी प्रचार(प्रसारका लागि कार्यक्रम गर्ने भएको छ ।

‘डल्फिनको संरक्षण, प्रवर्द्धन, प्रचार तथा पर्यापर्यटनसँगै स्थानीय क्षेत्रको विकासका लागि सप्ताहव्यापी कार्यक्रम गर्न थालेका छौँ’, ढुङ्गाना भन्छन्, ‘स्थानीय समुदायलाई डल्फिन संरक्षणमा उत्प्रेरणासँगै अन्य जलप्राणीबारेमा जानकारी दिन थालेका छौँ । डल्फिनमात्र होइन अन्य जलचरको पनि संरक्षण आवश्यक छ ।’

भदौ दोस्रो सातादेखि सप्ताहव्यापी कार्यक्रम हुँदैछन् । बर्खामा याममा देखापर्दै आएका डल्फिन संरक्षण, प्रवर्द्धन, प्रचार आवश्यक रहेको स्थानीय संरक्षणकर्मी जयप्रसाद ढुङ्गानाको भनाइ छ ।’हामीले पछिल्ला केही वर्षयता डल्फिन देखापर्ने यही समयमा संरक्षणका क्षेत्रमा जनचेतना जगाउने गरेका छौँ’, उनले भने, ‘हामीले डल्फिन क्षेत्रमा माछा मार्न निषेध गरेका छौँ, माछा मारेमा कारबाही गर्ने गरिएको छ ।’

यस वर्ष वर्षात् ढिलो हुँदा असार १६ गते पहिलोपटक चारवटा डलिफन देखापरेका थिए । गत वर्ष जेठ मसान्तमै डल्फिन देखिएका थिए ।

नदीमा पानीको बहाव बढी भएमा डल्फिन देखिने गरेका स्थानीय बताउँछन् । ‘कैलालीका मोहना, पथरैया, काँडा, कान्द्रा नदीमा डल्फिन देखिन्छन्, जैविक विविधताको संरक्षण, जलचर संरक्षणका लागि स्थानीय सजग हुन आवश्यक छ’, स्थानीय कृष्णा चौधरी भन्छन्, ‘यहाँ मगर गोही पनि त्यत्तिकै मात्रामा पाइन्छन्, पर्यापर्यटनका हिसाबले पनि डल्फिनलगायतका जलचर संरक्षण आवश्यक छ ।’

डल्फिन हेर्नका लागि टाढा–टाढाबाट सर्वसाधारण आउने गरेका छन् । विगत लामो समयदेखि टीकापुर र भजनीका स्थानीय डल्फिन संरक्षणमा जुटेका छन् । स्थानीयकै पहलमा दर्जनौँ स्थानमा डल्फिन संरक्षण केन्द्र स्थापना गरिएका छन् । स्थानीयकै पहलमा २०५६ सालदेखि डल्फिन संरक्षण अभियान थालिएको हो ।

कैलालीका नदीमा ग्याँगेटिक जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्रै पाइने गरेको संरक्षणकर्मी बताउँछन् ।

यो मांसाहारी प्राणी भएकाले यसले मुख्य आहराका रूपमा माछा, घोँगीलगायत खान्छ ।

ललितपुर महानगरले जडान गर्‍यो चक्रपथ बाहिर स्मार्ट स्ट्रिट लाइट

काठमाडौं । ललितपुर महानगरपालिकाले चक्रपथ बाहिर पनि स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ । ललितपुर महानगरको सुनाकोठी, धापाखेल, भैंसीपाटी, सुनाकोठी, बुङमती, खोकना क्षेत्रमा स्मार्ट लाइट जडान गर्ने काम सम्पन्न गरेको हो । यस्तै ललितपुर महानगरको वडा नम्बर २८ र २९ मा भने बत्ती जडानको काम सुरु भएको छ । केही साताभित्र नै बत्ती बल्ने गरी जडान सुरु गरेको महानगरले जनाएको छ ।

चक्रपथ बाहिरका वडाहरुमा १४ सय बत्ती जडान गरेको नगरप्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । ‘ललितपुर महानगरलाई उज्यालो शहर बनाउने अभियान अन्तर्गत स्मार्ट सडक बत्ती जडान गरेका हौं, यो कामबाट सडक सुरक्षित समेत भएको छ,’ उनले भने ।

महानगरका अनुसार स्मार्ट स्ट्रिट लाइटलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । पोलै पिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न (डिमिङ) गर्न बत्ती जडान भएको ठाउँमा आउनु पर्दैन । सर्भर रुमबाट नै गर्न सकिन्छ । सडक बत्ती बाले बापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुन्छ । उक्त मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी गर्नेछ ।

ललितपुर महानगरको ‘कोर एरिया’ मा दुइ वर्ष अगाडि नै स्मार्ट सडक बत्ती जडान भइसकेको छ । महानगरपालिकाभित्रका तीनवटा रुटमा जम्मा ६ सय ६९ वटा स्मार्ट स्ट्रिट लाइट जडान भएका हुन् । बागमती पुलबाट जवालखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल (इनार), पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार, लगनखेलसम्म, पुल्चोक, मंगलबजार हुँदै ग्वार्कोसम्म सडकबत्ती जडान भइसकेको महानगगरले जानकारी दिएको छ । स्मार्ट सडक बत्ती जडानका लागि प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत प्राधिकरणले गरिरहेको नगर प्रमुख महर्जनले जानकारी दिए ।

ललितपुर महानगरले चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ । महानगरले विद्युत प्राधिकरण र सडक विभागसँग सहकार्य गरी महानगरभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट सडक बत्ती जडान गर्न लागेको हो । बत्ती जडानका लागि समझदारीपत्रमा हस्ताक्षर समेत भइसकेको महानगरप्रमुख चिरिबाबु महर्जनले बताए ।

अध्यक्ष तिमिल्सिनासँग जापानी संसदीय मैत्री समूहबीच भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेका जापान(नेपाल संसदीय मैत्री समूहका सदस्यहरुले शिष्टाचार भेट गरेका छन् ।

जापानको माथिल्लो सदनका सदस्य तथा जापाननेपाल संसदीय मैत्री समूहका सदस्यहरु कोबयासी काजुहिरो र नागाई मानाबुले बुधबार सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापान दुवै देशहरु प्रजातान्त्रिक मूल्य र मान्यतामा समान दृष्टिकोण राख्दै आएको भन्दै नेपालमा लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद दिए ।

नेपाल र जापानबीच निकट मित्रता, पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित सम्बन्ध रहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी भेटघाट र द्विपक्षीय छलफलले नेपाल र जापानवीच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ र उच्च बनाउन ठूलो योगदान पुयाएको विश्वास ब्यक्त गरे ।

उनले नेपालको सामाजिक–आर्थिक विकासमा जापानको निरन्तर सहयोग रहेको छ भन्दै पूर्वाधारको विकास, गरिबी निवारण, कृषि र साना तथा मझौला उद्योगहरूलाई सहयोग, जनस्वास्थ्य र शिक्षाको सुधार, मानव संसाधनको विकास लगायतमा महत्वपूर्ण क्षेत्रमा गरेको सहयोग प्रति धन्यवाद दिए ।

जापान नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रमुख स्रोत देशहरु मध्ये एक भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपालको विकास प्राथतमिकताका क्षेत्रहरुमा आगामी बर्षहरुमा जापानी लगानी बढ्ने आशा राखे ।

अन्तर ब्यबस्थापिका संघ लगायतका संसदीय फोरमहरूमा नेपाल र जापानले सहकार्य गर्दै आएकोमा जोड दिँदै अध्यक्ष तिमिल्सिनाले नेपालमा पनि नेपाल जापान संसदीय मैत्री समूह छिट्टै गठन हुने जानकारी गराए ।

भेटमा जापान नेपाल संसदीय मैत्री समूहका सदस्यहरुले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।

नेपाल पनि जापानमा हुने ‘वर्ल्ड एक्सपो २०२५, ओसाका, जापान’ मा सहभागी हुन लागेकोमा खुसी व्यक्त गर्दै त्यसले नेपालको पर्यटन, व्यापारलगायतका क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले नेपाल जापान संसदीय मैत्री समूह छिटै गठन हुने आशा राख्दै मैत्री समूहमार्फत संसदीय अनुभवहरुको आदनप्रदान गर्ने अपेक्षा राखे ।

सुदूरपश्चिममा ‘ठूली गौरा’ पर्व मनाइँदै

बैतडी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ‘ठूली गौरा’ मनाइँदैछ । व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् ।

स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाले विशेष दिनको रुपमा लिने गरेका छन् । व्रतालु महिलाले बिहानै नुवाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रहिआएको छ ।

आज अमूक्ताभरण सप्तमीका दिन व्रतालु महिला एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रहिआएको दोगडाकेदार गाउँपालिका(६ सित्तडकी कमला भण्डारी बताए ।

गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर व्रतालु महिलाले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गरिएको छ । व्रतालु महिलाले धारण गर्ने विशेष प्रकारको धागो अर्थात दुबोधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ ।

यसका साथै साँझको समयमा व्रतालु महिलाले कुण्ड स्नान गर्ने चलन रहिआएको छ । आजको गौरादेवीमा चढाएको दुबोधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठाबालीका दिन व्रतालु महिलाले धारण गर्ने गर्दछन् ।

गौरापर्वको मुख्य दिन आज सप्तमीको दिनमा गौरा र महेश्वरको पूजा गरी व्रतालु महिलाले राति मिठोमसिनो खाना खाने चलन छ । गौराको मुख्यदिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।

पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ ।त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।

तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । यस वर्ष तिथिका विषयमा ज्योतिषहरुबीच विवाद भएपछि दुई गौरा भएका छन् । कुनै ठाउँमा यही भदौ ४ गतेदेखि गौरा सुरु भइसकेको छ भने कुनै ठाउँमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भइरहेको छ ।

संसद सञ्चालन गर्न दलहरुबीच दुईबुँदे सहमति

काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । बैठकमा सहभागी एक नेताका अनुसार दुई बुँदे सहमतिको मस्यौदा तयार भएको छ । केहीबेरमा औपचारिक रुपमा हस्ताक्षर हुनेछ ।

उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको अर्को बैठक आजै ३ बजेका लागि बोलाइएको छ ।

भारतले कर लगाएपछि प्याजको आयात रोकियो

काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि व्यापारीले प्याज आयात रोकेका छन् ।

आयात रोकिएपछि कालिमाटीलगायतका मुख्य बजारमा प्याज अभाव भएको छ । भदौ ११ गते भारतले आफ्नो मुलुकबाट निर्यात हुने प्याजमा ४० प्रतिशत भन्सार महशुल लगाउने निर्णय गरेको थियो ।

त्यसयता शनिबार र आइतबार प्याजको छिटफुट मात्रै कारोबार भए पनि सोमबारदेखि भने आयात र बिक्री नै ठप्प भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बजारमा भएका सबै पसलमा प्याज सकिएको बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले बताए । ‘बजारमा ८० वटा आलु प्याजका पसल छन्’, श्रेष्ठले भने ‘सबै पसलमा प्याज सकिएको छ । प्याज नभएपछि मूल्य तोक्ने कुरै भएन ।’

कालिमाटी र काठमाडौंलाई आधार बनाएर आलु प्याजको कारोबार गर्ने व्यापारीहरुले भने भारतले निर्यात कर लगाएपछि उतैका व्यापारीहरुले प्याजको बिक्री नगरेको दाबी गरेका छन् ।

एक्कासी आएको नीतिका कारण उनीहरु अन्यौलमा हुँदा निर्यातकहरुले प्याज नै नपठाएको आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले बताए ।

‘व्यवसायीले प्याज ल्याउन सकेको छैनन् । भएको प्याज सकियो’, महासचिव गजुरेलले भने, ‘अब आयात सहज नभई बजारमा प्याज उपलब्ध हुने अवस्था छैन ।’

आइतबार कालीमाटी बजारमा प्याजको थोक बिक्री मूल्य ६१ रुपैयाँ प्रतिकिलो थियो । आइतबार दिउँसैदेखि बजारमा प्याजको मूल्य मनपरी लिन थालिएको थियो । लगत्तै वाणिज्य विभागले अनुगमन गरेपछि बजारमा प्याजको आपूर्ति ठप्प भएको छ ।

वाणिज्य विभागले भने भारतले कर थपेपछि प्याज नआएको हुन सक्ने भए पनि पहिल्यै आयात भएको प्याज पनि लुकाइएको हुन सक्ने अनुमान गरेको छ । कालोबजारी गरेको पाइए कडा कारबाही गर्ने विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए ।

सिंहदरबारमा शीर्ष नेताहरुको बैठक सुरु

काठमाडौं । संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न राष्ट्रिय दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।

बैठकमा सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठनबारे छलफल हुनेछ ।

उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको बैठक बुधबार नै दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

आज सुनको मूल्यमा के–कति रहेको छ

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ बढेर प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मङ्गलवार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।